के तपाईं बाइबलमाथि विश्वास गर्न सक्नुहुन्छ?
अहिले यो आधुनिक जगत्मा पनि बाइबलमाथि विश्वास गर्नेहरू उत्तिकै छन्। उदाहरणका लागि, अमेरिकामा हालै ग्यालप सर्वेक्षण लिइँदा ८० प्रतिशतले बाइबल परमेश्वरको प्रेरित वचन हो भनेर विश्वास गरेको पाइयो। यसरी विश्वास गर्नेहरूको संख्या तपाईंको इलाकामा सायद योभन्दा बढी वा कम होला र पनि कुरा त के हो भने, यस्ता विश्वासीहरूले चर्चमा बाइबलबाट शिक्षा दिइएको आशा गर्छन्। तर अक्सर त्यसो भएको छैन। उदाहरणका लागि, मृत्युपछि आत्माले पाउने दण्डलाई नै लिनुहोस्।
के बाइबलमा कतै पापमोचनस्थल अथवा दनदनी आगो बल्ने नर्कबारे सिकाइएको छ? यो प्रश्न गरेमा आज मसीहीजगत्का थुप्रै शास्त्रविद्हरूले छैन भनेर जवाफ दिनेछन्। न्यु क्याथोलिक इन्साइक्लोपीडिया बताउँछ: “सबै कुरा विचार गरेर हेर्दा, पापमोचनस्थलसम्बन्धी क्याथोलिक शिक्षा पवित्र धर्मशास्त्रमा होइन परम्परामा आधारित छ।” नर्कबारे अ डिक्सनरी अफ क्रिश्चियन थियोलोजी यस्तो टिप्पणी गर्छ: “नर्कको आगोबारे प्रारम्भिक मसीहीहरूले प्रचार गर्थे भनेर नयाँ नियममा हामी कतै उल्लेख भएको पाउँदैनौं।”
वास्तवमा, चर्च अफ इंग्ल्याण्डको शिक्षण आयोगले नर्कको आगोको शिक्षालाई पूर्णतया बहिष्कार गर्न सिफारिश गर्दा हालै यो प्रमुख समाचार बनेको थियो। लिचफिल्ड क्याथेड्रलका डीन, डा. टम राइटले विगतमा नर्कबारे गरिएको परिकल्पनाले “परमेश्वरलाई दानव बनाएको थियो र यसले थुप्रैलाई ठूलो मानसिक क्षति पुऱ्याएको थियो।” आयोगको रिपोर्टले नर्कलाई “पूर्णतया अस्तित्व विहीन” भनेर व्याख्या गरेको छ।a त्यसैगरि, न्यु क्याथोलिक इन्साइक्लोपीडिया क्याथोलिकहरूको दृष्टिकोणबारे यस्तो टिप्पणी गर्छ: “आज धर्मविज्ञानले नर्क र परमेश्वरको कुनै सम्बन्ध नै छैन भन्ने दृष्टिकोण राख्छ।”
वास्तवमा, पापमोचनस्थल तथा नर्कको आगोसम्बन्धी शिक्षा आत्माबारे बाइबलले सिकाउने शिक्षा विपरीत छ। बाइबलले अक्सर आत्माको मृत्युबारे कुरा गरेको छ। ‘जुन आत्माले (प्राणीले) पाप गर्छ त्यो मर्छ।’ (इजकिएल १८:४; तुलना गर्नुहोस् किङ जेम्स र क्याथोलिक डुवे भर्सन।) बाइबलअनुसार मृतकहरूको चेतना हुँदैन, तिनीहरू पीडा महसुस गर्नसक्दैनन्। “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्।” (उपदेशक ९:५) मृतकहरूको भविष्यमा पुनरुत्थान हुनु बाइबलमा मृतकहरूका लागि दिइएको आशा हो। आफ्नो मित्र लाजरसको मृत्यु हुँदा येशूले मृत्युलाई निद्रासित तुलना गर्नुभयो। लाजरसकी दिदी मार्थाले यसो भन्दा बाइबलको शिक्षामाथि आशा व्यक्त गर्दैथिइन्: “म जान्दछु, कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।” लाजरसलाई केही समयका लागि मृत्युबाट बिउँताउनु भएर येशूले मानिसजातिलाई त्यस आशाको प्रमाण दिनुभयो।—यूहन्ना ५:२८, २९; ११:११-१४, २४, ४४.
मानिसमा छुट्टै एउटा अमर आत्मा छ भन्ने शिक्षाको स्रोत बाइबल होइन तर युनानी दर्शन हो भनेर इतिहासकारहरूले देखाएका छन्। पुरातन समयका हिब्रूहरूले मानिसलाई भौतिक शरीर र अभौतिक आत्माको समिश्रण ठान्दैनथे भनी न्यु क्याथोलिक इन्साइक्लोपीडिया उल्लेख गर्छ। उक्त कोशले यस हिब्रू विश्वासबारे पनि यसो भन्छ: “परमेश्वरले भूमिबाट बनाउनुभएको प्रथम मानिसभित्र जीवनको सास पस्दा ऊ ‘जीवित व्यक्ति’ भयो (उ[त्पत्ति] २.७)। युनानी दर्शनमा जस्तो मृत्यु हुँदा मानिसका दुई फरक फरक तत्त्वहरू अलग हुन्छन् भन्ठानिंदैन थियो; जीवनको सास मानिसबाट निस्कन्छ र मानिस ‘मृत व्यक्ति’ हुन्छ (ले[वी] २१.११; ग[न्ती] ६.६; १९.१३)। दुवै अवस्थामा ‘व्यक्ति’ भनी चलाइएको हिब्रू शब्दलाई [ नेफेस] अक्सर ‘आत्मा’ भनेर अनुवाद गरिन्छ तर वास्तवमा त्यसलाई मानिसै सम्झिइन्छ।
हालै क्याथोलिक शास्त्रविद्हरूले “न[याँ] नि[यमले] हेलिनिस्टिक [युनानी] शिक्षाले सिकाएझैं आत्मा अमर छ भनेर सिकाउँदैन भनी समर्थन गरेको” सोही इन्साइक्लोपीडिया उल्लेख गर्छ। अनि अन्तमा यसो भन्छ: “यो समस्याको आधारभूत समाधान दार्शनिक परिकल्पनामा होइन तर पुनरुत्थानको अलौकिक उपहारमा पाइन्छ।”
बाइबल कि परम्परा?
त्यसोभए, गैरबाइबलीय विचारहरू चर्चको शिक्षाको भाग कसरी हुन गयो त? बाइबल नै आफ्नो सबैभन्दा आधिकारिक स्रोत हो भनेर थुप्रै चर्चहरू दाबी गर्छन्। उदाहरणका लागि, पोप जन पल द्वितीयले धर्मशास्त्रलाई “सच्चाईको रूपमा विश्वासीहरूले पूर्णतया ग्रहण गर्नु र हाम्रो विश्वासको सर्वोच्च स्तरको रूपमा मान्नु” आवश्यक छ भनेको धेरै भएको छैन। तथापि, प्रथम शताब्दीमा मसीहीहरूले दिने शिक्षासित आजका मसीहीजगत्को शिक्षा मेल खाँदैन भनेर सामान्यतया सबैले मान्छन्। अधिकांश चर्चहरू यी परिवर्तनहरूलाई चर्चको शिक्षामा बिस्तारै बिस्तारै भएको विकास ठान्छन्। यसबाहेक, क्याथोलिक चर्चले चर्चको परम्पराको पनि धर्मशास्त्रकै जति महत्त्व छ भन्ने दृष्टिकोण राख्छ। न्यु क्याथोलिक इन्साइक्लोपीडिया भन्छ, “चर्चले परम्पराबाट अलग रहेर धर्मशास्त्र आधारमा मात्र शिक्षा दिंदैन। नता धर्मशास्त्र प्रयोग नै नगरी परम्पराको आधारमा मात्रै शिक्षा दिन्छ।
इतिहासअनुसार चर्चले धर्मशास्त्रीय शिक्षाको ठाउँमा परम्परामा आधारित शिक्षाहरू गाभेका छन्। वास्तवमा, थुप्रै चर्चहरू अहिले बाइबलको शिक्षा गलत छ भन्छन्। उदाहरणका लागि, न्यु क्याथोलिक इन्साइक्लोपीडिया “बाइबलका प्रायजसो विवरणलाई विज्ञान तथा इतिहासको आधुनिक ज्ञानअनुसार समालोचना गर्दा ती प्रत्यक्षतः सही ठहरिंदैनन्” भन्छ। मृतकहरू अचेत हुन्छन् भन्ने बाइबलीय शिक्षाको सम्बन्धमा यसले अझै यसो भन्छ: “मृत्युपछिको जीवनजस्ता धार्मिक कुराहरूमा समेत पु[रानो] नि[यमले] . . . अपूरो ज्ञानको प्रमाण दिन्छ।” यसको एउटा उदाहरणको लागि उक्त इन्साइक्लोपीडिया भजन ६:५ (र कुनै कुनै बाइबलमा पद ६) उद्धरण गर्छ: “मरेपछि तपाईंको सम्झना हुँदैन, पातालमा [वा, हेडिसमा] कसले तपाईंलाई धन्यवाद दिनेछ र?” केही प्रोटेस्टेन्ट संस्थान तथा कलेजहरूले बाइबल त्रुटिरहित छ भनेर सिकाउन छोडेका छन्। अर्कोतिर क्याथोलिक चर्चले सिकाउने अधिकार आफूमा मात्र निहित छ र यही अधिकारको कारण तिनीहरू बाइबलका शिक्षाहरू अर्थाउँछन् भन्ने विश्वास गर्छन्। यद्यपि, ‘यसरी अर्थाउँदा ती धर्मशास्त्र विपरीत देखिए भने के होला’ भनी तपाईंलाई ताजुब लाग्ला।
धर्मशास्त्रको महत्त्व
येशूले धर्मशास्त्रको आधिकारिक स्रोत छ भनेर बारम्बार भन्नुहुन्थ्यो र कुरा थाल्दा अक्सर “यस्तो लेखिएको छ” भन्नुहुन्थ्यो। (मत्ती ४:४, ७, १०; लूका १९:४६) येशूले मानिसको वैवाहिक जीवनबारे कुरा गर्नुहुँदा युनानी दर्शनतर्फ होइन तर उत्पत्तिको सृष्टितर्फ ध्यान खिच्नुभयो। (उत्पत्ति १:२७; २:२४; मत्ती १९:३-९) स्पष्ट छ, येशू धर्मशास्त्रलाई ईश्वरप्रेरित र तथ्यपूर्ण मान्नुहुन्थ्यो। परमेश्वरलाई प्रार्थना गर्दै उहाँले यसो भन्नुभयो: “तपाईंको वचन सत्य हो।”—यूहन्ना १७:१७.b
येशूले आफ्नो जमानाका धार्मिक नेताहरूको यसरी भर्त्सना गर्नुभएको रेकर्ड पनि बाइबलमा छ: “तिमीहरू आफ्ना रिवाज मान्नालाई कति सजिलोसँग परमेश्वरको आज्ञा टारिदिन्छौ। . . . तिमीहरूले चलाएको रिवाज परमेश्वरको वचनलाई टारेर यस्तै धेरै कामहरू तिमीहरू गर्दछौ।” (मर्कूस ७:६-१३) त्यसैगरि, युनानी दर्शन वा त्रुटिपूर्ण परम्पराहरूलाई आफ्नो शिक्षामा समावेश गराउने दबाबलाई प्रेरित पावलले तिरस्कार गरे। तिनले यस्तो चेताउनी दिए, “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।” (कलस्सी २:८; १ कोरिन्थी १:२२, २३; २:१-१३) पावलले मसीहीहरूलाई कायमै राख्नु भनेका केही परम्परा वा शिक्षाहरू पनि थिए, तर यी सबै धर्मशास्त्रमा आधारित हुनुका साथै पूर्णतया धर्मशास्त्रअनुरूप थिए। (२ थिस्सलोनिकी २:१३-१५) पावलले लेखे, “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र . . . उपयोगी हुन्छ, र परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।”—२ तिमोथी ३:१६, १७.
पावलले धर्मशास्त्रबाट तर्कनेबारे पूर्वाभास पाइसकेका थिए। तिनले तिमोथीलाई यसरी चेताउनी दिए: “यस्तो समय आउनेछ, जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्, . . . सत्यतर्फबाट कान फर्का[उनेछन्]।” तिनले तिमोथीलाई आग्रह गरे: “तर तिमी चाहिं सब कुराहरूमा सचेत होऊ।” (२ तिमोथी ४:३-५) तर कसरी? एउटा तरिका “उत्तम” हुनु हो। युनानी शब्दकोशले बाइबलको यो शब्दलाई “निष्पक्ष भई केही कुरा सिक्ने वा मूल्यांकन गर्ने इच्छुकता” भनेर व्याख्या गरेको छ। लूकाले यो अभिव्यक्ति पावलको कुरा सुनिरहेका बिरियाका प्रथम शताब्दीय स्रोताहरूबारे वर्णन गर्दा प्रयोग गरेका थिए। पावलले सिकाएको कुरा तिनीहरूका लागि नौलो थियो र तिनीहरू बहकिन चाहँदैनथे। तिनीहरूको सराहना गर्दै लूकाले लेखे: “[बिरियाकाहरू] ता थिस्सलोनिकीहरूभन्दा उत्तम थिए। किनभने यिनीहरूले हृदयमा ज्यादै तयारी भएर धर्मशास्त्र ग्रहण गरे, र ती कुराहरू ठीक हुन् कि होइनन् भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।” उत्तम हुनुको अर्थ बिरियाबासीहरू शंकालु थिए वा कुनै पनि कुरा पत्याउन मन गर्दैनन् थिए भन्ने होइन। बरु, इमानदार भई तिनीहरूले गरेको जाँचपड्ताल गरेको हुँदा “धेरैले विश्वास गरे।”—प्रेरित १७:११, १२.
बाइबलअनुसार जीवनयापन गर्नुका फाइदाहरू
प्रारम्भिक मसीहीहरू बाइबलको पालना तथा आत्मत्यागी प्रेम दुवैका लागि उल्लेखनीय थिए। तथापि, आज, थुप्रै मानिसहरूले “भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने [भएका छन्]।” (२ तिमोथी ३:५) प्रारम्भिक मसीहीधर्मसँग मेल नखाने जुनसुकै मसीहीधर्ममा मानिसको जीवन सुधार्नसक्ने साँचो शक्ति हुनसक्दैन। मसीहीजगत्मा हिंसा, अनैतिकता, परिवार टुक्रनु र भौतिकवाद बढ्नुको कारण यसैबाट बुझिंदैन र? कुनै कुनै “मसीही” मुलुकहरूमा एउटै धर्म मान्नेहरूबीच समेत हिंस्रक जातीय दंगा चर्केका छन्।
के बिरियावासीहरूको जस्तो उत्तम मनोवृत्ति तिनीहरू जस्तै सेलाएर गयो त? के आज पनि बाइबलमा विश्वास गर्ने र त्यसअनुसार जीवन बिताउनेहरू छन्?
इन्साइक्लोपीडिया क्यानेडियाना-मा यस्तो उल्लेख गरिएको छ: “यहोवाका साक्षीहरू यस युगको सुरुका प्रथम र दोस्रो शताब्दीतिर येशू र उहाँका चेलाहरूले पालन गरेका पुरातन मसीहीधर्मको पुनर्स्थापना गर्ने तथा पुनर्जागृत गराउने काम गर्छन्।” साक्षीहरूबारे उल्लेख गर्दै न्यु क्याथोलिक इन्साइक्लोपीडिया उल्लेख गर्छ: “तिनीहरू आफ्नो विश्वास तथा आचरणको एक मात्र स्रोत बाइबललाई मान्छन्।”
विश्वभरि यहोवाका साक्षीहरू समृद्धि, शान्ति तथा आनन्दको लागि चिनिनुको प्रमुख कारण निस्सन्देह यही हो। अतः हामी हाम्रा पाठकहरूलाई बाइबलको आध्यात्मिक स्वास्थ्यकर शिक्षाहरू अझ धेरै हासिल गर्न प्रोत्साहन दिन्छौं। धेरै ज्ञान हासिल गर्नाले बाइबल माथिको भरोसा र परमेश्वरमाथिको बलियो विश्वास झन् बढ्नसक्छ। यस्ता विश्वासका कारण पाइने अनन्त फाइदाहरू तपाईंले गर्नुहुने प्रयासको योग्य छ।
[फुटनोट]
a नेशनल पब्लिक रेडियो—“मर्निङ एडिसन”
b बाइबल कत्तिको भरपर्दो छ, त्यसबारे थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित सबैका लागि उपयोगी किताब पुस्तिका हेर्नुहोस्।
[पृष्ठ ६-मा भएको चित्र]
प्रेरित पावल तथा अरूले बजारमा प्रचार गरे
[पृष्ठ ७-मा भएको चित्र]
यहोवाका साक्षीहरू “आफ्नो विश्वास तथा आचरणको एक मात्र स्रोत बाइबललाई मान्छन्”