आशिष्हरू वा सरापहरू—आज हाम्रानिम्ति उदाहरणहरू
“यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे, र हाम्रो चेताउनीको निम्ति लेखिएका हुन्, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ।”—१ कोरिन्थी १०:११.
१. औजारलाई बुद्धिमानीपूर्वक जाँच गरेजस्तै हामीले के जाँच गर्नुपर्छ?
फ लामे औजारको रंग लगाएको तह भित्रभित्रै खियाले बिगार गरेको आँखाले देख्न सक्दैन। बाहिर सतहमा खिया देखिन केही समय लाग्नसक्छ। त्यस्तैगरि गम्भीर परिणामहरू हुनु वा अरूले याद गर्नु अगावै व्यक्तिविशेषको मनोवृत्ति तथा इच्छाहरूमा ह्रास आउनसक्छ। औजारमा खिया लागेको छ या छैन पक्का गर्न हामीले बुद्धिमानीपूर्वक जाँच गरेझैं हामीले समय समयमा आफ्नो हृदय जाँच्दै मर्मत सम्भार गरेर मसीही निष्ठालाई कायमै राख्नसक्छौं। अर्को शब्दमा भन्ने हो भने, परमेश्वरको आशिष् पाउनसक्छौं र ईश्वरीय सरापबाट बच्नसक्छौं। कसै-कसैलाई पुरातन इस्राएलीहरूमाथि घोषणा गरेको आशिष् र सरापहरूले यस दुष्ट रीतिरिवाजको अन्तको संघारमा बसेकाहरूका लागि कुनै अर्थ राख्दैन जस्तो लाग्ला। (यहोशू ८:३४, ३५; मत्ती १३:४९, ५०; २४:३) तथापि, त्यस्तो होइन। पहिलो कोरिन्थी अध्याय १० मा देखाएझैं इस्राएललाई दिएको चेताउनीमूलक उदाहरणहरूबाट हामीले धेरै लाभ उठाउनसक्छौं।
२. उजाडस्थानमा इस्राएलीहरूको अनुभवहरूबारे १ कोरिन्थी १०:५, ६ ले के भन्छ?
२ प्रेरित पावलले, मोशाको अधीनमा भएका इस्राएलीहरूलाई ख्रीष्टको अधीनमा भएका मसीहीहरूसित तुलना गरेका छन्। (१ कोरिन्थी १०:१-४) इस्राएलका मानिसहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नसक्थे। तर “तिनीहरूमध्ये धेरैसँग परमेश्वर प्रसन्न हुनुभएको थिएन, किनकि तिनीहरू वनमा परास्त भए।” तसर्थ पावलले सँगी मसीहीहरूलाई यसो भने: “तिनीहरूले लालसा गरेझैं हामीले खराब कुराको लालसा गर्नुहुन्न भन्ने मनसायले यी कुरा हाम्रा निम्ति उदाहरण भएका हुन्।” (१ कोरिन्थी १०:५, ६) इच्छाहरूको पालन पोषण हृदयमा हुन्छ त्यसैले पावलले उल्लेख गरेका चेताउनीमूलक उदाहरणहरूमा ध्यान दिनुपर्छ।
मूर्तिपूजा विरुद्ध चेताउनी
३. सुनको बाछोको सन्दर्भमा इस्राएलीहरूले कसरी पाप गरे?
३ पावलको पहिलो चेताउनी हो: “तिनीहरूमध्ये कोही कोही भएझैं तिमीहरू मूर्तिपूजक नहोओ, जसरी लेखिएको छ, ‘मानिसहरू खान र पिउनालाई बसे, अनि लीला गर्न उठे।’” (१ कोरिन्थी १०:७) यो चेताउनीमूलक उदाहरण मिश्रको तौरतरिकामा फर्कने र सुनको बाछो उपासना गर्ने इस्राएलीहरूको हो। (प्रस्थान, अध्याय ३२) चेला स्तिफनसले भित्र छिपेको समस्यालाई उल्लेख गरे: “हाम्रा पुर्खाहरू [परमेश्वरको प्रतिनिधि, मोशाको] आज्ञाकारी हुन इच्छा गरेनन्, तर उनीहरूले तिनलाई घचेटीकन मिश्र देशमा फर्केर जाने मन गरेर। हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्ने कोही देवताहरू हाम्रा निम्ति बनाइदिनुहोस्, किनकि हामीलाई मिश्र देशबाट निकालेर ल्याउने यी मोशालाई के कसो भयो हामी जान्दैनौं।’ अनि ती दिनमा तिनीहरूले एउटा बाछो बनाए, र त्यस मूर्तिमा बलि-पूजा पनि चढ़ाए, औ आफ्ना हातका काममा खुशी मनाए।” (प्रेरित ७:३९-४१) हठी इस्राएलीहरूले “तिनीहरूको हृदयमा” गलत इच्छाहरू राखेकोले मूर्तिपूजक भएको कुरा ध्यानमा राख्नुहोस्। “तिनीहरूले एउटा बाछो बनाए, र त्यस मूर्तिमा बलि-पूजा पनि चढ़ाए।” यसबाहेक तिनीहरूले “आफ्ना हातका काममा खुशी मनाए।” त्यहाँ संगीत, नाचगान, खानपान भयो। स्पष्टतः मूर्तिपूजा लोभलाग्दो अर्थात् मनोरञ्जनात्मक थियो।
४, ५. हामी कस्तो मूर्तिपूजक प्रचलनहरूदेखि अलग बस्नुपर्छ?
४ प्रतिरूपक मिश्र अर्थात् शैतानको संसारले वास्तवमा मनोरञ्जनको उपासना गर्छ। (१ यूहन्ना ५:१९; प्रकाश ११:८) तिनीहरूले अभिनेता, गायक तथा प्रख्यात खेलाडीहरूका साथै तिनीहरूको नाच, संगीत र मोजमज्जा तथा मनोरञ्जनबारे तिनीहरूको विचारधाराको उपासना गर्छन्। यहोवाको उपासना गर्छु भनी दाबी गर्ने थुप्रै व्यक्तिहरू मनोरञ्जनमा पूर्णतया लग्गू हुन प्रलोभित भएका छन्। मसीहीलाई गलत कार्यको लागि ताडना दिंदा सामान्यतया तिनको कमजोर आध्यात्मिक अवस्था मदिरापान, नाचगान र मूर्तिपूजासित केही न केही तरिकामा सम्बन्धित मोजमज्जा गर्नाले भएको देखिन्छ। (प्रस्थान ३२:५, ६, १७, १८) केही मनोरञ्जनहरू स्वास्थ्यकर र आनन्ददायी हुन्छन्। यद्यपि, आज अधिकांश सांसारिक संगीत, नाच, चलचित्र तथा भिडियोहरूले पतित शरीरका इच्छाहरूलाई भ्रष्ट बनाउँछ।
५ साँचो मसीहीहरू मूर्तिअघि झुक्दैनन्। (२ कोरिन्थी ६:१६; १ यूहन्ना ५:२१) मूर्तिपूजक मनोरञ्जनमा लग्गू नहुन र सांसारिक ढंगमा रमझम गर्न तल्लीन भएर हानिकारक प्रभावहरूको खतरादेखि अलग बस्न हामी सबै होशियार होऔं। सांसारिक प्रभावहरूको अधीनमा पऱ्यौं भने हाम्रो मन र हृदयमा हानिकारक इच्छा र मनोवृत्तिहरू चालै नपाई पस्नसक्छ। सुधार नगरेमा बिस्तारै शैतानको रीतिरिवाजको ‘वनमा परास्त’ हुनेछौं।
६. हामीले मनोरञ्जनसम्बन्धी कस्तो सकारात्मक कदम चाल्नु आवश्यक पर्ला?
६ मोशाको समयमा सुनको बाछो बनाउँदा मोशाले यसो भनेका थिए: “जो जो परमप्रभुतर्फ छन्, तिनीहरू मकहाँ यता आऊन्।” भनौं भने, “विश्वासी र बुद्धिमान दास[ले]” हाम्रो समयमा पनि त्यस्तै भनिरहेका छन्। साँचो उपासनाको लागि दृढतापूर्वक अडान लिएका छौं भन्ने प्रदर्शन गर्न सकारात्मक पाइला चालेमा जीवन पाउन सकिन्छ। मोशाको लेवी कुलले भ्रष्ट प्रभावहरू हटाउन तुरुन्तै कदम चाले। (मत्ती २४:४५-४७; प्रस्थान ३२:२६-२८) अतः तपाईंले कस्तो प्रकारको मनोरञ्जन, संगीत, भिडियो चलचित्र छान्नुभएको छ, होशियारीपूर्वक जाँच्नुहोस्। कुनै न कुनै तरिकामा भ्रष्ट छ भने, यहोवाको पक्षमा दृढ अडान लिनुहोस्। प्रार्थनापूर्वक परमेश्वरमा भर पर्दै तपाईंको मनोरञ्जन र संगीतको छनौटमा परिवर्तन गर्नुहोस् र मोशाले सुनको बाछोसमेत नष्ट गरेझैं आध्यात्मिकतालाई खतरामा पार्ने कुराहरूलाई नष्ट गर्नुहोस्।—प्रस्थान ३२:२०; व्यवस्था ९:२१.
७. हामीले प्रतीकात्मक हृदयलाई कसरी सुरक्षित राख्नसक्छौं?
७ हृदयलाई बिस्तारै चालै नपाई खिया लाग्नदेखि कसरी बचाउनसक्छौं? परमेश्वरको वचन लगनशील भई अध्ययन गरेर अनि हाम्रो मन तथा हृदयमा यसको सत्य गढ्न दिएर। (रोमी १२:१, २) निस्सन्देह, हामीले नियमित तवरमा मसीही सभाहरू धाउनुपर्छ। (हिब्रू १०:२४, २५) सभाहरूमा भाग नलिई उपस्थित मात्र भयौं भने खिया लागेको ठाउँमा रंग पोतेको जस्तै हुनेछ। यसले हामीलाई केही क्षण चम्किलो बनाउला तर भित्र छिपेको समस्या समाधान गर्दैन। बरु अग्रिम तयारी गर्दै मनन गरेर सभाहरूमा सक्रियता साथ भाग लिएमा हामीले आफ्नो प्रतीकात्मक हृदयमा बाँकी रहेको खियारूपी तत्त्वहरू हटाउनसक्छौं। यसले हामीलाई परमेश्वरको वचन यथाशक्य पालन गर्न, हाम्रो विश्वासमाथि आउने परीक्षाहरूको सामना गर्न र “सबै कुरा[मा] सिद्ध” हुन मदत दिन्छ।—याकूब १:३, ४; हितोपदेश १५:२८.
व्यभिचार विरुद्ध चेताउनी
८-१०. (क) कुन चेताउनीमूलक उदाहरण १ कोरिन्थी १०:८ मा उल्लिखित छ? (ख) मत्ती ५:२७, २८ मा उल्लिखित येशूका शब्दहरूलाई कसरी लाभदायी ढंगमा लागू गर्न सकिन्छ?
८ पावलको अर्को उदाहरणमा हामीलाई यस्तो सल्लाह दिन्छन्: “हामी व्यभिचार नगरौं, जसरी तिनीहरूमध्ये कुनै कुनैले व्यभिचार गरेथे, र एकै दिनमा तेइस हजार मरेथे।”a (१ कोरिन्थी १०:८) इस्राएलीहरूले झूटा देवताहरूलाई दण्डवत् गरेर “मोआबका छोरीहरूसँग व्यभिचार” गरेको समयलाई प्रेरित पावलले उल्लेख गरिरहेका थिए। (गन्ती २५:१-९) यौन अनैतिकता मृत्युदायी हुन्छ! अनैतिक विचार तथा इच्छाहरू अनियन्त्रित तवरमा मनभित्र खेल्न दिनु भनेको हृदयलाई “खिइन” दिनु हो। येशूले यस्तो भन्नुभयो: “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ तर म तिमीहरूलाई भन्दछु, ‘जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।’”—मत्ती ५:२७, २८.
९ ‘स्त्रीहरूलाई खराब इच्छाले हेर्नुको’ परिणाम के हुन्छ, जलप्रलयपूर्व नूहको समयमा अनाज्ञाकारी स्वर्गदूतहरूको पतित सोचाइले पुष्टि दिन्छ। (उत्पत्ति ६:१, २) स्मरण रहोस्, राजा दाऊदको जीवनमा सबैभन्दा दुःखलाग्दो घटना स्त्रीलाई कुदृष्टिले हेर्दा भएको थियो। (२ शमूएल ११:१-४) यसको विपरीत विवाहित धर्मी अय्यूबले ‘स्त्रीलाई कुदृष्टिले नहेर्ने दृढ़ संकल्प गरे।’ अतः अनैतिकताबाट अलग बसे र आफूलाई निष्ठावान् साबित गरे। (अय्यूब ३१:१-३, ६-११) आँखा हृदयको झ्यालजस्तै हुनसक्छ। अनि भ्रष्ट हृदयबाट नै धेरै दुष्ट कुराहरू निस्किन्छन्।—मर्कूस ७:२०-२३.
१० हामीले येशूका शब्दहरू लागू गऱ्यौं भने, अश्लील कुराहरू हेरेर वा सँगी मसीही, सहकर्मी वा अरूहरूबारे अनैतिक खराब विचारहरू बेलगाम मनमा खेलाउँदैनौं। फलाममा लागेको खियालाई हटाउन टकटक्याएर मात्र पुग्दैन। तसर्थ, ती अनैतिक विचार तथा झुकाउहरूलाई हल्का नठान्नुहोस्। अनैतिक कुराहरूमा आकर्षित हुनदेखि जोगिन बलियो कदम चाल्नुहोस्। (तुलना गर्नुहोस् मत्ती ५:२९, ३०.) पावलले सँगी विश्वासीहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरूका अंगहरूलाई . . . वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो, यिनै कुराहरूका खातिरमा परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि पर्छ।” हो, यौन अनैतिकताजस्ता कुराहरूमाथि “परमेश्वरको क्रोध” सरापको रूपमा आउँदैछ। त्यसैले यी कुराहरूमा हाम्रो अंगलाई आत्मसंयमद्वारा “वशमा” पार्नुपर्छ।—कलस्सी ३:५, ६.
विद्रोही गुनासोहरू विरुद्ध चेताउनी
११, १२. (क) पहिलो कोरिन्थी १०:९ मा के चेताउनी दिइएको छ र कुन घटना उल्लिखित छ? (ख) पावलको चेताउनीले हामीलाई कस्तो असर पार्नुपर्छ?
११ पावलले अर्को चेताउनी यसरी दिन्छन्: “हामी प्रभुको परीक्षा नगरौं, जसरी तिनीहरूमध्ये कुनै कुनैले गरेथे, र सर्पहरूबाट नष्ट भएथे।” (१ कोरिन्थी १०:९) एदोमको सिमाना नजीकै उजाडस्थानमा पैदलयात्रा गर्दा इस्राएलीहरूले “परमेश्वर र मोशाको विरुद्ध यसो भन्नलागे, ‘यस उजाड़-स्थानमा मर्न हामीलाई तपाईंहरूले के कारण मिश्र देशबाट ल्याउनुभयो?’” र तिनीहरूले अद्भुत रूपमा दिइएको मन्नबारे यसो भने: “‘किनकि यहाँ रोटी छैन, पानी पनि छैन, र यस तुच्छ खानेकुरादेखि हामीलाई वाक्कै लागिसक्यो।’” (गन्ती २१:४, ५) विचार गर्नुहोस्! उहाँका प्रबन्धहरूलाई तुच्छ ठान्दै ती इस्राएलीहरूले ‘परमेश्वरको विरुद्ध बोलि नै रहे’!
१२ यस्तो गुनासो गरेर इस्राएलीहरूले यहोवाको धीरजको परीक्षा गरिरहेका थिए। तिनीहरू सजायबाट बचेनन् किनभने यहोवाले थुप्रै विषालु सर्प पठाउनुभयो र सर्पले डसेर तिनीहरूमध्ये धेरै मरे। मानिसहरूले पश्चात्ताप गरे र मोशाले तिनीहरूको लागि बिन्ती गरेपछि त्यस विपत्तिको अन्त भयो। (गन्ती २१:६-९) विशेषगरि परमेश्वर र उहाँको ईश्वरतान्त्रिक प्रबन्धहरूको विद्रोह गर्ने, गुनासो गर्ने मनोवृत्ति नदेखाउन निश्चय यो घटना हाम्रोलागि चेताउनीमूलक छ।
गनगन विरुद्ध चेताउनी
१३. कुन कुराको विरुद्ध १ कोरिन्थी १०:१० मा हामीलाई चेताउनी दिइएको छ र पावलले कस्तो प्रकारको विद्रोहबारे कुरा गरिरहेका थिए?
१३ उजाडस्थानमा इस्राएलीहरू समावेश भएको अन्तिम उदाहरणलाई पावलले उद्धृत गर्दै यसो लेख्छन्: “तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये कुनै कुनैले गनगन गरेथे, र नष्ट पार्नेबाट नष्ट भएथे।” (१ कोरिन्थी १०:१०) कोरह, दातान, अबीराम र तिनीहरूका सँगीहरूले अईश्वरतान्त्रिक ढंगमा चलेर मोशा तथा हारूनको अख्तियारलाई चुनौती दिंदा विद्रोह सुरु भयो। (गन्ती १६:१-३) विद्रोहीहरूको नाशपछि इस्राएलीहरूले गनगन गर्न थाले। विद्रोहीहरूको नाश अन्यायीपूर्ण भयो भन्ने तर्क गर्दै तिनीहरूले गनगन गरे। गन्ती १६:४१ मा यसो भन्छ: “भोलिपल्ट इस्राएलीहरूका जम्मै समुदाय मोशा र हारूनका विरुद्ध यसो भनेर गनगनाए, ‘तपाईंहरूलेनै परमप्रभुका मानिसहरूलाई मार्नुभएको हो।’” त्यतिबेला दिइएको न्यायको आलोचना गर्दा १४,७०० इस्राएलीहरू ईश्वरीय दण्डद्वारा नाश भए।—गन्ती १६:४९.
१४, १५. (क) मण्डलीमा घुसेका “अधर्मी मानिसहरू[को]” पापमध्ये एउटा के थियो? (ख) कोरहसम्बन्धी घटनाबाट हामी के सिक्नसक्छौं?
१४ सा.यु. प्रथम शताब्दीमा मसीही मण्डलीमा घुसेका “अधर्मी मानिसहरू” झूटा शिक्षक र गनगन गर्नेहरू साबित भए। यी मानिसहरूले त्यतिबेला मण्डलीको आध्यात्मिकताको निरीक्षण गर्न नियुक्त अभिषिक्त जनहरूको ‘प्रभुत्वलाई तुच्छ ठाने, उच्च पदाधिकारीहरूको निन्दा गरे।’ यी अधर्मी धर्मत्यागीहरूबारे चेला यहूदाले फेरि यसो भने: “फतफताउनेहरू, आफ्नै भाग्यलाई दोष लाउनेहरू, आफ्ना कुइच्छाअनुसार हिंड्नेहरू।” (यहूदा ३, ४, ८, १६) आज केही मानिसहरू गनगन गर्छन् किनभने तिनीहरूले आफ्नो हृदयभित्र आध्यात्मिक तवरमा बिस्तारै चालै नपाई खियारूपी मनोवृत्ति विकास हुने मौका दिन्छन्। प्रायः तिनीहरू मण्डलीका निरीक्षकहरूको असिद्धतामाथि ध्यान केन्द्रित गर्छन् र तिनीहरू विरुद्ध गनगन गर्न थाल्छन्। तिनीहरूको गनगन र गुनासो ‘विश्वासी दासका’ प्रकाशनहरूको आलोचना गर्ने हदसम्म समेत पुग्नसक्छ।
१५ धर्मशास्त्रका विषयहरूमा कुनै सन्देह नराखी प्रश्नहरू सोध्नु अनुचित होइन। तर हाम्रो घनिष्ठ साथीहरूबीच नकारात्मक मनोवृत्ति विकास हुने आलोचनात्मक छलफलहरू सुरु भयो भने नि? स्वयंलाई यी प्रश्नहरू सोध्नु उचित हुनेछ, ‘गनगन गर्दा परिणाम के हुनेछ? गनगन गर्न बन्द गरेर नम्रतापूर्वक बुद्धिको निम्ति प्रार्थना गर्नु के धेरै असल हुनेछैन र?’ (याकूब १:५-८; यहूदा १७-२१) मोशा तथा हारूनको अख्तियारको विद्रोह गर्ने कोरह र तिनका समर्थकहरू आफ्नो विचारधारा तर्कसंगत छ भन्नेबारे निश्चित भए होलान् र तिनीहरूले आफ्नो प्रवृत्तिबारे जाँचेनन्। जे सुकै होस् तिनीहरू पूर्णतया गलत थिए। र त्यस्तै कोरह र अन्य विद्रोहीको विनाशमा गनगन गर्ने ती इस्राएलीहरू पनि गलत थिए। आफ्ना प्रवृत्तिहरू जाँच्न, गनगन तथा गुनासो गर्ने बानी हटाउन र यहोवालाई हाम्रो सुधार गर्न मौका दिनको लागि यस्ता उदाहरणहरूबाट प्रेरित हुनु कति बुद्धिमानी हुनेछ!—भजन १७:१-३.
पाठ सिक्नुहोस् र आशिष्हरूबाट आनन्द उठाउनुहोस्
१६. पहिलो कोरिन्थी १०:११, १२ मा दिइएको सल्लाहको अर्थ के हो?
१६ ईश्वरीय प्रेरणाद्वारा लेखेका चेताउनीमूलक सन्देशहरूको सूचीलाई पावल यस्तो सल्लाहसहित अन्त गर्छन्: “यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे, र हाम्रो चेताउनीको निम्ति लेखिएका हुन्, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ। यसकारण म खड़ा छु भन्ने जसले विचार गर्दछ, त्यो होशियार रहोस, नत्रता त्यो लड़छ।” (१ कोरिन्थी १०:११, १२) मसीही मण्डलीमा आफ्नो स्थानलाई हल्कासित नलेऔं।
१७. हामीले आफ्नो हृदयमा अनुचित प्रवृत्ति भेट्टायौं भने के गर्नुपर्छ?
१७ फलाममा खिया लाग्ने सम्भावना भएझैं हामी पापी आदमका सन्तानहरू वंशानुगत खराबतर्फ प्रवृत्त छौं। (उत्पत्ति ८:२१; रोमी ५:१२) तसर्थ, हाम्रो हृदयमा अनुचित प्रवृत्ति भेट्टाउँदा हामी निरुत्साहित हुनुहुँदैन। बरु हामी निर्णायक ढंगमा कार्य गरौं। आद्र हावामा वा क्षारक वातावरणमा राख्यो भने फलाममा खिया चाँडै लाग्छ। शैतानी संसारको भ्रष्ट मनोरञ्जन, व्यापक रूपमा फैलिएको अनैतिकता र नकारात्मक झुकाउ भएको “हावा[बाट]” हामी अलग बस्नु अत्यावश्यक छ।—एफिसी २:१, २, NW.
१८. मानिसजातिका खराब झुकाउहरूबारे यहोवाले के गर्नुभएको छ?
१८ यहोवाले हामी मानवजातिलाई वंशानुगत प्राप्त खराब झुकाउको सामना गर्ने माध्यम उपलब्ध गर्नुभएको छ। उहाँमा विश्वास गर्नेहरूले अनन्त जीवन पाओस् भनेर परमेश्वरले आफ्नो एक मात्र प्रिय पुत्र दिनुभएको छ। (यूहन्ना ३:१६) हामी येशूको पाइलामा हिंड्यौं र ख्रीष्टको जस्तै व्यक्तित्व प्रदर्शन गऱ्यौं भने अरूको निम्ति आशिष् हुनेछौं। (१ पत्रुस २:२१) हामीले सराप होइन तर ईश्वरीय आशिष्हरू प्राप्त गर्नेछौं।
१९. धर्मशास्त्रीय उदाहरणहरूबारे विचार गरेर हामीले कसरी लाभ उठाउनसक्छौं?
१९ आज हामीले पुरातन इस्राएलीहरूजस्तै गल्ती गर्ने सम्भावना भए तापनि हाम्रो मार्गनिर्देशनको निम्ति परमेश्वरको सम्पूर्ण लिखित वचन छ। यसका पृष्ठहरूद्वारा हामीले यहोवाले मानिसजातिसित गर्नुभएको व्यवहारहरूलगायत ‘महिमा उज्जवल र परमेश्वरकै तत्त्वको प्रतिबिम्ब गर्ने’ येशूमा प्रदर्शित उहाँको गुनहरूबारे सिक्नसक्छौं। (हिब्रू १:१-३; यूहन्ना १४:९, १०) प्रार्थनाद्वारा र लगनशील भई धर्मशास्त्रको अध्ययन गरेर हामीले “प्रभुको मन” पनि जान्नसक्छौं। (१ कोरिन्थी २:१६) प्रलोभनहरूको सामना गर्नुपर्दा र हाम्रो विश्वासमाथि अन्य परीक्षाहरू आइपर्दा पुरातन धर्मशास्त्रीय उदाहरणहरू र विशेषगरि येशू ख्रीष्टको उत्कृष्ट उदाहरणलाई विचार गऱ्यौं भने हामी लाभान्वित हुनसक्छौं। हामीले त्यसो गऱ्यौं भने ईश्वरीय सरापको अनुभव गर्नुपर्ने छैन। बरु हामीले आज यहोवाको अनुग्रहको आनन्द उठाउनेछौं र सधैंभरि उहाँका आशिष्हरू पाउनेछौं।
[फुटनोट]
a प्रहरीधरहरा (अंग्रेजी) जुलाई १५, १९९२, पृष्ठ ४ हेर्नुहोस्।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ पावलको मूर्तिपूजकहरू नहुनू भन्ने सल्लाह हामी कसरी लागू गर्नसक्छौं?
◻ व्यभिचार विरुद्ध प्रेरित पावलको चेताउनी पालन गर्न हामी के गर्नसक्छौं?
◻ गनगन र गुनासो गर्नदेखि हामी किन अलग बस्नुपर्छ?
◻ हामीले सरापहरू होइन तर ईश्वरीय आशिष्हरू कसरी पाउनसक्छौं?
[पृष्ठ १८-मा भएको चित्र]
हामी ईश्वरीय आशिष्हरू चाहन्छौं भने मूर्तिपूजाबाट अलग बस्नुपर्छ
[पृष्ठ २०-मा भएको चित्र]
खिया हटाउनुपरेझैं हाम्रो हृदयका अनुचित इच्छाहरू हटाउन सकारात्मक पाइला चालौं