प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ९/१५ pp. २५-२९
  • बाइबल हाम्रो समयसम्म कसरी आइपुगेको छ—भाग दुइ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल हाम्रो समयसम्म कसरी आइपुगेको छ—भाग दुइ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एक अग्रगामी देखा पर्छन्‌
  • चर्चको प्रतिरोध
  • मुद्रण प्रविधिको प्रभाव
  • विलियम टिन्डेल र अंग्रेजी बाइबल
  • अनुसन्धानको कारण मर्म अझ स्पष्ट हुन्छ
  • टिन्डेल हिब्रू धर्मशास्त्र अनुवाद गर्छन्‌
  • बाइबल तथा टिन्डेल प्रतिबन्धित
  • विलियम टिन्डेल दूरदर्शी पुरुष
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • बाइबल मुद्रणको लागि शरणस्थान
    ब्यूँझनुहोस्‌!—२००२
  • तिनीहरूले बाइबलको मोल गरे—एक झलक (विलियम टिन्डेल)
    थप लेखहरू
  • तिनीहरूले बाइबलको मोल गरे
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ९/१५ pp. २५-२९

बाइबल हाम्रो समयसम्म कसरी आइपुगेको छ—भाग दुइ

आकाशै छोइएलाजस्तो गरी उठेको आगोको ज्वालामा धमाधम तेल थप्दै गर्दा आगो दनदनी दन्कँदै थियो। यो चानचुने आगो थिएन। पादरी तथा धर्माधिकारीहरू राँकिएको आगोमा बाइबलहरू जल्दै गरेको हेर्दै थिए। लण्डनका पादरीहरूले ती बाइबल नाश गर्नकै लागि किनेका थिए। तर, आगोमा होम्न बाइबलहरू किनेर तिनीहरूले अनजानमा विलियम टिन्डेललाई थप संस्करणहरू अनुवाद गर्न आर्थिक मदत पुऱ्‍याइरहेका थिए!

बाइबल बनाउने र जलाउने पक्ष आ-आफ्नो काममा किन यत्ति बिघ्न दृढ थिए? गत अंकमा हामीले बाइबल प्रकाशनको सुरुदेखि मध्य युगको अन्तसम्मको इतिहास केलाएका थियौं। अहिले हामी नयाँ युगको पहिलो किरण उदाउन लागेको समयमा आएका छौं, जुन बेला परमेश्‍वरको वचनको सन्देश र प्रामाणिकताले समाजमा निकै गहिरो छाप पार्नै लागेको थियो।

एक अग्रगामी देखा पर्छन्‌

अक्सफोर्डका सम्मानित विद्वान्‌ जोन विक्लिफले ‘परमेश्‍वरको व्यवस्था’ अर्थात्‌ बाइबललाई आधार बनाएर क्याथोलिक चर्चका गैरबाइबलीय प्रचलनहरूको घोर विरोध गर्दै प्रचार गरे, त्यसबारे सशक्‍त लेखहरू लेखे। तिनले आफ्ना अनुयायी, लोलार्डहरूलाई बेलाइतको प्रान्त प्रान्तमा सुन्‍नेहरू जत्ति सबैलाई अंग्रेजी भाषामा बाइबलको सन्देश प्रचार गर्न पठाए। सन्‌ १३८४ मा आफ्नो मृत्यु हुनुअघि तिनले ल्याटिनबाट त्यतिखेरको चलनचल्ती अंग्रेजीमा बाइबल अनुवाद गर्नथाले।

चर्चसित विक्लिफलाई घृणा गर्ने धेरै कारणहरू थिए। पहिलो त तिनले पादरीहरूको ज्यादती र अनैतिक व्यवहारको भर्त्सना गरे। त्यसबाहेक, विक्लिफका प्रशंसकहरूले आफ्नो सशस्त्र विद्रोहलाई न्यायसंगत ठहराउन तिनको शिक्षा दुरुपयोग गरे। विक्लिफ मरिसकेका भए तापनि पादरीहरूले यस्तो विद्रोहको दोष तिनलाई लगाए। तर वास्तवमा विक्लिफले हिंसात्मक विद्रोहलाई कहिल्यै समर्थन गरेका थिएनन्‌।

सन्‌ १४१२ मा पोप जोन २३ औंलाई लेखेको पत्रमा आर्कविशप अरन्डलले “हाम्रो टाउको खाने त्यो घृणित जोन विक्लिफ तिरस्कृत अनि वृद्ध साँपको बच्चा, ख्रीष्ट विरोधीको अगुवा तथा सन्तान” हो भनेर उल्लेख गरे। “हाम्रो हुनसम्म बिगार गर्न त्यसले शास्त्रपदहरूलाई मातृभाषामा नयाँ तरिकाले अनुवाद गर्ने जमर्को गरेको छ,” भन्दै अरन्डलले भएभरको रीस पोखाए। वास्तवमा, विक्लिफले मानिसहरूलाई तिनीहरूको आफ्नै भाषामा अनुवाद गरिएको बाइबल दिन खोजेकाले नै चर्चका नेताहरू असाध्यै क्रुद्ध भएका थिए।

तथापि, केही गण्यमान्य व्यक्‍तिहरूसित स्थानीय भाषामा लेखिएका बाइबलहरू थिए। तिनीहरूमध्ये एक बोहेमियाकी आन थिइन्‌, जसले १३८२ मा बेलाइतका राजा रिचर्ड द्वितीयसित विवाह गरिन्‌। तिनीसित विक्लिफको सुसमाचारका पुस्तकहरूको अंग्रेजी अनुवाद पनि थिए र तिनी नबिराई ती पढ्‌थिन्‌। स्थानीय भाषामा अनुवाद गरिएका बाइबलहरूप्रति तिनको सकारात्मक दृष्टिकोण भएकोले तिनी रानी बनिसकेपछि बाइबल अनुवाद गर्ने लहर बेलाइतमा मात्र सीमित नभई अन्त पनि फैलन थाल्यो। आनले बोहेमियास्थित प्राग विश्‍वविद्यालयका विद्यार्थीहरूलाई अक्सफोर्ड आउने प्रोत्साहन दिइन्‌। त्यहाँ तिनीहरूले विक्लिफका अनुवादहरू उत्साहपूर्वक अध्ययन गरे र तीमध्ये केही प्रतिहरू प्राग लगे। प्राग विश्‍वविद्यालयमा विक्लिफको शिक्षा लोकप्रिय भएकोले यान हसलाई निकै टेवा मिल्यो। तिनले सोही विश्‍वविद्यालयबाट शिक्षा हासिल गरेका थिए र पछि त्यहीं शिक्षकको काम पनि गरे। हसले पुरानो स्लोभेनी बाइबल सरर पढ्‌न सकिने चेकमा अनुवाद गरे। तिनको प्रयत्नले गर्दा बोहेमिया र छिमेकी मुलुकहरूमा बाइबल सजिलै पाइन थाल्यो।

चर्चको प्रतिरोध

चर्चबाट मान्यता पाइएका बाइबलहरूमा भएका फड्‌के टिप्पणीहरू अर्थात्‌ “ग्लस” बुझ्नै नसकिने अनि परम्परागत स्पष्टीकरणहरूले भरिएका हुन्थे। अतः, विक्लिफ र हसले यस्ता बाइबलहरूको ठाउँमा प्रेरित धर्मशास्त्रको मूलरूपमा केही नथपी “विशुद्ध पद[बाट]” शिक्षा दिंदा त्यो अख्तियारपूर्ण देखियो। यसकारण, पादरीहरू तिनीहरूसित क्रुद्ध भए। यी प्रचारकहरूले सर्वसाधारणसमक्ष परमेश्‍वरको वचनको विशुद्ध सन्देश पुऱ्‍याउन खोजेका थिए।

सुरक्षा प्रदान गर्ने झूटो वचन दिएर हसलाई आफ्नो सफाइ पेश गर्न १४१४ मा जर्मनीस्थित क्याथोलिक काउन्सिल अफ कन्स्टेन्ससामु उभ्याइयो। जम्मा २,९३३ जना पादरी, विशप तथा कार्डिनलहरू मिलेर गठन भएको काउन्सिलसामु तिनले धर्मशास्त्रबाटै आफ्नो शिक्षा गलत साबित भएमा उक्‍त मत त्याग्ने वचन दिए। तर काउन्सिलले खोजेको कुरा अर्कै थियो। तिनीहरूको अख्तियारलाई हाँक दिनु नै पर्याप्त थियो। त्यसैले, १४१५ मा तिनलाई काठमा जिउँदै जलाइयो। आगोले भतभती पोल्दासमेत तिनले ठूलठूलो स्वरमा प्रार्थना गरे।

यही परिषद्‌ले बेलाइतस्थित चिहानबाट जोन विक्लिफको अस्थिपञ्जर निकाली जलाउने आदेश दिएर तिनको घोर भर्त्सना तथा अपमान गऱ्‍यो। यो आदेश असाध्यै घृणास्पद भएको हुँदा पोप आफैले १४२८ मा उक्‍त आदेश पूरा गर्नुपर्ने माग नगरुञ्जेल यो त्यत्तिकै रह्‍यो। तथापि, सदाझैं यसपटक पनि सत्यका प्रेमीहरूको जोश यस्ता भीषण सतावटहरूले गर्दा सेलाएन। बरु, यसले परमेश्‍वरको वचन प्रकाशित गर्न तिनीहरूलाई अझ दृढ बनायो।

मुद्रण प्रविधिको प्रभाव

हस मारिएको ३५ वर्ष नबित्दै योआनेस गुटेनबर्गले १४५० तिर जर्मनीमा मुभेबल टाइप प्रविधिद्वारा छपाइ गर्न थाले। तिनको प्रथम अविस्मरणीय कार्य मुद्रित ल्याटिन भल्गेट थियो र यो १४५५ तिर छाप्न सकियो। सन्‌ १४९५ सम्ममा बाइबल क्रमशः जर्मन, इटालेली, फ्रान्सेली, चेक, डच, हिब्रू, कातालान, युनानी, स्पेनी, स्लाभोनी, पुर्तुगाली तथा सर्वियाली भाषाहरूमा पूर्ण वा आंशिक रूपमा छापिसकेको थियो।

डच विद्वान्‌ डेसीडर्युस इरास्मसले १५१६ मा युनानी भाषाको पहिलो पूर्ण संस्करण छापे। धर्मशास्त्र “सबै मानिसहरूका भाषामा छापिएको” इरास्मस चाहन्थे। तर, निकै ख्याति कमाएको हुनाकारण आफैले अनुवाद गरेर तिनी अरूको आँखाको कसिंगर हुन चाहँदैनन्‌ थिए। तर जे होस्‌, पछि निकै साहसी व्यक्‍तिहरू देखा पर्दै गए। तिनीहरूमध्ये विलियम टिन्डेल पनि थिए।

विलियम टिन्डेल र अंग्रेजी बाइबल

टिन्डेलले अक्सफोर्डमा शिक्षा प्राप्त गरेका थिए र १५२१ तिर तिनले सर जोन वल्शको घरमा तिनका छोराछोरीहरूलाई पढाउन थाले। वल्शको घरमा चौरासी व्यञ्जन खाने बेला युवक टिन्डेल अक्सर स्थानीय पादरीसित वादविवाद गरिरहेका हुन्थे। टिन्डेल नडराइकनै बाइबल पल्टाउँदै र शास्त्रपदहरू देखाउँदै तिनीहरूको विचारलाई चुनौती दिन्थे। समयमा वल्श दम्पती टिन्डेलले बाइबलबाट भनेको कुरामा विश्‍वस्त भए। त्यस उप्रान्त पादरीहरूलाई घरमा बोलाउने तिनीहरूको उत्साह सेलाउँदै गयो, त्यो क्रम क्रमशः घट्‌दै गयो। निस्सन्देह, यसले गर्दा पादरीहरूले टिन्डेल र तिनको विश्‍वासप्रति कटु धारणा राख्न थाले।

एक पटक विवादकै क्रममा टिन्डेलका धार्मिक विरोधीले दाबासहित यसो भने: “पोपको व्यवस्था नहुनुभन्दा त परमेश्‍वरको व्यवस्था नहुनु नै बेस हो।” टिन्डेलले यसरी जवाफ दिंदा तिनी कत्ति विश्‍वस्त थिए, कल्पना गर्नुहोस्‌: “म पोप तथा तिनका व्यवस्थाहरू ललकार्छु। परमेश्‍वरको इच्छाले बाँचिरहें भने केही वर्षभित्रै तपाईंहरूभन्दा हलो जोत्ने केटोलाई धर्मशास्त्रमा पोख्त बनाउनेछु।” टिन्डेलको संकल्पले आकार लिन थाल्यो। तिनले पछि लेखे: “मेरो अनुभव के छ भने, शास्त्रपदलाई सरल र मातृभाषामा उपलब्ध नगराउञ्जेल सर्वसाधारण जनतालाई बाइबलमा लेखेको असली कुरा यो हो भनेर औंल्याउन असम्भव हुँदो रहेछ। शास्त्रपदहरूको सार, क्रम र मर्म बुझाउन तिनीहरूको आफ्नै भाषामा बाइबल हुनु जरुरी छ।”

त्यतिखेर अंग्रेजी भाषामा एउटै बाइबल छापिएको थिएन। त्यसकारण, बाइबल अनुवाद गर्न टिन्डेल १५२३ मा विशप टन्स्टलसित अनुमति र अख्तियारनामा लिन लण्डन गए। तर तिनी हकारिए। अतः, आफ्नो उद्देश्‍य पूरा गर्न तिनले सदाका लागि बेलाइत छोडे। कलोन, जर्मनीस्थित तिनको प्रथम छापाखानामा छापा मारियो र टिन्डेल केही बहुमूल्य पृष्ठसहित बल्लतल्ल आफ्नो ज्यान जोगाएर भाग्न सफल भए। तथापि, वर्म्ज, जर्मनीमा अंग्रेजी भाषामा तिनले अनुवाद गरेका “नयाँ नियम” कम्तीमा पनि ३,००० प्रतिहरू तयार भए। यी बेलाइत पठाइए र १५२६ को प्रारम्भतिर यी वितरण गर्न थालिए। विशप टन्स्टलले आगोमा होम्न किनेका केही बाइबल यीमध्ये थिए। अनजानमा तिनले टिन्डेललाई आफ्नो काम जारी राख्न मदत गरिरहेका थिए!

अनुसन्धानको कारण मर्म अझ स्पष्ट हुन्छ

स्पष्ट छ, टिन्डेल आफ्नो कामप्रति सन्तुष्ट थिए। यसबारे क्याम्ब्रिज बाइबलको इतिहास (अंग्रेजी) यसो भन्छ, “धर्मशास्त्रले गर्दा तिनी खुशी थिए। तिनको छन्दमा बेग्लै प्रकारको सहजता र सजीवता झल्कन्थ्यो, जसबाट तिनी साँच्चै प्रसन्‍न थिए भन्‍ने आभास मिल्छ।” टिन्डेलको लक्ष्य धर्मशास्त्रले भन्‍न खोजेको कुरा सकेसम्म दुरुस्त र सर्वसाधारणले सजिलै बुझ्ने सरल भाषामा उपलब्ध गराउनु थियो। चर्चको शिक्षाले शताब्दीयौंदेखि गोप्य बनाएर राखेको बाइबलका शब्दहरूको अर्थ तिनले आफ्नो अध्ययनद्वारा थाह पाए। मृत्युको धम्की र सर थोमस मोरका भर्त्सनापूर्ण लेखहरूबाट कत्ति पनि विचलित नभई टिन्डेलले पत्ता लगाएका कुराहरू आफ्नो अनुवादमा समावेश गर्दै गए।

ल्याटिनको साटो इरास्मसको मूल युनानी पदलाई आधार बनाएर टिन्डेलले युनानी शब्द अगापे-को अर्थलाई अझ स्पष्ट पार्न “उदारताको” ठाउँमा “प्रेम” शब्द प्रयोग गरे। तिनले “चर्चको” सट्टा “मण्डली,” “चुकचुक लाग्नुको” ठाउँमा “पश्‍चात्ताप” र “पादरीहरूको” साटो “प्राचीनहरू” जस्ता शब्दहरू प्रयोग गरे। (१ कोरिन्थी १३:१-३; कलस्सी ४:१५, १६; लूका १३:३, ५; १ तिमोथी ५:१७, टिन्डेल) यस्ता परिवर्तनहरूले चर्चको अख्तियार तथा पादरीहरूकहाँ गएर पाप स्वीकार्नेजस्ता धार्मिक रीतिरिवाजलाई ठूलो हाँक दिए।

त्यसैगरि, टिन्डेलले पापमोचन स्थान र मृत्युपछि पनि सचेत अवस्था हुन्छ भन्‍ने जस्ता गैरबाइबलीय शिक्षालाई तिरस्कार गरेर “पुनरुत्थान” शब्द फेरि प्रयोगमा ल्याए। मृतकको सम्बन्धमा तिनले मोरलाई यो लेखे: “मृतकहरूलाई स्वर्ग, नरक र पापमोचन स्थानमा राखेर [तपाईंहरूले] ख्रीष्ट र पावलले पुनरुत्थानबारे दिनुभएको तर्कसहितको प्रमाणको विरोध गर्दैहुनुहुन्छ।” यसको लागि टिन्डेलले मत्ती २२:३०-३२ र १ कोरिन्थी १५:१२-१९ उल्लेख गरे। मृतकहरू भविष्यमा पुनरुत्थान नहोउञ्जेल अचेत रहन्छन्‌ भन्‍ने तिनको विश्‍वास सोह्रै आना साँचो थियो। (भजन १४६:४; उपदेशक ९:५; यूहन्‍ना ११:११, २४, २५) यसको मतलब मरियम र “सन्तहरूलाई” प्रार्थना गर्ने प्रचलन पूरा बेकार थियो किनकि अचेत अवस्थामा भएको हुँदा तिनीहरू नता प्रार्थना सुन्‍नसक्थे न ती प्रार्थना पुऱ्‍याउने मध्यस्थ नै हुनसक्थे।

टिन्डेल हिब्रू धर्मशास्त्र अनुवाद गर्छन्‌

सन्‌ १५३० मा टिन्डेलले पेन्टाटुक अर्थात्‌ हिब्रू धर्मशास्त्रका प्रथम पाँचवटा किताबहरूको संस्करण निकाले। यसरी सोझै हिब्रूबाट अंग्रेजीमा बाइबल अनुवाद गर्ने पहिलो व्यक्‍ति तिनी भए। यहोवा नाउँ प्रयोग गर्ने पहिलो अंग्रेज अनुवादक पनि टिन्डेल नै थिए। लण्डनका विद्वान्‌ डेभिड डान्यल लेख्छन्‌: “टिन्डेलका पाठकहरूलाई परमेश्‍वरको नाउँ भर्खरै मात्र प्रकाश पारिएको रहेछ भन्‍ने भान पक्कै पनि परेको हुनुपर्छ।”

स्पष्ट होस्‌ भन्‍ने हेतुले टिन्डेलले एउटा हिब्रू शब्द अनुवाद गर्न विभिन्‍न अंग्रेजी शब्दहरू प्रयोग गरे। तथापि, तिनले सकेसम्म हिब्रू व्याकरणलाई नै पछ्याए। परिणामस्वरूप, हिब्रू बाइबलको मौलिकता जोगियो। टिन्डेल आफ्नै शब्दमा भन्छन्‌: “हिब्रू भाषाका विशेषता ल्याटिनसितभन्दा अंग्रेजीसित हजारौं गुणा बढी मेल खान्छ। यी दुइ भाषा बोल्ने तरिका पनि उस्तै उस्तै छ। त्यसैकारण, प्रायः सबै ठाउँमा अंग्रेजीमा शब्द शब्द अनुवाद गरे मात्रै पुग्छ।”

मुख्यतया टिन्डेलले यसरी अक्षरशः अनुवाद गरेको हुँदा तिनको बाइबल हिब्रू अभिव्यक्‍तिले पूरै भिजेको पाइन्छ। तीमध्ये कुनै कुनै पहिलो पटक पढ्‌दा कसै कसैलाई पक्कै पनि नौलो लागेको हुनुपर्छ। यद्यपि, अन्ततः तिनको बाइबल यत्ति लोकप्रिय भयो कि आज यसका कतिपय अभिव्यक्‍तिहरू अंग्रेजी भाषाको अभिन्‍न भाग नै बन्‍न पुगेको छ। उदाहरणका लागि, “अ म्यान आफ्टर हिज ओन हार्ट” (मन खाने) (१ शमूएल १३:१४ मा जस्तै), “पासओभर” (निस्तार) र “स्केपगोट” (बलिको बोको) आदि। यसको अतिरिक्‍त तिनको बाइबलले गर्दा अंग्रेजी पाठकहरू हिब्रू विचारसित परिचित भए। फलतः तिनीहरूले प्रेरित धर्मशास्त्रमा अझ राम्रो अन्तरदृष्टि पाए।

बाइबल तथा टिन्डेल प्रतिबन्धित

आफ्नै भाषामा परमेश्‍वरको वचन पढ्‌न पाउने सम्भावना निकै रोमाञ्चक थियो। लत्ताकपडाको थान वा अन्य सामानहरूबीच लुकाएर तस्करी गरिएका जम्मै बाइबल बेलाइती जनताले किने। यसरी मानिसहरूले चर्चको अख्तियारको साटो बाइबललाई नै अन्तिम एक मात्र अख्तियारको रूपमा लिएमा आफ्नो अख्तियार कम हुनेछ भनेर पादरीहरूले चिन्ता गर्न थाले। फलतः बाइबल अनुवाद गर्नु वा बाइबल अनुवादकलाई समर्थन गर्नु जीवन र मरणको निर्णय हुन थाल्यो।

चर्च र राष्ट्रको निरन्तर खेदाइमा परे तापनि टिन्डेलले एन्टवर्प, बेल्जियममा गोप्य तरिकाले आफ्नो काम जारी राखे। तैपनि, तिनी हप्तामा दुइ दिन गरिब तथा रोगी अंग्रेज शरणार्थीहरूको सेवा गर्थे। तिनको भनाइअनुसार तिनलाई यसो गर्दा रमाइलो लाग्थ्यो। तिनले आफ्नो धेरैजस्तो पैसा यी पीडित व्यक्‍तिहरूको सेवामा खर्च गरे। हिब्रू धर्मशास्त्रका अन्तिम भागहरू अनुवाद गर्नु अगावै टिन्डेललाई ढोंगी अंग्रेज मित्रले पैसाको खातिर विश्‍वासघात गऱ्‍यो। भिलभोर्डे, बेल्जियममा १५३६ मा प्राणदण्ड दिइँदा तिनले बोलेका अन्तिम शब्दहरू थिए, “हे, प्रभु! बेलाइती नरेशका आँखा खोलिदेऊ।”

सन्‌ १५३८ तिर बेलाइती नरेश हेन्री आठौंले आफ्नै मनसाय पूरा गर्न बेलाइतभरिका सबै चर्चमा बाइबलहरू राख्ने आदेश दिए। हुन त टिन्डेलकै अनुवाद छानियो तापनि तिनलाई अनुवादको कुनै श्रेय दिइएन। यसप्रकार, टिन्डेलको मेहनतले प्रसिद्धि पायो र त्यसलाई सबैले मन पराउन थाले। यहाँसम्म कि टिन्डेलको बाइबल पछि अंग्रेजीमा “अनुवाद गरिएका अन्य धेरैजसो अनुवादको लागि आधार भयो।” (क्याम्ब्रिज बाइबलको इतिहास) टिन्डेलको अनुवादका ९० प्रतिशत जत्ति अंश १६११ को किङ जेम्स भर्सन-मा दुरुस्त सारिएको थियो।

बाइबल सबैले राख्न पाउने स्वतन्त्रताको अर्थ बेलाइतमा ठूलठूला परिवर्तनहरू हुनु थियो। चर्चहरूमा राखिएका बाइबलहरूबाट गरिने छलफल यत्ति सजीव हुन्थे, कहिलेकाहीं यी छलफलको कारण चर्चका अन्य कामहरूमै बाधा पुग्थ्यो! “परमेश्‍वरको वचन पढ्‌न सकोस्‌ भनेर वृद्धहरूले पढ्‌न सिके र केटाकेटीहरू ठूलाबडाले पढेको सुन्‍न थाले।” (अंग्रेजी बाइबलको संक्षिप्त इतिहास [अंग्रेजी]) त्यसबेला अन्य युरोपेली मुलुक तथा भाषाहरूमा पनि छक्कलाग्दो ढंगमा बाइबलको विस्तृत वितरण हुन थाल्यो। तर बेलाइतमा भएको यो बाइबलसम्बन्धी गतिविधिले विश्‍वभरि नै जोडदार प्रभाव पार्न लागेको थियो। यो कसरी भयो? अनि थप खोज तथा अनुसन्धानले आज हामीले प्रयोग गर्ने बाइबलमा कस्तो प्रभाव पारे? यस लेखको अन्तिम श्रृंखलामा हामी खुलाउनेछौं।

[पृष्ठ २६-मा भएको चित्र]

टिन्डेलको १५२६ तिरको “नयाँ नियम” अर्थात्‌ अहिलेसम्म थाह भएअनुसार आगोमा होमिनबाट जोगिएको एक मात्र पूर्ण प्रति

[स्रोत]

© The British Library Board

[पृष्ठ २६,२७-मा भएको तालिका/चित्रहरू]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

बाइबलको रूपान्तरमा महत्त्वपूर्ण मितिहरू

सामान्य युग

विक्लिफ बाइबलको प्रयोग सुरु (१३८४ अघि)

१४००

हसलाई १४१५ मा प्राणदण्ड दिइयो

गुटेनवर्ग —१४५५ तिर पहिलो पटक छापिएको बाइबल

१५००

स्थानीय भाषाहरूमा पहिलो पटक छापिएका बाइबलहरू

इरास्मसको युनानी ग्रन्थ १५१६

टिन्डेलको १५२६ तिरको “नयाँ नियम”

टिन्डेललाई १५३६ मा प्राणदण्ड दिइयो

हेन्री आठौंले १५३८ मा चर्चहरूमा बाइबल राख्ने आदेश दिए

१६००

किङ जेम्स भर्सन १६११

[चित्रहरू]

विक्लिफ

हस

टिन्डेल

हेन्री आठौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने