प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१५ pp. २७-३१
  • “सबै विलाप गर्नेहरूलाई सान्त्वना” दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सबै विलाप गर्नेहरूलाई सान्त्वना” दिनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सारा पृथ्वीभरि सुसमाचार प्रचार गरिंदैछ
  • सँगी विश्‍वासीहरूलाई सान्त्वना दिनुहोस्‌
  • परमेश्‍वरको वचनबाट सान्त्वना पाउनुहोस्‌
  • अरूलाई सान्त्वना दिने थप तरिकाहरू
  • ईश्‍वरले सान्त्वना दिनुहुने तरिका
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
  • “सबै सान्त्वनाका परमेश्‍वर” यहोवामा भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • सान्त्वना अनि प्रोत्साहन विभिन्‍न मोहडा भएको रत्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१५ pp. २७-३१

“सबै विलाप गर्नेहरूलाई सान्त्वना” दिनुहोस्‌

“परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ . . . सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन।”—यशै. ६१:१, २.

१. येशूले विलाप गर्नेहरूका लागि के गर्नुभयो र किन?

येशू ख्रीष्टले यसो भन्‍नुभयो: “मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।” (यूह. ४:३४) यहोवाले दिनुभएको जिम्मेवारी पूरा गर्दा येशूले आफ्नो बुबाका मनमोहक गुणहरू अनुकरण गर्नुभयो। ती गुणहरूमध्ये एउटा, मानिसहरूप्रति यहोवाले देखाउनुभएको प्रेम हो। (१ यूह. ४:७-१०) पावलले यहोवालाई “सबै सान्त्वनाका परमेश्‍वर” भनेर सम्बोधन गरे। यसरी सान्त्वना दिएर यहोवा मानिसहरूलाई प्रेम देखाउनुहुन्छ भनेर तिनले संकेत गरे। (२ कोरि. १:३) आफूबारे यशैयाको पुस्तकले भविष्यवाणी गरेअनुरूपै गरेर येशूले त्यस्तो किसिमको प्रेम प्रदर्शित गर्नुभयो। ( यशैया ६१:१, २ पढ्‌नुहोस्‌) उहाँले नासरतको सभाघरमा त्यो भविष्यवाणी पढेर सुनाउनुभयो अनि आफूमा सो भविष्यवाणी पूरा भएको कुरा बताउनुभयो। (लूका ४:१६-२१) पृथ्वीमा आफ्नो सेवाको दौडान येशूले विलाप गर्नेहरूलाई मायालुपूर्वक सान्त्वना दिनुभयो। यसरी उहाँले ती मानिसहरूलाई प्रोत्साहन र मनोशान्ति दिनुभयो।

२, ३. सान्त्वना दिने सन्दर्भमा येशूका अनुयायीहरूले किन उहाँको अनुकरण गर्नुपर्छ?

२ येशूका सबै अनुयायीहरूले पनि विलाप गर्नेहरूलाई सान्त्वना दिएर उहाँको अनुकरण गर्नुपर्छ। (१ कोरि. ११:१) पावलले भने: “एक-अर्कालाई सान्त्वना दिइरहो अनि एक-अर्काको उत्थान गरिरहो।” (१ थिस्स. ५:११) विशेषगरि, अहिले मानिसहरू “असाध्यै कठिन समय”-मा बाँचिरहेको हुनाले हामीले उनीहरूलाई सान्त्वना दिनु आवश्‍यक छ। (२ तिमो. ३:१) त्यसमाथि पनि, आज संसारभरि नै नम्र मन भएका थुप्रैले खराब मानिसहरूको बोली अनि व्यवहारले गर्दा दुःख, पीडा र नैराश्‍यताको सामना गरिरहनुपरेको छ।

३ बाइबलले भविष्यवाणी गरेअनुरूप नै यस दुष्ट युगको अन्तको दिनमा थुप्रै मानिसहरू “आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, परमेश्‍वरको निन्दा गर्ने, आमाबाबुको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने” भएका छन्‌। मानिसहरूको त्यस्तो मनोवृत्ति पहिलाभन्दा झनै बढ्‌दै गएको छ किनभने “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌-झन्‌ खराब हुँदै” गइरहेका छन्‌।—२ तिमो. ३:२-४, १३.

४. अहिले यस संसारको अवस्था कस्तो छ?

४ यी सबै कुरा देखेर हामी छक्क पर्नुपर्दैन किनभने परमेश्‍वरको वचन यसो भन्छ: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (१ यूह. ५:१९) यस पदमा बताइएको “सारा संसार”-मा संसारको राजनैतिक, धार्मिक अनि व्यापारिक तत्त्वहरूका साथै अफवाह फैलाउने यसका माध्यमहरू पर्छन्‌। सैतान अर्थात्‌ दियाबललाई “यस संसारको शासक” अनि “यस युगको ईश्‍वर” भन्‍नु एकदमै उपयुक्‍त छ। (यूह. १४:३०; २ कोरि. ४:४) आज यस संसारको अवस्था दिन प्रतिदिन खस्कँदै जानुको एउटा कारण सैतान असाध्यै रिसाएकोले गर्दा हो। यहोवाले थोरै समयपछि नै आफूलाई नाश गर्ने कुरा थाह भएकोले त्यो असाध्यै रिसाएको छ। (प्रका. १२:१२) यहोवाले सैतान अनि त्यसको वशमा भएको यस दुष्ट युगलाई लामो समयसम्म सहनुहुनेछैन र उहाँको सार्वभौमिकताबारे सैतानले उठाएको विवाद सुल्झिनेछ भन्‍ने कुरा थाह पाउँदा हामी कत्ति धेरै सान्त्वना पाउँछौं!—उत्प. अध्या. ३; अय्यू. अध्या. २.

सारा पृथ्वीभरि सुसमाचार प्रचार गरिंदैछ

५. प्रचारकार्यबारे गरिएको भविष्यवाणी यस अन्तको दिनमा कसरी पूरा भइरहेको छ?

५ मानव इतिहासको यस कठिन घडीमा येशूले गर्नुभएको भविष्यवाणी पूरा भइरहेको छ। उहाँले यसो भन्‍नुभएको थियो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) परमेश्‍वरको राज्यबारे विश्‍वव्यापी रूपमा नै तीव्र गतिमा प्रचार भइरहेको छ। आज संसारभरि ७५,००,००० भन्दा धेरै यहोवाका साक्षीहरू १,०७,००० भन्दा बढी मण्डलीहरूमा उपस्थित हुन्छन्‌। येशूले मानिसहरूलाई प्रचार गर्नुभएजस्तै अनि सिकाउनुभएजस्तै आज यहोवाका साक्षीहरू पनि परमेश्‍वरको राज्यबारे मानिसहरूलाई प्रचार गर्छन्‌। (मत्ती ४:१७) आधुनिक समयमा भइरहेको प्रचारकार्यको कारण विलाप गरिरहेका थुप्रै व्यक्‍तिहरूले ठूलो सान्त्वना पाइरहेका छन्‌। बितेको दुई वर्षमा मात्रै ५,७०,६०१ जनाले बप्तिस्मा गरेर आफूलाई यहोवाको साक्षीको रूपमा चिनाए।

६. तपाईंलाई प्रचारकार्य कत्तिको व्यापक रूपमा फैलिएको छ जस्तो लाग्छ?

६ यहोवाका साक्षीहरूले अहिले ५०० भन्दा बढी भाषामा बाइबलआधारित साहित्यहरू अनुवाद गरेर वितरण गरिरहेको कुराबाट नै प्रचारकार्य कत्तिको व्यापक छ भनेर देख्न सकिन्छ। मानव इतिहासमा यस्तो काम पहिला कहिल्यै भएको थिएन! यहोवाको संगठनको पार्थिव भागको अस्तित्व, यसले गरेको काम र वृद्धि साँच्चै नै अद्‌भुत किसिमको छ। यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइ अनि मदत नभएको भए सैतानले राज गरेको यस संसारमा यस्तो कुरा सम्भव हुनेथिएन। सुसमाचार फैलाउने काम आज विश्‍वव्यापी रूपमा भइरहेको कारण बाइबलले दिने सान्त्वनाबाट यहोवाका साक्षीहरूले मात्र होइन तर राज्य सन्देश स्वीकार्ने मानिसहरू जो पहिला विलाप गर्थे, तिनीहरूले पनि लाभ उठाइरहेका छन्‌।

सँगी विश्‍वासीहरूलाई सान्त्वना दिनुहोस्‌

७. (क) परमेश्‍वरले अहिले सबै दुःख-कष्टको स्रोत हटाएको आशा हामी किन गर्न सक्दैनौं? (ख) हामी खेदो अनि कष्ट सहन सक्छौं भनेर कसरी थाह पाउन सक्छौं?

७ यो संसार दुष्टता अनि कष्टै-कष्टले भरिपूर्ण भएको कारण हामीले पक्कै पनि व्याकुल बनाउने परिस्थितिहरूको सामना गर्नुपर्ने हुन सक्छ। परमेश्‍वरले यस युगको अन्त नगरेसम्म उहाँले सबै दुःख-कष्टको स्रोत हटाउनुहुनेछ भनेर हामी आशा गर्न सक्दैनौं। त्यतिन्जेल हामीले भविष्यवाणी गरिएका सतावटहरू भोग्नुपर्नेछ र त्यसले विश्‍वव्यापी सार्वभौमिकताको विवादमा हामीले यहोवाको पक्ष लिइरहेका छौं कि छैनौं भनेर जाँच्नेछ। (२ तिमो. ३:१२) तर स्वर्गमा बस्नुहुने बुबा यहोवाबाट मदत अनि सान्त्वना पाएर हामी पुरातन थिस्सलोनिका सहरका अभिषिक्‍त ख्रीष्टियनहरूजस्तै हुन सक्छौं। तिनीहरूले खेदो अनि कष्ट आइपर्दा सहनशीलता अनि विश्‍वास देखाएका थिए।—२ थिस्सलोनिकी १:३-५ पढ्‌नुहोस्‌।

८. यहोवा आफ्ना सेवकहरूलाई सान्त्वना दिनुहुन्छ भनेर धर्मशास्त्रमा कस्तो प्रमाण दिइएको छ?

८ यहोवाले आफ्ना सेवकहरूलाई चाहिने सान्त्वना दिनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। उदाहरणका लागि, अगमवक्‍ता एलियालाई दुष्ट रानी ईजेबेलले मार्ने धम्की दिंदा तिनले साहस गुमाएका थिए र अन्तै भागेर गएका थिए। यतिसम्म कि तिनले ‘मर्न पाए हुन्थ्यो’ समेत भने। तैपनि यहोवाले एलियालाई गाली गर्नुको साटो तिनलाई अगमवक्‍ताको जिम्मेवारी पूरा गर्न आवश्‍यक सान्त्वना र साहस दिनुभयो। (१ राजा १९:१-२१) प्रथम शताब्दीको ख्रीष्टियन मण्डलीका भाइबहिनीहरूले अनुभव गरेको कुराबाट पनि हामी यहोवाले आफ्ना जनहरूलाई सान्त्वना दिनुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छौं। जस्तै, “सारा यहूदिया, गालील र सामरियाको मण्डलीमा शान्ति छायो र सुदृढ हुँदै गयो” भनेर बाइबलमा लेखिएको हामी पाउँछौं। साथै “यहोवाको डर अनि पवित्र शक्‍तिबाट पाएको प्रोत्साहनअनुसार हिंड्‌दा मण्डलीको वृद्धि हुँदै गयो” भन्‍ने विवरण पनि हामी बाइबलमा पाउँछौं। (प्रेषि. ९:३१) हामीले पनि “पवित्र शक्‍तिबाट . . . प्रोत्साहन” पाउन सक्छौं भनेर थाह पाउनु कत्ति खुसीको कुरा!

९. येशूबारे अध्ययन गरेर हामी किन सान्त्वना पाउन सक्छौं?

९ ख्रीष्टियनको हैसियतमा येशू ख्रीष्टबारे अध्ययन गरेर अनि उहाँको पाइला पछ्याएर हामीले सान्त्वना पाएका छौं। येशूले यसो भन्‍नुभयो: “हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिसहरू हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। मेरो जुवा बोक र मबाट सिक, किनकि म कोमल स्वभाव र नम्र मनको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।” (मत्ती ११:२८-३०) येशूले मानिसहरूसित मायालु अनि दयालु तरिकामा गर्नुभएको व्यवहारबारे अध्ययन गर्दा र उहाँको उदाहरण पछ्याउँदा तनावको समयमा हामी ठूलो मदत पाउन सक्छौं।

१०, ११. मण्डलीमा क-कसले सान्त्वना दिन सक्छन्‌?

१० हामी सँगी विश्‍वासीहरूबाट पनि सान्त्वना पाउन सक्छौं। उदाहरणको लागि, कठिन परिस्थितिले गर्दा व्याकुल भएका भाइबहिनीहरूलाई मण्डलीका एल्डरहरूले कसरी मदत दिन्छन्‌, विचार गर्नुहोस्‌। चेला याकूबले यस्तो लेखे: “के तिमीहरूमध्ये कोही [आध्यात्मिक रूपमा] बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाओस्‌ अनि तिनीहरूले उसको लागि प्रार्थना गरिदेऊन्‌।” यसो गर्दा परिणाम कस्तो हुन्छ? “विश्‍वाससहित गरिएको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ र यहोवाले उसलाई उठाउनुहुनेछ। उसले पाप गरेकै रहेछ भने पनि उसलाई क्षमा दिइनेछ।” (याकू. ५:१४, १५) मण्डलीका अरू सदस्यहरूले पनि त्यस्ता व्यक्‍तिहरूलाई प्रोत्साहन दिन सक्छन्‌।

११ कुनै स्त्रीलाई समस्या पर्दा प्रायजसो तिनलाई स्त्रीहरूसितै कुरा गर्न सजिलो लाग्छ। विशेषगरि, वृद्ध अनि अनुभवी बहिनीहरूले जवान बहिनीहरूलाई राम्रो सल्लाह-सुझाव दिन सक्छन्‌। अहिले ती जवान बहिनीहरूले गरेको जस्तै अनुभव ती वृद्ध अनि परिपक्व बहिनीहरूले पहिल्यै गरिसकेका हुन सक्छन्‌। तिनीहरूको समानुभूति अनि स्त्रीत्व झल्काउने गुण जवान बहिनीहरूका लागि ठूलो मदत साबित हुन सक्छ। ( तीतस २:३-५ पढ्‌नुहोस्‌) हो, एल्डर अनि अरूहरूले पनि “जो निराश छन्‌, तिनीहरूसित सान्त्वनादायी कुरा” गर्न सक्छन्‌ र उनीहरूले त्यसो गर्नु पनि पर्छ। (१ थिस्स. ५:१४, १५) परमेश्‍वरले “हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना दिनुहुन्छ” र यसले गर्दा हामी पनि “हरप्रकारका सङ्‌कष्टमा परेकाहरूलाई . . . सान्त्वना दिन” सक्छौं भनेर बिर्सनु हुँदैन।—२ कोरि. १:४.

१२. ख्रीष्टियन सभाहरू धाउनु किन महत्त्वपूर्ण छ?

१२ सान्त्वना पाउने सबैभन्दा राम्रो तरिका ख्रीष्टियन सभाहरू धाउनु हो किनभने त्यहाँ हुने बाइबलआधारित छलफलहरूले हामीलाई प्रोत्साहन दिन्छ। यहूदा र सिलासले “धेरै भाषण दिएर . . . भाइहरूलाई प्रोत्साहन दिनुका साथै ढाडस दिए” भनेर बाइबलमा लेखिएको छ। (प्रेषि. १५:३२) सभा अघि र पछि मण्डलीका भाइबहिनीहरूबीच उत्थानदायी कुराकानी हुनेगर्छ। त्यसकारण यदि हामी कुनै कठिन परिस्थितिले गर्दा व्याकुल भएका छौं भने हामी एकलकाँटे नहोऔं किनभने यसो गर्दा बिग्रेको परिस्थिति सुध्रिंदैन। (हितो. १८:१) बरु, हामीले प्रेषित पावलको यो प्रेरित सल्लाह पछ्याउनु राम्रो हुन्छ: “आपसमा गहिरो चासो राखेर हामी एक-अर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं, कसै-कसैलाई बानी परेजस्तै हामी एक ठाउँमा भेला हुन नछोडौं, बरु एकअर्कालाई प्रोत्साहन दिइरहौं, अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौं, झन्‌ बढी त्यसो गरिरहौं।”—हिब्रू १०:२४, २५.

परमेश्‍वरको वचनबाट सान्त्वना पाउनुहोस्‌

१३, १४. धर्मशास्त्रले हामीलाई कसरी सान्त्वना दिन सक्छ, बताउनुहोस्‌।

१३ चाहे हामी बप्तिस्मा प्राप्त ख्रीष्टियन होऔं वा भर्खरै परमेश्‍वर र उहाँको उद्देश्‍यबारे सिक्दै गरेको व्यक्‍ति नै, परमेश्‍वरको लिखित वचनबाट हामी ठूलो सान्त्वना पाउन सक्छौं। पावलले यस्तो लेखे: “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌, ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीलाई आशा होस्‌।” (रोमी १५:४) पवित्र धर्मशास्त्रले हामीलाई सान्त्वना दिन सक्छ र हामीलाई “पूर्णतया योग्य र हरेक असल कामका लागि तयार बनाउँछ।” (२ तिमो. ३:१६, १७) परमेश्‍वरको साँचो उद्देश्‍यबारे थाह पाएर अनि भविष्यको साँचो आशा पाएर हामी निश्‍चय नै ठूलो सान्त्वना प्राप्त गर्न सक्छौं। त्यसकारण हामीलाई विभिन्‍न तरिकामा सान्त्वना दिने अनि फाइदा पुऱ्‍याउने परमेश्‍वरको वचन अनि त्यसमा आधारित प्रकाशनहरूको पूरापूर सदुपयोग गरौं।

१४ अरूलाई निर्देशन अनि सान्त्वना दिन धर्मशास्त्र प्रयोग गर्ने सन्दर्भमा येशूले हाम्रो लागि उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। उदाहरणको लागि, पुनर्जीवित भएपछि उहाँले आफ्ना दुई चेलाहरूलाई “धर्मशास्त्रको पूरै अर्थ” खोलिदिनुभएको थियो। उहाँले बताउनुभएको कुराले तिनीहरूको मनै छोएको थियो। (लूका २४:३२) येशूको उत्कृष्ट उदाहरण पछ्याउँदै प्रेषित पावलले “धर्मशास्त्रबाट तर्क गरे।” तिनको पत्र प्राप्त गर्ने बिरियालीहरू “असाध्यै उत्सुक भएर परमेश्‍वरको वचन ग्रहण गर्थे र ती सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे।” (प्रेषि. १७:२, १०, ११) त्यसैगरि हामीले पनि दिनहुँ बाइबल पढेर अनि कठिन समयमा हामीलाई सान्त्वना र आशा दिने किसिमले तयार पारिएका बाइबलआधारित प्रकाशनहरू पढेर लाभ उठाउनु महत्त्वपूर्ण छ।

अरूलाई सान्त्वना दिने थप तरिकाहरू

१५, १६. सँगी ख्रीष्टियनहरूलाई मदत र सान्त्वना दिन हामी के-के गर्न सक्छौं?

१५ हामी थुप्रै व्यावहारिक तरिकामा सँगी विश्‍वासीहरूलाई मदत गर्न सक्छौं र सान्त्वना दिन सक्छौं। जस्तै, वृद्ध तथा बिरामी भाइबहिनीहरूका लागि हामी किनमेल गरिदिन सक्छौं। अरूको काममा हात बटाइदिएर व्यक्‍तिगत चासो देखाउन सक्छौं। (फिलि. २:४) सँगी उपासकको कुनै राम्रो गुण—जस्तो कि प्रेम, निपुणता, साहस अनि विश्‍वासको प्रशंसा गर्न सक्छौं।

१६ वृद्ध भाइबहिनीलाई सान्त्वना दिनको लागि हामी तिनीहरूको घरमा जान सक्छौं र तिनीहरूका विगतका अनुभवहरू अनि यहोवाको सेवा गर्दा तिनीहरूले पाएका आशिष्‌हरूबारे तिनीहरूले बताउँदा ध्यान दिएर सुन्‍न सक्छौं। यसो गर्दा हामी तिनीहरूबाट प्रोत्साहन र सान्त्वना पाउन सक्छौं। तिनीहरूको घरमा जाँदा हामी सँगै मिलेर बाइबल तथा बाइबलआधारित प्रकाशनहरू पढ्‌न सक्छौं। अथवा आउँदो सभामा छलफल गरिने प्रहरीधरहरा अध्ययनको लेख वा त्यस हप्ता मण्डली बाइबल अध्ययनमा छलफल गरिने भाग पढ्‌न सक्छौं। तिनीहरूसितै बसेर हाम्रो सङ्‌गठनले निकालेको डीभीडीहरू हेर्न सक्छौं। साथै हाम्रा प्रकाशनहरूमा पाइने कुनै प्रोत्साहनदायी अनुभवहरू पढ्‌न वा बताउन सक्छौं।

१७, १८. यहोवाको वफादार सेवकको हैसियतमा उहाँले हामीलाई मदत र सान्त्वना दिनुहुनेछ भनेर हामी किन पक्का हुन सक्छौं?

१७ यदि हामीले आफ्ना सँगी उपासकहरूलाई सान्त्वना चाहिएको याद गऱ्‍यौं भने तिनीहरूको विषयमा प्रार्थना गरिदिन सक्छौं। (रोमी १५:३०; कल. ४:१२) जीवनमा आइपर्ने विभिन्‍न किसिमका समस्याहरूको सामना गर्दा अनि अरूलाई सान्त्वना दिन अथक प्रयास गर्दा हामीले भजनहारको जस्तै विश्‍वास र सङ्‌कल्प विकास गर्न सक्छौं। तिनले यस्तो गीत गाए: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सम्हाल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” (भज. ५५:२२) हो, आफ्ना वफादार सेवकहरूलाई सान्त्वना र मदत दिन यहोवा सधैं तयार हुनुहुन्छ।

१८ यहोवाले पुरातन समयका आफ्ना उपासकहरूलाई यसो भन्‍नुभएको थियो: “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ।” (यशै. ५१:१२) अहिले पनि यहोवा हामीलाई सान्त्वना दिनुहुन्छ अनि विलाप गर्नेहरूलाई असल काम र बोलीद्वारा सान्त्वना दिंदा आशिष्‌ दिनुहुन्छ। हाम्रो आशा स्वर्ग जाने होस्‌ या यसै पृथ्वीमा बस्ने, हामी प्रत्येकले अभिषिक्‍त सँगी ख्रीष्टियनहरूलाई पावलले लेखेका शब्दहरूबाट सान्त्वना पाउन सक्छौं: “हाम्रा प्रभु येशू ख्रीष्ट स्वयम्‌ले र हामीलाई प्रेम गर्नुहुने अनि आफ्नो असीम अनुग्रहद्वारा चिरस्थायी सान्त्वना र उज्ज्वल आशा दिनुहुने परमेश्‍वर, हाम्रा बुबाले तिमीहरूको मनलाई सान्त्वना देऊन्‌ र तिमीहरूलाई हरेक असल काम अनि वचनका लागि दृढ बनाऊन्‌।”—२ थिस्स. २:१६, १७.

के तपाईंलाई याद छ?

• विलाप गर्नेहरूलाई सान्त्वना दिने हाम्रो काम कत्तिको व्यापक छ?

• अरूलाई हामी कुन-कुन तरिकामा सान्त्वना दिन सक्छौं?

• यहोवा आफ्ना सेवकहरूलाई सान्त्वना दिनुहुन्छ भन्‍ने धर्मशास्त्रीय प्रमाण के छ?

[पृष्ठ २८-मा भएको चित्र]

के तपाईं विलाप गर्नेहरूलाई सान्त्वना दिने काममा भाग लिनुहुन्छ?

[पृष्ठ ३०-मा भएको चित्र]

जवान र वृद्ध दुवैले प्रोत्साहन दिन सक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने