प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ४/१५ pp. १६-२१
  • साँचो उपासनाले किन परमेश्‍वरको आशिष्‌ पाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो उपासनाले किन परमेश्‍वरको आशिष्‌ पाउँछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साँचो धर्मले कस्तो फल फलाउनैपर्छ?
  • घृणा होइन तर प्रेमको धर्म
  • परमेश्‍वरले स्वच्छ चालचलन तथा शिक्षाहरूलाई आशिष्‌ दिनुहुन्छ
  • “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ”
  • विशिष्ट नाउँ
  • परमेश्‍वरले स्वीकार्नुहुने उपासना
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • साँचो धर्मको पहिचान गर्नु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरको उपासना गर्ने सही तरिका
    बाइबलले हामीलाई के सिकाउँछ?
  • के सबै धर्महरूले परमेश्‍वरलाई खुशी तुल्याउँछन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ४/१५ pp. १६-२१

साँचो उपासनाले किन परमेश्‍वरको आशिष्‌ पाउँछ

“हल्लेलूयाह, मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन्‌। किनकि उहाँका इन्साफ सच्चा र धार्मिक हुन्छन्‌।”—प्रकाश १९:१, २.

१. महान्‌ बेबिलोनको अन्त कसरी हुनेछ?

“महान्‌ बेबिलोन” परमेश्‍वरको दृष्टिमा पतन भएकी छे र अहिले त्यो लुप्त हुने स्थितिमा छे। विश्‍वव्यापी धार्मिक वेश्‍या चाँडै त्यसको राजनैतिक उपपतिको हातबाट नष्ट हुनेछ भनेर बाइबलको भविष्यवाणीले औंल्याउँछ। त्यसको अन्त अचानक र एकै झोक्कामा हुनेछ। येशूले यूहन्‍नालाई प्रकट गर्नुभएका कुराहरूमा यी भविष्यसूचक शब्दहरू थिए: “एउटा बलवान दूतले जाँतोजस्तै एउटा ठूलो ढुंगा उठाए, र यसो भनेर समुद्रमा फाले, ‘यसरीनै महान्‌ शहर बेबिलोन ठूलो झोक्काले फालिनेछ, र फेरि कहिल्यै पाइनेछैन।’”—प्रकाश १८:२, २१.

२. महान्‌ बेबिलोनको अन्त हुँदा यहोवाका सेवकहरूले कस्तो प्रतिक्रिया देखाउनेछन्‌?

२ महान्‌ बेबिलोन नष्ट हुँदा शैतानी संसारका केही तत्त्वहरूले विलाप गर्नेछन्‌। तर अहँ, चाहे स्वर्गमा होस्‌ या पृथ्वीमा परमेश्‍वरका सेवकहरूले रत्तिभर विलाप गर्नेछैनन्‌। बरु आनन्द मनाउँदै तिनीहरूले यसरी परमेश्‍वरको प्रशंसा गर्नेछन्‌: “हल्लेलूयाह, मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन्‌। किनकि उहाँका इन्साफ सच्चा र धार्मिक हुन्छन्‌। किनभने उहाँले पृथ्वीलाई त्यसको व्यभिचारले भ्रष्ट पारेकी त्यो ठूलो वेश्‍याको इन्साफ गर्नुभएको छ, र उहाँले आफ्नो दासहरूको रगतको बदला त्यसमाथि लिनुभएको छ।”—प्रकाश १८:९, १०; १९:१, २.

साँचो धर्मले कस्तो फल फलाउनैपर्छ?

३. कुन प्रश्‍नहरूको जवाफ पाउनु आवश्‍यक छ?

३ पृथ्वीबाट सबै झूटा धर्महरूलाई हटाइने हो भने कुन चाहिं उपासना रहिरहनेछ त? झूटो धर्मको शैतानी विश्‍वसाम्राज्य नष्ट हुँदा कुन धार्मिक समूह रहिरहनेछ भनेर हामी कसरी पत्ता लगाउनसक्छौं? अनि यो धार्मिक समूहले कस्तो धार्मिक फल फलाउनैपर्छ? यहोवाको साँचो उपासना ठम्याउने कम्तीमा दश चिनारीहरू छन्‌।—मलाकी ३:१८; मत्ती १३:४३.

४. साँचो उपासनाको पहिलो आवश्‍यकता के हो अनि यस सम्बन्धमा येशूले कसरी उदाहरण बसाल्नुभयो?

४ सबैभन्दा मुख्य अनि प्रमुख चाहिं यो हो, साँचो मसीहीहरूले येशूको पिताको सार्वभौमलाई समर्थन गर्नैपर्छ जसका लागि येशू मर्नुभयो। येशूले कुनै राजनैतिक, जनजातीय, जातीय वा सामाजिक तत्त्वका लागि आफ्नो जीवन दिनुभएन। उहाँले सम्पूर्ण यहूदी राजनैतिक वा क्रान्तिकारी आकांक्षाहरूलाई होइन तर आफ्नो पिताको राज्यलाई प्राथमिकता दिनुभयो। शैतानले सांसारिक शक्‍ति दिन खोज्दा उहाँले यसो भनेर इन्कार गर्नुभयो: “ए शैतान हटी जा! किनभने यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई दण्डवत्‌ गर्नू औ उहाँको मात्र सेवा गर्नू।’” यहोवा सारा पृथ्वीको साँचो सार्वभौम हुनुहुन्छ भनेर उहाँले हिब्रू धर्मशास्त्रबाट सिक्नुभएको थियो। त्यसोभए आज कुन चाहिं धार्मिक समूहले यो संसारको राजनैतिक प्रणालीलाई नभई यहोवाको शासनलाई निर्विवाद समर्थन गर्छ त?—मत्ती ४:१०; भजन ८३:१८.

५. (क) साँचो उपासकहरूले परमेश्‍वरको नाउँलाई कुन दृष्टिले हेर्नुपर्छ? (ख) यहोवाका साक्षीहरूले त्यो नाउँलाई आदर गर्छन्‌ भनेर कुन कुराले देखाउँछ?

५ दोस्रो आवश्‍यकता हो, साँचो उपासनाले पर- मेश्‍वरको नाउँको स्तुति गर्नुका साथै त्यसलाई पवित्र पार्नैपर्छ। सर्वशक्‍तिमानले आफ्ना जन इस्राएललाई आफ्नो नाउँ यहोवा (जसलाई केही बाइबलहरूमा याहवे अनुवाद गरिएको छ) भनेर प्रकट गर्नुभयो। हिब्रू धर्मशास्त्रमा हजारौं पटक त्यो नाउँ प्रयोग गरिएको छ। अझ त्यसभन्दाअघि आदम, हव्वा र अरूलाई पनि उहाँको नाउँ थाह थियो। तथापि, तिनीहरूले सधैं त्यस नाउँको आदर गरेनन्‌। (उत्पत्ति ४:१; ९:२६; २२:१४; प्रस्थान ६:२) मसीहीजगत तथा यहूदी धर्मका अनुवादकहरूले प्रायः आफ्ना बाइबलहरूबाट त्यो ईश्‍वरीय नाउँ हटाएका भए तापनि पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद-मा (अंग्रेजी) यहोवाका साक्षीहरूले ठीक ठीक ठाउँमा त्यो नाउँ प्रयोग गर्नुका साथै आदर गरेका छन्‌। प्रारम्भिक मसीहीहरूले जस्तै तिनीहरू त्यस नाउँको सम्मान गर्छन्‌। याकूबले यसो भने: “कसरी परमेश्‍वरले पहिले उहाँको नाउँको निम्ति अन्यजातिहरूबाट एक जाति लिनालाई कृपादृष्टि गर्नुभयो भन्‍ने कुरो शिमोनले बताएका छन्‌। औ यसैसँग अगमवक्‍ताका वचन पनि मिल्छन्‌, . . . ‘बाँकी रहेका मानिसहरूले परमप्रभुलाई खोज्न सकून्‌, र सबै अन्यजातिहरूले जस जसमाथि मेरो नाउँ प्रकट गरिएको छ।’”—प्रेरित १५:१४-१७; आमोस ९:११, १२.

६. (क) साँचो उपासनाको तेस्रो आवश्‍यकता के हो? (ख) येशू र दानियलले राज्य शासनमाथि कसरी जोड दिए? (लूका १७:२०, २१)

६ साँचो उपासनामा हुनुपर्ने तेस्रो आवश्‍यकता हो, त्यसले परमेश्‍वरको राज्यको महिमा गर्नुपर्छ र मानव शासनको एक मात्र वैध र भरपर्दो समाधान त्यही हो भनेर समर्थन गर्नुपर्छ। येशूले आफ्ना अनुयायीहरूलाई परमेश्‍वरको राज्य आओस्‌, परमेश्‍वरले पृथ्वीमा शासन सुरु गरोस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। आखिरी दिनको विषयमा दानियल यस्तो अगमवाणी गर्न उत्प्रेरित भए: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, . . . त्यसले यी सबै [सांसारिक, राजनैतिक] राज्यहरूलाई चक्नाचूर पार्नेछ र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” यो २० औं शताब्दीमा कसले त्यो राज्यलाई मुखले मात्र होइन तर कामले पनि पूर्ण समर्थन गरेको छ? महान्‌ बेबिलोनका धर्महरूले वा यहोवाका साक्षीहरूले?—दानियल २:४४; मत्ती ६:१०; २४:१४.

७. साँचो उपासकहरूले बाइबललाई कुन दृष्टिले हेर्छन्‌?

७ परमेश्‍वरका सेवकहरूले बाइबललाई परमेश्‍वरको वचनको रूपमा समर्थन गर्नुपर्छ। यो परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने चौथो आवश्‍यकता हो। बाइबललाई मानव मात्रको साहित्यिक कार्य प्रमाणित गर्न गलतीहरू औंल्याउन खोज्ने समालोचकहरूको पासोमा तिनीहरू फस्दैनन्‌। यहोवाका साक्षीहरू बाइबललाई परमेश्‍वरको प्रेरित वचन भनी विश्‍वास गर्छन्‌। पावलले तिमोथीलाई लेखेका यी कुराहरूलाई तिनीहरू स्वीकार्छन्‌: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनालाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।”a तसर्थ, यहोवाका साक्षीहरू बाइबललाई आफ्नो पथप्रदर्शक, दैनिक जीवनको निर्देशन पुस्तक अनि भावी आशाको स्रोतको रूपमा लिन्छन्‌।—२ तिमोथी ३:१६, १७.

घृणा होइन तर प्रेमको धर्म

८. साँचो उपासनाको पाँचौं आवश्‍यकता के हो?

८ येशूले आफ्ना साँचो अनुयायीहरूको कस्तो चिनारी दिनुभयो? उहाँले दिनुभएको जवाफले साँचो उपासना चिन्‍ने पाँचौं अत्यावश्‍यक चिन्ह बताउँछ। येशूले भन्‍नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३४, ३५) येशूले कसरी आफ्नो प्रेम देखाउनुभयो? छुटकाराको मोलको रूपमा आफ्नो जीवन बलिदान दिनुभएर। (मत्ती २०:२८; यूहन्‍ना ३:१६) साँचो मसीहीहरूसित साँचो प्रेम हुनु किन अपरिहार्य छ? यूहन्‍नाले यसरी त्यसको जवाफ दिए: “हे प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाटको हो। . . . प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ।”—१ यूहन्‍ना ४:७, ८.

९. साँचो प्रेम कसले देखाएका छन्‌ अनि कसरी?

९ वर्गीय, राष्ट्रिय वा जातीय घृणा चर्किरहेको ठाउँमा समेत आज कसले त्यस्तो प्रकारको प्रेम देखाएको छ? मृत्युसम्मै प्रेम देखाएर कसले कठिनभन्दा कठिन परीक्षा तर्न सकेको छ? सन्‌ १९९४ मा रूवाण्डामा भएको जातिसंहारका लागि आफू केही हदसम्म जिम्मेवार भएको स्वीकार्ने क्याथोलिक पादरी वा भिक्षुणीहरूले? बाल्कन क्षेत्रमा भइरहेको गृहयुद्धमा “जातीय सफाइ” र अन्य अमसीही काममा भाग लिने सर्बियाली अर्थोडक्स वा क्रोएसियाली क्याथोलिकहरूले? वा गत केही दशकदेखि उत्तर आयरलैन्डमा पूर्वाग्रह र घृणा चर्काउने क्याथोलिक वा प्रोटेस्टेन्ट पादरीहरूले? निस्सन्देह, यहोवाका साक्षीहरूलाई त्यस्ता कुनै पनि विवादहरूमा भाग लिएको आरोप लगाउन सकिंदैन। आफ्नो मसीही प्रेमलाई धोका दिनुभन्दा बरु तिनीहरूले जेल र यातना शिविरमा दुःख वा मृत्युसमेत भोगेका छन्‌।—यूहन्‍ना १५:१७.

१०. साँचो मसीहीहरू किन तटस्थ रहन्छन्‌?

१० परमेश्‍वरलाई स्वीकारयोग्य उपासना चढाउने छैटौं आवश्‍यकता, यो संसारको राजनैतिक गतिविधिहरूप्रति अपनाउनुपर्ने तटस्थता हो। मसीहीहरू किन राजनैतिक कुराहरूमा तटस्थ रहनुपर्छ? पावल, याकूब र यूहन्‍ना त्यसको ठोस कारण बताउँछन्‌। फूट उत्पन्‍न गराउने राजनीतिलगायत यथासम्भव सबै चाल रचेर अविश्‍वासीहरूको हृदय अन्धा बनाउने शैतान “यस संसारको देव” हो भनेर प्रेरित पावलले लेखे। त्यस्तैगरि “संसारसँगको मित्रता परमेश्‍वरसँगको दुश्‍मनी हो” भनेर चेला याकूबले अनि “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनेर प्रेरित यूहन्‍नाले बताए। तसर्थ, शैतानको भ्रष्ट राजनीति तथा शक्‍तिको संसारमा मुछिएर साँचो मसीहीले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासको सम्झौता गर्नसक्दैन।—२ कोरिन्थी ४:४; याकूब ४:४; १ यूहन्‍ना ५:१९.

११. (क) मसीहीहरू युद्धलाई कुन दृष्टिले हेर्छन्‌? (ख) यो अडान लिने कुन धर्मशास्त्रीय आधार छ? (२ कोरिन्थी १०:३-५)

११ माथि उल्लिखित दुइ आवश्‍यकताहरूको आधारमा सातौं आवश्‍यकता सजिलै बताउन सकिन्छ। त्यो हो, साँचो मसीही उपासकहरूले युद्धहरूमा भाग लिनु हुँदैन। साँचो धर्म, प्रेममा आधारित विश्‍वव्यापी भ्रातृत्व भएकोले कुनै कुराले पनि “यस संसारमा भएका दाज्युभाइहरू[बीच]” फूट उत्पन्‍न गर्न वा तिनीहरूलाई भ्रष्ट बनाउन सक्दैन। येशूले घृणा होइन प्रेम, युद्ध होइन शान्ति सिकाउनुभयो। (१ पत्रुस ५:९; मत्ती २६:५१, ५२) कयिनलाई हाबिलको हत्या गर्न सुऱ्‍याउने त्यही “दुष्ट,” अर्थात्‌ शैतानले अहिलेसम्म पनि मानिसजातिलाई राजनैतिक, धार्मिक र जातीय भिन्‍नताको आधारमा घृणाको बीउ रोपेर विवाद खडा गर्न अनि रक्‍तपात मच्चाउन उस्काइरहेको छ। तर परिणाम जेसुकै किन नहोस्‌, साँचो मसीहीहरूले कुनै हालतमा ‘युद्ध गर्न सिक्दैनन्‌।’ लाक्षणिक अर्थमा भन्‍ने हो भने, तिनीहरूले “आफ्नो तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया” बनाएका छन्‌। तिनीहरू परमेश्‍वरको आत्माका शान्तिमय फलहरू फलाउँछन्‌।—१ यूहन्‍ना ३:१०-१२; यशैया २:२-४; गलाती ५:२२, २३.

परमेश्‍वरले स्वच्छ चालचलन तथा शिक्षाहरूलाई आशिष्‌ दिनुहुन्छ

१२. (क) आठौं आवश्‍यकता के हो र त्यो आवश्‍यकता पूरा गर्ने कुन धार्मिक समूहको नाउँ बताउन सक्नुहुन्छ? (ख) पावलले यो आठौं आवश्‍यकतालाई कसरी जोड दिए?

१२ मसीही एकता साँचो उपासनाको आठौं आवश्‍यकता हो। तथापि, फूट उत्पन्‍न गराउने मसीहीजगतका धर्महरूले त्यस्तो एकता ल्याउन सकेका छैनन्‌। लोकप्रिय भनौंदा थुप्रै धार्मिक सम्प्रदायहरू विभिन्‍न मतहरूमा विभाजित हुँदा झन्‌ अन्योलपूर्ण स्थिति उत्पन्‍न भएको छ। उदाहरणका लागि, संयुक्‍त राज्यको ब्याप्टिस्ट धर्मलाई लिनुहोस्‌। यो धर्म नर्थन ब्याप्टिस्ट (सं.रा. को अमेरिकन ब्याप्टिस्ट चर्च), सथर्न ब्याप्टिस्टलगायत (सथर्न ब्याप्टिस्ट कन्भेन्सन) अरू दर्जनौं ब्याप्टिस्ट धर्महरू विभाजित भएको थियो। (वर्ल्ड क्रिश्‍चियन इनसाइक्लोपीडिया, पृष्ठ ७१४) मतभेद वा चर्चको शासनप्रणालीले गर्दा थुप्रै नयाँ धर्महरू (उदाहरणका लागि, प्रेसबाइटेरियन, इपिसकोपलियन, कंग्रिगेशनल) उत्पन्‍न भएका छन्‌। तथापि, मसीहीजगतमा मात्र नभई मसीहीजगतबाहिर बौद्ध धर्म, इस्लाम वा हिन्दूलगायत अरू धर्महरूमा पनि फूट उत्पन्‍न भएको छ। प्रेरित पावलले प्रारम्भिक मसीहीहरूलाई के सल्लाह दिए? “अब ए भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँले म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूमा केही फूट नहोस्‌, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका होओ।”—१ कोरिन्थी १:१०; २ कोरिन्थी १३:११.

१३, १४. (क) ‘पवित्र हुनुको’ अर्थ के हो? (ख) साँचो उपासनालाई कसरी स्वच्छ राखिन्छ?

१३ परमेश्‍वरद्वारा अनुमोदित धर्मको नवौं आवश्‍यकता के हो? त्यसबारे लेवी ११:४५ ले बाइबलको सिद्धान्त यसरी प्रकट गर्छ: “तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।” यही आवश्‍यकतालाई दोहोऱ्‍याउँदै प्रेरित पत्रुसले यसरी लेखे: “तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ।”—१ पत्रुस १:१५.

१४ पवित्र हुनुपर्ने यो आवश्‍यकताबाट के बोध हुन्छ? त्यो हो, यहोवाका उपासकहरू आध्यात्मिक तथा नैतिक तवरमा स्वच्छ हुनुपर्छ। (२ पत्रुस ३:१४) अपश्‍चात्तापी, जानाजानी पाप गर्ने र ख्रीष्टले दिनुभएको छुटकाराको बलिदानलाई आफ्नो आचरणद्वारा अपमान गर्ने व्यक्‍तिलाई कुनै स्थान छैन। (हिब्रू ६:४-६) मसीही मण्डलीलाई स्वच्छ र पवित्र राख्नु यहोवाको माग हो। तर यो कसरी गर्न सकिन्छ? एउटा तरिका मण्डलीलाई कलंकित तुल्याउने व्यक्‍तिलाई न्यायिक प्रक्रियाद्वारा बहिष्कार गर्नु हो।—१ कोरिन्थी ५:९-१३.

१५, १६. थुप्रै मसीहीहरूले आफ्नो जीवनमा कस्ता परिवर्तनहरू गरेका छन्‌?

१५ मसीही सच्चाइ थाह पाउनुअघि थुप्रै मानिसहरू छाडा, अति विलासी, स्वार्थी जीवन बिताउँथे। तर ख्रीष्टबारे सुनेका कुराहरूले गर्दा तिनीहरू परिवर्तन भए अनि आफ्नो पापको क्षमा पाए। यही कुरालाई जोड दिंदै पावलले लेखे: “अधर्मीहरू परमेश्‍वरको राज्यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाह छैन? न ठगियौ। व्यभिचारीहरू, मूर्त्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैन। औ तिमीहरूमा कोही कोही यस्तै थिए, तर . . . तिमीहरू पखालिएका, . . . पवित्र भएका छौ।”—१ कोरिन्थी ६:९-११.

१६ स्पष्ट छ, अशास्त्रीय आचरणको पश्‍चात्ताप गर्ने अनि त्यसलाई त्यागेर ख्रीष्ट तथा उहाँका शिक्षाहरूको साँचो अनुयायी बन्‍ने मानिसहरूलाई यहोवाले अनुमोदन गर्नुहुन्छ। त्यसपछि तिनीहरू आफ्ना छिमेकीहरूलाई आफूलाई जस्तै प्रेम गर्छन्‌ अनि सुन्‍ने व्यक्‍तिलाई जीवन दिने समाचार पुऱ्‍याउने सेवकाईमा व्यस्त भएर वा त्यस्तै अन्य तरिकाहरूद्वारा आफ्नो प्रेम देखाउँछन्‌।—२ तिमोथी ४:५.

“सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ”

१७. साँचो उपासनाको दशौं आवश्‍यकता के हो? उदाहरणहरू दिनुहोस्‌।

१७ आत्मा र सत्यतामा यहोवाको उपासना गर्ने व्यक्‍तिले पूरा गर्नुपर्ने दशौं आवश्‍यकता पनि छ र त्यो हो शुद्ध शिक्षा। (यूहन्‍ना ४:२३, २४) येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्‍ना ८:३२) बाइबलको सच्चाइले अमर आत्मा, नरकको आगो र पापमोचन स्थानजस्ता परमेश्‍वरको अनादर गर्ने सिद्धान्तहरूबाट हामीलाई मुक्‍त गर्छ। (उपदेशक ९:५, ६, १०; इजकिएल १८:४, २०) “अति पवित्र त्रिएक” जस्ता मसीहीजगतका बेबिलोनी रहस्यमय सिद्धान्तबाट पनि त्यसले हामीलाई मुक्‍त गर्छ। (व्यवस्था ४:३५; ६:४; १ कोरिन्थी १५:२७, २८) बाइबल सच्चाइ पालन गर्ने मानिसहरू मायालु, अरूको ख्याल गर्ने, दयालु र कृपालु हुन्छन्‌। प्रतिशोधी असहिष्णु भाव राखी धर्मको नाउँमा अरूलाई सताउने टोमास दे टर्कमेडाजस्ता मानिसहरू वा धर्मयुद्धलाई प्रोत्साहन दिने अनि घृणित भावले प्रेरित भई युद्ध मच्चाउने पादरीजस्ता मानिसहरूलाई साँचो मसीही धर्मले कहिल्यै प्रोत्साहन दिएको छैन। यद्यपि, महान्‌ बेबिलोनले इतिहासभरि अथवा निम्रोदको समयदेखि अहिलेसम्म त्यस्तो फल फलाएको छ।—उत्पत्ति १०:८, ९.

विशिष्ट नाउँ

१८. (क) साँचो उपासनाका दश आवश्‍यकताहरू कसले पूरा गरिरहेका छन्‌ अनि कसरी? (ख) हामीसमक्ष राखिएको आशिष्‌ प्राप्त गर्न व्यक्‍तिगत रूपमा हामीले के गर्नुपर्छ?

१८ आज कसले माथि उल्लिखित दशैवटा आवश्‍यकताहरू साँच्चै पूरा गरेको छ? निष्ठावान्‌ अनि शान्तिप्रिय मानिसहरूको रूपमा को परिचित छन्‌? यहोवाका साक्षीहरू ‘यस संसारका होइनन्‌’ भनेर सारा संसारमा चिनिन्छन्‌। (यूहन्‍ना १५:१९; १७:१४, १६; १८:३६) यहोवाका जनहरूले उहाँको नाउँ धारण गर्ने अनि येशू ख्रीष्ट आफ्नो पिताको वफादार साक्षी हुनुभएजस्तै उहाँका साक्षीहरू हुने सम्मान पाएका छन्‌। हामी त्यो पवित्र नाउँ वहन गर्छौं र त्यसो गर्दा पूरा गर्नुपर्ने जिम्मेवारीप्रति सजग छौं। अनि उहाँका साक्षीहरूको हैसियतमा हाम्रो अगाडि कति गौरवमय प्रत्याशा छ! यसै पृथ्वीमा पुनर्स्थापित प्रमोदवनमा विश्‍वव्यापी सार्वभौमको उपासना गर्ने आज्ञाकारी अनि एकताबद्ध मानव परिवारबीच हामी पनि हुन पाउनेछौं। त्यस्तो आशिष्‌ पाउन आउनुहोस्‌, हामी सबै स्पष्ट रूपले साँचो धर्मको पक्ष लेऔं अनि गर्वसाथ यहोवाका साक्षीहरू भन्‍ने नाउँ वहन गरौं। “किनकि उहाँका इन्साफ सच्चा र धार्मिक हुन्छन्‌।”—प्रकाश १९:२; यशैया ४३:१०-१२; इजकिएल ३:११.

[फुटनोट]

a बाइबल अनुवादहरू परमेश्‍वरद्वारा प्रेरित हुँदैनन्‌। अतः बाइबल अनुवाद र बाइबल लेखिंदा चलाइएको मूल भाषाको अर्थ फरक हुनसक्छ। वास्तवमा अनुवादको प्रकृति नै त्यस्तै हुन्छ।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

◻ महान्‌ बेबिलोनको विनाशलाई यहोवाका सेवकहरूले कुन दृष्टिले हेर्छन्‌?

◻ साँचो उपासनाका मुख्य आवश्‍यकताहरू के के हुन्‌?

◻ सत्यले तपाईंलाई कसरी स्वतन्त्र तुल्याउँछ?

◻ यहोवाका साक्षीहरूको हैसियतमा हामीले कुन विशेष सम्मान पाएका छौं?

[पृष्ठ १७-मा भएको चित्र]

यहोवाका साक्षीहरूले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिरहेका छन्‌ र सिकाइरहेका छन्‌

[पृष्ठ १८-मा भएको चित्र]

सांसारिक राजनीति तथा युद्धहरूमा साँचो मसीहीहरू सधैं तटस्थ रहेका छन्‌

[स्रोत]

हवाइजहाज: Courtesy of the Ministry of Defense, London

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने