प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ५/१५ पृ. ४-७
  • साँचो सुरक्षा अहिले र सधैंभरि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो सुरक्षा अहिले र सधैंभरि
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरका सेवकहरूलाई सुरक्षा
  • परमेश्‍वरले आफ्ना जनहरूको निम्ति के गर्नुहुन्छ
  • सबैका लागि साँचो सुरक्षा?
  • अन्ततः—सधैंभरि साँचो सुरक्षा!
  • सुरक्षित चिरकालीन जीवन
    ब्यूँझनुहोस्‌!—१९९८
  • साँचो ईश्‍वरले के गर्नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उत्तम जीवन प्रतिज्ञा गरिएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • परमेश्‍वरको राज्यले के गर्नेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ५/१५ पृ. ४-७

साँचो सुरक्षा अहिले र सधैंभरि

यहोवा परमेश्‍वरले आफ्ना जनहरूलाई सुरक्षा प्रदान गर्न सक्नुहुन्छ भन्‍नेबारे कुनै सन्देह छैन। उहाँ “सर्वशक्‍तिमान” हुनुहुन्छ। (भजन ६८:१४) उहाँको अनुपम नाउँको अर्थ “उहाँले हुन दिनुहुन्छ” हो। अतः यस ब्रह्‍माण्डमा उहाँले मात्रै आफ्नो प्रतिज्ञा र इच्छा पूरा गर्न जस्तोसुकै अवरोधहरूलाई हटाउन सक्नुहुन्छ। परमेश्‍वर स्वयं यस्तो भन्‍नुहुन्छ: “त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.

परमेश्‍वरले उहाँमा भरोसा गर्नेहरूलाई सुरक्षा प्रदान गर्नुहुन्छ। उहाँको वचनले यसको ग्यारेन्टी दिन्छ। ईश्‍वरप्रेरित भएर बुद्धिमान राजा सुलेमानले यसप्रकार लेखे: “परमप्रभुको नाउँ एक बलियो धरहराजस्तै हो, त्यहाँ धर्मीहरू शरणको निम्ति कुदेर जान्छन्‌।” तिनले अझ यसो भने: “परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित रहन्छ।”—हितोपदेश १८:१०; २९:२५.

परमेश्‍वरका सेवकहरूलाई सुरक्षा

यहोवाले उहाँमा निर्भर गर्नेहरूलाई सधैं सुरक्षा प्रदान गर्नुभएको छ। उदाहरणका लागि, अगमवक्‍ता यर्मियाले परमेश्‍वरको सुरक्षाको आनन्द उठाए। बेबिलोनी सेनाहरूले धर्मत्यागी यरूशलेममा आक्रमण गर्दा मानिसहरूले “जोखी जोखीकन चिन्तित भई . . . रोटी” खानुपर्थ्यो। (इजकिएल ४:१६) परिस्थिति यति कठिन भयो, केही स्त्रीहरूले आफ्नै छोराछोरीहरू पकाएर खाए। (विलाप २:२०; ४:१०) निर्भयतासाथ प्रचार गरेकोले यर्मिया त्यतिखेर कैदमा परे तापनि यहोवाले “शहरका जम्मै रोटी नसकूञ्जेलसम्म बजारको पसलबाट दिनहुँ एउटा एउटा रोटी” तिनले पाओस्‌ भनेर सुनिश्‍चित गर्नुभयो।—यर्मिया ३७:२१.

बेबिलोनीहरूको हातमा यरूशलेम परेपछि तिनीहरूले नता यर्मियालाई मारे नता बेबिलोनमा कैदी बनाउन घिर्सादै लगे। बरु “[बेबिलोनी] प्रहरीहरूका कप्तानले तिनलाई खाने भत्ता र उपहार दिए, र तिनलाई छोड़िदिए।”—यर्मिया ४०:५.

शताब्दीऔंपछि येशू ख्रीष्टले परमेश्‍वरका सेवकहरूलाई यस्तो आश्‍वासन दिनुभयो: “यसकारण के खाउँला? कि के पिऔंला? कि के पहिरौंला?’ भनेर फिक्री नगर, किनकि अन्यजातिहरूले मात्र यी सब थोक खोज्दछन्‌। किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्‍नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:३१-३३.

