प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 २/१ पृ. २७-३१
  • कहिल्यै मर्नु नपर्ने —मेरो आजीवन आशा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कहिल्यै मर्नु नपर्ने —मेरो आजीवन आशा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रेजको मृत्यु किन भयो?
  • बाइबल सच्चाइ ग्रहण गर्ने
  • प्रचार कार्यलाई संगठित गर्नु
  • युद्धतिरका अनुभवहरू
  • विश्‍वासको परीक्षामा धीरजी हुने
  • भरोसा गर्दै भविष्य कुर्ने
  • यहोवाले नम्र व्यक्‍तिहरूलाई सत्यतर्फ खिच्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • युद्धको बेला आइपरेका कठिनाइहरूले मलाई जीवनको लागि तयार बनायो
    ब्यूँझनुहोस्‌!—२००४
  • यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 २/१ पृ. २७-३१

कहिल्यै मर्नु नपर्ने —मेरो आजीवन आशा

हेक्टर आर. प्रीस्टको वृतान्तमा आधारित

“अर्बुद रोग निको पार्न सकिंदैन,” चिकित्सकले भने। “तपाईंको लागि अब हामी केही गर्नसक्दैनौं।” यो रोग खुट्टिएको झन्डै दश वर्षभन्दा बढी भइसक्यो। तैपनि यसै पृथ्वीमा सधैंभरि बाँच्न पाउने बाइबल आधारित आशालाई मैले अहिलेसम्म थामिराखेको छु।—यूहन्‍ना ११:२६.

मेरा आमाबाबु निष्कपट मेथोडिस्टहरू हुनुहुन्थ्यो। उहाँहरू हाम्रो पैतृक खेत नजीकै पर्ने सानो गाउँको चर्चमा नियमितपूर्वक धाउनुहुन्थ्यो। म विराराप्पा जिल्लाको कृषिजन्य रमाइलो उपत्यकामा जन्मिएको थिएँ। यो ठाउँ वेलिङटन, न्यु जील्याण्डभन्दा १३० किलोमिटर टाढा उत्तरपूर्वमा पर्छ। त्यहाँ हामी हिउँ नै हिउँले ढाकिएका पहाडहरू, हिमालबाट झर्ने स्वच्छ पानी, चारैतिर अग्ला-होचा डाँडाहरू र उर्वरा भूमिको मनोरम दृश्‍यहरूको आनन्द उठाउँथ्यौं।

मेथोडिस्ट चर्चमा हामीलाई सबै असल मानिसहरू स्वर्ग जान्छन्‌ तर दुष्टहरूले नरक अर्थात्‌ आगोको सन्ताप भोग्छन्‌ भनेर सिकाइन्थ्यो। मानिसहरू स्वर्गमै बसोस्‌ भन्‍ने परमेश्‍वरको इच्छा थियो भने उहाँले पहिल्यै मानिसहरूलाई त्यहाँ किन राख्नुभएन, मैले बुझ्नै सकिनँ। म मृत्युदेखि साह्रै डराउँथे र हामी किन मर्छौं होला भनेर अक्सर सोच्थें। सन्‌ १९२७ मा १६ वर्षको हुँदा हाम्रो घरमा विपत्तिको पहाड बज्रियो। यो घटनाले गर्दा मैले आफ्नो मनमा ओइरिएका प्रश्‍नहरूको उत्तर खोज्न थालें।

रेजको मृत्यु किन भयो?

मेरो भाइ रेज ११ वर्षको हुँदा सिकिस्त बिरामी भयो। चिकित्सकहरूले उसको रोग निदान गर्न नसकेकोले उसलाई मदत गर्न सकेनन्‌। आमाले मेथोडिस्ट सेवकलाई बोलाउनु भयो। तिनले रेजको निम्ति प्रार्थना गरे तर यसले आमालाई सान्त्वना दिएन। भनौं भने, उहाँले त्यस सेवकलाई तिनको प्रार्थना प्रभावहीन भएको बताउनुभयो।

रेजको मृत्यु भएपछि आफ्नो कान्छो छोरोको मृत्यु किन भयो त्यसको चित्तबुझ्दो जवाफ पाउन आमा भेटेजति सबैसित कुरा गर्नुहुन्थ्यो। शहरमा एक जना व्यापारीसित कुरा गर्नु हुँदा मृतकहरू कस्तो अवस्थामा छन्‌, त्यसबारे केही थाह छ भनेर उहाँले सोध्नु भएछ। त्यस व्यापारिलाई थाह त थिएन तर तिनले यसो चाहिं भने: “एक जना मानिसले यहाँ एउटा पुस्तक दिएको छ। तपाईं चाहनुहुन्छ भने पढ्‌न सक्नुहुन्छ।”

आमाले त्यो पुस्तक घर ल्याएर पढ्‌न थाल्नुभयो। नसिधिएसम्म पढेको पढेकै गर्नुभयो। बिस्तारै उहाँको सम्पूर्ण सोचनपद्धति नै बदलियो। उहाँले परिवारलाई यसो भन्‍नुभयो, “लौ भेट्टाएँ, यही सत्य हो।” त्यो पुस्तक स्टडीज इन द स्क्रिप्चर्स-को (धर्मशास्त्रको अध्ययन) पहिलो खण्ड द डिभाइन प्लान अफ दि एजेस्‌ (युगानुयुगको ईश्‍वरीय योजना) थियो। सुरुमा म अलि शंकालु थिएँ र सृष्टिकर्ताको उदेश्‍यबारे त्यस पुस्तकले पेश गरेको प्रस्तुति विरुद्ध बहस गर्न अथक प्रयास गरें। तर अन्तमा मेरो बहस सेलायो।

बाइबल सच्चाइ ग्रहण गर्ने

‘ओहो! सधैंभरि बाँच्न पाउने, कहिल्यै मर्नु नपर्ने!’ म सोच्थें। यो मायालु परमेश्‍वरबाट सबैले आशा गर्न सकिने प्रत्याशा हो। पार्थिव प्रमोदवन! हो, मेरोलागि।

यी अद्‌भुत सच्चाइहरू थाह पाएपछि मेरी आमा र वेलिङटनबाट आएका तीन मसीही बहिनीहरू—थोम्पसोन, बार्टन र जोन्स्‌ गाउँको कुनाकाप्चासम्म परमेश्‍वरको राज्यको बीउ छर्न निकै दिनका लागि जानुहुन्थ्यो। बुबासित आमाको जस्तो मिशनरी जोश त थिएन। तैपनि उहाँले आमालाई सहयोग गर्नुहुन्थ्यो।

सच्चाइ यही हो भनेर म विश्‍वस्त भइसकेको थिएँ तर मैले त्यस्तो खास केही कदम चालिनँ। सन्‌ १९३५ मा मैले रोइना कोर्लेटसित विवाह गरें र समयमा हाम्रो छोरी इनद र छोरो ब्यारी जन्मिए। म पशुको व्यापार गर्थें र वरपरका किसानहरूसित म हजारौं बथान वस्तुभाउ किन्थें। ती कृषकहरू राजनैतिक विषयमा छलफल गर्थे। अनि तिनीहरूलाई “मानिसहरूले गरेका कुनै पनि प्रयास सफल हुनेछैन र सफल हुनसक्ने सरकार त परमेश्‍वरको राज्य मात्र हो” भन्‍न पाउँदा म ज्यादै रमाउँथें।

दुःखको कुरा मलाई सुर्ती खाने लत लाग्यो। मेरो मुखमा सधैं सिगार हुन्थ्यो। समय बित्दै जाँदा मेरो स्वास्थ्य पनि बिग्रँदै गयो र पेटसम्बन्धी कष्टप्रद समस्याहरूले गर्दा मलाई अस्पतालमा भर्ना गरियो। धूम्रपानको कारण मेरो अमाशय नराम्रोसित सुन्‍निएको छ भनेर मलाई अवगत गराइयो। मैले त्यो कुलत त्यागें। तैपनि म प्रायः कहिले नसिधिने सिगार वा चुरोट तानिरहेको सपना देख्थें। सुर्ती सेवन गर्नु कस्तो डरलाग्दो कुलत हुँदो रहेछ!

सुर्ती सेवन गर्ने बानी त्यागेपछि मैले अन्य महत्त्वपूर्ण परिवर्तनहरू गरें। सन्‌ १९३९ मा २८ वर्ष पुग्दा मैले हाम्रो गाउँघर नजीकैको माङ्‌टाइ नदीमा बप्तिस्मा लिएँ। रबर्ट लाजेन्बी, वेलिङटनदेखि हाम्रो घरमा भाषण दिन र मलाई बप्तिस्मा दिन आए। तिनले पछि न्यु जील्याण्डमा प्रचार कार्यको निरीक्षण गरे। त्यसबेलादेखि म यहोवाको निर्भयी साक्षी भएँ।

प्रचार कार्यलाई संगठित गर्नु

बप्तिस्मा लिएपछि म एकेताहून मण्डलीको निरीक्षक नियुक्‍त भएँ। मेरी पत्नी रोइनाले बाइबल सच्चाइ अंगालेकी थिइनन्‌। तथापि, घर-घर गई उचित तरिकाले प्रचार गर्न सिक्न अल्फ ब्रायान्टलाई पाहिआतुबाट हामीकहाँ निम्ताउँदैछु भनेर तिनलाई अवगत गराएँ। म हाम्रो क्षेत्रलाई व्यवस्थित तरिकाले ढाक्न र प्रचार कार्य संगठित रूपमा गर्न चाहन्थें।

रोइनाले भनिन्‌: “हेक्टर, तिमी घर-घर प्रचार गर्न गयौ भने फर्कंदा मलाई यहाँ पाउने छैनौ। म तिमीसित बस्दिनँ। घरपरिवारको हेरविचार गर्ने जिम्मेवारी तिम्रो हो।”

लौ! अब के गर्ने! हिचकिचाउँदै म तयार भएँ। ‘मैले यो गर्नैपर्छ,’ भन्दै आफैलाई सम्झाएँ। ‘म र मेरो परिवारको जीवन यसैमा निर्भर छ।’ त्यसकारण मैले रोइनालाई उसको चित्त दुखाउन खोजेको हैन भन्‍ने कुरा विश्‍वस्त गराएँ। म तिनलाई धेरै माया गर्छु तर यहोवाको नाउँ, उहाँको सार्वभौमिकता र हाम्रो जीवन यसमा विथोलित भएकोले मैले यसरी प्रचार गर्नैपर्छ भनेर पनि बताएँ।

अल्फ र मैले पहिलो ढोका ढकढकायौं। हुन त त्यहाँ तिनले कुरा थालेका थिए तर पछि त मै पो बढ्‌ता बोल्दैरहेछु। नूहको दिनमा जस्तै हाम्रो समयमा पनि हुनेछ र हामीले आफ्नो छुट्‌कारा पक्का गर्न कदम चालिहाल्नुपर्छ भनेर मैले घरधनीलाई बताएँ। (मत्ती २४:३७-३९) त्यहाँ मैले केही साना पुस्तिकाहरू पनि छोडें।

जाने तर्खर गर्दा अल्फले सोधे: “त्यतिका ज्ञान तपाईंले कहाँबाट पाउनुभयो? तपाईंलाई मेरो मदतको आवश्‍यकतै छैन। तपाईं एक्लै प्रचार गर्न सक्नुहुन्छ। हामी छुट्टिएर प्रचार गरौं। त्यसो गऱ्‍यौं भने हामीले दुइ गुना बढी क्षेत्र ढाक्न सक्नेछौं।” अनि हामीले त्यसै गऱ्‍यौं।

घर फर्कंदै गर्दा अब के हुने हो केही थाह थिएन। तर रोइनाले त हाम्रो निम्ति चिया पो तयार पारेकी रहिछे। यो देखेर म छक्क र हर्षित भएँ। करिबन्‌ १४ दिनपछि मेरी पत्नीले पनि मसित जन सेवकाईमा भाग लिइन्‌ र तिनले मसीही जोशको राम्रो उदाहरण कायम गरिन्‌।

हाम्रो गाउँमा यहोवाका प्रथम साक्षी बन्‍नेहरूमध्ये मड मानसर र तिनका छोरा विलियम र छोरी रुबी थिए। मडको पति कठोर र कचकचे स्वभावका थिए। एक दिनको कुरा हो, रोइना र म मडलाई सेवकाईमा लान तिनीहरूको खेतमा पुग्यौं। जवान विलियमले हाम्रो निम्ति आफ्नो गाडीको प्रबन्ध मिलाएका थिए तर तिनको बुबाको अर्कै विचार रहेछ।

परिस्थिति तनाउग्रस्त थियो। मैले रोइनालाई हाम्री सानी छोरी इनदलाई सँभाल्न लगाएँ। म विलियमको गाडीमा बसें। मैले ग्यारेजबाट गाडी निकाल्न लागेको देखेर हामी फुत्कनअघि नै ग्यारेजको ढोका थुन्‍न श्री. मानसर दगुर्दै आउनुभयो। तर उहाँले ढोका थुन्‍न पाउनु भएन। मूल सडक पुग्नुअगावै हामीले गाडी रोक्यौं र रीसले चूर हुनु भएका श्री. मानसरसित कुरा गर्न म गाडीबाट निस्कें। उहाँलाई मैले “हामी क्षेत्र सेवकाईमा जाँदैछौं र श्रीमती मानसर पनि हामीसित जाँदै हुनुहुन्छ” भनें। मैले उहाँसित बिन्ती गरें। यसले गर्दा उहाँको रीस अलिकता भएपनि मऱ्‍यो। म सोच्छु, अहिले हो भने म यो परिस्थितीलाई भिन्दै तरिकाले सुल्झाउथें होला। जे होस्‌, उहाँ साक्षी त हुनु भएन तर यहोवाका साक्षीहरूप्रति पहिलेभन्दा उदार भने अवश्‍य हुनुभयो।

हुन त त्यसबेला त्यहाँ यहोवाका जनहरू निकै कम थिए। तैपनि हामीसित हाम्रो खेतमा बस्ने पूर्ण-समय सेवकहरूको भ्रमणबाट हामीले साँच्चै निकै आनन्द र फाइदा उठायौं। यी आगन्तुकहरूमा मिशनरीहरूका लागि वाचटावर बाइबल स्कूल अफ गिलियडका प्रारम्भिक कक्षाहरूमा भाग लिने अड्रियन थोम्पसन र उनकी बहिनी मली पनि थिए। तिनीहरूले जापान तथा पाकिस्तानजस्ता विदेशी मुलुकमा सेवा गरे।

युद्धतिरका अनुभवहरू

सन्‌ १९३९ सेप्टेम्बरतिर दोस्रो विश्‍वयुद्ध सुरु भयो र सन्‌ १९४० अक्टोबरतिर न्यु जील्याण्ड सरकारले यहोवाका साक्षीहरूको क्रियाकलापमा प्रतिबन्ध लगायो। मुलुकमा हाम्रा थुप्रै भाइहरूलाई जबरदस्ती अदालत लगे। कतिपय श्रम शिविरमा हालिए र श्रीमती तथा बालबच्चाहरूबाट अलग्याइए। डेरी फार्म चलाउने भए तापनि युद्ध चर्कन थालेपछि सैन्य सेवाको लागि बोलाउने हो कि भन्‍ने आशंकाले मलाई सताउन थाल्यो। त्यतिकैमा कृषकहरूले घरखेत छाडेर युद्धमा भाग लिनुपर्दैन भन्‍ने घोषणा गरियो।

रोइना र म प्रत्येक महिना ६० घण्टा प्रचार कार्यमा बिताउँदै निरन्तर मसीही सेवकाईमा लागिरह्‍यौं। त्यसताक मैले मसीही तटस्थता कायम राख्ने जवान साक्षीहरूलाई मदत गर्ने मौका पाएँ। तिनीहरूको लागि म वेलिङटन, उत्तरी पाल्मेरस्टन, पाहिआटु र मास्टरट्‌नजस्ता शहरहरूको अदालतमा समेत उपस्थित भएँ। अक्सर सैन्य जवान भर्ना गर्ने समितिमा एक जना पादरी पनि हुन्थ्यो र तिनीहरूले युद्धलाई दिएको अमसीही समर्थनको पर्दाफाश गर्न पाउनु हाम्रो निम्ति हर्षको कुरा थियो।—१ यूहन्‍ना ३:१०-१२.

एक रात रोइना र म प्रहरीधरहरा पढिरहेको बेला गुप्तचरहरूले हाम्रो घरमा छापा मारे। खानतलासी गर्दा तिनीहरूले घरमा भएका जम्मै बाइबल साहित्यहरू भेटे। “यी बाइबल साहित्य राखेकोले तिमीहरू थुनामा पर्नसक्छौं” भनेर हामीलाई अवगत गराइयो। ती गुप्तचरहरू फर्कन आफ्नो गाडीमा बसे, तर गाडीको ब्रेकले काम गरेन, तिनीहरूको गाडी डेग चलेन। विलियम मानसरले तिनीहरूलाई गाडी बनाउन मदत गरे र त्यस उप्रान्त ती मानिसहरू फेरि फर्केर आएनन्‌।

प्रतिबन्धको दौडान हामी बाइबल साहित्यहरूलाई हाम्रो खेतको अन्कन्टार ठाउँमा रहेको घरमा लुकाउँथ्यौं। मध्य रात म न्यु जील्याण्डस्थित शाखा कार्यालयमा जान्थें र साहित्यहरूले गाडी भर्थें। त्यसपछि म घर फर्किन्थें र ती साहित्यहरूलाई त्यही अन्कन्टार ठाउँमा राख्थें। एक रात म गोप्य ढुवानी लिन शाखा कार्यालयमा पुगें। त्यहाँ पुग्नेबित्तिकै अचानक सबै बत्तीहरू बले! “हामीले तिमीलाई समात्यौं!” भन्दै प्रहरी चिच्यायो। तर अचम्मको कुरा के हो भने, तिनीहरूले मलाई त्यति धेरै केरकार नगरी त्यसै छाडिदिए।

सन्‌ १९४९ मा रोइना र मैले हाम्रो खेत बेच्यौं र पैसा नसिधिएसम्म अग्रगामी गर्ने निर्णय गऱ्‍यौं। हामी मास्टरट्‌नमा सऱ्‍यौं र त्यहाँको मण्डलीसित मिलेर अग्रगामी गर्न थाल्यौं। दुइ वर्षभित्र २४ जना सक्रिय प्रकाशकहरू भएको फेदर्श्‍टन मण्डली स्थापित भयो र त्यहाँ मैले अध्यक्षको हैसियतले सेवा गरें। अनि सन्‌ १९५३ मा न्यु योर्कस्थित यांकी स्टेडियममा सम्पन्‍न यहोवाका साक्षीहरूको आठ-दिने अन्तरराष्ट्रिय अधिवेशनमा भाग लिन मैले संयुक्‍त राज्य अमेरीकाको यात्रा गर्ने मौका पाएँ। हाम्री छोरी इनद मस्तिष्कघातले पीडित भएकी हुँदा रोइना मसित आउन सकिनन्‌।

न्यु जील्याण्ड फर्केपछि मैले जागिर खानु पऱ्‍यो। हामी फेरि मास्टरट्‌न मण्डलीमा फर्क्यौं र त्यहाँ म अध्यक्ष नियुक्‍त भएँ। यसैबीच विलियम मानसरले मास्टरट्‌नमा सानो नाचघर किनेछ र यो विराराप्पाको पहिलो राज्य भवन भयो। सन्‌ १९५० को दशकमा हाम्रो मण्डलीमा आध्यात्मिक तथा संख्यात्मक रूपमा राम्रो बृद्धि भयो। त्यसैकारण भ्रमणमा आउने क्षेत्रीय निरीक्षकहरूले परिपक्व भाइहरूलाई मुलुकका अन्य स्थानहरूमा गएर राज्य प्रचार कार्यमा मदत गर्ने प्रोत्साहन अक्सर दिन्थे र धेरैले त्यसै गरे।

हामी सपरिवार मास्टरट्‌नमा बस्न थाल्यौं। त्यसपछिका दशकहरूमा मैले मण्डलीमा निकै सुअवसरहरू प्राप्त गरें र राष्ट्रिय तथा अन्तरराष्ट्रिय अधिवेशनहरूमा पाएका कार्यभारहरूबाट पनि आनन्द उठाएँ। रोइनाले जोशिलो भई क्षेत्र सेवकाईमा भाग लिइन्‌ र अरूलाई पनि त्यसै गर्न निरन्तर मदत दिई नै रहिन्‌।

विश्‍वासको परीक्षामा धीरजी हुने

यस लेखको प्रारम्भमा उल्लेख गरिएझैं सन्‌ १९८५ मा म निको नहुने अर्बुद रोगले पीडित भएको भेट्टाइएँ। कहिल्यै मर्नु नपर्ने लाखौं मानिसहरूमाझ मेरी विश्‍वासी पत्नी रोइना र म हाम्रा छोराछोरीहरूसहित हुन चाहन्थ्यौं! तर चिकित्सकहरूले मेरो कुनै आशा नभएकोले मलाई घर पठाइदिए। हुन त तिनीहरूले मलाई रोग खुट्टिंदा कस्तो महसुस भयो भनेर सोधेका थिए।

“म शान्त र आशावादी हुन्छु,” मैले जवाफ दिएँ। वास्तवमा बाइबलको हितोपदेशले मलाई स्थिर बनायो। त्यहाँ यसो लेखिएको छ: “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।”—हितोपदेश १४:३०.

अर्बुद रोग विशेषज्ञले बाइबलको यो सल्लाहको प्रशंसा गरे। “त्यस्तो मनोवृत्ति राखेमा अर्बुद रोग ९० प्रतिशत निको हुन्छ,” तिनीहरूले भने। तिनीहरूले सात हप्तासम्म विकिरण उपचार गर्ने सुझाव पनि दिए। खुशीको कुरा, अन्तमा म अर्बुद रोगमाथि विजयी भएँ।

यस कठिन परिस्थितिमा मलाई एउटा ठूलो आघात पऱ्‍यो। मस्तिष्क रक्‍तश्रावले गर्दा मेरी असल, वफादार पत्नीको मृत्यु भयो। धर्मशास्त्रमा अभिलिखित विश्‍वासी जनहरूको अनुभव र तिनीहरूले निष्ठा कायम राख्दा यहोवाले कसरी समस्या समाधान गर्न मदत गर्नुभयो भन्‍ने विवरणबाट मैले सान्त्वना पाएँ। अतः नयाँ संसारप्रतिको मेरो आशा चहकिलो भइरह्‍यो।—रोमी १५:४.

तैपनि म निराश भएँ र प्राचीनको हैसियतमा सेवा स्थगित गर्न खोजें। आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम नहोउञ्जेल स्थानीय भाइहरूले मलाई प्रोत्साहन दिई नै रहे। परिणामस्वरूप, बितेका ५७ वर्षदेखि मैले मसीही प्राचीन र निरीक्षकको हैसियतमा निरन्तर सेवा गर्न सकिरहेको छु।

भरोसा गर्दै भविष्य कुर्ने

यतिका वर्षसम्म यहोवाको सेवा गर्न पाएको सुअवसर अतुलनीय छ। मैले निकै आशिष्‌हरू पाएको छु! सोह्र वर्षको छँदा “लौ भेट्टाएँ, यही सत्य हो,” भन्दै मेरी आमाले गर्नुभएको उद्‌गार सुनेको अस्ति मात्रै हो जस्तो लाग्छ। सन्‌ १९७९ मा सय वर्षको उमेर नाघेपछि मेरी आमाको मृत्यु भयो। मृत्युपर्यन्त मेरी आमा विश्‍वासी र जोशिलो साक्षी थिइन्‌। उहाँकी छोरी र छ जना छोराहरू पनि निष्ठावान्‌ साक्षी भए।

यहोवाको नाउँमाथि लागेको सबै कलंक मेटिएको हेर्न मेरो तीव्र इच्छा छ। कहिल्यै मर्नु नपर्ने मेरो आजीवन आशा के पूरा होला? त्यो त अब पर्खनै पर्छ। तथापि, धेरैले हो लाखौंले यो आशिष्‌ अनुभव गर्न पाउनेछन्‌ भन्‍ने कुरामा म विश्‍वस्त छु। अतः बाँचुञ्जेल, कहिल्यै मर्नु नपर्नेहरूमाझ हुन पाउने प्रत्याशालाई म मनमा सजाएर राख्नेछु।—यूहन्‍ना ११:२६.

[पृष्ठ २८-मा भएको चित्र]

मेरी आमा

[पृष्ठ २८-मा भएको चित्र]

मेरी पत्नी र छोराछोरीसित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने