मेसोरेट पद भनेको के हो?
तपाईंले जुनसुकै भाषामा बाइबल पढ्नु भए तापनि सम्भवतः त्यस पुस्तकको केही भाग प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा मेसोरेट पदबाट अनुवाद गरिएको थियो जसमा हिब्रू शास्त्र अथवा “पुरानो नियम” समावेश छ। यथार्थमा, धेरै मेसोरेट पदहरू थिए। अतः कुन चाहिं छानियो र किन? वास्तवमा, मेसोरेट पद भनेको के हो र यो भरपर्दो छ भनी हामी कसरी थाह पाउँछौं?
यहोवाको वचन
सा. यु. पू. १५१३ मा सीनै पर्वतमा बाइबल लेख्न थालियो। प्रस्थान २४:३, ४ ले हामीलाई यसो भन्छ: “मोशाले आएर परमप्रभुका सबै कुरा र व्यवस्थाका वचनहरू मानिसहरूलाई सुनाए, र सबै मानिसहरूले एकै सोर गरी भने, ‘परमप्रभुले भन्नुभएका सबै वचनहरू हामी पालन गर्छौं।’ तब मोशाले परमप्रभुका सबै वचनहरू लेखे।”
सा. यु. पू. १५१३ देखि सा.यु.पू. ४४३ सम्म हजार वर्षभन्दा बढी समय लगाएर हिब्रू शास्त्र लिपिबद्ध गरियो। त्यसका लेखकहरू परमेश्वरद्वारा प्रेरित भएकोले उहाँको समाचार विश्वासीपूर्वक संचय होस् भनेर उहाँले डोऱ्याउनु तर्कसंगत कुरा हो। (२ शमूएल २३:२; यशैया ४०:८) तथापि, प्रतिहरू बनाउँदै जाँदा एउटै शब्द पनि परिवर्तन नहोस् भनेर सम्पूर्ण मानव त्रुटिहरू यहोवाले झिक्नुहुनेछ भन्नु मिल्छ र?
त्रुटिहरू बिस्तारै घुस्न थाले
परमेश्वरको वचनप्रति गहिरो आदर भएका मानिसहरूले पुस्तौंको दौडान प्रतिहरू बनाएको भए तापनि हस्तलिपिमा केही मानव त्रुटिहरू भने घूसे। बाइबलका लेखकहरू प्रेरित थिए तर प्रतिलिपिकहरूले ईश्वरीय प्रेरणाद्वारा लेखेका थिएनन्।
सा.यु.पू. ५३७ मा बेबिलोनी निर्वासनबाट फर्केपछि यहूदीहरूले बेबिलोनमा सिकेका चारकुन्ने अक्षरहरूको नयाँ लेखन शैली अपनाए। यस ठूलो परिवर्तनले एउटा अन्तर्निहित समस्या ल्यायो। त्यो हो, उस्तै देखिने केही अक्षरहरू कुन चाहिं हो, छुट्याउन नसक्ने सम्भावना थियो। हिब्रू भाषा व्यञ्जनहरूमा आधारित र आफूले सन्दर्भ बुझेअनुसार पाठकले स्वर थप्ने भएकोले एउटा व्यञ्जनको फेरबदलले पनि शब्दको अर्थ सजिलै बदल्नसक्छ। तथापि, प्रायजसो अवस्थामा त्यस्ता गल्तीहरू थाह पाएर सच्याइन्थ्यो।
बेबिलोनको पतनपछि अधिकांश यहूदीहरू इस्राएल फर्केनन्। तसर्थ, मध्य पूर्व र युरोपका यहूदी समुदायहरूका निम्ति सभाघरहरू नै धार्मिक थलोहरू हुन गए।a हरेक सभाघरमा शास्त्रका लिपिहरू हुनु आवश्यक थियो। प्रतिहरू बढ्दै जाँदा प्रतिलिपिकहरूले त्रुटि गर्ने सम्भाव्यता पनि बढ्न थाल्यो।
त्रुटिहरू हटाउने प्रयास
सबै हिब्रू शास्त्रका लिपिहरू सच्याउन सा.यु. प्रथम शताब्दीतिर यरूशलेमका शास्त्रीहरूले मौलिक पद स्थापना गर्ने प्रयास गरे। यद्यपि, मौलिक पद र प्रतिलिपिकहरूका त्रुटिहरू भएका हस्तलिपिहरू छुट्याउने कुनै ठोस प्रक्रिया थिएन। सा.यु. दोस्रो शताब्दीदेखि हिब्रू शास्त्रको व्यञ्जनात्मक पदको आधिकारिक मान्यता प्राप्त नभए तापनि त्यसको सर्वसम्मति भने राम्ररी स्थापना भइसकेको देखिन्छ। ताल्मुदमा देखिने हिब्रू शास्त्रका उद्धरणहरूले (दोस्रो र छैटौं सा.यु. बीच संकलन गरिएका पदहरू) पछि मेसोरेट पद भनेर चिनिन थालेको स्रोत बेग्लै भएको संकेत गऱ्यो।
हिब्रूमा “मेसोराह” वा “मेसोरेथ” शब्दको अर्थ “परम्परा” हो। हिब्रू शास्त्रका सही प्रतिलिपि बनाउने परम्परा संरक्षण गर्ने जिम्मेवारी लिएकाहरू सा.यु. छैटौं शताब्दीतिर मेसोरेट्स भनेर चिनिन थाले। तिनीहरूले बनाएका प्रतिलिपिहरूलाई मेसोरेट पद भनेर चिनिन्छ। तिनीहरूको काम र तिनीहरूले तयार पारेका पदको विशेषता के थियो?
