‘आत्मामा चोट’ लाग्नेहरूका लागि सान्त्वना
आज शैतानको संसारले “नैतिक चेतना” पूरै गुमाइसकेको छ। (एफिसी ४:१९ न्युव; १ यूहन्ना ५:१९) करनी र व्यभिचार चारैतिर व्याप्त छ। अधिकांश मुलुकहरूमा ५० प्रतिशतभन्दा धेरै वैवाहिक जीवन पारपाचुकेमा टुंगिन्छ। समलैंगिकताले व्यापक मान्यता पाइसक्यो। बलात्कारजस्ता यौन अपराधहरू बारम्बार सुनिन्छन्। अश्लील कुराहरूले अरबौं डलर कमाइरहेको छ।—रोमी १:२६, २७.
तर अबोध केटाकटीहरूमाथि गरिने यौन दुर्व्यवहार यी सबैभन्दा घृणित छ। शैतानी संसारको बुद्धिजस्तै बाल यौन दुर्व्यवहार पनि “[अ]स्वाभाविक र शैतानी” छ। (याकूब ३:१५) टाइम पत्रिकाअनुसार संयुक्त राज्यमा मात्रै “वर्षेनी शिक्षक तथा चिकित्सकहरूले सबुद प्रमाणसहित ४,००,००० यौन आक्रमणका रिपोर्टहरू लेखाउँछन्।” यस्तो दुर्व्यवहारको शिकार हुने अधिकांश केटाकेटीहरूले वयस्क जीवनमा समेत त्यसको पीडा भुल्न सक्दैनन्। र तिनीहरूको यस्तो पीडा काल्पनिक होइन! बाइबलले यसो भन्छ: “मानिसको आत्माले [मानसिक झुकाव, आन्तरिक भावना तथा विचार] त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ, तर आत्मा[मा] चोट लागेको छ भने कसले त्यसलाई निको तुल्याउनसक्छ?”—हितोपदेश १८:१४.
परमेश्वरको राज्यको सुसमाचारले “मन भाँचिएकाहरू” र “थकित मन” हुनेहरूलगायत हर प्रकारका मानिसहरूलाई आकर्षित गर्छ। (यशैया ६१:१-४) त्यसैकारण भावनात्मक चोट लागेका अधिकांश मानिसहरूले यो निमन्त्रणा स्वीकार्छन्: “जो तिर्खाउँछ, त्यो आओस्, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।” (प्रकाश २२:१७) यी मानिसहरूले मसीही मण्डलीमा सान्त्वना पाउनसक्छन्। दुःख-कष्ट चाँडै सदाका लागि बितेर जानेछ भनेर सिक्न पाउँदा तिनीहरू आनन्दित हुन्छन्। (यशैया ६५:१७) तर त्यो समय नआऊञ्जेल शायद “सान्त्वना” दिएर तिनीहरूको चोट ‘कम’ पार्नु आवश्यक हुनसक्छ। त्यसैकारण, पावलले मसीहीहरूलाई यस्तो उपयुक्त सल्लाह दिए: “हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर, सबैसँग सहनशीलता देखाओ।”—१ थिस्सलोनिकी ५:१४.
“दबिएका स्मृतिहरू”
हालसालै यस्ता कारणहरूले गर्दा पनि केही व्यक्तिहरूका “मन भाँचिएका” छन् जसलाई अरूले बुझ्नै सकेका छैनन्। तिनीहरू वयस्क व्यक्तिहरू हुन् र केटाकेटी छँदा आफूमाथि यौन दुर्व्यवहार गरिएको तिनीहरू स्मरण गर्छन्। यस्तो स्मरणलाई “दबिएका स्मृतिहरू” भनी व्याख्या गरिएको छ।a यिनीहरूमध्ये कसै-कसैले आफू दुर्व्यवहारको शिकार भएकोजस्तो कहिल्यै महसुस गरेका हुँदैनन्। तर समयको दौडान अचानक तिनीहरू बितेका कुरा सम्झन्छन्। त्यसपछि तिनीहरू आफू केटाकेटी छँदा वयस्क व्यक्तिले (वा व्यक्तिहरू) दुर्व्यवहार गरेको झलझली सम्झन थाल्छन्। के हाम्रो मसीही मण्डलीमा त्यस्ता व्याकुल विचारले पीडित व्यक्तिहरू छन्? छन्, तर केही मुलुकहरूमा मात्र। यी समर्पित व्यक्तिहरूले शायद गहिरो मानसिक सन्ताप, रीस, दोष, लाज वा एकाकीपन महसुस गर्दा हुन्। परमेश्वरदेखि टाढिएको महसुस हुँदा दाऊदजस्तै तिनीहरू पनि यसरी चिच्याउँदा हुन्: “हे परमप्रभु, तपाईं किन टाढ़ा उभिनुहुन्छ? दुःखको बेलामा तपाईं आफै किन लुक्नुहुन्छ?”—भजन १०:१.
मानसिक चिकित्सकहरूले समेत यी “स्मृतिहरूको” थुप्रै पक्षहरूलाई राम्ररी बुझ्न सकेका छैनन्। तर जे होस् त्यस्ता “स्मृतिहरूले” समर्पित मसीहीहरूको आध्यात्मिकतालाई असर गर्नसक्छ। अतः तिनीहरूसित कसरी व्यवहार गर्ने, त्यसबारे राम्रो निर्देशन प्राप्त गर्न हामी निर्धक्कसाथ परमेश्वरको वचन खोलेर हेर्नसक्छौं। किनकि बाइबलले “सब कुराहरूमा . . . समझ” दिन्छ। (२ तिमोथी २:७; ३:१६) साथै सबै चिन्तित व्यक्तिहरूलाई ‘कृपाका पिता, र सबै संकष्टमा सान्त्वना दिनुहुने सबै सान्त्वनाका परमेश्वर’ यहोवामाथि विश्वास राख्न पनि मदत गर्छ।—२ कोरिन्थी १:३, ४.
के साँच्चै यौन दुर्व्यवहार भएको थियो त?
यी “स्मृतिहरू” के हुन् र कुन हदसम्म वास्तविक हुन्छन् आदिबारे संसारमा निकै तर्कवितर्कहरू चलिरहेका छन्। यहोवाका साक्षीहरू यस “संसारका होइनन्।” त्यसैले तिनीहरू यी तर्कवितर्कहरूमा मुछिंदैनन्। (यूहन्ना १७:१६) यद्यपि, प्रकाशित रिपोर्टहरूअनुसार कहिलेकाहीं यी “स्मृतिहरू” सही प्रमाणित भएका छन्। उदाहरणका लागि, बिमा अभिकर्ता फ्रान्क फिट्जप्याट्रिकले आफूलाई पादरीले यौन दुर्व्यवहार गरेको “सम्झे।” तिनले सम्झेको कुरा सही भएको पुष्टि दिंदै अरू सयौं व्यक्तिहरूले आफू पनि सोही पादरीको दुर्व्यवहारको शिकार भएको दाबी गरेका थिए। रिपोर्टअनुसार पछि त्यो पादरीले आफ्नो अपराध स्वीकाऱ्यो।
तथापि, थुप्रै व्यक्तिहरूले आफ्ना “स्मृतिहरूलाई” समर्थन गर्ने प्रमाण जुटाउन नसकेको कुरा यहाँ उल्लेख गर्नु मनासिब होला। यस्ता व्यक्तिहरूले आफूलाई कसैले दुर्व्यवहार गरेको वा दुर्व्यवहार गरिएको ठाउँ नसम्झेका होइनन्, सम्झेका छन्। तर अर्को पक्षले सबुद प्रमाण जुटाउँदा यसरी “सम्झिएका” विवरणहरू झुट्टा साबित भए।
शरण दिने
तर जे होस्, त्यस्ता “स्मृतिहरूले” गर्दा ‘आत्मामा चोट’ लाग्नेहरूलाई हामी कसरी सान्त्वना दिनसक्छौं? यस सम्बन्धमा, मित्रैलो सामरीबारे येशूले बताउनुभएको उखानलाई सम्झनुहोस्। त्यस उखानअनुसार डाँकूहरूले एक जना मानिसलाई लुटपिट गरेर भएभरको सबै लुटेर लगे। एउटा सामरी बाटो हुँदो त्यहाँ आइपुग्दा त्यो घाइते मानिसलाई देखेर तिनको हृदय द्रवित भयो। त्यसपछि तिनले के गरे? के तिनले कसले किन लुटपिट गऱ्यो भनेर नबताएसम्म सोधिरहे? अथवा डाँकूहरूको हुलिया सोधेर तिनीहरूलाई खेद्न पो हिंडे कि? अहँ तिनले त्यसो गरेनन्। त्यो मानिस घाइते थियो। अतः सामरीले मलहम पट्टी लगाएर प्रेमपूर्वक तिनलाई नजीकैको पौवामा लगे। जहाँ तिनी राम्ररी निको हुनसक्थे।—लूका १०:३०-३७.
हो, शरीरमा लागेको चोट र बाल यौन दुर्व्यवहारले गर्दा ‘आत्मामा लागेको चोटबीच’ भिन्नता छ। तर ती दुवैले निकै दुखाउँछ। तसर्थ, सामरीले घाइते यहूदीलाई गरेको व्यवहारबाट पीडित सँगी मसीहीलाई मदत दिन के गर्न सकिन्छ, त्यो सिक्नसक्छौं। हाम्रो मुख्य ध्येय तिनलाई मायालु सान्त्वना दिने र पुनः स्वस्थ हुन मदत गर्ने हुनुपर्छ।
अय्यूबलाई सन्ताप दिंदा शायद भावनात्मक वा शारीरिक पीडाले उसको निष्ठा भंग गर्नसक्छ भनेर दियाबल ढुक्क थियो होला। (अय्यूब १:११; २:५) शैतानले अहिलेसम्म पनि बारम्बार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पीडा दिएर परमेश्वरका सेवकहरूको विश्वासलाई कमजोर बनाउने कोशिश गरेको छ। (२ कोरिन्थी १२:७-९ तुलना गर्नुहोस्।) अतः मसीहीहरूको विश्वासलाई कमजोर बनाउन शैतानले अहिले बाल दुर्व्यवहार र त्यसको शिकार हुने (वा यौन दुर्व्यवहारको “स्मृतिहरूले” पीडित) थुप्रै वयस्कहरूको “निराशित आत्माको” नाजायज फाइदा नउठाउला भनेर शंका गर्न मिल्दैन। यद्यपि, शैतानले आक्रमण गर्दा येशूले गर्नुभएजस्तै त्यस्तो मानसिक पीडा सहने मसीहीले आफ्नो निष्ठा त्याग्न दृढतापूर्वक इन्कार गर्दै यस्तो जवाफ दिन्छन्: “ए शैतान, हटी जा!”—मत्ती ४:१०.
आध्यात्मिक तवरमा बलियो हुनुहोस्
बाल दुर्व्यवहारले उत्पन्न हुने भावनात्मक तथा आध्यात्मिक पीडालाई सँभाल्न “विश्वासी र बुद्धिमान दास[ले]” मदतकारी जानकारी प्रकाशित गरेका छन्। (मत्ती २४:४५-४७) पीडित व्यक्तिले “प्रभुमा र उहाँको शक्तिको सामर्थ्यमा” भरोसा गर्दै “परमेश्वरका सारा हात-हतियार” धारण गरेमा तिनलाई मदत गर्न सकिन्छ भनेर अनुभवले देखाउँछ। (एफिसी ६:१०-१७) यो हातहतियारमा बाइबलको “सच्चाइ” समावेश छ। किनकि बाइबलले शैतानलाई अन्तिम शत्रु भनेर पर्दाफास गर्छ अनि त्यो र त्यसका समर्थकहरूको दुष्ट कामहरू उदांग पार्छ। (यूहन्ना ३:१९) त्यो हातहतियारमा “धार्मिकताको छाती-पाता” पनि छ। पीडित व्यक्तिले धार्मिकस्तरहरूलाई उच्च पार्ने प्रयत्न गर्नुपर्छ। उदाहरणका लागि, केही व्यक्तिहरू आफैलाई हानि पुऱ्याउने वा अनैतिक काम गर्ने तीव्र इच्छाले ग्रस्त हुन्छन्। हरेक चोटि यस्ता इच्छाहरूको प्रतिरोध गर्दा तिनीहरू विजयी हुन्छन्।
आत्मिक हातहतियारमा “मिलापको सुसमाचार” पनि समावेश छ। अरूसित यहोवाका उद्देश्यहरूबारे कुरा गर्दा भन्ने र सुन्ने दुवैले स्फूर्ति प्राप्त गर्छन्। (१ तिमोथी ४:१६) तपाईंको “आत्मामा चोट” लागेको छ। र त्यसले गर्दा सुसमाचार सुनाउन गाह्रो लाग्छ भने अर्को मसीही भाइ वा बहिनीसित यो महत्त्वपूर्ण काममा जानुहोस्। अनि “विश्वासको ढाल[लाई]” पनि नबिर्सनुहोस्। यहोवाले प्रेम गर्नुहुन्छ र तपाईंले गुमाउनुभएका सबै कुरा पुनः दिनुहुनेछ भनी विश्वास गर्नुहोस्। तपाईंको निम्ति प्राण दिनुभएर आफ्नो प्रेम प्रमाणित गर्नुभइसकेको हुँदा येशूको प्रेमलाई निसंकोच विश्वास गर्नुहोस्। (यूहन्ना ३:१६) यहोवाले आफ्ना सेवकहरूको ख्याल राख्नुहुन्न भनेर शैतानले पहिलेदेखि नै झूटो दाबी गर्दै आएको छ। तर त्यो त्यसको अर्को गम्भीर र घृणित झूट मात्र हो।—यूहन्ना ८:४४; अय्यूब ४:१, १५-१८ तुलना गर्नुहोस्; ४२:१०-१५.
मनमा परेको गहिरो चोटले गर्दा तपाईंलाई यहोवाले चिन्ता गर्नुहुन्छ भनेर विश्वास गर्न गाह्रो लाग्छ भने विश्वास गर्ने मानिसहरूसित संगत गर्नुहोस्। (भजन ११९:१०७, १११; हितोपदेश १८:१; हिब्रू १०:२३-२५) तपाईंले पाउने जीवनको इनाम शैतानले खोस्न नपाओस्। नबिर्सनुहोस्, “मुक्तिको टोप” अनि “आत्माको तरवार” हातहतियारका भाग हुन्। बाइबल, पवित्र आत्माद्वारा प्रेरित वचन हो। शैतानले त्यसलाई पराजित गर्नसक्दैन। (२ तिमोथी ३:१६; हिब्रू ४:१२) त्यसका ओखतीजस्ता वचनहरूले भावनात्मक पीडालाई सञ्चो पार्नसक्छ।—भजन १०७:२० तुलना गर्नुहोस्; २ कोरिन्थी १०:४, ५.
अन्तमा, सहने बल प्राप्त गर्न निरन्तर प्रार्थना गर्नुहोस्। (रोमी १२:१२; एफिसी ६:१८) तीव्र भावनात्मक पीडा भोग्नुपर्दा येशूलाई हृदयग्राही प्रार्थनाले सँभालेको थियो। अतः त्यसले तपाईंलाई पनि मदत गर्नसक्छ। (लूका २२:४१-४३) के तपाईंलाई प्रार्थना गर्न कठिन लाग्छ? त्यसोभए तपाईंसँगै वा तपाईंको लागि प्रार्थना गर्न अरूलाई आग्रह गर्नुहोस्। (कलस्सी १:३; याकूब ५:१४) साथै पवित्र आत्माले तपाईंलाई प्रार्थना गर्न मदत गर्नेछ। (रोमी ८:२६, २७) कष्टप्रद शारीरिक बिरामीहरूजस्तै कुनै कुनै गहिरा भावनात्मक चोटहरू यो रीतिरिवाजमा पूर्णतया निको नहुनसक्छन्। तर यहोवाको मदतद्वारा हामीले त्यस्ता पीडाहरूलाई सहनसक्छौं। र त्यसरी सहँदा येशूजस्तै हामी पनि विजयी हुनसक्छौं। (यूहन्ना १६:३३) “मानिस हो, हर बखत [यहोवामानै] भरोसा गर, उहाँको सामने आफ्नो हृदयको दुःख पोखाओ, परमेश्वर हाम्रा निम्ति शरणस्थान हुनुहुन्छ।”—भजन ६२:८.
दुर्व्यवहारको आरोप लाग्ने कथित व्यक्तिलाई के गर्ने?
साँच्चै नै बाल यौन दुर्व्यवहार गर्ने व्यक्ति बलात्कारी हो र त्यसलाई बलात्कारी नै सम्झनुपर्छ। यौन दुर्व्यवहारको शिकार हुने व्यक्तिले दुर्व्यवहार गर्ने व्यक्तिलाई चाहेमा आरोप लगाउनसक्छ। यद्यपि, “दबिएका स्मृतिहरूको” आधारमा मात्र हतपत दोष लगाउनु हुँदैन। यस्तो अवस्थामा सर्वप्रथम, आफू केही हदसम्म भावनात्मक तवरमा स्थिर हुनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसपछि, केही समयपश्चात् आफ्नो “स्मृतिहरूलाई” राम्ररी केलाउनसक्ने अवस्थामा पुगेपछि के गर्ने वा नगर्ने निर्णय गर्न सकिन्छ।
उदाहरणका लागि, डनालाई लिनुहोस्। रिपोर्टअनुसार, भावनात्मक अस्थिरताले गर्दा तिनी सन्तुलित ढंगमा भोजन लिन सक्तिन थिइन्। अतः तिनी सल्लाहकार, सम्भवतः शंकास्पद प्रकृतिको पेशेवरकहाँ गइन्। त्यहाँबाट आउने बित्तिकै तिनले आफ्नो बुबालाई हाडनाताकरनीको आरोप लगाउन थालिन् र मुद्दा दायर गरिन्। अदालतले तिनको बुबालाई दोषी साबित गर्न सकेन। फलतः तिनको बुबाले जेलमा त जानुपरेन तर कानुनी सेवा बापत् १,००,००० अमेरिकी डलर भने तिर्नुपऱ्यो। यत्रो नोक्सान भएपछि डनाले पछि आफ्नो आमाबाबुलाई त्यस प्रकारको दुर्व्यवहार भएको थियो भनेर आफूलाई विश्वास नलागेको कुरा बताइन्।
त्यसैकारण, सुलेमानले यस्तो बुद्धिमतापूर्ण सल्लाह दिए: “अदालतमा झट्टै नजा।” (हितोपदेश २५:८) तर यदि कथित अपराधीले अझै पनि केटाकेटीहरूलाई दुर्व्यवहार गरिरहेको शंका गर्न मिल्ने वैध कारणहरू छन् भने तुरुन्तै सूचना दिइहाल्नुपर्ला। त्यस अवस्थामा मण्डलीका प्राचीनहरूले मदत गर्नसक्छन्। अन्यथा केही समय पर्खनुहोस्। शायद पछि, तपाईंलाई त्यो कुरा त्यतिकै टुंगाउने विचार पनि आउनसक्छ। यद्यपि, (सबै सम्भाव्य प्रतिक्रियाहरूलाई तपाईंले कसरी लिनुहुन्छ राम्ररी तौलेपछि) तपाईं कथित अपराधीसित मुठभेड गर्नु चाहुनुहुन्छ भने त्यो तपाईंको अधिकारको कुरा हो।
आफ्ना “स्मृतिहरू” बिस्तारै हराएर जाँदा अप्ठ्यारो परिस्थिति सृजना हुनसक्छ। उदाहरणका लागि, आफूले दिनहुँ देख्ने व्यक्तिले दुर्व्यवहार गरेको दृश्यहरूको झलझली सम्झना आउनसक्छ। यस्तो अवस्थामा के गर्ने, त्यसको कुनै उपाय छैन। “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।” (गलाती ६:५) कहिलेकाहीं नातेदार वा आफ्नै परिवारको सदस्य दुर्व्यवहारमा मुछिएको महसुस पनि हुनसक्छ। स्मरण रहोस्, यस्ता “दबिएका स्मृतिहरू” भरोसायोग्य नभएको हुँदा दोषी व्यक्ति चिन्न गाह्रो हुन्छ। अतः त्यस्तो अवस्थामा सबै कुरा स्पष्ट नभएसम्म बेला-बेलामा आफ्नो परिवारलाई भेटेर, पत्र लेखेर वा टेलिफोन गरेर सम्पर्क कायम राख्नुहोस्। त्यसो गरेमा तपाईंले शास्त्रीय मार्गमा चल्ने प्रयत्न गरिरहनुभएको छ भनेर देखिनेछ।—एफिसी ६:१-३ तुलना गर्नुहोस्।
प्राचीनहरूले के गर्नसक्छन्?
मण्डलीमा बाल दुर्व्यवहारका सम्झनाहरू वा “दबिएका स्मृतिहरू” अनुभव गर्ने व्यक्ति छ र तिनले प्राचीनहरूसित मदत मागेमा प्रायः दुइ जना प्राचीनहरू खटाइन्छन्। यी प्राचीनहरूले दयापूर्वक तिनलाई सबैभन्दा पहिले तिनको भावनात्मक सन्तापलाई सहनेतर्फ ध्यान दिने प्रोत्साहन दिनुपर्छ। तिनले दुर्व्यवहार गर्ने व्यक्ति “सम्झेमा” तिनको नाउँ अत्यन्त गोप्य राख्नुपर्छ।
प्राचीनहरूको मुख्य काम गोठालो भएर सेवा गर्नु हो। (यशैया ३२:१, २; १ पत्रुस ५:२, ३) तिनीहरूले होशियारीपूर्वक “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण” गर्नुपर्छ। (कलस्सी ३:१२) आफूले दयापूर्वक सुनेपछि मात्र शास्त्रबाट औषधीमूलक वचनहरू प्रयोग गर्नुपर्छ। (हितोपदेश १२:१८) नियमित तवरमा भेटेर वा फोन गरेर हालखबर सोधेर प्राचीनहरूले दिएको सहयोगका लागि त्यस्ता पीडादायी “स्मृतिहरू” भोग्ने केही व्यक्तिहरूले आफ्नो मूल्यांकन व्यक्त गरेका छन्। प्राचीनहरूले त्यसरी सम्पर्क राख्दा धेरै समय लिनुपर्छ भन्ने छैन। तर त्यस्तो सहयोग दिंदा यहोवाको संगठनले ख्याल गर्छ भनेर तिनीहरूले देखाइरहका हुन्छन्। अर्कोतर्फ मसीही भाइहरूले आफूप्रति साँचो प्रेम देखाएको महसुस हुँदा पीडित व्यक्तिहरूको भावनात्मक पीडा तुलनात्मक रूपमा निकै कम हुनसक्छ।
तर पीडित व्यक्तिले दोष लगाउने निर्णय गरेमा के गर्ने?b त्यस्तो अवस्थामा दुइ जना प्राचीनहरूले तिनलाई मत्ती १८:१५ मा उल्लिखित सिद्धान्तअनुरूप आरोपित व्यक्तिसित व्यक्तिगत कुरा गर्ने सल्लाह दिनसक्छन्। यदि दोष लगाउने व्यक्ति भावनात्मक रूपमा त्यसो गर्न असक्षम छ भने तिनलाई फोन वा पत्रद्वारा त्यसो गर्ने सुझाव दिनसकिन्छ। यसो गरेमा आरोपित व्यक्तिले यहोवासमक्ष, आफूमाथि लगाइएको दोष गम्भीरतापूर्वक खण्डन गर्ने मौका पाउँछ। शायद तिनले प्रमाण पनि जुटाउन सक्ला। अथवा शायद आरोपित व्यक्तिले आफ्नो दोष स्वीकारेर आपसी मिलाप पनि हुनसक्छ। त्यसो भएमा कति असल हुनेछ! आरोपित व्यक्तिले दोष स्वीकारेमा दुइ जना प्राचीनहरूले शास्त्रीय सिद्धान्तअनुरूप थप कारबाही गर्नसक्छन्।
यद्यपि, आरोपित व्यक्तिले खण्डन गरेमा न्यायिक तरिकाअनुसार अब बढी केही गर्न सकिंदैन भनेर प्राचीनहरूले बताउनुपर्छ। र मण्डलीले आरोपित व्यक्तिलाई पहिलेझैं निर्दोष व्यक्ति सम्झनेछ। बाइबलअनु- सार न्यायिक कदम उठाउन दुइ वा तीन जना साक्षीहरू चाहिन्छ। (२ कोरिन्थी १३:१; १ तिमोथी ५:१९) आरोपित व्यक्तिले दुर्व्यवहार गरेको “सम्झना” एकभन्दा धेरै व्यक्तिहरूलाई छ भने पनि त्यस्ता स्मृतिहरू भरपर्दा नहुनेभएकोले कुनै प्रमाणबिना त्यसैको आधारमा मात्र न्यायिक निर्णयहरू गर्नुहुँदैन। तर यसो भन्दैमा त्यस्ता “स्मृतिहरू[लाई]” झूटो (वा साँचो) मानिन्छ भन्ने होइन। तर कुनै पनि कुरा न्यायिक तरिकामा छिनफान गर्न बाइबलका सिद्धान्तहरू पालन गर्नैपर्छ।
तर दोषी हुँदाहुँदै पनि आरोपित व्यक्तिले खण्डन गर्छ भने के गर्ने? के तिनी दोष वा दण्डबाट उम्कनेछन्? निस्सन्देह, छैनन्! तिनी दोषी छन् वा निर्दोष, त्यसलाई निर्धक्कतासाथ यहोवाको हातमा छोड्न सकिन्छ। “कुनै कुनै मानिसको पाप प्रत्यक्ष छ, अदालतसम्म पुग्ने, औ कुनै कुनै मानिसको ता पछि मात्र थाह हुन्छ।” (१ तिमोथी ५:२४; रोमी १२:१९; १४:१२) हितोपदेशको पुस्तकले यसो भन्छ: “धर्मीको आशा पलाउँछ, तर दुष्टको भरोसा ओइलाउँछ।” “जब [दुष्ट न्युव] मानिस मर्छ तब त्यसको आशाको पनि अन्त हुन्छ।” (हितोपदेश १०:२८; ११:७) अन्ततः यहोवा परमेश्वर र येशू ख्रीष्टले न्याय गर्नुहुनेछ र अनन्त सजाय दिनुहुनेछ।—१ कोरिन्थी ४:५.
दियाबलको प्रतिरोध गर्ने
अचाक्ली शारीरिक वा भावनात्मक पीडा सहने समर्पित व्यक्तिले साँच्चै आफ्नो आन्तरिक बल र यहोवाप्रतिको प्रेमको कति राम्रो प्रमाण दिन्छ! अनि यहोवाले आफ्नो आत्माद्वारा दिनुहुने बलको पनि कति राम्रो साक्षी दिन्छ!—२ कोरिन्थी ४:७ तुलना गर्नुहोस्।
यस्ता व्यक्तिहरूमाथि पत्रुसका यी शब्दहरू लागू हुन्छ: “आफ्नो विश्वासमा दह्रो भएर . . . [शैतानको] विरोध गर।” (१ पत्रुस ५:९) त्यसो गर्नु सजिलो नहोला। कहिलेकाहीं व्यवहारिक ढंगमा सोच्नै कठिन हुनसक्छ। तर निरुत्साहित नहुनुहोस्! चाँडै नै दियाबल र त्यसका धूर्त कामहरूको नामोनिसान हुनेछैन। साँच्चै भन्ने हो भने, हामी त्यो समयको लालसा गर्छौं, जब “परमेश्वर आफै[लै] . . . आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:३, ४.
[फुटनोटहरू]
a हामी सबैको सामान्य स्मृतिहरूलाई छुट्याउन सजिलो होस् भनेर “दबिएका स्मृतिहरू” र अन्य केही अभिव्यक्तिहरू उद्धरण चिन्हभित्र राखिएका छन्।
b उपरोक्त घटनाबारे मण्डलीमा सबैलाई थाह भइसकेको छ भने यस अनुच्छेदमा उल्लिखित कदमहरू चाल्नु पनि आवश्यक हुनसक्छ।