आमाबाबुले हामीलाई परमेश्वरलाई प्रेम गर्न सिकाउनुभयो
एलिजाबेथ ट्रेसीको वृत्तान्तमा आधारित
हतियारसहित हामीमाथि आइलागेका एक हूल मानिसहरूले फेरि त्यही दिन आमाबाबुलाई मोटरबाट जबरजस्ती बाहिर निकालेका थिए। आमाबाबुसँग फेरि भेट हुने हो कि होइन भनेर अकमक्क पर्दै दिदी र म मोटरको पछिल्लो सीटमा बसिरह्यौं। सं.रा.अ. आलाबामास्थित सेल्मा नजिकै भएको उक्त डरलाग्दो घटनाको कारण के थियो? अनि हामीले आमाबाबुबाट पाएको शिक्षा त्यो घटनासित कसरी सम्बन्धित छ?
मेरो बुबाको नाउँ डुवी फाउन्टेन हो। उहाँ सानै हुनुहुँदा उहाँको आमाबाबु बित्नुभयो। त्यसपछि टेक्सास्मा बस्ने आफन्तले उहाँको पालनपोषण गरे। पछि उहाँले पेट्रोल खानीमा काम गर्नुभयो। सन् १९२२ मा २३ वर्षको हुनुहुँदा उहाँले टेक्सास्को विनी नाउँकी राम्री केटीसँग विवाह गर्नुभयो। तब उहाँले घरगृहस्थी गरेर परिवारको पालनपोषण गर्ने योजना बनाउन थाल्नुभयो।
उहाँले पूर्व टेक्सास्को गेरिसन भन्ने सानो शहर नजिकै रूखै रूख भएको ठाउँमा घर बनाउनुभयो। त्यहाँ उहाँले कपास र मकैलगायत विभिन्न प्रकारका अन्नहरूको खेती गर्नुभयो। उहाँले पशुपालन पनि गर्नुभयो। केही समयपछि हामी जन्मियौं—मे १९२४ मा डुवी जुनियर, डिसेम्बर १९२५ मा एड्विना अनि जून १९२९ मा मेरो जन्म भयो।
बाइबल सच्चाइ सिक्ने
आमाबाबु चर्च अफ क्राइस्टका सदस्य हुनुहुन्थ्यो। त्यसकारण उहाँहरू बाइबलका कुराहरू बुझ्छौं भन्ठान्नुहुन्थ्यो। तर १९३२ मा जि. डब्लु. कुकले वाच टावर सोसाइटीद्वारा प्रकाशित छुटकारा र सरकार पुस्तक हाम्रो ठूलो बुबा मनरो फाउन्टेनलाई दिनुभयो। ठूलो बुबा आफूले सिकेका कुराहरू मेरो आमाबाबुलाई बताउन इच्छुक हुनुहुन्थ्यो। तसर्थ, उहाँ अक्सर हामीकहाँ बिहान नास्ताको समयमा आउनुहुन्थ्यो, प्रहरीधरहरा-को एउटा लेख पढ्नुहुन्थ्यो अनि उक्त पत्रिका “सुटुक्क” छोडिराख्नुहुन्थ्यो। पछि, आमाबाबुले पढ्नुहुन्थ्यो।
एक दिन आइतबार बिहान ठूलो बुबाले छिमेकीको बाइबल अध्ययनमा बुबालाई बोलाउनुभयो। श्रीमान् कुकले बुबाका बाइबलसम्बन्धी एक एक प्रश्नहरूको जवाफ दिनेछन् भनेर उहाँले बताउनुभयो। अध्ययनबाट घर फर्किनुभएपछि एकदमै खुसी हुँदै बुबाले हामीलाई यसो भन्नुभयो: “मैले सबै प्रश्नको जवाफ पाएँ। अरू धेरै कुरा पनि थाह पाएँ! मलाई सबै कुरा थाह छ जस्तो लाग्थ्यो। तर नरक, आत्मा, पृथ्वीबारे परमेश्वरको उद्देश्य अनि त्यो उद्देश्य परमेश्वरको राज्यले कसरी पूरा गर्नेछ भनेर श्रीमान् कुकले बताउनुभएपछि मलाई बाइबलबारे खासै केही थाह रहेनछ भन्ने महसुस हुन थाल्यो!”
हाम्रो घरमा प्रायजसो सामाजिक जमघट भइरहन्थ्यो। हामीकहाँ नातेदार र साथीभाइहरू आवतजावत भइरहन्थ्यो, मिठाई बनाउँथ्यौं, मकै भुट्थ्यौं अनि आमाले पियानो बजाउनुहुँदा हामी सबै गीत गाउँथ्यौं। बिस्तारै बिस्तारै यस्ता जमघटहरू हुने बेलामा बाइबल विषयहरूको छलफल हुनथाल्यो। हामी केटाकेटीहरूले छलफल गरिएका सबै कुराहरू बुझ्दैनथ्यौं। तैपनि, परमेश्वर र बाइबलप्रति आमाबाबुको प्रेम यति बलियो थियो कि हामीले पनि परमेश्वर र उहाँको वचनप्रति त्यस्तै प्रेम खेती गऱ्यौं।
अरू परिवारहरूको घरमा पनि साप्ताहिक बाइबल छलफलहरू हुन थाले। साधारणतया प्रहरीधरहरा-को नयाँ अंकको लेखमा छलफल केन्द्रित हुन्थ्यो। नजिकैको शहर एप्पलबाइ र नाकोडोचेसका केही परिवारका घरमा सभाहरू हुँदा घामपानी केही नभनी हाम्रो मोडेल ए फोर्ड मोटरमा कोचाकोच गरेर जान्थ्यौं।
आफूले सिकेअनुसार चल्ने
आफूले सिकेको कुरा व्यवहारमा पनि उतार्नुपर्छ भनेर बुझ्न आमाबाबुलाई धेरै समय लागेन। परमेश्वरलाई प्रेम गर्छौं भने आफूले सिकेका कुराहरू अरूलाई बताउनु पनि आवश्यक छ। (प्रेरित २०:३५) तर आफ्नो विश्वासबारे जनघोषणा गर्नु आमाबाबुको लागि एउटा चुनौती नै थियो किनकि उहाँहरू लजालु र नम्र स्वभावको हुनुहुन्थ्यो। तर परमेश्वरप्रतिको प्रेमले उहाँहरूलाई आफ्नो विश्वासबारे जनघोषणा गर्न उत्प्रेरित गऱ्यो अनि हामीलाई यहोवामाथि दृढ भरोसा राख्नुपर्छ भनी सिकाउने मदत पाउनुभयो। बुबा यसो भन्नुहुन्थ्यो: “यहोवाले किसानहरूलाई प्रचारक बनाउँदै हुनुहुन्छ!” सन् १९३३ मा टेक्सास्स्थित हेन्डरसन नजिकैको माछा पोखरीमा पानीको बप्तिस्माद्वारा आमाबाबुले यहोवाप्रतिको समर्पणलाई जनसमक्ष प्रकट गर्नुभयो।
सन १९३५ को सुरुतिर बुबाले सोसाइटीलाई पत्राचार गरेर मसीहीहरूको अनन्त जीवनको आशाबारे थुप्रै प्रश्नहरू सोध्नुभयो। (यूहन्ना १४:२; २ तिमोथी २:११, १२; प्रकाश १४:१, ३; २०:६) उहाँले सोसाइटीका तत्कालीन अध्यक्ष जे. एफ. रदरफोर्डबाटै पत्रको जवाफ पाउनुभयो। भाइ रदरफोर्डले बुबाका प्रश्नहरूको जवाफ दिनुको सट्टा मे महिनामा वाशिङटन डी.सी.-मा सम्पन्न हुने यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा उपस्थित हुने निम्तो दिए।
बुबाले सोच्नुभयो, ‘आम्मै, कहाँ जान सकिन्छ र! हामी त किसान मान्छे र हामीले ६५ एकड जमिनमा सागसब्जी लगाएका छौं। त्यति बेला त सागसब्जी टिपेर बजार पो लानुपर्ने हुन्छ।’ तथापि, केही समयपछि बाढी आएर बालीनाली सबै स्वाहा भयो। त्यसपछि त हामी पनि भाडामा लिइएको स्कूल बस चढेर अरू साक्षीहरूसँगै उत्तरपूर्वतिर १,६०० किलोमिटर लामो यात्रा गरेर अधिवेशनमा गयौं।
“महा संकष्टबाट” बच्ने “ठूलो भीड” को हो भनेर अधिवेशनमा सुस्पष्ट जानकारी पाउँदा आमाबाबु असाध्यै खुसी हुनुभयो। (प्रकाश ७:९, १४) त्यसपछि आमाबाबुलाई पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आशाले उत्प्रेरित गऱ्यो अनि हामी केटाकेटीलाई ‘साँच्चैको जीवन’ अर्थात् यहोवाले यस पृथ्वीमा दिनुहुने अनन्त जीवन ‘पक्री राख्ने’ प्रोत्साहन दिनुभयो। (१ तिमोथी ६:१९; भजन ३७:२९; प्रकाश २१:३, ४) त्यतिखेर म पाँच वर्षको मात्र थिएँ तर यो आनन्दमय अवसरमा सपरिवार उपस्थित हुन पाउँदा मलाई साह्रै रमाइलो लाग्यो।
अधिवेशन सकेर घर फर्केपछि फेरि अन्नबाली लगायौं र त्यो वर्ष जति बाली पहिले कहिल्यै भएको थिएन। यो घटनाले गर्दा यहोवामा पूर्ण भरोसा राख्यौं भने कहिल्यै निराश हुनुपर्दैन भनेर आमाबाबुलाई पूरा विश्वास भयो। उहाँहरू विशेष प्रकारको प्रचारकार्यमा लाग्नुभयो र त्यसको लागि सेवकाईमा महिनैपिच्छे ५२ घण्टा बिताउन तयार हुनुभयो। अनि अर्को वर्ष खेतीबाली लगाउने समयमा उहाँहरूले सबै खेतबारी बेच्नुभयो! पाँच जना बस्न र सुत्न मिल्ने छ मिटर लम्बाइ र लगभग साढे दुई मिटर चौडाइ भएको एउटा ट्रेलर बुबासित थियो। त्यो ट्रेलरलाई तान्न बुबाले दुइटा ढोका भएको नयाँ फोर्ड मोटर किन्नुभयो। ठूलो बुबा मनरोले पनि त्यसै गर्नुभयो अनि आफ्नो परिवारसँग ट्रेलरमा बस्न थाल्नुभयो।
हामीलाई सच्चाइ सिकाउँदै
अक्टोबर १९३६ मा आमा र बुबाले अग्रगामी अर्थात् पूर्ण-समय सेवकाई थाल्नुभयो। हामीले सपरिवार मिलेर पूर्वी टेक्सास्का प्रान्तहरूमा प्रचार गर्न थाल्यौं। त्यहाँ परमेश्वरको राज्य सन्देश पहिले प्रचार गरिएको थिएन। करिब वर्ष दिनसम्म हामी थुप्रै ठाउँमा बसाइँ सऱ्यौं तर जे होस् एकदमै रमाइलो हुन्थ्यो। अरूलाई बाइबल सच्चाइ सिकाउन आफ्नो पर्वाह नराख्ने प्रारम्भिक मसीहीहरू जस्तै हुन हामीलाई आमाबाबुले आफ्नो वचन र उदाहरणद्वारा सिकाउनुभयो।
हामी केटाकेटीहरूले खास गरी, आमाले गर्नुभएका त्यागहरूको साह्रै तारिफ गर्थ्यौं किनभने उहाँले आफ्नो घरबारको लोभ गर्नुभएन। उहाँले एउटा चीजचाहिं कहिल्यै त्याग्नुभएन। त्यो थियो, लुगा सिउने कल। यो उहाँको एकदमै बुद्धिमानी निर्णय थियो। उहाँ लुगा सिउन जान्नुहुन्थ्यो र हामीलाई सधैं चिटिक्क परेको लुगा सिलाइदिनु हुन्थ्यो। हामीले प्रत्येक अधिवेशनमा चिटिक्क परेको नयाँ लुगा लगाउन पाउँथ्यौं।
वाच टावर सोसाइटीको लाउडस्पिकर भएको ट्रक लिएर हर्मन जि. हेन्श्चेल आफ्नो परिवारसहित हाम्रो इलाकामा आउनुभएको अझै मलाई सम्झना छ। उहाँहरूले घना बस्ती भएको ठाउँमा ट्रक रोक्नुहुन्थ्यो अनि रेकर्ड गरिएको छोटो भाषण बजाउनुहुन्थ्यो। त्यसपछि, थप जानकारी दिन मानिसहरूलाई व्यक्तिगत रूपमा भेट्नुहुन्थ्यो। हर्मनको छोरा मिल्टन, डुवी जुनियरको मित्र भए। त्यतिखेर मिल्टन पन्ध्र-सोह्र वर्षका थिए। अहिले तिनी वाच टावर सोसाइटीका अध्यक्ष भएका छन्।
कोलम्बस, ओहायोमा १९३७ मा सम्पन्न अधिवेशनमा एड्विनाले बप्तिस्मा लिनुभयो अनि त्यही बेला आमाबाबुलाई विशेष अग्रगामी गर्ने सुअवसर दिइयो। त्यतिखेर विशेष अग्रगामीले प्रचारकार्यमा हरेक महिना २०० घण्टा बिताउनुपर्थ्यो। अतीतलाई सम्झिंदा, आमाको असल उदाहरणले गर्दा मैले मेरो श्रीमान्लाई उहाँका मसीही जिम्मेवारीहरू पूरा गर्न सहयोग गर्न सकेको हुँ जस्तो लाग्छ।
बुबाले कुनै एउटा परिवारसित बाइबल अध्ययन सुरु गर्नुभयो भने उनीहरूका छोराछोरीलाई सकारात्मक उदाहरण देखाउन हामीलाई पनि सँगै लैजानुहुन्थ्यो। उहाँले हामीलाई बाइबल पदहरू पल्टाएर पढ्न लगाउनुका साथै केही आधारभूत प्रश्नहरूको जवाफ दिन लगाउनुहुन्थ्यो। परिणामस्वरूप, हामीसँग अध्ययन गर्ने ती केटाकेटीहरू विश्वासी भई अहिलेसम्म यहोवाको सेवा गरिरहेका छन्। साँच्चै भन्ने हो भने, यसले गर्दा हाम्रोलागि पनि परमेश्वरलाई प्रेम गरिरहने बलियो जग तयार भयो।
जवान हुनुभएपछि डुवी जुनियरलाई दुई तरुनी बहिनीहरूसँग साँघुरो ठाउँमा कोचिएर बस्न अप्ठ्यारो लाग्यो। अतः उहाँले १९४० मा हामीसँग नबसी अर्को साक्षीसित बसेर अग्रगामी सेवकाई गर्ने निधो गर्नुभयो। पछि उहाँले अड्री बेरनसित विवाह गर्नुभयो। अड्रीलाई पनि हाम्रो आमाबाबुले थुप्रै कुराहरू सिकाउनुभयो र उहाँले आमाबाबुलाई अपार माया गर्न थाल्नुभयो। सन् १९४४ मा मसीही तटस्थताको कारण डुवी जुनियर झ्यालखानामा थुनिएपछि केही समयको लागि अड्री हामीसितै ट्रेलरमा कोचाकोच गरेर बस्नुभयो।
सन् १९४१ मा मिसोरीस्थित सेन्ट लुइसमा सम्पन्न विराट् अधिवेशनमा भाइ रदरफोर्डले अघिल्तिरको सीटमा बसेका ५ देखि १८ वर्षका केटाकेटीहरूलाई तोकेरै भाषण दिनुभयो। एड्विना र मैले उहाँले मधुर तथा स्पष्ट आवाजमा दिनुभएको भाषण ध्यान दिएर सुन्यौं; यो भाषण उहाँले आफ्नै छोराछोरीसित कुरा गर्नुभएको जस्तै मायालु ढंगमा दिनुभयो। उहाँले आमाबाबुहरूलाई यस्तो प्रोत्साहन दिनुभयो: “अहिले येशू ख्रीष्टले करारमा बाँधिएका मानिसहरूलाई जम्मा गर्नुभएको छ। अनि उहाँले एकदम जोडदार ढंगमा आफ्ना छोराछोरीलाई धार्मिकताको मार्ग सिकाउन तिनीहरूलाई आग्रह गरिरहनुभएको छ।” उहाँले अझ यसो भन्नुभयो: “तिनीहरूलाई घरमै राखेर सच्चाइ सिकाउनुहोस्!” खुसीको कुरा, हाम्रो आमाबुबाले त्यसै गर्नुभयो!
त्यो अधिवेशनमा हामीले यहोवाका जनहरूको पक्षमा भन्ने सानो नयाँ पुस्तिका पायौं। उक्त पुस्तिकामा यहोवाका साक्षीहरूले संयुक्त राज्यको सर्वोच्च अदालत र अन्य अदालतमा जितेका मुद्दाहरू पुनरावलोकन गरिएको थियो। बुबाले उक्त पुस्तिकाबाट हामीसित पारिवारिक अध्ययन गर्नुभयो। यसको केही हप्तापछि आलाबामास्थित सेल्मामा यस्तो घटना हुनेछ भनेर हामीलाई के थाह थियो र!
सेल्मामा दंगाफसाद
सुरुमा उल्लिखित डरलाग्दो घटना भएको बिहान बुबाले सेल्माको प्रहरी निरीक्षक, मेयर र प्रहरी प्रमुखलाई हामीले सेवकाईको काम कानुनन गर्न पाउने संवैधानिक अधिकारबारे लेखिएको पत्र दिनुभएको थियो। तैपनि, तिनीहरूले हामीलाई शहर निकाला गर्ने निर्णय गरे।
साँझपख पाँच जना पुरुषहरू हतियारसहित हाम्रो ट्रेलरमा आए अनि आमा, दिदी र मलाई तिनीहरूको कब्जामा राखे। हामीले कसैको विरोध गरिरहेका छौं भन्ने प्रमाणहरू खोज्न तिनीहरूले ट्रेलर खानतलास गरे। बुबा ट्रेलर बाहिर हुनुहुन्थ्यो। तिनीहरूले बुबालाई पिस्तोल ठड्याउँदै ट्रेलर कारमा बाँध्न लगाए। यति बेला त मलाई डर लागेको थिएन। तिनीहरूले हामीलाई खतरनाक मानिसहरू भन्ठान्नु यति हाँसउठ्दो कुरा लाग्यो कि दिदी र म त खितखित हाँस्न थाल्यौं। तर, बुबाले पुलुक्क हेर्नुभएपछि हाम्रो हाँसो बन्द भयो।
तिनीहरूले हामीलाई छोड्नै लागेका थिए तर एड्विना र मलाई तिनीहरूको कारमा लग्न खोजे। बुबाले दृढ भएर तिनीहरूसँग कुरा गर्नुभयो। उहाँले भन्नुभयो: “म जिउँदो रहुञ्जेल तिमीहरूले मेरा छोरीहरूलाई लान पाउनेछैनौ!” केही समय बहस भएपछि तिनीहरूले हामीलाई एकैसाथ ट्रेलरमा जान दिए अनि हतियारसहितका पुरुषहरू चढेका गाडीको अघिअघि ट्रेलर गुडाउन लगाए। शहरदेखि २५ किलोमिटर टाढा पुगेपछि तिनीहरूले राजमार्गको छेउमा ट्रेलर रोक्ने संकेत दिए अनि आमाबाबुलाई बाहिर निकाले। ती पुरुषहरूले पालैसित उहाँहरूलाई यसो भन्दै मनाउने प्रयास गरे: “यो धर्म मान्न छोड्नुहोस्। खेतीपाती नै गर्न थाल्नुहोस् अनि छोरीहरूलाई सही तरिकामा हुर्काउनुहोस्!” बुबाले तिनीहरूसँग तर्क गर्ने कोसिस गर्नुभयो तर केही सीप लागेन।
अन्तमा एक जनाले यसो भन्यो: “अब जहाँ जानुपर्छ जाऊ, तर डालास प्रान्तमा फेरि आयौ भने तिमीहरू सबका सबलाई मारिदिन्छौं!”
बल्ल ढुक्क भयौं अनि सपरिवार फेरि एक साथ भएर घण्टौं लामो यात्रा गऱ्यौं अनि राती बाटोमा नै बास बस्यौं। हामीले ती पुरुषहरूको मोटरको नम्बर टिपेका थियौं। बुबाले घटनाबारे तुरुन्तै वाच टावर सोसाइटीलाई रिपोर्ट गर्नुभयो अनि केही महिनापछि ती पुरुषहरूलाई पत्ता लगाएर गिरफ्तार गरियो।
गिलियड मिसनरी स्कूलमा
सन् १९४६ मा एड्विनाले वाचटावर बाइबल स्कूल अफ गिलियडको सातौं कक्षाका लागि साउथ लान्सिङ, न्यु योर्कमा उपस्थित हुने निमन्त्रणा पाउनुभयो। स्कूलका प्रशिक्षकहरूमध्ये अल्बर्ट श्रोडर पनि थिए। तिनले आफ्नो पहिलाको अग्रगामी साथी बिल एलरडलाई एड्विनाका असल गुणहरूबारे बताए। त्यतिखेर बिल ब्रुकलिन न्यु योर्कस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा सेवारत थिए।a एड्विना र बिलको चिनापर्ची भयो अनि गिलियड स्नातक गरेको वर्ष दिनपछि उहाँहरू विवाह बन्धनमा बाँधिनुभयो। उहाँहरूले पाँच वर्ष सँगै बेथेल सेवा गर्नुका साथै लामो समयसम्म पूर्ण-समय सेवकाई गर्नुभयो। सन् १९५९ मा एक दिन भाइ श्रोडरले आफ्नो प्रिय मित्रको जुम्ल्याहा छोरा र छोरी भएको कुरा गिलियडको ३४ औं कक्षामा सुनाए।
सन् १९४७ को अन्ततिर आमाबाबुसँग मिसिसिपिको मेरिडनमा सेवा गर्दै गर्दा हामी तीनै जनाले गिलियडको ११ औं कक्षामा उपस्थित हुने निमन्त्रणा पायौं। हामी त तीन छक पऱ्यौं किनकि गिलियड स्कूलमा उपस्थित हुन मेरो उमेर पुगेको थिएन अनि आमाबाबुचाहिं बढी उमेरको भइसक्नुभएको थियो। तर हामीलाई विशेष छुट दिइयो अनि हामीले थप बाइबल शिक्षा पाउने अनमोल सुअवसर पायौं।
आमाबाबुसँग मिसनरी सेवा
मिसनरी कार्यभारमा हामीलाई दक्षिण अफ्रिकाको कोलम्बिया खटाइयो। डिसेम्बर १९४९ अर्थात् स्नातक गरेको वर्ष दिनभन्दा अलिक समयपछि हामी बोगोटा मिसनरी गृहमा बस्न थाल्यौं। त्यहाँ पहिल्यैबाट तीन जना मिसनरीहरू थिए। सुरुमा बुबालाई आफूले स्पेनी भाषा सिक्नुभन्दा अरूलाई अंग्रेजी भाषा सिकाउनु सजिलो होला जस्तो लाग्यो! हो, हामीले थुप्रै परीक्षाहरू सामना गऱ्यौं तर प्रशस्त आशिष्हरू पनि पायौं! सन् १९४९ मा कोलम्बियामा सय जना साक्षीहरू पनि थिएनन् तर अहिले बढेर १,००,००० भन्दा बढी पुगेका छन्!
बोगोटामा पाँच वर्ष सेवा गरेपछि आमाबाबुलाई काली शहरमा पठाइयो। त्यसैबीच १९५२ मा कोलम्बियाको सँगी मिसनरी रबर्ट ट्रेसीसँग मैले विवाह गरें।b हामी १९८२ सम्म कोलम्बियामा बस्यौं। त्यसपछि हामीलाई मेक्सिको खटाइयो र अहिलेसम्म यहीं सेवा गरिरहेका छौं। पछि औषधोपचारको लागि १९६८ मा आमाबाबु संयुक्त राज्य फर्कनुपऱ्यो। उहाँहरूको स्वास्थ्य सुधार भएपछि आलाबामाको मोबाइल नजिकै विशेष अग्रगामी गर्न थाल्नुभयो।
आमाबाबुको हेरचाह
समय बित्दै जाँदा आमाबाबु कमजोर हुँदै जानुभयो अनि उहाँहरूलाई बढी हेरचाह गर्नुपर्ने भयो। उहाँहरूको आग्रहबमोजिम उहाँहरूलाई आलाबामास्थित एथेन्समा एड्विना र बिलको घर नजिकै सेवा गर्न खटाइयो। पछि, दाइ डुवी जुनियरले सपरिवार दक्षिण क्यारोलाइनामा बस्नु बेस हुनेछ भन्ने विचार गर्नुभयो। तसर्थ, दाइको परिवार र आमाबाबु ग्रिनवुडमा बस्न थाल्नुभयो। यो मायालु प्रबन्धले गर्दा आमाबाबुको राम्रो हेरचाह हुँदैछ भनेर ढुक्क हुँदै रबर्ट र म कोलम्बियामा मिसनरी सेवामा लागिरहन सक्यौं।
पछि, १९८५ मा बुबालाई हृदयघात भयो अनि बोल्नै नसक्ने भएर थला पर्नुभयो। आमाबाबुलाई कसरी राम्ररी हेरचाह गर्न सकिन्छ भनेर सपरिवार मिलेर कुरा गर्न हामी सबै भेला भयौं। अड्रीले बुबाको स्याहारसुसार गर्ने अनि रबर्ट र मैलेचाहिं हप्तैपिच्छे प्रोत्साहनदायी अनुभवहरू सहित पत्र लेख्नुका साथै सकभर चाँडचाँडो भेटघाट गरेर मदत गर्ने निर्णय गरियो।
बुबालाई अन्तिमपल्ट भेटेको क्षण अझै पनि मेरो मनमा ताजै छ। उहाँ स्पष्टसित बोल्न सक्नुहुन्नथ्यो। तर हामी मेक्सिको फर्कंदैछौं भन्दा उहाँले निकै बल गर्नुहुँदै भावविभोर भएर एक शब्द भन्नुभयो, “बिदा!” मिसनरी सेवा गर्ने हाम्रो निर्णयलाई उहाँले हृदयबाट समर्थन गर्नुहुँदैछ भनेर हामीले थाह पायौं। सन् १९८७ मा उहाँ बित्नुभयो अनि त्यसको नौ महिनापछि आमा पनि बित्नुभयो।
हामी केटाकेटीहरूले आफ्ना आमाबाबुको कत्तिको मूल्यांकन गर्थ्यौं भनेर मेरी विधवा दिदीले मलाई पठाउनुभएको पत्रबाट थाह हुन्छ। “आफ्नो मसीही सम्पदालाई म अनमोल ठान्छु। आमाबाबुले हामीलाई अर्कै तरिकामा हुर्काउनुभएको भए म यत्ति खुसी हुनसक्ने थिइनँ। उहाँहरूको दृढ विश्वास, आत्मत्यागी भाव र यहोवामाथिको पूर्ण भरोसाको उदाहरणले गर्दा निराश हुँदा पनि बल पाउन सकेकी छु।” अन्तमा एड्विनाले यसो लेख्नुभएको थियो: “हाम्रो मायालु परमेश्वर यहोवालाई जीवनको केन्द्रबिन्दु बनाएर उहाँको सेवा गऱ्यौं भने आनन्द पाउनेछौं भनेर आफ्नो वचन र उदाहरणद्वारा देखाउनुहुने आमाबाबुका लागि म यहोवालाई धन्यवाद दिन्छु।”
[फुटनोटहरू]
a मार्च १, १९८८ को प्रहरीधरहरा, पृष्ठ ११-१२ हेर्नुहोस्।
b मार्च १५, १९६० को प्रहरीधरहरा पृष्ठ १८९-९१ हेर्नुहोस्।
[पृष्ठ २२, २३-मा भएका चित्रहरू]
फाउन्टेन परिवार: (बायाँदेखि दायाँ) डुवी, एड्विना, विनी, एलिजाबेथ, डुवी जुनियर; दायाँ: हेन्श्चेलले ल्याएको लाउडस्पिकर भएको ट्रकमा एलिजाबेथ र डुवी जुनियर (१९३७); तल दायाँ: सोह्र वर्षको उमेरमा पाटी चलाएर साक्षी दिइरहेकी एलिजाबेथ