प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ९/१ पृ. २२-२६
  • “प्रेम कहिल्यै टल्दैन”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “प्रेम कहिल्यै टल्दैन”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल अध्ययन समूहको गठन
  • पादरीवर्गको विरोध
  • हाम्रो प्रचार कार्य
  • युद्धताका
  • विवाहसम्बन्धी यहोवाको स्तर स्पष्ट पारियो
  • सेवाका विशेषाधिकारहरू
  • साँचो प्रेम कहिल्यै टल्दैन
  • ईश्‍वरीय सन्तुष्टिले मलाई सँभालेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • अनमोल ख्रिष्टियन सम्पदा पाएकोले म फस्टाउन सकेँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ९/१ पृ. २२-२६

“प्रेम कहिल्यै टल्दैन”

साम्यल डि. लाड्‌सुयीको वृतान्तमा आधारित

अतीतलाई फर्केर त्यतिबेला सम्पन्‍न भएका कामकुराहरूलाई सम्झँदा म छक्कै पर्छु। यहोवाले सारा विश्‍वभरि अचम्मका कार्यहरू गरिरहनुभएको छ। सन्‌ १९३१ मा इलेशा, नाइजेरियामा प्रचार गर्ने हामी थोरै मात्र थियौं तर अहिले त्यहाँ ३६ वटा मण्डलीहरू स्थापना भइसकेका छन्‌। सन्‌ १९४७ मा वाचटावर बाइबल स्कूल अफ गिलियडका स्नातकहरूको प्रथम समूह नाइजेरियामा आइपुग्दा सालाखाला ४,००० प्रकाशकहरू थिए। तर अहिले वृद्धि भएर १,८०,००० पुगिसक्यो। ती प्रारम्भिक दिनहरूमा हामीले यस्तो विस्तार हुनेछ भनेर न ता आशा गरेका थियौं न सपना नै देखेका थियौं। यस अद्‌भुत कार्यमा भाग लिन पाएकोमा म यहोवाप्रति साह्रै कृतज्ञ छु! सुन्‍नुहोस्‌ मेरो कथा।

मेरो बुबा गाउँ गाउँमा गएर बन्दुक तथा बारुदको व्यापार गर्नुहुन्थ्यो; उहाँ घरमा कहिलेकाहीं मात्र बस्नुहुन्थ्यो। मलाई थाह भएअनुसार उहाँको सात जना पत्नीहरू थिए तर सबै उहाँसित बस्दैनन्‌ थिए। मेरो बुबाले आफ्नो दाजुको मृत्युपश्‍चात्‌ भाउजूलाई विवाह गर्नुभयो र उहाँ मेरी आमा हुनुभयो। आमा उहाँकी दोस्रो पत्नी हुनुहुन्थ्यो र म उहाँसित बसें।

एक दिन बुबाले छिमेकी गाउँमा आफ्नी जेठी स्वास्नीलाई भेटेर घर फर्कनुभयो। त्यहाँ छँदा मेरो सौतेनी भाइ विद्यालयमा पढिरहेको कुरा थाह पाउनुभयो। म र मेरो सौतेनी भाइ दुवै जना दश वर्षका थियौं। अतः म पनि विद्यालय जानुपर्छ भनी बुबाले निधो गर्नुभयो। उहाँले मलाई नौ पैसा दिनुभयो—तीन पैसा कितापको लागि र छ पैसा कालोपाटीका लागि। त्यो सन्‌ १९२४ को कुरा थियो।

बाइबल अध्ययन समूहको गठन

मलाई बाल्यकालदेखि नै परमेश्‍वरको वचन, बाइबल मन पर्थ्यो। मलाई विद्यालयका बाइबल कक्षाहरू रमाइलो लाग्थ्यो र मेरो आइतबारे स्कूलका शिक्षकहरूले सधैं मेरो सराहना गर्नुहुन्थ्यो। अतः सन्‌ १९३० मा एक आगन्तुक बाइबल स्टुडेन्टको भाषण सुन्‍ने अवसरको फाइदा उठाइहालें। तिनी इलेशामा प्रचार गर्ने प्रथम व्यक्‍तिहरूमध्ये एक थिए। भाषणपश्‍चात्‌ तिनले मलाई योरूबा भाषामा द हार्प अफ गड (परमेश्‍वरको वीणा) पुस्तक दिए।

