तिनीहरूले यहोवाको इच्छा गरे
साहसपूर्वक बोल्ने ठिटी
इस्राएल र अरामीहरूबीचको सम्बन्ध सा.यु.पू. दशौं शताब्दीतिर तनाउग्रस्त थियो। त्यहाँ आकस्मिक युद्धहरू हुनु अति साधारण कुरा थियो। अतः तीन वर्षसम्म कुनै हिंस्रक घटना नहुँदा ऐतिहासिक कीर्ति कायम भयो।—१ राजा २२:१.
त्यति बेला विशेषगरि सयौं सेनाहरू भएको लुटाहा अरामी दलहरू खतरनाक थिए। यी योद्धाहरूले इस्राएलीहरूलाई हमला गरेर लुट्थे र केटाकेटीहरूलाई समेत अपहरण गरेर दास बनाउँथे।
यस्तै हमलाहरूमध्ये एउटामा “एउटी ठीटी” आफ्नो ईश्वरभीरु परिवारबाट निर्दयतासाथ खोसिएकी थिइन्। (२ राजा ५:२) अराममा लगिंदा तिनी सूर्य, चन्द्र, तारा, रूख, बिरुवा र ढुंगाहरूसमेत पूज्ने अपरिचित व्यक्तिहरूबीच बस्न बाध्य भएकी थिइन्। र तिनले डरका साथै अनौठो पनि महसुस गरिन् होली। एक मात्र साँचो परमेश्वर यहोवाको उपासना गर्ने तिनको परिवार र साथीहरूभन्दा तिनीहरू कति भिन्न थिए! तथापि, यस्तो अनौठो वातावरणमा पनि यस ठिटीले यहोवाको उपासना गर्ने सम्बन्धमा असाधारण साहस प्रदर्शन गरिन्। फलस्वरूप, तिनले अरामी राजाको एक उच्च पदाधिकारीको जीवन परिवर्तन गरिन्। आउनुहोस्, हामी हेरौं।
निर्भयसाथ बोल्ने साहस
बाइबलीय विवरणमा त्यस ठिटीको नाउँ दिइएको छैन। तिनी राजा बेनहदद द्वितीयका साहसी सेनापति नामानकी पत्नीको दासी भइन्। (२ राजा ५:१) नामान असाध्यै सम्मानित भए तापनि तिनलाई घीनलाग्दो कुष्ठ रोग लागेको थियो।
सम्भवतः त्यस ठिटीको विनीत स्वभावले गर्दा नामानकी पत्नी तिनलाई गुप्त कुरा बताउन उत्प्रेरित भइन्। स्त्रीले त्यस ठिटीलाई सोधिन् होली ‘इस्राएलमा कुष्ठ रोगीहरूलाई के गर्छ?’ यस इस्राएली दासी निर्भयसाथ यसो भन्न शर्माइनन्: “यदि मेरा मालिकले सामरियामा बस्नुहुने अगमवक्तालाई भेट गरे तिनको रोग उहाँले निको पारिदिनुहुने थियो।”—२ राजा ५:३.
यस ठिटीको शब्दहरूलाई बचकना मनगढन्ते कुरा ठानेर बेवास्ता गरिएन। यसको विपरीत, यो कुरा राजा बेनहददलाई रिपोर्ट गरियो र राजाले अगमवक्ताको खोजीमा नामान र अरूलाई १५० किलोमिटर टाढा सामरियामा पठाए।—२ राजा ५:४, ५.
नामानको निवारण
नामान अनि तिनका मानिसहरूले इस्राएलका राजा योरामकहाँ बेनहददको चिठी र धेरै रकम उपहारस्वरूप लगे। परमेश्वरको अगमवक्तामा त्यस दासी ठिटीले विश्वास गरेजस्तै बाछो उपासक राजा योरामले विश्वास प्रदर्शन नगर्नु कुनै छक्कलाग्दो कुरा थिएन। तिनले नामान झगडा गर्ने निहुँ लिएर आएको हो भन्ने सोचे। परमेश्वरको अगमवक्ता एलीशाले योरामको आशंकाबारे सुन्ने बित्तिकै नामानलाई तिनको घरमा पठाउन आग्रह गर्दै राजालाई समाचार पठाए।—२ राजा ५:६-८.
एलीशाको घरमा नामान आइपुग्दा अगमवक्ताले सन्देशवाहक मार्फत नामानलाई यसो भने: “गएर यर्दन नदीमा सातपल्ट डुबुल्की मार, र तिम्रो शरीर ज्यूँका त्यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।” (२ राजा ५:९, १०) नामान रीसले चूर भए। अद्भुत र आडम्बरपूर्ण ढंगमा निको हुने आशा गर्दै तिनले सोधे: “के दमीशकका अबाना र फारपर नदीका पानी इस्राएलका सबै पानीभन्दा असल छैनन् र? के म तिनमा स्नान गरेर शुद्ध हुन सक्तिनँ र?” नामान रीसले चूर हुँदै एलीशाको घरबाट फर्के। तर नामानको नोकरले तिनीसित तर्क गरेपछि तिनले बल्लतल्ल माने। यर्दन नदीमा सात पल्ट डुबुल्की लिएपछि “तिनको शरीरको छाला सानो बालकको जस्तै भयो, र तिनी शुद्ध भए।”—२ राजा ५:११-१४.
एलीशाकहाँ फर्केर नामानले यसो भने: “अब मलाई थाह भयो कि इस्राएलमा बाहेक पृथ्वीको अरू कुनै ठाउँमा ईश्वर रहेनछन्।” नामानले यसरी शपथ खाए: “अब कहिल्यै म होमबलि र बलिदान परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई चढ़ाउनेछैनँ।”—२ राजा ५:१५-१७.
हाम्रोलागि पाठहरू
त्यस दासी ठिटीले साहसपूर्वक नबोलेकी भए नामान अगमवक्ता एलीशाकहाँ जाने थिएनन्। आज, धेरै जवानहरूले त्यस्तै गरिरहेका छन्। परमेश्वरको सेवा गर्ने कुनै इच्छा नभएका विद्यार्थीहरू पाठशालामा हुनसक्छन्। तापनि तिनीहरू निर्भयसाथ आफ्नो विश्वासबारे बोल्छन्। केहीले त अत्यन्तै कलिलो उमेरमा त्यसो गर्न थाल्छन्।
उदाहरणका लागि, अस्ट्रेलियाकी पाँच वर्षिया अलिगजान्ड्रालाई लिनुहोस्। तिनी पाठशाला जान थालेपछि तिनकी आमाले यहोवाका साक्षीहरूको विश्वासबारे बताउन शिक्षकसित भेट्ने समय मिलाइन्। तर त्यहाँ पुग्दा अलिगजान्ड्राकी आमा छक्क परिन्। शिक्षकले यसो भने: “तपाईंको कतिपय विश्वासबारे मैले थाह पाइसकें र अलिगजान्ड्राले पाठशालामा के गर्नेछिन् र गर्नेछैनन्, त्यो पनि मैले बुझिसकें।” त्यस पाठशालामा अन्य साक्षी बच्चाहरू नभएकोले अलिगजान्ड्राकी आमा तीन छक परिन्। शिक्षकले बताए: “अलिगजान्ड्राले आफ्नो विश्वासबारे हामीलाई बताइसकिन्।” हो, यो सानी ठिटीले आफ्नो शिक्षकसित निपुणतासाथ कुरा गरिसकेकी थिइन्।
यस्ता युवाहरू साहसपूर्वक बोल्छन्। अतः तिनीहरू भजन १४८:१२, १३ का शब्दहरूअनुरूप चल्छन्: “जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटा-केटीहरू। तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्रै उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ।”