सुयोग्य ढंगमा स्मरणार्थ उत्सव मनाउनुहोस्
येशूले सा.यु. ३३, नीसान १४ का साँझ आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापित गर्नुभएको थियो।a उहाँले आफ्ना १२ प्रेरितहरूसित निस्तार चाड मनाउने बित्तिकै उक्त उत्सव स्थापित गर्नुभएको हुँदा हामी नीसान १४ मै त्यो उत्सव स्थापित भएको हुनुपर्छ भनेर निश्चित हुनसक्छौं। धोखेबाज यहूदा इस्करयोतीलाई निकाली दिनुभएपछि येशूले “रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिनुभयो, र भन्नुभयो, ‘लेओ, यो मेरो शरीर हो।’ औ कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘यो करारको मेरो रगत हो, जो धेरैका निम्ति बहाइन्छ।’”—मर्कूस १४:२२-२४.
येशूको मृत्यु महत्त्वपूर्ण भएकोले उहाँले आफ्ना चेलाहरूलाई त्यसको स्मरण गर्ने आज्ञा दिनुभयो। (लूका २२:१९; १ कोरिन्थी ११:२३-२६) उहाँको बलिदानले मात्र मानवजातिलाई जन्मजात पाप र मृत्युदेखि मुक्त गर्न सक्थ्यो। (रोमी ५:१२; ६:२३) उहाँले प्रयोग गर्नुभएको रोटी र दाखमद्य उहाँको सिद्ध शरीर तथा रगतका प्रतीक थिए। येशूले स्मरणार्थ उत्सव स्थापित गर्नुभएको दिन थाह पाएपछि हामी पनि वर्षेनी त्यही दिन पर्ने मितिमा त्यो उत्सव मनाउनसक्छौं। यहूदीहरूले पनि त्यसरी नै अखमिरी रोटीको चाड मनाउँथे। तर हामीले सुयोग्य ढंगमा मनाउनुपर्छ। किन?
किनभने प्रेरित पावलअनुसार रोटी र दाखमद्यका प्रतीकहरूमा भाग लिने व्यक्तिले “उहाँ नआउञ्जेल प्रभुको मृत्युको प्रचार” गर्नेछ। (१ कोरिन्थी ११:२६) तसर्थ, त्यो उत्सव येशूको मृत्यु र मानवजातिका लागि त्यसले राख्ने अर्थमाथि केन्द्रित हुनेथियो। यो परमेश्वरको भलाइ अनि यहोवा र उहाँको पुत्रप्रति हामीले देखाउनुपर्ने मूल्यांकनमाथि मनन गर्ने गम्भीर अवसर पनि हो। (रोमी ५:८; तितस २:१४: १ यूहन्ना ४:९, १०) त्यसैकारण पावलले यस्तो चेताउनी दिए: “जसले अयोग्यसाथ प्रभुको रोटी खान्छ कि कचौराबाट पिउँछ भने, त्यो प्रभुका शरीर र रगतको दोषी हुनेछ।”—१ कोरिन्थी ११:२७.
सुयोग्य ढंगमा—तर कसरी?
शंकास्पद प्रचलन वा गैरमसीही रिवाजहरू अपनाएर त्यो अवसरलाई अपवित्र पाऱ्यौं भने, परमेश्वर अवश्य प्रसन्न हुनुहुनेछैन। (याकूब १:२७; ४:३, ४) त्यसको अर्थ, इस्टरको बेला मनाइने लोकप्रिय प्रचलनहरू मनाउनु हुँदैन। येशूले “मेरो सम्झनामा यो गर्नेगर” भन्नुभएको हुँदा जुन ढंगमा उहाँले आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापित गर्नुभयो, त्यहीअनुसार मनाउनुपर्छ। (लूका २२:१९; १ कोरिन्थी ११:२४, २५) अतः मसीहीजगतका चर्चहरूमा मनाइने उत्सवहरूमा जस्तो तडकभडक सरसजावट गरेर हामी यो उत्सव मनाउँदैनौं। “आज मनाइने मास उत्सव ख्रीष्ट र उहाँका प्रेरितहरूले मनाएका अति साधारण उत्सवभन्दा असाध्यै भिन्न छ” भनेर न्यु क्याथोलिक इनसाइक्लोपीडिया स्वीकार्छ। मसीहीजगतले बारम्बार वा दिनहुँ मासको रिवाज पूरा गर्ने गर्छन्। फलतः येशूले जुन उद्देश्यलाई मनमा राखेर स्मरणार्थ उत्सव स्थापित गर्नुभएको थियो, त्यसबाट अलग भएर तिनीहरूले त्यसलाई साधारण घटना बनाएका छन्।
मण्डलीमा प्रभुको साँझको भोजलाई लिएर समस्या उत्पन्न हुँदा पावलले कोरिन्थका मसीहीहरूलाई सुयोग्य ढंगमा भाग लिने सल्लाह दिनुपरेको थियो। केही व्यक्तिहरू त्यसको पवित्रताको आदर गर्दैनन् थिए। घरैबाट रोटी र दाखमद्य ल्याएर तिनीहरू सभाअगाडि वा सभा भइरहेको बेला खान्थे। प्रायः नअघाउञ्जेल खान्थे, पिउँथे, झुल्थे र अर्ध चेतनामा हुन्थे। शारीरिक अनि आध्यात्मिक तवरमा अचेत भएकोले तिनीहरू आफ्नो “शरीरको वास्ता” गर्न सक्दैनन् थिए। तसर्थ, तिनीहरू “प्रभुका शरीर र रगतको दोषी” भए। अर्कोतर्फ, घरबाट केही नखाई आउनेहरू चाहिं भोकले रनथनिएर ध्यान दिन सक्दैनन् थिए। अतः स्मरणार्थ उत्सव प्रभुको मृत्युको सम्झना हो भनेर त्यसको गम्भीरता महसुस गर्ने वा पूर्ण मूल्यांकनसहित ती प्रतीकहरूमा भाग लिनसक्ने अवस्थामा कोही पनि हुँदैनन् थिए। तिनीहरूले स्मरणार्थ उत्सवको अनादर गरेर त्यसलाई तुच्छ सम्झेको हुँदा दण्ड पाए।—१ कोरिन्थी ११:२७-३४.
विवेक आवश्यक छ
केही व्यक्तिहरूले स्मरणार्थ प्रतीकहरूमा भाग लिएका छन्। तर वास्तवमा त्यसो गर्न नहुने रहेछ भनेर तिनीहरूले पछि महसुस गरे। परमेश्वरले चुन्नुभएका अनि परमेश्वरको आत्माद्वारा त्यसको साक्षी पाइसकेकाहरूले मात्र स्मरणार्थ प्रतीकहरूमा भाग लिने अधिकार पाएका हुन्छन्। (रोमी ८:१५-१७; २ कोरिन्थी १:२१, २२) व्यक्तिगत निर्णय वा संकल्पले कसैलाई योग्य बनाउँदैन। परमेश्वरले सीमित मानिसहरू अर्थात् १,४४,००० लाई मात्र स्वर्गमा ख्रीष्टसँग राज्य गर्ने सुअवसर दिनुभएको छ। ख्रीष्टले दिनुभएको छुटकाराबाट लाभ उठाउने सबै मानिसहरूसित तुलना गर्ने हो भने, यो संख्या निस्सन्देह सानो छ। (प्रकाश १४:१, ३) यो समूहमा पर्ने मानिसहरूको छनौट येशूको समयदेखि सुरु भएको थियो। अतः हाम्रो समयमा स्मरणार्थ प्रतीकमा भाग लिने मानिसहरू थोरै छन्। अनि तिनीहरूको मृत्यु सँगसँगै त्यो संख्या पनि क्रमशः घट्दै जान्छ।
कुनै व्यक्तिले किन गलत ढंगले प्रतीकमा भाग लिनसक्छ? त्यसको एउटा कारण, पहिले मानेको धार्मिक दृष्टिकोण हुनसक्छ। सबै विश्वासीहरू स्वर्ग जान्छन् भनेर उसले विश्वास गरेको हुनसक्छ। अर्को चाहिं महत्त्वाकांक्षा वा स्वार्थ हुनसक्छ। अर्को शब्दमा भन्ने हो भने, त्यसरी भाग लिंदा अरूभन्दा योग्य ठहरिन्छ भन्ने विचार वा अरूभन्दा ठूलो हुने इच्छा हुनसक्छ। केही व्यक्तिहरू गम्भीर समस्या वा विरहले गर्दा पार्थिव जीवनदेखि वाक्क हुन्छन्। अतः त्यसबाट उत्पन्न हुने तीव्र भावनाहरूमा बहेर प्रतीकहरूमा भाग लिन्छन्। स्वर्गीय बोलावट भएको व्यक्तिसित घनिष्ठ मित्रता हुँदा पनि कसै कसैले त्यसो गर्नसक्छ। तर जे होस्, हामी सबैले के सम्झनुपर्छ भने, निर्णय हाम्रो होइन तर पूर्णतया परमेश्वरको हो। (रोमी ९:१६) अतः कुनै पनि व्यक्तिले पहिले आफूलाई “जाँचोस्,” तत्पश्चात् आफूले प्रतीकमा भाग लिन नहुने रहेछ भन्ने देखेपछि त्यसबाट अलग रहोस्।—१ कोरिन्थी ११:२८.
परमेश्वरले प्रायजसो मानिसहरूलाई पार्थिव प्रमोदवनमा अनन्त जीवन प्राप्त गर्ने आशा दिनुभएको छ। हामीले प्रत्याशा गर्नसक्ने अनि मनले सजिलै रुचाउने ठूलो आशिष् पनि त्यही हो। (उत्पत्ति १:२८; भजन ३७:९, ११) येशूले स्वर्गीय जीवनको मौका प्रदान गर्नुअघिका अब्राहाम, सारा, मोशा, राहाब, दाऊद अनि बप्तिस्मा दिने यूहन्नाजस्ता पुरातन समयका सबै धर्मी जनहरूलगायत हाम्रा मृत प्रियजनहरूको पुनरुत्थान हुँदा विश्वासी जनहरूले यसै पृथ्वीमा तिनीहरूलाई भेट्नेछन्।—मत्ती ११:११; तुलना गर्नुहोस् १ कोरिन्थी १५:२०-२३.
पार्थिव आशा हुने मानिसहरूले प्रभुको साँझको भोजमा रोटी र दाखमद्य खाँदैनन्। तथापि, त्यस भोजमा उपस्थित भएर अनि आदरपूर्वक ध्यान दिएर तिनीहरूले सुयोग्य ढंगमा त्यो उत्सव मनाउँछन्। परमेश्वरको अनुमोदन प्राप्त गर्न मदत गर्ने ख्रीष्टको बलिदानबाट तिनीहरूले पनि लाभ उठाउँछन्। (प्रकाश ७:१४, १५) स्मरणार्थ उत्सवमा दिएको भाषणलाई ध्यान दिएर सुन्दा पवित्र कुराप्रति तिनीहरूको मूल्यांकन बढ्छ। साथै परमेश्वरका विश्वव्यापी जनहरूसित एकताबद्ध भएर बस्ने इच्छा अझ तीव्र हुन्छ।
आज सारा संसारमा यहोवाका साक्षीहरूका ७८,००० भन्दा धेरै मण्डलीहरू छन्। यो वर्ष अप्रिल २ तारिख मंगलबारका दिन सूर्यास्तपश्चात् यी सबै मण्डलीहरूमा येशूको मृत्युको स्मरणार्थ उत्सव मनाइनेछ। के तपाईं पनि त्यो उत्सवमा उपस्थित हुनुहुनेछ?
[फुटनोट]
a यहूदी दिन साँझदेखि सुरु हुन्थ्यो। अतः हाम्रो तिथिपात्रोअनुसार मार्च ३१ तारिख बिहीबार साँझदेखि अप्रिल १ तारिख, शुक्रबारको सूर्यास्तसम्म नीसान १४ हुन्छ। येशूले बिहीबार साँझ स्मरणार्थ उत्सव स्थापना गर्नुभएको थियो र उहाँको मृत्यु शुक्रबार बिहान अर्थात् त्यही यहूदी दिनमा भयो। उहाँको पुनरुत्थान तेस्रो दिन, आइतबार सबेरै भयो।
[पृष्ठ ८-मा भएको चित्र]
यहोवाका साक्षीहरू वर्षको एक पटक येशूको मृत्युको स्मरणार्थ उत्सव मनाउँछन्