के यसको अर्थ यहोवाका सेवकहरूले सबै वर्तमान विपत्तिहरूबाट ईश्‍वरीय सुरक्षाको आनन्द उठाउनेछन्‌ भनेको हो? कदापि होइन। विश्‍वासी जनहरू नोक्सानहरूबाट मुक्‍त छैनन्‌। साँचो मसीहीहरू पनि बिरामी पर्छन्‌, सतावट भोग्छन्‌, अपराधको शिकार हुन्छन्‌, दुर्घटनाहरूमा मर्छन्‌ र अन्य तरिकाहरूबाट कष्ट भोग्छन्‌।

यहोवाले अहिल्यै खतराहरूबाट पूर्णतया सुरक्षा प्रदान नगर्नु भए तापनि उहाँले आफ्ना सेवकहरूलाई सुरक्षा दिन शक्‍ति प्रयोग गर्नुभएका प्रमाणहरू रिपोर्टहरूमा भेट्टाउँछौं। आफ्नो जीवनमा बाइबल सिद्धान्तहरू लागू गरेकोले पनि मसीहीहरू धेरै समस्याहरूबाट बचेका छन्‌। (हितोपदेश २२:३) यसबाहेक, तिनीहरूले समस्या आइपर्दा एकअर्कालाई मदत गर्ने मायालु आध्यात्मिक भाइबहिनीहरूको विश्‍वव्यापी संगतिबाट प्राप्त सुरक्षाको आनन्द उठाउँछन्‌। (यूहन्‍ना १३:३४, ३५; रोमी ८:२८) उदाहरणका लागि, युद्धग्रस्त रूवाण्डाका भाइहरूको बिजोग देखेर युरोपका यहोवाका साक्षीहरूले तुरुन्तै चन्दा दिए र तिनीहरूलाई ६५ टन लत्ताकपडा तथा १६,००,००० अमेरिकी डलर मूल्य बराबरको औषधी, खाद्यान्‍न र अन्य सामग्रीहरू पठाए।—तुलना गर्नुहोस्‌ प्रेरित ११:२८, २९.

यहोवाले साँचो मसीहीहरूमाथि परीक्षाहरू आइपर्न अनुमति दिनु भए तापनि उहाँले धैर्य धारण गर्न बल, सहयोग र बुद्धि दिनुहुन्छ भनेर तिनीहरू विश्‍वस्त छन्‌। प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई यसप्रकार लेखे: “मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।”—१ कोरिन्थी १०:१३.

परमेश्‍वरले आफ्ना जनहरूको निम्ति के गर्नुहुन्छ

आज, परमेश्‍वरको इच्छा गर्न पाएकोमा लाखौं मानिसहरू हर्षित छन्‌। तिनीहरूलाई परमेश्‍वरको सेवा गर्न जबरजस्ती गरिएको छैन। उहाँलाई चिनेको र प्रेम गरेकोले उहाँको सेवा गर्छन्‌। फलतः यहोवाले आफ्ना वफादार सेवकहरूलाई प्रेम गर्नुभएकोले यस पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने उद्देश्‍य राख्नुभएको छ। त्यहाँ आज्ञाकारी मानवजातिले सधैंभरि शान्ति, सुस्वास्थ्य र सुरक्षाको आनन्द उठाउनेछन्‌।—लूका २३:४३.

परमेश्‍वरले यो उहाँको नियुक्‍त राजा येशू ख्रीष्टको स्वर्गीय सरकार मार्फत गर्नुहुनेछ। (दानियल ७:१३, १४) बाइबलमा यो सरकारलाई “परमेश्‍वरको राज्य” र “स्वर्गको राज्य” भनी उल्लेख गरिएको छ। (१ कोरिन्थी १५:५० NW; मत्ती १३:४४) परमेश्‍वरको राज्यले सबै मानव सरकारहरूलाई प्रतिस्थापन गर्नेछ। पृथ्वीमा धेरै सरकारहरू हुनुको साटो एउटा मात्रै सरकार हुनेछ। यसले सारा पृथ्वीमाथि धार्मिकतामा शासन गर्नेछ।—भजन ७२:७, ८; दानियल २:४४.

यहोवाले उहाँको राज्यको अधीनमा बस्न सबैलाई आमन्त्रित गर्नुहुन्छ। उहाँले यसो गर्नुहुने एउटा तरिका, व्यापक रूपमा बाइबलको वितरण गरेर हो। परमेश्‍वरको राज्यले मानवजातिका लागि के गर्नेछ यस पुस्तकले वर्णन गर्छ। बाइबल, विश्‍वको सबैभन्दा व्यापक वितरित पुस्तक हो र अहिले बाइबलको आंशिक वा पूरा खण्ड २,००० भन्दा बढी भाषाहरूमा उपलब्ध छ।

बाइबलले परमेश्‍वरको राज्यबारे के सिकाउँछ भनेर बुझ्न यहोवा परमेश्‍वरले मानिसहरूलाई मायालु ढंगमा मदत गर्नुहुन्छ। उहाँले धर्मशास्त्रबारे अरूलाई बुझाउन निर्देशन दिनुका साथै मानिसहरू पठाउनुहुन्छ। आज यहोवाका पचास लाखभन्दा बढी साक्षीहरूले २३० भन्दा बढी मुलुकहरूमा परमेश्‍वरको राज्यबारे सुसमाचार उद्‌घोषणा गरिरहेका छन्‌।

सबैका लागि साँचो सुरक्षा?

के सबैले परमेश्‍वरका धार्मिक स्तरहरूअनुरूप चलेर उहाँको राज्यको प्रजा हुने निमन्त्रणालाई स्वीकार्नेछन्‌ त? अहँ, स्वीकार्नेछैनन्‌ किनभने धेरै मानिसहरूलाई परमेश्‍वरको इच्छाअनुरूप गर्ने कुनै चासो छैन। जीवन सपार्न दिइएका मदतहरूलाई तिनीहरू अस्वीकार गर्छन्‌। निस्सन्देह, तिनीहरू येशूले भन्‍नुभएका व्यक्‍तिहरूजस्तै हुन्‌, जसबारे उहाँले यसो भन्‍नुभयो: “यी मानिसहरूको मन भद्दा भएको छ, औ तिनीहरूका कान सुन्‍नामा ढीला भएका छन्‌, र तिनीहरूले आफ्ना आँखा चिम्लेका छन्‌, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्‍नेथिए, हृदयले बुझ्नेथिए, मतर्फ फर्कनेथिए। र [परमेश्‍वरले] तिनीहरूलाई निको [पार्नु हुनेथियो]।”—मत्ती १३:१५.

परमेश्‍वरका धार्मिक तौर-तरिकाहरूअनुरूप चल्न अस्वीकार गर्नेहरूबीच साँचो सुरक्षा पृथ्वीमा कहिल्यै सम्भव होला र? हुनैसक्दैन। भक्‍तिहीन मानिसहरूले यहोवाको सेवा गर्न चाहने मानिसहरूको सुरक्षालाई खतरामा पार्छ।

मानिसहरूलाई परिवर्तन गर्न परमेश्‍वर जबरजस्ती गर्नुहुन्‍न नता उहाँ अनिश्‍चित कालसम्म दुष्टतालाई सहेर बस्नुहुनेछ। आफ्नो तौर-तरिका र उद्देश्‍यहरू सिकाउन यहोवाले धैर्यपूर्वक आफ्ना साक्षीहरूलाई मानिसहरूकहाँ पठाउनु भए तापनि उहाँले अब लामो समयसम्म यस्तै गरिरहनु हुनेछैन। येशू ख्रीष्टले यसप्रकार भविष्यवाणी गर्नुभएको थियो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.

परमेश्‍वरका स्तरहरू अस्वीकार गर्नेहरूका लागि “अन्त[को]” अर्थ के हुनेछ? यसको अर्थ, तिनीहरूको प्रतिकूल न्याय र विनाश हुनेछ। “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला दिंदा, यिनीहरूले . . . अनन्त विनाशको सजाय भोग्नेछन्‌” भनेर बाइबलले बताउँछ।—२ थिस्सलोनिकी १:६-९.

अन्ततः—सधैंभरि साँचो सुरक्षा!

यहोवाको शान्तिमय मार्ग अस्वीकार गर्नेहरूको विनाशपश्‍चात्‌ परमेश्‍वरको राज्य पृथ्वीका धर्मी जनहरूको लाभको निम्ति सुरक्षाको गरिमामय युगमा प्रवेश गर्नेछ। (भजन ३७:१०, ११) अहिले हामी बाँचिरहेको संसारभन्दा त्यो नयाँ संसार कति भिन्‍न हुनेछ!—२ पत्रुस ३:१३.

अनिकाल र भोकमरी कहिल्यै हुनेछैन। सबैले प्रशस्त भोजन पाउनेछन्‌। बाइबलले “सारा मानिसहरूका निम्ति मीठा मीठा थोकहरू” हुनेछन्‌ भनी बताउँछ। (यशैया २५:६) खानेकुराको अभाव हुनेछैन किनभने “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।”—भजन ७२:१६.

मानिसहरू छाप्रो तथा झुपडीहरूमा बसोबास गर्नेछैनन्‌। परमेश्‍वरको राज्यमा सबैका राम्रा राम्रा घरहरू हुनेछन्‌ र सबैले आ-आफ्नो खेतमा उब्जाएका अन्‍नहरू खानेछन्‌। बाइबलले यस्तो प्रतिज्ञा गर्छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌।”—यशैया ६५:२१.

व्यापक बेरोजगारीको साटो तिनीहरूले फलदायी कार्यहरू गर्नेछन्‌ र मानिसहरूले त्यसको असल नतिजाहरू देख्नेछन्‌। परमेश्‍वरको वचनले यसो भन्छ: “छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌।”—यशैया ६५:२२, २३.

परमेश्‍वरको राज्य शासनअन्तर्गत मानिसहरू रोगहरूले गर्दा पीडित हुने र मर्नेछैनन्‌। परमेश्‍वरको वचनले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें’”—यशैया ३३:२४.

पार्थिव प्रमोदवन चाँडै वास्तविकता हुनेछ। कष्ट र पीडा, शोक र मृत्यु सबै बितिसकेका कुराहरू हुनेछन्‌। हो, मृत्यु पनि! मानिसहरू प्रमोदवनमा सधैंभरि बाँच्नेछन्‌! परमेश्‍वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌” भनेर बाइबलले बताउँछ।—प्रकाश २१:४.

अन्ततः, “शान्तिका राजकुमार” येशू ख्रीष्टको शासनअन्तर्गत हाम्रो जीवन साँच्चै सुरक्षित हुनेछ। निस्सन्देह, एउटै धार्मिक, मायालु सरकार अर्थात्‌ परमेश्‍वरको राज्यअन्तर्गत विश्‍वव्यापी सुरक्षा हुनेछ।—यशैया ९:६, ७; प्रकाश ७:९, १७.

[पृष्ठ ४-मा भएको चित्र]

“मानव सुरक्षाले भविष्यमा भरोसा अर्थात्‌ . . . राजनैतिक र आर्थिक स्थायित्वमा [भरोसा] दिलाउँछ।” —एसियाकी एउटी स्त्री

[पृष्ठ ५-मा भएको चित्र]

“सबैभन्दा असुरक्षित महसुस हुनुको कारण त हिंसा र अपराध हो।” —दक्षिण अमेरिकामा बस्ने एक पुरुष

[पृष्ठ ६-मा भएको चित्र]

“अतिक्रमणको दौडान . . . मैले सुरक्षित महसुस गरिनँ। देश नै युद्धरत अवस्थामा हुँदा मानिसहरूले कसरी सुरक्षित महसुस गर्ने?” —मध्य पूर्वमा प्राथमिक स्कूलको छात्रा

[पृष्ठ ७-मा भएको चित्र]

“जब बलात्कृत नभई राती बाटोमा हिंड्‌न सक्नेछु तब म सुरक्षित महसुस गर्नेछु।” —अफ्रिकाको स्कूलमा अध्ययनरत छात्रा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने