प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ७/१५ pp. ४-७
  • आत्मिक संसारका शासकहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आत्मिक संसारका शासकहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको विद्रोह गर्ने वास्तविक आत्मिक व्यक्‍ति
  • शैतानलाई शासन गर्ने अनुमति किन दिइएको छ
  • शैतानको अल्प समय बाँकी छ!
  • राज्य शासनअन्तर्गत हर्षित
  • अनन्त जीवनको एउटा शत्रु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • परमेश्‍वरले कुन उद्देश्‍यले पृथ्वी सृष्टि गर्नुभयो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • आफ्नो शत्रुलाई चिन्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ७/१५ pp. ४-७

आत्मिक संसारका शासकहरू

संसारलाई कसले शासन गर्छ? के कुनै अलौकिक सुपरिवेक्षक छ? वा के परमेश्‍वरले मानिसहरूलाई तिनीहरूकै जिम्मामा छोड्‌नुभएको छ? यी प्रश्‍नहरूका जवाफ खोज्नअघि आउनुहोस्‌, येशू ख्रीष्टको पार्थिव सेवकाईको दौडानमा भएको एउटा घटनालाई सर्वप्रथम विचार गरौं।

येशूको बप्तिस्माको थोरै समयपश्‍चात्‌ उहाँलाई शैतान अर्थात्‌ दियाबल भनिने अदृश्‍य आत्मिक प्राणीले प्रलोभित गऱ्‍यो। ती प्रलोभनहरूमध्ये एउटालाई उद्धरण गर्दै बाइबल यसो भन्छ: “दुष्टात्माले उहाँलाई [येशू] एउटा अल्गो पर्वतमा लगेर जगत्‌का सबै राज्य र तिनको गौरव उहाँलाई देखायो।” (मत्ती ४:८) त्यसपछि शैतानले येशूलाई यसो भन्यो: “म यो सारा अख्तियार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएको छ, औ जसलाई इच्छा गर्दछु, म यो दिनसक्छु। यसकारण तपाईंले मेरै सामने दण्डवत्‌ गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्‌।”—लूका ४:६, ७.

शैतानले यस संसारका सम्पूर्ण राज्य वा सरकारहरूमाथि आफ्नो अख्तियार भएको दाबी गऱ्‍यो। के येशूले यो दाबीलाई इन्कार गर्नुभयो? अहँ, गर्नुभएन। वास्तवमा, उहाँले अर्को अवसरमा शैतानलाई “संसारको शासक” भनी सम्बोधन गर्नुभएर यो दाबी पुष्टि गर्नुभयो।—यूहन्‍ना १४:३०.

बाइबलअनुसार शैतान असाध्यै शक्‍तिशाली दुष्ट स्वर्गदूत हो। मसीही प्रेरित पावलले शैतानलाई “दुष्ट्याइँका आत्मिक सेनाहरू[सित]” गाँसेका छन्‌ र तिनीहरूलाई “अन्धकारका सांसारिक शासकहरू” भनेका छन्‌। (एफिसी ६:११, १२) यसबाहेक, प्रेरित यूहन्‍नाले “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भने। (१ यूहन्‍ना ५:१९) बाइबल पुस्तक, प्रकाशले बताएअनुसार शैतानले ‘सारा संसारलाई ठगिरहेको’ छ। (प्रकाश १२:९) लाक्षणिक शब्दमा भन्‍ने हो भने, बाइबल पुस्तक, प्रकाशले शैतानलाई एउटा अजिंगरको रूपमा पनि चित्रण गरेको छ जसले यस संसारको राजनैतिक प्रणालीलाई “आफ्नो शक्‍ति, आफ्नो सिंहासन र ठूलो अख्तियार” दिन्छ।—प्रकाश १३:२.

मानिसहरूलाई हानि पुऱ्‍याउन मानिसहरूलाई नै चलाउने दुष्ट शक्‍ति सक्रिय छ भनेर संसारका घटनाहरूले पनि पुष्टि गर्छ। अन्य कुन कारणले गर्दा मानव सरकारहरू शान्ति प्रवर्धन गर्न असफल भएका छन्‌? कुन कारणले गर्दा मानिसहरू एकअर्कालाई घृणा गर्छन्‌ र मार्छन्‌? गृहयुद्धमा हत्या र मृत्यु भएको देखेर एक व्याकुल प्रत्यक्षदर्शीले यसो भने: “मैले यो अत्याचारको कारण बुझेकी छैनँ। यसको कारण घृणा मात्र होइन। एकअर्कालाई नाश गर्न दुष्टात्माले मानिसहरूलाई चलाइरहेको छ।”

परमेश्‍वरको विद्रोह गर्ने वास्तविक आत्मिक व्यक्‍ति

आज, धेरैले शैतान अर्थात्‌ दियाबलको अस्तित्व छ भनेर विश्‍वास गर्दैनन्‌। यद्यपि, केहीले सोचेझैं त्यो मानवजातिमा हुने खराबी मात्र होइन। बाइबल र सांसारिक घटनाहरू दुवैले त्यो वास्तविक व्यक्‍ति हो भनेर देखाउँछ। यसबाहेक, शैतानले यहोवा परमेश्‍वरको पूर्ण विरोध गर्छ। निस्सन्देह, शैतान र परमेश्‍वर बराबर होइनन्‌। यहोवा सर्वशक्‍तिमान सृष्टिकर्ता हुनुभएकोले उहाँ सारा सृष्टिको वैध शासक हुनुहुन्छ।—प्रकाश ४:११.

परमेश्‍वरले विरोधी दुष्ट प्राणी सृष्टि गर्नुभएको थिएन। बरु, परमेश्‍वरका “स्वर्गीय-जनहरू[मध्ये]” एउटाले यहोवाको आधिकारिक उपासना खोस्ने स्वार्थी इच्छा जगायो। (अय्यूब ३८:७; याकूब १:१४, १५) यस इच्छाले गर्दा त्यसले परमेश्‍वरको विद्रोह गर्ने मार्ग छान्यो। यस आत्मिक प्राणीले विद्रोह गरेर आफूलाई शैतान (जसको अर्थ हो, “विरोधी”) र दियाबल (जसको अर्थ हो, “निन्दक”) बनायो। यी सबैलाई विचार गरिसकेपछि तपाईं सोच्नुहोला, शैतानलाई संसारमाथि शासन गर्न किन अनुमति दिइएको छ।

शैतानलाई शासन गर्ने अनुमति किन दिइएको छ

शैतानले येशूलाई यस पृथ्वीको शासनसम्बन्धी भनेको कुरा के तपाईंले सम्झनुभएको छ? शैतानले भन्यो, “म यो सारा अख्तियार . . . तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएको छ।” (लूका ४:६) त्यस वाक्यांशले देखाएअनुसार परमेश्‍वरको अनुमतिद्वारा मात्र शैतान अर्थात्‌ दियाबलले आफ्नो अख्तियारको प्रयोग गर्छ। तर परमेश्‍वरले शैतानलाई किन रहिरहने अनुमति दिनुहुन्छ?

त्यस प्रश्‍नको जवाफ अदनको बगैंचामा भएका घटनाहरूसित सम्बन्धित छन्‌, जहाँ शैतानले संसारको शासकको हैसियतमा आफ्नो कार्य सुरु गऱ्‍यो। प्रथम पुरुष तथा स्त्री, आदम र हव्वालाई असल कुराबाट वञ्चित गर्नुभएर परमेश्‍वरले गलत ढंगमा शासन गरिरहनुभएको छ भनेर शैतानले भन्‍न खोज्यो। शैतानको भनाइअनुसार परमेश्‍वरद्वारा निषेधित फल खाएमा तिनीहरू स्वतन्त्र हुनेथिए। आदम र हव्वा यहोवाबाट स्वतन्त्र अनि स्वाधीन हुनेथिए। तिनीहरू परमेश्‍वरजस्तै हुनेथिए!—उत्पत्ति २:१६, १७; ३:१-५.

यसप्रकार झूटो बोलेर शैतानले हव्वालाई झुक्यायो र तिनी मार्फत आदमलाई चलाएर परमेश्‍वरको नियम भंग गर्न लगायो। यसरी शैतानले प्रथम मानव जोडीलाई आफ्नो नेतृत्व र नियन्त्रणको अधीनमा पाऱ्‍यो। तसर्थ, यहोवाको विरोधी, दियाबल तिनीहरूका देव हुन गयो। तथापि, आदम र हव्वा स्वतन्त्र हुनुको साटो तिनीहरू शैतान, पाप र मृत्युको दास भए।—रोमी ६:१६; हिब्रू २:१४, १५.

यहोवाको सिद्ध न्यायअनुरूप उहाँले शैतान र त्यसका दुइ नयाँ अनुयायीहरूलाई त्यति नै खेर नाश गर्न सक्नुहुन्थ्यो। (व्यवस्था ३२:४) यद्यपि, त्यसमा एउटा नैतिक विवाद मुछिएको थियो। शैतानले यहोवाको शासनपद्धतिको औचित्यमाथि चुनौती खडा गरेको थियो। परमेश्‍वरबाट स्वाधीन हुन खोज्दा विपत्ति आउनेछ भनेर प्रमाणित गर्न परमेश्‍वरले बुद्धिमानीपूर्वक समय दिनुभयो। आदम र हव्वालाई सन्तान जन्माउने मौका दिनुभएर यहोवाले ती विरोधीहरूलाई केही समयसम्म बाँच्न दिनुभयो।—उत्पत्ति ३:१४-१९.

आदमका अधिकांश सन्तानहरूले यहोवाको शासनलाई नस्वीकारे तापनि आफ्ना उपासकहरूसित परमेश्‍वरले गर्नुभएको व्यवहारले उहाँको शासनको श्रेष्ठता प्रदर्शन भएको छ। यहोवाको अख्तियारलाई सही मान्यता दिंदा आनन्द र साँचो सुरक्षा प्राप्त हुन्छ। अर्कोतर्फ, शैतान अधीनस्थ मानव शासनले दुःख र असुरक्षा ल्याएको छ। हो, “एउटा मानिसले अर्को मानिसलाई दुःख” दिइरहेको छ। (उपदेशक ८:९) शैतानको शक्‍तिको अधीनमा परेको मानव शासनअन्तर्गत मानिसहरूले साँचो सुरक्षा र चिरकालीन आनन्द अनुभव गरेका छैनन्‌। तथापि, आशावादी हुने ठोस कारण छ।

शैतानको अल्प समय बाँकी छ!

पृथ्वीमाथि शैतानको प्रभाव क्षणिक हो। यहोवाले शैतानी शासनलाई अझ धेरै समयसम्म रहन दिनुहुनेछैन! चाँडै दियाबल निष्क्रिय तुल्याइनेछ। परमेश्‍वर स्वयम्‌ले छान्‍नुभएको धर्मी राजा, नयाँ शासकले पृथ्वीमाथि नियन्त्रण गर्नेछन्‌। त्यो राजा येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ स्वर्गमा राजा हुनुभएको सन्दर्भमा प्रकाशको पुस्तक यसो भन्छ: “पृथ्वीको राज्य हाम्रा प्रभुको [यहोवा] र उहाँका ख्रीष्टको राज्य भएको छ।” (प्रकाश ११:१५) बाइबलको कालक्रमलगायत शास्त्रीय भविष्यवाणीहरूको पूर्तिले प्रमाणित गरेअनुसार त्यो घटना सन्‌ १९१४ मा सम्पन्‍न भयो।—मत्ती २४:३, ६, ७.

येशू राजा हुनुभएको थोरै समयपश्‍चात्‌ भएको घटना पनि बाइबलले वर्णन गर्छ। त्यहाँ यसो भनिएको छ: “स्वर्गमा लड़ाइँ भयो। माइकल [येशू ख्रीष्ट] र तिनका दूतहरू त्यस अजींगरजस्तै [शैतान अर्थात्‌ दियाबल] पशुसँग लड़ाइँ गर्न गए, र अजींगरजस्तै पशु र त्यसका दूतहरूले युद्ध गरे। औ तिनीहरूले जित्न सकेनन्‌, नता तिनीहरूका निम्ति स्वर्गमा फेरि कुनै ठाउँ रह्‍यो। अनि त्यो अजींगरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।”—प्रकाश १२:७-९.

शैतान स्वर्गबाट फालिएपछि परिणाम के हुनेथियो? स्वर्गमा हुनेहरू रमाउनसक्थे तर पृथ्वीका बासिन्दाहरू नि? प्रकाश १२:१२ यसो भन्छ, “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तल गएको छ।” निस्सन्देह, शैतान स्वर्गबाट फालिएको हुँदा पृथ्वीमा दुःख भएको छ। द कोलम्बिया हिस्ट्री अफ द वर्ल्ड यसो भन्छ: “सन्‌ १९१४-१९१८ सम्म चार वर्षको महाविपत्तिले के देखायो भने, . . . आफ्नो मूर्खता वा दुष्ट झुकावबाट सभ्यतालाई जोगाउन पश्‍चिमी संसार असमर्थ भएको छ। वास्तवमा भन्‍ने हो भने प्रथम विश्‍वयुद्धको त्यस त्रासबाट पश्‍चिमी संसार अझै उम्किन सकेको छैन।”

यस पुस्ताका दुःखहरू त्यस प्रकारको त्रास मात्र होइन। येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ, र ठाउँ ठाउँमा अनिकाल र भैंचालो हुनेछ।” उहाँले रोगको महामारी पनि भविष्यवाणी गर्नुभयो। (मत्ती २४:७, ८; लूका २१:११) यसबाहेक, बाइबलअनुसार शैतानी रीतिरिवाजको “आखिरी दिनमा” धेरै मानिसहरू “स्वार्थी, धनका लोभी, . . . आमाबाबुको आज्ञा पालन नगर्ने, . . . खुशी नहुने” हुनेछन्‌। मानिसहरू “परमेश्‍वरभन्दा बरु सुखविलास निको मान्‍ने” पनि हुनेछन्‌।—२ तिमोथी ३:१-५.

बाइबलले भविष्यवाणी गरेअनुरूप युद्ध, रोगव्याधी, अनिकाल, भुइँचालो र नैतिक मूल्यहरूमा पतनजस्ता कुराहरू सन्‌ १९१४ देखि अतुलनीय अनुपातमा बढिरहेका छन्‌। परमेश्‍वर तथा मानिसको क्रोधित शत्रु, शैतान अर्थात्‌ दियाबल स्वर्गबाट फ्याँकिएको छ र त्यसले आफ्नो क्रोध पृथ्वीमाथि मात्र पोखाउनसक्छ भनेर ती परिस्थितिहरूले संकेत गर्छन्‌। तर शैतानलाई अब लामो समयसम्म क्रियाशील रहने मौका दिइनेछैन भनेर पनि बाइबलले देखाउँछ। त्यसको “अल्प समय” मात्र बाँकी छ र शैतानले नियन्त्रण जमाएको यस संसारलाई परमेश्‍वरले नाश नगरूञ्जेल आरमागेडोनसम्म त्यो रहिरहनेछ।

त्यसपछि शैतानलाई के हुनेछ? प्रेरित यूहन्‍नाले यसप्रकार लेखे: “अगाध खाँदको साँचो र एउटा ठूलो सांग्लो हातमा लिएको एउटा दूत स्वर्गबाट ओर्लेर आएका मैले देखें। औ तिनले त्यस अजींगरजस्तो जानवर, त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधे, र हजार वर्ष भुक्‍तान नहोउञ्जेल . . . त्यसलाई अगाध खाँदमा फालिदिए। औ त्यसलाई बन्द गरेर त्यसमाथि छाप लगाए।” (प्रकाश २०:१-३) दुःख भोगिरहेका मानवजातिको निम्ति कस्तो छुटकारा!

राज्य शासनअन्तर्गत हर्षित

शैतानको नामोनिसान नभएपछि येशू ख्रीष्ट अधीनस्थ परमेश्‍वरको राज्यले मानवजातिका क्रियाकलापहरूमाथि पूर्ण नियन्त्रण जमाउनेछ। पृथ्वीमा थुप्रै सरकारहरू हुनुको साटो सम्पूर्ण ग्रहमाथि शासन गर्न एउटै स्वर्गीय सरकार हुनेछ। युद्ध अतीतको कुरा हुनेछ र शान्ति सर्वव्यापी हुनेछ। परमेश्‍वरको राज्य शासनको अधीनमा सबै जना मायालु भ्रातृत्वमा बस्नेछन्‌।—भजन ७२:७, ८; १३३:१; दानियल २:४४.

येशू कस्तो प्रकारको शासक हुनुहुनेछ? पृथ्वीमा हुनुहुँदा उहाँले मानिसहरूप्रति गहिरो प्रेम देखाउनुभयो। येशूले अनुकम्पासाथ भोकाहरूलाई खाना दिनुभयो। उहाँले बिरामीहरूलाई निको पार्नुभयो, अन्धाहरूलाई दृष्टि, गूंगाहरूलाई बोली प्रदान गर्नुभयो र लंगडाहरूलाई तन्दुरुस्त पार्नुभयो। येशूले मरेकाहरूलाई समेत बिउँताउनुभयो! (मत्ती १५:३०-३८; मर्कूस १:३४; लूका ७:११-१७) ती चमत्कारहरू उहाँले राजाको हैसियतमा भविष्यमा गर्नुहुने अद्‌भुत कुराहरूका पूर्वाभास थिए। त्यस्तो परोपकारी शासक पाउनु कस्तो उदेकलाग्दो हुनेछ!

यहोवाको सार्वभौमिकताको अधीनमा बस्नेहरूले अनन्त आशिष्‌हरू अनुभव गर्नेछन्‌। शास्त्रले यस्तो प्रतिज्ञा गर्छ: “तब अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌। तब लंगडा मृगझैं उफ्रनेछ, र गूंगाको जिब्रोले स्तुति गर्नेछ।” (यशैया ३५:५, ६) त्यस महान्‌ दिनलाई औंल्याउँदै प्रेरित यूहन्‍नाले यसप्रकार लेखे: “सिंहासनबाट यसो भन्‍ने एउटा ठूलो आवाज मैले सुनें, ‘हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।’”—प्रकाश २१:३, ४.

आफ्नो पुत्र, येशू ख्रीष्टद्वारा यहोवाको शासनले प्रदान गर्ने खुशीयालीहरू शैतान अर्थात्‌ दियाबलले प्रभुत्व जमाएको वर्तमान रीतिरिवाजमा भोगेका दुःखहरूका दाँजोमा प्रशस्त हुनेछन्‌। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा मानिसहरूले यो प्रश्‍न गर्नेछैनन्‌, ‘वास्तवमा कसले शासन गरिरहेको छ?’ (२ पत्रुस ३:१३) आत्मिक संसारका मायालु शासकहरू अर्थात्‌ यहोवा र ख्रीष्टअन्तर्गत पृथ्वीका आज्ञाकारी मानवजाति आनन्दित र सुरक्षित हुनेछन्‌। के तपाईंले उहाँहरूको प्रजा हुने आशा राख्नुभएको छ?

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरको राज्यअन्तर्गत पृथ्वीका मानवजाति सुरक्षित हुनेछन्‌

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

NASA photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने