आवरण लेख | सबैभन्दा उत्तम उपहार!
“यो नै मैले पाएको सबैभन्दा उत्तम उपहार हो”
उपहारको रूपमा एउटा सानो पप्पी पाउँदा एक जना १३ वर्षीया केटीले माथिका शब्दहरू व्यक्त गरिन्। एक जना सफल व्यापारीले पहिला हाइ स्कुलमा पढ्दै गर्दा आफ्नो बुबाबाट कम्प्युटर उपहार पाएकी थिइन्। त्यस कम्प्युटरले गर्दा तिनको जीवनले एउटा नयाँ मोड लियो। विवाहको पहिलो वार्षिकीमा एक जना श्रीमती आफ्नो श्रीमान्लाई एउटा कार्ड दिन्छिन्। त्यो कार्ड तिनले आफ्नो हातैले बनाएकी थिइन्। त्यसैले त्यो कार्ड तिनको श्रीमान्को लागि सबैभन्दा उत्तम उपहार थियो।
हरेक वर्ष थुप्रै मानिस आफ्नो साथी वा आफन्तलाई विशेष अवसरहरूमा कस्तो उपहार दिने होला भनेर सोधखोज गर्ने गर्छन्। अनि उपहार पाउने व्यक्तिले पनि त्यसको साँच्चै मोल गरेको तिनीहरू आशा गर्छन्। तपाईं नि? के तपाईं पनि सबैभन्दा उत्तम उपहार दिन वा पाउन चाहनुहुन्छ?
यस्तो उपहारले पाउनेलाई मात्र होइन तर उपहार दिनेलाई पनि खुसी बनाउँछ। बाइबल यसो भन्छ, “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषित २०:३५) उपहार पाउने व्यक्तिले उपहारको ज्यादै मोल गर्छ भने उपहार दिने व्यक्तिको आनन्द झन् बढ्छ।
त्यसोभए तपाईं कसरी आफूलाई अनि उपहार पाउने व्यक्तिलाई अझ खुसी बनाउन सक्नुहुन्छ? कहिलेकाहीं हामीलाई कस्तो उपहार “उत्तम” हो भनेर थाह नहुन सक्छ। तैपनि अरूले हाम्रो उपहारको मोल गरोस् भन्ने चाहन्छौं भने हामी के गर्न सक्छौं?