प्रारम्भिक मसीही धर्म र सांसारिक राज्य
आफ्नो मृत्यु हुन केही घण्टाअघि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट छानें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।” (यूहन्ना १५:१९) त्यसोभए, के यसको अर्थ मसीहीहरूले यस संसारका अख्तियारवालाहरूप्रति वैरभाव राख्छन्?
सांसारिक पनि होइन वैरी पनि होइन
प्रेरित पावलले रोमका मसीहीहरूलाई भने: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्।” (रोमी १३:१) त्यस्तैगरि प्रेरित पत्रुसले लेखे: “प्रभुको खातिर मानिसका हरेक विधानको अधीनमा रहो, चाहे राजाको, जो सर्वोच्च हुन्। अथवा बड़ा-हाकीमहरूको, जो खराब काम गर्नेहरूलाई बदला लिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उनीबाट पठाइएका हुन्छन्।” (१ पत्रुस २:१३, १४) स्पष्टतया, राज्य र यसका नियुक्त प्रतिनिधिहरूप्रतिको अधीनतालाई प्रारम्भिक मसीहीहरूले स्वीकार्य सिद्धान्त मानेका थिए। तिनीहरू नियमपालक नागरिक बन्ने र सबै मानिसहरूसित मिलेर बस्ने चेष्टा गर्थे।—रोमी १२:१८.
“चर्च र सांसारिक राज्य” शीर्षकअन्तर्गत धर्मको विश्वकोश-ले (अंग्रेजी) बताउँछ: “सा.यु. प्रथम तीन शताब्दीभित्र मसीही चर्च आधिकारिक रोमी समाजबाट पूर्णतया अलग थिए . . . तैपनि, मसीही नेताहरूले . . . मसीही विश्वासको परिधिभित्र रहेर रोमी नियम पालन गर्न र सम्राटप्रति वफादार रहन सिकाए।”
उपासना होइन तर आदर गर
मसीहीहरूले रोमी सम्राटप्रति वैरभाव राखेनन्। तिनीहरूले तिनको अख्तियार र ओहदाप्रति जेजस्तो आदर गर्नुपर्थ्यो, सो गर्थे। सम्राट निरोको शासनकालमा रोमी साम्राज्यको विभिन्न भागमा बसोबास गर्ने मसीहीहरूलाई प्रेरित पत्रुसले यसरी लेखे: “सबै मानिसहरूलाई आदर गर। . . . राजाको आदर गर।” (१ पत्रुस २:१७) युनानीभाषी क्षेत्रमा स्थानीय राजाहरूलाई मात्र होइन तर रोमी सम्राटलाई पनि “राजा” भनिन्थ्यो। रोमी साम्राज्यको राजधानीमा बस्ने मसीहीहरूलाई प्रेरित पावलले यस्तो सल्लाह दिए: “तिर्नु पर्ने कुरा सबैलाई तिर, . . . आदर गर्नु पर्नेलाई आदर गर।” (रोमी १३:७) रोमी सम्राटले निश्चयै आदरको माग गरे। तर समय बित्दै जाँदा तिनले उपासनाको पनि माग गरे। यद्यपि, त्यति बेला मसीहीहरू मसीही सिद्धान्तको परिधिभित्र रहे।
सा.यु. दोस्रो शताब्दीमा आफ्नो पुर्पक्षको लागि खडा हुँदा रोमी बडाहाकिमसामु पोलिकार्पले यसरी घोषणा गरे: “म मसीही हुँ। . . . आदर दिनुपर्नेलाई आदर गर्न हामीले सिकेका छौं . . . परमेश्वरद्वारा नियुक्त शक्तिवाला र अख्तियारवालाहरूलाई हामी आदर गर्छौं।” तथापि, पोलिकार्पले सम्राटको उपासना गर्नुभन्दा मर्नु रोजे। विश्वासको पक्षमा बोल्ने दोस्रो शताब्दीको एन्टिओकका थियोफिलसले लेखे: “म सम्राटलाई उपासना होइन, आदर गर्छु। अनि म तिनको लागि प्रार्थना गर्छु। तर उपासना म जीवित र साँचो परमेश्वरको मात्र गर्छु।”
सम्राटको लागि प्रार्थना गर्नु भनेको तिनको उपासना गर्नु होइन न त यो राष्ट्रवादसित नै सम्बन्धित छ। प्रेरित पावलले त्यस्ता प्रार्थनाको उद्देश्यबारे यसरी बयान गरे: “यसकारण सबैभन्दा पहिले म अर्ती दिन्छु, कि अन्तरबिन्ती, प्रार्थना, विनम्र निवेदन, धन्यवादहरू सबै मानिसहरूका निम्ति, सब प्रकारका भक्ति र गम्भीरतामा हामीले शान्ति र चैनको जीवन बिताउन पाऔं भनेर राजाहरू र उच्च पदाधिकारीहरूका निम्ति पनि गरिऊन्।”—१ तिमोथी २:१, २.
“समाजको दोसाँधमा”
समाजको दोसाँधमा बस्ने आदरयोग्य गुन प्रारम्भिक मसीहीहरूमा भए तापनि त्यसले तिनीहरूलाई तत्कालीन संसारसित घनिष्ठ बनाएन। मसीहीहरू “समाजको दोसाँधमा बस्थे” भनेर फ्रेन्च इतिहासकार ए. अमान बताउँछन्। वास्तवमा, तिनीहरू यहूदी र रोमी समाजको दोसाँधमा थिए। तिनीहरूले दुवै समाजबाट हुने पूर्वाग्रह र गलत सोचाइको सामना गर्नुपर्थ्यो।
उदाहरणका लागि, यहूदी नेताहरूले झूटो अभियोग लगाउँदा आफ्नो पक्षमा रोमी राज्यपाललाई प्रेरित पावलले यसो भने: “मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा, मन्दिरको विरुद्धमा, औ सिजरको विरु- द्धमा केही अपराध गरेको छैनँ। . . . म सिजरकहाँ अपील गर्दछु।” (प्रेरित २५:८, ११) यहूदीहरूले आफूलाई मार्ने षड्यन्त्र रचेको थाह भएकोले पावलले यसरी रोमी सम्राटको अख्तियारलाई मान्यता दिंदै निरोलाई अपील गरे। फलतः रोममा प्रथम पटक पुर्पक्ष हुँदा पावल निर्दोष साबित भएको जस्तो देखिन्छ। तर पछि फेरि तिनलाई कैद गरियो र त्यति बेलाको चलनअनुसार निरोले तिनलाई मार्ने आज्ञा दिए।
रोमी समाजमा प्रारम्भिक मसीहीहरूको स्थिति कति अप्ठ्यारो थियो, त्यसबारे समाजशास्त्री तथा धर्मविद् अर्न्स्ट ट्रल्चले यसरी लेखे: “मसीहीहरूले मूर्तिपूजा, सम्राट उपासना, रक्तपात, हत्या, मृत्युदण्ड र मसीहीहरूलाई गैरमसीही मूर्तिपूजक कार्यमा होम्न खोज्ने जुनसुकै ओहदा तथा कार्यभारहरू त्यागेका थिए।” के यस अडानले मसीहीहरूलाई तिनीहरू अनि राज्यबीच शान्तिपूर्ण र पारस्परिक सम्मानित सम्बन्ध गाँस्न गाह्रो बनायो?
सिजरलाई “तिर्नुपर्ने” तिर्ने
येशूले रोमी राज्य वा अन्य जुनसुकै सरकारप्रति देखाउनुपर्ने मसीही आचरणको सिद्धान्त बताउनुभयो। उहाँले भन्नुभयो: “जे जे सिजरका हुन् सिजरलाई, र जे जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” (मत्ती २२:२१) येशूका चेलाहरूलाई दिइएको यो सल्लाह थुप्रै राष्ट्रवादी यहूदीहरूको मनोवृत्ति विपरीत थियो। किनभने ती यहूदीहरू रोमी शासन मन पराउँदैनन् थिए अनि विदेशी शक्तिलाई कर तिर्नुपर्ने नियमको विरोध गर्थे।
पछि, पावलले रोमका मसीहीहरूलाई भने: “यसकारण क्रोधको खातिर मात्र होइन, तर अन्तस्करणको निम्ति पनि तिमीहरूलाई अधीनमा रहनु उचित छ। किनभने यसैकारणले पनि तिमीहरू कर तिर्दछौ। किनकि तिनीहरू [सरकारी “उच्च अख्तियारवालाहरू”] यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्। तिर्नु पर्ने कुरा सबैलाई तिर—कर तिर्नु पर्नेलाई कर, महसूल तिर्नु पर्नेलाई महसूल डराउनु पर्नेसँग डराऊ, आदर गर्नु पर्नेलाई आदर गर।” (रोमी १३:५-७) मसीहीहरू संसारको भाग नभए तापनि तिनीहरूले इमानदार, कर तिर्ने नागरिक भएर सरकारी सेवा वापत तिर्नुपर्ने कुरा तिर्नुपर्थ्यो।—यूहन्ना १७:१६.
तर के येशूका शब्दहरू कर तिर्नुसम्म मात्र सीमित थिए त? सिजर र परमेश्वरलाई दिनुपर्ने के हो, त्यो येशूले स्पष्टसित बताउनुभएन। केही यस्ता परिस्थितिहरू पनि छन् जसलाई किटेर यस्तै हो भन्न सकिंदैन। तसर्थ, प्रसंग वा सम्पूर्ण बाइबललाई हामीले बुझेअनुसार ती कुराहरूको सीमा छुट्याउनुपर्छ। अर्को शब्दमा भन्ने हो भने, मसीहीले सिजरलाई तिर्नुपर्ने कुराहरू निर्धारण गर्न कहिलेकाहीं बाइबल सिद्धान्तहरूले प्रकाश पारेअनुरूप अन्तस्करणमा निर्भर गर्नुपर्छ।
दुइ प्रतिस्पर्धी मागहरूबीच सतर्क सन्तुलन
सिजरलाई तिनुपर्ने तिर भन्नुभएपछि येशूले थप जे भन्नुभयो, त्यसलाई मानिसहरू मनमा राख्न बिर्सने गर्छन्। उहाँले यसो भन्नुभएको थियो: “जे जे परमेश्वरका हुन् परमेश्वरलाई [तिर]।” मसीहीहरूले कसलाई प्राथमिकता दिनुपर्छ भनेर प्रेरित पत्रुसले बताए। “राजा” वा सम्राट तथा तिनका “बडा-हाकिम[को]” अधीनमा बस्नू भनेर सल्लाह दिइसकेपछि तुरुन्तै पत्रुसले यस्तो लेखे: “स्वतन्त्रजस्तै भएर हिंड़, तर दुष्टताको ओढ़नेले तिमीहरूका स्वतन्त्रतालाई ढाकेर होइन, तर परमेश्वरको दासहरूझैं भएर चल। सबै मानिसहरूलाई आदर गर। भाइ-बन्धुहरूलाई प्रेम गर। परमेश्वरसँग डराओ। राजाको आदर गर।” (१ पत्रुस २:१६, १७) मसीहीहरू मानव शासकका होइनन् तर परमेश्वरका दास हुन् भनेर प्रेरित पत्रुसले देखाए। तिनीहरू सांसारिक राज्यका प्रतिनिधिहरूको कदर तथा आदर गर्छन्, यद्यपि तिनीहरूले परमेश्वरको डर राखेर त्यसो गर्छन् किनभने परमेश्वरको नियम सर्वोच्च छ।
वर्षौंअघि पत्रुसले परमेश्वरको नियम मानिसको भन्दा उत्कृष्ट छ भनेर स्पष्ट पारेका थिए। यहूदी महासभा एउटा प्रशासकीय निकाय थियो। जसलाई रोमीहरूले निजामती तथा धार्मिक दुवै अख्तियार दिएका थिए। यहूदी महासभाले येशूका अनुयायीहरूलाई ख्रीष्टको नाउँमा शिक्षा नदिनू भनी आज्ञा दिंदा पत्रुस र अरू प्रेरितहरूले आदरपूर्वक तर दृढ जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।” (प्रेरित ५:२९) स्पष्टतया, प्रारम्भिक मसीहीहरूले परमेश्वरको आज्ञा पालन गर्दा र मानव अख्तियारवालाहरूको उचित अधीनता स्वीकार्दा सतर्कसाथ सन्तुलन कायम गर्नुपऱ्यो। सा.यु. तेस्रो शताब्दीअघि तरतुलियनले यस्तो प्रश्न राखे: “सबै कुरा सिजरको हो भने, परमेश्वरको लागि के रहनेछ त?”
सांसारिक राज्यसित सम्झौता
समय बित्दै जाँदा प्रथम शताब्दीका मसीहीहरूले सांसारिक राज्यबारे लिएको अडान बिस्तारै कमजोर हुँदै गयो। येशू र उहाँका प्रेरितहरूले भविष्यवाणी गरेको धर्मत्याग सा.यु. दोस्रो र तेस्रो शताब्दीमा फस्टायो। (मत्ती १३:३७, ३८; प्रेरित २०:२९, ३०; २ थिस्सलोनिकी २:३-१२; २ पत्रुस २:१-३) धर्मत्यागी मसीही धर्मले रोमी संसारसित सम्झौता गऱ्यो। त्यसको गैरमसीही उत्सव र दर्शनलाई अपनायो। अनि निजामती सेवा मात्र होइन तर सैनिक सेवा पनि स्वीकाऱ्यो।
प्राध्यापक ट्रल्चले लेखे: “तेस्रो शताब्दीदेखि परिस्थिति झन् कठिन भयो। किनभने थुप्रै मसीहीहरू उच्च ओहदामा पुगे। अनि ठूल-ठूला सैनिक र सरकारी पेशाहरूमा लागे। [गैरबाइबलीय] मसीही लेखोटहरूमा यी कुराहरू विरुद्ध निकै रुष्ट विरोधहरू जनाएको पाइन्छ। अर्कोतर्फ, सम्झौता गर्ने दुस्प्रयास अर्थात् राज्यसितको सम्झौता देखेर धरमराउने अन्तस्करणहरूलाई शान्त पार्न तर्कहरू गरिएको पनि भेटिन्छ। कन्सटेन्टाइनको समयदेखि यी कठिनाइहरू लुप्त भए। मसीही र गैरमसीहीहरूबीचको फाटो हट्यो। मसीही भनौंदाहरूको लागि राज्यमा सम्पूर्ण कार्यहरू खुल्ला भयो।”
सा.यु. चौथौं शताब्दीको अन्ततिर सम्झौता गर्ने यो भ्रष्ट मसीही धर्म रोमी साम्राज्यको राज्य धर्म बन्न पुग्यो।
मसीहीजगतको प्रतिनिधित्व गर्ने क्याथोलिक, अर्थोडक्स र प्रोटेस्टेन्ट चर्चहरूले सांसारिक राज्यसित सम्झौता गरेको विवरण इतिहासभरि पाइन्छ। मसीहीजगत राजनीतिमा मुछिएको छ र यसले लडाइँको समर्थन गरेको छ। प्रथम शताब्दीका मसीहीहरूले राष्ट्रसित जस्तो सम्बन्ध राख्थे त्यस्तै सम्बन्ध राख्ने मसीहीहरू आज पनि छन् भन्ने सुन्दा चर्चका दुस्कर्महरूदेखि आघात पुगेका निष्कपट थुप्रै सदस्यहरूलाई खुशी लाग्नेछ। यसबारे यसपछिका दुइ लेखहरूले अझ विस्तृत रूपमा छलफल गर्नेछन्।
[पृष्ठ ५-मा भएको चित्र]
सिजर निरो जसबारे पत्रुसले “राजाको आदर गर” भनेर लेखे
[स्रोत]
Musei Capitolini, Roma
[पृष्ठ ६-मा भएको चित्र]
पोलिकार्पले सम्राटको उपासना गर्नुभन्दा मर्नु रोजे
[पृष्ठ ७-मा भएको चित्र]
प्रारम्भिक मसीहीहरू शान्तिमय, इमानदार, कर तिर्ने नागरिकहरू थिए