सान्त्वना अनि प्रोत्साहन विभिन्न मोहडा भएको रत्न
प्रायः हामी सबैले कुनै न कुनै समयमा आर्थिक रूपले त होइन तर निराश हुँदा भने असाध्यै तुच्छ, कमजोर महसुस गरेका छौं होला। हामी निस्सहाय हुनुको साथै असाध्यै निराश पनि भएका थियौं। तापनि त्यस्तो समयमा हामीले आफूलाई फाइदा गर्ने एउटा बहुमूल्य कुरा भेटाउन सक्ने थियौं। त्यो “रत्न” हो, प्रोत्साहन।
बाइबलमा “प्रोत्साहन” र “सान्त्वना”-को लागि एउटै युनानी शब्द प्रयोग गरिएको छ। दुवै शब्दले साहस, बल र आशा दिने अर्थ बुझाउँछ। त्यसैकारण स्पष्टतः, हामीले आफू कमजोर वा निराश भएको महसुस गर्दा हामीलाई चाहिने कुरा सान्त्वना र प्रोत्साहन नै हो। हामी त्यो कहाँ पाउनसक्छौं?
बाइबलले यहोवा “सान्त्वनाका परमेश्वर हुनुहुन्छ” भनेर आश्वासन दिन्छ। (२ कोरिन्थी १:३) यसले हामीलाई “उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्न” पनि भन्छ। (प्रेरित १७:२७) अतः, सान्त्वना र प्रोत्साहन उपलब्ध छ। अब हामी यहोवाले प्रोत्साहन दिनुहुने चार क्षेत्रहरूबारे छलफल गरौं।
परमेश्वरसितको व्यक्तिगत सम्बन्धद्वारा
यहोवा परमेश्वरसितको व्यक्तिगत सम्बन्ध सान्त्वनाको सबैभन्दा ठूलो स्रोत हो। त्यस्तो सम्बन्ध सम्भव छ भनेर थाह पाउनु नै प्रोत्साहनदायी छ। भनौं भने, संसारको कुन चाहिं शासकले हामीले टेलिफोन गर्दा कुरा गर्न स्वीकार्छ वा हाम्रा समस्याहरूमा व्यक्तिगत चासो लिन्छ? यहोवा त्यस्ता मानिसहरूभन्दा ज्यादै धेरै शक्तिशाली हुनुहुन्छ। तापनि उहाँ नम्र हुनुहुन्छ र तुच्छ, असिद्ध मानिसहरूसित व्यवहार गर्न साह्रै इच्छुक हुनुहुन्छ। (भजन १८:३५) हामीलाई प्रेम देखाउन यहोवा अग्रसर समेत हुनुभएको छ। पहिलो यूहन्ना ४:१० ले यसो भन्छ: “प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेका हौइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनालाई उहाँका पुत्रलाई पठाउनुभयो।” यसबाहेक यहोवाले हामीलाई उहाँको पुत्रतर्फ मायालु ढंगमा खिंच्नुहुन्छ।—यूहन्ना ६:४४.
परमेश्वरसितको मित्रतामा के तपाईंले सान्त्वना पाउनुभएको छ? (तुलना गर्नुहोस् याकूब २:२३) उदाहरणका लागि, तपाईंको एक जना घनिष्ठ साथी छ भने के तपाईं ऊ सँग एक्लै बसेर तपाईंका फिक्री तथा चिन्ताहरू, आशा र आनन्दहरूबारे कुरा गरेर समय बिताउन पाउँदा आनन्दित हुनुहुन्न र? यहोवाले तपाईंलाई उहाँसित त्यस्तै गर्न निम्त्याउनुभएको छ। उहाँसित प्रार्थनामा कति लामो कुरा गर्नुपर्ने हो, उहाँले त्यसको कुनै सीमा तोक्नुभएको छैन र उहाँले साँच्चै प्रार्थना सुन्नुहुन्छ। (भजन ६५:२; १ थिस्सलोनिकी ५:१७) येशूले नियमित तवरमा उत्साहसाथ प्रार्थना गर्नुहुन्थ्यो। वास्तवमा, उहाँले १२ जना प्रेरितहरू छान्नुअघि रातभरि प्रार्थनामा बिताउनुभएको थियो।—लूका ६:१२-१६; हिब्रू ५:७.
हामी प्रत्येकले नियमित तवरमा यहोवासित एक्लै हुन समय मिलाउनसक्छौं। झ्यालमा त्यसै चुपचाप बस्दा वा शान्तिमय ढंगमा एक्लै हिंड्दा यहोवासित प्रार्थनामा हृदय खोल्ने राम्रो अवसर पाउँछौं। त्यसो गर्दा त्यो अत्यन्तै आराम र सान्त्वनाको स्रोत साबित हुनसक्छ। मनन गर्दा यहोवाको सृष्टिको कुनै भागजस्तै आकाशको सानो टुक्रा वा केही रूख तथा चराहरू हेरेर पनि यहोवाले हामीप्रति राख्नु हुने प्रेम र फिक्रीका केही सान्त्वनादायी सम्झौटाहरू पाउनसक्छौं।—रोमी १:२०.
परमेश्वरको वचनको व्यक्तिगत अध्ययनद्वारा
यहोवाका गुनहरू हामीले बाइबलको व्यक्तिगत अध्ययनद्वारा बुझ्नसक्छौं। बाइबलले बारम्बार यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ” भनेर प्रकाश पार्छ। (प्रस्थान ३४:६; नहेम्याह ९:१७; भजन ८६:१५) आफ्ना पार्थिव सेवकहरूलाई सान्त्वना दिनु यहोवाको व्यक्तित्वको अन्तरनिहित भाग हो।
उदाहरणका लागि, यशैया ६६:१३ मा यहोवाका शब्दहरूलाई विचार गरौं: “जस्तो कसैलाई आफ्नी आमाले सान्त्वना दिन्छिन्, त्यस्तै म तिमीहरूलाई सान्त्वना दिनेछु।” आफ्ना छोराछोरीप्रति आमाको प्रेमलाई यहोवाले आत्मत्यागी र वफादार ढंगमा रच्नुभयो। यदि तपाईंले एक मायालु आमाले आफ्नो चोट लागेको बच्चालाई सान्त्वना दिइरहेको देख्नुभएको छ भने, यहोवाले उहाँका जनहरूलाई सान्त्वना दिनेछु भन्नुभएको अर्थ बुझ्नुहुनेछ।
बाइबलमा सान्त्वनाका थुप्रै घटनाहरू पाउँछौं। दुष्ट रानी ईजेबेलले एलिया अगमवक्तालाई मार्ने धम्की दिंदा एलिया डराएर जीवन बचाउन भागे। तिनी निकै निराश भएको कारण उजाडस्थानमा एक दिनभरिको बाटो पानी वा केही सामान नलिई हिंडे। एलिया दुःखी भएर यहोवालाई मर्न मन लागेको कुरा बताए। (१ राजा १९:१-४) यहोवाले आफ्नो अगमवक्तालाई सान्त्वना र प्रोत्साहन दिन के गर्नुभयो?
यहोवाले एलियालाई एक्लो, अक्षम र डर महसुस गरेकोमा हप्काउनुभएन। त्यसको विपरीत त्यस अगमवक्ताले “एक मधुर आवाज” सुने। (१ राजा १९:१२) तपाईंले १ राजा अध्याय १९ पढ्नुभयो भने यहोवाले एलियालाई कसरी सान्त्वना दिनुभएको, उसलाई शान्त पार्नुभएको र उसको विश्वासलाई निर्माण गर्नुभएको विवरण पाउनुहुनेछ। यो सान्त्वना सतही थिएन। यसले अगमवक्ता एलियाको दुःखित हृदयलाई छोयो र तिनी आफ्नो कार्यमा लागिरहन प्रोत्साहित भए। (तुलना गर्नुहोस् यशैया ४०:१, २) चाँडै तिनले आफ्नो कार्य पुनः सँभाले।
त्यसैगरि येशू ख्रीष्टले पनि आफ्ना वफादार अनुयायीहरूलाई सान्त्वना र प्रोत्साहन दिनुहुन्छ। वास्तवमा यशैयाले मसीहबारे यसो भनेर अगमवाणी गरे: “परमप्रभु परमेश्वर[ले] . . . मन भाँचिएकाहरूको हृदयलाई निको पार्नालाई . . . सबै विलाप गर्नेहरूलाई सान्त्वना दिनलाई . . . मलाई पठाउनुभएको हो।” (यशैया ६१:१-३) येशू जीवित छँदा यी शब्दहरू उहाँमा लागू हुन्छ भनेर स्पष्ट पार्नुभयो। (लूका ४:१७-२१) तपाईंलाई सान्त्वना चाहियो भने येशूले दुःखित र खाँचोमा परेका मानिसहरूसित गर्नुभएको कोमल, मायालु व्यवहारलाई मनन गर्नुहोस्। निस्सन्देह बाइबल गम्भीरतासाथ अध्ययन गर्नु सान्त्वना र प्रोत्साहनको ठूलो स्रोत हो।
मण्डलीद्वारा
मसीही मण्डलीमा, सान्त्वना र प्रोत्साहनको रत्न विभिन्न मोहडाबाट चम्किन्छ। प्रेरित पावल यस्तो लेख्न प्रेरित भए: “एउटाले अर्कोलाई सान्त्वना देऊ, र एउटाले अर्कोलाई सुधार गर।” (१ थिस्सलोनिकी ५:११) मण्डलीका सभाहरूद्वारा सान्त्वना र प्रोत्साहन कसरी पाउनसक्छौं?
मुख्यतः हामी मसीही मण्डलीमा “परमेश्वरबाट सिकाइएका” हुन, उहाँ र उहाँका तौरतरिकाहरूबारे निर्देशनहरू पाउन जान्छौं। (यूहन्ना ६:४५) त्यस्ता निर्देशनहरू प्रोत्साहनजनक र सान्त्वनादायी हुनैपर्छ। प्रेरित १५:३२ मा हामी यस्तो पढ्छौं: “यहूदा र सिलास[ले] . . . भाइहरूलाई धेरै वचनहरूले अर्ती दिएर स्थिर गराए।”
निराश भएको बेला मसीही सभामा गएर घर फर्केपछि राम्रो महसुस भएको के तपाईंले कहिल्यै अनुभव गर्नुभएको छ? शायद भाषण, टिप्पणी वा प्रार्थनामा भनेको कुराले तपाईंको हृदयलाई छोयो र आवश्यक परेको सान्त्वना र प्रोत्साहन प्रदान गऱ्यो। त्यसैकारण मसीही सभाहरू नियमित तवरमा धाउनुहोस्।—हिब्रू १०:२४, २५.
हाम्रा भाइबहिनीहरूसित सेवकाई तथा अरू बेला संगति गर्दा त्यस्तै प्रभाव पर्नसक्छ। हिब्रूमा “सँगै बाँध्नु” अर्थ भएको धेरै क्रियापदहरूले “बल” वा “बल दिनु” भन्ने संकेत गर्छ। सपष्टतः कुनै कुरालाई सँगै एकसाथ बाँध्दा झन् बलियो हुन्छ। यो सिद्धान्त मण्डलीमा सत्य साबित हुन्छ। सँगै संगति गर्दा हामीले सान्त्वना, प्रोत्साहन वा बल पाउँछौं। अनि हामी सबैभन्दा बलियो गाँठो, प्रेमले बाँधिएका हुन्छौं।—कलस्सी ३:१४.
कहिलेकाहीं हाम्रा आध्यात्मिक भाइबहिनीहरूको विश्वासद्वारा प्रोत्साहित हुन्छौं। (१ थिस्सलोनिकी ३:७, ८) कहिलेकाहीं तिनीहरूले देखाएको प्रेमद्वारा। (फिलेमोन ७) र कहिलेकाहीं त परमेश्वरको राज्यबारे अरूलाई बताउन सँगै काम गर्न पाउँदा पनि प्रोत्साहित हुन्छौं। सेवकाईमा आफू कमजोर भएको वा प्रोत्साहन चाहिएजस्तो लाग्यो भने आफूभन्दा पाको वा अनुभवी राज्य प्रकाशकसित समय मिलाए कसो होला? शायद त्यसो गर्दा तपाईंले सान्त्वना पाउनुहुनेछ।—उपदेशक ४:९-१२; फिलिप्पी १:२७.
“विश्वासी र बुद्धिमान दास[द्वारा]”
हाम्रो उपासनाको सान्त्वनादायी पक्षहरूको कस- ले प्रबन्ध गर्छ? येशूले एउटा वर्गलाई “विश्वासी र बुद्धिमान दास[को]” रूपमा नियुक्त गर्नुभएर “ठीक ठीक समयमा” आध्यात्मिक भोजन दिन लाउनुभयो। (मत्ती २४:४५) सा.यु. प्रथम शताब्दीमा यी आत्मा-अभिषिक्त मसीहीहरूले काम गर्न थालिसकेका थिए। यरूशलेमको परिचालक निकायका प्राचीनहरूले मण्डलीहरूलाई निर्देशन र मार्गदर्शनको लागि चिठी पठाउँथे। त्यसको नतिजा कस्तो भयो? त्यस्ता चिठीप्रति मण्डलीहरूले कस्तो प्रतिक्रिया देखायो भन्नेबारे बाइबलको अभिलेखले यसो भन्छ: “तिनीहरूले पढ़ेपछि त्यहाँ भएका सान्त्वनाको कुराले खुशी भए।”—प्रेरित १५:२३-३१.
त्यस्तैगरि, यी डरलाग्दो आखिर दिनमा विश्वासी र बुद्धिमान दासले यहोवाका जनहरूलाई महान् सान्त्वना र प्रोत्साहन दिने आध्यात्मिक भोजनको प्रबन्ध गरेको छ। के तपाईंले त्यस भोजनमा भाग लिनुभएको छ? संसारभरि दासवर्गले उपलब्ध गरेको मुद्रित साहित्यमा यो सजिलै पाइन्छ। वाच टावर सोसाइटीद्वारा प्रकाशित प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकालगायत पुस्तक, पुस्तिका तथा पर्चाहरूले असंख्य पाठकहरूलाई सान्त्वना प्रदान गरेको छ।
एक परिभ्रमण निरीक्षकले यस्तो लेखे: “हाम्रा अधिकांश भाइबहिनीहरू जे सही छ त्यही गर्न चाहन्छन्। तर तिनीहरू प्रायः निराशा, डर तथा आफू निस्सहाय भएको जस्ता भावनाहरूसित संघर्ष गर्छन्। हाम्रा पत्रिकाका लेखहरूले धेरैलाई पुनः आफ्नो जीवन तथा भावनाहरूलाई वशमा राख्न बल दिइरहेका छन्। यी लेखहरूले प्राचीनहरूलाई सतही प्रोत्साहनभन्दा अझ बढी प्रोत्साहन दिने अवसर प्रदान गर्छ।”
विश्वासी दासवर्गद्वारा पाउनुभएका साहित्यहरूको पूर्ण लाभ उठाउनुहोस्। कठिन समयमा समयानुकूल पत्रिका, पुस्तक तथा अन्य प्रकाशनहरूले हामीलाई सान्त्वना दिनसक्छ। अर्कोतर्फ, तपाईं निराश व्यक्तिलाई प्रोत्साहन दिने स्थितिमा हुनुहुन्छ भने, यी पत्रिकाहरूका धर्मशास्त्रीय जानकारी प्रयोग गर्नुहोस्। प्रायः यी लेखहरू हप्तौं वा महिनौं दिनसम्म अनुसन्धान, अध्ययन र प्रार्थना गर्दै कडा मेहनत गरेर ध्यानपूर्वक लेखिएका हुन्छन्। यी जाँचिएका र सत्य सल्लाहहरू बाइबलमा आधारित हुन्छन्। निराश व्यक्तिलाई सुहाउँदो एक दुइटा लेखहरू पढेर सुनाउँदा मदतकारी साबित भएको धेरैले अनुभव गरेका छन्। यसको नतिजा, तिनीहरूले सान्त्वना र प्रोत्साहन पाउँछन्।
तपाईंले बहुमूल्य रत्न भेटाउनुभयो भने त्यो आफैसित राख्नुहुन्छ वा उदारचित्तका साथ अरूलाई त्यो रत्न बाँड्नुहुन्छ? आफ्नो मण्डलीका भाइबहिनीहरूका लागि सान्त्वना र प्रोत्साहनको स्रोत हुने लक्ष्य राख्नुहोस्। तपाईंले निन्दा गर्नुको साटो प्रोत्साहन दिनुभयो भने, आलोचना गर्नुको साटो प्रशंसा गर्नुभयो भने, ‘तीखो तरवारझैं व्यर्थको गफ’ गर्नुको साटो “सिक्नेहरूको बोली” बोल्नुभयो भने, अरूको जीवनमा तपाईंले प्रभाव पार्नुहुनेछ। (यशैया ५०:४; हितोपदेश १२:१८) त्यसो गर्नाले तपाईंलाई पनि रत्न वा साँचो सान्त्वना र प्रोत्साहनको स्रोतको रूपमा हेरिएला!
[पृष्ठ २०-मा भएको पेटी]
खाँचोमा परेकाहरूलाई सान्त्वना
यहोवासितको आफ्नो सम्बन्ध घनिष्ठ राख्न प्रहरीधरहरा तथा ब्यूँझनुहोस्!-का लेखहरूले कसरी मदत गऱ्यो, त्यसबारे धेरैले टिप्पणी गरेका छन्। एउटीले यसो भनिन्: “यो लेख पढिसकेपछि मलाई यहोवा आफ्नो सम्पूर्ण शक्ति तथा महिमा लिएर मसँगै बसिरहनुभएको जस्तो लाग्यो। मलाई उहाँ वास्तविक व्यक्ति जस्तो लाग्यो।” अर्को चिठीले यस्तो टिप्पणी गऱ्यो: “परमेश्वरप्रतिको दृष्टिकोणमा हाम्रो मन र हृदय नाटकीय ढंगले परिवर्तन भएको छ। यसले गर्दा हामी पूर्णतया बद्लिन्छौं। यो त कसैले हाम्रो चस्मा सफासित पुछिदिएर स्पष्ट देखेजस्तै हो।”
कसै-कसैले पत्रिकाहरूबाट कुनै समस्या वा चुनौतीहरू सामना गर्न कसरी मदत पाएका छन् र त्यसद्वारा यहोवाले तिनीहरूप्रति व्यक्तिगत चासो लिनुहुन्छ भनेर आश्वासन पाए भनी लेख्छन्। एउटी पाठिकाले यसप्रकार लेखिन्: “यहोवाले आफ्ना जनहरूको कति चासो लिनुहुन्छ र प्रेम गर्नुहुन्छ भनेर देखाउनुभएकोमा फेरि धन्यवाद दिन चाहन्छु।” आफ्नो बच्चा मृत्युको कारण गुमाउनु परेको एक जापानी स्त्रीले ब्यूँझनुहोस्!-को त्यस विषयको लेखबारे यसो भनिन्: “मैले यो लेख पढेर परमेश्वरको प्रशस्त कृपा पाएँ अनि म धुरुधुरु रुनसम्म रोएँ। मैले यो पत्रिका मलाई दुःख र एक्लो लागेको बेला पढ्न तुरुन्तै भेटाउने ठाउँमा राखेकी छु।” एक शोकित स्त्रीले यसरी लेखिन्: “प्रहरीधरहरा र ब्यूँझनुहोस्!-का लेखहरू साथै “ह्वेन सम्वान यु लभ डाइज” (तपाईंको प्रिय जनको मृत्यु हुँदा) (नेपालीमा उपलब्ध छैन) पुस्तिकाले मलाई शोकको समयमा धैर्य धारण गर्न बल प्रदान गऱ्यो।”
सान्त्वनाको प्रमुख स्रोत पवित्र धर्मशास्त्र हो। (रोमी १५:४) प्रहरीधरहरा-को सा- थसाथै यसको सहपत्रिका ब्यूँ- झनुहोस्!-ले प्रमाणको रूपमा बाइबललाई प्रयोग गर्छ। त्य- सैले यी पत्रिकाहरू यसका पाठकहरूको लागि सान्त्वना- दायी र प्रोत्साहनजनक साबित भएका छन्।
[पृष्ठ २३-मा भएको चित्र]
सबै सान्त्वनाका परमेश्वरले प्रार्थना पनि सुन्नुहुन्छ