स्पेनी बाइबलको निम्ति कासियोडोरो दे रेईनाको संघर्ष
सोह्रौं शताब्दीतिर स्पेनमा बाइबल पढ्नु खतराजनक थियो। क्याथोलिक चर्चले आफ्नो परम्पराको अलिकति पनि विरोध गर्नेहरूलाई हटाउने निर्देशन इन्क्विजिशनलाई दिएको थियो। तर दक्षिण स्पेनका एक युवकले धर्मशास्त्रहरू पढ्नुका साथै ती धर्मशास्त्रहरू प्रत्येक स्पेनीहरूले पढ्न सकोस् भनेर स्पेनी भाषामा अनुवाद गर्ने कबुल पनि गरे। तिनको नाउँ कासियोडोरो रेईना थियो।
सान ईसीद्रो डेल काम्पोस्थित विहारमा रहँदाबस्दा रेईनालाई बाइबलप्रति चासो जागेको थियो। त्यो ठाउँ स्पेनको सेभिल्ये शहरबाहिर पर्छ। सन् १५५० दशकमा यस असामान्य विहारमा बस्ने भिक्षुहरूले विहारको कामकुरोमा भन्दा धर्मशास्त्र पढ्नमा धेरै समय बिताए। बाइबलको सन्देशले तिनीहरूको विचार परिवर्तन भयो। तिनीहरूले मूर्तिहरूको प्रयोग र पापमोचनस्थानबारे विश्वास गर्न छाडे, जुन कुरा क्याथोलिक धर्मको धर्मसिद्धान्त थियो। तिनीहरूको त्यस्तो दृष्टिकोण त्यस क्षेत्रभरि फैलिनु स्वाभाविक थियो। तिनीहरूले स्पेनी इन्क्विजिशनद्वारा पक्राउ पर्ने डरले गर्दा भागेर अन्तै जाने निधो गरे। उम्केर स्वीजरल्याण्डको जेनेभामा भाग्न सफल हुने १२ मध्ये रेईना एक थिए।
त्यसरी मुश्किलले उम्केपछि आफ्ना शत्रुहरूबाट यसोतसो बच्दै तिनले युरोपको एक शहरदेखि अर्कोमा यात्रा गरे। सन् १५६२ तिर दिक्क भएका इन्क्विजिशनका समर्थकहरूले सेभिल्येमा तिनको पुत्ला जलाए। त्यो निर्दयी धम्कीको बावजूद धर्मशास्त्र अनुवाद गर्ने आफ्नो कामबाट रेईना एक बित्ता पछि हटेनन्। शत्रुहरूले तिनलाई पक्रन इनाम राखेका थिए। त्यस्तो परिस्थितिको बावजूद र गिरफ्तारी हुने डरमा जिउनु परे तापनि तिनले स्पेनी भाषामा बाइबल अनुवाद गरिरहे। “बिमार वा यात्राको समय . . . बाहेक आफ्नो काम कहिले स्थगित गरिनँ” भनेर तिनले बताए।
दश वर्षभित्र रेईनाले आफ्नो अनुवाद काम पूरा गरे। सन् १५६९ तिर स्वीजरल्याण्डको बाजलमा तिनले गरेको सम्पूर्ण बाइबलको अनुवाद प्रकाशित भयो। तिनको यो विशिष्ट अनुवाद मूल भाषाहरूबाट अनुवाद गरिएको बाइबलको प्रथम पूर्ण स्पेनी अनुवाद थियो। शताब्दीयौंसम्म बाइबल ल्याटिन भाषामा उपलब्ध भए तापनि ल्याटिन गण्यमान्य मानिसहरूको भाषा थियो। सबैले बाइबल बुझ्नुपर्छ भनेर रेईना विश्वास गर्थे र त्यो लक्ष्य हासिल गर्ने सिलसिलामा तिनले ज्यानको खतरा मोले।
तिनले आफ्नो अनुवादको परिचय दिंदै तर्कहरू पेश गरे। “सामान्य भाषामा पवित्र धर्मशास्त्रको अनुवाद गर्न निषेध गर्नु परमेश्वरको निन्दा गर्नु हो र त्यसले मानिसहरूको कल्याणमा हानि पुऱ्याउँछ। स्पष्टतः यसरी निषेध गर्नु शैतान र त्यसको नियन्त्रणमा भएकाहरूको . . . कार्य हो। परमेश्वरले मानिसहरूलाई आफ्नो वचन दिनुभयो। सबैले यसलाई बुझेर आ-आफ्नो जीवनमा उतारोस् भनी उहाँ चाहनुहुन्छ। अतः कुनै पनि भाषामा अनुवाद गर्न निषेध गर्ने व्यक्तिको अभिप्राय असल हुनसक्दैन।”
उपरोक्त भनाइ साहसपूर्ण थियो। किनभने स्पेनी इन्क्विजिशनको अनुक्रमणिकाले विशेष गरेर “क्यास्टिलियन रोमान्स [स्पेनी] वा अन्य कुनै अपहेलित भाषामा” बाइबल अनुवाद गर्नु गैरकानुनी हो भनेर घोषणा गरेको ठीक १८ वर्षपछि यो कुरा प्रकाशित भएको थियो। स्पष्टतः रेईनाले सत्यप्रतिको आफ्नो प्रेममा मानिसको डरलाई अवरोध बन्न दिएनन्।
सम्पूर्ण स्पेनीभाषीहरूलाई बाइबल उपलब्ध गराउने रेईनाको तीव्र इच्छा थियो। त्यसबाहेक, तिनी शतप्रतिशत सही अनुवाद निकाल्न चाहन्थे। तिनले परिचयमा मूल भाषाहरूबाट प्रत्यक्ष अनुवाद गर्नुका फाइदाहरू व्याख्या गरे। भुल्गेटको ल्याटिन शास्त्रमा केही गल्तीहरू घुसेका छन् भनेर रेईनाले बताए। ती गल्तीमध्ये सबैभन्दा दुःखलाग्दो चाहिं ईश्वरीय नाउँ हटाउनु थियो।
स्पेनी अनुवादहरूमा ईश्वरीय नाउँ
मूल पदमा झैं बाइबलको कुनै पनि भरपर्दो अनुवादमा परमेश्वरको नाउँ यहोवा हुनुपर्छ भनेर रेईनाले बुझे। ईश्वरीय नाउँको साटो “परमेश्वर” वा “प्रभु” जस्ता पदहरूको प्रयोगलाई तिनले अस्वीकार गरे। आफ्नो अनुवादको प्रस्तावनामा तिनले यसका कारणहरू सोझै बताए।
“हामीसित ठोस कारण भएकोले (ईहुवा) नाउँको संरक्षण गरेका छौं। प्रथमतः हाम्रो अनुवादको जुन जुन ठाउँमा त्यो नाउँ पाइन्छ, हिब्रू शास्त्रमा पनि त्यही ठाउँहरूमा पाइन्छ। हाम्रो विचारअनुसार परमेश्वरको नियमप्रति अविश्वासी नभई र त्यसलाई अपवित्र नपारी उहाँको नाउँलाई हटाउन र परिवर्तन गर्न सकिंदैन। ती आज्ञाहरू नता हटाउन न थप्न सकिन्छ . . .। [नाउँ हटाउने] प्रथा दियाबलको उपज हो। त्यो आधुनिक धर्मगुरुहरूको अन्धविश्वासद्वारा सुरु भएको हो। तिनीहरूले परमेश्वरको पवित्र नाउँको आदर गर्छन् भनेर दाबी गरे तापनि मानिसहरूलाई उहाँको नाउँको बेवास्ता गर्न लगाएका छन्। त्यसै नाउँद्वारा परमेश्वर अरू . . . देवताहरूबाट अलग हुन चाहनुहुन्थ्यो।”
परमेश्वरको नाउँ महिमा गर्न रेईनाले देखाएको प्रशंसनीय रुचिले चिरकालीन परिणामहरू ल्यायो। त्यस बेलादेखि अहिले हाम्रो समयसम्म तिनको अनुकरण गर्दै क्याथोलिक र प्रोटेस्टेन्ट दुवैका स्पेनी अनुवादहरूमा ईश्वरीय नाउँ प्रयोग गरिएको छ। विशेषतः रेईनाले गर्दा बाइबलको लगभग सबै स्पेनी अनुवादका पाठकहरूले परमेश्वरलाई अरू देवताहरूबाट अलग छुट्याउने उहाँको व्यक्तिगत नाउँ छ भनेर सजिलै बुझ्नसक्छन्।
उल्लेखनीय कुरा के हो भने, रेईनाको बाइबलको शीर्ष पृष्ठमा यहोवाको नाउँ हिब्रू भाषामा लेखिएको स्पष्ट देखिन्छ। रेईनाले परमेश्वरको वचन संरक्षण गर्ने महान् कार्यमा आफ्नो जीवन समर्पण गरे। तिनले यो वचन करोडौं मानिसहरूले पढ्नसक्ने भाषामा उपलब्ध गराए।