राज्य प्रचारकहरूका रिपोर्ट
साक्षी-कार्यले घर तथा स्कूलमा फल फलाउँछ
अरूको भलाइ गर्नु मसीही जीवनको भाग हो। विशेषगरि परमेश्वरको राज्यको सुसमाचार सुनाएर मसीहीहरू अरूको भलाइ गर्छन्। हितोपदेश ३:२७ ले यसो भन्छ: “मानिसलाई दिने तेरो औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर्।” अर्जेन्टिना भन्ने मुलुकमा १२ कक्षामा अध्ययनरत जवान साक्षी आफ्नो स्कूलको मित्रलाई राज्य सुसमाचार सुनाउन चाहन्थे। र तिनको त्यस्तो चाहनाले गर्दा निकै राम्रा नतिजाहरू भए।
एक दिन यो जवान साक्षीले आफ्नो मित्रलाई सबै धर्म असल हुँदैनन् भनेर बताएछ। तिनको मित्रले आफूले कुनै खराब काम नगरेको बताएपछि त्यो जवान साक्षीले यसो भने: “तर तिमीले परमेश्वरका लागि पनि त केही गरेको छैनौ।” यो कुरा सुनेर त्यो मित्रले सोच्न थालेछ। पछि जवान साक्षीले उनलाई हामी आखिरी दिनमा छौं र परमेश्वरको अनुमोदन पाउने हो भने बाइबलको सही ज्ञान लिनुका साथै प्रयोगमा ल्याउनैपर्छ भनेर बताए। तिनको मित्रले मानिलिए। तर के उनको परिवारले बाइबल अध्ययन गर्ने अनुमति दिन्छ त? आफ्नो मित्रले सोचेर निर्णय गर्न सकोस् भनेर त्यो जवान साक्षीले पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ भन्ने पुस्तक उनलाई पढ्न दिए।
समय बित्दै गयो र तिनको त्यो मित्रले स्कूल पनि छोड्यो। वर्षदिनसम्म उनको केही खबरै सुनिएन। तर एक्कासी एक दिन आफ्नो मित्रले फोन गर्दा हाम्रो यो जवान साक्षी छक्क परेछ। आफूले बाइबलका भविष्यवाणीहरू साँच्चै नै पूरा भइरहेको देखेको कुरा त्यो मित्रले बताए। त्यसपछि तुरुन्तै जवान साक्षीले उनीसित बाइबल अध्ययन गर्ने व्यवस्था मिलाए।
आफ्नो पुरानो मित्रको घरमा जाँदा उनका आमाबाबु, छोराले जान्नबुझ्न खोजेको कुरादेखि चिन्तित भएको तिनले देखे। उनको भाइले समेत उनी बौलाए भन्ठानेको रहेछ। अतः आमाबाबुले भाइचाहिंलाई अर्को पटक दाइले अध्ययन गर्दा सँगै बस्न अह्राएछन्। तर अध्ययनपछि, दाइ बौलाएको होइन भनेर भाइले रुँदै बतायो। यो सुनेर आमाले यसो भनिन्, “अब दाइ बौलाउन छोड्ला भनेको त भाइ पनि त्यस्तै भयो।”
तसर्थ, अर्को पटक अध्ययन गर्दा आमा चाहिंले आफै बसेर हेर्ने विचार गरिछे। अध्ययनपश्चात् तिनले पनि छोराहरू बौलाएका होइनन् भनेर मानिलिनै पऱ्यो। पछि, तिनका पति र तिनीसित पनि बाइबल अध्ययन गर्ने व्यवस्था मिलाइयो। चाँडै नै सपरिवार राज्य भवनमा सभाहरू धाउन थाले। समय बित्दै जाँदा बाजेबज्यैले पनि बाइबल अध्ययन गरेर सभाहरू धाउन सुरु गरे। अहिले जेठो छोराले बप्तिस्मा लिएर विवाह पनि गरिसक्यो र पतिपत्नी जोशिला प्रकाशकहरू भएका छन्।
यसबाहेक माथि उल्लिखित हाम्रो जवान साक्षीले अनौपचारिक साक्षी दिएर स्कूलकै अर्को दुइ जना मित्रहरूलाई सच्चाइ सिक्न मदत गरेका छन्। अनि यी दुइमध्ये एक जनाको आमा र दिदीले हाम्रो यही जवान साक्षीको मदत पाएर बाइबल अध्ययन गर्न थाले। यो जवान साक्षी आफ्नो स्कूलका मित्रहरूको भलाइ गर्न पछि नसरेको हुनाले जम्माजम्मी ११ जनाले बाइबल सच्चाइ सिक्न पाए। कति राम्रो नतिजा! साँच्चै, “ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर परमप्रभुनै हुनुहुन्छ।”—भजन १४४:१५.