मेसोरेटहरू तिनीहरू को थिए?
यहोवा, “सत्य परमेश्वर[ले]” उहाँको वचन, बाइबललाई सुरक्षित राख्नुभएको छ। (भजन ३१:५) तर सत्यको शत्रु, शैतानले त्यसलाई भ्रष्ट तथा नाश पार्न खोजेको हुँदा हामीसित भएको बाइबल मौलिक रूपमै सुरक्षित छ भनेर कसरी भन्नसक्छौं?—मत्ती १३:३९ हेर्नुहोस्।
यस प्रश्नको आंशिक जवाफ प्राध्यापक रबर्ट गर्डिसको टिप्पणीमा पाइन्छ: “मेसोरेटहरू वा ‘परम्पराका संरक्षकहरू’ भनिने हिब्रू शास्त्रीहरूका उपलब्धिहरूको पर्याप्त मूल्यांकन गरिएको छैन। यी अज्ञात शास्त्रीहरूले सावधानीपूर्वक र मायालु ढंगमा पवित्र पुस्तकको प्रतिलिपि बनाए।” आज ती अधिकांश प्रतिलिपिकहरू बेनामी रहे तापनि मेसोरेटहरूको एउटा परिवारको नाउँ भने स्पष्टसित लिपिबद्ध छ। त्यो हो, बेन आशेर। हामीलाई तिनीहरू र तिनीहरूका संगी मेसोरेटहरूबारे के थाह छ?
बेन आशेर परिवार
सुरुमा हिब्रूमा लेखिएको बाइबलको अंशलाई प्रायजसो पुरानो नियम भनिन्छ। यहूदी शास्त्रीहरूले विश्वासीपूर्वक यसका प्रतिलिपिहरू बनाएका थिए। छैटौंदेखि दशौं शताब्दी सा.यु. सम्म यी प्रतिलिपिक- हरूलाई मेसोरेटहरू भनिन्थ्यो। तिनीहरूले के कस्ता कामहरू गर्थे?
शताब्दीयौंसम्म केवल व्यञ्जनहरू प्रयोग गरेर हिब्रू भाषा लेखिन्थ्यो र पाठकहरू स्वयंले स्वर थप्नुपर्थ्यो। तथापि, मेसोरेटहरूको समयसम्म हिब्रू शब्दहरूको सही उच्चारण नै हराइसकेको थियो किनभने अधिकांश यहूदीहरू त्यस भाषामा पोख्त थिएनन्। बेबिलोन तथा इस्राएलका मेसोरेटहरूको समूहले स्वराघात र स्वरहरूको सही शब्दोचारणका लागि व्यञ्जनहरूबीच लिखित संकेतहरू राख्न थाले। कम्तीमा तीन बेग्लाबेग्लै प्रणालीहरू विकास गरिए तर गालील समुद्रको तटमा पर्ने टाइबेरियसका मेसोरेटहरूले सबैभन्दा बढी प्रभाव पारे। र त्यहीं बेन आशेर परिवार बस्थे।
विभिन्न श्रोतहरूले यस अनुपम मेसोरेट परिवारको पाँच पुस्ता सूचीबद्ध गरेका छन्। यसमध्ये सबैभन्दा जेठो आठौं शताब्दी सा.यु. का आशेर हुन्। अन्य व्यक्तिहरू नहेम्याह बेन आशेर, आशेर बेन नहेम्याह, मोजेज बेन आशेर र अन्ततः दशौं शताब्दी सा.यु. का एरोन बेन मोजेज बेन आशेर थिए।a हिब्रू बाइबल पदका सही शब्दोचारण बुझोस् भनेर लिखित संकेतहरूलाई परिष्कृत पार्ने काममा यी पुरुषहरू अग्रपंक्तिमा थिए। यी संकेतहरूको विकास गर्न तिनीहरूले हिब्रू व्याकरण प्रणालीको आधार निर्धारण गर्नुपर्थ्यो। हिब्रू व्याकरणको कुनै निश्चित नियमहरू लिपिबद्ध गरिएका थिएनन्। तसर्थ, यी मेसोरेटहरूलाई प्रथम व्याकरणविद्हरू भने पनि हुन्छ।
यस जानकारीलाई लिपिबद्ध गरेर संशोधन गर्ने प्रथम व्यक्ति परम्परागत बेन आशेर परिवारका अन्तिम मेसोरेट, एरोन थिए। तिनले हिब्रू व्याकरणका नियमहरूको प्रथम पुस्तक, “सेफेर डिक्डुकाइ हा टिआमिम” नामक कृतिमा उक्त जानकारीहरू उल्लेख गरे। यो पुस्तक भावी शताब्दीयौंसम्म हिब्रू व्याकरणविद्हरूका लागि अन्य कृतिहरूको आधार भयो। तर यो मेसोरेटहरूले गरेको अझ महत्त्वपूर्ण कृतिको गौण उत्पादन मात्र थियो। त्यो के थियो?
असाधारण स्मरणशक्तिको आवश्यकता
मेसोरेटहरूको मुख्य चासोको विषय बाइबल पदको हरेक शब्द र हरेक अक्षरसमेत सही प्रसारण गर्नु थियो। मेसोरेटहरूले सही जानकारी लिपिबद्ध गर्न हरेक पृष्ठको किनारा उपयोग गरे। त्यहाँ तिनीहरूले अघिका प्रतिलिपिकहरूद्वारा जान अनजानमा गरिएका पदका सम्भाव्य हेरफेरहरू उल्लेख गरे। यी किनाराका टिप्पणीहरूमा मेसोरेटहरूले अनौठो शब्द तथा शब्द संरचनाहरू लेखे। एउटा पुस्तकमा वा सम्पूर्ण हिब्रू शास्त्रभरि ती कति चोटि प्रयोग भएका छन्, त्यो पनि उल्लेख गरे। यथेष्ट ठाउँ नभएकोले यी टिप्पणीहरू असाध्यै संक्षेपीकृत कोडमा लेखिएका थिए। थप प्रतिसंकेतहरूको सहायकको रूपमा तिनीहरूले केही पुस्तकहरूका बीचको शब्द वा अक्षरलाई चिन्ह लगाए। सही प्रतिलिपि बनाउनको लागि तिनीहरूले बाइबलका एक एक अक्षरसमेत गणना गरे।
पृष्ठको माथिल्लो तथा तल्लो किनारामा मेसोरेटहरूले छेउका संक्षिप्त टिप्पणीहरूबारे अझ विस्तृत टिप्पणीहरू लिपिबद्ध गरे।b तिनीहरूका कृतिहरू जाँच्न यी मदतकारी थिए। त्यतिबेलाका पदहरूको अंक विभाजन नगरिएको र बाइबल शब्दानुक्रमणिका नभएको हुँदा मेसोरेटहरूले खोजीनिती गर्न बाइबलका अरू अंशहरू कसरी संकेत गर्थे? ती शब्द वा शब्दहरू बाइबलमा अरू कहाँ पाइन्छ भनेर देखाउन तिनीहरूले समानान्तर पदको केही भाग माथिल्लो तथा तल्लो किनारामा सूचीबद्ध गरे। यथेष्ट ठाउँ नभएको हुँदा तिनीहरूले हरेक समानान्तर पद देखाउन प्रायजसो एउटा मूल शब्द मात्र लेख्थे। यी छेउ टिप्पणीहरू मदतकारी साबित हुन यी प्रतिलिपिकहरूले वास्तवमा सम्पूर्ण हिब्रू बाइबल मुखस्त गर्नुपर्थ्यो।
किनारामा नअटाएका लामो सूचीहरू भने हस्तलिपिको अर्कै ठाउँमा लेखियो। उदाहरणको लागि, उत्पत्ति १८:३ को किनारामा लेखिएको मेसोरेट टिप्पणीले तीनवटा हिब्रू अक्षरहरू קלד देखाउँछ। यो हिब्रू संख्या १३४ को समानार्थक हो। पूर्व मेसोरेट प्रतिलिपिकहरूले हिब्रू शास्त्रबाट जानाजानी यहोवाको नाउँ हटाएर “परमप्रभु” लेखेका १३४ वटा स्थानहरू हस्तलिपिको अर्कै ठाउँमा सूचीबद्ध गरिएको छ।c यी सबै परिवर्तनहरूबारे सजग भए तापनि मेसोरेटहरूले ती पदहरूलाई हेरफेर गरेनन्। बरु, तिनीहरूले यी हेरफेरहरू किनाराका टिप्पणीहरूमा उल्लेख गरे। तर मेसोरेटहरूभन्दा अघिका प्रतिलिपिकहरूले पदमा हेरफेर गरे तापनि यिनीहरू किन यत्तिको होशियार भए? के तिनीहरूको यहूदी विश्वास तिनीहरूका पूर्वजहरूभन्दा भिन्न थियो?
तिनीहरूले के विश्वास गर्थे?
मेसोरेटहरूले प्रगति गरेको यो समयको दौडान यहूदी धर्म गहन विचारधाराको युद्धमा अन्तरग्रस्त भयो। प्रथम शताब्दी सा.यु. देखि रब्बीहरूका यहूदी धर्मले आफ्नो आधिपत्य बढाइरहेका थिए। ताल्मुदको लेखन र रब्बीहरूले अर्थ खुलाउन थालेपछि रब्बीहरूको मौखिक व्यवस्थाको दाँजोमा बाइबलको पद गौण हुन थाल्यो।d तसर्थ, बाइबललाई होशियारीपूर्वक सञ्चय गर्नुको महत्त्व कम हुन सक्थ्यो।
आठौं शताब्दीमा केराइती समूहले यस प्रवाहको विरोध गरे। व्यक्तिगत बाइबल अध्ययनको महत्त्वमाथि जोड दिन तिनीहरूले रब्बीहरू र ताल्मुदको अख्तियार तथा अर्थलाई इन्कार गरे। तिनीहरूले अख्तियारको रूपमा बाइबलको पदलाई मात्र स्वीकारे। यसले गर्दा त्यस पदको सही प्रसारण हुनुपर्ने खाँचो बढ्यो र यसप्रकार मेसोरेट कृतिले पुनःजागृत प्रोत्साहन पायो।
मेसोरेटहरूका कृतिमा रब्बीहरू वा केराइतहरूका विश्वासले कुन हदसम्म प्रभाव पाऱ्यो? हिब्रू बाइबल हस्तलिपिहरूका विशेषज्ञ, एम. एच. गोशेन-गट्स्टिन यसरी बताउँछन्: “आफूले पुरातन परम्पराअनुसार गरिरहेका छन् र जानाजानी त्यसमा हस्तक्षेप गर्नु हत्यासरह हुनेछ भनेर मेसोरेटहरू विश्वस्त थिए।”
मेसोरेटहरू बाइबल पदका सही प्रतिलिपिहरू बनाउनुलाई एउटा पवित्र कार्य ठान्थे। तिनीहरू व्यक्तिगत तवरमा अन्य धार्मिक कुराहरूबाट उत्प्रेरित भएको भए तापनि मेसोरेट पद चाहिं अन्य विचारधाराहरूबाट प्रभावित नभएजस्तो देखिन्छ। ती किनारामा लेखिएका संक्षिप्त टिप्पणीहरूले धर्मसिद्धान्तसम्बन्धी विवाद गर्ने कुनै मौका दिएन। बाइबलको पद नै तिनीहरूको जीवनको चासो थियो। तिनीहरूले त्यसमा खेलवाड गर्ने थिएनन्।
तिनीहरूको कृतिबाट लाभ उठाउने
प्राकृतिक इस्राएल, परमेश्वरले छान्नुभएको जन नभए तापनि यी यहूदी प्रतिलिपिकहरूले परमेश्वरको वचन संरक्षण गर्न आफूलाई पूर्णतया समर्पण गरेका थिए। (मत्ती २१:४२-४४; २३:३७, ३८) बेन आशेर परिवार र अन्य मेसोरेटहरूको उपलब्धिबारे रबर्ट गर्डिसले पूर्ण औचित्यसाथ संक्षेपमा यसो भने: “ती नम्र तथा अदम्य कारिन्दाहरूले . . . बाइबल पदमा ह्रास वा विविधता हुनदेखि जोगाउन यस भीषण कार्यलाई कुनै नाउँ सम्मानबिना गरे।” (द बिब्लिकल टेक्स्ट इन द मेकिंग) फलतः लुथर र टिन्डेलजस्ता १६ औं शताब्दीका सुधारकहरूले चर्चको अख्तियारलाई इन्कार गरेर सामान्य भाषाहरूमा बाइबल अनुवाद गर्न थाल्दा तिनीहरूसित आधारशीलाको रूपमा संरक्षित हिब्रू शास्त्र थियो।
मेसोरेटको कृतिले आज हामीलाई पनि लाभ पुऱ्याउँछ। तिनीहरूको हिब्रू पद नै न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स-को हिब्रू शास्त्रको आधार हुन गयो। पुरातन मेसोरेटहरूले देखाएको समर्पण र सही प्रतिलिपि बनाउने त्यही जोशका साथ आज थुप्रै भाषाहरूमा न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स अनुवाद भइरहेको छ। हामीले यहोवा परमेश्वरको वचनलाई त्यस्तै जोशका साथ ध्यान दिनुपर्छ।—२ पत्रुस १:१९.
[फुटनोटहरू]
a हिब्रूमा “बेन”-को अर्थ “छोरा” हो। तसर्थ, बेन आशेरको अर्थ “आशेरको छोरा” हो।
b किनाराका मेसोरेट टिप्पणीहरूलाई स्मल मेसोरा (सानो मेसोरा) भनिन्छ। माथिल्लो र तल्लो किनाराका टिप्पणीहरूलाई लार्ज मेसोरा (ठूलो मेसोरा) भनिन्छ। हस्तलिपिको अर्कै ठाउँका सूचीहरूलाई फाइनल मेसोरा (अन्तिम मेसोरा) भनिन्छ।
c न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स विथ रेफरेन्सेज-को (पवित्र शास्त्रको नयाँ विश्व अनुवाद सन्दर्भिकासहित) अनुक्रमणिका 1B हेर्नुहोस्।
d मौखिक व्यवस्था र रब्बीहरूको यहूदी धर्मबारे थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इंक-द्वारा प्रकाशित विल देर बी अ वर्ल्ड विथाउट वर? (के युद्धबिनाको संसार हुनेछ?) पुस्तिकाको पृष्ठ ८-११ हेर्नुहोस्।
[पृष्ठ २८-मा भएको पेटी/चित्र]
हिब्रू शब्दोचारण प्रणाली
स्वर संकेत तथा बलाघातहरू लिपिबद्ध गर्ने सर्वोत्तम तरिका भेटाउन मेसोरेटहरूलाई निकै शताब्दी लाग्यो। यसर्थ, बेन आशेर परिवारका हरेक पुस्ताले क्रमानुसार परिवर्तनहरू गर्नु अचम्मको कुरा होइन। उपलब्ध हस्तलिपिहरूमा बेन आशेर परिवारका केवल अन्तिम दुइ मेसोरेटहरू, मोजेज र एरोनको शैली तथा तरिका झल्किन्छ।e यी हस्तलिपिहरूको तुलनात्मक अध्ययन गर्दा शब्दोचारण र संकेतहरूका केही स-साना बुँदाहरूसम्बन्धी एरोनका नियमहरू तिनको बुबा, मोशाको भन्दा भिन्दै भएको देखिन्छ।
बेन नाप्ताली एरोन बेन आशेरका समकालीन थिए। मोजेज बेन आशेरको काइरो कोडेक्समा बेन नाप्तालीका थुप्रै अनुवादहरू समावेश छन्। तसर्थ, बेन नाप्तालीले मोजेज बेन आशेरसित अध्ययन गरेको वा ती दुवैले पुरातन परम्परालाई संरक्षण गरेको हुनुपर्छ। थुप्रै शास्त्रज्ञहरूले बेन आशेर र बेन नाप्ताली प्रणालीबीचको भिन्नताबारे बताउँछन्। तर गोशेन गटस्टाइन यसप्रकार लेख्छन्: “बेन आशेर परिवारभित्रका दुइ उपप्रणालीहरू र तिनीहरूका अनुवादहरूलाई यसो भन्नु त्यत्तिको अनुपयुक्त नहोला: बेन आशेरको विरुद्धमा बेन आशेर।” अतः बेन आशेरको एउटै मात्र तरिकाबारे कुरा गर्नु गलत हुनेछ। एरोन बेन आशेरका तरिकाहरू अन्ततः स्वीकृत तरिका हुनुको कारण कुनै अन्तरनिहित श्रेष्ठताले होइन। बाह्रौं शताब्दीका ताल्मुद शास्त्रज्ञ, मोजेज माइमोनायडेसले एरोन बेन आशेरको पदलाई प्रशंसा गरेकोले मात्र त्यसले बढी मान्यता पाएको हो।
[हिब्रू अक्षरको चित्र]
स्वर तथा स्वराघात चिन्ह राख्दा र नराख्दा प्रस्थान ६:२ को अंश यस्तो देखिन्छ
[फुटनोट]
e सुरु र अन्तका अगमवक्ताहरूका लेखहरू मात्र समावेश गरिएको काइरो कोडेक्सले (सा.यु. ८९५) मोशाको शैलीको उदाहरण प्रस्तुत गर्छ। आलेपो (सा.यु. ९३० तिर) र लेनिनग्राड (सा.यु. १००८) कोडेक्सहरू एरोन बेन आशेर परिवारका उदाहरणहरू मानिन्छन्।
[पृष्ठ २६-मा भएको चित्र]
टाइबेरियस, आठौंदेखि दशौं शताब्दीसम्म मेसोरेटसम्बन्धी क्रियाकलापको केन्द्रबिन्दु रह्यो
[स्रोत]
Pictorial Archive (Near Eastern History) Est.