‘नष्ट हुने खानेकुराका निम्ति काम नगर’
डेभिड लन्सट्रमको वृतान्तमा आधारित
आजभन्दा ४० वर्षअघि मेरो भाइ एलवुड र म, नौ मिटर माथि वाचटावर कारखानाको भित्तामा ठूल-ठूलो अक्षरमा केही लेख्दैथियौं। आजसम्म ती अक्षरहरू त्यहीं छन् र त्यसले यसो भन्छ: “दिनहुँ परमेश्वरको वचन पवित्र बाइबल पढ्नुहोस्।” हरेक हप्ता, प्रख्यात ब्रूकलिन ब्रिज तर्ने हजारौं मानिसहरूले भित्तामा कोरिएका ती अक्षरहरू पढ्छन्।
मेरो बाल्यकालका स्मृतिहरूमध्ये हाम्रो परिवारको लुगा धुने दिन मलाई सम्झना छ। हाम्रो परिवार ठूलो थियो। त्यसैले लुगा धुने दिन मेरी आमा बिहान सबेरै ५ बजे उठ्नुहुन्थ्यो। बुबा चाहिं काममा जाने तरखर गर्नुहुन्थ्यो। त्यसपछि सुरु हुन्थ्यो आमा र बुबाबीचको चर्को बहस। बुबा, पुरुषजाति करोडौं वर्ष लगाएर विकसित भएको हो भन्ने तर्क गर्नुहुन्थ्यो, आमा मानवजाति परमेश्वरको सृष्टि हो भनेर बाइबलबाट उद्धरण गर्नुहुन्थ्यो।
म त्यति बेला सात वर्षको मात्र थिएँ। तैपनि मलाई आमाको कुरा सत्य लाग्थ्यो। मलाई बुबाको असाध्यै माया लागे तापनि उहाँको विचार भने आशाविहीन लाग्थ्यो। मेरी आमा बाइबल असाध्यै रुचाउनुहुन्थ्यो। अतः वर्षौंपछि आफ्ना दुइ छोराहरूले मानिसहरूलाई बाइबल पढ्न प्रोत्साहन दिने अक्षरहरू वाचटावर कारखानाको भित्तामा कोरे भनी थाह पाउनुभएको भए कति खुशी हुनुहुन्थ्यो होला!
तर यो मेरो जीवनमा पछि भएको घटना हो। मैले कसरी बेथेलमा सेवा गर्ने सुअवसर पाएँ त? त्यसको जवाफ पाउन तपाईंहरूले म जन्मनुभन्दा ३ वर्षअघि सन् १९०६ देखिको कुराहरू सुन्नुपर्छ।
आमाको विश्वासिलो उदाहरण
मेरा आमाबाबु भर्खरै विवाह गरेर एरिजोना प्रान्तमा पाल टाँगेर बस्न थाल्नुभएको थियो। त्यति बेला यहोवाका साक्षीहरू प्रायः बाइबल स्टुडेन्टको नाउँले चिनिन्थे। एक दिन त्यस्तै एक स्टुडेन्टले हाम्रो पालमा आएर आमालाई केही कितापहरू दिए। आमाले पाउनुभएका ती कितापहरू चार्ल्स टेज रसलद्वारा लिखित धर्मशास्त्रको अध्ययन (अंग्रेजी) थिए। रातभर ती कितापहरू पढ्नुभएपछि आमालाई आफूले खोजेको सत्य त्यही हो भनेर पक्का भयो। अनि त काम खोज्न जानुभएको बुबा कहिले फर्कनु होला र सुनाउँला भनेर उहाँलाई आत्तुर पऱ्यो।
बुबालाई पनि चर्चका शिक्षाहरूदेखि पटक्कै चित्त बुझेको थिएन। अतः केही समयसम्म उहाँले ती कितापहरूमा भएका बाइबल सच्चाइहरूलाई स्वीकार्नुभयो। तथापि, पछि उहाँले आफ्नै धार्मिक धारणा राख्न थाल्नुभयो जसले गर्दा आमालाई असाध्यै गाह्रो भयो। तैपनि, आमाले आफ्ना छोराछोरीहरूको शारीरिक तथा आध्यात्मिक आवश्यकताहरूमा ध्यान दिन छाड्नुभएन।
दिनभरि थाकुञ्जेल काम गर्नुभएपछि पनि हरेक रात आमा तल्लो तलामा ओर्लेर हामीलाई कहिले बाइबल पढेर सुनाउनुहुन्थ्यो त, कहिले एक दुइटा आध्यात्मिक कुरा गर्नुहुन्थ्यो। उहाँको यस्तो चासोलाई म कहिल्यै बिर्सन सक्दिनँ। बुबा पनि असाध्यै मेहनती हुनुहुन्थ्यो र म अलिक हुर्केपछि उहाँले मलाई रंगरोगन गर्न सिकाउनुभयो। यसरी बुबाले मलाई काम गर्न सिकाउनुभयो भने आमाले कुन कुराका लागि काम गर्ने त्यो सिकाउनुभयो। आमाले गर्दा मैले येशूले भन्नुभएझैं ‘नष्ट नहुने खानेकुराका निम्ति’ काम गर्न सिकें।—यूहन्ना ६:२७.
अन्ततः सपरिवार हामी एलेन्सबर्ग भन्ने सानो शहरमा बस्न थाल्यौं। यो ठाउँ वासिङटन प्रान्तमा र सिआटलको पूर्वपट्टि १८० किलोमिटर टाढा पर्छ। हामी केटाकेटीहरू आमासित बाइबल स्टुडेन्टहरूका सभाहरू धाउन थाल्यौं। त्यति बेला हामीहरू निजी घरहरूमा भेला हुने गर्थ्यौं। पछि, घर-घरको सेवकाईमा भाग लिनु आवश्यक छ भनेर जोड दिइंदा हाम्रो अध्ययन समूहका सबै पुरुषहरूले संगत गर्नै छाडे। तर आमा कहिल्यै ढलपल हुनुभएन। फलतः यहोवाको संगठनले दिने निर्देशनमा सधैं भरोसा गर्नुपर्छ भन्ने अमेट छाप ममा पऱ्यो।
अन्ततः मेरा आमाबाबुका नौ सन्तान भए। म चाहिं अक्टोबर १, १९०९ मा जन्में। म उहाँको तेस्रो सन्तान थिएँ। जम्माजम्मी हामीमध्ये छ जनाले आमाको असल उदाहरण अनुकरण गऱ्यौं र यहोवाका जोशिला साक्षीहरू भयौं।
समर्पण र बप्तिस्मा
म त्यस्तै अठार उन्नाईस वर्षको हुँदा यहोवालाई जीवन समर्पण गरें र सन् १९२७ मा पानीको बप्तिस्माद्वारा त्यसलाई प्रतीकात्मक रूप दिएँ। मेरो बप्तिस्मा सिआटलस्थित पहिले ब्याप्टिस्ट चर्चले चलाउने गरेको पुरानो भवनमा भएको थियो। तिनीहरूले चर्चको गजुर हटाइसकेको हुँदा मलाई खुशी लाग्यो। त्यसपछि हामीलाई भुइँतलाको पोखरीमा लगियो र माथिदेखि तलसम्म पुग्ने कालो लुगा दिइयो। कालो लुगाले गर्दा हामी सबै अन्त्येष्टिमा जानलागेको जस्तै देखिन्थ्यौं।
केही महिनापछि म फेरि सिआटल पुगें र पहिलो चोटि ढोका-ढोकामा गएर साक्षी दिनु कस्तो हुँदोरहेछ भनेर चाख्न पाएँ। मलाई डोऱ्याउने व्यक्तिले मलाई यसो भने: “तपाईं ऊ त्यो पल्लो घरदेखि थाल्नुहोस् र म चाहिं वल्लो घर हुँदै प्रचार गर्छु।” त्यसरी एक्लै प्रचार गर्नुपर्दा निकै डर लाग्यो। तैपनि मैले एउटी भद्र महिलालाई दुइ सेट पुस्तिकाहरू दिन सकें। एलेन्सबर्ग फर्केपछि मैले ढोका-ढोकामा प्रचार गर्न छाडिनँ र अहिले झन्डै ७० वर्षपछि पनि त्यस सेवामा भाग लिन पाउँदा मलाई असाध्यै आनन्द लाग्छ।
विश्व मुख्यालयमा सेवा
त्यसपछि केही समय नबित्दै मैले वाच टावर सोसाइटीको विश्व मुख्यालय, ब्रूकलिन बेथेलमा पहिले सेवा गरिसकेका एक व्यक्तिलाई भेटें। तिनले मलाई बेथेलमा स्वयंसेवा गर्ने प्रोत्साहन दिए। हामी दुइले कुरा गरेको केही समयभित्रै बेथेलमा मदत चाहियो भन्ने सूचना प्रहरीधरहरा (अंग्रेजी) पत्रिकामा प्रकाशित भयो। अतः मैले बेथेल सेवाका लागि आवेदन दिएँ। मार्च १०, १९३० का दिन ब्रूकलिन, न्यु योर्कमा बेथेल सेवाका लागि उपस्थित हुनू भन्ने सूचना पाउँदा म कति गद्गद भएँ, मलाई अहिलेसम्म सम्झना छ। यसरी ‘नष्ट नहुने खानेकुराका निम्ति’ पूर्ण-समय सेवा गर्ने मेरो पेशा सुरु भयो।
रंगरोगन गर्न जान्नेलाई बेथेलमा पनि रंगरोगन गर्न नै खटाइयो होला भनेर कसै कसैले सोच्नसक्छ। तर मेरो पहिलो काम कारखानामा पुस्तिका तथा पत्रिकाहरूमा स्टिच लगाउनु थियो। यो काम एकोहोरो गरेको गरेकै हुने भए तापनि छ वर्ष रमाइलोसँग बिताएँ। त्यति बेला हाम्रो ठूलो रोटरी छापाखाना थियो। जसलाई हामी माया गरेर बूढो युद्धपोत भन्थ्यौं। छापाखानाबाट छापिसकेका पुस्तिकाहरू कन्भेएर बेल्ट हुँदै तल हामी बसेको ठाउँमा आइपुग्थ्यो। पुस्तिका आउनेबित्तिकै कसले पहिला स्टिच गर्नसक्छ भनेर हामी आपसमा रमाइलो प्रतिस्पर्धा गर्थ्यौं।
पछि गएर मैले फोनोग्राफ बनाउने विभागलगायत विभिन्न विभागहरूमा काम गरें। त्यति बेला त्यही फोनोग्राफ बजाएर घरधनीहरूलाई बाइबल समाचार सुनाउथ्यौं। ठाडो गरेर बोक्न मिल्ने फोनोग्राफहरू हाम्रै विभागका स्वयंसेवकहरूले रचेर निर्माण गरेका थिए। यो फोनोग्राफमा पूर्व रेकर्ड गरिएको समाचार बजाउन मिल्नुका साथै पुस्तिका वा एक दुइ टुक्रा पाउरोटी राख्न मिल्ने विशेष गोजी पनि हुन्थ्यो। सन् १९४०, डेट्रोइट, मिचिगनमा भएको अधिवेशनको दौडान मैले यो नयाँ यन्त्र प्रदर्शन गर्ने सुअवसर पाएँ।
तथापि, हामी त्यस्ता अनौठो यन्त्रहरू मात्र बनाइरहेका थिएनौं। महत्त्वपूर्ण आध्यात्मिक काँटछाँटहरू पनि गरिरहेका थियौं। उदाहरणका लागि, त्यति बेला यहोवाका साक्षीहरूले क्रस र मुकुट जोडिएको पिन लगाउँथे। तर हामीले येशू क्रसमा नभई ठाडो शूलीमा मर्नुभएको रहेछ भनेर थाह पायौं। (प्रेरित ५:३०) अतः त्यो थाह पाउनेबित्तिकै हामीले पिन लगाउन छाड्यौं। मैले पिनहरूका हुकहरू छुट्टाउने सुअवसर पाएँ। पछि ती पिनहरूका सुनलाई गालेर बेचियो।
हामी हप्ताको साढे पाँच दिन काममा व्यस्त हुने भए तापनि सप्ताहन्तमा मसीही सेवकाईमा भाग लिन्थ्यौं। एक दिन मलगायत अरू १५ जनालाई गिरफ्तार गरेर ब्रूकलिन जेलमा हालियो? किन? किनभने त्यति बेला हामी सबै धर्मलाई झूटा सम्झन्थ्यौं। त्यसकारण हामीले एकापट्टि “धर्म पासो र फन्दा हो” र अर्कोपट्टि “परमेश्वर र राजा ख्रीष्टको सेवा गर” भन्ने लेखिएको साइनबोर्ड बोकेर हिंड्थ्यौं। यस्तो साइनबोर्ड बोक्यो भनेर हामीलाई जेलमा हालियो। तर वाच टावर सोसाइटीका वकिल हेडन कभिंगटनले हामीलाई जमानतमा छुटाए। त्यति बेला, संयुक्त राज्यको सर्वोच्च अदालतमा धार्मिक स्वतन्त्रतासम्बन्धी थुप्रै मुद्दाहरू चलिरहेको थियो। अतः हामीले जितेका मुद्दाहरू बेथेलमा प्रत्यक्षतः सुन्न पाउनु अति रोमाञ्चकारी थियो।
अन्ततः मैले रंगरोगनसम्बन्धी अनुभवको सदुपयोग गर्न पाएँ। न्यु योर्क महानगरीको पाँच नगरहरूमध्ये एक, स्टेटन आइलैण्डमा हाम्रो रेडियो स्टेशन डब्ल्युबिबिआर थियो। हाम्रो स्टेशनको रेडियो टावरहरू ६० मिटर अग्ला थिए र त्यसलाई तीन जोडी मोटा तारहरूले थामेर राखेको थियो। म ९० सेन्टिमिटर लामो र २० सेन्टिमिटर चौडा काठको टुक्रामा बसें र मेरो सहकर्मीले डोरी तानेर मलाई माथि टावरको टुप्पोमा पुऱ्याए। त्यहाँबाट मैले टावरलाई थाम्ने तीन जोडी तार र टावरमा रंग लगाएँ। कसै कसैले मलाई त्यति माथि चढेर रंग लगाउनुपर्दा कति चोटि प्रार्थना गऱ्यौ भनेर पनि सोधेका छन्।
गर्मीयाममा गरिने एउटा कामलाई म झलझली सम्झन्छु। त्यस मौसममा हामी कारखाना भवनका झ्यालहरू सफा गर्थ्यौं र झ्यालहरूको सँघारमा रंग लगाउँथ्यौं। भवनबाहिर काम गर्नुपर्ने भएकोले हामी यसलाई गर्मीयामको छुट्टी भन्थ्यौं। हामीले बस्न र उभिन सकिने सानो बाकस तयार पारेर त्यसलाई घिर्नी र डोरीको सहायताले तलमाथि गर्न मिल्ने बनायौं। त्यही बाकसमा बसेर हामी आठ तल्ले भवनमा तलमाथि गर्दै सफा गर्ने र रंग लगाउने गर्थ्यौं।
मदतगार परिवार
सन् १९३२ मा बुबाको मृत्यु भयो। आमालाई मदत गर्न घर फर्कूं कि जस्तो लाग्यो। अतः एक दिन दिउँसो भोजन खानअघि भाइ रदरफर्ड अर्थात् सोसाइटीका अध्यक्षको मुख्य टेबलमा सानो पर्ची छोडें। त्यसमा मैले उहाँसित कुरा गर्ने अनुमति मागेको थिएँ। उहाँले मेरो चिन्ता बुझ्नुका साथै मेरो घरमा भाइबहिनीहरू अझै छन् भनेर पनि थाह पाउनुभयो। त्यसपछि उहाँले मलाई सोध्नुभयो, “तपाईं बेथेलमा बसेर प्रभुको काम गर्न चाहनुहुन्छ?”
मैले भनें, “ज्यू।”
अतः आमालाई पत्र लेखेर आफ्नो निर्णय बताउने सुझाउ उहाँले दिनुभयो। मैले त्यसै गरें र मैले बेथेलमै बस्ने निर्णय गरेकोमा आमाले पूर्ण सहमति जनाउनुभयो। भाइ रदरफर्डको अनुग्रह र सुझाउलाई मैले असाध्यै मूल्यांकन गरें।
बेथेलबाट निकै वर्षसम्म मैले नियमित तवरमा परिवारलाई पत्र लेखें र आमाले मलाई यहोवाको सेवा गर्न प्रोत्साहन दिनुभएजस्तै तिनीहरूलाई प्रोत्साहन दिएँ। जुलाई १९३७ मा आमाको मृत्यु भयो। हाम्रो परिवारका लागि उहाँ साँच्चै प्रेरणाकी स्रोत हुनुहुन्थ्यो! मेरो दाइ पल, दिदी एस्तर र बहिनी लोइसबाहेक बाँकी सबै जना साक्षी भए। तथापि, पल हाम्रो कामप्रति सकारात्मक दृष्टिकोण राख्थे र हाम्रो प्रथम राज्यभवन बनाउन तिनले जग्गा दिए।
सन् १९३६ मा मेरी बहिनी इभा अग्रगामी अर्थात् पूर्ण-समय प्रचारक भइन्। त्यही वर्ष तिनले राल्फ थमससित विवाह गरिन्। सन् १९३९ मा तिनीहरू दुवैलाई यहोवाका साक्षीहरूको मण्डलीहरूमा परिभ्रमण कार्य गर्न खटाइयो। पछि तिनीहरू मेक्सिकोमा बसाइँ सरे। त्यहाँ तिनीहरूले २५ वर्षसम्म राज्यसम्बन्धी कार्यमा मदत गरे।
सन् १९३९ मै मेरा दुइ बहिनी एलिस र फ्रान्सेस पनि अग्रगामी सेवामा लागे। सन् १९४१ मा सेन्ट लुइसमा भएको अधिवेशनमा एलिसले फोनोग्राफको प्रदर्शन गर्ने विभागमा सेवा गरिन्। मैले निर्माण गर्न मदत पुऱ्याएको यन्त्रलाई बहिनीले यसरी प्रदर्शन गर्दा मलाई खुशी लाग्यो। बेला बेलामा पारिवारिक जिम्मेवारीहरूले गर्दा अग्रगामीको सेवा रोक्नु परे तापनि एलिसले जम्माजम्मी ४० वर्ष पूर्ण-समय सेवकाईमा बिताइन्। फ्रान्सेस चाहिं सन् १९४४ मा वाचटावर बाइबल स्कूल अफ गिलियडमा भर्ना भइन् र पोर्टो रिकोमा मिसनरीको रूपमा सेवा गरिन्।
परिवारमा सबैभन्दा कान्छा भाइहरू जोएल र एलवुडले चाहिं सन् १९४० दशकको प्रारम्भतिर मोनटाना प्रान्तमा अग्रगामी सेवा गरे। जोएल विश्वासी साक्षी भएर बसेका छन् र हाल सहायक सेवकको रूपमा सेवारत छन्। सन् १९४४ मा एलवुड बेथेल परिवारमा सामेल हुँदा मलाई असाध्यै खुशी लाग्यो। मैले घर छोड्दा ऊ पाँच वर्ष पनि पुगेको थिएन। अनि माथि भनेझैं हामी दाजुभाइ मिलेर कारखानाको भित्तामा ठूल-ठूला अक्षरमा “दिनहुँ परमेश्वरको वचन पवित्र बाइबल पढ्नुहोस्” भनेर लेख्यौं। ती अक्षरहरू देखेर बाइबल पढ्न प्रोत्साहित हुने मानिसहरू कति होलान् भनेर म अक्सर सोच्ने गर्छु।
सन् १९५६ मा इमा फ्लिटसित विवाह नगरूञ्जेल एलवुडले बेथेलमै सेवा गरे। विवाहपश्चात् एलवुड र इमाले निकै वर्षसम्म केन्या, अफ्रिका र स्पेनमा पूर्ण-समय सेवा गरे। पछि सन् १९७८ मा अर्बुद रोगले गर्दा एलवुडको मृत्यु भयो। इमा चाहिं अहिलेसम्म स्पेनमा अग्रगामी सेवा गर्दैछिन्।
विवाह अनि परिवार
एलिस रिभेरासित विवाह गर्न मैले सेप्टेम्बर १९५३ मा बेथेल छोडें। एलिस, मैले धाउने गरेको ब्रूकलिन सेन्टर मण्डलीकी अग्रगामी थिइन्। मेरो स्वर्गीय आशा छ भनेर मैले एलिसलाई बताएको थिएँ। तैपनि तिनी मसित विवाह गर्न इच्छुक थिइन्।—फिलिप्पी ३:१४.
मैले बेथेलमा २३ वर्ष बिताइसकेको थिएँ। अतः एलिस र म अग्रगामी सेवामा लाग्न रंगरोगन पेशा थाल्नुपर्दा निकै काँटछाँट गर्नुपऱ्यो। स्वास्थ्य समस्याहरूले गर्दा एलिसले अग्रगामीको सेवा रोक्नु परे तापनि मलाई मदत गर्न भने कहिल्यै पछि सरिनन्। सन् १९५४ मा हाम्रो पहिलो सन्तान हुन लागेको थियो। हाम्रो छोरा जोनको जन्म राम्ररी नभए पनि तिनी स्वस्थ थिए। तर शल्यक्रियाद्वारा बच्चा जन्माउनु परेकोले एलिसको रगत निकै खेर गयो। चिकित्सकहरूले तिनी बाँच्दिनन् होली भनेर सोचेका थिए। एक पटक त तिनको नाडीसमेत बन्द भएको थियो। तैपनि, तिनी त्यस रात बाँचिन् र पछि पूर्णतया निको भइन्।
केही वर्षपछि एलिसको बुबाको मृत्यु भयो। तत्पश्चात् हामी लंग आइलैण्डमा एलिसकी आमासित बस्न थाल्यौं। हामीसित गाडी नभएकोले म हिंडेर, बस चढेर वा भूमिगत बाटो भएर यताउता जाने गर्थें। यसरी मैले अग्रगामीको कामका साथै परिवारलाई पनि चलाउन सकें। पूर्ण-समय सेवकाईबाट प्राप्त हुने आनन्दलाई कुनै त्यागसित तुलना गर्न सकिंदैन। मैले जो नाटेल भन्ने प्रतिभाशाली बेसबल खेलाडीलाई मदत गर्न पाएँ जसले सच्चाइका लागि आफ्नो खेलसमेत त्यागे। जो नाटेलजस्ता मानिसहरूलाई मदत गर्न पाउनु मैले पाएका आशिष्हरूमध्ये एउटा हो।
न्यु योर्क शहरको परिस्थिति दिन प्रतिदिन खराब हुँदै गएकोले सन् १९६७ मा मैले एलिस र जोनलाई मेरो घर एलेन्सबर्ग लाने निधो गरें। अहिले मेरी आमाका थुप्रै नातिनातिनी र पनातिपनातिनीहरू पूर्ण-समय सेवकाईमा लागेको देख्न पाउँदा म गर्व महसुस गर्छु। यिनीहरूमध्ये केही त बेथेलमै सेवारत छन्। जोन पनि आफ्नी पत्नी र छोराछोरीसहित विश्वासी भएर यहोवाको सेवा गर्दैछन्।
दुःखको कुरा, सन् १९८९ मा मैले मेरी प्रिय पत्नी एलिसलाई गुमाउनुपऱ्यो। तर पूर्ण-समय सेवकाईमा आफूलाई व्यस्त राखेर मैले त्यसको चोट सहन सकेको छु। अहिले म मेरी बहिनी एलिससित अग्रगामीको काम गर्छु। फेरि एक पटक आफ्नै बहिनीसित एउटै छतमुनि बसेर सबैभन्दा महत्त्वपूर्ण काममा व्यस्त हुन पाउँदा मलाई असाध्यै खुशी लाग्छ।
सन् १९९४ को बसन्त ऋतुमा २५ वर्षपछि म पहिलो पटक बेथेल घुम्न गएँ। मैले ४० वर्षभन्दाअघि सँगै काम गरेका दर्जनौं भाइबहिनीहरूलाई फेरि भेट्न पाउँदा मलाई निकै आनन्द लाग्यो! सन् १९३० मा म बेथेल जाँदा २५० जना मात्र थिए तर अहिले बेथेल परिवारमा ३,५०० भन्दा धेरै सदस्यहरू छन्!
आध्यात्मिक भोजनद्वारा जोगाइएको
हाम्रो घर छेउको याकिमा नदीको तिरमा म बिहान सबेरै प्रायजसो घुम्न जान्छु। त्यहाँबाट म हिउँ नै हिउँले ढाकिएको ४,३०० मिटर अग्लो रेनर पर्वत देख्नसक्छु। यस ठाउँमा प्रशस्त जंगली जनावरहरू छन्। कहिलेकाहीं म हरिण देख्छु र एक पटक मैले ठूलो बाह्र सिंगे पनि देखें।
यसरी एकलास ठाउँमा एक्लै डुल्दा म यहोवाका अद्भुत प्रबन्धहरूबारे मनन गर्छु। विश्वासी भएर हाम्रो परमेश्वर यहोवाको सेवा गर्नु सकूँ भनेर निरन्तर प्रार्थना गर्छु। टहल्दै जाँदा मलाई भजन गाउन मन पर्छ। विशेषगरि “यहोवाको हृदय प्रसन्न तुल्याउने” भन्ने भजन गाउन मन पराउँछु। त्यस भजनले यसो भन्छ: “हे महान् परमेश्वर, तपाईंको इच्छा पूरा गर्ने वाचा गरेका छौं, तपाईंको बुद्धिअनुसार चलेर तपाईंको काम पूरा गर्नेछौं। किनभने तब तपाईंको हृदय प्रसन्न हुन्छ भनेर हामी थाह पाउँछौं।”
यहोवाको हृदय प्रसन्न तुल्याउने काम छानेकोमा म हर्षित छु। र प्रतिज्ञा गरिएको स्वर्गीय इनाम नपाऊञ्जेल यो काममा लागिरहनसकूँ भनी प्रार्थना गर्छु। मेरो यो जीवनी पढेर ‘नष्ट नहुने खानेकुराका निम्ति’ काम गर्न अरू पनि उत्प्रेरित होऊन् भन्ने मेरो इच्छा छ।—यूहन्ना ६:२७.
[पृष्ठ २३-मा भएको चित्र]
“दिनहुँ परमेश्वरको वचन पवित्र बाइबल पढ्नुहोस्” भन्ने अक्षर कोर्दै गरेका एलवुड
[पृष्ठ २४-मा भएको चित्र]
सन् १९४० को अधिवेशनमा ग्रान्ट सुटर र जोन कर्जनसित नयाँ फोनोग्राफ प्रदर्शन गरिरहेको दृश्य
[पृष्ठ २५-मा भएको चित्र]
सन् १९४४ मा हामीमध्ये सच्चाइमा हुनेहरू जति पूर्ण-समय सेवकाईमा लागेका थियौं: डेभिड, एलिस, जोएल, इभा, एलवुड र फ्रान्सेस
[पृष्ठ २५-मा भएको चित्र]
बाँकी रहेका भाइबहिनीहरू, बायाँबाट: एलिस, इभा, जोएल, डेभिड र फ्रान्सेस