आमाबाबुको पदचिन्हलाई पछ्याउँदै
हिल्डा पाजेटको वृतान्तमा आधारित
“मेरो जीवन सर्वोच्चको सेवामा समर्पित छ र म दुइ मालिकको सेवा गर्न सक्दिनँ।” एउटा प्रेस रिपोर्टमा उपरोक्त शब्दहरू कोरिएका थिए। दोस्रो विश्वयुद्धतिर अनिवार्य अस्पताल सेवा इन्कार गर्नुको कारण बताउन मैले सन् १९४१ मा बेलाइतको श्रम मन्त्रालय तथा राष्ट्रिय सेवा अधिकृतहरूलाई लेखेको पत्रबाट ती शब्दहरू लिइएका थिए। केही समयभित्र ममाथि मुद्दा दायर गरियो र तीन महिनाको जेल सजाय तोकियो।
तर म कसरी त्यो स्थितिसम्म पुगें? जवानीको सनक वा विद्रोही व्यहोराले त अवश्य होइन। बरु त्यसको कारण खोज्ने हो भने मेरो बाल्यावस्थामा पुग्नुपर्छ।
राज्यप्रति बुबाको जोश
मेरो जन्म सन् १९१४ जून ५ तारिखका दिन बेलाइतको उत्तरतर्फ पर्ने लिड्स भन्ने ठाउँ नजीकै, हर्सफर्थ शहरमा भएको थियो। मेरो बुबा आट्कीन्सन अनि आमा प्याट्टी पाजेट आइतबारे स्कूलका शिक्षकहरू हुनुहुन्थ्यो। उहाँहरू प्रिमिटिभ मेथोडिस्ट च्यापेलका (चर्च) गायन टोली सदस्यहरू पनि हुनुहुन्थ्यो। मेरो बुबा सोही टोलीमा अर्गन बजाउनुहुन्थ्यो। म सानी छँदा हाम्रो परिवार सुखी थियो तर एउटा कुराले भने बुबालाई पिरोलिरहन्थ्यो। उहाँ युद्ध र हिंसालाई घृणा गर्नुहुन्थ्यो र बाइबलले दिने यो आज्ञामाथि विश्वास गर्नुहुन्थ्यो: “तैंले हत्या नगर्नू।”—प्रस्थान २०:१३.
सन् १९१५ मा बेलाइती सरकारले अनिवार्य सैन्य सेवा लागू गर्नु अगावै स्वेच्छापूर्वक सेनामा भर्ती हुन युवकहरूलाई आग्रह गऱ्यो। मनमा अनेकन शंका उपशंकाहरू लिंदै मेरो बुबा सेनामा भर्ती हुन दिनभरि पानीमा रुझ्दै उभिनुभयो। तर त्यसको भोलिपल्टै उहाँको जीवनले अर्कै मोड लियो!
एउटा ठूलो घरमा धाराका पाइपहरू जडान गर्दै गर्दा उहाँले अरू कामदारहरूसँग विश्वघटनाहरूबारे कुरा गर्नु भएछ। अनि त्यही घरमा काम गर्ने बगैंचेले ग्यादरिंग द लर्ड्स जुवेल्स (प्रभुका रत्नहरू जम्मा गर्ने) भन्ने सानो पर्चा उहाँको हातमा थमाइदिएछ। घर गएर बुबाले त्यसलाई दोहोऱ्याइ, तेहऱ्याइ पढ्नुभयो। अनि उहाँले यसो भन्नुभयो, “यदि यो सत्य हो भने, बाँकी सबै कुरा गलत हुनुपर्छ।” अर्को दिन, उहाँले थप जानकारी माग्नुभयो र तीन हप्तासम्म बिहान नहोऊञ्जेल रातभरि बाइबल अध्ययन गर्नुभयो। आफूले सत्य पाएको छु भनी उहाँ निश्चित हुनुहुन्थ्यो! उहाँले आइतबार, जनवरी २, १९१६ का दिन आफ्नो दैनिकीमा यो लेख्नुभएको थियो: “बिहान चर्च, बेलुकी आइ.बि.एस.ए.-कहाँ गएँ। [त्यतिबेला बेलाइतमा यहोवाका साक्षीहरू अन्तरराष्ट्रिय बाइबल स्टुडेन्ड्स एसोसिएसनको नाउँले चिनिन्थे।] हिब्रू ६:९-२० अध्ययन गरें। यो भाइहरूसितको पहिलो भेट थियो।”
तर चाँडै नै विरोध आउनथाल्यो। हाम्रा नातेदार तथा चर्चका मित्रहरूले बुबाको मति बिग्रियो भन्ठाने। तर बुबाले अटल निर्णय गरिसक्नुभइसकेको थियो। उहाँको ध्याउन्ना नै सभाहरू धाउनु र अध्ययन गर्नु थियो। मार्च महिनासम्ममा त उहाँले यहोवाप्रतिको आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूपसमेत दिइसक्नुभएको थियो। बुबा एक्लै सभाहरूमा धाउन थाल्नुभएपछि आमाले केही हप्तासम्म विरोध गर्नुभयो। तर एक दिन आफैलाई असह्य लागेपछि मलाई बच्चा बोक्ने डोकोमा बोकेर आठ किलोमिटर हिंड्दै लिड्स पुग्नुभयो। उहाँ त्यहाँ पुग्दा सभा भर्खरै मात्र समापन भएको थियो। मेरी आमालाई त्यसरी त्यहाँ देख्दा बुबा कति खुशी हुनुभयो होला अब तपाईं नै कल्पना गर्न सक्नुहुन्छ। त्यसउप्रान्त हाम्रो परिवार यहोवाको सेवामा एकताबद्ध भयो।
त्यतिबेला मेरो बुबाको स्थिति असाध्यै दुबिधापूर्ण थियो। उहाँ आफ्नै स्वेच्छाले सेनामा भर्ती हुनुभएको थियो। अतः केही हप्तादिनभित्र त्यसप्रति आपत्ति जनाउनुपर्दा उहाँलाई निकै फसाद पऱ्यो। उहाँलाई हाजिर हुन बोलाइँदा उहाँले बन्दुक चलाउन इन्कार गर्नुभयो। फलतः उहाँलाई पाँच पटक कोर्ट मार्शल गरियो। पहिलो चोटि कोर्ट मार्शल गरिंदा उहाँलाई जुलाई १९१६ मा ९० दिनको जेल सजाय दिइयो। पहिलो सजाय सकेपछि बुबालाई दुइ हप्ता छुट्टी दिइयो। त्यसपछि लगत्तै दोस्रो पटक कोर्ट मार्शल गरियो र उहाँलाई अर्को ९० दिनसम्म जेलमा थुनियो। तत्पश्चात् उहाँलाई शाही जंगी मेडिकल पल्टनमा खटाइयो। अतः फेब्रुअरी १२, १९१७ मा जंगी जहाजमा चढेर उहाँ फ्रान्सको रुअन भन्ने ठाउँतर्फ लाग्नुभयो। दैनिकीका पन्नाहरूअनुसार त्यहाँ बस्दा आफ्नो स्थितिदेखि उहाँलाई दिन प्रतिदिन घृणा लागेको रहेछ। उहाँलाई आफूले घाइते सिपाहीहरूलाई निको पारीवरी फेरि लडाइँमा पठाएकोजस्तै लागेछ।
त्यसकारण, उहाँले त्यो काम गर्न इन्कार गर्नुभयो। फेरि उहाँलाई कोर्ट मार्शल गरियो र यस पटक चाहिं उहाँलाई रुअनको बेलाइती जंगी जेलमा पाँच वर्षको जेल सजाय दिइयो। जेल छँदा धार्मिक वा नैतिक कारणले युद्ध लड्न इन्कार गर्नेहरू सरह आफूलाई पनि सरकारी जेलमा राखियोस् भनेर उहाँले बारम्बार आग्रह गरिरहनुभयो। तर त्यसो गर्दा उल्टो दण्ड दिइयो। उहाँलाई पाउरोटी र पानी मात्र खान दिइयो। त्यति कम भोजनले गर्दा उहाँ दुब्लाउनु हुन्थ्यो नै। तर दुब्लाएपछि फेरि शरीरको वजन नबढेसम्म उहाँलाई नियमित भोजन खुवाइन्थ्यो। अनि वजन बढेपछि फेरि पाउरोटी, पानी खुवाइन्थ्यो। तीन महिनासम्म उहाँलाई त्यस्तै व्यवहार गरियो। दिनभरि उहाँलाई पाता फर्काएर हतकडी लगाइन्थ्यो। राती र भोजन खानेबेला चाहिं हातहरू अगाडि फर्काएर हतकडी लगाइएका हुन्थे। हतकडी सानो भएकोले घाउ नै हुनेगरि उहाँका नाडीहरू चेपिन्थे। फलतः घाउ पाकेर पीप बगिरहन्थ्यो। उहाँका खुट्टाहरू र कम्मर फलामको एउटै सिक्रीले बाँधिएको थियो।
उहाँको मनोबल तोड्न सैनिक अधिकृतहरूले यथाशक्य सबै गरे, तर केही लाभ भएन। उहाँका बाइबल र पुस्तकहरू खोसिएका थिए। उहाँले न घरबाट चिट्ठी पाउनुहुन्थ्यो न ता पठाउनु नै सकिन्थ्यो। यसप्रकार दुइ वर्षजति बितिसकेपछि उहाँले आफ्नो निष्कपटता प्रमाणित गर्न भोक हडताल गर्ने अठोट गर्नुभयो। सात दिनसम्म केही खाइपिई नगरी उहाँ अटल बस्नुभयो। फलतः उहाँ साह्रै सिकिस्त हुनुभयो र उहाँलाई जेलको अस्पतालमा पठाइयो। उहाँले आफ्नो निष्कपटता त प्रमाणित गर्नुभयो तर यसले गर्दा झन्डै ज्यान गुमाउनु पऱ्यो। वर्षौंपछि उहाँले त्यसरी जीवनलाई दाउमा राखेकोमा आफ्नो भूल स्वीकार्नुभयो र फेरि कहिल्यै त्यसो नगर्ने कुरा पनि मानि लिनुभयो।
नोभेम्बर १९१८ मा युद्ध अन्त भयो तर बुबा भने अझै रुअनको जेलमै हुनुहुन्थ्यो। त्यसपछि अर्को वर्षको प्रारम्भतिर उहाँलाई बेलाइतको सरकारी जेलमा राखियो। त्यहाँ पुगेपछि उहाँले वर्षौंदेखि थुप्रेका मेरी आमाका पत्रहरूका साथै आफ्नो अमूल्य बाइबल तथा पुस्तकहरू फिर्ता पाउनुभयो। यी सबै कुरा पाउँदा उहाँ असाध्यै खुशी हुनुभयो। उहाँलाई बेलाइतको विन्चेस्टर जेलमा थुनिएको थियो। त्यहाँ एक जना जवान भाइसित उहाँको जम्काभेट भयो। युद्धतिर उहाँले भोग्नुपरेका कठिनाइहरू मेरो बुबाको जस्तै थियो। उहाँको नाउँ फ्रान्क प्लाट थियो र पछि वर्षौंसम्म उहाँले लन्डन बेथेलमा सेवा गर्नुभयो। उहाँहरू दुवैले अर्को दिन भेटेर बेलीबिस्तार सबै कुरा बताउने विचार गर्नुभएको रहेछ। तर भोलिपल्ट त फ्रान्कलाई अर्कै ठाउँमा स्थानान्तरण गरिसकेछ।
समयको दौडान सन् १९१९ अप्रिल १२ तारिखका दिन आमाले यस्तो टेलिग्राम पाउनुभयो: “हल्लेलुयाह! घर फर्कंदैछु—अहिले लन्डन सम्पर्क गर्दैछु।” तीन वर्षको परीक्षा, सतावट र विछोडपछिको यो मिलनले गर्दा हाम्रो खुट्टा भुइँमा थिएन! तर जेलबाट छुट्नेबित्तिकै बुबाले लन्डन बेथेलका भाइहरूलाई फोन गर्ने विचार गर्नुभएको रहेछ। लन्डन बेथेल, ३४ क्राभेन, टेरेस पुग्नुहुँदा उहाँलाई हार्दिक स्वागत गरियो। अनि नुहाइधुवाइ गरी, दाह्री खौरेपछि सापटी लिएको सुट र टोपी लगाएर उहाँ घर फर्कनुभयो। हाम्रो पुनःमिलन कस्तो मार्मिक थियो, तपाईं कल्पनासमेत गर्नसक्नुहुन्न होला। म त्यतिबेला पाँच वर्षकी थिएँ र मेरो बुबाको रूपरंग मलाई केही सम्झना थिएन।
जेलबाट छुटेपछि उहाँले धाउनुभएको पहिलो सभा स्मरणार्थ उत्सव थियो। राज्य भवनको भऱ्याङ चढ्दै माथि उक्लँदा उहाँले भेट्नुभएको पहिलो व्यक्ति नै फ्रान्क प्लाट पो परेछ। उहाँ अझै पनि लिड्सको सैनिक अस्पतालमा हुनुहुँदोरहेछ। यसरी फेरि भेट भएपछि दुवै जना रमाउँदै एकअर्कालाई आफ्ना अनुभवहरू सुनाउन थाल्नुभयो। त्यहाँदेखि अस्पतालबाट नछुटेसम्म फ्रान्क बारम्बार हाम्रो घर आइरहनुहुन्थ्यो।
मुमाको विश्वासी सेवा
बुबा जेलमा हुनुहुँदा सरकारले दिने थोरै पैसाले घरखर्च टर्दैनथ्यो। अतः आमा अरूको लुगा धोएर केही आम्दानी गर्नुहुन्थ्यो। हामीप्रति भाइहरू साह्रै दयालु थिए। दुइ चार हप्ताको बीचबीचमा मण्डलीका प्राचीनहरूले मेरी आमालाई सानो खामभित्र उपहारस्वरूप पैसा दिनुहुन्थ्यो। तर कसले दिएको त्यो भने प्राचीनहरूले कहिल्यै बताउनुभएन। भाइहरूको प्रेमले गर्दा नै उहाँ यहोवासित नजीक भएको र कठिन समयलाई सहने बल पाउनुभएको हो भनेर आमा सधैं भनिरहनुहुन्थ्यो। बुबा जेलमा हुनुहुँदा आमाले विश्वासीपूर्वक मण्डलीका सभाहरू धाउनुभयो। तर बुबा जीवित वा मृत के कस्तो हालमा हुनुहुन्छ, केही अत्तोपत्तो नहुँदा चाहिं उहाँलाई असाध्यै असह्य लागेको थियो। त्यसमाथि सन् १९१८ मा आमा र मलाई स्पेनी हैजा लाग्दा अर्को बोझ थपियो। हैजाले गर्दा वरपरका मानिसहरू धमाधम मर्न थाले। छिमेकीहरूलाई मदत गर्न गएका छिमेकीहरू रोग सरेर मरे। वास्तवमा त्यतिबेला खानेकुराको अभावले गर्दा मानिसहरूको रोग प्रतिरोध शक्ति नै क्षीण भइसकेको थियो।
तर जे होस्, हाम्रो परिवारको सम्बन्धमा भने प्रेरित पत्रुसका यी शब्दहरू असाध्यै सत्य साबित भए: “तिमीहरूले केही बेर दुःख भोगेपछि, उहाँ आफैले तिमीहरूलाई . . . स्थिर गराउनुहुनेछ र बलियो गराउनुहुनेछ।” (१ पत्रुस ५:१०) मेरा आमाबुबाले भोग्नुभएको कष्टले गर्दा यहोवाप्रति उहाँहरूको विश्वास अटल भयो। उहाँले हाम्रो चिन्ता गर्नुहुन्छ अनि कसैले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्दैन भनेर उहाँहरूसित पूर्ण आश्वासन थियो। अनि त्यस्तो विश्वासबीच हुर्कन पाउँदा विशेषगरि म चाहिं झनै आशिषित् भएँ।—रोमी ८:३८, ३९; १ पत्रुस ५:७.
युवावस्थाको सेवा
बुबा जेलबाट छुट्नुभएपछि हाम्रो जीवनको मुख्य ध्येय नै राज्य सेवा थियो। बिरामी परेको बेलाबाहेक अरू कारणले सभा छुटाएको मलाई अहिलेसम्म थाह छैन। घर आउनेबित्तिकै बुबाले अधिवेशन धाउन आफ्नो प्लेट क्यामरा र आमाको सुनको चुरा बेच्नुभयो। हामीसित छुट्टी मनाउने औकात त थिएन। तैपनि, हामीले लन्डनलगायत अन्य कुनै ठाउँका अधिवेशनहरू कहिल्यै छुटाएनौं।
युद्ध अन्त भएको पहिलो दुइ-तीन वर्ष निकै स्फूर्तिदायी थियो। बुबा र आमाले भाइहरूसित भेला भएर आपसी संगतिको पूरापूर लाभ उठाउने कुनै पनि मौका चुकाउनुभएन। म सानी छँदा भाइबहिनीहरूको घर गएको अहिलेसम्म सम्झेकी छु। म चाहिं त्यतिबेला एक ठाउँमा टुक्रुक्क बसेर चित्रहरू कोर्थें, रंग भर्थें। मेरा बुबा, आमा र अरू चाहिं घण्टौंसम्म सत्यका नयाँ ज्ञानहरूबारे छलफल गर्थे। सँगै बसेर कुरा गर्न पाउँदा अनि सबै मिलेर अर्गनसँगसँगै गीत गाउँदै मीठो संगतिको आनन्द उठाउन पाउँदा उहाँहरूलाई निकै रमाइलो र स्फूर्तिदायी लाग्थ्यो।
मेरो प्रशिक्षणको कुरामा आमाबुबा निकै कडा हुनुहुन्थ्यो। पाँच वर्षकी मात्र हुँदा पनि म स्कूलका अन्य केटाकेटीहरूभन्दा भिन्न देखिन्थें। मेरा अरू साथीहरूले प्रश्नोत्तरद्वारा धार्मिक सिद्धान्त सिकिरहेको बेला म चाहिं कक्षामा “नयाँ नियम” पढिरहेकी हुन्थें। पछि, “धार्मिक तथा नैतिक कारणले गर्दा” मैले शहीद दिवसमा भाग लिइनँ।a फलतः मैले सबै विद्यार्थीहरूले देख्ने गरी पूरै स्कूललाई फन्को मार्नु पऱ्यो। त्यसरी मेरो लालनपालन भएकोमा म अपसोच गर्दिनँ। बरु, भन्ने हो भने मेरोलागि त्यो सुरक्षा साबित भयो। त्यसले मलाई ‘साँघुरो बाटोमा’ हिंडिरहन सजिलो बनायो। मेरो आमाबुबा सभाहरू वा सेवकाई जहाँसुकै जानुहुँदा म सँगै हुन्थें।—मत्ती ७:१३, १४.
विशेषगरि मैले प्रचार गर्न थालेको दिन अझै सम्झेकी छु। त्यो दिन आइतबार बिहान थियो र त्यतिबेला म १२ वर्षकी मात्र थिएँ। म किशोरावस्थामा त्यस्तै एक आइतबार बिहान प्रचार नगई घरमै बस्छु भनेर मैले भनेको सम्झेकी छु। मैले त्यसो भन्दा कसैले मेरो आलोचना गरेन वा जबरजस्ती प्रचार कार्यमा लैजान खोजेन। त्यसरी प्रचारमा नगई म बगैंचामा बाइबल पढ्न थालें। तर मलाई साह्रै नरमाइलो लाग्न थाल्यो। अनि त हप्तादिनजति भित्रमा मैले बुबालाई यसो भने: “म पनि तपाईंसित प्रचारमा जानुपऱ्यो!” त्यहाँदेखि यता मैले कहिल्यै आध्यात्मिक प्रगति गर्न अल्छी गरिनँ।
सन् १९३१ साँच्चै अद्भुत वर्ष थियो! किनभने एक त हामीले यहोवाका साक्षीहरू भन्ने नयाँ नाउँ पायौं भने अर्को कुरा त्यही वर्ष मैले लन्डनको अलेक्जान्ड्रा प्यालेस हलमा राष्ट्रिय सम्मेलन भएको बेला बप्तिस्मा लिएँ। त्यो दिन म कहिल्यै भुल्न सक्दिनँ। हामी सबैले कालो रंगको लामो लुगा लगाएका थियौं। तर मैले चाहिं बप्तिस्मा लिन प्रयोग गरिसकेको लुगा लगाएकी हुँदा त्यो चिसै थियो!
त्यतिबेला पूर्ण-समय प्रचारकहरू कल्पोर्च्योर नाउँले चिनिन्थे र सानैदेखि मलाई त्यस्तो प्रचारक बन्ने रहर थियो। हुर्कंदै जाँदा मैले यहोवाको सेवा गर्न अझै धेरै काम गर्नुपर्ने महसुस गरें। अतः मार्च १९३३ मा १८ वर्षकी हुँदा म पूर्ण-समय सेवकहरूको दलमा भर्ती भएँ।
हामीलाई केही ठूल-ठूला शहरहरूमा आयोजना गरिने “अग्रगामी सप्ताह” विशेषगरि रमाइलो लाग्थ्यो। किनभने त्यस्तो अवसरमा एक दर्जनभन्दा धेरै पूर्ण-समय सेवकहरू भेला भएर स्थानीय भाइहरूसँग बस्ने अनि पूरै समूह मिलेर प्रचार गर्ने गर्थ्यौं। त्यस्तो मौकामा हामीले धार्मिक नेता तथा गण्यमान्य व्यक्तिहरूलाई समेत पुस्तिकाहरू वितरण गऱ्यौं। तिनीहरूलाई भेट्न त निकै साहस चाहिन्थ्यो। प्रायजसो मानिसहरूले हामीलाई तिरस्कार गर्थे र कसै-कसैले त एक शब्द बोल्न नपाई ढोका ढ्याम्म बन्द गर्थे। तर यीमध्ये कुनै कुराले हामीलाई चिन्तित बनाएन। किनभने ख्रीष्टको नाउँमा त्यसरी गाली खानु परेकोले हामी साह्रै उत्साही थियौं।—मत्ती ५:११, १२.
लिड्समा हामीले बच्चा बोक्ने डोकोलाई रिक्सा, बुबाको मोटरसाइकललाई मोटरसाइकल साइड कार बनाएर र पछि उहाँको कारमा फोनोग्राफ अनि ठूल-ठूला स्पीकरहरू जडान गरेर घुमायौं। त्यतिबेला दुइ जना भाइहरू मिलेर सडक हुँदो फोनाग्राफ बजाउँथे। अनि मानिसहरू संगीत सुनेर आफ्नो घरबाट निस्केपछि भाइ रदरफर्डको पाँच मिनेट लामो भाषण बजाइन्थ्यो। त्यसपछि तिनीहरू अर्को सडकमा जान्थे। अनि त्यतिबेला हामी प्रकाशकहरू चाहिं ती मानिसहरूलाई बाइबलका साहित्यहरू बाँड्थ्यौं।
वर्षौंसम्म हरेक आइतबार बेलुकी सभापश्चात् हामी खुला मञ्चमा जान्थ्यौं। त्यहाँ पुगेपछि भाइ रदरफर्डको भाषण बजाइन्थ्यो र हामी चाहिं त्यो एक घण्टा लामो भाषण सुनेर बस्थ्यौं। अनि मानिसहरूलाई पर्चा बाँड्थ्यौं र कसैले चासो देखाएमा तिनीहरूसित सम्पर्क पनि राख्थ्यौं। त्यो इलाकामा हामी चिरपरिचित थियौं। प्रहरीहरूले समेत हामीलाई आदर गर्थे। एक पटक सदाझैं हामी त्यहाँ भेला भयौं। त्यतिकैमा हामीले टाढाबाट बाजागाजा बजाउँदै मानिसहरू आइरहेका सुन्यौं। एकछिनमा सय जनाजति फासिस्टहरू परेड गर्दै त्यहाँ आइपुगे। अनि त तिनीहरू परेड खेल्दै केही क्षण हाम्रो पछिपछि लागे र झन्डा उचाल्दै सतर्क भएर उभे। त्यतिकैमा अचानक भाइ रदरफर्डको यसो भन्ने आवाज गुञ्जँदा एकछिन त पूरै टोली टक्क अड्यो: “तिनीहरूलाई मन लाग्छ भने चाहे झन्डा सलामी गरून् वा मानिसहरूको जयजयकार गरून् तर हामी चाहिं यहोवा हाम्रो परमेश्वरको मात्र उपासना र जयजयकार गर्नेछौं!” यस्तो आवाज गुञ्जिने बित्तिकै अब के हुने होला भनेर हामीलाई बित्यास पऱ्यो। तर केही भएन। बरु उल्टो तिनीहरूले राम्रो साक्षी पाए र हामी सबैले बाँकी भाषण राम्ररी सुन्न पाओस् भनेर प्रहरीले तिनीहरूलाई शान्त गराए।
मानिसहरूलाई राम्रो साक्षी दिन यतिञ्जेलसम्म फोनोग्राफको प्रयोग हुन थालिसकेको थियो। पूर्व रेकर्ड गरिएका बाइबलका शिक्षाहरू लिएर हामी ढोका-ढोकामा बजाउँथ्यौं र मानिसहरूलाई पूरा पाँच मिनेटसम्म त्यस शिक्षा सुन्ने प्रोत्साहन दिन रेकर्डलाई ध्यान दिएर हेरिरहन्थ्यौं। घरधनीहरूले प्रायजसो हामीलाई घरभित्रै बोलाउँथे र पछि फर्केर अरू रेकर्डहरू बजाउने प्रस्ताव राख्दा सहर्ष स्वीकार्थे।
विरोध र हिंसाले गर्दा सन् १९३९ निकै नै व्यस्त र कठिन वर्ष साबित भयो। त्यही वर्ष हाम्रा अधिवेशनहरूमध्ये एउटा सुरु हुनअघि भाइहरूले झन्डै हूलदंगाको सामना गर्नुपऱ्यो। अतः सम्मेलनको दौडान भाइहरूको एउटा विशेष टोली गठन गरेर तिनीहरू चाहिं गाडीमा चढेर समस्याग्रस्त ठाउँमा प्रचार गर्ने अनि बहिनी तथा अरू भाइहरू चाहिं सुरक्षित ठाउँमा प्रचार गर्ने योजना बनाइयो। एक पटक एउटा समूहसँग प्रचार गर्दै गर्दा मूल सडकपछाडिको घरमा जाने विचार गरेर म चाहिं गल्लीभित्र पसें। ढोकामा बोल्दैथिएँ त्यतिकैमा मैले होहल्ला मच्चेको सुने। मानिसहरू मूल सडकमा चिच्याउँदै कराइरहेका रहेछन्। त्यसैकारण होहल्ला कम नभएसम्म मैले जानाजानी घरधनीसँग कुरा लम्ब्याएँ। त्यसपछि म गल्लीबाट मूल सडकमा निस्कें। उता भाइबहिनीहरू चाहिं मलाई नभेट्दा आत्तिराख्नुभएको रहेछ! त्यही दिउँसो बदमासहरूले हाम्रो सभा खल्बल्याउन खोजे तर हाम्रा भाइहरूले तिनीहरूलाई शान्तपूर्वक बाहिर निकाल्नुभयो।
दोस्रो विश्वयुद्ध सुरु हुन्छ
दोस्रो विश्वयुद्ध सुरु हुँदा अनिवार्य सैन्य सेवामा जानु पर्थ्यो। फलतः थुप्रै जवान भाइहरू ३ देखि १२ महिनासम्म जेलमा थुनिए। यसै समयतिर बुबाले थप जिम्मेवारी पाउनुभयो। उहाँले जेलमा थुनिएका भाइहरूलाई भेट्ने अनुमति पाउनुभएको थियो। अतः हरेक आइतबार उहाँ स्थानीय जेलमा प्रहरीधरहरा अध्ययन सञ्चालन गर्नुहुन्थ्यो। अनि बुधबार बेलुकी चाहिं भाइहरू थुनिएको कोठा-कोठामा गएर भेटघाट गर्नुहुन्थ्यो। पहिलो विश्वयुद्धतिर उहाँ आफैले त्यति लामो समयसम्म जेलमा कठिन जीवन बिताइसक्नुभएको हुँदा विशेषगरि त्यस्तै सतावट भोग्ने भाइहरूलाई मदत गर्न उहाँ खुशी हुनुहुन्थ्यो। सन् १९५९ मा मृत्यु नहोऊञ्जेल उहाँले २० वर्षसम्म त्यस्तै गर्नुभयो।
हाम्रो तटस्थताले गर्दा मानिसहरू हामीसित कटु व्यवहार गर्थे, वैमनस्य देखाउँथे। तर सन् १९४१ सम्ममा हामीलाई त्यसको बानी परिसकेको थियो। मानिसहरूले त्यस्तो व्यहोरा देखाउँदा सडकहरूमा पत्रिकाहरू लिएर उभिनु त्यति सजिलो कहाँ हुन्थ्यो र! तैपनि, त्यतिबेला हाम्रा इलाकामा आएका शरणार्थीहरूलाई मदत गर्न पाएकोमा हामी खुशी थियौं। लाट्भिया, पोल्यान्ड, इस्टोनिया, जर्मनीबाट आएका शरणार्थीहरूले आफ्नै भाषामा द वाचटावर वा कन्सोलेशन (अहिले अवेक!) पढ्न पाउँदा तिनीहरूको आँखामा जुन चमक देखिन्थ्यो, त्यो हेर्न पाउँदा हामी असाध्यै हर्षित हुन्थ्यौं!
अनि त्यसपछि दोस्रो विश्वयुद्धतिर मेरो तटस्थताको कारण पुर्पक्षको समय पनि आयो। २४ घण्टामा १९ घण्टा जेलभित्र बन्द रहनुपर्दा मलाई त्यहाँको जीवन असाध्यै कठिन लाग्यो। पहिलो तीन दिन एक्लै जेलमा बस्नुपर्दा मलाई असह्य नै भएको थियो। तर चौथो दिन, मलाई गभर्नरको कार्यालयमा बोलाइयो। त्यहाँ मेलै दुइटी केटीहरू उभिरहेकी भेटें। एउटीले सानो स्वरमा मलाई सोधी: “तिमी कसरी यहाँ आइपुग्यौ?” मैले जवाफ दिंदै भने: “सुन्यौ भने छक्क पर्नेछौ।” अनि विचलित हुँदै सानो स्वरमा उसले फेरि सोधी: “के तिमी यहोवाका साक्षी हौ?” अर्की केटीले हाम्रो कुरा सुनिछे र ती दुवैलाई यसो भनेर सोधे: “तिमीहरू दुवै यहोवाका साक्षीहरू हौ?” अनि त हामी तीनै जनाले एकअर्कालाई अँगालो हाल्यौं। त्यसपछि हामी कहिल्यै एक्लै भएनौं!
आनन्ददायी पूर्ण-समय सेवा
जेलबाट छुटेपछि मैले पूर्ण-समय सेवा कायमै राखें। भर्खरै स्कूल छाडेकी १६ वर्षीया केटी पनि मसँगै पूर्ण-समय सेवा गर्न थाली। हामी योर्कसायर डेल्सको छेउमा पर्ने सुन्दर शहर इल्क्ले सऱ्यौं। त्यहाँ पुगेपछि हामीले छ महिनासम्म हाम्रा सभाहरू गर्ने उपयुक्त ठाउँ खोज्यौं। अन्तमा हामीले सानो ग्यारेजलाई भाडामा लिएर त्यसलाई राज्य भवन बनायौं। हामीलाई मदत गर्न बुबा पनि त्यहीं आइपुग्नुभयो। उहाँले बत्ती र कोठालाई न्यानो बनाउने प्रबन्धहरू मिलाउनुभयो। उहाँले हाम्रो घर पनि सिंगार्नुभयो। हरेक हप्ता जनभाषण दिन भाइहरूलाई खटाएर वर्षौंसम्म नजीकैको मण्डलीले हामीलाई मदत गऱ्यो। यहोवाको आशिष्ले गर्दा समयमा हाम्रो उन्नति भयो र अन्तमा एउटा मण्डली पनि स्थापित भयो।
सन् १९५९ जनवरी महिनामा बुबा अचानक साह्रै बिरामी हुनुभयो। मलाई घर बोलाइयो र अप्रिल महिनामा उहाँको मृत्यु भयो। त्यसपछि हामीले निकै कठिनाइ भोग्यौं। आमाको स्वास्थ्य र स्मरणशक्ति दिन प्रतिदिन बिग्रंदै गएकोले मैले संघर्ष गर्नुपऱ्यो। तर यहोवाको आत्माले गर्दा म कहिल्यै थाकिनँ र सन् १९६३ मा उहाँको मृत्यु नहोऊञ्जेल आमाको हेरविचार गरें।
वर्षौंको दौडान मैले यहोवाबाट धेरै आशिष्हरू पाएँ। कति त सम्झन पनि कठिन भइसक्यो। मेरो जन्मथलोको मण्डली वृद्धि भएर चारवटा मण्डलीहरूमा विभाजित भएको देखें। नयाँ नयाँ प्रकाशक, अग्रगामीहरू देखें अनि बोलिभिया, लाओस र युगान्डाजस्ता टाढा टाढाको देशहरूमा मिसनरीहरू भएर गएको पनि देखें। परिस्थितिले गर्दा विवाह गर्ने तालमेल कहिल्यै मिलेन। तर आफू असाध्यै व्यस्त भएकीले म दुःखी भइनँ। मेरा शारीरिक नातेदारहरू नभए तापनि प्रभुको सेवामा मेरा हजारौं छोराछोरी तथा नातिनातिनीहरू छन्।—मर्कूस १०:२९, ३०.
म प्रायः जवान अग्रगामीहरू र अरू केटाकेटीहरूलाई घरमा बोलाएर मसीही संगतिको आनन्द उठाउँछु। हामी सँगै मिलेर प्रहरीधरहरा अध्ययनको तयारी गर्छौं। साथै अनुभवहरू सुनाउँछौ अनि मेरा आमाबुबाले गर्नुभएजस्तै राज्य गीतहरू गाउँछौं। आफ्नो वरपर आनन्दित जवान मानिसहरूलाई पाउँदा म जवान र आनन्दित महसुस गर्छु। मेरोलागि अग्रगामी सेवाभन्दा राम्रो जीवन अरू कुनै छैन। मेरो आमाबुबाको पदचिन्हलाई पछ्याउने सुअवसर दिनुभएकोमा म यहोवाप्रति कृतज्ञ छु। र अनन्तसम्म यहोवाको सेवा गर्न पाऊँ भनी प्रार्थना गर्छु।
[फुटनोट]
a सन् १९१८ अनि पछि सन् १९४५ मा अन्त भएको वैमनस्य स्मरणार्थ दिवस।
[पृष्ठ २३-मा भएको चित्र]
हिल्डा पाजेट आफ्नो बुबा आट्कीन्सन र आमा प्याट्टीसित
[पृष्ठ २३-मा भएको चित्र]
सत्यप्रति बुबाको चासो जगाउने पर्चा