साँचो सुरक्षा एक भ्रामक लक्ष्य
आरनोल्ड आफ्नो खेलौना बाघ असाध्यै मन पराउने बालक थियो। उसले खेल्दा, खाँदा, सुत्दा जहाँसुकै गए पनि त्यसलाई आफूसितै लग्थ्यो। त्यो बाघले उसलाई सान्त्वना र सुरक्षा प्रदान गर्थ्यो। तर एक दिन आपत् आइपऱ्यो। बाघ हरायो!
एकातिर आरनोल्ड रोइरहेको थियो भने अर्कोतिर उसका आमा, बुबा तथा तीन दाइहरू तिनीहरूको ठूलो घरभरि धुइँधुइँती बाघ खोज्न थाले। आखिरमा त्यो तिनीहरूमध्ये एकले एउटा दराजमा भेट्टायो। स्पष्टतः आरनोल्डले बाघलाई दराजमा राखेर त्यो ठाउँ भुसुक्कै बिर्सेको हुनुपर्छ। बाघ पाएपछि आरनोल्डले रुन बन्द गऱ्यो। उसले पुनः आनन्दित र सुरक्षित महसुस गऱ्यो।
दराजमा खेलौना बाघ भेटिएझैं सजिलैसित सबै समस्याहरू समाधान गर्नसके कति असल हुनेथियो! तथापि, अधिकांश मानिसहरूको निम्ति सुरक्षा भनेको निकै गम्भीर र जटिल कुरा हो। प्रायजसो हरेक ठाउँका मानिसहरूले आफैलाई यस्ता प्रश्न सोध्छन्, ‘के म अपराध वा हिंसाको शिकार हुनेछु? के मैले आफ्नो जागिर गुमाउनु पर्नेछ? के मेरो परिवारले प्रशस्त खानेकुरा पाउनेछ? मेरो धर्म वा जातीय पृष्ठभूमिले गर्दा के म अवहेलनाको पात्र हुनेछु?’
अत्यधिक मानिसहरू असुरक्षित महसुस गर्छन्। संयुक्त राष्ट्रअनुसार लगभग तीन अरब मानिसहरूले सामान्य रोगहरूका उपचार मात्र नभई अत्यावश्यक औषधीहरूसमेत पाएका छैनन्। एक अरबभन्दा धेरै मानिसहरू अचाक्ली गरिबीको चपेटामा परेका छन्। झन्डै एक अरब मानिसहरू काम गर्न योग्य भए तापनि तिनीहरूले उत्पादनशील रोजगार पाएका छैनन्। शरणार्थीहरूको संख्या पनि बढ्दो छ। सन् १९९४ को अन्तसम्म पृथ्वीका ११५ जना मानिसहरूमध्ये झन्डै १ जना आफ्नो घर छाडेर भाग्न बाध्य भए। वर्षेनी ५०० अरब अमेरिकी डलर बराबरको लागू औषध व्यापारले गर्दा असंख्य मात्रामा अपराधी तथा हिंस्रक कार्यहरू हुन्छन् र यसले करोडौं मानिसहरूको जीवन भताभुंग पारेको छ। युद्धले करोडौं मानिसहरूको जीवनलाई अस्तव्यस्त बनाएको छ। सन् १९९३ मा मात्रै ४२ देशहरूले ठूल-ठूला युद्धहरूमा भाग लिए भने अन्य ३७ देशहरूले राजनैतिक हिंसा भोग्नुपऱ्यो।
युद्ध, भोकमरी, अपराध तथा अन्य कुराहरूले मानव सुरक्षालाई खतरामा पार्छ र तिनीहरू एकअर्कासित सम्बन्धित हुनुका साथै ती खतराहरूको संख्या बढ्दो छ। यी समस्याहरूको समाधान दराजमा बाघ भेटिएझैं सजिलो छैन। भनौं भने, यी समस्याहरू मानवले पटक्कै समाधान गर्न सक्नेछैन।
परमेश्वरको वचन बाइबलले यस्तो चेताउनी दिन्छ: “राजाहरूमाथि तँ भरोसा नगर, मानिसमाथि पनि नगर, तिनीहरूबाट केही सहायता हुँदैन।” त्यसोभए हामीले कसमाथि भरोसा गर्नसक्छौं त? यही शास्त्रपदले यसो भन्छ: “याकूबका परमेश्वरलाई आफ्नो सहायक बनाउनेचाहिं सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा, हुन्छ। जसले स्वर्ग र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत् थोक।”—भजन १४६:३-६.
यस पृथ्वीमा सुरक्षा ल्याउन किन हामी यहोवामाथि भरोसा राख्नसक्छौं? के अहिले आनन्दमय, सुरक्षित जीवन बिताउनु सम्भव छ? परमेश्वरले मानव सुरक्षाका अवरोधहरू कसरी हटाउनुहुनेछ?