पढ्ने काममा लागिरहनुहोस्
विश्वभरि ६ जनामध्ये १ जनालाई पढ्न आउँदैन। स्कूल जाने मौका नपाएकोले वा नियमित तवरमा स्कूल नगएकोले त्यसो भएको हो। तर पढ्न जान्नुभएको छ भने पत्रपत्रिका, पुस्तक आदि पढेर चिन्ता-फिक्री सामना गर्न व्यावहारिक ज्ञान पाउन सक्नुहुनेछ, देश-विदेश घुमेसरह र जीवनलाई अमूल्य बनाउने मानिसहरू भेटेसरह महसुस गर्न सक्नुहुनेछ।
तपाईंले छोराछोरीलाई पढेर सुनाएको कुराले तिनीहरूको व्यक्तित्व विकास गर्न मदत गर्छ
केटीकेटीले जति पढ्न सिक्छन्, स्कूलमा सिकेको कुराबाट त्यत्ति नै फाइदा उठाउन सक्छन्। पछि जागिर खोज्दा कस्तो काम पाउने हो र कति घण्टा काम गर्नुपर्ने हो, त्यो उसको पढ्ने क्षमतामा भर पर्छ। राम्ररी पढ्न जान्ने गृहिणीले परिवारको पोषणमा र सरसफाइमा अझै ध्यान दिन सक्छिन् भने परिवारलाई रोगबिमारबाट पनि जोगाउन सक्छिन्। राम्ररी पढ्न जान्ने आमाले छोराछोरीको बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्न सक्छिन्।
पढ्न जानेकोले पाउन सक्ने सबैभन्दा ठूलो आशिष् हो—‘परमेश्वरको ज्ञान प्राप्त गर्न सक्नु।’ (हितो. २:५) हामीले पढ्न जानेका छौं भने यहोवाको सेवामा निकै मदत मिल्छ। सभामा बाइबल र बाइबलआधारित साहित्य पढिन्छ। तपाईंको पढ्ने तरिकाले प्रचारमा तपाईं कत्तिको प्रभावकारी हुन सक्नुहुन्छ, त्यसमा निकै असर पार्छ। यी सबको लागि पढ्नुपर्ने हुन्छ। त्यसैले तपाईं कुन हदसम्म आध्यात्मिक प्रगति गर्नुहुन्छ, त्यो तपाईंको पढ्ने बानीमा भर पर्छ।
मौकामा हीरा फोर्नुहोस्
मानिसहरूसामु पढ्दा भावसहित पढ्नुहोस्
परमेश्वरबारे सिकिरहेकामध्ये केहीलाई थोरै मात्र पढ्न-लेख्न आउँछ। आध्यात्मिक प्रगति गर्न तिनीहरूलाई पढ्न सिकाउनुपर्ने हुन्छ। अथवा पढ्ने क्षमता बढाउन व्यक्तिगत रूपमै मदत दिनुपर्ने हुन्छ। त्यसकारण आवश्यकताअनुसार मण्डलीहरूले साक्षरता कक्षाको प्रबन्ध मिलाउन धेरै मेहनत गर्छन्। हजारौंले यस प्रबन्धबाट धेरै लाभ उठाएका छन्। राम्ररी पढ्न सक्नु महत्त्वपूर्ण भएको कारण केही मण्डलीले ईश्वरतान्त्रिक सेवा स्कूल सञ्चालन भइरहेकै बेला वा अरू कुनै समयमा साक्षरता कक्षाको प्रबन्ध गरेका छन्। यस्ता कक्षाको प्रबन्ध गरिएका छैनन् भने पनि पढ्ने क्षमता कम भएको व्यक्तिले दिनदिनै आवाज निकालेर पढ्न केही समय छुट्ट्याएर अनि स्कूलमा भाग लिएर प्रगति गर्न सक्छन्।
दुःखको कुरा चित्रकथा र टिभीले गर्दा धेरैजसो मानिस पढ्न त्यति रुचाउँदैनन्। टिभी हेर्ने र थोरै पढ्ने बानीले पढ्ने सीपमा, सोच्ने, तर्क गर्ने र राम्ररी विचार व्यक्त गर्ने क्षमतामा बाधा पुऱ्याइरहेको हुन्छ।
“विश्वासी र बुद्धिमान् दास”-द्वारा प्रकाशित साहित्यहरूले बाइबलको कुरा राम्ररी बुझ्न मदत गर्छन्। यिनमा महत्त्वपूर्ण आध्यात्मिक विषयवस्तुको भण्डार नै हुन्छ। (मत्ती २४:४५; १ कोरि. २:१२, १३) यी साहित्यले संसारमा भइरहेका महत्त्वपूर्ण गतिविधि र त्यसको अर्थ थाह दिन्छ, प्रकृतिमा भएका कुरालाई राम्ररी बुझ्न र समस्या समाधान गर्ने तरिका सिक्न मदत गर्छ। अझै महत्त्वपूर्ण, परमेश्वरलाई ग्रहणयोग्य हुने र उहाँले अनुमोदन दिनेगरि उहाँको सेवा गर्ने तरिका पनि यसले सिकाउँछ। यस्ता साहित्यहरू पढ्दा तपाईंले आध्यात्मिक व्यक्ति हुन मदत पाउन सक्नुहुन्छ।
राम्ररी पढ्न सक्नु मात्र ठूलो कुरा होइन। यसको सदुपयोग गर्न पनि जान्नुपर्छ। जे-पायो त्यही नखाएझैं जे-पायो त्यही पढ्नुहुँदैन। हामी पोषण नै नदिने वा विष लाग्ने खाना खाँदैनौं नि, होइन र? त्यसो भए मन र दिमागलाई भ्रष्ट तुल्याउने पत्रपत्रिका, पुस्तक आदिचाहिं सरसरती मात्रै भए पनि किन हेर्ने? हामी कस्तो पत्रपत्रिका, पुस्तक आदि पढ्न सक्छौं, त्यो पत्ता लगाउन बाइबल सिद्धान्तले मदत गर्न सक्छ। के पढ्ने भनेर निर्णय गर्नुअघि नै उपदेशक १२:१२, १३; एफिसी ४:२२-२४; ५:३, ४; फिलिप्पी ४:८; कलस्सी २:८; १ यूहन्ना २:१५-१७ अनि २ यूहन्ना १० जस्ता पदहरू सम्झनुहोस्।
सही मनसाय राखेर पढ्नुहोस्
सही मनसाय राख्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा सुसमाचारका पुस्तकहरू जाँच्दा स्पष्ट हुन्छ। उदाहरणका लागि, धर्मगुरुहरूले सोधेका धूर्त प्रश्नहरूको जवाफ दिनुअघि येशूले तिनीहरूलाई “के तिमीहरूले पढेका छैनौ?” र “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ?” भनेर सोध्नुभएको विवरण मत्तीको सुसमाचारमा पाइन्छ। (मत्ती १२:३, ५; १९:४; २१:१६, ४२; २२:३१) यसबाट सिक्न सक्ने एउटा पाठ हो—पढ्ने मनसाय सही छैन भने हामी गलत निष्कर्षमा पुग्न सक्छौं अथवा कुरो फिटिक्कै बुझ्न सक्दैनौं। शास्त्र पढेमा अनन्त जीवन पाइन्छ भन्ठानेर मात्र फरिसीहरूले पढिरहेका थिए। येशूले औंल्याएझैं परमेश्वरलाई प्रेम नगर्नेहरू र मुक्तिको लागि उहाँले गरेको प्रबन्ध अस्वीकार गर्नेहरूलाई अनन्त जीवनको इनाम दिइँदैन। (यूह. ५:३९-४३) फरिसीहरूको मनसाय स्वार्थी थियो, त्यसैले तिनीहरूले प्रायः गलत निष्कर्ष निकाले।
यहोवाको वचन पढ्ने सबैभन्दा शुद्ध मनसाय भनेको उहाँप्रतिको प्रेम हो। यस्तो प्रेमले हामीलाई परमेश्वरको इच्छा सिक्न जुरमुऱ्याउँछ किनभने प्रेम “सत्यमा खुसी हुन्छ।” (१ कोरि. १३:६) पहिला हामीलाई पढ्न झिंजो लाग्थ्यो होला। तर “सारा दिमागले” यहोवालाई प्रेम गरेकोले दिलोज्यान लगाएर उहाँको ज्ञान प्राप्त गर्ने प्रयास गर्छौं। (मत्ती २२:३७) प्रेमले गर्दा यहोवालाई चिन्ने चासो जाग्छ र यस्तो चासोले उहाँबारे सिक्न उत्प्रेरित गर्छ।
गति विचार गर्नुहोस्
पढ्नु र शब्द चिन्नु फरक-फरक कुरा भए पनि सँगसँगै गरिन्छ। अहिले पढ्दा पढ्दै पनि तपाईं शब्दहरू चिन्दै र अर्थ बुझ्दै हुनुहुन्छ। एउटै शब्दले दिने विभिन्न अर्थ बुझ्नुभएको छ भने पढ्ने गति बढाउन सकिन्छ। एउटा-एउटा शब्दको अर्थ के होला भनेर घोरिनुभन्दा शब्दहरूको समूहको अर्थ बुझ्ने प्रयास गर्नुहोस्। यस्तो क्षमता बढाउँदै लैजाँदा पढेको कुरा अझ स्पष्ट बुझ्न सक्नुहुन्छ।
सँगै मिलेर पढ्दा पारिवारिक सम्बन्ध बलियो हुन्छ
तर गहिरो विषयवस्तु पढ्दा भने आफ्नो मेहनतको सक्दो फल पाउन भिन्नै तरिका अपनाउनुपर्छ। धर्मशास्त्र पढ्ने सम्बन्धमा यहोवाले यहोशूलाई यस्तो सल्लाह दिनुभयो: “व्यवस्थाको यो पुस्तक तेरो ओंठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू।” (यहो. १:८) ध्यान अर्थात् मनन गर्दा मानिस अक्सर गुनगुनाउँछ। त्यसैले “ध्यान गर्नू”-लाई हिब्रू भाषामा गुनगुनाउनु भनेर पनि अनुवाद गरिएको छ। (भज. ६३:६; ७७:१२; १४३:५) ध्यान गर्दा मानिसले एकाग्र भई गहिरिएर सोच्छ; हतार गर्दैन। मनन गर्दै पढ्दा परमेश्वरको वचनले हाम्रो मन अनि दिमागमा अमेट छाप पार्छ। बाइबलमा भविष्यवाणी, सल्लाह, हितोपदेश, कविता, ईश्वरीय न्यायदण्ड, यहोवाको उद्देश्यबारे विस्तृत जानकारीलगायत प्रशस्तै वास्तविक अनुभवहरू पाइन्छन्। यी सब यहोवाको मार्गमा हिंड्न चाहनेहरूको निम्ति अनमोल मोतीसरह हुन्। हाम्रो मन अनि दिमागमा गहिरो छाप पार्नेगरि बाइबल पढ्दा निकै फाइदा हुन्छ।
एकाग्र हुन सिक्नुहोस्
पढ्ने बानीले तपाईंको आध्यात्मिक प्रगतिमा प्रभाव पार्छ
बाइबल पढ्दै गर्दा प्रत्येक विवरणमा आफूलाई पनि समावेश गर्नुहोस्। उल्लेख गरिएका पात्रहरूको मुहार मनमा उतार्ने कोसिस गर्नुहोस्। तिनीहरूले भोगेको कुरा आफैले भोगेसरह महसुस गर्नुहोस्। पहिलो शमूएल १७ अध्यायमा दाऊद र गोल्यतको विवरण पढ्दा यसो गर्नु त सजिलै हुन्छ। तर प्रस्थान र लेवीमा बासस्थानको निर्माणसम्बन्धी दिइएका विवरण पढ्दा बासस्थानको उचाइ, चौडाइ अनि त्यहाँ प्रयोग गरिएका सर-सामानबारे कल्पना गर्ने कोसिस गर्नुभयो भने अथवा पुजारीको नियुक्ति र कामबारे पढ्दा धूपको, भुटेको अन्नको अनि होमबलि चढाइएका पशुपन्छीको बास्ना सुँघ्ने प्रयास गर्नुभयो भने यी विवरण पनि जीवन्त हुनेछन्। ओहो! पुजारीले कत्ति धेरै काम गर्नुपर्ने रहेछ! (लूका १:८-१०) पढ्ने बेला आफ्ना इन्द्रिय र भावनालाई पनि मुछ्दा पढेको कुराको महत्त्व बुझ्न सक्नुहुनेछ र ती सम्झिन पनि सजिलो हुनेछ।
तर पढ्ने बेला होसियार हुनुभएन भने तपाईंको मन कता हो कता डुल्न सक्छ। आँखा त पानामै होला तर मन भने अन्तै उडिसकेको हुन्छ। कतै बाजागाजा पो बजिरहेको छ कि? टेलिभिजन पो चलिरहेको छ कि? परिवारका सदस्यहरू गफ गर्दैछन् कि? सम्भव छ भने एकान्तमा बसेर पढ्नु बेस। तर ध्यान भङ्ग गर्ने कुरा त तपाईंको मनबाट पनि आउन सक्छ। सायद दिनभर निकै खट्नुभएको थियो होला। दिनभरिको गतिविधि दिमागमा सिनेमाजस्तै आउँछ होला। दिनभर गरेको कामलाई फेरि विचार गर्नु ठीकै हो तर पढ्ने बेलामा भने होइन। सायद पढ्न थाल्दा एकाग्रचित्त हुनुहुन्थ्यो होला वा प्रार्थना गरीवरी पढ्न थाल्नुभएको होला। तर पढ्दै गर्दा मन त विस्तारै उड्न पो थालेछ! त्यसो हो भने एकाग्र हुन फेरि प्रयास गर्नुहोस्। पढिरहेको कुरामा सारा ध्यान लगाउन मन बाँध्नुहोस्। यसो गर्नुभयो भने बिस्तारै आफ्नो प्रगति देख्न सक्नुहुनेछ।
पढ्दा पढ्दै नबुझिने शब्दमा अड्कनुभयो कि? त्यस्ता केही शब्द लेखमै व्याख्या गरिएका हुन सक्छन्। अथवा सन्दर्भबाटै शब्दको अर्थ पत्ता लगाउन सक्नुहुन्छ होला। सक्नुभएन भने शब्दकोशमै अर्थ खोज्नुहोस्। तर शब्दकोश छैन भने पछि कसैलाई सोध्न उक्त शब्दमा चिनो लगाउनुहोस्। यसो गर्दा तपाईंको शब्द-भण्डार बढ्नेछ र पढ्दा अझ राम्ररी बुझ्न सक्नुहुनेछ।
मानिसहरूसामु पढ्नुहोस्
मानिसहरूसामु पढ्ने काममा लागिरहनुहोस्
पढ्ने काममा लागिरह भनेर तिमोथीलाई बताउँदा प्रेषित पावलले मानिसहरूसामु पढ्दा उनीहरूलाई हुने फाइदाबारे तोकेरै बताउँदै थिए। (१ तिमो. ४:१३) हुन पनि मानिसहरूसामु प्रभावकारी ढङ्गमा पढ्दा शब्द उच्चारण गरेर मात्र पुग्दैन; शब्दको अर्थ बुझ्नु र ती शब्दले बताउन खोजेको कुरा बुझ्नु पनि जरुरी छ। तिनले त्यसो गरेका छन् भने मात्र सही विचार व्यक्त गर्न र ठीक भाव उत्पन्न गर्न सक्छन्। तर यसको लागि विस्तृत तयारी गर्नु र अभ्यास गर्नु आवश्यक छ। त्यसैकारण पावलले यस्तो सल्लाह दिए: “मानिसहरूसामु . . . पढ्ने . . . काममा लागिरह।” यो सीप तिखार्ने महत्त्वपूर्ण प्रशिक्षण ईश्वरतान्त्रिक सेवा स्कूलमा पाउन सक्नुहुन्छ।
पढ्ने समय निकाल्नुहोस्
“पूर्व-सोच र परिश्रमले अवश्य लाभ ल्याउँछ, हतार गर्ने मानिस निश्चय कङ्गाली हुन्छ।” (हितो. २१:५) पढ्ने इच्छुकताको सम्बन्धमा यो कुरा सोह्रै आना सही! “लाभ” उठाउन लगनशील भई योजना मिलाउनुपर्छ। यसरी योजना बनाउँदा अरू कुराले हाम्रो पढाइमा भाँजो हाल्न पाउँदैन।
तपाईं कहिले पढ्नुहुन्छ? बिहान सबेरै पढ्दा फाइदा हुन्छ कि? अथवा दिउँसो बढी चनाखो महसुस गर्नुहुन्छ भने दिउँसो नै पढ्नुहुन्छ कि? जेहोस् हरेक दिन पढ्नको लागि १५/२० मिनेट मात्र भए पनि छुट्ट्याउने गर्नुभएको छ भने कत्तिको सिध्याउनुभयो, त्यो देखेर दङ्ग पर्नुहुनेछ। कुरोको चुरो हो:- पढाइमा नियमित हुनु।
किन यहोवाले आफ्ना महान् उद्देश्य किताबमै लेखाउन रोज्नुभयो? मानिसहरूले उहाँको वचनमा सल्लाह खोज्न सकून् भनेर। बाइबल पढेर तिनीहरू परमेश्वरका महान् कार्यहरूबारे सोच्न, छोराछोरीलाई तीबारे बताउन र परमेश्वरका कार्यहरू सम्झिरहन सक्थे। (भज. ७८:५-७) त्यसैले उहाँले दिएको जीवनदायी वचन पढ्ने काममा लागिरहेर हामी यहोवा परमेश्वरको उदारताको कदर गर्छौं।