के तपाईंसित अरूलाई दिने मनोभाव छ?
अरूलाई दिन मानिसहरूलाई उत्प्रेरित गर्ने एउटै कारण मात्र हुँदैन भनेर के तपाईंले अवलोकन गर्नुभएको छ? प्रेम, उदारता र मूल्यांकनको अभिव्यक्तिस्वरूप उपहार दिइएको हुनसक्छ। यद्यपि, कसै कसैले अरूको अनुग्रह पाउन उपहार दिएको के तपाईंले देख्नुभएको छैन र? अथवा दायित्वको भाव वा प्रतिफल पाउने आशा गरेर उपहार दिएको हुनसक्छ।
उपहारलाई चिटिक्क पोको पारेर आकर्षक रिबनले बाँधेको हुनसक्छ। तर फूलको गुच्छा, कुनै परिकार वा मायालु कार्य पनि एउटा राम्रो उपहारमै गनिन्छ, होइन र? वास्तवमा, सबैभन्दा मूल्यांकन गरिने उपहार त आफ्नो समय अरूको लागि खर्च गर्नु हो।
के तपाईं कुनै व्यक्तिको अनुग्रह खोज्नुहुन्छ?
कसैको अनुग्रह चाहन्छौं भने त्यो व्यक्तिलाई उपहार दिनु असामान्य कुरा होइन। केही मुलुकहरूमा एक जवान पुरुषले आफ्नो सम्भाव्य दुलहीलाई फकाउन फूलहरू दिनसक्छन्। तर बुद्धिमती स्त्रीले उपहारलाई मात्र हेर्दिनन्। त्यो जवान पुरुषले उपहार दिनुको कारण हेर्छिन् किनभने तिनले मायालु भावसाथ उपहार दिएको हो भने तिनी असल पति पनि हुनेछन्। त्यस्तो उपहारले ईश्वरीय मनोवृत्ति झल्काउँछ भने उपहार दिने र पाउने दुवैले निकै आनन्द प्राप्त गर्नसक्छन्।
बाइबलले नाबालकी पत्नी, अबिगेलसित सम्बन्धित एउटा घटना बताउँछ। अबिगेलले चाँडचाँडो दाऊदको लागि उदार उपहार तयार गरिन् र दाऊद इस्राएलको लागि परमेश्वरद्वारा नियुक्त भावी राजा हुन् भनेर स्वीकारिन्। तिनले पनि अनुग्रह खोजिन्। तिनको पतिले दाऊदलाई तिरस्कार गरेर दाऊदका मानिसहरूलाई हप्काएका थिए। लगभग ४०० जति सशस्त्र सिपाहीहरूको टोलीसहित नाबाल र उनको घरानालाई तहसनहस गर्न दाऊद सुरिएका थिए। अबिगेलले उदारचित्तका साथ ढिलासुस्ती नगरी दाऊदका सिपाहीहरूलाई भोजनको प्रबन्ध गरेर हस्तक्षेप गरिन्। उपहार सँगसँगै तिनी पनि आइन् र आफ्नो पतिको कार्यको लागि नम्रपूर्वक माफी मागेर दाऊदसित तर्क गर्दा विवेकको प्रमाण दिइन्।
तिनको मनसाय असल थियो र परिणाम राम्रो भयो। दाऊदले उपहार स्वीकारेर तिनलाई यसो भने: “शान्तिसित घर फर्क। मैले तिम्रो कुरा सुनें, र तिम्रो बिन्ती मञ्जूर गरें।” पछि नाबालको मृत्युपश्चात् दाऊदले अबिगेललाई विवाहको प्रस्तावसमेत राखे र तिनले खुशीसाथ स्वीकारिन्।—१ शमूएल २५:१३-४२.
तथापि, कहिलेकाहीं कसैको अनुग्रह खोज्दा पक्षपात देखाउनुपर्ने र अन्यायसमेत गर्नुपर्ने हुनसक्छ। त्यस्तो अवसरमा त्यो उपहार घूस हुनपुग्छ। त्यस्तो उपहार दिने व्यक्तिले आफ्नो लाभ होला भन्ठान्छ तर तिनले मनको शान्ति भने गुमाउँछ। अरूले थाह पाउलान् र आफ्ना कार्यहरूको लागि जवाफदेही होला भनेर सधैं त्रसित हुन्छ। आशा गरेको अनुग्रह त तिनले प्राप्त गर्लान् तर तिनको मनोवृत्तिमा शंका गर्नसक्छ। ईश्वरीय बुद्धि झल्काउँदै बाइबलले त्यस्ता उपहारहरू विरुद्ध चेताउनी दिन्छ।—व्यवस्था १६:१९; उपदेशक ७:७.
के इच्छुक हृदयले उपहार दिएको हो?
निस्सन्देह, तपाईंले प्रेम गर्नुहुने व्यक्तिलाई स्वेच्छापूर्वक उपहार दिंदा बढी आनन्द प्राप्त हुन्छ। तर अरूको दबाबमा परेर उपहार दिंदा त्यस्तो आनन्द प्राप्त हुँदैन।
भौतिक कुराहरूको खाँचोमा परेका सँगी मसीहीहरूको लागि उद्धार सामग्रीहरू संकलन गर्दा प्रेरित पावलले ईश्वरीय दानसम्बन्धी अत्युत्तम सिद्धान्तहरू प्रस्तुत गरे। तिनले यसप्रकार लेखे: “तत्परता छ भने, आफूसित नभएअनुसार होइन, तर आफूकहाँ भएअनुसार यो ग्रहणयोग्य हुन्छ।” तिनले यो पनि भने: “हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ८:१२; ९:७) तसर्थ, निकै कुरा त तपाईंमाथि नै निर्भर हुन्छ। उपहार दिने होडबाजीमा लागेर ऋणमा डुब्नुको साटो के तपाईं आफ्नो औकातअनुसार खर्च गर्नुहुन्छ? सामाजिक वा आर्थिक दबाबको कारण उपहार दिन बाध्य महसुस गर्नुको साटो के तपाईं आफूले मनमा संकल्प गर्नुभएअनुसार दिनुहुन्छ? त्यस्ता ईश्वरीय सिद्धान्तहरू पालन गर्ने प्रारम्भिक मसीहीहरूबारे पावलले यसप्रकार लेखे: “पवित्र जनहरूको सेवाको अनुग्रह र संगतिमा हामी भाग लिन पाऔं भनी ज्यादै निवेदनसाथ हामीलाई आग्रहपूर्वक बिन्ती गरे।”—२ कोरिन्थी ८:४.
त्यसको विपरीत, नोभेम्बर/डिसेम्बर १९९४ को रोयल ब्यांक लेटर-ले क्रिसमसअघिका हप्ताहरूबारे यसो भन्यो: “यो समयतिर व्यापारीहरूले नकली चहलपहल गर्छन्। यसो गर्दा अरू बेला नकिन्ने मालतालहरू किन्न ग्राहकहरू उत्प्रेरित हुन्छन्।” उधारोमा मालताल किनेको छ भने उपहार दिंदा अनुभव हुने जस्तोसुकै सन्तुष्टि पनि पछि भुक्तानी गर्नुपर्दा चाँडै बिर्सनसक्छ।
तपाईं किन दिनुहुन्छ—अवसरले गर्दा? वा प्रेमको अभिव्यक्तिस्वरूप?
उपहारहरू दिनुपर्ने अवसरमा मात्र के तपाईं प्रायजसो उपहारहरू दिने गर्नुहुन्छ? यदि त्यसो हो भने, तपाईंले स्वेच्छापूर्वक अरूलाई उपहार दिंदा प्राप्त हुने आनन्द गुमाइरहनुभएको हुनसक्छ।
विशेष दिनहरूमा उपहार दिंदा प्राप्त हुने परिणामबाट त्यति खुशी नहुने थुप्रै मानिसहरू छन्। उपहार दिने दिन नजीकै आइपुग्दा आफ्ना छोराछोरीहरूमा लोभ देखिएको एउटी लेखिकाले स्वीकारिन्। आफूले पनि अझ उत्तम उपहारको आशा गरेकीले त्यो सुन्दर उपहारको आनन्द उठाउन नसकेको तिनले स्वीकारिन्। अनगिन्ती विवरणअनुसार उपहारहरू आदानप्रदान गरिने बिदाका महोत्सवहरूमा भावनात्मक नैराश्य र लागू पदार्थको दुरुपयोग पनि निकै हुन्छ।
बिदाको समयमा केटाकेटीलाई उपहार दिंदा कहिलेकाहीं त्यसले पार्ने प्रतिकूल असरबारे एक मनोवैज्ञानिक प्राध्यापक द न्यु योर्क टाइम्स-मा यस्तो सुझाव दिन्छन्: “तनाउ कम गर्ने विकल्पको रूपमा अरू दिनहरूमा उपहार दिएर हेर्नुहोस्।” के त्यसले राम्रो असर गर्ला?
क्रिसमस तथा जन्मोत्सवहरू नमनाउने परिवारमा हुर्किएकी १२ वर्षीया टामीले यसरी लेखिन्: “आफूले आशै नगर्दा उपहार प्राप्त गर्नु साह्रै रमाइलो हुन्छ।” उनको आमाबाबुले वर्षमा एक दुइ चोटि मात्र उपहार दिनुको साटो उनी र उनको भाइलाई वर्षभरि उपहारहरू दिनुहुन्छ भनी बताइन्। तर उनी ती उपहारहरूभन्दा अर्कै कुरालाई महत्त्वपूर्ण ठान्छिन्। उनी भन्छिन्, “मेरो परिवार निकै सुखी छ।”
सिक्रेट्स् अफ स्ट्रंग फ्यामिलिज् पुस्तकले सुस्पष्ट यसो भन्छ: “हामीमध्ये धेरैजसोले जन्मोत्सव, वार्षिकोत्सव वा बिदाहरूमा आफ्ना प्रियजनहरूका लागि सबैभन्दा उपयुक्त उपहार छान्न वर्षमा निकै चोटि समय र पैसा खर्च गर्छौं। सबैभन्दा सर्वोत्तम उपहार दिन एक पैसा पनि खर्च गर्नुपर्दैन। अनि तपाईंले त्यसलाई पोको पार्नुपर्दैन। अधिकांश मानिसहरूजस्तै तपाईं आफ्नो जीवनलाई अत्यन्त मूल्यवान् सम्पत्ति ठान्नुहुन्छ भने तपाईंले दिनसक्ने सबैभन्दा अनमोल उपहार तपाईंको समय हो। आफ्ना प्रियजनहरूका लागि बिताउने समय नै हाम्रो सबैभन्दा अनमोल उपहार हो।”
तपाईंले आफ्नो परिवारबाहेक अरूलाई पनि त्यो उपहार दिन सक्नुहुन्छ। अरूको आवश्यकता पूर्ति गर्न स्वेच्छापूर्वक उपहार दिंदा विशेष सन्तुष्टि प्राप्त हुनसक्छ। गरिब, लंगडा तथा अन्धाहरूलाई त्यस्तै मायालु चासो देखाउनू भनेर येशू ख्रीष्टले हामीलाई आग्रह गर्दै यसो भन्नुभयो: “तिमीले धन्यवाद पाउनेछौ, किनकि तिम्रो क्षतिपूर्ति गर्नालाई तिनीहरूसित केही हुँदैन।”—लूका १४:१२-१४.
त्यस्तो उपहारको सन्दर्भमा रकल्याण्ड जर्नल-न्युज-ले (सं.रा.अ.) हालै एउटा उदाहरण प्रस्तुत गऱ्यो। एउटी अन्धी वृद्धाको घर भत्किंदा साथीभाइहरूले नयाँ घर बनाइदिए। थुप्रै स्थानीय व्यापारिक संगठनले चन्दाहरू दिए र एउटा स्थानीय सरकारी निकायले वित्तीय सहायता प्रदान गऱ्यो। पत्रिकाले यसो भन्यो, “सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, लगभग १५० जना जतिले घर निर्माण गर्न आफ्नो समय खर्च गरे। जसमध्ये अधिकांश व्यक्तिहरू यहोवाका साक्षीहरूको हाभरस्ट्र मण्डलीका सदस्यहरू थिए।”
उक्त लेखमा अझै भनिएको थियो: “निर्माण स्थलमा खानेकुरा टन्न राखेका टेबुलहरूको छेउमा निर्माण सामग्रीहरूको थाक थियो। दुइ दिनभित्र कामदारहरूले दुइ परिवार बस्न मिल्ने तीन तल्ले भवन निर्माण गरे। . . . भवनहरू शीघ्र निर्माण गर्ने दक्षताको लागि यहोवाका साक्षीहरू परिचित छन्। . . . तर त्यसरी काम छिटो गर्दैमा त्यो उद्देश्यको स्थायित्वलाई भने असर गर्दैन: प्रेमपूर्ण कार्यमा स्थायित्व प्रदान गर्नु। सुश्री ब्लाक्लीले आफ्नो नयाँ घर देख्न त सक्नुहुन्न होला तर छाम्न सक्नुहुन्छ र यस निःस्वार्थ कार्यले उहाँको हृदय अवश्य छोएको छ।”
वर्षभरि उदारताको मनोभाव
साँच्चै उदार व्यक्तिहरूले उपहार दिन विशेष दिनहरू पर्खेर बस्दैनन्। तिनीहरूको जीवन केवल आत्मकेन्द्रित हुँदैन। तिनीहरूले कुनै असल कुरा प्राप्त गर्दा त्यो अरूसित बाँड्न आनन्दित हुन्छन्। यसको अर्थ, तिनीहरू उपहार दिन बाध्य महसुस गर्छन् भन्ने होइन। आफ्नो परिवारलाई वञ्चित गरेर त्यस्ता उपहारहरू दिन्छन् भनेको होइन। उपहार पाउने व्यक्तिमाथि पर्ने प्रभावबारे सोच्दै नसोची दिन्छन् भनेको पनि होइन। यद्यपि, येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभएझैं तिनीहरूले “दिने बानी” बसालेका हुन्छन्।—लूका ६:३८, न्युव.
तिनीहरू वृद्ध, बिरामी वा प्रोत्साहन चाहिएका इष्ट- मित्र र छिमेकीका परिस्थितिबारे सजग हुन्छन्। तिनीहरूको “उपहार” कसैको लागि सानोतिनो काम गरिदिनु वा गृहस्थीमा मदत दिनु हुनसक्छ। यसमा दाउरा चिर्नु वा घरबाहिर थुप्रिरहेको हिउँ हटाइदिनु जस्ता कार्यहरू समावेश हुनसक्छन्। साथै एक कचौरा भोजन दिनु वा तिनीसँगै बसेर पढ्न बिताएको समय हुनसक्छ। तिनीहरू स्वयं व्यस्त भए तापनि अरूलाई मदत गर्न जसोतसो समय निकाल्छन्। “लिनुभन्दा दिनु अझ असल हो” भनेर तिनीहरूले अनुभवबाट सिकेका छन्।—प्रेरित २०:३५.
निस्सन्देह, सबैभन्दा महान् दाता, हाम्रो सृष्टिकर्ता यहोवा परमेश्वर हुनुहुन्छ। उहाँले “सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ।” (प्रेरित १७:२५) उहाँले बाइबल मार्फत आफ्नो उद्देश्यबारे अन्तरदृष्टि प्रदान गर्नुहुन्छ, जुन उद्देश्यअनुरूप उहाँले दुष्टता, बिरामी र मृत्युलाई हटाउनुको साथै पृथ्वीलाई प्रमोदवन बनाउनुहुनेछ। (भजन ३७:१०, ११; प्रकाश २१:४, ५) यो थाह पाएपछि उदार व्यक्तिहरूले सुसमाचार आफूमा मात्र सीमित राख्दैनन्। तिनीहरूको सबैभन्दा ठूलो आनन्द, त्यो सुसमाचार अरूसित बाँड्नु हो। त्यसरी दिनु साँच्चै ईश्वरीय मनोवृत्ति झल्काउनु हो। के तपाईंले त्यस्तै मनोवृत्ति खेती गरिरहनुभएको छ?
[पृष्ठ ७-मा भएका चित्रहरू]
केही मूल्यवान् उपहारहरू दिन एक पैसा पनि खर्च गर्नुपर्दैन