उपहार के त्यो आशा गरिन्छ?
तपाईंलाई थाहै होला, प्रायजसो उपहारहरू दिनु चलनचल्ती भइसकेको छ। अधिकांश संस्कृतिहरूमा केही खास अवसरहरूमा उपहारको आशा गरिन्छ। त्यस्ता उपहारहरू आदरको चिनो वा प्रेमको अभिव्यक्ति हुनसक्छन्। ती उपहारहरू पाउने व्यक्तिले तीमध्ये धेरैजसो कहिल्यै प्रयोग गर्दैनन्। कुनै कुनै उपहारले भने साँच्चै खाँचो टार्छ र त्यसको निकै मूल्यांकन गरिन्छ।
बच्चा जन्मिंदा डेनमार्कमा साथीभाइ तथा आफन्तहरू भेट्न आउँछन् र बच्चाको लागि उपयोगी हुने उपहारहरू ल्याउँछन्। अन्य मुलुकहरूमा भने बच्चा जन्मिनुअघि साथीभाइहरूले प्रीतिभोज आयोजना गर्छन् र यस अवसरमा त्यस्ता उपहारहरूको आशा गरिन्छ।
प्रायजसो वार्षिकोत्सवका अवसरहरूमा उपहारहरूको आशा गरिन्छ। हुन त त्यस्ता उत्सवहरू प्रारम्भिक मसीहीहरूबीच प्रचलित थिएनन्, तापनि अधिकांश मसीही भनौंदाहरू र गैरमसीहीहरूमाझ यो निकै लोकप्रिय भएको पाइन्छ। केटाकेटीहरू हुर्कंदै जाँदा केही संस्कृतिहरूमा जन्मोत्सवमा उपहार दिने प्रचलन हराउँदै जानसक्छ तर ग्रीकहरूबीच भने त्यो प्रचलन यथावतै रहेको पाइन्छ। ग्रीसमा जन्मोत्सवलाई निकै महत्त्व दिइन्छ। तिनीहरू कुनै व्यक्तिको “नाउँको दिनमा” पनि उपहारहरू दिन्छन्। त्यसको अर्थ के हो? धार्मिक प्रथाअनुसार वर्षको हरेक दिन एक “सन्त”-सित गाँसिएको हुन्छ र धेरैजसो मानिसहरूलाई ती “सन्त”-हरूकै नाउँ राखिन्छ। “सन्तको” दिनमा उक्त सन्तको नाउँ भएका व्यक्तिहरूले उपहारहरू पाउँछन्।
कोरियालीहरू आफ्ना छोराछोरीहरूको जन्मोत्सवबाहेक बाल दिवस नामक राष्ट्रिय बिदा मनाउँछन्। यतिबेला सम्पूर्ण परिवार घुम्न जान्छ र छोराछोरीको जन्ममिति त्यही दिनमा नपरे तापनि उपहारहरू दिन्छन्। कोरियालीहरू आमाबाबुको दिवस पनि मनाउँछन् र यो अवसरमा छोराछोरीले आमाबाबुलाई उपहारहरू दिन्छन्। अनि शिक्षक दिवसमा विद्यार्थीहरूले शिक्षकहरूप्रति आदर देखाउन उपहारहरू दिन्छन्। कोरियाली प्रथाअनुसार कुनै व्यक्ति ६० वर्ष पुगेपछि तिनको सम्मानमा ठूलो प्रीतिभोजको आयोजना गरिन्छ। परिवार तथा इष्टमित्रले तिनलाई चिरायु तथा आनन्दको कामना गर्छन् र तिनलाई उपहारहरू दिन्छन्।
उपहारहरू दिने अर्को लोकप्रिय चलन विवाहमा हो। केन्यामा कसैको विवाह हुँदा दुलहीको परिवारले दुलहाको परिवारबाट उपहारको आशा गर्छ। पाहुनाहरूले पनि उपहारहरू ल्याउँछन्। परम्परा कायमै गर्ने हो भने, दुलहादुलही मञ्चमा बसेर पाहुनाहरूले ल्याएका उपहारहरू ग्रहण गर्छन्। हरेकले उपहार दिंदा “फलानो फलानोले दम्पतीलाई उपहार दिनुभयो” भनेर घोषणा पनि गरिन्छ। त्यस्तो घोषणा नगरेमा उपहार दिने अधिकांश व्यक्तिहरूले साह्रै चित्त दुखाउनसक्छन्।
लेबनानीहरूमाझ कसैको विवाह हुन लागेको छ भने विवाह हुने दिनभन्दा धेरैअघिदेखि नै इष्टमित्र तथा आफन्तहरू र अपरिचित व्यक्तिहरूसमेत उपहार लिएर आउन थाल्छन्। ऋण तिर्नु जसरी जिम्मेवारी हो, त्यसैगरि उपहारहरू दिनु पनि एउटा जिम्मेवारी हो भनेर तिनीहरूलाई बाल्यकालदेखि सिकाइएको हुन्छ। एक लेबनानीले यसो भने, “त्यसो गरेन भने आफैलाई नमीठो लाग्छ। यो एउटा परम्परा नै भइसक्यो।”
तथापि, धेरै मुलुकहरूमा उपहारहरू दिने अवसरहरूमध्ये क्रिसमस प्रमुख हो। के तपाईंको मुलुकमा पनि त्यस्तै छ? हालै, सन् १९९० को अनुमानअनुसार अमेरिकीहरूले क्रिसमसमा उपहारहरू दिन वर्षेनी ४,००० करोड डलरभन्दा बढी खर्च गर्छन्। जापानका बौद्ध तथा शिन्टो धर्मावलम्बीहरूले पनि धूमधामसित यो बिदा मनाउँछन्। युरोप, दक्षिण अमेरिका तथा अफ्रिकाका केही ठाउँहरूमा पनि बेग्लाबेग्लै किसिमले यो उत्सव मनाइन्छ।
क्रिसमसको समयमा मानिसहरू आनन्दित हुने आशा गरिन्छ तर प्रायः त्यसो हुँदैन। उपहार किन्ने दौडधूप र पछि ऋण तिर्ने चिन्ताले गर्दा धेरैले उत्सवको क्षणिक आनन्दलाई बिर्सिहाल्छन्।
यद्यपि बाइबल भन्छ, लिनुभन्दा दिनु आनन्ददायी हुन्छ। त्यो पक्कै हो तर कस्तो मनोवृत्ति राखेर दिइन्छ, त्यसमा निर्भर हुन्छ।—प्रेरित २०:३५.