जब पूर्वाग्रह हुनेछैन!
एक पटक वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले यो दुःखदायी संसारबाट पूर्वाग्रह हटाउनु परमाणुलाई विभाजन गर्नुभन्दा कठिन छ भनेका थिए भनेर एउटा प्रतिवेदनले बतायो। त्यस्तै प्रकार, दोस्रो विश्वयुद्धको दौडान ख्यातिप्राप्त पत्रकार र पछि सं.रा. जानकारी निकायका निर्देशक भएका एडवार्ड आर. मुराउले “कसैले पनि पूर्वाग्रहलाई स्वीकार्नुबाहेक हटाउन सक्दैन” भने।
के यी भनाइहरू सत्य देखिन्छन्? के भेदभाव र जातिवाद हटाउनु असम्भव छ? परमेश्वरले पूर्वाग्रहबारे कस्तो विचार राख्नुहुन्छ?
परमेश्वर पक्षपाती हुनुहुन्न
बाइबलले पक्षपातको विरोध गर्छ। (हितोपदेश २४:२३; २८:२१) “जुन ज्ञान माथिबाट आउँछ, पहिले ता त्यो पवित्र, त्यसपछि मिलापी, कोमल, मृदुभाव, दया र बढ़िया फलले भरिएको, औ पक्षपातरहित र कपटरहित हुन्छ” भनेर त्यसले बताउँछ। (याकूब ३:१७) पुरातन इस्रा
एलका न्यायकर्ताहरूलाई यस्तो ज्ञान लिन जोड दिइएको थियो। तिनीहरूलाई “तिमीहरूले ठीक ठीक न्याय गर ठूलो होस् वा सानो होस्, मान्छे हेरेर होइन, तर सबै मान्छेको उचित न्याय गर” भनेर निर्देशन दिइएको थियो।—लेवी १९:१५.
पक्षपात र पूर्वाग्रह विरुद्ध बाइबलको दृढ अडानलाई येशू ख्रीष्ट र उहाँका प्रेरितहरू पत्रुस र पावलले जोड दिए। येशूले “गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका[हरूसित]” निष्पक्ष व्यवहार गर्नुभयो। (मत्ती ९:३६) उहाँले यसरी सिकाउनुभयो: “मुख हेरेर इन्साफ नगर, तर ठीक ठीक इन्साफ गर।”—यूहन्ना ७:२४.
यहोवा परमेश्वर पक्षपाती हुनुहुन्न भनेर पत्रुस र पावल हामीलाई आश्वासन दिन्छन्। पत्रुसले भने: “साँच्चिनै म देख्तछु, कि परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) प्रेरित पावल हामीलाई भन्छन्: “परमेश्वरमा पक्षपात छैन।”—रोमी २:११.
बाइबलको प्रभाव
बाइबलको निर्देशनअनुसार चल्नेहरूको व्यक्तित्व परिवर्तन गर्ने शक्ति बाइबलमा छ। हिब्रू ४:१२ ले भन्छ: “परमेश्वरको वचन जीवित र प्रबल” छ। पूर्वाग्रहको शिकार भएको व्यक्तिले समेत यहोवाको मदतद्वारा आफ्नो सोच्ने तरिका बदल्नसक्छ र अरूसित निष्पक्ष व्यवहार गर्नसक्छ।
उदाहरणका लागि, टार्ससको शावलको घटनालाई लिनुहोस्। बाइबलको विवरणअनुसार, एक समय तिनले कठोर धार्मिक परम्पराहरू पालन गर्थे र त्यसैको प्रभावमा परेर हिंसात्मक ढंगमा मसीही मण्डलीको विरोध गर्थे। (प्रेरित ८:१-३) यहूदी परम्पराले सिकाएअनुसार सबै मसीहीहरू धर्मत्यागी र साँचो उपासनाका शत्रु हुन् भनेर तिनी पूर्ण विश्वस्त थिए। तिनले पूर्वाग्रहको कारण मसीहीहरूको हत्या गर्न सहयोग गरे। तिनी “प्रभुका चेलाहरूका विरुद्धमा धम्की र हत्याको धुनमा सास फुलाउँदै” थिए भनेर बाइबलले भन्छ। (प्रेरित ९:१) त्यसो गरेर तिनले परमेश्वरलाई पवित्र सेवा चढाइरहेको छु भन्ठाने।—तुलना गर्नुहोस् यूहन्ना १६:२.
यद्यपि, टार्ससका शावलले आफ्नो तीव्र पूर्वाग्रहलाई उखेल्न सके। तिनी मसीहीसमेत बने! पछि, पावल नाउँ धारण गरेर येशू ख्रीष्टको प्रेरितको हैसियतमा तिनले यस्तो लेखे: “म अघाड़ि निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने थिएँ, तापनि मैले यो अजान र अविश्वासमा गरेको हुनाले म कृपा-पात्र भएँ।”—१ तिमोथी १:१३.
आफ्नो सोचाइमा यस्तो ठूलो परिवर्तन गर्ने पावल मात्र होइनन्। पावलले आफ्नो सँगी सुसमाचारक तितसलाई लेखेको पत्रमा “कसैको बदनाम नगर्नू, कल्याहा नहुनू, सबै मानिसलाई नम्र चाल देखाएर विनयी हुनू भनी सम्झाइदेऊ। किनभने हामी पनि पहिले मूर्ख, अट्टेरी, ठगिएका, किसिम किसिमका अभिलाषा र सुख-विलासमा फँसेका, वैरभाव र डाहमा दिन बिताउने, घृणित, एउटाले अर्कोलाई घृणा गर्ने थियौं” भनेर मसीहीहरूलाई चेताउनी दिए।—तितस ३:२, ३.
पूर्वाग्रहका अवरोधहरू हटाउने
आज, साँचो मसीहीहरू उपरोक्त सल्लाह पालन गर्ने प्रयत्न गर्छन्। तिनीहरू सतही विचारधाराको आधारमा मानिसहरूको न्याय गर्न चाहँदैनन्। यो प्रवृत्तिले तिनीहरूलाई अरूको ‘बदनाम गर्न’ रोक्छ। तिनीहरू अन्तरराष्ट्रिय भ्रातृत्वको आनन्द उठाउँछन् र त्यसलाई यस संसारका कुनै राष्ट्रिय, जनजातीय तथा जातीय सीमाले छेक्दैन।
एन्रेक नाउँ गरेका एक अश्वेत ब्राजिल निवासीको अनुभवलाई विचार गरौं। तिनी जातीय भेदभावको शिकार भएकोले श्वेत मानिसलाई असाध्यै घृणा गर्थे। तिनी बताउँछन्: “दुइ श्वेत साक्षीहरू परमेश्वरको नाउँबारे कुरा गर्न मेरो घरमा आए। श्वेत मानिसहरूमाथि मलाई भरोसा नभएकोले पहिले त तिनीहरूको कुरा सुन्न पटक्कै मन लागेन। तर तिनीहरूको सन्देश साँचो हो भनेर मैले चाँडै थाह पाउन सकें। बाइबल अध्ययन स्वीकारें। मेरो प्रथम प्रश्न थियो, ‘के तपाईंहरूको चर्चमा थुप्रै अश्वेत मानिसहरू छन्?’ तिनीहरूले ‘छन्’ भनेर जवाफ दिए। त्यसपछि तिनीहरूले मलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक-कोa अन्तिम चित्र देखाए, जहाँ भिन्नाभिन्नै जातिका बच्चाहरू देखाइएका छन्। त्यस चित्रमा एक अश्वेत केटो देख्दा म प्रोत्साहित भएँ। पछि, म यहोवाका साक्षीहरूको राज्यभवनमा गएँ। त्यहाँ विभिन्न जातिका मानिसहरूले एकाअर्कालाई आदरपूर्वक व्यवहार गरेको देखें। मेरोनिम्ति यो महत्त्वपूर्ण कुरा थियो।”
आज, यहोवाका साक्षीहरूको हैसियतमा एन्रेक साँचो मसीही भ्रातृत्व पाएर आनन्दित छन्। यसको श्रेय कुनै मानवलाई जाँदैन भनेर तिनलाई थाह छ। तिनी भन्छन्: “मेरोलागि गर्नुभएको सबै कुराका लागि यहोवा र येशूप्रति आज म कृतज्ञ छु। एउटै उद्देश्यको लागि एकताबद्ध सबै जाति, वर्ण र पृष्ठभूमि भएका यहोवाका लाखौं वफादार सेवकहरूसित म काम गर्छु।”
हुर्कंदै जाँदा पूर्वाग्रहको शिकार हुनेहरूमध्ये डाऱ्यो पनि एक थिए। सोह्र वर्ष पुग्दा तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। तिनले भने: “यहोवाका साक्षीहरूबीच जातीय श्रेष्ठताको भावना नभएको मैले पाएँ।” साँचो प्रेमको वातावरणले तिनलाई प्रभावित पारेको थियो। विशेषगरि विभिन्न जातिका व्यक्तिविशेषले मण्डलीमा कार्यभारहरू सँभालेको तिनले याद गरे। मण्डलीबाहिरका मानिसबाट आफू कुनै प्रकारले पूर्वाग्रह वा भेदभावको शिकार हुँदा यहोवाले सबै राष्ट्र, जाति तथा भाषाका मानिसहरूलाई प्रेम गर्नुहुन्छ भनेर डाऱ्यो सम्झन्छन्।
कसरी सामना गर्ने
हामी सबै मान र आदर चाहन्छौं। त्यसैकारण अरूको पूर्वाग्रह असह्य परीक्षा हो। मसीही मण्डलीले यस दुष्ट संसारको पूर्वाग्रहपूर्ण सबै प्रवृत्तिहरूबाट हामीलाई सुरक्षित राख्दैन। शैतानले यस संसारको क्रियाकलापहरू नियन्त्रण गरूञ्जेल अन्याय भई नै रहनेछ। (१ यूहन्ना ५:१९) प्रकाश १२:१२ ले हामीलाई यसरी सचेत गराउँछ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” त्यसको अभिप्राय दुःख दिनु मात्र होइन। त्यसलाई शिकारी जनावरसित तुलना गरिएको छ। प्रेरित पत्रुस हामीलाई भन्छन्: “तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ।”—१ पत्रुस ५:८.
बाइबलले हामीलाई यसो पनि भन्छ: “यसकारण परमेश्वरको अधीनमा बस, शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।” (याकूब ४:७) पूर्वाग्रहको सामना गर्ने उत्कृष्ट मदत राजा दाऊदले झैं परमेश्वरको बाटो हेर्नु हो: “हे मेरा परमेश्वर, मलाई दुष्टको हातबाट, र अधर्मी र निर्दय मानिसको हातबाट छुटाउनुहोस्।” (भजन ७१:४) हामी पनि भजनरचयिताले झैं प्रार्थना गर्नसक्छौं: “हे परमेश्वर, ममाथि अनुग्रह गर्नुहोस्, किनकि मानिसले मलाई निल्नखोज्छ, दिनभरि लड़ाइँ गरेर मलाई त्यसले अत्याचार गर्दछ।”—भजन ५६:१.
यहोवाले त्यस्ता प्रार्थनाहरूको कसरी जवाफ दिनुहुनेछ? बाइबलले जवाफ दिन्छ: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ।” (भजन ७२:१२, १३) यहोवाले अन्यायको शिकार भएकाहरूलाई उचित समयमा न्याय दिनुहुनेछ भनेर जान्न पाउनु कति असल कुरा हो!
‘तिनीहरूले केही हानि गर्नेछैनन्’
यस संसारका सरकारहरूले तिनीहरूको कानुन र योजनाहरूद्वारा पूर्वाग्रहसित संघर्ष गरी नै रहलान्। तिनीहरूले समानता र निष्पक्षताको प्रतिज्ञा गरिरहलान्। तर तिनीहरू सफल हुन सक्दैनन्। (भजन १४६:३) परमेश्वरले मात्र पूर्वाग्रहपूर्ण व्यवहारलाई हटाउन सक्नुहुन्छ र हटाउनुहुनेछ। उहाँले मानिसजातिलाई एउटै पारिवारिक सूत्रमा बाँध्नुहुनेछ। “कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” यस दुष्ट रीतिरिवाजको अन्तबाट बच्नेछ र शान्तिसित बस्नेछ।—प्रकाश ७:९, १०.
जातीय र सामाजिक पूर्वाग्रहद्वारा उत्पन्न सबै हानिलाई यहोवाले हटाउनुहुनेछ। कल्पना गर्नुहोस्, कसैको अन्याय हुनेछैन! “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।” (मीका ४:४) अनि यशैया ११:९ ले भन्छ: ‘तिनीहरूले केही हानि गर्नेछैनन्।’
अहिले तपाईं पूर्वाग्रहको शिकार हुनुहुन्छ भने, भविष्यको यो अद्भुत आशाले यहोवासित तपाईंको सम्बन्धलाई बलियो बनाउनेछ। यसले तपाईंलाई यस दुष्ट रीतिरिवाजका अन्यायहरू सहन मदत दिनेछ। पूर्वाग्रहको सामना गर्दा र भविष्यको बाटो हेर्दा बाइबलको यो बुद्धिमत्तापूर्ण सल्लाह पालन गर्नुहोस्: “हे परमप्रभुमा आशा राख्ने हो, बलियो होऊ, र तिमीहरूका हृदयमा साहस आओस्।”—भजन ३१:२४.
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[स्रोत]
U.S. National Archives photo