प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ११/१ pp. २२-२७
  • “विश्‍वासको लागि पछि नहट्‌ने”!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “विश्‍वासको लागि पछि नहट्‌ने”!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरो आमाबाबुले बसाल्नुभएको उदाहरण
  • घर छोड्‌दा
  • गोलमालपूर्ण सुरुआत
  • नेदरल्याण्ड्‌समा
  • भरपर्दो सहयोगी
  • क्षितिजमा युद्धको बादल मडारिन्छ
  • प्रतिबन्ध र प्रहरीले खोज्दै
  • मेरो परिवारले कसरी सामना गऱ्‍यो
  • साहसी भाइहरूसँगसँगै काम गर्ने
  • दुःख अनि सुख
  • यहोवाको मायालु हेरचाहमा भरोसा गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवा मसित हुनुहुन्थ्यो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • सच्चाइभन्दा उत्तम अरू केही छैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • युवावस्थादेखि धैर्यपूर्वक यहोवामा भर पर्दै आएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ११/१ pp. २२-२७

जीवनी

“विश्‍वासको लागि पछि नहट्‌ने”!

हर्बट म्युलरको वृत्तान्तमा आधारित

हिटलरको सेनाले नेदरल्याण्ड्‌समा आक्रमण गरेको केही महिनापछि नै यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाइयो। केही समयमै नाजीहरूले व्यापक खोजि भइरहेका मानिसहरूको सूचीमा मेरो नाउँ पनि आयो र जोडतोडका साथ मेरो खोजी हुन थाल्यो।

म लाई एक चोटि भाग्ने र लुक्ने चक्करदेखि यस्तो वाक्क लाग्यो कि मैले मेरी श्रीमतीलाई सेनाले समात्यो भने बरु सन्चो हुन्छ भने। त्यसपछि, मलाई एउटा गीतको यो बोल याद आयो: “जस्तै परीक्षा आइपरे तापनि विश्‍वासको लागि पछि नहट्‌ने।”a त्यस गीत मनन गर्दा मलाई पुनः जोस आयो र जर्मनीमा मेरो आमाबाबु र यो गीत गाएर मलाई बिदाइ गर्ने मेरा साथीहरूको सम्झना आयो। के म ती सम्झनाहरू तपाईंहरूलाई पनि बताऊँ?

मेरो आमाबाबुले बसाल्नुभएको उदाहरण

सन्‌ १९१३ मा जर्मनको कोप्टिसमा मेरो जन्म हुँदा मुमाबुबा इभ्यान्जिकल चर्चको सदस्य हुनुहुन्थ्यो।b सात वर्षपछि अर्थात्‌ सन्‌ १९२० मा बुबाले चर्च छोड्‌नुभयो। अप्रिल ६ का दिन उहाँले कर्कनाउँस्ट्रिट्‌सबिसिनिगुन (चर्चबाट राजीनामाको घोषण) माग्नुभयो। शहरको नागरिक दर्ता अधिकारीले एउटा फारम त भरिदियो। तथापि, बुबा फेरि एक हप्तापछि त्यस कार्यालयमा जानुपऱ्‍यो किनभने त्यस घोषणा पत्रमा उहाँको छोरीको नाउँ थिएन। त्यस अधिकारीले दोस्रो कागजातमा मार्था मार्गारेटा म्युलरको नाउँ पनि चर्चबाट हटाइएको छ भनेर भरिदिए। त्यतिबेला, मेरी बहिनी मार्गारेटा डेढ वर्षकी थिइन्‌। यहोवालाई सेवा गर्ने सन्दर्भमा बुबालाई आशिंक सेवा स्वीकार्य थिएन!

सोही वर्ष मेरा आमाबाबुले बाइबल स्टुडेन्ट्‌सद्वारा बप्तिस्मा लिनुभयो। त्यतिबेला यहोवाका साक्षीहरू त्यस नाउँले चिनिन्थे। हामी केटाकेटीलाई बुबा एकदमै कडा गर्नुहुन्थ्यो तर उहाँ यहोवाप्रति वफादार हुनुभएकोले हामीलाई उहाँको डोऱ्‍याइ स्वीकार्न सजिलो भयो। वफादारीताको कारण मुमाबुबा काँटछाँट गर्न पनि उत्प्रेरित हुनुभयो। उदाहरणका लागि, एकताक हामीलाई आइतबारको दिन बाहिर खेल्न दिंइदैनथ्यो। तथापि, सन्‌ १९२५ को एक आइतबार मुमाबुबाले हामी बाहिर घुम्न जाऔं भन्‍नुभयो। हामी केही हल्काफुल्का खाना लिएर गयौं र असाध्यै रमाइलो भयो। दिनभरि घरमै थुनिनुभन्दा कत्ति फरक! हालै आयोजित अधिवेशनमा सिकेका कुराहरूबाट आइतबारका गतिविधिहरूबारे आफ्नो विचारधारामा परिवर्तन आएको बुबाले बताउनुभयो। अरू बेला पनि उहाँले काँटछाँट गर्न त्यस्तै तत्परता देखाउनुभयो।

मेरो आमाबाबुको स्वास्थ्य राम्रो नभए तापनि प्रचारकार्यमा पछि पर्नु भएन। उदाहरणका लागि, एक्लिज्यास्टिक्स इन्डाइटेड पर्चा वितरण गर्न हामी मण्डलीका अरूसित एक साँझ रेल चढेर ड्रेस्डेनभन्दा ३०० किलोमिटर पर रेगेनवर्ग शहर गयौं। भोलिपल्ट शहरभरि पर्चा वितरण गर्न सिद्धिएपछि हामी घर फर्क्यौं। हामी घर पुगुञ्जेल झन्डै २४ घण्टा बितिसकेको थियो।

घर छोड्‌दा

हाम्रो मण्डलीको यगेनग्रुपे-सितको (युवा समूह) संगतिले पनि मलाई आध्यात्मिक तवरमा बढ्‌न मदत गऱ्‍यो। हरेक हप्ता, १४ वर्षभन्दा ठूलाहरूले मण्डलीका केही पाको भाइहरूलाई भेट्‌थे। हामीसँगसँगै खेल्थ्यौं, वाद्ययन्त्रहरू बजाउँथ्यौं, बाइबल पढ्‌थ्यौं र सृष्टि तथा विज्ञानबारे कुरा गर्थ्यौं। तथापि, सन्‌ १९३२ मा म १९ वर्षको हुँदा मेरो त्यस समूहसितको संगति अन्त भयो।

त्यस वर्षको अप्रिल महिनामा बुबाले माग्डेबर्गस्थित वाच टावर सोसाइटीको कार्यालयबाट पत्र पाउनुभयो। सोसाइटीलाई गाडी चलाउन आउने र अग्रगामीको काम पनि गर्न इच्छुक व्यक्‍ति चाहिएको थियो। मेरो आमाबाबुले मैले अग्रगामी गरेको चाहनुहुन्छ भनेर मलाई थाह थियो तर म आफूलाई सक्दिनँ जस्तो लाग्थ्यो। मेरो आमाबाबु गरिब हुनुभएकोले मैले १४ वर्षको उमेरदेखि नै साइकल र लुगा सिउने मेशिनलगायत टाइप राइटर र अन्य मेशिनहरू मर्मत गर्ने काम सुरु गरिसकेको थिएँ। म कसरी आफ्नो परिवारलाई छोड्‌न सक्थें र? उहाँहरूलाई मेरो सहयोगको खाँचो थियो। यसबाहेक, मैले बप्तिस्मा पनि लिएको थिइनँ। बुबाले मसँग बसेरै बप्तिस्मा लिनुको महत्त्व मैले बुझेको छ कि छैन हेर्न केही प्रश्‍नहरू सोध्नुभयो। मैले बप्तिस्मा लिन पर्याप्त आध्यात्मिक प्रगति गरेको छु भनेर मेरो जवाफहरूबाट विश्‍वस्त हुनुभएपछि बुबाले यसो भन्‍नुभयो: “तिमीले यो जिम्मेवारी स्वीकारे बेस हुन्छ, बाबु।” अनि मैले त्यसै गरें।

एक हप्तापछि मैले माग्डेबर्ग आउने निमन्त्रणा पत्र पाएँ। युवा समूहका मेरा मित्रहरूलाई यो कुरा बताउँदा तिनीहरू मलाई हर्षको गीत गाएर बिदाइ गर्न चाहन्थे। मैले छानेको गीत देखेर तिनीहरू छक्क परे किनभने उनीहरूलाई त्यो गीत अलि गम्भीर खालको लाग्थ्यो। तैपनि, उनीहरूले आ-आफ्नो भाइलिन, म्यान्डोलिन र गीतार लिएर यस्तो गीत गाए: “जस्तै परीक्षा आइपरे तापनि विश्‍वासको लागि पछि नहट्‌ने; जस्तै दुःखकष्ट आइपरे तापनि यो धरमराउने छैन।” त्यस दिन मैले यो गीतले पछि मलाई कत्तिको बल दिनेछ भनेर सोचेकै थिइनँ।

गोलमालपूर्ण सुरुआत

माग्डेबर्गका भाइहरूले मैले कतिको गाडी हाँक्नसक्छु भनेर परीक्षण गरेपछि मलगायत अन्य चार अग्रगामीहरूलाई एउटा गाडी दिनुभयो र हामी बेल्जियम नजिकै पर्ने ठाउँ शिन्फिलतिर लाग्यौं। हामीले चाँडै गाडी कत्तिको जरुरी रहेछ भनेर थाह पायौं। त्यस प्रान्तको क्याथोलिक चर्चले हाम्रो उपस्थितिको विरोध गर्न थाल्यो र गाउँलेहरू पादरीहरूको प्रभावमा परेर हामीलाई लखेट्‌न कुरिरहन्थे। थुप्रै चोटि हामीलाई गाडीले तिनीहरूको आक्रमणबाट बचायो।

सन्‌ १९३३ को स्मरणार्थ उत्सवपछि प्रान्तीय निरीक्षक पल ग्रसमानले जर्मनीमा सोसाइटीको काममाथि प्रतिबन्ध लगाएको कुरा बताए। त्यसको लगत्तै पछि शाखा कार्यालयले मलाई गाडी लिएर माग्डेबर्ग आएर साहित्यहरू माग्डेबर्गबाट १०० किलोमिटर पर साक्सोनीमा पुऱ्‍याउन आग्रह गऱ्‍यो। तथापि, म माग्डेबर्ग पुगुञ्जेल गेस्टापोले (नाजीहरूको गोप्य प्रहरी) सोसाइटीको कार्यालय बन्द गरिसकेको थियो। मैले लिपजीगमा एक जना भाइकहाँ गाडी छोडें र घर फर्कें तर लामो समयको निम्ति होइन।

स्वीट्‌जरल्याण्डस्थित सोसाइटीको कार्यालयले मलाई नेदरल्याण्ड्‌समा अग्रगामीको काम गर्न आमन्त्रित गऱ्‍यो। एक दुई हप्तामै जाने विचार मैले गरें। तथापि, बुबाले मलाई तुरुन्तै गइहाल्ने सल्लाह दिनुभयो। मैले उहाँको कुरा सुनें र केही घण्टामै गइहालें। अर्को दिन सेनामा भर्ती नभएको अभियोगमा मलाई पक्रन प्रहरी बुबाको घरमा आएछ। तर ढिला भइसकेको थियो।

नेदरल्याण्ड्‌समा

अगस्त १५, १९३३ मा म आम्सटर्डमभन्दा २५ किलोमिटर पर हेमस्टेडमा अवस्थित अग्रगामी घरमा पुगें। भोलिपल्ट डच भाषाको क, ख केही नजाने तापनि प्रचारको लागि निस्कें। मुद्रित सन्देश भएको साक्षी कार्ड बोक्दै म गएँ। एक क्याथोलिक महिलाले रिकनसिलेसन नामक पुस्तक स्वीकार्दा म असाध्यै प्रोत्साहित भएँ! सोही दिन मैले २७ वटा पुस्तिकाहरू पनि वितरण गरें। पहिलो दिनको अन्तमा फेरि स्वतन्त्रतासाथ प्रचार गर्न पाएकोमा म दंग भएँ।

ती दिनहरूमा प्रकाशनहरू वितरण गर्दा पाएको चन्दाबाहेक अग्रगामीहरूको अरू कुनै आयस्रोत थिएन। त्यो पैसा खानेकुरा र अन्य आवश्‍यक कुराहरू किन्‍न प्रयोग गरिन्थ्यो। अनि महिनाको अन्तमा अलिकति पैसा बाँकी भयो भने व्यक्‍तिगत खर्चको निम्ति अग्रगामीहरूबीच बाँडिन्थ्यो। हामीसँग भौतिक सरसम्पत्तिको नाममा केही थिएन। तैपनि, यहोवाले हाम्रो यस्तो राम्रो ख्याल राख्नुभयो कि मैले सन्‌ १९३४ मा स्वीट्‌जरल्याण्डमा अधिवेशन धाउन सकें।

भरपर्दो सहयोगी

अधिवेशनमा मैले १८ वर्षीय एरिका फिन्केलाई देखें। म घरमा हुँदादेखि नै मैले उनलाई चिनेको थिएँ। तिनी मेरो दिदी मारर्गारेटाकी साथी थिइन्‌। एरिकाले सत्यको लागि लिएको अडानदेखि म पहिल्यै प्रभावित भइसकेको थिएँ। सन्‌ १९३२ मा बप्तिस्मा लिएको केही समय बित्न नपाउँदै कसले हो गेस्टापोलाई एरिकाले “हिटलरको जय होस्‌!” भन्‍न इन्कार गरेको रिपोर्ट गरिदिएछ। गेस्टापोले उनलाई पक्रे र इन्कार गर्नुको कारण सोधे। एरिकाले पुलिस स्टेसनमा प्रेरित १७:३ पढेर सुनाइन्‌ र परमेश्‍वरले एक मात्र उद्धारकर्ता येशू ख्रीष्टलाई नियुक्‍त गर्नुभएको छ भनेर बताइन्‌। अफिसरले यस्तो प्रश्‍न गरे, “के तिमी जस्तो अरू पनि छन्‌?” एरिकाले अरूको नाउँ दिन इन्कार गरिन्‌। प्रहरीले उनलाई कैदमा राख्ने धम्की दिए। पछि एरिकाले अरूको नाउँ दिनुभन्दा बरु मर्नै तयार भएको कुरा बताइन्‌। उनलाई आँखा तर्दै प्रहरीले तिनलाई यसो भनेर कराए: “यहाँबाट निस्किहाल। घर जाऊ। हिटलरको जय होस्‌!”

अधिवेशनपछि म नेदरल्याण्ड्‌स फर्कें भने एरिका स्वीट्‌जरल्याण्डमै बसिन्‌। तर हामी दुवैलाई हाम्रो मित्रता बढ्‌दै गएको महसुस भयो। स्वीट्‌जरल्याण्डमै छँदा गेस्टापोले उनको खोजी गरिरहेको कुरा एरिकाले सुनिन्‌। उनले स्वीट्‌जरल्याण्डमै बसेर अग्रगामीको काम गर्ने निर्णय गरिन्‌। केही महिनापछि सोसाइटीले उनलाई स्पेन जान आग्रह गऱ्‍यो। उनले पहिला माड्रिड अनि बिलबाओ र पछि सान सेबास्टियनमा अग्रगामीको काम गरिन्‌। सान सेबास्टियनमा छँदा पादरीहरूले उक्साएको सतावटको कारण उनी र उनका अग्रगामी साथी जेलमा परेका थिए। सन्‌ १९३५ मा उनीहरूलाई स्पेन छोड्‌ने आदेश दिइयो। एरिका नेदरल्याण्ड्‌स आइन्‌ र सोही वर्ष हामीले बिहे गऱ्‍यौं।

क्षितिजमा युद्धको बादल मडारिन्छ

बिहेपछि हामीले हेमस्टेडमा अग्रगामी गऱ्‍यौं र पछि रटोर्डाममा सऱ्‍यौं। त्यहाँ सन्‌ १९३७ मा हाम्रो छोरा भोल्फग्यांगको जन्म भयो। त्यसको एक वर्षपछि हामी नेदरल्याण्ड्‌सको उत्तरमा पर्ने ग्रोनिनगेन शहरमा सऱ्‍यौं र त्यहाँ हामी जर्मन अग्रगामी फर्डिनान्ट र हेल्गा होल्टफोर्ट अनि उनीहरूकी छोरीसँगै बस्थ्यौं। डच सरकारले जर्मन नागरिकहरूले प्रचार गर्न नपाउने आदेश निकालेको छ भनेर जुलाई १९३८ मा सोसाइटीले हामीलाई खबर गऱ्‍यो। त्यति नै बेला, मलाई प्रान्तीय सेवक (क्षेत्रीय निरीक्षक) नियुक्‍त गरियो र हाम्रो परिवार लिक्टड्राकर (ज्योतिवाहक) अर्थात्‌ सोसाइटीको जहाजमा सऱ्‍यौं। यो जहाज नेदरल्याण्ड्‌सको उत्तरी भागमा प्रचार गर्ने अग्रगामीहरूको निम्ति आधार शिविर थियो। प्रायजसो समय म मेरो परिवारबाट टाढै हुन्थे, साइकल चढेर एउटा मण्डलीबाट अर्को मण्डली धाउँदै भाइहरूलाई प्रचार गरिराख्न प्रोत्साहन दिन्थें। अनि भाइहरूले त्यसै गरिरहे। कसै कसैले त उन्‍नतिसमेत गरे। त्यसको एक असल उदाहरण भिम केटलारा हुन्‌।

मैले भिमलाई भेट्‌दा तिनी ठीटै थिए। तिनले तुरुन्तै सत्य स्वीकारीहाले तर तिनी खेतमा ज्यालादारी काम गर्नुपर्ने भएकोले अत्यन्तै व्यस्त थिए। मैले तिनलाई यस्तो सल्लाह दिएँ, “तिमी यहोवाको सेवा गर्न समय निकाल्न चाहन्छौं भने अर्कै जागिर खोज।” तिनले त्यसै गरे। पछि हामी दुईको फेरि भेट हुँदा मैले तिनलाई अग्रगामीको काम गर्न प्रोत्साहन दिएँ। तिनले जवाफमा यसो भने, “पेट पाल्न मैले काम गर्नुपर्छ नि।” मैले आश्‍वासन दिंदै भने, “तिमीले खान पाउनेछौ। यहोवाले तिम्रो ख्याल राख्नुहुनेछ।” भिमले अग्रगामीको काम गर्न थाले। पछि, दोस्रो विश्‍वयुद्धको दौडान समेत तिनले परिभ्रमण निरीक्षकको रूपमा सेवा गरे। आज ८० वर्ष नाघिसकेका भिम अझै जोसिलो छन्‌। यहोवाले साँच्चै तिनको ख्याल राख्नुभयो।

प्रतिबन्ध र प्रहरीले खोज्दै

मे १९४० मा हाम्रो दोस्रो बच्चा, छोरी राइना जन्मेको झन्डै एक वर्षपछि डच सेनाले समपर्ण गऱ्‍यो र नाजीहरूले नेदरल्याण्ड्‌स कब्जा गरे। जुलाई महिनामा गेस्टापोले सोसाइटीको कार्यालय र छापाखाना जफत गऱ्‍यो। अर्को वर्ष साक्षीहरूलाई पक्रने लहर नै चल्यो र म पनि पक्राउ परें। एक साक्षी र त्यसमाथि सेनामा भर्ती हुने उमेर भएकोले गेस्टापोले मलाई के गर्नेछ भनेर कल्पना गर्न कुनै गाह्रो थिएन। मैले अब आफ्नो परिवारलाई कहिल्यै देख्ने छैन भनेर मनमनै आफूलाई तयार गर्न थालें।

अनि मे १९४१ मा मलाई गेस्टापोले कैदमुक्‍त गऱ्‍यो र सैन्य सेवामा भर्ती हुने आदेश दियो। मैले विश्‍वासै गर्न सकिनँ। त्यस दिन म भूमिगत भएँ र त्यहीं महिनादेखि मैले फेरि क्षेत्रीय निरीक्षकको काम गर्न थालें। फलतः गेस्टापोले अत्यन्तै खोजी गरिरहेको मानिसहरूको सूचीमा म पनि परें।

मेरो परिवारले कसरी सामना गऱ्‍यो

मेरी पत्नी र बच्चाहरू देशको पूर्वी भागको फोर्डन भन्‍ने गाउँमा सरेका थिए। तथापि, खतरा कम गर्न म असाध्यै कम घर जानुपर्ने भयो। (मत्ती १०:१६) सुरक्षाको कारण भाइहरूले मेरो असली नाउँ प्रयोग नगरी मेरो उपनाउँ डोइट्‌से यान (जर्मन जोन) चलाउँथे। मेरो चार वर्षीय छोरा भोल्फगंगले समेत मलाई “बुबा” भन्‍न पाउँदैन थियो, खालि “ओम यान” (अंकल जोन) भन्थ्यो। उसलाई भावनात्मक तवरमा यो असाध्यै गाह्रो थियो।

मैले भगुवा जीवन बिताइरहेको बेला एरिकाले बच्चाहरूको देखभाल गरिन्‌ र प्रचार गर्न पनि छोडिनन्‌। राइना दुई वर्षको हुँदा एरिकाले तिनलाई साइकलको क्यारियरमा राखेको बासकेटमा राख्थिन्‌ र टाढा टाढा प्रचारको लागि जान्थिन्‌। खानाको अभाव हुन थाले तापनि एरिकाले कहिल्यै पनि अत्यन्तै अभाव अनुभव गरिनन्‌। (मत्ती ६:३३) मैले एक चोटि लुगा सिउने मेशिन मर्मत गरिदिएको क्याथोलिक किसानले उनलाई आलु दिन्थ्यो। तिनी मेरा सन्देशहरू एरिकालाई पुऱ्‍याउने पनि गरिदिन्थे। एक चोटि एरिकाले औषधी पसलमा एउटा चीजको निम्ति एक गिल्डर तिरेकी थिइन्‌। साहुजीलाई उनी लुकीछिपीको जीवन बिताइरहेको छ र खानाको निम्ति रासन कार्ड पनि प्राप्त गर्न सकिनन्‌ भन्‍ने थाह भएको हुनाले सित्तैंमा औषधी दिनुका साथै दुई गिल्डर पनि दियो। सहानुभूतिका त्यस्ता अभिव्यक्‍तिहरूले उनलाई बाँच्न मदत गऱ्‍यो।—हिब्रू १३:५.

साहसी भाइहरूसँगसँगै काम गर्ने

त्यतिञ्जेल मैले मण्डलीहरूको भ्रमण गरिरहें। तथापि, म मण्डलीका जिम्मेवार भाइहरूलाई मात्र भेट्‌थें। गेस्टापोले निरन्तर मेरो खेदो गरिरहेको हुनाले म कहिल्यै एउटा ठाउँमा केही घण्टाभन्दा बढी बस्न सक्दिनथें। थुप्रै भाइबहिनीलाई मलाई भेट्‌न अनुमति थिएन। तिनीहरू आफ्नै सानो बाइबल अध्ययन समूहका भाइहरूसित मात्र परिचित थिए। फलस्वरूप, एउटै शहरको विभिन्‍न भागमा बस्ने दुई साखै दिदीबहिनीले दोस्रो विश्‍वयुद्धपछि मात्रै दुवै जना युद्धको दौडान साक्षी भएका रहेछन्‌ भनेर थाह पाए।

सोसाइटीका प्रकाशनहरू लुकाउने ठाउँ भेट्टाउने मेरो अर्को काम थियो। हामी वाचटावर-का प्रतिहरू बनाउन चाहिने कागत, स्टेनसिल मेशिन र टाइपराइटर पनि लुकाएर राख्थ्यौं। कहिलेकाहीं हामीले सोसाइटीद्वारा मुद्रित पुस्तकहरू एक ठाउँबाट अर्को ठाउँमा लुकाउनुपर्थ्यो। एक चोटि कसैले याद नगर्ने गरी ३० बाकस साहित्य ओसारेको मलाई सम्झना छ। त्यो साँच्चै कठिन कार्य थियो!

यसबाहेक, हामीले निषेधित भए तापनि पूर्वी नेदरल्याण्ड्‌सबाट पश्‍चिमका शहरहरूमा खाना पनि ओसार्थ्यौं। हामी घोडागाडामा खाना राखेर पश्‍चिमतिर लाग्थ्यौं। अनि नदी नजिक आएपछि हामी कहिल्यै पनि पुल भएर जाँदैनथ्यौं किनभने त्यहाँ सेना तैनाथ हुन्थ्यो। त्यसको सट्टा हामी सानो डुंगामा सामान राख्थ्यौं र नदी पार गरेर अर्को गाडामा राख्थ्यौं। हामी पुग्नुपर्ने शहर पुगेपछि अँध्यारो नहोउञ्जेल कुर्थ्यौं र घोडाको खुरमा मोजा लगाइदिन्थ्यौं र मण्डलीको गोप्य खाना भण्डारतर्फ चुपचाप जान्थ्यौं। त्यहाँबाट खाँचोमा परेका भाइहरूलाई खाना वितरण गरिन्थ्यो।

जर्मन सेनाले त्यस्तो खानाको डिपो पत्ता लगाएको भए हाम्रो ज्यानसमेत जानसक्थ्यो। तैपनि, केही भाइहरू मदत गर्न तयार भए। उदाहरणका लागि, एमरफुर्ट शहरमा बस्ने ब्लोमिन्क परिवारले आफ्नो घर जर्मन सेना ब्यारेक नजिकै भए तापनि आफ्नो बैठक कोठालाई भण्डार कोठाको रूपमा प्रयोग गर्न दिए! यस्ता साहसी भाइहरूले आफ्ना भाइहरूको निम्ति आफ्नो ज्यानै खतरामा पारे।

यहोवाले म र मेरी श्रीमतीलाई वर्षौं प्रतिबन्ध लागुञ्जेल विश्‍वासी रहन मदत गर्नुभयो। मे १९४५ मा जर्मन सेनाको पराजय भयो र बल्ल मेरो भगुवा जीवनको अन्त भयो। सोसाइटीले मलाई अरू भाइहरू उपलब्ध नभएसम्म परिभ्रमण निरीक्षकको रूपमा सेवा गरिरहन आग्रह गऱ्‍यो। सन्‌ १९४७ मा बर्टियस भान डेर वेलले मेरो काम सम्हाले।c त्यतिबेलासम्म हाम्रो तेस्रो बच्चा जन्मिसकेको थियो र हामी देशको पूर्वी भागमा बसोबास गर्न थाल्यौं।

दुःख अनि सुख

म नेदरल्याण्ड्‌स गएको झन्डै एक वर्षपछि बुबालाई कैदमा हालेको कुरा मैले युद्धपछि थाह पाएँ। खराब स्वास्थ्यको कारण उहाँलाई दुई चोटि मुक्‍त गरियो तर उहाँ फेरि फेरि पक्राउ पर्नुभयो। सन्‌ १९३८ को फेब्रुअरी महिनामा उहाँलाई बुखेनवाल्ड यातना शिविर अनि त्यसपछि डकाऊमा पठाइयो। त्यहाँ मे १४, १९४२ मा मेरो बुबा बित्नुभयो। अन्तसम्मै उहाँ दृढ र वफादार रहनुभयो।

आमालाई पनि डकाऊ शिविरमा पठाइएको रहेछ। सन्‌ १९४५ मा मुक्‍त नगरेसम्म उहाँ त्यहीं रहनुभयो। मेरो आमाबाबुको दृढ उदाहरणले गर्दा नै मैले थुप्रै आध्यात्मिक आशिष्‌को आनन्द उठाएको हुँ। त्यसकारण, सन्‌ १९५४ मा आमा हामीसित बस्न आउनुहुँदा मैले ठूलो सुअवसरको कुरा सम्झें। सन्‌ १९४५ देखि कम्युनिस्ट पूर्व जर्मनीमा अग्रगामी गरिरहेका दिदी मार्गारेटा पनि आइन्‌। आमा बिरामी र डच भाषा नजान्‍ने भए तापनि अक्टोबर १९५७ मा उहाँको पार्थिव जीवन नसकिउञ्जेल विश्‍वासी भई क्षेत्र सेवकाईमा भाग लिनुभयो।

सन्‌ १९५५ मा न्युरेमबर्ग जर्मनीमा भएको अधिवेशन हाम्रो निम्ति विशेष अधिवेशन साबित भयो। हामी त्यहाँ पुगेपछि ड्रेस्डेनका भाइहरूले एरिकाको आमा पनि अधिवेशनमा आउनुभएको छ भनेर बताए। ड्रेस्डेन त्यतिबेला पूर्व जर्मनको अधीनमा भएको कारण एरिकाले आफ्नो आमालाई नभेटेको २१ वर्ष भइसकेको थियो। आमाछोरी भेट्‌ने प्रबन्ध मिलाइयो र आमा छोरीले एकअर्कालाई अंकमाल गरे। कस्तो आनन्ददायी पुनर्मिलन!

रहँदाबस्दा हाम्रो आठ छोराछोरी भए। दुःखको कुरा हाम्रो एक जना छोराको मोटर दुर्घटनामा परेर मृत्यु भयो। तथापि, हाम्रा अन्य छोराछोरी यहोवाकै सेवामा लागिरहेको देख्दा साह्रै खुसी लाग्छ। खुसीको कुरा, हाम्रो छोरा भोल्फगंग र बुहारी अहिले क्षेत्रीय काममा छन्‌ र तिनीहरूको छोरा पनि क्षेत्रीय निरीक्षकको रूपमा काम गर्छ।

नेदरल्याण्ड्‌समा यहोवाको काममा भएको उन्‍नति देख्दा म कृतज्ञ हुन्छु। मैले सन्‌ १९३३ मा अग्रगामीको काम गर्न थाल्दा एक सय साक्षी पनि थिए कि थिएनन्‌। अहिले ३०,००० भन्दा बढी साक्षी छन्‌। अहिले हामीसित त्यति ताकत नभए तापनि एरिका र म त्यस गीतको बोलअनुरूप जीवन बिताउन अझै कटिबद्ध छौं: “पछि नहट्‌ने विश्‍वासको लागि।”

[फुटनोटहरू]

a गीत १९४.—संग्स अफ प्रेज टु जेहोभा (१९२८)।

b अहिले पिर्ना भनिने कोप्टिसको शहर एल्बे नदीको छेउमा ड्रेस्डेन शहरको १८ किलोमिटर पर अवस्थित छ।

c भाइ भान डेर वेलको जीवनीको निम्ति जनवरी १, १९९८ को प्रहरीधरहरा-मा “सच्चाइभन्दा उत्तम अरू केही छैन” लेख हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको चित्र]

क्षेत्र सेवकाईपछि आराम गरिरहेको “यगेनग्रुपे”

[पृष्ठ २४-मा भएको चित्र]

सँगी अग्रगामीहरू र मैले शिन्फिल इलाका पूरै ढाक्यौं। म त्यतिबेला २० वर्षको थिएँ

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९४० मा एरिका र भोल्फगंगसँग

[पृष्ठ २६-मा भएको चित्र]

बायाँदेखि दायाँ: मेरो नाति जोनाथन र उसकी पत्नी मिरियाम, एरिका, म, छोरा भोल्फगंग र उसकी पत्नी जुलिया

[पृष्ठ २६-मा भएको चित्र]

बुबासँगै झ्यालखानामा पर्ने भाइले सन्‌ १९४१ मा बुबाको यो चित्र कोरेका थिए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने