इस्टर वा स्मरणार्थ—यीमध्ये कुन चाहिं मनाउनुपर्छ?
क्षितिजमा सूर्यको लाली देखा पर्ने बित्तिकै करोडौं मानिसहरूले अप्रिल ७ लाई वर्षको सबैभन्दा पवित्र दिन अर्थात् इस्टरको रूपमा स्वागत गर्नेछन्। कुनै समय सेप्टुआजेसिमा नामक बिदादेखि ट्रिनिटि दिवससम्म चल्ने १२० दिन लामो भोज र उपवासलाई इस्टर भन्ने गरिन्थ्यो। तर आज येशूको पुनरुत्थान अथवा इस्टर आइतबारको स्मरणार्थ दिनलाई इस्टर भनिन्छ।
तथापि, त्यही हप्ता मंगलबार अप्रिल २ को साँझपख अरू लाखौं मानिसहरू ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाउन भेला हुनेछन्, जसलाई प्रभुको साँझको भोज पनि भनिन्छ। यो उत्सव स्वयं येशूले पृथ्वीमा हुनुहुँदा आफ्नो मृत्युको अघिल्लो रात स्थापित गर्नुभएको थियो। त्यति बेला उहाँले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।”—लूका २२:१९.
यी उत्सवमध्ये तपाईंले कुन चाहिं मनाउनुपर्छ?
इस्टरको प्रारम्भ
अधिकांश मुलुकहरूमा प्रयोग गरिने इस्टर शब्द बाइबलमा पाइँदैन। मध्यकालीन बिदा तथा चाडहरू-अनुसार (अंग्रेजी) इस्टर बिदालाई “प्रभात तथा बसन्त ऋतुकी गैरमसीही देवी इआस्त्रेको” नाउँ दिइएको हो। त्यसोभए इआस्त्रे देवी को थिइन्? अमेरिकी दिवसहरूको पुस्तक-ले (अंग्रेजी) यसरी जवाफ दिन्छ, “किंवदन्तीअनुसार इआस्त्रे, वीरहरूको आत्मा जम्मा हुने ठूलो कोठामा प्रकाश तथा शान्ति देवको आत्मालाई स्वागत गर्न ढोका खोल्ने देवी हुन्। त्यो देव शुद्ध भएकोले सेतो देव अनि तिनको निधारबाट निस्केको प्रकाशले मानवजातिलाई ज्योति प्रदान गरेकोले सूर्य देव पनि भनिन्थ्यो।” त्यही पुस्तकले यसो पनि भन्छ: “पहिलेपहिलेका चर्चहरूले पुरानो गैरमसीही रीतिरिवाज अपनाएर त्यसमा मसीही अर्थ जोडेको हो भन्ने कुरामा कुनै शंका छैन। नयाँ जीवन सुरु भएको खुशीयालीमा बसन्त ऋतुमा इआस्त्रे उत्सव मनाइने हुँदा चर्चहरूले पनि त्यही दिन येशू, जसको सुसमाचार तिनीहरू प्रचार गर्थे, उहाँको पुनरुत्थानको उत्सव मनाउन थाले।”
केही मुलुकहरूमा इस्टर अण्डा, इस्टर खरायो अनि क्रस चिन्ह अंकित रोटीको प्रचलन कसरी सुरु भयो भन्ने कुरा चर्चहरूले अपनाएको यो गैरमसीही रीतिबाट बुझ्न सकिन्छ। “रोटीमा क्रसको आकृति कोरेर त्यसलाई सेक्ने” प्रचलनबारे इस्टर र त्यसका प्रचलनहरू (अंग्रेजी) नामक पुस्तक यसो भन्छ: “क्रसलाई येशूको मृत्युको स्थायी प्रतीकको रूपमा प्रयोग गर्नुभन्दा धेरैअघि नै गैरमसीही धर्महरूले त्यसलाई आफ्नो प्रतीकको रूपमा चलाउँथे। र मसीही पूर्व समयमा कहिलेकाहीं पाउरोटी र केकमा क्रस चिन्ह बनाइने गरिन्थ्यो।”
धर्मशास्त्रमा कतै पनि त्यस्ता प्रचलनहरूको उल्लेख गरिएको पाइँदैन र येशूका प्रारम्भिक चेलाहरू त्यस्ता प्रचलनहरूमा विश्वास गर्थे भन्ने प्रमाण पनि छैन। वास्तवमा प्रेरित पत्रुस हामीलाई “छलरहितको आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू मुक्तिको निम्ति बढ़दै जाओ,” भन्छन्। (१ पत्रुस २:२) त्यसोभए मसीहीजगतका चर्चहरूले किन त्यस्ता सुस्पष्ट गैरमसीही प्रतीकहरूलाई आफ्ना विश्वास र प्रचलनहरू बनाए?
लोकप्रिय प्रथाहरूबारे कौतूहलपूर्ण तथ्यहरू (अंग्रेजी) नामक पुस्तकले यसरी जवाफ दिन्छ: “परम्परादेखि मनाइँदै आएको स्थायी गैरमसीही उत्सवहरूलाई प्रारम्भिक चर्चहरूले पहिलेदेखि नै मसीही महत्त्व दिने गर्थे। इस्टर उत्सवलाई मसीही उत्सव बनाउनु अरूभन्दा झन् सजिलै थियो। सूर्योदय अनि हिउँदको उजाड मौसमपछि देखा पर्ने हरियालीको आनन्दलाई धार्मिकताको सूर्यको उदय अर्थात् ख्रीष्टको पुनरुत्थानको आनन्दको प्रतीकको रूपमा लिनु गाह्रो थिएन। यसबाहेक मे १ तारिखका दिन मनाइने केही गैरमसीही प्रथाहरूलाई पनि परिवर्तन गरेर इस्टर उत्सवमा गाँसियो।” यसप्रकार लोकप्रिय गैरमसीही रिवाज तथा जादुगरी उत्सवहरूदेखि टाढै बस्नुको साटो चर्चका धार्मिक नेताहरूले आँखा चिम्लेर त्यसलाई “मसीही महत्त्व” दिए।
‘तर त्यसमा के हानि छ र?’ तपाईं सोच्नुहोला। हो, केही मानिसहरू त्यसमा केही हानि देख्दैनन्। बिशप एवं पादरी आलेन डब्ल्यु. वाट्सले इस्टर—त्यसको कथा अनि अर्थ (अंग्रेजी) नामक आफ्नो पुस्तकमा यसो भने, “मसीहीधर्म जस्तो धर्म जब बेग्लै धार्मिक संस्कृतिबाट सुरु हुन्छ भने, त्यसले पुराना धर्महरूका केही परम्परागत रीतिथितिहरू नअपनाउने कुरै उठ्दैन। त्यसले त्यस्ता रीतिथितिहरूलाई छानेर तलमाथि काँटछाँट गरेर यस्तो धार्मिक प्रथामा परिवर्तन गर्छ जसलाई झट्ट हेर्दा चर्चकै वैध सिद्धान्तहरूसित ठ्याक्क मिलेको जस्तो देखिन्छ।” कुनै प्रथा गैरमसीही होस् या नहोस्, चर्चले स्वीकृति दिएर पवित्र ठानेपछि अधिकांश मानिसहरू त्यसलाई मान्न तयार हुन्छन्। तर तिनीहरूले सर्वमहत्त्वपूर्ण विवादहरूलाई ध्यान दिइरहेका हुँदैनन्। उदाहरणका लागि, यी प्रथाहरूलाई परमेश्वरले कुन दृष्टिले हेर्नुहुन्छ? के यस विषयमा उहाँले कुनै निर्देशन दिनुभएको छ?
परमेश्वरको दृष्टिकोण बुझ्ने
इस्टर र त्यसका प्रचलनहरू-मा क्रिस्टिना होलले यसरी लेखिन्, “हाम्रा प्रभुको पुनरुत्थानको भोज अर्थात् इस्टर दिवस मसीही चर्चमा मनाइने सबैभन्दा ठूलो उत्सव हो।” अरू लेखकहरू पनि त्यसै भन्छन्। उदाहरणका लागि, आफ्नो पुस्तक उत्सवहरू-मा (अंग्रेजी) रोबर्ट जे. मेयर्स यसो भन्छन्, “मसीहीहरूले मनाउने कुनै पनि पवित्र दिन वा चाड इस्टर आइतबारभन्दा महत्त्वपूर्ण हुन सक्दैन।” तथापि, त्यसो भन्दा केही प्रश्नहरू उठ्छन्। इस्टर त्यति महत्त्वपूर्ण छ भने, बाइबलले किन त्यसबारे कुनै निर्दिष्ट आज्ञा दिंदैन? के येशूका प्रारम्भिक चेलाहरूले इस्टर आइतबार मनाए भन्ने कुनै अभिलेख छ?
कुन उत्सव मनाउनु हुन्छ, कुन हुँदैन बाइबलले अवश्य निर्देशन दिन्छ। पुरातन इस्राएल राष्ट्रलाई परमेश्वरले तोकेर निर्देशन दिनुभएको थियो। उदाहरणका लागि, माथि उल्लेख भएझैं मसीहीहरूलाई ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउनू भन्ने सुस्पष्ट निर्देशनहरू दिइएको थियो। (१ कोरिन्थी ११:२३-२६; कलस्सी २:१६, १७) दि इनसाइक्लोपीडिया ब्रिटानिका-को पुरानो संस्करणले यसो भन्छ: “नयाँ नियम वा प्रेरित लेखकहरूको लेखोटमा कतै पनि इस्टर चाड मनाइएको संकेत पाइँदैन। प्रारम्भिक मसीहीहरू त्यस्ता चाडहरूलाई पवित्र मान्दैनन् थिए। . . . न प्रभु न ता उहाँका प्रेरित चेलाहरूले नै इस्टर वा अरू कुनै चाड मनाउने आज्ञा दिए।”
तर केही मानिसहरू आनन्द र खुशीयालीका लागि त्यस्ता चाडहरू मनाउनुमा कुनै हानि छैन भन्ने महसुस गर्छन्। तथापि, एक पटक इस्राएलीहरूले मिश्री धार्मिक रिवाजलाई ‘यहोवाको चाड’ भन्ने नाउँ दिएर अपनाउँदा के भएको थियो, त्यसबाट हामी शिक्षा लिनसक्छौं। “मानिसहरू खान-पीन” र “लीला गर्नलाई उठे।” तिनीहरूको काम देखेर यहोवा परमेश्वर असाध्यै क्रोधित हुनुभयो र तिनीहरूलाई कडा दण्ड दिनुभयो।—प्रस्थान ३२:१-१०, २५-२८, ३५.
अतः परमेश्वरको वचनले स्पष्ट जवाफ दिन्छ। साँचो विश्वासको “उज्यालो” र शैतानको संसारको “अँध्यारो[बीच]” मिलाप हुनसक्दैन। त्यस्तैगरि ख्रीष्ट र गैरमसीही उपासनाबीच पनि कुनै “सहमत” हुनैसक्दैन। त्यसैकारण बाइबलले हामीलाई यस्तो आज्ञा दिन्छ: “‘तिनीहरूका बीचबाट निस्केर आओ, तिमीहरू अलग होओ।’ परमप्रभु भन्नुहुन्छ, ‘औ अशुद्ध कुरो नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।’”—२ कोरिन्थी ६:१४-१८.
इस्टर होइन तर येशूको मृत्युको स्मरणार्थ उत्सव मनाउने आज्ञा बाइबलले मसीहीहरूलाई दिएको हुँदा त्यसलाई मनाउनुपर्छ। त्यसोभए, सुयोग्य ढंगमा हामी कसरी यो उत्सव मनाउनसक्छौं त?
[पृष्ठ ५-मा भएको चित्र]
इस्राएलीहरूले ‘यहोवाको चाड’ मनाउँदा परमेश्वर असाध्यै क्रोधित हुनुभयो
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
आवरण: M. Thonig/H. Armstrong Roberts