ईर्ष्यालु मानिस
हिब्रू भाषामा “डाह”-को लागि एउटै मूल शब्द प्रयोग गरिएको छ। पापी मानवहरूलाई संकेत गर्दा त्यो शब्द “ईर्ष्या” वा “प्रतिद्वन्द” भनी अनुवाद गर्न सकिन्छ। (उत्पत्ति २६:१४, न्युव; उपदेशक ४:४, न्युव) तथापि, युनानी भाषामा “डाह”-लाई बुझाउन अनेक शब्दहरू प्रयोग गरिएका छन्। हिब्रू समानार्थकजस्तै जेलोस् शब्दले धर्मी तथा पापी डाहलाई बुझाउन सक्छ। अर्को युनानी शब्द, थोनोस्-को पूर्णतया नकारात्मक अर्थ छ। न्यु वर्ल्ड ट्रान्सलेशन-ले (नयाँ विश्व अनुवाद) यसलाई सधैं “ईर्ष्या” भनेर अनुवाद गर्छ।
पुरातन युनानमा थोनोस शब्द कसरी प्रयोग गरिन्थ्यो? दी एंकर बाइबल डिक्शनरी यसो भन्छ: “लोभी मानिसहरूजस्तो नभएर थोनोस पीडित मानिसले अरूको सम्पत्तिमाथि लोभ गर्छ नै भन्ने छैन; ऊ केवल अरूसित सम्पत्ति नहोस् भन्ने चाहन्छ। उसका लक्ष्यहरू प्रतिस्पर्धीको भन्दा भिन्न हुन्छ किनभने ऊ आफू पनि जित्न खोज्दैन तर अरूलाई पनि जित्न दिंदैन।”
ईर्ष्यालु मानिसले आफ्ना समस्याहरूको मूल कारण आफ्नै मनोवृत्ति हो भनेर प्रायजसो बुझेको हुँदैन। त्यही शब्दकोशले यसरी वर्णन गर्छ: “आत्मसजगताको कमी हुनु नै थोनोस-को एउटा विचित्रता हो। थोनेरोस मानिसले आफ्नो आचरणको स्पष्टीकरण दिनु पर्दा आफूले गरेको आलोचना न्यायोचित नै ठान्छ। अनि अप्रिय परिस्थितिले गर्दा आफू त्यसो गर्न बाध्य भएको बताउँछ। आफ्नो साथीबारे त्यसो कसरी पो भन्न सक्यौ भनी कसैले सोध्दा त्यो आलोचना साथीकै सर्वोत्तम हितको लागि भएको बताउँछ।”
सुसमाचारको पुस्तकका लेखकहरू, मत्ती र मर्कूसले येशूको हत्याका लागि जिम्मेवार मानिसहरूको मनोवृत्तिलाई वर्णन गर्न युनानी शब्द थोनोस प्रयोग गरे। (मत्ती २७:१८; मर्कूस १५:१०) हो, तिनीहरूलाई ईर्ष्याले उस्काएको थियो। त्यही हानिकारक भावनाले गर्दा धर्मत्यागीहरूले आफ्ना भूतपूर्व भाइहरूलाई हिंस्रक तवरमा घृणा गरेका छन्। (१ तिमोथी ६:३-५) त्यसकारण ईर्ष्यालु मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न नदिनु कुनै अचम्मको कुरा होइन! “ईर्ष्याले पूर्ण भएका” मानिसहरू “मृत्युका योग्य हुन्छन्” भनी यहोवा परमेश्वरले घोषणा गर्नुभएको छ।—रोमी १:२९, ३२; गलाती ५:२१.
[पृष्ठ ७-मा भएका चित्रहरू]
ईर्ष्याले तपाईंको जीवनलाई भताभुंग पार्न नदिनुहोस्