म नियमित तवरमा आइतबारे स्कूलमा जान्थें। तर मैले द हार्प अफ गड (परमेश्‍वरको वीणा) पाएदेखि त्यसलाई चलाएर त्यहाँ सिकाइने धर्मसिद्धान्तहरू खण्डन गर्न थालें। त्यसो गर्दा वादविवाद हुन्थ्यो र मलाई चर्चका नेताहरूले निकै चोटि यस ‘नयाँ शिक्षा’ देखि अलग बस्ने चेताउनी दिए।

त्यसको अर्को साल सडकमा हिंडिरहँदा मैले मानिसहरूको एउटा हूलले भाषण सुनिरहेको देखें। भाषण दिने व्यक्‍ति, बाइबल स्टुडेन्ट जे. आइ. ओवेन्पा थिए। तिनलाई विलियम आर. ब्राउनले (प्रायजसो बाइबल ब्राउन भनिने) पठाएको रहेछ।a त्यतिखेर ब्राउनले लागोसबाट राज्य प्रचार कार्यको सुपरिवेक्षण गरिरहेका थिए। इलेशामा द हार्प अफ गड (परमेश्‍वरको वीणा) अध्ययन गर्न एउटा सानो बाइबल समूह गठन भएको मैले थाह पाएँ। अतः त्यसमा म पनि सामेल भएँ।

म त्यस समूहमा सबैभन्दा कान्छो थिएँ। किनभने म विद्यालयमा पढ्‌ने लगभग १६ वर्षीय केटो थिएँ। साधारणतया, ३०, ४० वर्ष पुगिसकेका मानिसहरूसित संगत गर्न मलाई लाज लाग्नुपर्ने वा उहाँहरूसित डराउनुपर्ने हो। तर मलाई आफ्नो माझमा पाएकोमा उहाँहरू निकै खुशी हुनुहुन्थ्यो र उहाँहरूले मलाई प्रोत्साहन दिनुहुन्थ्यो। उहाँहरू मेरा पिता समान हुनुहुन्थ्यो।

पादरीवर्गको विरोध

हामीले चाँडै नै पादरीवर्गबाट गम्भीर विरोध सामना गर्न थाल्यौं। पहिले-पहिले एक आपसमा झगडा गर्ने क्याथोलिक, एंगलिकन तथा अन्य गूटहरू हाम्रो विरुद्धमा एक भए। तिनीहरूले हामीलाई निरुत्साहित पार्न स्थानीय सरदारहरूसित मिलेर षड्यन्त्र रचे। तिनीहरूले प्रहरीलाई पठाएर हाम्रा पुस्तकहरू जफत गर्न लगाए र ती पुस्तकहरू मानिसहरूको निम्ति हानिकारक छन्‌ भन्‍ने दाबी गरे। तथापि, तिनीहरूसित हाम्रा पुस्तकहरू खोस्ने केही अधिकार छैन भनी प्रान्त निरीक्षकले चेताउनी दिए। फलतः दुइ हप्तापछि हाम्रा पुस्तकहरू फिर्ता गरियो।

त्यसपछि हामीलाई ओबा अर्थात्‌ मुख्य सरदारलगायत शहरका गण्यमान्य मानिसहरूसित भेला हुन बोलाइयो। हामी त्यतिखेर ३० जना जति थियौं। हामीलाई “खतरनाक” पुस्तकहरू पढ्‌न रोक्ने तिनीहरूको मनसाय थियो। तिनीहरूले हामी परदेशीहरू पो हौं कि भनेर सोधे तर हाम्रा अनुहारलाई केलाएर हेरेपछि यसो भने: “यिनीहरू त स्थानीयवासीहरू हुन्‌ तर तिनीहरूबीच केही परदेशीहरू छन्‌।” आफूलाई हानि पुऱ्‍याउने धार्मिक पुस्तकहरू नपढून्‌ भनी तिनीहरू चाहन्छन्‌ भनेर तिनीहरूले बताए।

हामी एक शब्द नबोली घर फर्क्यौं किनभने हामीले ती प्रतिष्ठित व्यक्‍तिहरूको कुरा नसुन्‍ने निधो गरिसकेका थियौं। हामीमध्ये धेरैजसो आफूले सिकिरहेका कुराहरूसित खुशी थियौं र त्यो पढी नै रहन कटिबद्ध थियौं। अतः केही व्यक्‍तिहरू तर्सिएर समूहलाई छोडे तापनि हामीमध्ये धेरैले सिकर्मीको कार्यशालामा अध्ययन कायम राख्यौं। तर हाम्रो अध्ययन सञ्चालक थिएन। हामी प्रार्थना गरेर थाल्थ्यौं र पालैपालो पुस्तकका अनुच्छेदहरू पढ्‌थ्यौं। एक घण्टा जति पछि पुनः प्रार्थना गरेर घर फर्कन्थ्यौं। तर हाम्रो चियो गरिदैं रहेछ। अतः सरदार तथा धार्मिक नेताहरूले हरेक दुइ दुइ हप्तामा हामीलाई बोलाउँथे र बाइबल स्टुडेन्टस्‌का साहित्यहरू नपढ्‌ने चेताउनी दिन्थे।

त्यसबीच, हामीले आफूसित कम ज्ञान भए तापनि मानिसहरूलाई मदत गर्न खोजिरहेका थियौं र धेरैले हाम्रो कुरामा सहमति जनाए। बिस्तारै एक एक गरेर मानिसहरू हामीसित सामेल हुन थाले। हामी असाध्यै खुशी थियौं तर हामीलाई अझै पनि आफूले लिएको धर्मबारे त्यति धेरै कुरा थाह थिएन।

हामीलाई व्यवस्थित हुने मदत दिन सन्‌ १९३२ तिर एक जना भाइ लागोसबाट आए र अप्रिलमा बाइबल ब्राउन पनि आए। तीस जना जति मानिसहरूको समूह देखेर भाइ ब्राउनले हाम्रो पढाइको प्रगतिबारे सोधपुछ गरे। हामीले आफूलाई थाह भए जति सबै बतायौं। उहाँले हामी बप्तिस्मा लिन तयार छौं भनेर भन्‍नुभयो।

सुखायामको मौसम भएकोले नजीकको नदीसम्म पुग्न हामीले इलेशाभन्दा १४ किलोमिटर टाढा यात्रा गर्नुपऱ्‍यो। त्यहाँ पुगेपछि हामी ३० जना जतिले बप्तिस्मा लियौं। त्यतिबेलादेखि हामीले आफूलाई राज्य प्रचारकहरू हुन योग्य महसुस गऱ्‍यौं र घर-घर प्रचार गर्न थाल्यौं। हामीलाई त्यस्तो प्रत्याशा थिएन। तैपनि हामी आफूलाई थाह भएका कुराहरू अरूसित बाँड्‌न उत्सुक थियौं। झूटा धर्मसिद्धान्तलाई खण्डन गर्न हामीले बाइबलबाट राम्ररी तयार गर्नुपर्थ्यो। अतः हामी सभाहरूमा धर्मसिद्धान्तहरू छलफल गरेर एक आपसलाई मदत गर्थ्यौं।

हाम्रो प्रचार कार्य

हामीले सम्पूर्ण शहरमा प्रचार गऱ्‍यौं। मानिसहरूले हामीलाई गिज्याउँथे, गाली गर्थे तर हामीले वास्तै गरेनौं। हामीसित सत्य भएकोले आनन्दित थियौं तर हामीले सिक्नुपर्ने कुरा अझ धेरै थियो।

हामी हरेक आइतबार घर-घर जान्थ्यौं। मानिसहरूले प्रश्‍नहरू सोध्थे र हामी जवाफ दिने कोसिस गर्थ्यौं। आइतबार साँझ चाहिं हामी जनभाषण दिन्थ्यौं। हाम्रो राज्य भवन थिएन। अतः खुला मैदानमा सभाहरू हुन्थे। हामीले मानिसहरूलाई भेला गर्थ्यौं, भाषण दिन्थ्यौं र प्रश्‍नहरू सोध्न आमन्त्रित गर्थ्यौं। कहिलेकाहीं हामी चर्चहरूमा पनि प्रचार गर्थ्यौं।

मानिसहरूले यहोवाका साक्षीहरूबारे सुन्दै नसुनेका इलाकाहरूमा पनि हामीले प्रचार गऱ्‍यौं। प्रायजसो हामी साइकल चढ्‌थ्यौं तर कहिलेकाहीं बस भाडामा लिन्थ्यौं। अनि गाउँमा पुगेपछि ठूलो स्वरले हर्न बजाउँथ्यौं। सारा गाउँले त्यो आवाज सुन्थ्यो! के भयो भनी हेर्न मानिसहरू दौडेर आउँथे। त्यसपछि हामी आफ्नो समाचार बताउँथ्यौं। बताई सकेपछि गाउँलेहरू पुस्तक पत्रिका लिन घचेटाघचेट गर्थे। हामीले थुप्रै साहित्यहरू वितरण गर्थ्यौं।

हामीले परमेश्‍वरको राज्यको आगमन उत्सुकतापूर्वक पर्खिराखेका थियौं। हामीले १९३५ वार्षिक पुस्तक पाउँदा एक जना भाइले वर्षभरिको निम्ति पदहरूको तालिका देखेपछि यस्तो प्रश्‍न गरेको मलाई अझै सम्झना छ: “के यसको मतलब आरमागेडोन आउन अझै एक वर्ष बाँकी छ?”

सञ्चालकले यस्तो जवाफ दिए, “त्यसोभए भाइ, आरमागेडोन भोलि नै आयो भने वार्षिक पुस्तक पढ्‌न छोड्‌ने?” भाइले त्यसो त होइन भनी जवाफ दिंदा सञ्चालकले यसो भने: “अनि त्यसोभए के को चिन्ता?” त्यतिबेला हामी यहोवाको दिनबारे उत्सुक थियौं र अहिले पनि छौं।

युद्धताका

दोस्रो विश्‍वयुद्धतिर हाम्रा पुस्तकहरूको पैठारीमा प्रतिबन्ध लगाइयो। इलेशाका एक भाइले रिचेज (धन) पुस्तक प्रहरीलाई दिएको होशै भएन। प्रहरीले सोधे: “यो पुस्तक कसको हो?” भाइले आफ्नै हो भनी बताए। त्यो निषेधित पुस्तक हो भनी प्रहरीले बताए र तिनलाई थानामा लगेर थुने।

म थानामा गएँ र सोधपुछ गरेपछि त्यस भाइलाई जमानीमा छुटाएँ। त्यसपछि मैले यस घटनाबारे बताउन भाइ ब्राउनलाई लागोसमा फोन गरें। हाम्रा पुस्तकहरू वितरण गर्न नहुने त्यस्तो कुनै निषेधाज्ञा छ कि भनेर पनि सोधें। भाइ ब्राउनले पुस्तकहरूको पैठारीमाथि मात्र प्रतिबन्ध लगाइएकोले वितरण गर्नु मिल्छ भनी बताए। यहाँको परिस्थिति बुझ्न भाइ ब्राउनले तीन दिनपछि लागोसबाट एक जना भाइलाई पठाए। यस भाइले हामी सबै जना पत्रिका तथा पुस्तकहरू लिएर भोलिपल्ट प्रचार कार्यमा जानुपर्ने निर्णय गरे।

हामी बेग्लाबेग्लै दिशामा गयौं। एक घण्टा जति पछि मैले हाम्रा अधिकांश भाइहरू गिरफ्तार गरिएको समाचार पाएँ। अतः त्यस आगन्तुक भाइ र म थानामा गयौं। ती पुस्तकहरू निषेधित होइनन्‌ भनेर हामीले बताउन खोज्दा प्रहरीले सुन्‍न इन्कार गरे।

गिरफ्तार गरिएका ३३ जना भाइहरूलाई एफेस्थित महान्यायाधिवक्‍ताको अदालतमा चलानी गरियो र म तिनीहरूसँगै गएँ। हामीलाई यसरी लगेको देखेर त्यहाँका वासीहरू यसो भन्दै चिच्याए, “अब यी मानिसहरूको काम सिद्धियो। तिनीहरू अब फेरि आउनेछैनन्‌।”

यो आरोप नाइजेरियाली महान्यायाधिवक्‍तासमक्ष पेश गरियो। सबै पुस्तक तथा पत्रिकाहरू देखाइयो। यी मानिसहरूलाई गिरफ्तार गर्ने अख्तियार कसले दियो भनी तिनले प्रहरी प्रमुखलाई सोधे। जिल्ला अधिकृतको निर्देशनमा त्यसो गरेको भनी प्रहरी प्रमुखले बताए। मुख्य अधिवक्‍ताले प्रहरी प्रमुख र मलगायत हाम्रा चार प्रतिनिधिहरूलाई तिनको कक्षमा बोलाए।

तिनले श्री ब्राउन को हो भनी सोधे। हामीले तिनी लागोसस्थित वाच टावर सोसाइटीका प्रतिनिधि हुन्‌ भनी बतायौं। त्यसपछि तिनले हाम्रो सन्दर्भमा श्री ब्राउनबाट टेलिग्राम प्राप्त भएको बताए। तिनले यो मुद्दा स्थगित गरे र भाइहरूलाई जमानीमा छुटाए। त्यसको भोलिपल्ट भाइहरूलाई दोषमुक्‍त गरे र प्रहरीलाई ती पुस्तकहरू फिर्ता गर्ने आदेश दिए।

हामी भजन गाउँदै इलेशा फर्क्यौं। मानिसहरू फेरि कराउन थाले तर यस पालि यसो भन्दै थिए, “तिनीहरू फेरि आए!”

विवाहसम्बन्धी यहोवाको स्तर स्पष्ट पारियो

नाइजेरियामा सन्‌ १९४७ मा गिलियडका प्रथम तीन स्नातकहरू आएका थिए। तीमध्ये टोनी आट्‌वुड बेथेल सेवा गर्दै अहिले पनि नाइजेरियामै बसिरहेका छन्‌। त्यतिबेलादेखि हामीले नाइजेरियामा यहोवाको संगठनमा निकै ठूला परिवर्तनहरू भएका देख्यौं। त्यसमध्ये एउटा ठूलो परिवर्तन बहुविवाहसम्बन्धी हाम्रो दृष्टिकोण थियो।

मैले सन्‌ १९४१ फेब्रुअरीमा ओलाबिसी फाशुबासित विवाह गरें र थप पत्नीहरू राख्नु हुँदैन भनेर मलाई थाह थियो। तर सन्‌ १९४७ मा मिसनरीहरू आउनुअघि मण्डलीहरूमा बहुविवाह सामान्य प्रचलन थियो। त्यतिबेला बहुविवाह गर्ने भाइहरूले अन्जानमा त्यसो गरेको हुँदा एक, दुइ, चार वा पाँच जनासम्म पत्नी आफूसँग राख्नसक्ने तर त्योभन्दा बढी विवाह गर्नु हुँदैन भनिएको थियो। त्यतिबेला हाम्रो नीति नै त्यस्तो थियो।

हामीसित सामेल हुन विशेषगरि इलेशाका चेरूबिम र सेराफिस सोसाइटीहरू उत्सुक थिए। यहोवाका साक्षीहरूले मात्र सत्य सिकाउँछन्‌ भनी तिनीहरू भन्थे। तिनीहरू हाम्रा शिक्षाहरूमा सहमत थिए र तिनीहरूका चर्चहरूलाई राज्य भवनमा परिणत गर्न चाहन्थे। हामीले यो काम गर्न निकै मेहनत गऱ्‍यौं। हामीले तिनीहरूका प्राचीनहरूलाई प्रशिक्षण दिन केन्द्रहरूको व्यवस्थासमेत मिलायौं।

त्यसपछि बहुविवाहसम्बन्धी नयाँ निर्देशन प्राप्त भयो। एक मिसनरीले सन्‌ १९४७ को क्षेत्रीय सम्मेलनमा एउटा भाषण दिए। तिनले असल आचरण र बानीबेहोराबारे बताए। त्यसपछि तिनले १ कोरिन्थी ६: ९, १० उद्धरण गरे, जहाँ अधर्मीहरू परमेश्‍वरको राज्यका हकदार हुनेछैनन्‌ भनिएको छ। त्यसपछि तिनले यो थपे: “अनि बहुविवाह गर्नेहरूले परमेश्‍वरको राज्यमा प्रवेश गर्न पाउनेछैनन्‌!” यो सुनेर श्रोतागण छक्क पर्दै यसो भनेर कराए: “ओहो! त्यसोभए बहुविवाह गर्नेहरूले परमेश्‍वरको राज्यमा प्रवेश नपाउने भयो?” विभाजन हुन थाल्यो। एक किसिमले त्यहाँ युद्धजस्तै भयो। भर्खरै संगत गर्न थालेका मानिसहरूले संगत गर्न छाडे। तिनीहरूले यसो भने: “धन्‍न परमेश्‍वर, हामी यस संगठनसित त्यति धेरै भिजेनौं।”

तथापि, अधिकांश भाइहरूले आफ्नो वैवाहिक सम्बन्धलाई छाँटकाँट गरेर आफ्ना पत्नीहरू छाड्‌न थाले। तिनीहरूले पैसा दिंदै यसो भने, ‘तिमी जवान छौ भने अर्को पति खोज। मैले तिमीसित विवाह गरेर गल्ती गरें। अब म एउटै पत्नीको पति हुनुपर्छ।’

तर चाँडै नै अर्को समस्या देखा पऱ्‍यो। एउटी पत्नी राखेर अरूलाई छोड्‌ने निर्णय गरिसकेपछि केहीले मन परिवर्तन गरे। फलतः तिनीहरूले आफूले पहिले छोडिसकेका पत्नीहरूमध्ये एउटीलाई लिएर आफूसित भएकोलाई छोड्‌न चाहे! अतः फेरि समस्या सुरु भयो।

ब्रुक्लिनस्थित मुख्य कार्यालयबाट मलाकी २:१४ मा आधारित थप निर्देशन प्राप्त भयो। त्यहाँ “जवानीपनको स्वास्नीको” उल्लेख गरिएको छ। पतिहरूलाई विवाहित जेठी पत्नीलाई मात्र राख्ने निर्देशन दिइयो। यसरी यो समस्या अन्ततः सुल्झियो।

सेवाका विशेषाधिकारहरू

सोसाइटीले सन्‌ १९४७ मा मण्डलीहरूलाई सुदृढ गर्न क्षेत्रहरूमा विभाजन गर्न थाल्यो। तिनीहरू परिपक्व र धेरै शास्त्रीय ज्ञान भएको भाइहरूलाई ‘भाइहरूका दास’ नियुक्‍त गर्न चाहन्थे। जसलाई आजकल क्षेत्रीय निरीक्षकहरू भनिन्छ। म त्यस्तो नियुक्‍तिको लागि तयार छु कि छैन भनी भाइ ब्राउनले सोधे। मैले यहोवाको सेवा गर्न नै बप्तिस्मा लिएको कारण बताउँदै अझ यसो भनें: “तपाईंले मलाई बप्तिस्मासमेत दिनुभयो। अब यहोवालाई अझ बढी सेवा गर्ने मौका पाउँदा के म इन्कार गर्छु होला त?”

त्यसै साल अक्टोबर महिनामा हामीमध्ये सात जनालाई लागोसमा बोलाइयो र क्षेत्रीय निरीक्षणका लागि पठाइनुअघि प्रशिक्षण दिइयो। त्यतिबेला क्षेत्रहरू निकै ठूलो हुन्थ्यो। सम्पूर्ण देश केवल सातवटा क्षेत्रमा विभाजित थियो। मण्डलीहरू थोरै थिए।

भाइहरूका सेवकहरूको हैसियतमा गर्नुपर्ने हाम्रो काम कठिन थियो। हामी हरेक दिन चर्को घामलाई सहँदै प्रायजसो उष्णप्रदेशीय जंगल हुँदो निकै किलोमिटर यात्रा गर्थ्यौं। हरेक हप्ता गाउँ गाउँमा जानुपर्थ्यो। कहिलेकाहीं त गोडाहरू फतक्कै गल्थे। कहिलेकाहीं आफू मर्छु कि जस्तो पनि लाग्थ्यो! तर विशेषगरि थुप्रै मानिसहरूले सत्यलाई स्वीकारेको देख्दा निकै आनन्द महसुस हुन्थ्यो। वास्तवमा भन्‍ने हो भने, सात वर्षभित्र देशभरि प्रकाशकहरूको संख्या चार गुना बढ्यो!

सन्‌ १९५५ मा अस्वस्थताले गर्दा इलेशा फर्किनुअघिसम्म म क्षेत्रीय कार्यमा नै संलग्न थिएँ। त्यसपछि म इलेशाका शहर निरीक्षक नियुक्‍त भएँ। आफू घरैमा भएकोले परिवारलाई आध्यात्मिक तवरमा बढी ध्यान दिन सकें। आज मेरा छ जनै छोराछोरीहरूले विश्‍वासपूर्वक यहोवाको सेवा गरिरहेका छन्‌।

साँचो प्रेम कहिल्यै टल्दैन

अतीतलाई हेर्दा मसित कृतज्ञ हुने थुप्रै कारणहरू छन्‌। मैले निराशा, चिन्ता र अस्वस्थताका साथै निकै आनन्द पनि अनुभव गरें। समयको दौडान हाम्रो ज्ञान र समझमा वृद्धि भए तापनि मैले अनुभवद्वारा १ कोरिन्थी १३:८ को अर्थलाई बुझेको छु। त्यहाँ यसो भनिएको छ: “प्रेम कहिल्यै टल्दैन।” तपाईंले यहोवालाई प्रेम गर्नुभयो र उहाँको सेवामा दृढतापूर्वक लागिरहनुभयो भने उहाँले तपाईंलाई कठिनाइहरू सहने मदतको साथै प्रशस्त आशिष्‌ दिनुहुनेछ।

सत्यको ज्योति झन्‌ झन्‌ चहकिलो हुँदैछ। हामीले सुरु सुरुतिर आरमागेडोन छिट्टै आइहाल्छ भन्ठानेका थियौं। त्यसैकारण आफूले गर्नसक्ने जति गरिहाल्न हामीले हतार गऱ्‍यौं। तर त्यसो गर्दा हाम्रै लाभ भयो। यसर्थ, म भजनरचयिताका यी शब्दहरूसित सहमत छु: “म बाँचुञ्जेल परमप्रभुको प्रशंसा गर्नेछु। मेरो जीवन रहुञ्जेलसम्मै मेरा परमेश्‍वरको स्तुति गाउँदैरहनेछु।”—भजन १४६:२.

[फुटनोट]

a भाइ ब्राउनलाई बाइबल ब्राउन भनिन्थ्यो किनभने सबै कुराको मुख्य आधार बाइबल हो भनी औंल्याउने तिनको बानी थियो।—द वाचटावर, सेप्टेम्बर १, १९९२, पृष्ठ ३२ मा “साँचो सुसमाचारकको कटनी” शीर्षक लेख हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको चित्र]

सन्‌ १९५५ मा साम्यल र मिल्टन हेन्शेल

[पृष्ठ २४-मा भएको चित्र]

साम्यल र तिनकी पत्नी, ओलाबिसी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने