के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ?
१ सा.यु.पू. ७७८ मा एउटा असामान्य घटना घट्छ। दर्शनमा अगमवक्ता यशैयाले “परमप्रभुलाई अल्गो र उच्च सिंहासनमा विराजमान हुनुभएको” देख्छन्। त्यसपछि यशैयाले यहोवाको महिमा गर्नतिर सराफहरूले यसो भन्दै ध्यानाकर्षित गरेको सुन्छन्: “सेनाहरूका परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।” त्यो दर्शन पक्कै विस्मयकारी भएको हुनुपर्छ! उक्त परिवेशमा यहोवाले एउटा चुनौतीपूर्ण प्रश्न खडा गर्नुहुन्छ: “म कसलाई पठाऊँ औ हाम्रा निम्ति को जाने?” कस्तो किसिमको काम हो वा यो काम गर्ने व्यक्तिले के पाउँछन् भन्नेबारे केही पनि बताइएको छैन। तैपनि, नहिचकिचाईकन यशैया यस्तो जवाफ दिन्छन्: “परमप्रभु म हाजिर छु। मलाई पठाउनुहोस्।”—यशै. ६:१, ३, ८.
२ यहोवाले भन्नुहुने कुनै पनि किसिमको काम गर्ने यस्तो इच्छुक मनोभाव उहाँका जनहरूको चिनारी हो। (भज. ११०:३) अनि आफूलाई उपलब्ध गराउन सक्ने व्यक्तिहरूलाई अहिले विशेष निमन्त्रणा दिइदैंछ। के तपाईं यशैयाले जस्तै इच्छुक मनोभावसहित यो निमन्त्रणा स्वीकार्न तयार हुनुहुन्छ?
३ बेथेलमा सेवा गर्न भाइहरूको निरन्तर खाँचो परिरहन्छ। यसको लागि उनीहरूमा राज्य गतिविधिलाई प्राथमिकता दिने तीव्र इच्छा र विश्वव्यापी प्रचारकार्यलाई सहयोग गर्न आवश्यक कुनै पनि किसिमको काम गर्ने इच्छुकता हुनु जरुरी छ। (मत्ती ६:३३) निस्सन्देह, बेथेल परिवारको एक जना सदस्यको हैसियतमा सेवा गर्दा तनमनले यहोवाको सेवा गर्ने एउटा विशेष सुअवसर प्राप्त हुन्छ। कसरी?
४ बेथेलमा गरिने काम: कर्नाटक, बंगलौरमा अवस्थित बेथेल परिसरमा नियमित रूपमा गरिने सम्पूर्ण कार्यबारे विचार गर्नुहोस्। दुई सय बीस जना भाइबहिनीहरू मिलेर बनेको बेथेल परिवारले विश्वभरि र व्यक्तिगत अध्ययनमा प्रयोग गर्नका लागि छापिने बाइबल साहित्य उत्पादनमा विश्वासी र बुद्धिमान् दास वर्ग तथा यसको परिचालक निकायलाई नजिकबाट सहयोग गर्ने सुअवसर पाएका छन्। (मत्ती २४:४५) उदाहरणका लागि, गत सेवा वर्ष बंगलौर बेथेल परिवारको संयुक्त प्रयासमा ७५,२०७ पुस्तक, २,६३,७८४ साना तथा ठूला पुस्तिकाहरू, १५,६६५ क्यालेण्डर, २०,२०,०२१ पत्रिका, ३३,३९,२३९ पर्चा र १,०३३ भिडिओ क्यासेटहरू उत्पादन गरिनुका साथै ढुवानी गरिए। यी प्रकाशनहरूका लागि ‘मीठा मीठा शब्द तथा सत्यका सही शब्दहरू’ अनुसन्धान गर्न र छान्ने सन्दर्भमा भरमग्दुर प्रयास गरिन्छन्। (उप. १२:९, १०, NW) पच्चीसभन्दा बढी भाषाहरूमा साहित्य उत्पादन गर्न मदत गर्ने लगभग ७० जना अनुवादकहरूलाई निर्देशन पनि दिइन्छ। साहित्य मुद्रण तथा ढुवानी, सरसफाइ, मर्मत-सम्भार, खाना पकाउन, किनमेल, स्वास्थ्य सेवा र बेथेलका अन्य कामकुराहरू सञ्चालन गर्नका लागि थुप्रै इच्छुक स्वयम्सेवकहरूको आवश्यकता छ।
५ यी सम्पूर्ण काम पूरा गर्न निकै काम गर्नुपरे तापनि यो आध्यात्मिक तवरमा सन्तोषप्रद छ। आफ्नो सम्पूर्ण जोस-जाँगर प्रचार तथा शिक्षण गतिविधिलाई टेवा पुऱ्याउन प्रयोग हुँदैछ भन्ने कुरा थाह पाउँदा असीम आनन्द प्राप्त हुन्छ। बेथेल सेवाले हामीलाई यहोवाको संगठनलाई अझ विस्तृत रूपमा चिन्न मदत गर्छ। भजनहारले इस्राएलीहरूलाई आफ्नो समयको ईश्वरतान्त्रिक शासनको पार्थिव केन्द्रलाई अझ राम्रोसित चिन्न प्रोत्साहित गरेका थिए भनेर हामीलाई सम्झाइएको छ।—भज. ४८:१२, १३.
६ बेथेल सेवाका आशिष्हरू: बेथेलमा सेवा गर्नेहरूले आफूले पाएका सेवाका सुअवसरहरूबारे कस्तो महसुस गर्छन्? बेथेल परिवारका जवान तथा पाका दुवै सदस्यहरूले गरेका निम्न टिप्पणीहरूलाई ध्यान दिनुहोस्। बेथेलमा तीन वर्षदेखि सेवा गर्दै आएकी बेथेल परिवारका एक जना सदस्य यस्तो टिप्पणी गर्छिन्: “बेथेल सेवाले यहोवासितको मेरो सम्बन्धलाई अझ बलियो बनाएको छ। म जति लामो समयसम्म यहाँ बसेर सेवा गर्छु, बेथेल कसरी सञ्चालन हुन्छ भनेर जति बढी सिक्छु, उत्ति नै यसले मलाई यहोवाको व्यक्तित्वबारे सिकाउँछ। बेथेल सेवाले मलाई यहोवाले सबै किसिमका मानिसहरूलाई चलाउनुहुँदो रहेछ भन्ने कुरा राम्ररी बुझ्न पनि मदत गऱ्यो। अनि उहाँलाई स्वीकारयोग्य हुनको लागि आफू सिद्ध हुनै पर्छ भन्ने छैन।”
७ एक जना जवान भाइ यस प्रकार सम्झन्छन्: “ ‘नयाँ संसारमा प्रवेश गरेपछि पुरातन समयका विश्वासी जनहरूलाई मैले आफ्नो समय बाहिर संसारमा पैसा कमाएर होइन तर धेरै वर्ष बेथेलमा सेवा गरेर बिताएँ भनी बताउनु कत्ति रोमाञ्चकारी हुनेछ होला’ भनी मनमनै सोचेको मलाई अझै याद छ।”
८ आफूले प्राप्त गरेको प्रशिक्षण सम्झँदै एक जना जवान भाइ यसो भन्छन्: “आफू र आफूले उन्नति गर्नुपर्ने क्षेत्रहरूबारे सिक्नु अनि ती गुणहरू विकास गर्नु एउटा ठूलो आशिष् साबित भएको छ। अहिले म यहोवाको सेवा गर्न झनै सक्षम भएको छु जस्तो लाग्छ। अहिले म धेरै धीरजी भएको छु, आत्मसंयमी हुन सिकेको छु र अझ धेरै प्रेम देखाउन सक्षम भएको छु।”
९ अहिलेसम्म आफूले प्राप्त गरेका आशिष्हरूबारे एउटी बहिनी यसो भन्छिन्: “यहाँका आध्यात्मिक कार्यक्रमहरूले मलाई यहोवाबारे र आफ्नो विचार, भावना तथा कामकुरामा उहाँको अझ राम्ररी अनुकरण गर्न सिकाएको छ। अनि प्रशिक्षण भनेको निरन्तर चलिरहने कुरा भएकोले आशिष् पनि निरन्तर प्राप्त भइरहन्छ।”
१० जम्माजम्मी ५९ वर्ष पूर्ण-समय सेवकाईमा र ४३ वर्षभन्दा बढी बेथेल सेवामा बिताएका एक जना भाइले यसो भने: “कसै-कसैले सोचेजस्तो बेथेल गुम्बा होइन। हाम्रो तालिकाबद्ध जीवनशैलीले गर्दा धेरै काम गर्न सक्छौं। . . . काम गरिसकेपछि त्यसबाट मैले आनन्द नउठाएको त एउटै दिन छैन। किन? किनभने सारा तनमनले यहोवाको सेवा गर्दा ‘हामीले कर्त्तव्य मात्र गरेका हौं’ भनी ढुक्क हुन सकेर हो।’ ”—लूका १७:१०.
११ बासट्ठी वर्ष बेथेलमा सेवा गरेका अर्का भाइले यसो भने: “पार्थिव प्रमोदवन आउनुभन्दा अघि यस पृथ्वीमा सबैभन्दा सर्वोत्तम ठाउँ बेथेल हो भन्ने कुरा म ठोकुवा गरेर भन्न सक्छु। पूर्ण-समय सेवालाई आफ्नो जीवनकै पेसा बनाएकोमा म कहिल्यै पछुताएको छैन। साक्षी दिन र यहोवाको पार्थिव संगठनको विशाल वृद्धिमा सहभागी हुन पाउनु ठूलो आनन्दको कुरा भएको छ! यहोवाको मदतद्वारा बेथेललाई आफ्नो घर बनाउने र दिलोज्यान दिएर राज्य गतिविधिलाई अघि बढाउने मैले अठोट गरेको छु।”
१२ यदि तपाईंले बेथेल सेवाको लागि आफूलाई उपलब्ध गराउनुभयो भने, तपाईंले प्राप्त गर्नुहुने थुप्रै आशिष्हरूमध्ये बेथेल परिवारका यी सदस्यहरूले उल्लेख गरेका त केही मात्र हुन्। तर सेवाका कुनै पनि सुअवसरमा जस्तै तपाईंले सबैभन्दा पहिला केही आवश्यकताहरू पूरा गर्नै पर्छ। बेथेल परिवारको एक जना सदस्यको हैसियतमा सेवा गर्न चाहिने केही आवश्यकताहरू के-के हुन्?
१३ बेथेल सेवाका लागि अवश्यकताहरू: बेथेल सेवाका लागि आवेदन दिनेहरूले पूरा गर्नुपर्ने आधारभूत आवश्यकताहरू सँगैको पेटीमा दिइएका छन्। यसबाहेक, तिनीहरू “सुख-विलास निको मान्ने” किसिमको नभई कडा परिश्रम गर्न इच्छुक हुनु महत्त्वपूर्ण छ। (२ तिमो. ३:४; १ कोरि. १३:११) बेथेल परिवारका सदस्यहरू व्यक्तिगत अध्ययन गर्ने राम्रो बानी बसालेका र ‘खराब र असल छुट्याउन’ आफ्नो ज्ञानेन्द्रिय शक्तिलाई प्रशिक्षण दिएका आध्यात्मिक पुरुष तथा स्त्रीहरू हुनुपर्छ। (हिब्रू ५:१४) तिनीहरूको मसीही परिपक्वता तिनीहरूको पहिरन, कोरिबाटी र संगीत तथा मनोरञ्जनको छनौटलगायत जीवनका सम्पूर्ण पक्षहरूमा प्रकट भइसकेको हुनुपर्छ। इच्छुक हृदय भएका बेथेल परिवारका सदस्यहरू तिनीहरूको आवश्यकता भएको कुनै पनि ठाउँमा सेवा गर्छन्। मुद्रण, साहित्य तयारी तथा ढुवानी गर्ने काम, मर्मतसम्भार, हाउसकिपिङ, सरसफाइ, लुगा धुने र खाना तयारी गर्नुजस्ता शारीरिक काम समावेश भएका कामकुराहरू साधारणतया जवान सदस्यहरूलाई गर्न खटाइन्छ। (हितो. २०:२९) यद्यपि, सांसारिक जागिरमा जस्तो नभई हरेक असाइनमेन्टबाट ठूलो सन्तुष्टि प्राप्त हुन्छ किनभने यो यहोवाको महिमा गर्ने पवित्र सेवा हो।—कल. ३:२३.
१४ बेथेल सेवाका लागि आमन्त्रित गरिने व्यक्ति कम्तीमा एक वर्ष बस्छन्। यसले तिनीहरूलाई फलदायी कामदारहरू हुन प्रशिक्षण दिन्छ। तिनीहरूले बेथेललाई नै आफ्नो घर बनाऊन् भन्ने आशा गरिन्छ। यहोवाप्रतिको प्रेमले बेथेल परिवारका सदस्यहरूलाई, व्यक्तिगत इच्छाहरूलाई भन्दा यहोवालाई प्रसन्न तुल्याउने राज्यको कामलाई प्राथमिकता दिन उत्प्रेरित गर्छ।—मत्ती १६:२४.
१५ वर्तमान मागहरू: बेथेलमा गरिने कामको प्रकृतिको कारण हाल हामीलाई विशेष गरी अविवाहित भाइहरू चाहिएको छ। एउटा आवश्यकता नभए तापनि नियमित अग्रगामीहरूलाई प्राथमिकता दिइन्छ किनभने तिनीहरू पूर्ण-समय कार्यमा लागिसकेका हुन्छन्। कहिलेकाहीं आवश्यक पऱ्यो भने, बेथेलमा कुनै खास सीप भएका १९ देखि ३५ वर्षसम्मका अविवाहित बहिनी तथा विवाहित दम्पतीहरूका लागि अवसरको ढोका खोलिन सक्छ। यसबाहेक, ३५ वर्ष अलि नाघिसकेका र बेथेलमा चाहिने विशेष सीप तथा प्रशिक्षण प्राप्त गरेका कोही-कोही भाइ तथा बहिनीहरूलाई निवेदन दिन प्रोत्साहित गरिन्छ। उदाहरणका लागि, तीमध्ये केही मात्र उल्लेख गर्ने हो भने, दन्त चिकित्सक, डाक्टर, प्रमाणपत्र प्राप्त सार्वजनिक लेखापाल, वास्तुकार, इन्जिनियर, रजिस्टर्ड नर्स, सवारीसाधनका मेकानिक्स वा इलेक्ट्रोनिक टेक्निसियन आदि पर्छन्। तथापि, विशेष शिक्षा वा प्रशिक्षण हासिल गरेको खण्डमा बेथेलमा बोलाउने सम्भावना बढी हुन्छ भन्ठानेर यी योग्यता वा सीपहरू हासिल गर्न हामी व्यक्तिविशेषलाई प्रोत्साहन दिंदैनौं। हुन सक्छ, सच्चाइमा आउनुभन्दा अघि नै विशेष प्रशिक्षण लिइसकेकाहरूले बेथेल निवेदनसँगै यसबारे सविवरण खुलाएर लेख्न सक्छन्।
१६ तपाईंले निवेदन दिनुभयो र बेथेलमा सेवा गर्न बोलाइएन भने निरुत्साहित नहुनुहोस्। प्रत्येक वर्ष तपाईं पुनः निवेदन दिने निर्णय गर्न सक्नुहुन्छ। बेथेलमा चाहिने विशेष प्रशिक्षण तथा सीपहरू भएका कोही-कोही भाइहरूले अस्थायी स्वयम्सेवकको रूपमा सेवा गर्न आफूलाई उपलब्ध गराएका छन्। तिनीहरूले एक, दुई, तीन वा चार हप्ता वा तीन महिनासम्म बेथेलमा अस्थायी रूपमा सेवा गर्नको निम्ति निवेदन दिन सक्छन्। यस प्रकार मदत गर्न इच्छुक व्यक्तिहरूका लागि मण्डलीका सचिवसित अस्थायी स्वयम्सेवा आवेदन फाराम हुन्छ। थप अस्थायी स्वयम्सेवा आवेदन फारामहरू लिटिरेचर रिक्वेस्ट फाराम-मा अर्डर गर्न सकिन्छ।
१७ बेथेलमा सेवा गरिरहेकाहरूका लागि ख्रीष्टका भाइहरूसित घनिष्ठ भएर यहोवाको सेवा गर्न पाउनु एउटा विशेष सुअवसर हो। परिचालक निकायले हाम्रो विश्वव्यापी भ्रातृत्वका आवश्यकताहरू पूरा गर्न आफूलाई उपलब्ध गराउनेहरूले देखाएका आत्मत्यागी मनोभावको मूल्यांकन गर्छ।—फिलि. २:२०-२२; २ तिमो. ४:११.
१८ जवानहरू हो—बेथेल सेवाका लागि अहिल्यै आफूलाई तयार पार्नुहोस्: बेथेल सेवाको लागि १९ वर्षको हुनु जरुरी छ र यसको लागि तयारी गर्ने काम त्योभन्दा अघिदेखि नै सुरु हुन्छ। बेथेल सेवाको लागि आफूलाई तयारी गर्न जवानहरूले के गर्न सक्छन्? येशूले यसो भन्नुभयो: “तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा त्यो सिध्याउने सम्मको खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब गर्दैन?” (लूका १४:२८) कुनै पनि निर्माण कार्य सफलतासाथ पूरा गर्न तयारी र योजना अत्यावश्यक हुने भएको कारण युवाहरूले यहोवाको सेवामा आफ्नो भविष्य कसरी निर्माण गर्दैछन् भन्ने कुरामा उत्कट ध्यान दिनु कत्ति महत्त्वपूर्ण छ! आध्यात्मिक लक्ष्यहरू हासिल गर्न कलिलो उमेरदेखि नै बलियो जग बसाल्नै पर्छ। युवायुवतीहरूको हैसियतमा, तपाईंहरूले कत्तिको राम्ररी आफ्नो जग बसाल्दै हुनुहुन्छ? यदि तपाईं बेथेलमा सेवा गर्न चाहनुहुन्छ भने, निम्न कुराहरू विचार गर्दा तपाईंले लाभ उठाउनुहुनेछ।
१९ सेवाको यो विशेष सुअवसरलाई ‘ग्रहण गर्नुहोस्’: मत्ती १९:१२ मा लिपिबद्ध गरिएअनुसार, येशूले आफ्ना चेलाहरूलाई अविवाहित रहने कुरालाई “ग्रहण गर्न” प्रोत्साहन दिनुभयो। किन? व्यक्तिगत कारणहरूका निम्ति त होइन तर “स्वर्गराज्यको निम्ति।” त्यस्तै गरी पावलले अविवाहित रहँदा “बाधा विना प्रभुको भक्ति गर्न” सकिन्छ भनेर प्रोत्साहन दिए। (१ कोरि. ७:३२-३५) दुःखको कुरा, कलिलै उमेरमा विवाह गरेको कारण थुप्रैले अविवाहित रहेर बेथेलमा सेवा गर्ने सुअवसर गुमाउँछन्। पारिवारिक दायित्वहरूदेखि स्वतन्त्र भएको बेला नै पूर्ण-समय सेवकाईमा आफ्नो बलबुता प्रयोग गर्न हामी जवान भाइहरूलाई प्रोत्साहन दिन चाहन्छौं। त्यसपछि, केही समयपश्चात् तिनीहरूले विवाह गर्ने निर्णय गरेको खण्डमा तिनीहरू अझ असल पति बन्नेछन् किनभने तिनीहरूले जीवन र मसीही सेवकाईमा धेरै अनुभव बटुलिसकेका हुन्छन्। केही वर्ष बेथेलमा सेवा गरिसकेपछि कसै-कसैले विवाह गरेका छन् र विवाहित दम्पतीको रूपमा त्यहीं सेवा गर्न सफल भएका छन्। पछि तिनीहरूले क्षेत्रीय वा जिल्ला निरीक्षकको रूपमा सेवा गर्नेजस्ता सुअवसरहरू पाएको खण्डमा, बेथेल सेवा ग्रहण गर्न समय दिएकोमा तिनीहरू कदापि पछुताउँदैनन्।
२० भौतिक सुखविलासमा नअलमलिनुहोस्: प्रत्येक जवान व्यक्तिले यस प्रकार सोध्नु बेस हुनेछ: ‘स्कूलको पढाइ सिद्धिएपछि के मेरो लक्ष्य पूर्ण-समय सांसारिक पेसामा लाग्नु हो वा पूर्ण-समय यहोवाको सेवा गर्नु?’ हुन त हो, पूर्ण-समय यहोवाको सेवा गर्न त्यागहरू गर्नुपर्नेछ। तर सांसारिक पेसामा लाग्दा पनि त त्यागहरू त गर्नै पर्छ! तर आखिरमा, कुन कामले साँच्चै चिरकालीन तथा लाभदायी परिणाम ल्याउँछ? येशूले स्पष्ट जवाफ दिनुभयो। मत्ती ६:१९-२१ अनुसार उहाँले यसो भन्नुभयो: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, र जहाँ चोरहरूले फोरेर चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, औ चोरले पनि चोर्दैन। कारण जहाँ तिम्रो सम्पत्ति हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।” हाम्रो हृदयले हामीलाई तनमनले यहोवाको सेवा गर्नुको सट्टा सांसारिक पेसा वा भौतिक कुराहरू प्राप्त गर्नुतर्फ कहिल्यै नडोऱ्याओस्। प्राप्त गर्न लायक एउटै मात्र लक्ष्य भनेको यहोवासितको असल सम्बन्ध हो भन्ने कुरा हामी प्रत्येकले बुझ्नै पर्छ किनभने यसो गरेर हामी उहाँको हृदयलाई प्रसन्न तुल्याउँछौं। (हितो. २७:११) जवान छँदै आफ्नो जीवनमा यहोवालाई प्राथमिकता दिएर हामी कुन कुरालाई महत्त्व दिन्छौं र हाम्रो लागि राज्य कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा देखाउँछौं। नबिर्सनुहोस्, “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्न।” (हितो. १०:२२) यहोवाले आफूलाई दिनुभएका सम्पूर्ण कुराको बदलामा उहाँलाई केही असल कुरा दिएर आफ्नो मन कहाँ छ भन्ने कुरा देखाउने जवानहरूसित सर्वोत्तम सुअवसर छ। बेथेल सेवाका आवश्यकताहरू पूरा गर्नेहरूका लागि बेथेल सेवाले यस्तो अद्भुत अवसर प्रदान गर्छ।
२१ बेथेलमा सेवा गर्नेहरू नैतिक रूपमा स्वच्छ हुनै पर्छ: भजनहारले यस प्रकार सोधे: “जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्नसक्ला?” तिनले यस्तो जवाफ दिए: “तपाईंको वचनमा ध्यान दिएरनै हो।” (भज. ११९:९) त्यसमा, शैतानी रीतिरिवाजको कुनै पनि किसिमको नैतिक भ्रष्टतादेखि आफूलाई टाढा राख्नु समावेश छ। इन्टरनेटमा उपलब्ध अश्लील कुराहरू, विपरीत लिंगका व्यक्तिहरूसित अनुचित व्यवहार, पतित संगीत, भ्रष्ट मनोरञ्जन तथा उमेरै नपुगी जाँडरक्सी खानुजस्ता कुराहरू त शैतानले हाम्रा युवाहरूलाई आध्यात्मिक लक्ष्य हासिल गर्नदेखि रोक्न चलाउने केही पासोहरू मात्र हुन्। यी युक्तिहरूको प्रतिरोध गर्न दरिलो संकल्प हुनु अत्यावश्यक छ। जवान व्यक्तिको हैसियतमा यदि तपाईंले आफूलाई यीमध्ये कुनै पनि कुरामा फसेको पाउनुभएको छ भने, आफ्नो मण्डलीका प्राचीनहरूसित कुरा गर्नुहोस् र बेथेल सेवाको लागि निवेदन दिनुभन्दा अघि यी समस्याहरू समाधान गर्नुहोस्। पूर्ण रूपमा यहोवाको सेवा गर्न सफा अन्तस्करण हुनु अत्यावश्यक छ।—१ तिमो. १:५.
२२ अरूसित घुलमिल हुन सिक्नुहोस्: बेथेल सेवालाई सफल बनाउन चाहिने एउटा महत्त्वपूर्ण आवश्यकता भनेको अरूसित घुलमिल हुन सिक्नु हो। बंगलौरको बेथेल परिवार विभिन्न पृष्ठभूमिका भाइबहिनीहरू मिलेर बनेको छ। यस्ता विविध व्यक्तित्वहरूले बेथेलको सौन्दर्य बढाउने भए तापनि कहिलेकाहीं यसले गर्दा चुनौतीहरू पनि खडा हुन सक्छन्। यदि तपाईं बेथेल सेवाको लागि विचार गर्दै हुनुहुन्छ भने, आफूलाई यस्तो प्रश्न सोध्नु बेस हुनेछ: ‘अरूले मेरो विचारको समर्थन नगर्दा के म तुरुन्तै मन दुखाइहाल्छु? के अरूले मलाई सजिलै घुलमिल हुन सक्ने व्यक्तिको रूपमा चिन्छन्?’ यदि तपाईंले यी क्षेत्रहरूमा उन्नति गर्नुपर्छ भने, अहिलेदेखि नै यी कुराहरूमा परिश्रम गर्न थालिहाल्नुहोस्। यसो गर्दा तपाईंलाई बेथेल परिवारका सदस्यहरूसित सँगै बसेर काम गर्न धेरै सजिलो हुनेछ।
२३ यहोवासित घनिष्ठ सम्बन्ध विकास गरेर एक जना आध्यात्मिक व्यक्ति बन्न कडा मेहनत गर्नुहोस्। व्यक्तिगत अध्ययन गर्ने राम्रो तालिका बनाउनुहोस्, जसमा दिनहुँ बाइबल पढाइ पनि समावेश छ। अरूलाई सुसमाचार सुनाउने काममा सक्रिय हुनुहोस्। यी कुराहरू गरेर तपाईंले आफ्नो आध्यात्मिक प्रगति प्रकट गर्नुहुनेछ। (१ तिमो. ४:१५) पूर्ण-समय सेवालाई आफ्नो पेसा बनाउन अहिल्यैदेखि तयारी गर्नेहरूलाई अद्भुत प्रत्याशाहरूले पर्खिरहेका छन्!
२४ आमाबाबुहरू हो, आफ्ना छोराछोरीलाई प्रशिक्षण दिनुहोस्: केटाकेटीलाई पूर्ण-समय सेवकाई अँगाल्न प्रोत्साहन दिन आमाबाबुले के गर्न सक्छन्? येशूले यसो भन्नुभयो: “हरेक निपुण भएपछि आफ्ना गुरु जत्तिकै हुनेछ।” (लूका ६:४०) विस्तृत तवरमा प्रशिक्षण दिइएका चेलाले आफ्ना समर्पित गुरुका असल गुणहरू प्रकट गर्नु स्वाभाविकै हो। ‘ईश्वरीय भक्तिलाई [आफ्नो] लक्ष्य’ बनाउन छोराछोरीलाई प्रशिक्षण दिन कडा मेहनत गर्ने मसीही आमाबाबुहरूले यस सिद्धान्तलाई मनमा राख्नुपर्छ। (१ तिमो. ४:७) आध्यात्मिक कुराहरूप्रति आमाबाबुको मनोवृत्ति कस्तो छ, सो झल्काउने झुकाव छोराछोरीसित हुने भएकोले गर्दा आमाबाबुले आफैलाई यस प्रकार सोध्नु बेस हुन्छ: “यहोवाको शुद्ध उपासनालाई अघि बढाउन बेथेलमा गरिने कामकुराको के हामी व्यक्तिगत रूपमा कदर गर्छौं? बेथेल प्रबन्धमा यहोवाको आशिष् छ भन्ने कुरा के हामी मानिलिन्छौं? यहोवाको सेवामा जीवन बिताउनु नै आफ्ना छोराछोरीले छनौट गर्न सक्ने सर्वोत्तम पेसा हो भनेर के हामी विश्वास गर्छौं?’ बेथेल सेवा र त्यहाँ गरिने कामकुराप्रतिको हाम्रो हार्दिक मूल्यांकनले हामीलाई हाम्रा छोराछोरीको मनमा पनि त्यस्तै मूल्यांकन हाल्न मदत गर्नेछ।
२५ एल्काना र हन्नाले साँचो उपासनाको गहिरो मूल्यांकन गर्थे। आजका मसीही आमाबाबुहरूका लागि उनीहरूले एउटा उल्लेखनीय उदाहरण बसाले। पुरातन इस्राएलमा, इस्राएली पुरुषहरू मात्र बासस्थानमा वर्षको तीनपल्ट “परमप्रभु परमेश्वरको सामने देखा” पर्नु आवश्यक थियो। त्यसोभए तापनि, एल्काना “वर्षेनि” आफ्नो सम्पूर्ण परिवारसित यहोवाको उपासना गर्ने यस स्थलमा बलिदान चढाउन सम्भवतः पैदलै लगभग ३० किलोमिटर यात्रा गर्थे। (प्रस्थ. २३:१७; १ शमू. १:३, ४, ९, १९; २:१९) यस परिवारको शिर आफ्नो सम्पूर्ण परिवारले आध्यात्मिक कुराहरूप्रति तिनको व्यक्तिगत चासोमा साथ दिएको चाहन्थे भन्ने कुरा स्पष्ट छ।
२६ साँचो उपासनाप्रति आफ्नो पतिको चासोलाई हन्नाले समर्थन गरिन्। बासस्थानमा साँचो उपासनालाई सहयोग गर्न योगदान पुऱ्याउनु आफ्नो पनि कर्तव्य हो भन्ने कुरा तिनले महसुस गरिन्। यहोवाले तिनलाई एउटा बालक दिनुभएको खण्डमा, त्यस बालकलाई बासस्थानमा सेवाको लागि समर्पण गर्नेछु भनेर हन्नाले भाकल गरिन्। (१ शमू. १:११) मोशालाई दिइएको व्यवस्थाअनुसार पत्नीले कुनै अनुचित भाकल गरेको खण्डमा त्यसलाई रद्द गर्ने अधिकार पतिसित थियो। (गन्ती ३०:६-८) तथापि, साँचो उपासनाको त्यस अभिव्यक्तिलाई आफूले पनि समर्थन गरेको देखाउँदै एल्कानाले हन्नाको भाकललाई समर्थन गरे!—१ शमू. १:२२, २३.
२७ आफ्ना आमाबाबुले देखाएको मूल्यांकन तथा असल मनोभावले के तिनीहरूका छोरा शमूएललाई सकारात्मक ढंगमा असर पाऱ्यो? पक्कै पाऱ्यो। एक जना बालकको हैसियतमा, शमूएलले इच्छुकतासाथ र विश्वासीपूर्वक आफूलाई सुम्पिएका कामकुराहरू पूरा गरे र परमेश्वरको सेवामा थप मूल्यवान् सुअवसरहरूको लागि प्रशिक्षण प्राप्त गरे। बासस्थानमा शमूएलले गर्ने सेवाप्रति एल्काना र हन्नाले देखाएको चासो शमूएलले त्यहाँ कार्यभार वहन गरिसकेपछि त्यतिकैमा सिद्धिएन। तिनले पूर्ण-समय सेवा अँगालिसकेपछि पनि प्रोत्साहन तथा सहयोगको लागि उनीहरू नियमित रूपमा तिनीलाई भेट्न जान्थे।—१ शमू. २:१८, १९.
२८ आजका मसीही आमाबाबुका लागि एल्काना र हन्नाले कस्तो उल्लेखनीय उदाहरण बसाले! जब हाम्रा छोराछोरीले बेथेल सेवा गर्ने सुअवसरको लागि हामीले व्यक्त गर्ने मूल्यांकनका हार्दिक अभिव्यक्ति सुन्नुका साथै राज्य गतिविधिलाई अघि बढाउन हामीले देखाउने आत्मत्यागी मनोभाव देख्छन्, तब उनीहरूले पनि अरूको सेवा गर्ने झुकाव भएको हृदय विकास गर्नेछन्। थुप्रै आमाबाबुहरूले सफलतापूर्वक आफ्ना छोराछोरीको मनमा यस्तो स्वास्थ्यकर झुकाव हालिरहेका छन्। सात वर्षीया एउटी केटीले यस्तो लेखिन्: “ठूलो भएपछि म बेथेल जान चाहन्छु र त्यहाँ गएर म केही कुरा गर्न चाहन्छु। (१) प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाहरू टाइप गर्ने, (२) कला विभागमा काम गर्ने, (३) लुगाफाटा पट्टयाउने। जुनसुकै काम दिए पनि म गर्छु। केही फरक पर्दैन।” हाम्रा छोराछोरीको हृदयमा यस्तो इच्छुक मनोभाव विकास भएको हेर्न पाउनु कत्ति हृदयस्पर्शी कुरा हो!
२९ जवान भाइबहिनीहरू हो, “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ” भन्ने कुरा नबिर्सनुहोस्। (१ यूह. २:१७) बेथेल सेवा गर्ने विशेष सुअवसरलगायत अन्य आध्यात्मिक लक्ष्यहरू हासिल गर्ने निरन्तर प्रयास गरिरहनुहोस्। आमाबाबुहरू हो, विगतमा ईश्वरीय भक्ति खेती गर्न आफ्ना छोराछोरीलाई प्रोत्साहित गर्ने विश्वासी जनहरूको उदाहरण अनुकरण गर्नुहोस्। (२ पत्रु. ३:११) अनि हामी सबै जनाले हाम्रा जवान भाइबहिनीहरूलाई हाम्रा महान् सृष्टिकर्ताको सेवा यथाशक्य धेरैभन्दा धेरै गर्न सहयोग गर्न सकौं किनभने “भक्तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।”—१ तिमो. ४:८; उप. १२:१.
[पृष्ठ ४-मा भएको पेटी]
बेथेल सेवाका लागि आधारभूत आवश्यकताहरू
● बप्तिस्मा लिएको कम्तीमा एक वर्ष भएको हुनुपर्छ
● यहोवा र उहाँको संगठनप्रति गहिरो प्रेम भएको एक जना आध्यात्मिक व्यक्ति हुनुपर्छ
● आध्यात्मिक, मानसिक, भावनात्मक तथा शारीरिक तवरमा स्वस्थ हुनुपर्छ
● भारतको नागरिक वा कानुनी रूपमा त्यहाँको स्थायी बासिन्दा हुनुपर्छ
● लेखपढ गर्न जान्ने र अंग्रेजी बोल्न सक्ने हुनुपर्छ
● उमेर १९ देखि ३५ वर्षको हुनुपर्छ