विलियम टिन्डेल दूरदर्शी पुरुष
विलियम टिन्डेल बेलाइतमा “वेल्स्को सीमावर्ती क्षेत्रमा” जन्मिएका थिए। तिनी जन्मिएको सही स्थान र मिति निर्धारण गर्न नसके तापनि सम्भवतः ग्लाउचेस्टरशायरमा जन्मेको हुनुपर्छ। “हामीलाई अंग्रेजी बाइबल दिने” पुरुषको ५०० औं वार्षिकोत्सव सन् १९९४ अक्टोबरमा बेलाइतमा मनायो। बाइबल अनुवाद गरेकोले नै टिन्डेल शहीद हुन पुगे। किन?
विलियम टिन्डेल ग्रीक तथा ल्याटिन भाषामा पोख्त थिए। जुलाई १५१५ मा २१ वर्ष नपुग्दै तिनले अक्सफोर्ड विश्वविद्यालयबाट मानविकी शास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरे। सन् १५२१ मा त तिनी रोमन क्याथोलिक चर्चको औपचारिक नियुक्ति प्राप्त पादरी भइसकेका थिए। त्यतिबेला जर्मनीमा मार्टिन लुथरको क्रियाकलापले गर्दा क्याथोलिक मतमा उथलपुथल भएको थियो। तर सन् १५३४ मा राजा हेन्री आठौंले रोमसित सम्बन्ध विच्छेद नगरूञ्जेल बेलाइत क्याथोलिक देश नै रह्यो।
टिन्डेलको समयमा सामान्य बोलीचालीको भाषा अंग्रेजी भए तापनि शिक्षादीक्षा ल्याटिनमा दिइन्थ्यो। चर्च तथा बाइबलमा प्रयोग गरिने औपचारिक भाषा पनि त्यही थियो। सन् १५४६ मा ट्रेन्टको निकायले जेरोमको पाँचौ शताब्दीको ल्याटिन भल्गेट मात्रै प्रयोग गर्नुपर्छ भनेर पुनः जोड दिए। तथापि, शिक्षितहरूले मात्र त्यो पढ्न सक्थे। बेलाइतीहरूलाई अंग्रेजी बाइबल प्राप्त गर्ने र त्यो पढ्ने स्वतन्त्रताबाट किन वञ्चित गर्ने? टिन्डेललाई चित्त नबुझेको कुरा के थियो भने, “जेरोमले आफ्नो मातृ भाषामा बाइबल अनुवाद गरे। हामीले पनि त्यसो गर्न किन नहुने?”
विश्वासको कदम
अक्सफोर्ड र पछि सम्भवतः क्याम्ब्रिजमा थप अध्ययनपश्चात् तिनले ग्लाउचेस्टरशायरमा दुइ वर्षसम्म जोल वल्शका छोराहरूलाई पढाए। यसैताका बाइबललाई अंग्रेजीमा अनुवाद गर्ने तिनको इच्छा अझ प्रबल भयो। तिनले ग्रीक तथा ल्याटिनको समानान्तर स्तम्भहरूसहितको इरास्मसको नयाँ बाइबल पदको सहायताले अनुवाद गर्ने दक्षतालाई विकास गर्ने अवसर पाए। सन् १५२३ मा टिन्डेल वल्श परिवारलाई छोडेर लण्डन गए। त्यहाँ जानुको उद्देश्य लण्डनको विशप, कथ्बर्ट टन्स्टलसित अनुवाद गर्ने अनुमति लिनु थियो।
कन्स्टिच्युशन्स् अफ अक्सफोर्ड भनेर चिनिने अक्सफोर्डको १४०८ को सल्लाहकार समूहले स्थानीय भाषाहरूमा बाइबल अनुवाद गर्न वा पढ्न प्रतिबन्ध लगाएकोले टन्स्टलको अख्तियारनामा आवश्यक थियो। विशपको अनुमति पाएपछि मात्र त्यसो गर्न सकिन्थ्यो। यस निषेधाज्ञाको विरोध गर्न आँटेका लोलार्डस नाउँले चिनिने थुप्रै घुमन्ते प्रचारकहरूलाई विधर्मी ठहराएर जिउँदै जलाइयो। यी लोलार्डसहरूले भल्गेट-को अंग्रेजी अनुवाद अर्थात् जोन विक्लिफको बाइबल पढेर वितरण गरे। टिन्डेलको विचारमा चर्च तथा बेलाइतीहरूका लागि युनानी भाषाका मसीही लेखोटहरूको नयाँ तथा सही संस्करण अनुवाद गर्नुपर्ने समय आएको थियो।
विशप टन्स्टल ज्ञानी पुरुष थिए र तिनले इरास्मसलाई निकै प्रोत्साहन दिएका थिए। टिन्डेलले टन्स्टलबाट स्वीकृति पाउन आफ्नो दक्षताको प्रमाणस्वरूप आइसोक्रेट्सको एउटा भाषण अर्थात् कठिन युनानी पद अनुवाद गरेका थिए। टन्स्टलले यस कार्यमा समर्थन गरेर शास्त्र अनुवाद गर्न स्वीकृति दिनेछ भनेर टिन्डेल निकै आशावादी थिए। तर विशपले के गर्नेथियो?
अस्वीकृति—किन?
टिन्डेलले आफ्नो परिचयपत्र प्रस्तुत गरे तापनि टन्स्टल तिनलाई भेट्न राजी भएनन्। यसकारण टिन्डेलले अन्तर्वार्ताको लागि पुनः पत्र लेख्नुपऱ्यो। अन्ततः टन्स्टलले टिन्डेललाई भेटे कि भेटनन् त्यो थाह छैन तर तिनको जवाफ यस्तो थियो, ‘मेरो घरमा अनुवादकलाई राख्ने कोठा छैन।’ टन्टस्टलले टिन्डेललाई जानाजानी यस्तो ठाडो जवाफ किन दिए?
युरोप महादेशमा लुथरको सुधार कार्य र त्यसले बेलायतमा पारेको असरले गर्दा क्याथोलिक चर्च निकै चिन्तित थियो। सन् १५२१ मा राजा हेन्री आठौंले लुथरको विरोधमा पोपको पक्ष लिएर जोडदार शोधप्रबन्ध प्रकाशित गरे। कृतज्ञता व्यक्त गर्न पोपले हेन्रीलाई “डिफेन्डर अफ द फेथ” नामक उपाधि प्रदान गरे।a हेन्री आठौंको कार्डिनल वल्सी पनि सक्रिय थिए र तिनले लुथरका अवैध आयातित पुस्तकहरू नाश गरे। पोप, राजा र कार्डिनलप्रति निष्ठावान् क्याथोलिक विशपको हैसियतमा विरोधी लुथरको विचारधारालाई सहमत गर्ने सोचाइलाई दबाउनु टन्स्टलले आफ्नो नैतिक दायित्व सम्झे। प्रमुख संभावित अपराधी टिन्डेल थिए। किन?
वल्श परिवारसित बस्दा टिन्डेलले स्थानीय पादरीवर्गको अज्ञानता र कट्टरताको निडरतापूर्वक विरोध गरेका थिए। तीमध्ये जोन स्टोक्सले पनि एक थिए जससित अक्सफोर्डमा छँदा टिन्डेलको चिनजान भएको थियो। अन्ततः तिनी लण्डनको विशप, कथ्बर्ट टन्स्टलको ठाउँमा नियुक्त भए।
उच्च श्रेणीको पादरीसित भएको मुठभेडमा पनि टिन्डेललाई विरोध गरिएको कुरा स्पष्ट हुन्छ। तिनले यसो भने: “हामीलाई परमेश्वरभन्दा पोपको व्यवस्था नै बेस लाग्छ।” टिन्डेलको यो जवाफ स्मरणीय छ: “म पोप तथा तिनका व्यवस्थाहरूको वास्ता गर्दिनँ। परमेश्वरले मेरो जीवन जोगाउनुभयो भने केही वर्षभित्र तपाईंभन्दा हलो जोत्ने केटोलाई शास्त्र राम्ररी जान्ने तुल्याउनेछु।”
विधर्मीको झूटो आरोपमा टिन्डेल वर्चेष्टरको आधिकारिक प्रशासकसामु हाजिर हुनुपऱ्यो। उक्त घटनालाई टिन्डेल यसरी स्मरण गर्छन्, “तिनले मलाई नराम्रोसँग धम्क्याएर मेरो खिल्ली उडाए।” तिनले आफूलाई “कुकुर” जस्तो व्यवहार गरेको पनि बताए। तर टिन्डेल विधर्मी भएको आरोप लगाउने कुनै प्रमाण थिएन। टन्स्टललाई त्यस्तो निर्णय सुनाउन कसैले गोप्यतापूर्वक चुक्ली लगाए भन्ने इतिहासकारहरूको विश्वास छ।
लण्डनमा एक वर्ष बिताइसकेपछि टिन्डेल यस्तो निष्कर्षमा पुगे: “नयाँ नियम अनुवाद गर्न टन्स्टलको लण्डनस्थित दरबारमा मेरो लागि कोठै थिएन। नता . . . बेलाइतमा कतै कसैले मलाई बाइबल अनुवाद गर्ने अनुमति दिए। तिनको कुरा सही थियो। लुथरको कार्यले गर्दा दमन महसुस गरिरहेको बेला बेलाइतका कुन चाहिं मुद्रकले अंग्रेजीमा बाइबल छाप्ने आँट गर्नसक्थ्यो? अतः बेलाइतमा कहिल्यै नफर्कने निर्णय गरेर टिन्डेल सन् १५२४ मा इंग्लिश च्यानल हुँदै देश बाहिर गए।
युरोपतर्फ र थप समस्याहरू
विलियम टिन्डेलले जर्मनीमा शरण लिए र तिनले आफ्ना मूल्यवान् पुस्तकहरू आफूसितै लगे। तिनीसित १० पाउण्ड थियो र त्यो पनि तिनको साथी, लण्डनको प्रभावकारी व्यापारी, हम्प्री मनमथले दयापूर्वक दिएका थिए। त्यो उपहार टिन्डेललाई युनानी शास्त्र अनुवाद गरेर प्रकाशित गर्न पुग नपुग थियो। टिन्डेललाई सहयोग तथा लुथरलाई समर्थन गरेको आरोपमा पछि मनमथलाई गिरफ्तार गरियो। मनमथको जाँच पड्ताल गरेर तिनलाई टावर अफ लण्डन नामक झ्यालखानामा थुनियो र कार्डिनल वल्सीसित क्षमायाचना गरेपछि मात्र जेलमुक्त गरियो।
टिन्डेल जर्मनीमा कहाँ बसे, त्यो त थाह छैन। केही प्रमाणअनुसार तिनले ह्यामवर्गमा एक वर्ष बिताएको हुनुपर्छ। के तिनले लुथरलाई भेटे? यकिन गरेर भन्न सकिंदैन तर मनमथमाथि लगाइएको आरोपमा त्यसै भनिएको छ। एउटा कुरा भने निश्चित छ: टिन्डेल युनानी शास्त्र अनुवाद गर्न व्यस्त थिए। तिनले आफ्ना हस्तलिपिहरू कहाँ छपाउन सक्थे? तिनले यो काम कोलोनको पिटर कभेन्टललाई सुम्पे।
क्याकलस नाउँले चिनिने विरोधी जोन डबनेकले थाह नपाऊञ्जेल कामकुरा राम्ररी चलिरहेको थियो। क्याकलसले थाह पाउनेबित्तिकै तिनले हेन्री आठौंको घनिष्ठ मित्रलाई बताइहाले। अनि तिनले तुरुन्तै टिन्डेलको अनुवादलाई कभेन्टलले प्रकाशित गर्न प्रतिबन्ध लगाए।
टिन्डेल र तिनका सहयोगी, विलियम रोइ ज्यान जोगाउन भागे। तिनीहरूले मत्तीरचित सुसमाचारका प्रकाशित पृष्ठहरू साथै लगे। तिनीहरूले राइन नदी हुँदै वर्म्ससम्म जलयात्रा गरे र त्यहीं तिनीहरूले आफ्नो काम पूरा गरे। समय बित्दै जाँदा टिन्डेलको नयाँ नियम-को प्रथम संस्करणको ६,००० प्रति प्रकाशित गरियो।b
विरोधको बावजूद सफलता
अनुवाद गरेर मुद्रण गर्नु एउटा समस्या थियो। बेलाइतसम्म बाइबलहरू पुऱ्याउनु अर्कै समस्या थियो। चर्चका एजेन्ट तथा सरकारी अधिकारीहरू इंग्लिश च्यानलबाट यसलाई बेलाइत पस्न नदिन कटिबद्ध थिए तर सहयोगी तथा सहानुभूतिशील व्यापारीहरूको अर्कै तरकिब थियो। लत्ताकपडा तथा अन्य मालतालहरूको डंगुरमा लुकाएर ती बाइबलहरू बेलाइतका किनाराहरू र स्कटल्याण्डसम्म अवैध तरिकाले लगियो। टिन्डेल प्रोत्साहित भए तर तिनको संघर्ष भने केवल सुरु भएको थियो।
फेब्रुअरी ११, १५२६ मा कार्डिनल वल्सीको साथमा ३६ जना विशप तथा चर्चका अन्य गन्यमान्यहरू “कितापहरूको थुप्रो आगोमा जलाइएको हेर्न” लण्डनस्थित सेन्ट पल्स् कथिड्रल नजीकै भेला भए। त्यसमा टिन्डेलको मूल्यवान् अनुवादका केही प्रतिहरू पनि थिए। यस प्रथम संस्करणको केवल दुइ प्रति मात्र अहिले सुरक्षित छ। एक मात्र पूर्ण बाइबल (मुख पृष्ठ मात्र नभएको) ब्रिटिश लाइब्ररीमा छ। हाँस्यास्पद कुरा त के हो भने, अर्को प्रतिको हराएका ७१ पृष्ठहरू सेन्ट पल्स कथिड्रलको पुस्तकालयमा भेटियो। त्यो त्यहाँ कसरी पुग्यो, कसैलाई थाह छैन।
टिन्डेलले निडरतापूर्वक आफ्नो अनुवादको ताजा संस्करणहरू प्रकाशित गर्न छोडेन। बेलाइती कर्मचारीहरूले ती प्रतिहरू व्यवस्थित ढंगमा जफत गरेर जलाएका थिए। त्यसपछि टन्स्टलले आफ्नो कार्यनीति परिवर्तन गरे। तिनले अगस्टिन पाकिंग्टन नामक व्यापारीसित एउटा सम्झौता गरे। त्यो थियो, नयाँ नियम-लगायत टिन्डेलद्वारा लिखित सबै पुस्तकहरू किन्ने तर त्यो पछि जलाउने। यो प्रबन्धअनुसार टिन्डेल र पाकिंग्टन दुवैलाई फाइदा हुनेथियो। हालाको क्रोनिकल-ले यसो भन्छ: “विशपसित टिन्डेलका पुस्तकहरू थिए, टन्स्टल र टिन्डेल पाकिंग्टनप्रति कृतज्ञ थिए अनि विशपले गरेको सम्झौताअनुसार टिन्डेलले पैसा पाइरहेका थिए। त्यसपछि नयाँ नियमका अन्य प्रतिहरू पनि छापिंदै जाँदा बेलाइतमा थुप्रै बाइबलहरू आउन थाल्यो।”
पादरीवर्गले टिन्डेललाई अनुवाद नगराउन किन यस्तो कटु विरोध गरे? ल्याटिन भल्गेट-मा पवित्र पद अस्पष्ट थियो तर मौलिक युनानी पदबाट टिन्डेलले गरेको अनुवादले भने बेलाइतीहरूलाई बाइबलको समाचार सरल भाषामा प्रस्तुत गऱ्यो। उदाहरणको लागि, टिन्डेलले युनानी शब्द अगापे-लाई “परोपकार” को साटो “प्रेम” भनेर अनुवाद गरे। चर्चका भवनहरू होइन तर उपासकहरूलाई बुझाउन “चर्च” नभई “मण्डली” शब्दमा तिनले जोड दिए। तथापि, टिन्डेलले “पादरी”-को साटो “प्राचीन” र “प्रायश्चितको विधि” साटो “पश्चात्ताप गर्नु” भन्ने शब्दहरू चलाउँदा पादरीवर्ग आफ्नो कथित पौरोहित्यका विशेषाधिकाहरूबाट वञ्चित भए। यो तिनीहरूको निम्ति असह्य भयो। यस सन्दर्भमा डेभिड डान्यल यसो भन्छन्: “पापमोचन स्थान र पाप प्रायश्चितको लागि पादरीलाई आफ्नो पाप सुनाउनुपर्ने जस्ता सिद्धान्तहरूको शास्त्रीय आधार पाइएन। चर्चको धनसम्पत्ति तथा शक्तिलाई योगदान पुऱ्याइरहेका दुइ धर्मसिद्धान्तहरू चकनाचूर भए।” (विलियम टिन्डेल—अ बायोग्रफी) टिन्डेलको अनुवादले यस्तो चुनौती प्रस्तुत गऱ्यो र आधुनिक विद्वानहरू तिनको शब्द छनौटको यथार्थतालाई पूर्ण समर्थन गर्छन्।
आन्टवर्प, धोखा र मृत्यु
सन् १५२६ र १५२८ को बीचतिर टिन्डेल आन्टवर्पमा बसाइँ सरे जहाँ बेलाइती व्यापारीहरूमाझ तिनी सुरक्षित महसुस गर्नसक्थे। त्यहाँ छँदा तिनले द पाराबल अफ द विकेड मामोन, द ओबिडियन्स अफ अ क्रिश्चियन म्यान र द प्राक्टिश अफ प्रिलेट्स नामक पुस्तकहरू लेखे। टिन्डेलले अनुवाद कार्यलाई कायम गरे र हिब्रू शास्त्रको अंग्रेजी अनुवादमा परमेश्वरको नाउँ, जेहोवा प्रयोग गर्ने प्रथम व्यक्ति थिए। त्यो नाउँ २० पटक भन्दा बढी उल्लेख भएको पाइन्छ।
टिन्डेल आन्टवर्पमा आफ्नो मित्र तथा उपकारी थोमस पोइन्टससित बसूञ्जेल तिनी वल्सी र उनका गुप्तचरहरूबाट सुरक्षित थिए। बिरामी तथा गरिबहरूको हेरचाह गर्ने व्यक्ति भनेर तिनी सुपरिचित भए। अन्ततः हेन्री फिलिप्स् नामक व्यापारीले धूर्ततापूर्वक टिन्डेलको विश्वास जित्न सफल भए। फलस्वरूप सन् १५३५ मा टिन्डेललाई धोखा दिइयो र तिनलाई ब्रसेल्स्भन्दा दश किलोमिटर टाढा भिल्भोर्ड कासलमा लगियो। त्यहाँ तिनलाई १६ महिनासम्म कैद गरियो।
फिलिप्स्लाई कसले प्रयोग गरेको थियो भनी तोकिएर भन्न सकिंदैन तर विशप स्टोक्स्लीलाई शंका गर्न सकिन्छ। तिनले लण्डनमा “विधर्मीहरू” भनी थुप्रैलाई मारेका थिए। डब्ल्यु. जे. हिटनद्वारा लिखित द बाइबल अफ द रिफर्मेशन-अनुसार स्टोक्स्ली सन् १५३९ मा आफ्नो मृत्युशय्यामा हुँदा “जीवनकालभरि पचास जना विधर्मीहरूलाई जिउँदै जलाएकोमा रमाएका” थिए। त्यसरी जलाइनेहरूमध्ये विलियम टिन्डेल पनि थिए। तिनको घोक्रो अंठ्याएर सन् १५३६ अक्टोबर महिनामा जनसमक्ष जलाइयो।
टिन्डेलको पुर्पक्षमा संलग्न आयोगका तीन प्रतिष्ठित धर्मविज्ञानीहरू क्याथोलिक लुभेन विश्वविद्यालयका थिए र त्यहीं फिलिप्स् पनि भर्ती भएका थिए। टिन्डेललाई विधर्मीको आरोप लगाएर तिनलाई पौरोहित्य ओहदाबाट पदच्युत गरेको हेर्न लुभेनबाट तीन पादरी र तीन विशपलगायत अन्य गन्यमान्य जनहरू उपस्थित थिए। सम्भवतः ४२ वर्षको उमेरमा तिनको मृत्यु भएकोमा सबै रमाए।
जीवनी लेखक, रबर्ट डिमाउसले सय वर्षअघि यसो भने, “टिन्डेल तिनको निडर इमानदारीको लागि प्रष्टै चिनिन्थे।” स्टोक्स्लीद्वारा लण्डनमा जलाइएका आफ्ना सहयोगी, जोन फ्रिथलाई टिन्डेलले यसप्रकार लेखे: “मैले आफ्नो अन्तस्करणको विरुद्ध परमेश्वरको वचनको एउटै अक्षर पनि हेरफेर गरिनँ नता गर्ने नै छु। मलाई संसारमा भएजति सुखविलास, सम्मान र धनसम्पत्ति दिए पनि म त्यसो गर्नेछैनँ।”
यसप्रकार बेलाइतीहरूले बुझ्नसक्ने भाषामा बाइबल प्रदान गर्न विलियम टिन्डेलले आफ्नो जीवन अर्पण गरे। तिनले कति ठूलो मोल चुकाउनुपऱ्यो। तर त्यो निस्सन्देह एउटा अनमोल उपहार हो!
[फुटनोटहरू]
a त्यस राष्ट्रका सम्पूर्ण सिक्काहरूमा Fidei Defensor छापियो र हेन्रीले आफ्ना उत्तराधिकारीहरूमाथि त्यो उपाधि प्रदान गर्न बिन्ती गरे। आजकल बेलाइती सिक्काहरूमा मुद्रित शिरको माथिपट्टि Fid. Def, वा F.D. राखिएको पाइन्छ। चाखलाग्दो कुरा, सन् १६११ मा किङ जेम्स भर्सन राजा जेम्सलाई समर्पित गर्दा ती पुस्तकहरूमा “डिफेन्डर अफ द फेथ” छापियो।
b यो संख्या पूर्णतया भरपर्दो छैन। केही अधिकृतहरूअनुसार ३,००० प्रति छापिएको थियो।।
[पृष्ठ २९-मा भएको पेटी]
प्रारम्भिक अनुवादहरू
टिन्डेलले साधारण मानिसहरूको भाषामा बाइबल अनुवाद गर्न चाहनु अव्यवहारिक वा पहिले कहिल्यै नगरिएको कुरा थिएन। दशौं शताब्दीमा आंग्लो-साक्सनमा अनुवाद गरिसकेको थियो। पन्ध्रौं शताब्दीको अन्ततिर ल्याटिनबाट अनुवाद गरेर छापिएका बाइबलहरू बेलायतभरि खुलेआम वितरण भइसकेको थियो: जर्मन (१४६६), इटालियन (१४७१), फ्रान्सेली (१४७४), चेक (१४७५), डच (१४७७) र क्याटलान (१४७८)। सन् १५२२ मा मार्टिन लुथरले जर्मन भाषामा नयाँ नियम प्रकाशित गरे। टिन्डेलको एउटै मात्र प्रश्न यो थियो, बेलाइतलाई पनि त्यही कार्य गर्न अनुमति किन दिइँदैन।
[पृष्ठ २६-मा भएको चित्रको स्रोत]
पृष्ठभूमिमा बाइबल: The British Library Board, William Tyndale: Principal, Fellows and Scholars of Hertford College, Oxford बाट सादर अनुमतिप्राप्त