जीवित, राष्ट्रिय भाषाको रूपमा हिब्रू हराइसकेको थियो र थुप्रै यहूदीहरू हिब्रू भाषा बोल्न जान्दैनन् थिए। यसर्थ, व्यञ्जनात्मक बाइबल पदको अर्थ नै परिवर्तन हुनसक्ने खतरा थियो। यसलाई जोगाउन थोप्ला, धर्सा वा बिन्दुहरूले चित्रण गर्ने स्वरहरूको प्रणाली मेसोरेटहरूले विकास गर्न थाले। यी व्यञ्जनको तल र माथि राखिन्थ्यो। मेसोरेटहरूले चिन्हहरूको जटिल प्रणाली पनि विकास गरे जुन चिन्हहरू विराम र सही उच्चारणको निर्देशक साबित भयो।
अघिका शास्त्रीहरूको पुस्ताले पद परिवर्तन गरेको वा गलत सारेको जस्तो लागेका ठाउँहरूमा मेसोरेटहरूले पद परिवर्तन गर्नुको साटो छेउ टिप्पणीहरू लेखे। तिनीहरूले अनौठा शब्दहरू र संयोजनहरू अनि त्यसको निरन्तरता त्यही पुस्तक वा सम्पूर्ण हिब्रू शास्त्रमा टिपोट गरे। दोहरो जाँच्न मदत दिनको लागि प्रतिलिपिकहरूलाई थप टिप्पणीहरू पनि प्रदान गरियो। असाध्यै चतुऱ्याइँपूर्वक यो जानकारी लिपिबद्ध गर्न संक्षेपीकृत “कोडहरूको” प्रणाली विकसित गरियो। त्यसको तल र माथिको स्तम्भको छेउमा टिपोट गरिएका पदहरूसित सम्बन्धित सानो अनुक्रमणिकाको सूची राखियो।
सबैभन्दा प्रख्यात प्रणाली गालिल समुद्रको किनार, टाइबेरियसका मेसोरेटहरूले सच्याएका थिए। सा.यु. नवौं र दशौं शताब्दीका बेन आशेर र बेन नाप्ताली परिवारका सम्भवतः केरातहरू विशेषगरि प्रख्यात हुन थाले।b यी दुइ पन्थका शब्दोच्चारण तरिका र छेउ टिप्पणीहरू फरक भए तापनि सम्पूर्ण हिब्रू शास्त्रमा दशभन्दा कम ठाउँहरूमा मात्र ती पदहरूका व्यञ्जनहरू भिन्न छन्।
बेन आशेर र बेन नाप्ताली, दुवै पक्षका मेसोरेटहरूले त्यतिबेला पद्यांशलाई सच्याउन निकै योगदान पुऱ्याए। माइमोनायडेसहरूले (१२ औं शताब्दीको प्रभावकारी ताल्मुद शास्त्रज्ञ) बेन आशेरको पदको प्रशंसा गरेपछि अरूले पनि त्यसलाई अत्यधिक मान्यता दिन थाले। यो तिनीहरूले त्यो हदसम्म गरे कि आज एउटै पनि बेन नाप्ताली हस्तलिपि भेटिंदैन। अहिले केवल दुइ पक्षबीच भिन्नताको सूची मात्रै बाँकी छ। हाँस्यास्पद कुरा के हो भने, माइमोनायडेसहरूको टिप्पणी सही अनुवाद गर्नेजस्तो गहन विषयहरूमा नभई अनुच्छेदहरूबीचको दूरीजस्ता रूपरेखासम्बन्धी कुराहरूमा थियो।
के हामी “शुद्ध” मेसोरेट पद पाउनसक्छौं?
अहिले उपलब्ध पदमध्ये कुन चाहिं बेन आशेर पद “शुद्ध” हो भन्ने विषयमा शास्त्रज्ञहरूबीच मतभिन्नता पाइन्छ। तिनीहरूको सोचाइमा यो उत्तरले नै “साँचो” मेसोरेट पद प्रदान गर्लाजस्तो भान थियो। वास्तवमा, एउटा अनुपम, “शुद्ध” र आधिकारिक मेसोरेट पद अस्तित्वमा कहिल्यै थिएन। बरु, थुप्रै मेसोरेट पदहरू थिए र ती एक अर्कोभन्दा अलि भिन्न थिए। सबै विशिष्ट कोडेक्सहरू बेन आशेर र बेन नाप्तालीका मिश्रित पदहरू हुन्।
आज हिब्रू शास्त्रको जुनसुकै अनुवादकले सामना गर्ने काम भयंकर छ। हिब्रू पदसित मात्र होइन तर प्रतिलिपिकहरूको त्रुटि वा अन्यथा परिवर्तन भएका पदहरूको तार्किक विकल्पसित तिनी परिचित हुनुपर्छ। विभिन्न मेसोरेट पदहरूले आधारशिला खडा गरे तापनि तिनले अन्य वैध स्रोतहरूको परामर्श लिनुपर्छ ताकि तर्कपूर्ण ढंगमा त्यो पुरातन र शायद व्यञ्जनात्मक पदको सही संस्करण प्रस्तुत गर्न सकियोस्।
आफ्नो पुस्तक, द टेक्स्ट अफ दि ओल्ड टेस्टामेन्ट-को परिचयमा अन्स्ट भर्टभाइन यसरी वर्णन गर्छन्: “कठिन पद्यांशहरू अनुवाद गर्नुपर्दा हामीले केवल बेग्लाबेग्लै अनुवादहरू संकलन गरेर कहिले हिब्रू, कहिले सेप्टुआजिन्ट वा अरामिक टार्गम छान्दै सबैभन्दा सरल समाधान छान्न सक्दैनौं। पदसम्बन्धी प्रमाणहरू सबै नै उत्तिकै भरपर्दा हुँदैनन्। हरेकको आफ्नै गुन र अनौठो इतिहास हुन्छ। अपुग वा झूटा समाधानहरू घुस्न नदिन हामी तीसित परिचित हुनुपर्छ।”
यहोवाले आफ्नो वचन सुरक्षित गर्नुभएको छ भनी निर्धक्क हुने हामीसित ठोस आधार छ। शताब्दीऔंदेखि थुप्रै इमान्दार मानिसहरूको संयुक्त प्रयासले गर्दा भौतिक स्रोत, विषयवस्तु र बाइबलको समाचारका विवरणहरूसमेत सजिलै उपलब्ध छ। अक्षर वा शब्दमा अलिकता हेरफेर हुँदैमा हामीलाई शास्त्र बुझ्न गाह्रो परेको छैन। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न त के हो भने, के हामी परमेश्वरको वचन, बाइबलअनुसार जीवन बिताउनेछौं?
[फुटनोटहरू]
a इस्राएल बाहिरका अधिकांश यहूदीहरूले हिब्रू भाषा धाराप्रवाह पढ्न नसक्ने भएकोले एलेक्जान्ड्रिया, मिश्रका यहूदी समुदायहरूले स्थानीय भाषामा बाइबल अनुवाद गर्नुपर्ने आवश्यकता देखे। यो आवश्यकता पूर्ति गर्न युनानी सेप्टुआजिन्ट संस्करण सा.यु.पू. तेस्रो शताब्दीमा तयार पारियो। पछि आलोचनात्मक तुलना गर्न यो संस्करण महत्त्वपूर्ण स्रोत हुनेथियो।
b सा.यु. ७६० तिर केरात नामक यहूदी समूहले शास्त्रको हुबहु अनुसरण गर्नुपर्ने माग गरे। रब्बीहरूको अख्तियार अर्थात् “मौखिक व्यवस्था” र ताल्मुदलाई इन्कार गर्दै व्यवस्थित ढंगमा बाइबलको पदलाई जोगाउने तिनीहरूसित थप कारण थियो। यस समूहका केही परिवारहरू पछि निपुण मेसोरेट प्रतिलिपिकहरू भए।
[पृष्ठ २६-मा भएको चित्र]
एलेपो कोडेक्समा मेसोरेट पद समावेश छ
[स्रोत]
Bibelmuseum Münster