प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ३/१ pp. २२-२७
  • ईश्‍वरीय सन्तुष्टिले मलाई सँभालेको छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरीय सन्तुष्टिले मलाई सँभालेको छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कङ्‌गाल व्यक्‍तिले धनसम्पत्ति बाँड्‌छ
  • आफ्ना भाइबहिनीहरू “चोर्ने”
  • ‘गुप्त कुरा सिक्ने’
  • पारिवारिक रूपमा मण्डलीहरूको सेवा गर्दै
  • गृहकलहले निम्त्याएको दारुण अवस्था
  • आध्यात्मिक भोकमाथि विजयी हुने
  • सन्तुष्टिले थप आशिष्‌ ल्याउँछ
  • युद्धको बेला आइपरेका कठिनाइहरूले मलाई जीवनको लागि तयार बनायो
    ब्यूँझनुहोस्‌!—२००४
  • अनमोल ख्रिष्टियन सम्पदा पाएकोले म फस्टाउन सकेँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोवाको मायालु छत्रछायामा सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ३/१ pp. २२-२७

जीवनी

ईश्‍वरीय सन्तुष्टिले मलाई सँभालेको छ

बेन्जामिन इकेचुकु ओस्वेकाको वृत्तान्तमा आधारित

मसीही सेवकाईमा पूर्णतया भाग लिन थालेको तुरुन्तैपछि, म मेरा आमाबाबुको घरमा गएँ। मलाई देखेर बुबाले मेरो कमिज च्याप्प समात्नुभयो र “चोर!” “चोर!” भन्दै कराउन थाल्नुभयो। उहाँले चुपी निकाल्नुभयो र चेप्टो पाटाले मलाई हिर्काउनुभयो। खैलाबैला सुनेर अरू गाउँलेहरू पनि हाम्रो घरमा जम्मा भए। मैले के चोरेको थिएँ? आउनुहोस्‌ म तपाईंहरूलाई बताउँछु।

सन्‌ १९३० मा, दक्षिणपूर्वी नाइजेरियाको उमारेम गाउँमा मेरो जन्म भएको थियो र सात जना छोराछोरीमध्ये म जेठो छोरा थिएँ। मेरी जेठी दिदी १३ वर्षको उमेरमै बित्नुभयो। मेरा आमाबाबु एङ्‌गलिकन हुनुहुन्थ्यो। बुबा कृषक हुनुहुन्थ्यो भने आमा सानो व्यवसाय गर्नुहुन्थ्यो। उहाँ गाउँदेखि लगभग ३० किलोमिटर टाढा स्थानीय बजारमा खजूरको एक टिन तेल किन्‍न हिंडेरै जानुहुन्थ्यो र त्यही दिन अबेर घर फर्कनुहुन्थ्यो। त्यसपछि, भोलिपल्ट झिसमिसे उज्यालोमै उहाँ लगभग ४० किलोमिटर टाढा रेलवे-स्टेसन भएको सहरमा तेल बेच्न हिंडेरै जानुहुन्थ्यो। साधारणतया त्यस्तै १५ सेन्टभन्दा (सं.रा.) बढी नाफा कमाइहालेको बेला परिवारको लागि खानेकुरा किनेर उहाँ त्यसै दिन घर फर्कनुहुन्थ्यो। सन्‌ १९५० मा मृत्यु नहोउन्जेलसम्म उहाँको कार्य तालिका त्यस्तै थियो।

मेरो शिक्षादीक्षा एङ्‌गलिकन चर्चले सञ्चालन गरेको गाउँकै स्कूलमा भएको थियो तर प्राथमिक स्कूलको पढाइ सिध्याउन घरदेखि लगभग ३५ किलोमिटर टाढामा भएको बोर्डिङ हाउसमा बस्नुपर्थ्यो। मेरो पढाइ कायम राख्न मेरा आमाबाबुसित पैसा नभएको कारण मैले जागिर खोज्न थालें। सुरुमा मैले पश्‍चिमी नाइजेरियाको लागोसमा एक जना रेलवे गार्डको घरमा काम गरें र त्यसपछि उत्तरी नाइजेरियाको काडुनामा निजामती कर्मचारीको घरमा। मध्यपश्‍चिमी नाइजेरियाको बेनिन सहरमा मैले एक जना वकिलको लेखनदास भएर काम गरें र त्यसपछि काठ चिर्ने मिलमा काम गरें। मेरो नातेदारसित बस्न १९५३ मा त्यहाँबाट म क्यामरूनतिर लागें, जसले मलाई रबर खेतीको काममा लगाइदिए। मेरो मासिक ज्याला नौ डलर (अमेरिकी) थियो। मेरो काम निम्न दर्जाको भए तापनि खान पुगेसम्म म सन्तुष्ट थिएँ।

कङ्‌गाल व्यक्‍तिले धनसम्पत्ति बाँड्‌छ

सहकर्मी, सिलभानस ओकेमेरी एक जना यहोवाका साक्षी थिए। सँगै घाँस काट्‌दा र रबरका रूखहरू वरिपरि मल हाल्दा मौका मिल्ने बित्तिकै तिनले मलाई आफूले सिकेका बाइबलका कुराहरू सुनाउँथे। मैले तिनको कुरा सुने तापनि सुने अनुसार तत्काल केही गरिनँ। यद्यपि, साक्षीहरूसित मेरो हेमखेम छ भन्‍ने कुरा मेरो नातेदारले थाह पाएपछि तिनले मलाई निरुत्साहित पार्ने कोसिस गरे। तिनले मलाई यस्तो चेतावनी दिए: “बेन्जी, ओकेमेरीकहाँ जान छोडिदेऊ। ऊ यहोवाको मान्छे र कङ्‌गाल व्यक्‍ति हो। ऊसँग संगत गर्ने जोसुकै पनि ऊजस्तै हुनेछ।”

सन्‌ १९५४ को सुरु-सुरुतिर, कम्पनीमा काम गर्न साह्रै गाह्रो भएको कारण म घर फर्कें। त्यतिखेर एङ्‌गलिकन चर्च नैतिकताको सन्दर्भमा निकै कडा थियो। म अनैतिकतालाई एकदमै घृणा गर्थें। तथापि, चर्च धाउने सँगी व्यक्‍तिहरूको कपट देखेर मलाई चाँडै घृणा जागेर आयो। तिनीहरूले आफू बाइबलका स्तरहरू अनुरूप चल्छौं भनेर ठोकुवा गरे तापनि तिनीहरूको जीवन शैलीले तिनीहरूको भनाइलाई झूटो साबित गऱ्‍यो। (मत्ती १५:८) बुबासँग म घरी-घरी वादविवाद गरिरहन्थें, जसले गर्दा हामीबीच कटु मनमुटाउ भयो। एक रात म घरबाट सुटुक्कै भागें।

म सानो रेलवे सहर, ओमोबामा बस्न थालें। त्यहाँ फेरि यहोवाका साक्षीहरूसित मेरो सम्पर्क भयो। मेरो गाउँकै मैले चिन्‍ने प्रिसिला इसिओकाले मलाई “दिस गुड न्युज अफ द किङ्‌डम” र आफ्टर आरमागेडोन—गड्‌स न्यु वर्ल्डa भन्‍ने सानो पुस्तिका दिइन्‌। मैले त्यो बडो उत्सुकतासाथ पढें अनि सच्चाइ पाएँ भन्‍ने कुरामा म विश्‍वस्त भएँ। म जाने चर्चमा हामी बाइबल अध्ययन गर्दैनथ्यौं; हामी मानव परम्पराहरूमा बढी ध्यान दिन्थ्यौं। तथापि, साक्षीहरूको साहित्यमा भने ठाउँ-ठाउँमा बाइबलबाट उद्धरण गरिएको हुन्थ्यो।

एक महिना पनि नबित्दै मैले भाइ तथा बहिनी इसिओकालाई कहिले चर्च जानुहुन्छ भनी सोधें। यहोवाका साक्षीहरूको सभामा पहिलो चोटि उपस्थित हुँदा, मैले एउटै पनि कुरा बुझ्न सकिनँ। प्रहरीधरहरा लेख इजकिएलको भविष्यसूचक पुस्तकमा उल्लिखित ‘मागोगको गोगले’ आक्रमण गर्ने विषयमा थियो। (इजकिएल ३८:१, २) थुप्रै शब्दहरू मेरो लागि नौला थिए तर मैले जुन न्यानो स्वागत-सत्कार पाएँ त्यसद्वारा म यत्ति प्रभावित भएँ कि अर्को आइतबार फेरि सभा जाने निर्णय गरें। दोस्रो सभाको दौडान, मैले प्रचारकार्यबारे कुरा गरेको सुनें। त्यसकारण मैले प्रिसिलालाई तपाईंहरू कहिले प्रचार जानुहुन्छ भनी सोधें। तेस्रो आइतबार, म पनि उहाँहरूसँगै सानो बाइबल बोकेर प्रचारमा निस्कें। मसित न त प्रचारमा जाँदा बोक्ने झोला थियो न बाइबल साहित्य नै। यद्यपि, म राज्य प्रकाशक भएँ र त्यस महिनाको अन्तमा क्षेत्र सेवा रिपोर्ट बुझाएँ!

मसित कसैले पनि बाइबल अध्ययन गरेन तर इसिओका परिवारकहाँ गएपिच्छे म आफ्नो विश्‍वासलाई दरिलो बनाउने र प्रोत्साहनजनक शब्दहरू धर्मशास्त्रबाट सुन्‍न पाउँथे र केही बाइबल साहित्य पाउँथे। डिसेम्बर ११, १९५४ मा अबा भन्‍ने ठाउँमा सम्पन्‍न जिल्ला अधिवेशनमा मैले पानीको बप्तिस्माद्वारा यहोवाप्रति आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिएँ। मेरो नातेदार, जोसँग म सँगै बस्नुका साथै काम सिक्थें, तिनले मलाई खाना र प्रशिक्षण दिन छाडे र मैले तिनको निम्ति गरेको कामको ज्यालासमेत दिएनन्‌। यद्यपि, मैले ऊसित झगडा गरिनँ; परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध कायम भएकोमा म धन्यवादी थिएँ। यसले मलाई सान्त्वना र मनोशान्ति दियो। स्थानीय साक्षीहरू मलाई मदत गर्न अघि सरे। इसिओका दम्पतीले मलाई खाना दिए भने, अरूले चाहिं मलाई सानो व्यवसाय थाल्न पैसा सापट दिए। सन्‌ १९५५ को बीचतिर मैले अरूले चलाइसकेको पुरानो साइकल किनें र मार्च १९५६ मा नियमित अग्रगामीकार्य गर्न थालें। धेरै समय नबित्दै सापट लिएको पैसा तिर्न सकें। व्यवसायबाट नाफा कमाएको पैसा थोरै थियो तर अब म आफ्नो देखभाल आफै गर्न सक्थें। यहोवाले उपलब्ध गराइरहनुभएको कुरा मेरो लागि पर्याप्त थियो।

आफ्ना भाइबहिनीहरू “चोर्ने”

आत्मनिर्भर हुने बित्तिकै आफ्ना भाइबहिनीहरूलाई आध्यात्मिक तवरमा सहयोग गर्नु मेरो मुख्य चासोको कुरा थियो। बुबाले म साक्षी हुने कुराको विरोध गर्नुभयो किनभने त्यसप्रति उहाँको पूर्वाग्रह तथा शङ्‌का थियो। त्यसोभए, मैले कसरी आफ्ना भाइबहिनीहरूलाई बाइबल सत्य सिक्न मदत गर्न सकें त? कान्छा भाइ अर्नेस्टलाई आर्थिक सहयोग गर्ने प्रस्ताव राख्दा, बुबाले उसलाई मसँग बस्न दिनुभयो। अर्नेस्टले छिट्टै सच्चाइ अँगाले र १९५६ मा बप्तिस्मा लिए। तिनको परिवर्तनपछि बुबा झनै विरोध गर्न सुरिनुभो। यद्यपि, मेरी विवाहित बहिनी पनि आफ्नो पतिसँगै सच्चाइमा आइन्‌। माइली बहिनी फेलिसियालाई उसको स्कूलको छुट्टीमा मसँगै बस्ने प्रबन्ध मिलाउँदा, बुबाले मन नलागी-नलागी अनुमति दिनुभएको थियो। चाँडै फिलिसियाले पनि यहोवाको साक्षीको रूपमा बप्तिस्मा लिइन्‌।

सन्‌ १९५९ मा, अर्नेस्टसँगै बस्न म मेरी साहिंली बहिनी, बर्निसलाई लिन भनी घर गएको थिएँ। त्यति बेलै हो बुबाले मलाई उहाँका छोराछोरी चोरेको अभियोग लगाउँदै ममाथि आइलाग्नुभएको। यहोवाको सेवा गर्ने उनीहरूले व्यक्‍तिगत निर्णय गरेका थिए भन्‍ने कुरा उहाँले बुझ्न सक्नुभएन। कुनै पनि हालतमा बर्नेसलाई मसँग जान नदिने कुरामा बुबा अडिग रहनुभयो। तर यहोवाको शक्‍ति कम थिएन किनभने त्यसको अर्को वर्ष, बर्नेस आफ्नो स्कूलको छुट्टी बिताउन अर्नेस्टकहाँ आइन्‌। आफ्ना दिदीहरूजस्तै तिनले पनि सच्चाइ अँगालिन्‌ र बप्तिस्मा लिइन्‌।

‘गुप्त कुरा सिक्ने’

सन्‌ १९५७ सेप्टेम्बरमा, हरेक महिना प्रचारकार्यमा लगभग १५० घण्टा बिताएर मैले विशेष अग्रगामीको रूपमा काम गर्न थालें। मेरो सहकर्मी, सन्डे इरोबेलाकी र मैले अकपु-ना-आबु, एचेको विशाल इलाकामा सेवा गऱ्‍यौं। त्यहाँ छँदा सबैभन्दा पहिलो क्षेत्रीय सम्मेलनमा उपस्थित हुँदा हाम्रो समूहबाट १३ जनाले बप्तिस्मा लिएका थिए। हाल त्यस क्षेत्रमा २० वटा मण्डली देख्न पाउँदा हामीलाई साह्रै आनन्द लाग्छ!

सन्‌ १९५८ मा मेरो चिनापर्ची अबा पूर्व मण्डलीमा संगत गरिरहेकी नियमित अग्रगामी, क्रिस्टिना अस्विकासित भयो। म तिनको जोस देखेर औधी प्रभावित भएँ र त्यसै वर्षको डिसेम्बर महिनामा हामीले विवाह गऱ्‍यौं। सन्‌ १९५९ को सुरुतिर, म परिभ्रमण निरीक्षकको हैसियतमा नियुक्‍त भएँ र त्यसपछि मैले हाम्रा आध्यात्मिक भाइहरूको मण्डलीहरूमा भ्रमण गर्नुका साथै त्यसलाई सुदृढ पार्ने काम गरें। त्यस बेलादेखि सन्‌ १९७२ सम्ममा त मेरी पत्नी र मैले पूर्वी तथा मध्यपश्‍चिमी नाइजेरियामा भएका यहोवाका साक्षीहरूको प्राय सबै मण्डलीहरूको भ्रमण गरिसकेका थियौं।

मण्डलीहरू एकदमै टाढ-टाढा थिए र हाम्रो यातायातको मुख्य साधन भनेकै साइकल थियो। ठूल्ठूला सहरका मण्डलीहरूमा सेवा गर्दा हामीलाई एउटा मण्डलीदेखि अर्को मण्डलीसम्म लैजान हाम्रा भाइहरूले ट्याक्सी भाडामा लिनेगर्थे। हामी बसेका कुनै-कुनै कोठाहरूको भुइँ माटोको थियो भने सिलिङ थिएन। हामी ताडको रूखको काठले बनाएको पलङमा सुत्थ्यौं। कुनै-कुनै पलङहरूमा बाहिरबाट गुन्द्रीले छोपेको घाँसको डसना थियो भने, अरू कतिपयमा त त्यति पनि थिएन। खानेकुराको मात्रा र गुणस्तर हाम्रो लागि कुनै समस्या थिएन। विगतमा आफूसित भएका थोरै कुरामा सन्तुष्ट हुन सिकेको हुनाले जस्तोसुकै खानेकुरा दिइए तापनि हामी रमाई-रमाई खान्थ्यौं र हाम्रो त्यस्तो मनोवृत्ति देखेर हामीलाई खानामा निम्त्याउनेहरू पनि खुसी हुन्थे। त्यसबेला कुनै-कुनै सहरहरूमा बिजुली थिएन, त्यसैले सधैंजसो हामी आफ्नो साथमा मट्टीतेल हालेर बालिने लालटिन बोक्थ्यौं। तथापि, कठिन अवस्थाहरूको बावजुद हामीले मण्डलीहरूसित थुपै रमाइला क्षणहरू बितायौं।

ती वर्षहरूको दौडान, हामीले प्रेरित पावलले दिएका यस सल्लाहको महत्त्व बुझ्यौं: “खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” (१ तिमोथी ६:८) दुःखकष्ट सहेर पावलले सन्तुष्ट रहन मदत गर्ने गुप्त कुरा सिके। त्यो के थियो? तिनले यसरी व्याख्या गरे: “म घट्‌न पनि जान्दछु, बढ़्‌न पनि जान्दछु। हरेक कुरामा र सम्पूर्ण कुरामा तृप्त हुने पनि र भोको हुने पनि, प्रशस्त हुने र खाँचोमा पर्ने पनि गुप्त कुरो मैले सिकेको छु।” हामीले पनि त्यही गुप्त कुरा सिक्यौं। पावलले यसो पनि भने: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा [परमेश्‍वरमा] सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१२, १३) त्यो कुरा हाम्रो सन्दर्भमा सोह्रै आना सही साबित भयो! हामीले सन्तुष्टि, उत्थानदायी मसीही गतिविधि र मनोशान्ति अनुभव गऱ्‍यौं।

पारिवारिक रूपमा मण्डलीहरूको सेवा गर्दै

सन्‌ १९५९ को अन्ततिर हाम्रो जेठो छोरा, जोएलको जन्म भयो र त्यसपछि १९६२ मा माइलो छोरा शमूएल जन्मिए। क्रिस्टिना र मैले यी छोराहरूलाई पनि साथमा लिएर परिभ्रमणकार्य गरिरह्‍यौं। सन्‌ १९६७ मा, नाइजेरियामा अचानक गृहयुद्ध भड्‌कियो। निरन्तर हवाइ आक्रमणको कारण स्कूलहरू बन्द भए। परिभ्रमणकार्यमा मलाई साथ दिनुअघि मेरी पत्नी शिक्षिका थिइन्‌, त्यसैकारण युद्ध मच्चिरहेको बेला तिनले छोराछोरीलाई घरैमा शिक्षादीक्षा दिने काम गरिन्‌। छ वर्षको उमेरमा त शमूएल लेख-पढ गर्न जान्‍ने भइसकेका थिए। युद्धविरामपछि स्कूलमा भर्ना हुँदा त ऊ आफ्ना साथीहरूभन्दा दुई कक्षा अगाडि थिए।

त्यतिखेर, परिभ्रमणकार्यमै लागिरहेर छोराछोरीको पालनपोषण गर्नु कति अप्ठ्यारो हुँदो रहेछ भन्‍ने कुरा हामीलाई त्यति राम्रोसित थाह थिएन। तथापि, सन्‌ १९७२ मा विशेष अग्रगामीहरूको हैसियतमा खटाइनु हाम्रो लागि लाभप्रद साबित भयो। यसले गर्दा हामी एक ठाउँमा बस्न सक्यौं र आफ्नो परिवारको आध्यात्मिकताप्रति पर्याप्त ध्यान दिन सक्यौं। हामीले हाम्रा छोराछोरीलाई सानै उमेरदेखि ईश्‍वरीय सन्तुष्टिको महत्त्वबारे सिकायौं। सन्‌ १९७३ मा शमूएलले बप्तिस्मा लिए र त्यसै वर्ष जोएलले नियमित अग्रगामी गर्न थाले। हाम्रा दुवै छोराहरूले असल मसीही युवतीहरू विवाह गरेका छन्‌ र अहिले आ-आफ्नो परिवारलाई सच्चाइमा हुर्काइरहेका छन्‌।

गृहकलहले निम्त्याएको दारुण अवस्था

गृहयुद्ध सुरु हुँदा म ओनिचा मण्डलीमा आफ्नो परिवारसित क्षेत्रीय निरीक्षकको हैसियतमा सेवा गरिरहेको थिएँ। त्यस युद्धले भौतिक कुराहरू थुपार्नु वा ती कुराहरूमा भरोसा गर्नु कत्ति व्यर्थ छ भनेर हाम्रो मनमा अमेट छाप पाऱ्‍यो। मैले मानिसहरू आफ्ना बहुमूल्य धनसम्पत्तिहरू सडकमा छोडेर जीवन बचाउन भागिरहेको देखें।

युद्ध चर्कंदै गएपछि सबै जवान व्यक्‍तिहरूलाई अनिवार्य रूपमा सेनामा भर्ती गरियो। भर्ती हुन अस्वीकार गर्ने थुप्रै भाइहरूलाई यातना दिइयो। हामी खुल्लमखुल्ला हिंड्डुल गर्न सक्दैनथ्यौं। खानाको अभावले गर्दा देशमा उत्पात मच्चियो। आधा केजी कन्दमूलको भाउ ७ सेन्टदेखि बढेर १४ डलर (अमेरिकी) पुग्यो भने, एक ट्‌वाक नुनको दाम ८ डलरदेखि ४२ डलर (अमेरिकी) पुग्यो। दूध, बटर र चिनी उपलब्ध हुन छोड्यो। जीविका चलाउन हामी काँचो मेवालाई पिनेर अलिकति कन्दमूलको पीठोसँग मिसाउँथ्यौं। हामीले फटेङ्‌ग्रा, कन्दमूलको बोक्रा, चोली फूलको पात, हात्तीले खाने एक किसिमको नेपियार घाँसदेखि लिएर भेटेजति सबै किसिमका पातहरू खान्थ्यौं। मासु छोई नसक्नु महँगो भएको कारण म छोराहरूका लागि छेपारो पक्रन्थें। यद्यपि, अवस्था जतिसुकै नाजुक भए तापनि यहोवाले सधैं हामीलाई सँभाल्नुभयो।

तथापि, त्योभन्दा डरलाग्दो स्थिति त युद्धले गर्दा उत्पन्‍न आध्यात्मिक कुराको अभाव थियो। अधिकांश भाइहरू युद्धग्रस्त इलाकादेखि भागेर जङ्‌गल वा अन्य गाउँहरूमा बस्न थाले र त्यसरी भाग्ने क्रममा उनीहरूले आफ्नो प्राय सबै बाइबल प्रकाशनहरू गुमाउनुपऱ्‍यो। यसबाहेक, सरकारी सेनाहरूले अवरोध खडा गरेको कारण नयाँ बाइबल साहित्यहरू बियाफ्रान क्षेत्रमा आइपुग्न सकेन। प्रायजसो सबै मण्डलीहरूले सभाहरू सञ्चालन गर्ने कोसिस गरे तापनि शाखा कार्यालयले पठाएको निर्देशन तिनीहरूसम्म पुग्न नसकेको कारण भाइहरूको आध्यात्मिकतामा निकै क्षति पुग्यो।

आध्यात्मिक भोकमाथि विजयी हुने

परिभ्रमण निरीक्षकहरूले हरेक मण्डलीमा भ्रमण गर्ने प्रबन्धलाई निरन्तरता दिन यथासक्दो गरे। थुप्रै भाइहरू सहर छोडेर भागेका हुनाले मैले उनीहरूलाई भेट्टाउन सकिने सम्भाव्य सबै ठाउँमा खोजतलास गरें। एक चोटि त, मैले आफ्नी पत्नी तथा छोराहरूलाई सुरक्षित ठाउँमा छोडेर भाइहरूलाई खोज्दै-खोज्दै विभिन्‍न गाउँ र जङ्‌गलहरूमा छ हप्तासम्म एक्लै यात्रा गरें।

ओबुङ्‌का मण्डलीमा सेवा गर्दा, मैले ओकिग्वा जिल्लाको इसिओची क्षेत्रमा साक्षीहरूको ठूलो समूह छ रे भन्‍ने कुरा सुनें। त्यसैकारण मैले त्यस क्षेत्रमा भएका भाइहरूलाई उम्वाकु गाउँमा अवस्थित काजु बगानमा भेला हुन कसैमार्फत खबर पठाएँ। एक जना वृद्ध भाइ र म साइकल चढेर लगभग १५ किलोमिटर टाढा भएको त्यस बगानमा गयौं, जहाँ आइमाई तथा केटाकेटीहरू गरेर लगभग २०० जना साक्षीहरू भेला भएका थिए। एउटी अग्रगामी बहिनीको मदतद्वारा मैले लोमारा झाडीमा शरण लिएर बसेका लगभग एक सय जना साक्षीको अर्को समूह भेट्टाउन सकें।

लरेन्स्‌ उग्वाबु, युद्धग्रस्त ओवेरी सहरका साहसी भाइहरूको समूहका एक जना सदस्य थिए। तिनले मलाई ओहाजी क्षेत्रमा थुप्रै साक्षीहरू छन्‌ भन्‍ने जानकारी दिए। उनीहरू खुल्लमखुल्ला हिंड्डुल गर्न सक्दैनथे किनभने सेनाहरूले उनीहरू बसेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका थिए। हामी दुई जना राती साइकल चढेर त्यतातिर लाग्यौं र एक जना भाइको घरको हाताभित्र बसिरहेका लगभग १२० जना साक्षीलाई भेट्यौं। त्यस मौकामा हामीले अरू साक्षीहरूलाई पनि उनीहरूको लुक्ने ठाउँमा भेट्‌न सक्यौं।

भाइ आइजक न्वागुले अन्य विस्थापित भाइहरू बसेको ठाउँसम्म मलाई पुऱ्‍याउन आफ्नो ज्यान दाउमा लगाए। एग्बु-आचामा भेला भएका १५० भन्दा बढी साक्षीहरूलाई भेट्‌न तिनले मलाई डुङ्‌गामा ओटामेरी खोलापारि पुऱ्‍याइदिए। त्यहाँ भएका एक जना भाइले यस्तो उद्‌गार व्यक्‍त गरे: “यो मेरो जीवनकै सबैभन्दा उत्तम दिन हो! परिभ्रमण निरीक्षकलाई फेरि भेट्‌न पाउँछु भन्‍ने कुरा त मैले सपनामा पनि सोचेको थिइनँ। अब त युद्धको कारण मर्नुपरे तापनि म मर्न तयार छु।”

मलाई पनि सेनामा भर्ती गराउन सक्ने खतरा थियो तर मैले निरन्तर यहोवाको सुरक्षा महसुस गरें। एक दिन अपराह्नको कुरा हो, लगभग २५० जना भाइहरूसितको सभापछि घर फर्किंदै गर्दा सेनाको एउटा टुकडीले मलाई सडक अवरुद्ध गरिएको ठाउँमा रोके। “तिमी किन सैनिक सेवामा भर्ती भएनौ, हँ?” भनेर तिनीहरूले सोधे। परमेश्‍वरको राज्यको प्रचार गर्ने म एक जना मिसनरी हुँ भनी मैले जवाफ दिएँ। तिनीहरू मलाई गिरफ्तार गर्न चाहन्छन्‌ भन्‍ने कुरा मलाई थाह भयो। त्यसैले छोटो प्रार्थना गरेपछि मैले तिनीहरूको अफिसरलाई यसो भनें, “कृपया मलाई छोडिदिनुहोस्‌।” कस्तो अचम्म, तिनले यस्तो जवाफ दिए, “तिमीलाई छोडिदिनु रे?” “हजुर, मलाई छोडिदिनुहोस्‌” मैले भनें। तिनले भने, “हुन्छ, तिमी जान सक्छौ।” अरू सैनिकहरूले पनि केही भनेनन्‌।—भजन ६५:१, २.

सन्तुष्टिले थप आशिष्‌ ल्याउँछ

सन्‌ १९७० मा युद्ध अन्त भएपछि मैले क्षेत्रीयकार्यमा सेवा गरिरहें। मण्डलीहरूलाई पुनः सङ्‌गठित हुन मदत गर्ने सुअवसर पाएँ। त्यसपछि, १९७६ मा म पुनः एक पटक क्षेत्रीय निरीक्षक नियुक्‍त होउन्जेलसम्म क्रिस्टिना र मैले विशेष अग्रगामीहरूको रूपमा सेवा गऱ्‍यौं। त्यस वर्षको बीचतिर मलाई जिल्लाकार्यको लागि खटाइयो। सात वर्षपछि मेरी पत्नी र मलाई हाल हाम्रो घर, यहोवाका साक्षीहरूको नाइजेरिया शाखा कार्यालयमा सेवा गर्न आमन्त्रित गरियो। यहाँ शाखामा, गृहयुद्धको दौडान र अरू समय हामीले भेटेका भाइबहिनीहरूलाई पुनः एक चोटि भेट्‌न पाउँदा र उनीहरूले अझै पनि विश्‍वासीपूर्वक यहोवाको सेवा गरिरहेको देख्न पाउँदा आनन्दले मनै प्रफुल्लित हुन्छ।

वर्षौंको दौडान, क्रिस्टिना ठूलो सहयोगी र वफादार सँगी साबित भएकी छिन्‌। सन्‌ १९७८ देखि यता निरन्तर स्वास्थ्य समस्या झेल्दै आउनुपरे तापनि तिनको सकारात्मक र दृढ मनोभावले मलाई आफ्ना जिम्मेवारीहरू पूरा गरिरहन मदत गरेको छ। हामीले भजनहारका यी शब्दहरूको सत्यता महसुस गरेका छौं: “परमप्रभुले त्यसलाई त्यसको बिरामी अवस्थामा पलङैमा सह्‍माल्नुहुन्छ।”—भजन ४१:३.

ईश्‍वरतान्त्रिक गतिविधिमा बिताएका ती वर्षहरूलाई फर्केर हेर्दा, यहोवाले अद्‌भुत आशिष्‌ दिनुभएकोमा म उहाँलाई धन्यवाद नदिई रहन सक्दिनँ। उहाँले जे-जति उपलब्ध गराइदिनुहुन्छ, तिनै कुरामा सन्तुष्ट हुन सिकेको कारण मैले ठूलो आनन्द प्राप्त गर्न सकेको छु भनेर म भन्‍न सक्छु। म र मेरी पत्नीलगायत मेरा भाइबहिनीहरू, मेरा छोराछोरी अनि तिनीहरूका परिवार सबैले नै यहोवाको सेवा गरिरहेको देख्दा जुन आनन्द महसुस हुन्छ, त्यो एउटा अतुलनीय आशिष्‌ हो। यहोवाले मलाई पूर्ण र अर्थपूर्ण जीवन दिनुभएर तृप्त पार्नुभएको छ। उहाँले मेरा सबै इच्छाहरू पूरा गरिदिनुभएको छ।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित। अहिले छापिंदैन।

[पृष्ठ २७-मा भएको पेटी]

समसामयिक प्रबन्धले भ्रातृत्वलाई थामिराख्न मदत गर्छ

सन्‌ १९६० दशकको बीचतिर, उत्तरी र पूर्वी नाइजेरियामा दुई जातीय समूहबीचको वैमनस्यताले गर्दा निकै अशान्ति, विद्रोह, अराजकता र जातीय हिंसा मच्चियो। ती घटनाहरूले गर्दा यहोवाका साक्षीहरूलाई निकै मर्का पऱ्‍यो, जो त्यस द्वन्द्वमा एकदमै तटस्थ रहन कटिबद्ध थिए। तीमध्ये लगभग २० जनाको हत्या गरियो। अधिकांशले आफ्ना सबै जायजेथा गुमाए।

मे ३०, १९६७ मा, नाइजेरियाको पूर्वी राज्य, संघबाट छुट्टियो र गणतन्त्र बियाफ्रा गठन भयो। संघीय सैन्य शक्‍ति परिचालन गरियो र पूर्वतर्फ पूर्णतः नाकाबन्दी लगाइयो। त्यसपछि रक्‍तपातपूर्ण तथा हिंस्रक गृहयुद्ध मच्चियो।

बियाफ्रान क्षेत्रमा बसोबास गर्ने यहोवाका साक्षीहरूको तटस्थताले गर्दा उनीहरू आक्रमणको तारो भए। अखबारहरूले सर्वसाधारणलाई यहोवाका साक्षीहरू विरुद्ध उक्साउने सनसनीपूर्ण टीकाटिप्पणीहरू छाप्न थाले। तथापि, आफ्ना सेवकहरूले आध्यात्मिक आहार पाऊन्‌ भनेर यहोवाले प्रबन्ध मिलाउनुभयो। कसरी?

सन्‌ १९६८ को सुरु-सुरुतिर, एक जना निजामती कर्मचारीलाई युरोपको एउटा कार्यालयमा खटाइयो भने, अर्को एक जनालाई चाहिं बियाफ्रानको सानो धावनमार्गमा खटाइयो। ती दुवै जना साक्षी थिए। आफ्नो कामले उनीहरूलाई बियाफ्रा र बाहिरी संसारलाई जोड्‌ने एक मात्र माध्यम भएका दुईवटा फरक ठाउँमा राखेका थिए। यी दुई साक्षीहरूले बियाफ्रामा आध्यात्मिक आहार पुऱ्‍याउने जोखिमपूर्ण काम गर्न सघाए। उनीहरूले दुःखकष्टमा परेका भाइहरूलाई राहत सामग्रीहरूको बन्दोबस्त मिलाउन पनि मदत गरे। यी दुई भाइहरू युद्धभरि नै यस अत्यावश्‍यक प्रबन्धलाई कायम राख्न सफल भए, जुन युद्ध १९७० मा अन्त भयो। तीमध्ये एक जना भाइले पछि यसो भने, “यो प्रबन्ध मानिसले बनाउन सक्ने योजनाभन्दा बाहिरको कुरा थियो।”

[पृष्ठ २३-मा भएको चित्र]

सन्‌ १९५६ मा

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९६५ मा हाम्रो छोरा जोएल र शमूएलसित

[पृष्ठ २६-मा भएको चित्र]

सपरिवार यहोवाको सेवा गर्न पाउनु कत्ति आशिष्‌को कुरा हो!

[पृष्ठ २७-मा भएको चित्र]

अहिले, क्रिस्टिना र म नाइजेरिया शाखामा सेवा गर्छौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने