पाठकहरूका प्रश्नहरू
प्रेरित पावलले “पछाड़िका कुराहरूलाई बिर्सेर अगाड़िका कुराहरूतिर लम्केर म एउटा काम गर्दछु” भनेर के भन्न खोजेका हुन्? (फिलिप्पी ३:१३) के कुनै व्यक्तिले जानाजानी केही कुरा बिर्सनसक्छ?
सक्दैन, धेरैजसो परिस्थितिहरूमा हामी स्मरणबाट कति कुरालाई जानाजानी निकाल्न सक्दैनौं। अझ भनौं भने, सम्झन चाहेको धेरैजसो कुरा बिर्सन्छौं र चाँडै भुल्नुपर्ने थुप्रै कुराहरू सम्झन्छौं। त्यसोभए, फिलिप्पी ३:१३ मा पावलले के भन्न खोजेका हुन्? त्यस पदको प्रसंगले हामीलाई बुझ्ने मदत दिन्छ।
फिलिप्पी अध्याय ३ मा पावलले आफ्नो “शरीरमा दृढ़ विश्वास राख्ने विचार” गरेको वर्णन गर्छन्। आफ्नो यहूदी पृष्ठभूमि तथा व्यवस्थाप्रति आफूले देखाएको निष्खोट जोशबारे तिनी बताउँछन्। ती कुराहरूले तिनलाई इस्राएलको राष्ट्रमा धेरै लाभहरू प्रदान गर्नसक्थे। (फिलिप्पी ३:४-६; प्रेरित २२:३-५) तैपनि, तिनले त्यस्ता लाभहरूलाई त्यागे। प्रतीकात्मक तवरमा बोल्दै तिनले यी कुराहरूलाई त्यागेको स्वीकारे। किन? किनभने तिनले त्योभन्दा असल कुरा अर्थात् “ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठता” पाएका थिए।”—फिलिप्पी ३:७, ८.
पावलको मुख्य लक्ष्य यस संसारमा प्रतिष्ठा प्राप्त गर्नु थिएन तर “मरेकाहरूको पहिलो पुनरुत्थान प्राप्त गर्नु” थियो। (फिलिप्पी ३:११, १२, NW) त्यसैले तिनी लेख्छन्: “पछाड़िका कुराहरूलाई बिर्सेर अगाड़िका कुराहरूतिर लम्केर म एउटा काम गर्दछु, ख्रीष्ट येशूमा परमेश्वरको, माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाड़ि बढ़दछु।” (फिलिप्पी ३:१३, १४) पावलले “पछाड़िका कुराहरूलाई बिर्सेर” भन्नुको अर्थ तिनले आफ्नो स्मरणबाट “पछाड़िका कुराहरू” हटाए भन्ने होइन। अवश्यै तिनले ती कुराहरू सम्झेका थिए किनभने तिनले ती कुराहरू भर्खरै मात्र सूचीबद्ध गरेका थिए। यसबाहेक, मूल युनानीमा तिनी यस्तो क्रिया प्रयोग गर्छन्, जसले कार्य पूर्ण भएको होइन तर कार्य भइरहेको संकेत गर्छ। तिनी “बिर्सेर” होइन “बिर्सने” भन्छन्।
“बिर्सनु” अनुवाद गरिएको युनानी शब्द (इ-पि-लान-था नो-माइ) का थुप्रै अर्थ छन्। त्यसमध्ये एउटा हो, “चिन्तित नहुनु” वा “बेवास्ता गर्नु।” नयाँ नियमको व्याख्यात्मक शब्दकोश (हर्स्ट बाल्ज र जेरहार्ड स्कनाइडरद्वारा सम्पादित [अंग्रेजी]) पुस्तकअनुसार फिलिप्पी ३:१३ मा प्रयोग गरिएको “बिर्सेर”-को अर्थ यही हो। त्यागेका कुराहरूमा पावलले एकोहोरो सोचिरहेनन्। तिनले ती कुराहरूलाई महत्त्वपूर्ण ठान्नु हुँदैन भनेर सिकेका थिए। स्वर्गीय आशाको तुलनामा ती “रद्दी” थिए।—फिलिप्पी ३:८.
पावलका शब्दहरू आज कसरी लागू हुनसक्छन्? पावलले जस्तै एक मसीहीले परमेश्वरको सेवा गर्न त्यागहरू गरेका हुनसक्छन्। तिनले पूर्ण-समय सेवा गर्न लाभदायी पेशा छाडेका होलान्। वा तिनी कुलीन परिवारका होलान् र परिवारले सच्चाइ मन नपराएकोले तिनलाई आर्थिक सहयोगबाट वञ्चित गरेका होलान्। त्यस्ता त्यागहरू प्रशंसनीय छन् तर ती एकोहोरो सोचिरहने विषय होइनन्। एक मसीहीले गौरवमय भविष्यलाई ध्यानमा राखेर “पछाडिका कुराहरू[लाई]” ‘बिर्सन्छ,’ त्यसको चिन्ता गर्दैन।—लूका ९:६२.
पावलका शब्दहरूपछाडि लुकेको सिद्धान्तलाई अर्को ढंगमा पनि प्रयोग गर्न सकिन्छ। परमेश्वरबारे सिक्नुअघि खराब आचरणमा अन्तरग्रस्त भएका मसीहीबारे के भन्न सकिन्छ? (कलस्सी ३:५-७) वा मानौं, मसीही भएपछि तिनले गम्भीर पाप गरे अनि मण्डलीबाट तिनलाई अनुशासन दिइयो। (२ कोरिन्थी ७:८-१३; याकूब ५:१५-२०) हो, तिनले साँच्चै पश्चात्ताप गरेर आफ्ना तौरतरिकाहरू बदले भने तिनी “पखालिएका” हुन्छन्। (१ कोरिन्थी ६:९-११) जे भयो सो भइसक्यो। निस्सन्देह, आफूले गरेको कुरा तिनले कहिल्यै बिर्सन नसक्लान्। तर यस्तो अनुभवबाट शिक्षा लिएर अघिको पाप नदोहोऱ्याउनु बुद्धिमत्तापूर्ण कुरा हुनेछ। तरैपनि, तिनले आफूलाई एकोहोरो नझपार्ने अर्थमा ‘बिर्सन्छन्।’ (यशैया ६५:१७ तुलना गर्नुहोस्।) येशूको बलिदानको आधारमा क्षमा पाएर तिनले बितेका कुराहरूबारे चिन्तित नहुने प्रयास गर्छन्।
फिलिप्पी ३:१३, १४ मा पावल आफूलाई “अगाडिका कुराहरूतिर लम्केर” लक्ष्यमा पुग्ने धावकको रूपमा वर्णन गर्छन्। धावकले पछाडि होइन अगाडि हेर्छ। त्यस्तै प्रकारले मसीहीले त्यागेका कुराहरूलाई होइन तर अगाडि राखेका आशिष्हरूलाई हेर्नुपर्छ। पावल यसो पनि भन्छन्: “तिमीहरू केही कुरामा भिन्न विचारका छौ भने परमेश्वरले तिमीहरूलाई यो पनि प्रकट गरिदिनुहुनेछ।” (फिलिप्पी ३:१५) तसर्थ, त्यस्तो प्रकारको दृष्टिकोण खेती गर्न मदतको लागि परमेश्वरलाई प्रार्थना गर्नुहोस्। बाइबलमा भएका परमेश्वरका विचारहरूले आफ्नो हृदय भर्नुहोस्। (फिलिप्पी ४:६-९) तपाईंप्रति यहोवाको प्रेम तथा यसद्वारा प्राप्त हुने आशिष्हरूमाथि मनन गर्नुहोस्। (१ यूहन्ना ४:९, १०; १७-१९) तब, यहोवाले तपाईंलाई त्यागेका कुराहरूबारे चिन्तित नहुन पवित्र आत्माको माध्यमद्वारा मदत दिनुहुनेछ। अझ भन्ने हो भने, पावलले जस्तै तपाईंले गौरवमय निकट भविष्यलाई हेर्नुहुनेछ।—फिलिप्पी ३:१७.