प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 मे pp. २२-२६
  • आफ्नो शत्रुलाई चिन्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो शत्रुलाई चिन्‍नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सैतानको प्रभाव कत्तिको व्यापक छ?
  • सैतानले व्यक्‍तिविशेषलाई कसरी आफ्नो प्रभावमा पार्न खोज्छ?
  • सैतानले गर्न नसक्ने कुराहरू के-के हुन्‌?
  • सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • आत्मिक संसारका शासकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • अनन्त जीवनको एउटा शत्रु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • दियाबल को हो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 मे pp. २२-२६
मानिसहरूलाई बहकाउन सैतानले सरकार, व्यापारजगत्‌ र झूटो धर्मलाई चलाउँछ

आफ्नो शत्रुलाई चिन्‍नुहोस्‌

“[सैतानका] युक्‍तिहरूबारे हामी अनजान छैनौं।”—२ कोरि. २:११.

गीत: १५०, ३२

हामीले के सिक्यौँ?

  • सैतानको प्रभाव कत्तिको व्यापक छ?

  • सैतानले व्यक्‍तिविशेषलाई कसरी आफ्नो प्रभावमा पार्न खोज्छ?

  • हाम्रो शत्रुबारे तपाईँले के सिक्नुभयो?

१. आदम र हव्वाले पाप गरेपछि यहोवाले हाम्रो शत्रुबारे के बताउनुभयो?

सर्पले बोल्न सक्दैन भनेर आदमलाई पक्कै थाह थियो। त्यसकारण कुनै अदृश्‍य व्यक्‍तिले नै सर्पलाई चलाएर हव्वासित कुरा गरेको हुनुपर्छ भन्‍ने निष्कर्षमा आदम पुगेका हुन सक्छन्‌। (उत्प. ३:१-६) आदम र हव्वालाई त्यो अदृश्‍य व्यक्‍तिबारे केही पनि थाह थिएन। तैपनि आदमले जानाजानी आफ्नो मायालु बुबालाई पीठ फर्काए अनि यहोवाको उद्देश्‍यविपरित चल्ने त्यो अपरिचित स्वर्गदूतको पक्ष लिए। (१ तिमो. २:१४) त्यसको लगत्तै यहोवाले आदम र हव्वालाई बहकाउने त्यो शत्रुबारे बताउन थाल्नुभयो र अन्ततः त्यस दुष्ट शत्रुको विनाश हुनेछ भनेर पनि प्रतिज्ञा गर्नुभयो। तर सर्पलाई चलाएर कुरा गर्ने त्यो स्वर्गदूतले परमेश्‍वरलाई प्रेम गर्ने व्यक्‍तिहरूलाई केही समयको लागि दुःख दिनेछ भनेर पनि उहाँले बताउनुभयो।—उत्प. ३:१५.

२, ३. मसीह देखा पर्नुअघि सैतानबारे थोरै मात्र जानकारी दिइनुको कारण के हुन सक्छ?

२ यहोवाको विद्रोह गर्ने स्वर्गदूतको खास नाम उहाँले हामीलाई बताउनुभएको छैन।a पहिलो पटक विद्रोह भएको लगभग २,५०० वर्षपछि मात्र यहोवाले त्यो विद्रोही को हो भनेर चिनाउनुभयो। (अय्यू. १:६) वास्तवमा हिब्रू धर्मशास्त्रको तीनवटा किताब अर्थात्‌ १ इतिहास, अय्यूब र जकरियामा मात्रै सैतान भन्‍ने नाम उल्लेख गरिएको छ, जसको अर्थ हो, “विरोधी।” मसीह देखा नपरेसम्म त्यो शत्रुबारे हामीलाई किन थोरै मात्र जानकारी दिइयो?

३ हिब्रू धर्मशास्त्रको अधिकांश भागमा सैतान र त्यसका कामहरूबारे चर्चा गरिएको भए सायद सैतानले निकै महत्त्व पाउने थियो र सबैको ध्यान त्यसतिरै खिचिने थियो। तर यहोवा त्यसो भएको चाहनुहुन्‍न थियो। यहोवाले हिब्रू धर्मशास्त्र लेख्न लगाउनुको मुख्य उद्देश्‍य उहाँका जनहरूलाई मसीह चिन्‍न मदत गर्नु अनि मसीहसम्म डोऱ्‍याउनु थियो। (लूका २४:४४; गला. ३:२४) मसीह देखा परेपछि मात्र यहोवाले सैतान र त्यसको पक्ष लिने स्वर्गदूतहरूबारे हामीलाई अझै स्पष्ट जानकारी दिनुभयो। अनि उहाँले ती जानकारी मसीह र उहाँका चेलाहरूमार्फत हामीलाई दिनुभयो।b त्यसो गर्नु एकदमै उपयुक्‍त देखिन्छ किनकि यहोवाले येशू र उहाँसित शासन गर्ने अभिषिक्‍त जनहरूलाई नै चलाएर सैतान र त्यसका समर्थकहरूलाई नाश गर्नुहुनेछ।—रोमी १६:२०; प्रका. १७:१४; २०:१०.

४. हामी किन सैतानदेखि डराएर आत्तिनु पर्दैन?

४ प्रेषित पत्रुसले सैतान “गर्जने सिंहझैं” छ भनेर बताए अनि प्रेषित यूहन्‍नाले त्यसलाई “सर्प” र “अजिङ्‌गर” भने। (१ पत्रु. ५:८; प्रका. १२:९) तर हामी सैतानदेखि डराएर आत्तिनुपर्ने कुनै कारण छैन किनकि त्यसको शक्‍ति सीमित छ। (याकूब ४:७ पढ्‌नुहोस्‌) हाम्रो साथमा यहोवा, येशू र वफादार स्वर्गदूतहरू छन्‌। उहाँहरूको मदतले हामी त्यस शत्रुको विरोध गर्न सक्छौँ। तर हामीले यी तीन वटा महत्त्वपूर्ण प्रश्‍नको जवाफ जानिराख्नु आवश्‍यक छ: सैतानको प्रभाव कत्तिको व्यापक छ? त्यसले व्यक्‍तिविशेषलाई कसरी आफ्नो प्रभावमा पार्न खोज्छ? त्यसले गर्न नसक्ने कुराहरू के-के हुन्‌? आउनुहोस्‌, यी प्रश्‍नहरूको जवाफ र त्यसबाट सिक्न सकिने पाठ विचार गरौँ।

सैतानको प्रभाव कत्तिको व्यापक छ?

५, ६. मानिसलाई चाहिएको परिवर्तन मानव सरकारले किन ल्याउन सक्दैन?

५ थुप्रै स्वर्गदूतहरूले सैतानको विद्रोहमा साथ दिए। जलप्रलय आउनुअघि सैतानले तीमध्ये केही स्वर्गदूतहरूलाई मानिसका छोरीहरूसित अवैध यौनसम्बन्ध राख्ने प्रलोभनमा पाऱ्‍यो। यो तथ्यलाई बुझाउन बाइबलमा लाक्षणिक अजिङ्‌गरबारे चर्चा गरिएको छ जसले स्वर्गको एक तिहाइ तारालाई आफूसँगसँगै तान्छ। (उत्प. ६:१-४; यहू. ६; प्रका. १२:३, ४) जब ती स्वर्गदूतहरूले परमेश्‍वरको परिवारलाई त्यागे, तब तिनीहरूले आफैलाई सैतानको अधीनमा राखे। तर यी विद्रोहीहरू केवल अपराधीको समूहजस्तो मात्र छैनन्‌। परमेश्‍वरको नकल गर्दै सैतानले अदृश्‍य जगत्‌मा आफ्नो पनि एउटा छुट्टै सरकार स्थापना गरेको छ र आफैलाई राजा तुल्याएको छ। त्यसले प्रेतहरूलाई विभिन्‍न सरकारको रूपमा छुट्ट्याएको छ, तिनीहरूलाई अख्तियार दिएको छ अनि तिनीहरूलाई संसारको शासक बनाएको छ।—एफि. ६:१२.

६ आफ्नो अदृश्‍य सङ्‌गठनद्वारा सैतानले सबै मानव सरकारमाथि अख्तियार चलाउँछ। सैतानले येशूलाई “संसारका सबै राज्य” देखाएको घटनाबाट यो कुरा स्पष्ट हुन्छ। त्यसले येशूलाई यसो भन्यो: “म यी सबै राज्यको अख्तियार अनि त्यसको गौरव तपाईंलाई दिनेछु। किनकि ती मलाई दिइएका छन्‌ र जसलाई इच्छा लाग्छ, म उसैलाई दिन्छु।” (लूका ४:५, ६) सैतानको दुष्प्रभावको बाबजुद थुप्रै सरकारहरूले आफ्ना जनताहरूको लागि केही हदसम्म राम्रा कामहरू पनि गरेका छन्‌। असल मनसाय भएका शासकहरू पनि नभएका होइनन्‌ तर कुनै पनि मानव सरकार वा शासकले मानिसलाई वास्तवमा जुन परिवर्तन चाहिएको हो, त्यो ल्याउन सक्दैन।—भज. १४६:३, ४; प्रका. १२:१२.

७. सैतानले सरकारलाई मात्र नभएर झूटो धर्म र व्यापारजगत्‌लाई पनि कसरी चलाउँछ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

७ सैतान र त्यसका प्रेतहरूले “सारा संसारलाई” ठग्न सरकार मात्र होइन, झूटो धर्म र व्यापारजगत्‌लाई पनि चलाउँछन्‌। (प्रका. १२:९) झूटो धर्मलाई चलाएर सैतानले यहोवाबारे झूटा कुराहरू फैलाउँछ। त्यति मात्र होइन, सकेसम्म सबै मानिसले परमेश्‍वरको नाम बिर्सून्‌ भनेर सैतान लागिपरेको छ जस्तो देखिन्छ। (यर्मि. २३:२६, २७) सैतानको छलले गर्दा थुप्रै सोझा मानिसहरू आफूले परमेश्‍वरको उपासना गरिरहेको छु भन्ठानेर प्रेतहरूको उपासना गर्न पुगेका छन्‌। (१ कोरि. १०:२०; २ कोरि. ११:१३-१५) व्यापारजगत्‌लाई चलाएर पनि सैतानले थुप्रै अफवाह फैलाउँछ। उदाहरणको लागि, अहिलेको संसारले प्रशस्त पैसा कमाउनु र चाहेजति सबै थोक हासिल गर्नु नै सुखी हुने एक मात्र तरिका हो भनेर सिकाउँछ। (हितो. १८:११) यस्तो अफवाहको पछि लाग्नेहरूले परमेश्‍वरको नभई “धनसम्पत्ति”-को सेवा गरेर जिन्दगी बिताउँछन्‌। (मत्ती ६:२४) अनि त्यस्ता मानिसहरूसित परमेश्‍वरप्रतिको प्रेम थियो भने पनि त्यसलाई धनसम्पत्तिको प्रेमले निसासिदिन्छ।—मत्ती १३:२२; १ यूह. २:१५, १६.

८, ९. (क) आदम, हव्वा र विद्रोही स्वर्गदूतहरूको विवरणबाट हामी कुन दुई वटा पाठ सिक्न सक्छौँ? (ख) सैतानको प्रभाव कत्तिको व्यापक छ भनेर थाह पाउँदा हामीलाई कस्तो फाइदा हुन्छ?

८ आदम, हव्वा अनि विद्रोही स्वर्गदूतहरूबाट हामी कम्तीमा पनि दुई वटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। पहिलो, हामीसामु दुई वटा मात्रै बाटो छ अनि हामीले दुईमध्ये एउटा रोज्नै पर्ने हुन्छ—यहोवाप्रति वफादार रहने कि सैतानको पक्ष लिने। (मत्ती ७:१३) दोस्रो, सैतानको पक्ष लिनेहरूले पाउने लाभहरू सीमित छन्‌। आदम र हव्वाले सही र गलतको आफ्नै स्तर तोक्ने स्वतन्त्रता पाए अनि प्रेतहरूले मानव सरकारमाथि केही हदसम्म प्रभुत्व जमाउने मौका पाए। (उत्प. ३:२२) सैतानको पक्ष लिँदा लाभ भएजस्तो देखिएला तर वास्तवमा सधैँ क्षति बेहोर्नुपर्ने हुन्छ।—अय्यू. २१:७-१७; गला. ६:७, ८.

९ सैतानको प्रभाव कत्तिको व्यापक छ भनेर थाह पाउँदा हामीलाई कस्तो फाइदा हुन्छ? यसले हामीलाई मानव अख्तियारवालाहरूप्रति सही दृष्टिकोण राख्न मदत गर्छ अनि साक्षी दिने काममा लाग्न उत्प्रेरित गर्छ। हामीले सरकारी अख्तियारवालाहरूको आदर गरेको यहोवा चाहनुहुन्छ भनेर हामीले बुझेका छौँ। (१ पत्रु. २:१७) अनि मानव सरकारले बनाएका नियम-कानुनहरू परमेश्‍वरको स्तरसित नबाझिउन्जेल हामीले ती पालन गरेको यहोवा आशा गर्नुहुन्छ। (रोमी १३:१-४) तर मानव सरकारको मामिलामा हामी तटस्थ रहनुपर्छ भनेर पनि हामीलाई थाह छ। हामी कुनै पनि राजनैतिक पार्टी वा मानव शासकको पक्ष लिने अथवा विपक्षमा खडा हुने गर्दैनौँ। (यूह. १७:१५, १६; १८:३६) सैतानले यहोवा परमेश्‍वरको नाम मेटाउन खोजेको छ र उहाँको बदनाम गर्न खोजेको छ भन्‍ने कुरा थाह भएकोले हामी परमेश्‍वरबारे अरूलाई सत्य कुरा बताउन अझै उत्प्रेरित हुन्छौँ। हामी उहाँको नाम वहन गर्न पाएकोमा र त्यसलाई प्रयोग गर्न पाएकोमा गर्व गर्छौँ किनभने उहाँलाई प्रेम गर्नु भनेको पैसा वा अरू कुनै कुरालाई प्रेम गर्नु भन्दा कता हो कता लाभदायी छ।—यशै. ४३:१०; १ तिमो. ६:६-१०.

सैतानले व्यक्‍तिविशेषलाई कसरी आफ्नो प्रभावमा पार्न खोज्छ?

१०-१२. (क) सैतानले थुप्रै स्वर्गदूतहरूलाई पासोमा पार्न कसरी चारो हालेको हुन सक्छ? (ख) थुप्रै स्वर्गदूतहरू भ्रष्ट भएको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१० व्यक्‍तिविशेषलाई आफ्नो पासोमा पार्न सैतानले निकै प्रभावकारी तरिकाहरू अपनाउँछ। उदाहरणको लागि, सिकारीले सिकार पक्रिन चारो हालेजस्तै त्यसले पनि मानिसहरूलाई आफ्नो इशारामा नचाउनको लागि चारो हाल्छ। साथै, डर-धम्की देखाएर पनि आफ्नो वशमा पार्न खोज्छ।

११ थुप्रै स्वर्गदूतहरूलाई प्रलोभन देखाएर पासोमा पार्न सैतान कत्तिको सफल भएको थियो, विचार गर्नुहोस्‌ त। तिनीहरूलाई आफ्नो पासोमा पार्नुअघि सैतानले निकै लामो समयसम्म तिनीहरूलाई नियालेको हुनुपर्छ। केही स्वर्गदूतहरू सैतानको पासोमा परे र मानव स्त्रीहरूसित अवैध यौनसम्बन्ध राखे। त्यस्तो सम्बन्धले गर्दा जन्मिएका सन्तानहरू बढेर अजङ्‌गका भए र तिनीहरूले मानिसहरूलाई थिचोमिचो गरे। (उत्प. ६:१-४) सायद सैतानले अवैध यौनसम्बन्ध राख्ने मात्र होइन, मानिसजातिमाथि अधिकार गर्ने मौकाबारे पनि बताएर ती अवफादार स्वर्गदूतहरूलाई प्रलोभनमा पारेको हुनुपर्छ। प्रतिज्ञा गरिएको “स्त्रीको सन्तान”-बारे यहोवाको भविष्यवाणी पूरा हुन नदिने उद्देश्‍य राखेर त्यसले यस्तो चाल चलेको हुन सक्छ। (उत्प. ३:१५) जे होस्‌, यहोवाले जलप्रलय ल्याएर सैतानका त्यस्ता षड्यन्त्रहरूलाई विफल पारिदिनुभयो। जलप्रलयले गर्दा सैतान र विद्रोही स्वर्गदूतहरूका सबै योजना भताभुङ्‌ग भए।

सैतानले यौन अनैतिकता, घमन्डी मनोभाव र प्रेतवादको चारो हालेर हामीलाई पासोमा पार्न खोज्छ

सैतानले यौन अनैतिकता, घमन्डी मनोभाव र प्रेतवाद चलाएर हामीलाई पासोमा पार्न खोज्छ (अनुच्छेद १२, १३ हेर्नुहोस्‌)

१२ यस घटनाबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? यौन अनैतिकताको पासो र आफूलाई अरूभन्दा ठूलो ठान्‍ने खतरालाई हामीले कहिल्यै हल्कासित लिनु हुँदैन। हुनत सैतानको पक्ष लिने स्वर्गदूतहरूले युगौँयुग यहोवाकै सामुन्‍ने रहेर सेवा गरेका थिए। त्यस्तो राम्रो परिवेशमा रहे तापनि तिनीहरूले कुइच्छालाई आफ्नो मनमा जरा गाड्‌न दिए र त्यसलाई बढ्‌न दिए। त्यसैगरि हामीले पनि दशकौँसम्म यहोवाको सङ्‌गठनको पृथ्वीमा रहेका भागमा सेवा गरेका हुन सक्छौँ। राम्रो आध्यात्मिक वातावरणमा रहे तापनि हाम्रो मनमा कुइच्छाले जरा गाड्‌न सक्छ। (१ कोरि. १०:१२) त्यसैले आफैलाई निरन्तर जाँच्नु, अनैतिक सोचाइलाई तिरस्कार गर्नु अनि घमन्डी मनोभाव विकास गर्नदेखि होसियार रहनु एकदमै महत्त्वपूर्ण छ!—गला. ५:२६; कलस्सी ३:५ पढ्‌नुहोस्‌।

१३. सैतानले प्रयोग गर्ने अर्को प्रभावकारी पासो के हो र हामी त्यसबाट कसरी बच्न सक्छौँ?

१३ सैतानले प्रयोग गर्ने अर्को प्रभावकारी पासो प्रेतवाद हो। आज सैतानले प्रेतवादमा मानिसहरूको चासो जगाउन झूटो धर्मलाई मात्र होइन, मनोरञ्जनलाई पनि चलाएको छ। चलचित्र, भिडियो गेम अनि अरू सञ्चार माध्यमहरूमा प्रेतवादलाई हेरूँ-हेरूँ अनि सुनूँ-सुनूँ लाग्ने तरिकाले प्रस्तुत गरिन्छ। प्रेतवादको पासोमा नपर्न हामी के गर्न सक्छौँ? परमेश्‍वरको सङ्‌गठनले कुन-कुन मनोरञ्जन ठीक छ अनि कुन-कुन ठीक छैन भनेर लामो सूची तयार पारेको हामी आशा गर्न सक्दैनौँ। यस सन्दर्भमा परमेश्‍वरको स्तरअनुसार चल्न प्रत्येकले आफ्नो अन्तस्करणलाई तालिम दिनु आवश्‍यक छ। (हिब्रू ५:१४) साथै परमेश्‍वरको प्रेरणा पाएर प्रेषित पावलले दिएको सल्लाह पालन गऱ्‍यौँ भने हामीलाई बुद्धिमानी निर्णयहरू गर्न सजिलो हुनेछ। तिनले यसो भने: “तिमीहरूको प्रेम कपटरहित होस्‌।” (रोमी १२:९) हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘मैले गर्ने मनोरञ्जनले गर्दा कतै म कपटीजस्तो पो देखिन्छु कि? मैले गर्ने मनोरञ्जनले गर्दा मेरा बाइबल विद्यार्थी वा पुनःभेटहरूलाई म जे सिकाउँछु, त्यसअनुसार चल्दिनँ भन्‍ने लागिरहेको छ कि? अरूलाई जे सिकाउँछौँ, आफू पनि त्यसैअनुसार चल्छौँ भने हामी सैतानको पासोमा पर्ने सम्भावना पनि कम हुन्छ।—१ यूह. ३:१८.

सैतानले सरकारी प्रतिबन्ध, साथीहरूको दबाब र परिवारको विरोधलाई चलाएर हामीलाई डर-धम्की देखाउन खोज्छ

सैतानले सरकारी प्रतिबन्ध, साथीहरूको दबाब र परिवारको विरोध चलाएर हामीलाई डर-धम्की देखाउँछ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. सैतानले हामीलाई कसरी डर-धम्की देखाउन खोज्छ? हामी कसरी त्यस्तो परिस्थितिको सामना गर्न सक्छौँ?

१४ यहोवाप्रतिको हाम्रो वफादारीलाई तोड्‌न सैतानले पासो थाप्ने मात्र होइन, डर-धम्की पनि देखाउँछ। उदाहरणको लागि, त्यसले मानव सरकारलाई हाम्रो प्रचारकार्यमाथि प्रतिबन्ध लगाउन उक्साउन सक्छ। अथवा हामी बाइबलको नैतिक स्तरअनुसार चल्न चाहेको देखेर सैतानले हामीसितै काम गर्ने वा पढ्‌ने साथीहरूलाई हाम्रो खिल्ली उडाउन उक्साउन सक्छ। (१ पत्रु. ४:४) हामीलाई सभा जानदेखि रोक्न त्यसले हाम्रो परिवारका सदस्यहरूलाई पनि उक्साउन सक्छ। (मत्ती १०:३६) यस्ता परिस्थितिहरूको हामी कसरी सामना गर्न सक्छौँ? सर्वप्रथम, यस्ता चुनौतीहरू आउनेछन्‌ भनेर हामीले स्विकार्नुपर्छ किनकि सैतान हामीसित युद्ध गर्न लागिपरेको छ। (प्रका. २:१०; १२:१७) अनि हामीले त्यस्तो डर-धम्की आउनुको मुख्य कारणलाई बिर्सनु हुँदैन। हामीलाई सजिलो हुँदा मात्रै हामी यहोवाको सेवा गर्छौँ भनेर सैतानले दाबी गरेको छ। हामीमाथि कुनै दबाब आइपऱ्‍यो भने हामीले परमेश्‍वरलाई आफ्नो पीठ फर्काउनेछौँ भनेर पनि त्यसले दाबी गरेको छ। (अय्यू. १:९-११; २:४, ५) अर्को महत्त्वपूर्ण कुरा, त्यस्ता अवस्थाहरूको सामना गर्न हामी यहोवामाथि भर पर्नुपर्छ। नबिर्सनुहोस्‌, उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन।—हिब्रू १३:५.

सैतानले गर्न नसक्ने कुराहरू के-के हुन्‌?

१५. के सैतानले हामीलाई जबरजस्ती हाम्रो इच्छाविपरित चल्न लगाउन सक्छ? व्याख्या गर्नुहोस्‌।

१५ सैतानले मानिसहरूलाई जबरजस्ती तिनीहरूको इच्छाविपरित चल्न लगाउन सक्दैन। (याकू. १:१४) थुप्रै मानिसहरू थाहै नपाई सैतानको इच्छाअनुसार चल्छन्‌। तर सत्य कुरा सिकेपछि भने कसको सेवा गर्ने भनेर प्रत्येकले निर्णय गर्छन्‌। (प्रेषि. ३:१७; १७:३०) यदि हामीले परमेश्‍वरको इच्छाअनुसार चल्ने दृढ अडान लिएका छौँ भने सैतानले कुनै पनि हालतमा हाम्रो सत्यनिष्ठा तोड्‌न सक्दैन।—अय्यू. २:३; २७:५.

१६, १७. (क) सैतान र त्यसका प्रेतहरूले गर्न नसक्ने अरू कुराहरू के हुन्‌? (ख) यहोवालाई आवाज निकालेर प्रार्थना गर्नदेखि हामी किन डराउनुपर्दैन?

१६ सैतान र त्यसका प्रेतहरूले गर्न नसक्ने अरू कुराहरू पनि छन्‌। उदाहरणको लागि, तिनीहरूले मानिसहरूको सोचाइ अनि मन पढ्‌न सक्छन्‌ भनेर बाइबलमा कतै पनि उल्लेख गरिएको छैन। यहोवा र येशूसित मात्रै त्यस्तो क्षमता छ। (१ शमू. १६:७; मर्कू. २:८) त्यसोभए कुराकानी गर्न वा आवाज निकालेर प्रार्थना गर्न हामी डराउनुपर्छ कि? सैतानले वा प्रेतहरूले हाम्रो प्रार्थना सुनेर बाधा पुऱ्‍याउलान्‌ भनेर चिन्ता गर्नु पर्छ कि? अहँ, पर्दैन। किन? सैतानले देख्ला भनेर डराउँदै हामी यहोवाको सेवामा असल कामहरू गर्नदेखि पछि हट्‌दैनौँ। त्यसैगरि, सैतानले सुन्ला भनेर हामी आवाज निकालेर प्रार्थना गर्नदेखि डराउँदैनौँ। वास्तवमा भन्‍नुपर्दा यहोवाका सेवकहरूले आवाज निकालेर प्रार्थना गरेको थुप्रै विवरण हामी बाइबलमा पाउँछौँ। अनि आफ्नो प्रार्थना सैतानले सुन्ला भनेर तिनीहरू डराएको कुनै छनक हामी पाउँदैनौँ। (१ राजा ८:२२, २३; यूह. ११:४१, ४२; प्रेषि. ४:२३, २४) हामी परमेश्‍वरको इच्छाअनुसार बोल्न अनि त्यसैअनुसार काम गर्न सक्दो गरिरहेका छौँ भने यो कुरामा ढुक्क हुन सक्छौँ: हामीलाई सदाको लागि क्षति पुग्ने काम गर्न यहोवाले सैतानलाई अनुमति दिनुहुनेछैन।—भजन ३४:७ पढ्‌नुहोस्‌।

१७ हामीले आफ्नो शत्रुलाई चिन्‍नुपर्छ तर हामी त्यसदेखि डराउनुपर्दैन। यहोवाको मदत पाएर त्रुटिपूर्ण मानिसहरूले समेत सैतानमाथि विजय हासिल गर्न सक्छन्‌। (१ यूह. २:१४) हामीले त्यसको विरोध गऱ्‍यौँ भने त्यो हामीदेखि भाग्नेछ। (याकू. ४:७; १ पत्रु. ५:९) सैतानले अहिले विशेषगरि युवाहरूलाई आफ्नो तारो बनाएको छ जस्तो देखिन्छ। त्यसविरुद्ध खडा हुन युवाहरूले के गर्न सक्छन्‌? अर्को लेखले यस प्रश्‍नको जवाफ दिनेछ।

a बाइबलमा केही स्वर्गदूतहरूको व्यक्‍तिगत नाम उल्लेख गरिएको छ। (न्याय. १३:१८; दानि. ८:१६; लूका १:१९; प्रका. १२:७) यहोवाले प्रत्येक तारालाई एउटा नाम दिनुभएको छ भनेर बाइबल बताउँछ। (भज. १४७:४) यो कुरा विचार गर्दा, सैतान बनेको स्वर्गदूतलगायत यहोवाले सृष्टि गर्नुभएका सबै स्वर्गदूतको व्यक्‍तिगत नाम हुनुपर्छ भनेर हामी अनुमान लगाउन सक्छौँ।

b मूल भाषाको हिब्रू धर्मशास्त्रमा सैतान भन्‍ने नाम १८ पटक मात्र उल्लेख गरिएको छ भने ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा ३० पटक भन्दा धेरै उल्लेख गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने