प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 मे pp. १-३२
  • दुष्ट संसारमा प्रेम र न्याय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुष्ट संसारमा प्रेम र न्याय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • घोर पाप
  • गम्भीर गलत कामसित सम्बन्धित मामिलाहरू सम्हाल्ने
  • आफ्ना छोराछोरीलाई कसरी जोगाउने?
  • दुर्व्यवहारको सिकार भएकाहरूलाई सान्त्वना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • संसारभरि नै संकट छ
    ब्यूँझनुहोस्‌!—१९९९
  • हाम्रा केटाकेटीहरूलाई कसले बचाउनेछ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • ‘आत्मामा चोट’ लाग्नेहरूका लागि सान्त्वना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 मे pp. १-३२

अध्ययन लेख १९

दुष्ट संसारमा प्रेम र न्याय (४ भागको शृङ्‌खलाको भाग ३)

“तपाईँ दुष्टतामा रमाउने परमेश्‍वर हुनुहुन्‍न; कुनै पनि खराब मानिस तपाईँसित रहन नपाओस्‌।”—भज. ५:४.

गीत १४२ आशालाई पक्रिराखौँ!

परिचयa

१-३. (क) भजन ५:४-६ अनुसार दुष्टताबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ? (ख) बाल यौन दुर्व्यवहार “ख्रिष्टको व्यवस्था”-सित पटक्कै मेल नखाने कुरा हो भनेर हामी किन भन्‍न सक्छौँ?

यहोवा परमेश्‍वर हरकिसिमको दुष्टतालाई घृणा गर्नुहुन्छ। (भजन ५:४-६ पढ्‌नुहोस्‌) बाल यौन दुर्व्यवहारजस्तो अत्यन्तै दुष्ट कामलाई झन्‌ उहाँ कत्ति धेरै घृणा गर्नुहुन्छ होला! हामी यहोवाका साक्षीहरू यहोवाको अनुकरण गर्दै बाल यौन दुर्व्यवहारलाई अत्यन्तै घृणा गर्छौँ र ख्रिष्टियन मण्डलीमा यसलाई पटक्कै सहँदैनौँ।—रोमी १२:९; हिब्रू १२:१५, १६.

२ बाल यौन दुर्व्यवहार “ख्रिष्टको व्यवस्था”-सित पटक्कै मेल नखाने कुरा हो। (गला. ६:२) हामी किन त्यसो भन्‍न सक्छौँ? अघिल्लो लेखमा ख्रिष्टको व्यवस्थाले येसुले आफ्नो बोली र व्यवहारद्वारा सिकाउनुभएका सम्पूर्ण कुरालाई समेट्‌छ भनेर हामीले सिकेका थियौँ। साथै त्यो व्यवस्था प्रेममा आधारित छ र त्यसले न्यायी हुन सिकाउँछ भनेर पनि बुझेका थियौँ। यसै व्यवस्थाको अधीनमा रहेर साँचो ख्रिष्टियनहरू केटाकेटीसित तिनीहरूले सुरक्षित र साँच्चै माया पाएको महसुस गर्नेगरि व्यवहार गर्छन्‌। तर बाल यौन दुर्व्यवहार भनेको स्वार्थी र अन्यायी व्यवहार हो किनभने त्यसले केटाकेटीलाई असुरक्षित र माया नपाएको महसुस गराउँछ।

३ दुःखको कुरा, बाल यौन दुर्व्यवहार एउटा विश्‍वव्यापी समस्या हो र यसले साँचो ख्रिष्टियनहरूलाई पनि असर गरेको छ। किन? “दुष्ट र जाली मानिसहरू” अहिले जताततै छन्‌ र तिनीहरूमध्ये कोही-कोही मण्डलीमा पनि घुस्न खोज्छन्‌। (२ तिमो. ३:१३) त्यसका साथै मण्डलीकै सदस्य भनौँदाहरू कोही-कोही शारीरिक कुइच्छाको वशमा परेका छन्‌ र बाल यौन दुर्व्यवहार गरेका छन्‌। हामी यस लेखमा बाल यौन दुर्व्यवहार किन घोर पाप हो भनेर छलफल गर्नेछौँ। त्यसपछि गम्भीर गलत कामसित सम्बन्धित मामिलाहरू, जसमा बाल यौन दुर्व्यवहार पनि पर्छ, त्यसलाई एल्डरहरूले कसरी सम्हाल्छन्‌ भनेर बुझ्नेछौँ। अनि आमाबुबाले आफ्ना छोराछोरीलाई कसरी जोगाउन सक्छन्‌ भनेर पनि विचार गर्नेछौँ।b

घोर पाप

४-५. बाल यौन दुर्व्यवहार किन सिकार हुने व्यक्‍तिविरुद्धको पाप हो?

४ बाल यौन दुर्व्यवहारको असर लामो समयसम्म रहिरहन्छ। यसले दुर्व्यवहारको सिकार हुने व्यक्‍तिलगायत उसलाई माया गर्ने परिवारका सदस्यहरू र ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई पनि असर गर्छ। बाल यौन दुर्व्यवहार घोर पाप हो।

५ यो सिकार हुने व्यक्‍तिविरुद्धको पाप हो।c कसैलाई अन्याय गरेर दुःख र पीडा दिनु भनेको पाप हो। बाल यौन दुर्व्यवहार गर्ने व्यक्‍तिले त्यसै गरिरहेको हुन्छ अर्थात्‌ उसले दुर्व्यवहार भोग्ने बच्चालाई निकै ठूलो चोट पुऱ्‍याइरहेको हुन्छ भनेर हामी यसपछिको लेखमा बुझ्नेछौँ। उसले त्यस बच्चाको भरोसा तोड्‌छ र बच्चालाई असुरक्षित महसुस गराउँछ। त्यस्तो दुष्ट कामबाट हामीले केटाकेटीलाई जोगाउनुपर्छ अनि त्यसको सिकार भएकाहरूलाई सान्त्वना र मदत चाहिन्छ।—१ थिस्स. ५:१४.

६-७. बाल यौन दुर्व्यवहार किन मण्डलीविरुद्धको र सरकारी अख्तियारवालाहरूविरुद्धको पाप हो?

६ यो मण्डलीविरुद्धको पाप हो। मण्डलीको कुनै सदस्यले बाल यौन दुर्व्यवहार गरेमा तिनको कारण मण्डलीको बदनाम हुन्छ। (मत्ति ५:१६; १ पत्रु. २:१२) त्यस्तो व्यक्‍तिले गर्दा “विश्‍वासको निम्ति अझ परिश्रम गरेर” लडिरहेका लाखौँ ख्रिष्टियनको बदनाम हुनु कत्ति ठूलो अन्याय हो! (यहु. ३) कुनै पश्‍चात्ताप नगरी दुष्ट काम गरिरहने र मण्डलीको बदनाम गर्ने व्यक्‍तिलाई हामी मण्डलीमा रहिरहन दिँदैनौँ।

७ यो सरकारी अख्तियारवालाहरूविरुद्धको पाप हो। ख्रिष्टियनहरू “उच्च अख्तियारवालाहरूको अधीनमा” रहनुपर्छ। (रोमी १३:१) देशको नियमकानुनको उचित आदर गर्दै त्यसलाई पालन गरेर हामी अधीनमा बसेको कुरा देखाउँछौँ। यदि मण्डलीको कुनै सदस्यले अपराधसम्बन्धी कुनै ऐन तोडेमा, जस्तै, बाल यौन दुर्व्यवहार गरेमा तिनले अख्तियारवालाहरूविरुद्ध पाप गरेका हुन्छन्‌। (प्रेषित २५:८ तुलना गर्नुहोस्‌) एल्डरहरूलाई देशको नियमकानुन कार्यान्वयन गर्ने अख्तियार दिइएको छैन तर तिनीहरू बाल यौन दुर्व्यवहार गर्ने व्यक्‍तिलाई अख्तियारवालाहरूले दिने सजायदेखि जोगाउँदैनन्‌। (रोमी १३:४) त्यसरी पाप गर्ने व्यक्‍तिले आफूले छरेको कुराको कटनी गर्नेछन्‌।—गला. ६:७.

८. मानिसहरूविरुद्ध गरिएको पापलाई यहोवा कुन नजरले हेर्नुहुन्छ?

८ सबैभन्दा गम्भीर कुरा, यो परमेश्‍वरविरुद्धको पाप हो। (भज. ५१:४) एउटा मानिसले अर्को मानिसविरुद्ध पाप गर्दा तिनले परमेश्‍वरविरुद्ध पनि पाप गरिरहेका हुन्छन्‌। परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाबाट यसको एउटा उदाहरण विचार गरौँ। आफ्नो छिमेकीलाई लुट्‌ने वा ठग्ने मानिसले “यहोवा परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्छ” भनेर व्यवस्थामा लेखिएको थियो। (लेवी ६:२-४) त्यसैले बाल यौन दुर्व्यवहार गरेर कुनै बच्चाको सुरक्षा खोस्ने मण्डलीको सदस्यले निश्‍चय नै परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरिरहेका हुन्छन्‌। तिनको कारण यहोवाको नाममा ठूलो कलङ्‌क लाग्छ। त्यसैले बाल यौन दुर्व्यवहार भनेको परमेश्‍वरविरुद्धको घिनलाग्दो पाप हो र हामीले यसलाई घृणा गर्नुपर्छ।

९. वर्षौँको दौडान यहोवाको सङ्‌गठनले धर्मशास्त्रमा आधारित कस्ता जानकारीहरू उपलब्ध गराउँदै आएको छ र किन?

९ वर्षौँको दौडान यहोवाको सङ्‌गठनले बाल यौन दुर्व्यवहारको विषयमा धर्मशास्त्रमा आधारित प्रशस्त जानकारी उपलब्ध गराउँदै आएको छ। उदाहरणको लागि, प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-मा छापिएका लेखहरूमा बाल यौन दुर्व्यवहारको सिकार भएकाहरूले लामो समयसम्म रहिरहने भावनात्मक चोटको कसरी सामना गर्न सक्छन्‌, अरूले तिनीहरूलाई कसरी मदत र प्रोत्साहन दिन सक्छन्‌ अनि आमाबुबाले आफ्ना छोराछोरीलाई कसरी जोगाउन सक्छन्‌ भनेर छलफल गरिएको छ। बाल यौन दुर्व्यवहारको मामिला कसरी सम्हाल्ने भनेर एल्डरहरूले धर्मशास्त्रमा आधारित विस्तृत तालिम पाएका छन्‌। बाल यौन दुर्व्यवहारका मामिलाहरू सम्हाल्ने विषयमा सङ्‌गठनले पुनर्विचार गरिरहन्छ। किन? हामीले ख्रिष्टको व्यवस्थासित मेल खाने तरिकामै यस मामिलालाई सम्हालिरहेका छौँ कि छैनौँ भन्‍ने कुरा पक्का गर्न।

गम्भीर गलत कामसित सम्बन्धित मामिलाहरू सम्हाल्ने

१०-१२. (क) गम्भीर गलत कामसित सम्बन्धित कुनै पनि मामिला सम्हाल्दा एल्डरहरू कुन कुरा मनमा राख्छन्‌ अनि तिनीहरू कस्ता कुराहरू विचार गर्छन्‌? (ख) याकुब ५:१४, १५ अनुसार एल्डरहरू के गर्ने प्रयास गर्छन्‌?

१० गम्भीर गलत कामसित सम्बन्धित कुनै पनि मामिला सम्हाल्दा एल्डरहरूले ख्रिष्टको व्यवस्था पालन गर्दै बगाललाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ अनि परमेश्‍वरको नजरमा जे ठीक र न्यायसङ्‌गत छ, त्यही गर्नुपर्छ भन्‍ने कुरा सधैँ मनमा राख्छन्‌। त्यसैले कुनै गम्भीर गलत कामको रिपोर्ट पाएपछि तिनीहरूले थुप्रै कुरा विचार गर्नुपर्ने हुन्छ। एल्डरहरू मुख्यगरि यहोवाको नामको पवित्रता कायम राख्ने कुरामा ध्यान दिन्छन्‌। (लेवी २२:३१, ३२; मत्ति ६:९) साथै तिनीहरू मण्डलीका भाइबहिनीको आध्यात्मिक हितमा पनि गहिरो चासो राख्छन्‌ र गलत कामको सिकार भएको जो-कोहीलाई मदत गर्न चाहन्छन्‌।

११ त्यसका साथै, यदि गलत काम गर्ने व्यक्‍ति मण्डलीकै सदस्य हुन्‌ भने एल्डरहरू सम्भव भएसम्म तिनलाई परमेश्‍वरसितको सम्बन्ध सुधार्न मदत गर्छन्‌। (याकुब ५:१४, १५ पढ्‌नुहोस्‌) कुइच्छाको वशमा परेर गम्भीर पाप गर्ने ख्रिष्टियन आध्यात्मिक रूपमा बिरामी व्यक्‍ति हुन्‌। मतलब, तिनले यहोवासितको असल सम्बन्ध गुमाएका हुन्छन्‌।d एल्डरहरू एक अर्थमा आध्यात्मिक डाक्टरजस्तै हुन्‌। तिनीहरू “त्यस बिरामी मानिसलाई” अर्थात्‌ गलत काम गर्ने व्यक्‍तिलाई निको पार्न चाहन्छन्‌। तिनीहरूले दिने धर्मशास्त्रीय सल्लाहले गर्दा परमेश्‍वरसितको तिनको सम्बन्ध सुध्रन सक्छ तर तिनले साँचो पश्‍चात्ताप गरेका छन्‌ भने मात्र यो सम्भव हुन्छ।—प्रेषि. ३:१९; २ कोरि. २:५-१०.

१२ हो, एल्डरहरूले निकै गम्भीर जिम्मेवारी बहन गर्छन्‌। परमेश्‍वरले तिनीहरूको जिम्मामा सुम्पिनुभएको बगालको तिनीहरू गहिरो चासो राख्छन्‌। (१ पत्रु. ५:१-३) तिनीहरू आफ्ना भाइबहिनीले मण्डलीमा सुरक्षित महसुस गरेको चाहन्छन्‌। त्यसैले बाल यौन दुर्व्यवहारलगायत कुनै पनि गम्भीर गलत कामको रिपोर्ट पाउनेबित्तिकै तिनीहरू कदम चाल्छन्‌। तिनीहरू कस्तो कदम चाल्छन्‌? यसबारे बुझ्न अनुच्छेद १३, १५ र १७ को सुरुमा दिइएका प्रश्‍नहरू विचार गरौँ।

१३-१४. के एल्डरहरू बाल यौन दुर्व्यवहारको अभियोगबारे स्थानीय अख्तियारवालाहरूलाई रिपोर्ट गर्नुपर्ने नियम पालन गर्छन्‌? व्याख्या गर्नुहोस्‌।

१३ के एल्डरहरू बाल यौन दुर्व्यवहारको अभियोगबारे स्थानीय अख्तियारवालाहरूलाई रिपोर्ट गर्नुपर्ने नियम पालन गर्छन्‌? गर्छन्‌। यदि कुनै देशमा बाल यौन दुर्व्यवहारको अभियोगबारे अख्तियारवालाहरूलाई रिपोर्ट गर्नुपर्ने नियम छ भने एल्डरहरू ती नियम पालन गर्न प्रयास गर्छन्‌। (रोमी १३:१) त्यस्ता नियमहरू परमेश्‍वरको नियमसित बाझिँदैनन्‌। (प्रेषि. ५:२८, २९) त्यसैले बाल यौन दुर्व्यवहारको कुनै अभियोगबारे सुन्‍नेबित्तिकै एल्डरहरू त्यसबारे अख्तियारवालाहरूलाई रिपोर्ट गर्ने सन्दर्भमा के-कस्ता कदमहरू चाल्नुपर्छ भनेर सोधपुछ गर्न तुरुन्तै शाखा कार्यालयमा सम्पर्क गर्छन्‌।

१४ दुर्व्यवहारको सिकार हुने व्यक्‍ति, तिनको आमाबुबा र त्यसबारे थाह भएकाहरूसित दुर्व्यवहारबारे स्थानीय अख्तियारवालाहरूलाई रिपोर्ट गर्ने अधिकार छ भनेर एल्डरहरूले दयालु ढङ्‌गमा सम्झाउँछन्‌। तर यदि दुर्व्यवहारको अभियोग लागेको व्यक्‍ति मण्डलीकै सदस्य हुन्‌ र त्यसबारे रिपोर्ट गर्दा टोलछिमेकमा सबैलाई थाह हुन्छ भने नि? के त्यसबारे रिपोर्ट गर्ने ख्रिष्टियनले आफूले परमेश्‍वरको नामको बदनाम गरेँ भन्ठान्‍नुपर्छ? अहँ, पर्दैन। परमेश्‍वरको नामको बदनाम गर्ने व्यक्‍ति त वास्तवमा बाल यौन दुर्व्यवहार गर्ने व्यक्‍ति हुन्‌।

१५-१६. (क) पहिलो तिमोथि ५:१९ अनुसार एल्डरहरूले न्यायिक कारबाही गर्नुअघि किन कम्तीमा दुई जना साक्षीको आवश्‍यकता पर्छ? (ख) मण्डलीको कुनै सदस्यलाई बाल यौन दुर्व्यवहारको आरोप लागेको कुरा थाह पाएपछि एल्डरहरूले के गर्छन्‌?

१५ एल्डरहरूले मण्डलीमा न्यायिक कारबाही गर्नुअघि किन कम्तीमा दुई जना साक्षी चाहिन्छ? यो बाइबलको उच्च न्यायको स्तरले माग गरेको कुरा हो। गल्तीको आरोप लागेको व्यक्‍तिले आफ्नो गल्ती नस्विकारेको खण्डमा घटनालाई प्रमाणित गर्न दुई जना साक्षी चाहिन्छ। त्यसपछि मात्र एल्डरहरूले न्यायिक कारबाही गर्न सक्छन्‌। (व्यव. १९:१५; मत्ति १८:१६; १ तिमोथि ५:१९ पढ्‌नुहोस्‌) के यसको मतलब बाल यौन दुर्व्यवहारको अभियोगबारे अख्तियारवालाहरूलाई रिपोर्ट गर्नुअघि पनि दुई जना साक्षी हुनै पर्छ? पर्दैन। एल्डरहरू वा अरू कसैले अख्तियारवालाहरूलाई कुनै अपराधको अभियोगबारे रिपोर्ट गर्न दुई जना साक्षी हुनै पर्छ भन्‍ने छैन।

१६ मण्डलीको कुनै सदस्यलाई बाल यौन दुर्व्यवहारको आरोप लागेको कुरा थाह पाएपछि एल्डरहरू त्यसबारे अख्तियारवालाहरूलाई रिपोर्ट गर्नुपर्ने नियम पालन गर्न प्रयास गर्छन्‌। त्यसपछि तिनीहरू धर्मशास्त्रमा आधारित भएर त्यसबारे अनुसन्धान गर्छन्‌। आरोपित व्यक्‍तिले आरोप अस्विकार गरेमा एल्डरहरूले साक्षीहरूको बयान सुन्छन्‌। कम्तीमा दुई जना साक्षी छन्‌ भने न्यायिक समिति गठन गरिन्छ। ती दुई जना साक्षी हुन्‌: आरोप लगाउने व्यक्‍ति र त्यही घटनाको वा आरोपित व्यक्‍तिले बाल यौन दुर्व्यवहार गरेको अन्य कुनै घटनाको पुष्टि गर्न सक्ने अर्को व्यक्‍ति।e साक्षी दिने दोस्रो व्यक्‍ति छैनन्‌ भन्दैमा आरोप लगाउने व्यक्‍तिले झूटो आरोप लगाएको हो भन्‍न मिल्दैन। कुनै व्यक्‍तिले बाल यौन दुर्व्यवहार गरेको पुष्टि गर्न दुई जना साक्षी छैनन्‌ भने पनि उसले अरूलाई गहिरो चोट पुऱ्‍याउने गम्भीर पाप गरेको हुन सक्छ भन्‍ने कुरा एल्डरहरूले मनमा राख्छन्‌। त्यसबाट चोट पुगेकाहरूलाई एल्डरहरूले निरन्तर मदत दिइरहन्छन्‌। त्यसका साथै मण्डलीलाई सम्भाव्य खतराबाट जोगाउनको लागि बाल यौन दुर्व्यवहारको अभियोग लागेको व्यक्‍तिमाथि पनि एल्डरहरूले निगरानी गरिरहन्छन्‌।—प्रेषि. २०:२८.

१७-१८. न्यायिक समितिको भूमिका के हो? व्याख्या गर्नुहोस्‌।

१७ न्यायिक समितिको भूमिका के हो? “न्यायिक” शब्दले दुर्व्यवहार गर्ने व्यक्‍तिलाई अख्तियारवालाहरूले सजाय दिनु पर्छ कि पर्दैन भन्‍ने कुराको न्याय वा फैसला एल्डरहरूले गर्छन्‌ भन्‍ने कुरालाई बुझाउँदैन। देशको कानुन लागू गर्ने कुरामा एल्डरहरूले हात हाल्दैनन्‌; अपराधसम्बन्धी मामिलालाई तिनीहरू अख्तियारवालाहरूकै हातमा छोडिदिन्छन्‌। (रोमी १३:२-४; ति. ३:१) बरु यौन दुर्व्यवहार गर्ने व्यक्‍ति मण्डलीको सदस्यको रूपमा रहिरहन सक्छन्‌ कि सक्दैनन्‌ भन्‍ने विषयमा एल्डरहरूले न्याय गर्छन्‌ अर्थात्‌ निर्णय गर्छन्‌।

१८ न्यायिक समितिमा सेवा गर्ने एल्डरहरूले त्यस मामिलाको आध्यात्मिक पक्षहरू सम्हाल्छन्‌। दुर्व्यवहार गर्ने व्यक्‍तिले पश्‍चात्ताप गरेका छन्‌ कि छैनन्‌ भनेर तिनीहरू धर्मशास्त्रमा दिइएका सिद्धान्तहरू विचार गर्दै निर्णय गर्छन्‌। यदि तिनले पश्‍चात्ताप गरेका छैनन्‌ भने तिनलाई मण्डलीबाट बहिष्कार गरिन्छ र त्यसबारे मण्डलीमा घोषणा गरिन्छ। (१ कोरि. ५:११-१३) तर तिनले पश्‍चात्ताप गरेका छन्‌ भने तिनी मण्डलीको सदस्यको रूपमा रहिरहन सक्छन्‌। तर तिनी मण्डलीमा सुअवसरहरू पाउन वा जिम्मेवारीहरू बहन गर्न कहिल्यै योग्य नहुन सक्छन्‌ भनेर एल्डरहरूले तिनलाई जानकारी दिन्छन्‌। मण्डलीका केटाकेटीहरूको सुरक्षाको लागि एल्डरहरूले मण्डलीमा भएका आमाबुबाहरूलाई आफ्ना छोराछोरी उक्‍त व्यक्‍तिसित कत्तिको घुलमिल गर्दै छन्‌ भनेर निगरानी गर्न गोप्य रूपमा जानकारी दिन सक्छन्‌। यस्ता कदम चाल्दा, दुर्व्यवहार गर्ने व्यक्‍तिले गर्दा क-कसलाई चोट पुगेको थियो भन्‍ने कुरा एल्डरहरूले गोप्य राख्छन्‌।

आफ्ना छोराछोरीलाई कसरी जोगाउने?

महान्‌ शिक्षकबाट सिकौं किताबबाट आमाबुबा आफ्ना छोराछोरीसित अध्ययन गर्दै छन्‌

आमाबुबा छोराछोरीलाई यौनबारे उपयुक्‍त कुराहरू बताएर यौन दुर्व्यवहारको सिकार हुनदेखि जोगाउँछन्‌। आमाबुबाले उनीहरूलाई सिकाउन परमेश्‍वरको सङ्‌गठनले प्रबन्ध गरेको सामग्री प्रयोग गर्छन्‌। (अनुच्छेद १९-२२ हेर्नुहोस्‌)

१९-२२. छोराछोरीलाई जोगाउन आमाबुबाले के गर्न सक्छन्‌? (आवरण पृष्ठको तस्बिर हेर्नुहोस्‌)

१९ छोराछोरीलाई खतराबाट जोगाउने जिम्मेवारी कसको हो? आमाबुबाको।f तपाईँका छोराछोरी परमेश्‍वरले दिनुभएका उपहार, “यहोवाका वरदान हुन्‌।” (भज. १२७:३) त्यस उपहारको सुरक्षा गर्नु तपाईँको जिम्मेवारी हो। छोराछोरीलाई यौन दुर्व्यवहारबाट जोगाउन तपाईँ के गर्न सक्नुहुन्छ?

२० पहिलो, यौन दुर्व्यवहारबारे थाह पाइराख्नुहोस्‌। कस्ता व्यक्‍तिहरूले केटाकेटीलाई यौन दुर्व्यवहार गर्छन्‌ र केटाकेटीलाई फकाउन तिनीहरूले कस्ता तरिकाहरू अपनाउँछन्‌ भनेर बुझ्नुहोस्‌। सम्भाव्य खतराहरूबारे सजग हुनुहोस्‌। (हितो. २२:३; २४:३) यौन दुर्व्यवहार गर्ने व्यक्‍ति धेरैजसो अवस्थामा केटाकेटीले पहिल्यैदेखि चिनेको र भरोसा गरेको व्यक्‍ति नै हुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌।

२१ दोस्रो, छोराछोरीसित खुलस्त कुराकानी गर्नुहोस्‌। (व्यव. ६:६, ७) छोराछोरीको कुरा राम्ररी सुन्‍नु पनि यसमा समावेश छ। (याकु. १:१९) आफूमाथि यौन दुर्व्यवहार भएको कुरा केटाकेटीले अक्सर बताइहाल्ने गर्दैनन्‌ भन्‍ने कुरा नबिर्सनुहोस्‌। तिनीहरूलाई आफ्नो कुरा कसैले नपत्याउला भन्‍ने डर लागेको हुन सक्छ वा दुर्व्यवहार गर्ने व्यक्‍तिले त्यो कुरा कसैलाई नबताउनू भनेर धम्की दिएको हुन सक्छ। बच्चालाई केही नराम्रो कुरा भएको जस्तो तपाईँलाई लाग्यो भने तिनीहरूको मनको कुरा बुझ्न मायालु तरिकाले प्रश्‍नहरू सोध्नुहोस्‌ र तिनीहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌।

२२ तेस्रो, आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌। तिनीहरूलाई यौनबारे उमेर सुहाउँदो जानकारी दिनुहोस्‌। कसैले तिनीहरूलाई अनुचित तरिकाले छुन खोज्यो भने त्यस्तो बेला के भन्‍ने अनि के गर्ने भनेर तिनीहरूलाई सिकाउनुहोस्‌। छोराछोरीलाई कसरी जोगाउने भन्‍ने विषयमा परमेश्‍वरको सङ्‌गठनले दिएको जानकारीको सदुपयोग गर्नुहोस्‌।—“यौन दुर्व्यवहारबारे थाह पाउनुहोस्‌ र छोराछोरीलाई सिकाउनुहोस्‌” भन्‍ने पेटी हेर्नुहोस्‌।

यौन दुर्व्यवहारबारे थाह पाउन र छोराछोरीलाई पनि सिकाउन आमाबुबाले प्रयोग गर्न सक्ने प्रकाशन तथा भिडियोहरू

यौन दुर्व्यवहारबारे थाह पाउनुहोस्‌ र छोराछोरीलाई सिकाउनुहोस्‌

आमाबुबाले छोराछोरीलाई मदत गर्नको लागि

  • “तपाईँको बच्चा खतरामा छ!,” “छोराछोरीलाई कसरी जोगाउने?” र “घरमा अपनाउनुपर्ने सावधानी” ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) अक्टोबर ८, १९९३

  • “सबै आमाबुबालाई चिन्तित तुल्याउने खतरा,” “छोराछोरीलाई कसरी जोगाउन सक्नुहुन्छ?” र “परिवारमा सुरक्षित वातावरण सृजना गर्नुहोस्‌” ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) अक्टोबर २००७

  • “तपाईँ कसरी असल बुबा बन्‍न सक्नुहुन्छ?” प्रहरीधरहरा (अङ्‌ग्रेजी) अक्टोबर १, २००८

  • “आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुहोस्‌” प्रहरीधरहरा, डिसेम्बर १, २०१०

  • हामी आफ्ना केटाकेटीलाई जोगाउँछौँ, JW ब्रोडकास्टिङमा अङ्‌ग्रेजी भाषामा उपलब्ध भिडियो

  • “यौन दुराचारीहरूबाट जोगाउन यहोवाका साक्षीहरू आमाबुबा र तिनीहरूका छोराछोरीलाई शिक्षा दिन्छन्‌,” jw.org® मा अङ्‌ग्रेजी भाषामा उपलब्ध (हाम्रो बारेमा > गतिविधि अन्तर्गत हेर्नुहोस्‌)

  • “आमाबुबाले छोराछोरीलाई यौनबारे कसरी सिकाउन सक्छन्‌?” jw.org मा अङ्‌ग्रेजी भाषामा उपलब्ध (बाइबलको शिक्षा > बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ अन्तर्गत हेर्नुहोस्‌)

  • महान्‌ शिक्षकबाट सिकौं, अध्याय १० र ३२

  • यहोवाको साथी बनौं—बच्चालाई सजग गराउनुहोस्‌, jw.org मा उपलब्ध भिडियो (बाइबलको शिक्षा > केटाकेटी अन्तर्गत हेर्नुहोस्‌)

किशोरकिशोरीहरूका लागि

  • तपाईंका साथीहरू के भन्छन्‌—यौन दुर्व्यवहार, jw.org मा अङ्‌ग्रेजी भाषामा उपलब्ध भिडियो (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌)

  • “यौन दुराचारीहरूबाट म आफूलाई कसरी जोगाउन सक्छु?” युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ (अङ्‌ग्रेजी) खण्ड १, अध्याय ३२

  • “युवाहरू सोध्छन्‌—यौन दुर्व्यवहारबारे मैले के थाह पाउनुपर्छ?—भाग १: होसियारी अपनाउनुपर्ने कुराहरू,” jw.org मा अङ्‌ग्रेजी भाषामा उपलब्ध (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌)

  • “यौन दुर्व्यवहारबारे मैले के थाह पाउनुपर्छ?” युवाहरूको १० प्रश्‍नका जवाफहरू, प्रश्‍न ८

दुर्व्यवहारको सिकार भएकाहरूलाई सान्त्वना

  • “हाडनाता करणीको सिकार भएकाहरूको लागि मदत” प्रहरीधरहरा (अङ्‌ग्रेजी) अक्टोबर १, १९८३

  • “बाल यौन दुर्व्यवहारको सिकार भएका निर्दोष व्यक्‍तिहरू” र “बाल यौन दुर्व्यवहारले दिने अदृश्‍य चोटहरू” ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) अक्टोबर ८, १९९१

  • “युवाहरू सोध्छन्‌—यौन दुर्व्यवहारबारे मैले के थाह पाउनुपर्छ?—भाग २: निको हुने,” jw.org मा अङ्‌ग्रेजी भाषामा उपलब्ध (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌)

  • “दुर्व्यवहारको सिकार भएकाहरूलाई सान्त्वना” प्रहरीधरहरा, मे २०१९, अध्ययन लेख २०

२३. बाल यौन दुर्व्यवहारलाई हामी कसरी हेर्छौँ? अर्को लेखले कुन प्रश्‍नको जवाफ दिनेछ?

२३ हामी यहोवाका साक्षीहरू बाल यौन दुर्व्यवहारलाई गम्भीर पाप र दुष्ट कामको रूपमा हेर्छौं। ख्रिष्टको व्यवस्थाको अधीनमा बस्दै मण्डलीले यौन दुर्व्यवहार गर्ने व्यक्‍तिलाई आफ्नो पापको नतिजा भोग्नदेखि जोगाउँदैन। अर्कोतर्फ, दुर्व्यवहार भोगेकाहरूलाई हामी कसरी मदत गर्न सक्छौँ? अर्को लेखले यस प्रश्‍नको जवाफ दिनेछ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • बाल यौन दुर्व्यवहार किन घोर पाप हो?

  • गम्भीर गलत कामसित सम्बन्धित कुनै पनि मामिला सम्हाल्दा एल्डरहरू कस्ता कुराहरू विचार गर्छन्‌?

  • आमाबुबाले आफ्ना छोराछोरीलाई यौन दुर्व्यवहारबाट कसरी जोगाउन सक्छन्‌?

गीत १०३ गोठालाहरू—वरदानको रूपमा पुरुषहरू

a यस लेखमा केटाकेटीलाई यौन दुर्व्यवहारबाट कसरी जोगाउन सकिन्छ भनेर छलफल गरिनेछ। बाल यौन दुर्व्यवहारको मामिलामा एल्डरहरूले मण्डलीलाई जोगाउन कस्ता कदमहरू चाल्छन्‌ अनि आमाबुबाले आफ्ना छोराछोरीलाई यौन दुर्व्यवहारबाट कसरी जोगाउन सक्छन्‌ भनेर हामी बुझ्नेछौँ।

b थप व्याख्या: कुनै वयस्कले केटाकेटीलाई प्रयोग गरेर आफ्नो यौन इच्छा पूरा गर्नुलाई बाल यौन दुर्व्यवहार भनिन्छ। यसमा यौनसम्बन्ध, मुख-मैथुन, मलद्वार-मैथुन, यौनाङ्‌ग, स्तन वा नितम्ब खेलाउनु वा यस्तै अन्य विकृत कार्यहरू समावेश छन्‌। धेरैजसो अवस्थामा बालिकाहरू यौन दुर्व्यवहारको सिकार हुने भए तापनि थुप्रै बालकहरू पनि यसको सिकार भएका छन्‌। बाल यौन दुर्व्यवहार गर्नेहरूमा धेरैजसो पुरुष हुने भए तापनि केही स्त्रीहरूले पनि त्यसो गरेका छन्‌।

c थप व्याख्या: यो र यसपछिको लेखमा “सिकार हुने व्यक्‍ति” भन्‍ने अभिव्यक्‍तिले सानो छँदा यौन दुर्व्यवहार भोगेको व्यक्‍तिलाई जनाउँछ। त्यस बच्चालाई चोट पुऱ्‍याइएको छ, ऊबाट नाजायज फाइदा उठाइएको छ र ऊ निर्दोष छ भन्‍ने कुरा बुझाउन यो अभिव्यक्‍ति प्रयोग गरिएको हो।

d कुनै व्यक्‍ति आध्यात्मिक रूपमा बिरामी छन्‌ भन्दैमा तिनले गरेको गम्भीर पापको लागि तिनी दोषी छैनन्‌ भन्‍न मिल्दैन। पाप गर्ने व्यक्‍ति आफूले गरेका गलत छनौट र कामको लागि पूर्णतया जिम्मेवार हुन्छन्‌ र तिनले यहोवालाई त्यसको लेखा दिनुपर्छ।—रोमी १४:१२.

e एल्डरहरूले यौन दुर्व्यवहारको मामिला सम्हाल्दा दुर्व्यवहारको सिकार भएको बच्चा आरोपित व्यक्‍तिको अगाडि उपस्थित हुनु कहिल्यै आवश्‍यक छैन। बच्चाको आमाबुबा वा अर्को भरोसायोग्य व्यक्‍तिले दुर्व्यवहारबारे एल्डरहरूलाई जानकारी दिन सक्छन्‌। यसो गर्दा बच्चालाई थप भावनात्मक हानि बेहोर्नदेखि जोगाउन सकिन्छ।

f आमाबुबाको सन्दर्भमा भनिएको कुरा कानुनी अभिभावकहरूलाई वा नाबालिगको हेरचाह गरिरहेका व्यक्‍तिहरूलाई पनि लागू हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने