जब परम्परा र सच्चाइ विरोधाभासपूर्ण हुन्छ
खतरा—पानी पिउनको लागि योग्य छैन। हामीले यस्ता चेताउनीहरू देखेका छौं होला। धेरै इलाकाका मानिसहरू पिउने पानीको विषयमा होशियार छन्। किनभने, पानीका केही स्रोतहरू विषाक्त पारिएका छन् भनेर तिनीहरूलाई थाह छ। त्यसलाई “विषालु सम्मिश्रण” पनि भनिन्छ। यस प्रदूषणको परिणामबारे एउटा प्रतिवेदनले यसरी बताउँछ, पानी “जीवनको पोषक तथा संरक्षक” हुनुको साटो “रोगका जीवहरू र . . . रासायनिक प्रदूषकहरूको प्रसारक” हुनसक्छ।—वटर पलुशन।
सच्चाइको पानी प्रदूषित गर्ने
सच्चाइसित विरोधाभासपूर्ण परम्पराहरू प्रदूषित पानीको स्रोतजस्तै हुन्। हामीले अनजानमै पुस्तौंदेखि चल्दै आएका सूचना, विचारधारा, वा प्रथाहरू अर्थात् परम्पराहरूलाई पालन गरिरहेका छौं होला। वास्तवमा ती झूट, गलत धारणा र दर्शनविद्याको “विषालु सम्मिश्रण”-द्वारा प्रदूषित भएका छन्। शरीरमा दूषित पानीले असर गरेझैं यसले आध्यात्मिकतामा असीम हानि पुऱ्याउनसक्छ।
हामीलाई आफ्नो परम्परागत धार्मिक विश्वासहरू बाइबलमा आधारित छन् जस्तो लागे तापनि त्यसलाई होशियारीपूर्वक जाँच्ने समय निकाल्नुपर्छ। स्मरण रहोस्, मार्टिन लुथरले आफ्नो समयको परम्परागत धारणालाई स्वीकारेर कपर्निकसको विचारलाई अस्वीकार गरेका थिए। बाइबलले आफ्नो विचारधारालाई समर्थन गर्छ भनी तिनले सोचेका थिए। यद्यपि, तिनी पुरातन बिरीयाका मानिसहरूको उदाहरणलाई पछ्याउन असफल भए। किनभने, त्यहाँका ‘ती मानिसहरूले हृदयमा ज्यादै तयारी भएर धर्मशास्त्रमा खोजी गर्थे।’—प्रेरित १७:१०, ११.
येशूका समयका यहूदीहरूको परम्परागत धारणाले गरेको हानिबारे सोच्नुहोस्। तिनीहरू जोशिलो भई आफ्नो परम्परा साँचो हो भनी विश्वास गर्थे। येशूका चेलाहरूले परम्पराहरू पालन गरेनन् भनेर तिनीहरूले विरोध जनाउँदा उहाँले यसरी प्रश्न गरेर तिनीहरूलाई चुनौती दिनुभयो: “तिमीहरू पनि किन तिमीहरूका रीतिद्वारा परमेश्वरका आज्ञा भङ्ग गर्दछौ?” (मत्ती १५:१-३) गल्ती कहाँ भयो? समस्यालाई संकेत गर्दै येशूले यशैया अगमवक्ताको शब्दहरूलाई यसरी उद्धृत गर्नुभयो: “मानिसका आदेशहरू तिनका सिद्धान्त जस्तागरी तिनीहरू व्यर्थमा मेरो [परमेश्वरको] उपासना गर्दछन्।”—मत्ती १५:९; यशैया २९:१३.
हो, तिनीहरूले परमेश्वरका सच्चाइहरूको ठाउँमा मानिसका वा त्योभन्दा खराब, पिशाचहरूका विचारहरू राखे। उदाहरणका लागि, इन्साइट अन द स्क्रिप्चर्स (धर्मशास्त्रमाथि अन्तरदृष्टि), खण्ड १, पृष्ठ ५०६ ले यसरी बयान गर्छ: “त्यस समयका फरिसीहरूले के शिक्षा दिन्थे भने, कसैले आफ्नो सम्पत्ति परमेश्वरलाई ‘कोर्बान’ वा उपहार भनी समर्पण गरिसकेपछि उसले ती कुराहरू आफ्नो आमाबाबुको खाँचोलाई पूरा गर्न चलाउन सक्दैन थियो। चाहे तिनीहरू जति नै खाँचोमा किन नहोस्। तर तिनले चाहेको खण्डमा मृत्युपर्यन्त आफ्नो लागि त्यो सम्पत्ति प्रयोग गर्नसक्थ्यो।” सच्चाइको पानीलाई दूषित पार्ने यस्तो मानव ज्ञानले यहूदीहरूलाई आध्यात्मिक तवरमा नराम्रो प्रभाव पारेको थियो। अधिकांश मानिसहरूले त धेरै अघिदेखि प्रतीक्षा गरेको मसीहलाई समेत इन्कार गरे।
मसीहीजगतद्वारा थप प्रदूषण
यस्तै आध्यात्मिक हानि येशूको मृत्युपछि भएको थियो। उहाँका अनुयायीहरू हौं भनी दाबा गर्ने धेरैले मौखिक परम्परालाई नयाँ शिक्षाहरूको अख्तियारको रूपमा लिन आग्रह गरे। क्लिन्टक र स्ट्रंगको साइक्लोपीडिया अफ बिब्लिकल, थियोलजिकल, एण्ड एक्लिजियास्टिकल लिट्रेचर-अनुसार केही मसीही भनौंदाहरूले के विश्वास गर्थे भने, यस्ता “परम्परा प्रथम मसीही मण्डलीहरूका प्रेरितहरूको समयदेखि मौखिक रूपमा प्राप्त निर्देशन हो र तिनीहरूको समयसम्म त्यो यथावत् सुरक्षितै थियो।”—तेर्सो अक्षर हाम्रो।
यथार्थमा, यी अधिकांश परम्पराहरू अशुद्ध र गलत धारणाहरूले परिपूर्ण थिए। साइक्लोपीडिया-अनुसार यी नयाँ दर्शनविद्याहरू “एकाअर्काभन्दा भिन्न मात्र थिएनन् तर तिनीहरूसित उपलब्ध प्रेरितहरूका लेखोटहरूभन्दा पनि भिन्नै थिए।” यो अप्रत्याशित कुरा थिएन। प्रेरित पावलले मसीहीहरूलाई यसरी चेताउनी दिए: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको तत्त्वज्ञानअनुसारको र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।”—कलस्सी २:८.
आज पनि यस्ता धेरै परम्परागत धारणाहरू ‘प्रेरितहरूका लेखोटहरूसित मेल खाँदैनन्।’ मसीहीजगतले त्रिएक, अग्निकुण्ड, मानव प्राणको अमरता, राष्ट्रवाद र मूर्तिपूजाजस्ता पिशाचप्रेरित अनगिन्ती विचारधाराहरूद्वारा सच्चाइको पानीलाई दूषित बनाएको छ।a (१ तिमोथी ४:१-३) इतिहासले मसीहीजगतको पिशाचप्रेरित परम्परागत शिक्षाहरूको शिकार भएका मानिसहरूको आध्यात्मिक बिमारीबारे पुष्टि गर्छ।—यशैया १:४-७ तुलना गर्नुहोस्।
सच्चाइलाई यसरी दूषित पार्ने काम मान्छेको सृष्टि भएदेखि नै चल्दै आएको छ। शैतानले अदनमा मानिसको मनलाई झूट र धोकाद्वारा दूषित पारेपछि त्यो कार्य त्यसले निरन्तर गरिरहेको छ। (यूहन्ना ८:४४; २ कोरिन्थी ११:३) नूहको जलप्रलयपश्चात् मानव परिवार पृथ्वीमा फिंजिए र विभिन्न सांस्कृतिक पृष्ठभूमि भएका सम्पूर्ण मानिसहरू पिशाचप्रेरित दर्शनविद्या र विचारहरू मुछिएको मानव ज्ञानद्वारा जुक्तिपूर्ण ढंगमा गरिएको प्रदूषणको शिकार भए।
आध्यात्मिक प्रदूषणका असरहरू
यस्तो आध्यात्मिक प्रदूषणले कस्तो हानि गर्नसक्छ? हामी यसलाई प्रदूषित पानीले शारीरिक स्वास्थ्यमा पार्ने असरसित तुलना गर्नसक्छौं। एक विशेषज्ञ यसरी बताउँछन्: “लगभग २० करोड मानिसहरू छालामा दूषित पानीको असरले गर्दा हुने स्किस्टोजोमाइसिस् (बिल्हार्जिया) बिमारीको [रक्तअल्पता, आराम महसुस नहुने, सामान्य अस्वस्थपन र मृत्युसमेत गराउने ज्वरो] शिकार भएका छन्। नुहाउने पानी दूषित हुनाले पचास करोड मानिसहरू अन्धो हुनसक्ने प्रमुख रोग ट्रकोमाबाट पीडित छन्। . . . दुइ अरब मानिसहरूले स्वच्छ पानी पिउन पाएका छैनन्।” (आवर कन्ट्री, द प्लानेट) पिशाचप्रेरित अशुद्ध परम्पराहरू पालन गरेको परिणामस्वरूप करोडौं मानिसहरू आध्यात्मिक तवरमा दुर्बल, अन्धा भएका र मरेकासमेत छन्।—१ कोरिन्थी १०:२०, २१; २ कोरिन्थी ४:३, ४.
उदाहरणका लागि, येशू ख्रीष्ट र उहाँको पिता यहोवा परमेश्वरबीचको सम्बन्धबारे धेरै अन्योलमा परेका वा अन्धाजस्तै भएका छन्। मसीही हौं भनी दाबा गर्नेहरूले मसीही युनानी धर्मशास्त्रबाट परमेश्वरको पवित्र नाउँ, यहोवा नै हटाउने चलन बनाए। जर्नल अफ बिब्लिकल लिट्रेचर-मा जर्ज हावर्ड यसो भन्छन्: “हाम्रो विचारमा टेट्रागमा[अटन] हटाउनाले प्राचीन अन्यजाति मसीहीहरू ‘प्रभु परमेश्वर’ र ‘प्रभु ख्रीष्ट’ बीचको सम्बन्धबारे अन्योलमा परे।”
मानव आत्मा अमर हुन्छ भन्ने अशास्त्रीय परम्पराद्वारा उत्पन्न गोलमाल, अन्धविश्वास र भयबारे पनि सोच्नुहोस्। (तुलना गर्नुहोस् उपदेशक ९:५; इजकिएल १८:४) कति मानिसहरू पितृ उपासनाको बन्धनमा परेका छन् वा मृतकहरू तिनीहरूलाई हानि गर्न आउने डरले हर समय थुरथुर छन्? यो विश्वासद्वारा मानिसहरूलाई आत्महत्या र अरूको हत्या गर्ने प्रोत्साहनसमेत मिलेको छ।
अधिकांश जापानीहरू के विश्वास गर्छन् भने मृत्युपछिको अर्को जीउनीमा तिनीहरूको आत्माको पुनर्मिलन हुन्छ। तसर्थ, आत्महत्या गर्न चाहने केही आमाबाबुहरूले आफ्ना छोराछोरीहरूको पनि हत्या गर्नु बेस ठान्छन्। एन इंग्लिश डिक्शनरी अफ जापानिज वेज् अफ थिङकिङ-ले यसरी बयान गर्छ: “जापानमा आत्महत्याको भर्त्सना सधैं गरिंदैन तर आफ्नो गम्भीर भूलप्रति गरिने क्षमायाचनाको रूपमा अक्सर मान्दछन्। पारिवारिक आत्महत्याहरूसमेत सहानुभूतिशील शब्दहरूद्वारा रिपोर्ट गरिएको हुन्छ।”
परम्पराहरूलाई जाँच्नुहोस्
आँखा चिम्लेर परम्परागत धारणा तथा प्रथाहरू पालन गर्दा हुने खतराहरूको कारण हामीले के गर्नुपर्ने हो? यसबारे प्रेरित यूहन्नाले प्रथम शताब्दीको अन्ततिर आफ्ना सँगी मसीहीहरूलाई यसरी सल्लाह दिए: “हे प्रिय हो, जुनसुकै आत्माको पत्यार नगर, तर परमेश्वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर [जसरी शुद्ध पानी जाँच्छौं]। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्किआएका छन्।” (१ यूहन्ना ४:१; १ थिस्सलोनिकी ५:२१ पनि हेर्नुहोस्।) परम्परा हानिकारक हो कि होइन भनी तपाईं कसरी थाह पाउनुहुन्छ? तपाईंले विश्वास गर्नुभएको धारणालाई जाँच्न केही प्रामाणिक तथा पवित्र पुस्तकको खाँचो छ।
बाइबल यस्तो पुस्तक हो। येशू ख्रीष्टले यसरी भन्नुभयो: “सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्, तपाईंको वचन सत्य हो।” (यूहन्ना १७:१७) उहाँले यसो पनि भन्नुभयो: “तर बेला आँउछ, र अहिल्यै हो, जब साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्।” (यूहन्ना ४:२३) परमेश्वरको प्रेरित वचन प्रयोग गर्नाले मानव र पैशाचिक दर्शनविद्याको प्रदूषित पानीको साटो तपाईंले सच्चाइको शुद्ध पानी पाउनुहुन्छ।—यूहन्ना ८:३१, ३२; २ तिमोथी ३:१६.
स्मरण रहोस्, थोरै मात्र प्रदूषणले पनि भयानक परिस्थितिहरू सृजना गर्नसक्छ। कहिलेकाहीं यसको असर देखापर्न वर्षौं लाग्छ। वर्ल्ड कन्सर्भेशन युनियनको भूतपूर्व अध्यक्ष श्रीदाथ रम्फाल भन्छन्: “दूषित पानी “विश्वको सबैभन्दा डरलाग्दो हत्यारा साबित भएको छ। यस्तो पानीको प्रयोगले हरेक दिन कम्तीमा २५,००० मानिसहरू मर्छन्।” त्यस्तै प्रकारले आध्यात्मिक तवरमा दूषित परम्पराहरू खतरनाक हुन्छन्।
वर्षौंदेखि पालन गर्दै आउनुभएको परम्परागत धारणाहरू सच्चाइसित विरोधाभासपूर्ण साबित भएमा के तपाईंसित त्यसलाई त्याग्ने साहस छ? चेताउनीहरूलाई ध्यान दिनुहोस्। परमेश्वरको शुद्ध तथा सत्य वचनअनुरूप तपाईंको परम्परा छ भनेर पक्का हुनुहोस् अनि आफू र आफ्नो परिवारको सुरक्षा गर्नुहोस्।—भजन १९:८-११; हितोपदेश १४:१५; प्रेरित १७:११.
[फुटनोट]
a यस्ता शिक्षाहरू बाइबलमा आधारित होइनन् भन्ने प्रमाणको लागि रिजनिङ फ्रम द स्क्रिप्चर्स (धर्मशास्त्रबाट तर्क गर्ने) पुस्तक हेर्नुहोस्। यो पुस्तक वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित हो।
[पृष्ठ ७-मा भएको चित्र]
परमेश्वरको सत्य वचन शुद्ध र स्वच्छ नदीजस्तै हो