आशिष्हरू वा सरापहरू —छनौट तपाईंकै हो!
“मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवनै रोज र तिमीहरू . . . जिउनेछौ।”—व्यवस्था ३०:१९.
१. मानवहरूलाई के क्षमता दिइएको थियो?
यहोवा परमेश्वरले हाम्रो रचना गर्नुभयो। उहाँले आफ्ना बौद्धिक मानव प्राणीहरूलाई सही र गलत छुट्याउने स्वतन्त्र अभिकर्ताको रूपमा सृष्टि गर्नुभयो। हामीलाई केवल स्वचालित यन्त्र वा यन्त्र मानवको रूपमा सृष्टि गरिएको थिएन तर छनौटहरू गर्ने सुअवसर तथा जिम्मेवारी दिइएको थियो। (भजन १००:३) प्रथम मानवहरू आदम र हव्वा आफ्नो मार्ग छनौट गर्न स्वतन्त्र थिए र आफ्नो छनौटको लागि परमेश्वरप्रति जवाफदेही थिए।
२. आदमले के छनौट गरे र त्यसको नतिजा कस्तो भयो?
२ सृष्टिकर्ताले पार्थिव प्रमोदवनमा मानवले चिरकालीन आशिष् पाऊन् भनेर प्रचुर मात्रामा प्रबन्धहरू गर्नुभएको छ। त्यो उद्देश्य किन अहिलेसम्म पूरा नभएको त? किनभने आदमले गलत छनौट गरे। यहोवाले मानिसलाई यस्तो आज्ञा दिनुभएको थियो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् त्यसै दिन तँ मर्नेछस्।” (उत्पत्ति २:१६, १७) आदमले आज्ञा पालन गर्न छनौट गरेको भए हाम्रो प्रथम आमाबुबाले आशिष् पाउनेथिए। अनाज्ञाकारिताले मृत्यु ल्यायो। (उत्पत्ति ३:६, १८, १९) अतः आदमको सबै सन्तानमा पाप र मृत्यु व्याप्त भयो।—रोमी ५:१२.
आशिष्हरू सम्भव बनाइयो
३. मानिसजातिको निम्ति प्रबन्ध गर्नुभएको उद्देश्य पूरा हुनेछ भनेर परमेश्वरले कसरी आश्वासन दिनुभयो?
३ यहोवा परमेश्वरले अन्ततः मानिसजातिलाई आशिष् दिने उद्देश्य पूरा गर्न एउटा माध्यम स्थापना गर्नुभयो। उहाँ स्वयंले अदनमा एक सन्तानबारे यसरी भविष्यवाणी गर्नुभएको थियो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीच म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।” (उत्पत्ति ३:१५) परमेश्वरले पछि अब्राहामको वंश वा त्यस सन्तान मार्फत आज्ञाकारी मानिसहरूले आशिष्हरू पाउनेछन् भनेर प्रतिज्ञा गर्नुभयो।—उत्पत्ति २२:१५-१८.
४. मानिसजातिलाई आशिष् दिन यहोवाले कस्ता प्रबन्धहरू गर्नुभएको छ?
४ येशू ख्रीष्ट प्रतिज्ञा गरिएको सन्तान साबित हुनुभयो। मानिसजातिलाई आशिष् दिन यहोवाले गर्नुभएको प्रबन्धमा येशूले निर्वाह गर्नुहुने भूमिकाबारे मसीही प्रेरित पावलले यस्तो लेखे: “परमेश्वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” (रोमी ५:८) परमेश्वरको आज्ञा पालन गर्ने र येशू ख्रीष्टको छुडौतीको बलिदानबाट उपलब्ध लाभ उठाउने पापी मानिसजातिले आशिष्हरूको आनन्द उठाउनेछन्। (प्रेरित ४:१२) के तपाईं आज्ञाकारिता र आशिष्हरू रोज्नुहुनेछ? अनाज्ञाकारिताको परिणाम एकदमै भिन्न हुनेछ।
सरापहरूबारे नि?
५. “सराप” शब्दको अर्थ के हो?
५ आशिष्को विपरीत सराप हो। “सराप” शब्दको अर्थ कसैबारे खराब वा अशुभ बोल्नु हो। क्वेला भन्ने हिब्रू शब्द मूल क्रिया क्वाला-बाट लिइएको हो। यसको शाब्दिक अर्थ “ज्योति होओ” हुन्छ। तथापि, प्रतीकात्मक अर्थमा प्रयोग गर्दा यसको अर्थ ‘सराप्नु’ वा ‘तुच्छ सम्झनु’ हुन्छ।—लेवी २०:९; २ शमूएल १९:४३.
६. पुरातन बेतेल नजीकै एलीशासित सम्बन्धित कुन घटना भयो?
६ सराप दिंदा तुरुन्तै भएको नाटकीय उदाहरणलाई विचार गर्नुहोस्। यो घटना, परमेश्वरको अगमवक्ता एलीशा यरिहो शहरबाट बेतेलमा जाँदा भएको थियो। विवरणले यसो भन्छ: “जब तिनी बाटोमा गइरहेका थिए, तब शहरबाट ससाना ठिटाहरू आएर तिनलाई यसो भन्दै जिस्काउनलागे, ‘ए मुडुले, जाऊ, जाऊ।’ तिनले फर्केर तिनीहरूलाई हेरी परमप्रभुको नाउँमा सराप दिए। अनि जंगलबाट दुइवटा माऊ भालू निस्केर तिनीहरूमध्येका बियालीस जनालाई फहराए।” (२ राजा २:२३, २४) एलीशाले ती जिस्क्याउने केटाकेटीहरूलाई सराप्दा के शब्द प्रयोग गरे त्यो त प्रकाश पारिएको छैन। तैपनि त्यो मौखिक सराप प्रभावकारी साबित भयो किनभने यो परमेश्वरको इच्छाअनुरूप चल्ने अगमवक्ताले यहोवाको नाउँमा बोलेका थिए।
७. एलीशालाई जिस्क्याउने केटाकेटीहरूलाई के भयो र किन?
७ यसरी जिस्क्याउनुको मुख्य कारण एलीशाले एलियाको आधिकारिक वस्त्र लाएकोले हो जस्तो देखिन्छ र ती केटाकेटीहरूले त्यस अगमवक्ताको कोही पनि उत्तराधिकारी भएको चाहँदैनन् थिए। (२ राजा २:१३) एलीशा एलियाको उत्तराधिकारी भएकोमा जिस्क्याउनेहरूलाई जवाफ दिन तथा ती केटाकेटीहरू र तिनीहरूका आमाबाबुहरूलाई यहोवाको अगमवक्ताप्रति उचित आदर देखाउनेबारे पाठ सिकाउन एलीशाले एलियाको परमेश्वरको नाउँमा ती जिस्क्याउने हूललाई सरापे। जंगलबाट निस्केका दुइ पोथी भालूले ती जिस्क्याउनेहरूमध्ये ४२ जनालाई चिथोरेर टुक्रा टुक्रा पार्न दिएर यहोवाले आफ्नो अगमवक्ताप्रति अनुमोदन प्रकट गर्नुभयो। यहोवाले निर्णायक ढंगमा व्यवहार गर्नुभयो किनभने त्यतिबेला पृथ्वीमा उहाँले चलाइ रहनुभएको सञ्चार माध्यमलाई तिनीहरूले घोर अनादर गरिरहेका थिए।
८. कस्तो प्रत्याशा राख्दै इस्राएलका मानिसहरूले के गर्न स्वीकारे?
८ वर्षौंअघि इस्राएलीहरूले पनि परमेश्वरको प्रबन्धहरूप्रति त्यसरी नै आदरको कमी देखाएका थिए। यो यसरी विकास भयो: सा.यु.पू. १५१३ मा यहोवाले इस्राएलीहरूलाई मिश्रीहरूको दासत्वबाट “गरुड़का पखेटामाझ बोकेर” ल्याउनुभएझैं छुटकारा दिनुभएर अनुग्रह देखाउनुभयो। तत्पश्चात् तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्ने प्रतिज्ञा गरे। परमेश्वरको अनुग्रह प्राप्त गर्न आज्ञाकारिता कत्तिको आवश्यक छ, यहाँ ध्यान दिनुहोस्। यहोवाले मोशा मार्फत यसो भन्नुभयो: “तिमीहरूले मेरो कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो।” त्यसपछि मानिसहरूले सकारात्मक जवाफ दिंदै यसो भने: “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” (प्रस्थान १९:४, ५, ८; २४:३) यहोवालाई प्रेम गर्छौं, उहाँप्रति समर्पित छौं भनेर इस्राएलीहरूले दाबी गरे र उहाँको आज्ञा पालन गर्ने प्रतिज्ञा गरे। त्यसो गर्दा महान् आशिष्हरू पाउनेथिए।
९, १०. मोशा सीनै पर्वतमा छँदा इस्राएलीहरूले के गरे र त्यसको परिणाम के भयो?
९ ‘परमेश्वरको औंलाले’ ढुंगामा त्यस सम्झौताको आधारभूत सिद्धान्तहरू लेख्नुअघि ईश्वरीय सराप आवश्यक भयो। (प्रस्थान ३१:१८) किन तिनीहरू त्यस्तो दुःखदायी नतिजाहरूको योग्य थिए? के इस्राएलीहरूले यहोवाले बोल्नुभएका सबै कुरा पालन गर्ने इच्छा व्यक्त गरेका थिएनन् र? हो, तिनीहरूले आफ्नो वचन-द्वारा आशिष्हरू खोजे तर कार्यहरू-द्वारा आफूलाई सरापको योग्य भएको देखाए।
१० दश आज्ञा लिन मोशा ४० दिनको लागि सीनै पर्वतमा जाँदा इस्राएलीहरूले यहोवाप्रति वफादार रहने आफ्नो पहिलाको प्रतिज्ञालाई तोडे। त्यस विवरणले यसो भन्छ, “जब मानिसहरूले मोशालाई पर्वतबाट ओर्ह्लन बियाँलो गरेका देखे, तब तिनीहरू हारूनकहाँ भेला भएर तिनलाई भन्नलागे, ‘उठ्नुहोस्, र हाम्रा अगिअगि जानलाई देवताहरू बनाउनुहोस्, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने यी मोशालाई के भयो हामी जान्दैनौं!’” (प्रस्थान ३२:१) यहोवाले आफ्ना जनहरूलाई नेतृत्व र निर्देशन दिन चलाउनुभएको मानव अभिकर्ताप्रति देखाएको अनादरको यो एउटा अर्को उदाहरण हो। इस्राएलीहरू मिश्री मूर्तिपूजाको अनुकरण गर्न प्रलोभित भए र यसको परिणाम भयानक भयो। तिनीहरूमध्ये ३,००० जना एकै दिनमा तरबारद्वारा मारिए।—प्रस्थान ३२:२-६, २५-२९.
आशिष्हरू र सरापहरूको घोषणा
११. यहोशूले आशिष् र सरापहरूसम्बन्धी कस्ता निर्देशनहरू पूरा गरे?
११ परमेश्वरप्रति आज्ञाकारी हुने मार्ग छनौट गर्दा प्राप्त हुने आशिष्हरूबारे मोशाले इस्राएल राष्ट्रको उजाडस्थानमा ४० वर्षे पैदलयात्राको अन्ततिर सूचीबद्ध गरे। यहोवाप्रति आनाज्ञाकारी हुने छनौट गरेमा इस्राएलीहरूले अनुभव गर्ने सरापहरू पनि तिनले एक एक गर्दै बताए। (व्यवस्था २७:११–२८:१०) त्यसपछि इस्राएल प्रतिज्ञा गरेको देशमा प्रवेश गऱ्यो। यी आशिष् र सरापहरू समावेश भएको मोशाका निर्देशनहरू यहोशूले पालन गरे। इस्राएलको छ कुल एबाल डाँडाको फेदमा खडा भए र अर्को छ कुल गीरिज्जीम डाँडाको सामुन्ने खडा भए। लेवीहरू चाहिं त्यसबीचको उपत्यकामा खडा भए। स्पष्टतः एबाल डाँडाको सामुन्ने खडा भएको कुलले तिनीहरूलाई पढेर सुनाएको सराप वा अभिशापहरूलाई “आमेन” भनेको हुनुपर्छ। अरूले गीरिज्जीम डाँडाको फेदको दिशामा लेवीहरूले पढेर सुनाएका आशिष्हरूप्रति प्रतिक्रिया देखाएको हुनुपर्छ।—यहोशू ८:३०-३५.
१२. लेवीहरूले घोषणा गरेका केही सरापहरू के थिए?
१२ लेवीहरूले यसो भन्दै गरेको कल्पना गर्नुहोस्: “कारीगरले खोपेको वा ढालेको परमप्रभुलाई घीनलाग्ने मूर्ति गुप्तमा स्थापन गर्ने मानिस श्रापित होस्। . . . आफ्ना आमा-बाबुलाई अपमान गर्ने श्रापित होस्। . . . आफ्नो छिमेकीको साँध-सीमाना हटाउने श्रापित होस्। . . . अन्धालाई उल्टा बाटो देखाई दिने मान्छे श्रापित होस्। . . . परदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने श्रापित होस्। . . . आफ्ना बाबुकी कुनै स्वास्नीसँग सुत्ने श्रापित होस्, किनकि त्यसले आफ्ना बाबुलाई शर्ममा पाऱ्यो। . . . पशुसँग संभोग गर्ने श्रापित होस्। . . . आफ्ना बाबु वा आमाकी छोरी, अर्थात् आफ्नी झड़केली बहिनीसँग सुत्ने श्रापित होस्। . . . आफ्नी सासूसित सुत्ने श्रापित होस्। . . . ढुकेर कसैलाई मार्ने श्रापित होस्। . . . पैसा लिएर निर्दोष मान्छेको हत्या गर्ने श्रापित होस्। . . . यस व्यवस्थाको वचन पूरा गरी पालन नगर्ने श्रापित होस्।” हरेक सरापपछि एबाल डाँडा सामुन्ने खडा भएका कुलहरूले “आमेन!” भने।—व्यवस्था २७:१५-२६.
१३. लेवीहरूले घोषणा गरेका केही आशिष्हरू तपाईं आफ्नै शब्दमा कसरी व्यक्त गर्नुहुन्छ?
१३ अब लेवीहरूले पढेका प्रत्येक आशिष्हरूप्रति गीरिज्जीम डाँडाको सामुन्ने खडा भएकाहरूले मौखिक प्रतिक्रिया देखाएको कल्पना गर्नुहोस्: “तिमीहरूले शहरमा आशिष पाउनेछौ, र खेतीपातीमा आशिष पाउनेछौ। तिमीहरूका सन्तान, उब्जनी, गाई-वस्तु, भेड़ा-बाख्रामाथि आशिष पर्नेछ, र तिमीहरूको वृद्धि हुनेछ। तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आह्रीमा आशिष पर्नेछ। भित्र आउँदा र बाहिर जाँदा तिमीहरू आशीषित हुनेछौ।”—व्यवस्था २८:३-६.
१४. इस्राएलीहरूले के को आधारमा आशिष्हरू प्राप्त गर्नेथिए?
१४ कुन आधारमा यी आशिष्हरू प्राप्त हुन्थ्यो? विवरणले यसो भन्छ: “आज मैले तिमीहरूलाई आदेश गरेका उहाँका सबै आज्ञाहरू मानेर परमप्रभु तिमीहरूका परमेश्वरको वचन होशियार साथ पालन गऱ्यौ भने उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ। परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गऱ्यौ भने यी सबै आशिष तिमीहरूलाई लाग्ने छन्, र तिमीहरू आशीषित हुनेछौ।” (व्यवस्था २८:१, २) हो, परमेश्वरप्रति आज्ञाकारी हुनु नै ईश्वरीय आशिष्हरू प्राप्त गर्ने कुञ्जी थियो। तर आज हाम्रो बारेमा नि? के हामी व्यक्तिगत रूपमा “यहोवाको आवाज सुन्दै” आशिष्हरू र जीवनको छनौट गर्नेछौं?—व्यवस्था ३०:१९, २०.
नियालेर हेर्दा
१५. व्यवस्था २८:३ मा लिपिबद्ध आशिष्मा के स्पष्ट पारियो र हामीले त्यसबाट कसरी लाभ उठाउनसक्छौं?
१५ यहोवाप्रति आज्ञाकारी भएमा एक इस्राएलीले प्राप्त गर्नसक्ने केही आशिष्हरू हामी हेरौं। उदाहरणका लागि, व्यवस्था २८:३ ले यसो भन्छ: “तिमीहरूले शहरमा आशिष पाउनेछौ, र खेतीपातीमा आशिष पाउनेछौ।” परमेश्वरबाट आशिषित् हुनु कुनै एउटा स्थान वा कार्यभारमा मात्र निर्भर थिएन। कसैलाई आफ्नो परिस्थितिले गर्दा पासोमा परेको जस्तो लाग्ला किनभने तिनीहरू भौतिक रूपमा कठिनाइले घेरेको क्षेत्रमा वा युद्धग्रस्त देशमा बसेका होलान्। अरू चाहिं अर्कै इलाकामा यहोवाको सेवा गर्ने तीव्र इच्छा गर्लान्। तिनीहरू मण्डलीमा सेवकाई सेवक वा प्राचीनको रूपमा नियुक्त नभएकोमा केही मसीही पुरुषहरू निरुत्साहित हुनसक्छन्। तिनीहरू अग्रगामी वा मिसनरीको रूपमा पूर्ण-समय सेवकाईमा भाग लिनसक्ने अवस्थामा नभएकोले कहिलेकाहीं मसीही स्त्रीहरू हतोत्साहित हुनसक्छन्। यद्यपि, ‘यहोवाको वचन होशियार साथ पालन गर्ने व्यक्ति अहिले र सधैंको लागि आशिषित् हुनेछ।’
१६. आज कसरी यहोवाको संगठनले व्यवस्था २८:४ को सिद्धान्त अनुभव गरिरहेको छ?
१६ व्यवस्था २८:४ ले यसो भन्छ: “तिमीहरूका सन्तान, उब्जनी, गाई-वस्तु, भेड़ा-बाख्रामाथि आशिष पर्नेछ, र तिमीहरूको वृद्धि हुनेछ।” आज्ञाकारी इस्राएलीले व्यक्तिगत रूपमा अनुभव गर्नसक्ने कुरालाई “तिमी” भनेर प्रयोग गरिएको एकवचन हिब्रू सर्वनामले संकेत गर्छ। आज यहोवाका आज्ञाकारी सेवकहरूबारे नि? यहोवाका साक्षीहरूको संगठनमा भइरहेको विश्वव्यापी वृद्धि तथा विस्तार, ५०,००,००० भन्दा बढी उद्घोषकहरूले राज्यको सुसमाचार सुनाउन गरिरहेको निष्कपट प्रयासमा परमेश्वरले दिनुभएको आशिष्को परिणाम हो। (मर्कूस १३:१०) अझ धेरै वृद्धिको सम्भाव्यता प्रत्यक्ष देखिन्छ किनभने सन् १९९५ को प्रभुको साँझको भोजमा १,३०,००,००० भन्दा बढी उपस्थित भएका थिए। के तपाईंले परमेश्वरको राज्यका आशिष्हरूको आनन्द उठाइ रहनुभएको छ?
इस्राएलको छनौटले फरक पाऱ्यो
१७. आशिषित् वा श्रापित ‘हुनु’ कुन कुरामा निर्भर थियो?
१७ भनौं भने, आज्ञाकारी इस्राएलीले आशिष्हरू पाउनेथिए। यस्तो प्रतिज्ञा गरिएको थियो: “यी सबै आशिष तिमीहरूलाई लाग्ने छन्, र तिमीहरू आशिषित हुनेछौ।” (व्यवस्था २८:२) त्यस्तैगरि सरापबारे यस्तो भनिएको थियो: “यी सबै सराप तिमीहरूलाई लाग्नेछ, र तिमीहरू श्रापित हुनेछौ।” (व्यवस्था २८:१५) तपाईं पुरातन समयको इस्राएली हुनुभएको भए आशिषित् वा श्रापित के ‘हुनुहुन्थ्यो’? त्यो तपाईं परमेश्वरप्रति आज्ञाकारी हुने वा नहुने त्यसमा निर्भर हुनेथियो।
१८. इस्राएलीहरू सरापहरूबाट कसरी बच्नसक्थे?
१८ व्यवस्था २८:१५-६८ मा अनाज्ञाकारिताका कष्टप्रद परिणामहरू सरापको रूपमा प्रस्तुत गरिएका छन्। केही त व्यवस्था २८:३-१४ मा बताइएको आज्ञाकारिताका आशिष्हरूको ठीक विपरीत छन्। इस्राएलका मानिसहरूले प्रायः झूटो उपासना गर्ने छनौट गरेकोले सरापहरू आइपरेका हुन्। (एज्रा ९:७; यर्मिया ६:६-८; ४४:२-६) कस्तो दुःखलाग्दो कुरा! असल र खराबबारे स्पष्टसित व्याख्या गरेर दिइएको यहोवाको स्वास्थ्यकर नियम तथा सिद्धान्तहरूप्रति आज्ञाकारी भएर सही छनौट गरेका भए ती परिणामहरूबाट बच्न सकिन्थ्यो। आज धेरैले दुःख तथा पीडाहरू अनुभव गर्छन् किनभने तिनीहरूले झूटो धर्म पछ्याउने, अनैतिक यौनसम्बन्ध राख्ने, अवैध लागू पदार्थ सेवन गर्ने, मदिरापानमा लग्गू हुने र अन्य त्यस्तै बाइबल सिद्धान्तहरू विपरीत कार्यहरू गर्ने छनौट गरेका छन्। पुरातन इस्राएल र यहूदामा जस्तै गलत छनौट गर्नुको परिणाम ईश्वरीय अनुमोदन गुमाउनु र अनावश्यक दुःख भोग्नु हो।—यशैया ६५:१२-१४.
१९. यहूदा र इस्राएलले यहोवाको आज्ञा पालन गर्ने छनौट गर्दा प्राप्त गरेको आनन्दमय अवस्थाबारे व्याख्या गर्नुहोस्।
१९ इस्राएलले यहोवाको आज्ञा पालन गर्दा मात्र प्रचुर मात्रामा आशिष्हरू पायो र शान्ति छायो। उदाहरणका लागि, राजा सुलेमानको समयबारे हामी यस्तो पढछौं: “यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैं असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र सुखसित रहन्थे . . . तिनको राजत्वकालभरिनै यहूदा र इस्राएलमा शान्ति थियो, औ दानदेखि बेर्शेबासम्मै हरेक मानिसले आफ्नो आफ्नै दाखबारी र नेभाराका बोटमनि सुखपूर्वक दिन बिताउँथे।” (१ राजा ४:२०-२५) राजा दाऊदको समयमा परमेश्वरका शत्रुहरूले धेरै विरोध गरे तापनि सत्यको परमेश्वरको आज्ञा पालन गर्ने छनौट गर्दा इस्राएल राष्ट्रले यहोवाको समर्थन र आशिष्को महसुस गरे।—२ शमूएल ७:२८, २९; ८:१-१५.
२०. परमेश्वर मानवहरूबारे कुन कुरामा विश्वस्त हुनुहुन्छ?
२० तपाईं परमेश्वरको आज्ञा पालन गर्नुहुनेछ वा हुनेछैन? इस्राएलीहरूले छनौट गर्नसक्थे। हामीले आदमबाट वंशानुगत पापी झुकाउ पाएको भए तापनि हामीले पनि स्वतन्त्र भई छनौट गर्ने वरदान पाएका छौं। शैतान, यस दुष्ट रीतिरिवाज र हाम्रो असिद्धताको बावजूद हामी सही छनौट गर्नसक्छौं। यसबाहेक परीक्षा र प्रलोभनको समयमा पनि वचनद्वारा मात्र होइन तर कार्यद्वारा पनि सही छनौट गर्नेहरू हुनेछन् भनेर हाम्रो सृष्टिकर्ता विश्वस्त हुनुहुन्छ। (१ पत्रुस ५:८-१०) के तपाईं तिनीहरूमध्ये हुनुहुनेछ?
२१. अर्को लेखमा कुन कुरा छलफल गरिनेछ?
२१ बितेका समयका उदाहरणहरूलाई विचार गर्दै अर्को लेखमा हाम्रो मनोवृत्ति र कार्यहरूको विश्लेषण गर्नसक्नेछौं। मोशा मार्फत परमेश्वरले दिनुभएका वचनहरूप्रति हामी सबैले कृतज्ञतासाथ प्रतिक्रिया देखाऔं: “मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू . . . जिउनेछौ।”—व्यवस्था ३०:१९.
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ कसरी यहोवाले पापी मानवहरूका लागि आशिष्हरू सम्भव पार्नुभएको छ?
◻ सरापहरू भनेका के हुन्?
◻ इस्राएलीहरूले सरापहरूको साटो आशिष्हरू कसरी पाउनसक्थे?
◻ परमेश्वरको आज्ञा पालन गर्दा इस्राएलले कुन आशिष्हरूको आनन्द उठाए?
[पृष्ठ ८-मा भएको चित्र]
गीरिज्जीम र एबाल डाँडा सामुन्ने भेला भएका इस्राएलीहरू
[चित्रको स्रोत]
Pictorial Archive (Near Eastern History) Est.