के परमेश्वर हर प्रकारको उपासना स्वीकार्नुहुन्छ?
परमेश्वरले मानिसलाई आध्यात्मिक आवश्यकतासहित सृष्टि गर्नुभएको थियो। त्यो आवश्यकता हो—उपासना। त्यो स्वतः विकसित हुँदै आएको होइन, प्रारम्भदेखि नै मानिसको अभिन्न अंग थियो।
तथापि, दुःखलाग्दो कुरा, मानिसजातिले उपासना गर्ने भिन्नाभिन्नै तरिकाहरू विकास गरे र तीमध्ये थुप्रैले आनन्दित, एकताबद्ध मानव परिवार सिर्जन सकेका छैनन्। बरु, धर्मको नाउँमा अझै रक्तरंजित युद्धहरू लडिंदैछन् र त्यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ: के परमेश्वरलाई जसरी उपासना गरे पनि यसले केही फरक पार्छ र?
पुरातन समयको शंकास्पद उपासना
मध्य पूर्वी पुरातन राष्ट्रहरूका ऐतिहासिक उदाहरणले उक्त प्रश्नको जवाफ पाउन मदत गर्छ। थुप्रै मानिसहरूले बाल नाउँ गरेका देवताको उपासना गर्थे। तिनीहरू आशेराजस्ता बालका अर्धांगिनीहरूको उपासना पनि गर्थे। अनि आशेराको उपासनामा मानिसहरू यौनको प्रतीक मानिने पवित्र भनौंदो खाँबोको पनि उपासना गर्थे। मध्य पूर्वमा कार्यरत पुरातत्त्वविद्हरूले निर्वस्त्र स्त्रीहरूका थुप्रै मूर्तिहरू फेला पारेका छन्। धर्मको विश्वकोश-अनुसार (अंग्रेजी) यी मूर्तिहरू “टड्कारै देखिने जननेन्द्रिय भएकी अनि हातले आफ्ना स्तनहरू उचालेकी देवीका” थिए र “सम्भवतः त्यो . . . आशेराको मूर्ति हुनसक्छ।” तर जे होस्, प्रायजसो बाल उपासनामा असाध्यै अनैतिकता थियो भन्ने कुरा चाहिं पक्का छ।
तसर्थ, बाल उपासनामा यौन उत्सवहरू समावेश हुनु अनौठो कुरा होइन। (गन्ती २५:१-३) कनानी युवक शेकेमले कन्ये युवती दिनालाई बलात्कार गरेको भए तापनि तिनको परिवारमा तिनी सबैभन्दा आदरणीय मानिन्थे। (उत्पत्ति ३४:१, २, १९) हाडनाताकरणी, समलैंगिकता र पशुसम्भोग सामान्य थिए। (लेवी १८:६, २२-२४, २७) समलैंगिकता अर्थ लाग्ने अंग्रेजी शब्द “सोडोमी” कुनै समय मध्य पूर्वको एउटा शहरको नाउँ थियो। (उत्पत्ति १९:४, ५, २८) बाल उपासनामा रक्तपात पनि समावेश थियो। नहोस् पनि किन, बाल उपासकहरूले आफ्ना छोराछोरीलाई जिउँदै आगोमा होमेर आफ्ना देवताहरूलाई बलि चढाउँथे! (यर्मिया १९:५) यी सबै प्रचलनहरू धार्मिक शिक्षाहरूसित सम्बन्धित थिए। कसरी?
आफ्नो पुस्तक पुरातत्त्व विज्ञान र पुरानो नियम-मा (अंग्रेजी) डाक्टर मेरिल अंगर यसो भन्छन्: “कनानी मिथ्याको क्रूरता, कामवासना र दुश्चरित्र, समकालीन निकटवर्ती पूर्वमा सबैभन्दा खराब थियो। कुनै किसिमको नैतिक मूल्य नभएका कनानी देवीदेवताहरूको अनौठो स्वभाव नै ती भक्तहरूका दुर्गुणको कारक तत्त्व हुनुपर्छ। पवित्र भनौंदो वेश्यावृत्ति, [अनि] बालक बलिजस्ता त्यतिबेलाका थुप्रै भ्रष्ट प्रचलनहरू ती देवीदेवताहरूको उपासनासित सम्बन्धित थिए।”
के परमेश्वरले कनानीहरूको उपासना स्वीकार्नुभयो? कदापि स्वीकार्नुभएन। उहाँले इस्राएलीहरूलाई उहाँको शुद्ध उपासना गर्ने विधि सिकाउनुभयो। माथि उल्लिखित प्रचलनहरूबारे उहाँले यस्तो चेताउनी दिनुभयो: “यस्ता सबै कामहरूद्वारा तिमीहरू आफैलाई अशुद्ध नपार। म तिमीहरूको सामनेबाट जुन जातिहरूलाई निकाल्दैछु तिनीहरू यी सबै कुरामानै अशुद्ध भएका छन्। त्यसरी नै त्यो देश अशुद्ध भएको हो। औ मैले त्यसमाथि त्यसको अधर्मको दण्ड उठाएँ, र देशले आफ्ना बासिन्दाहरूलाई उकेलेर फ्याँकिदियो।”—लेवी १८:२४, २५.
शुद्ध उपासना दूषित हुन्छ
अधिकांश इस्राएलीहरूले शुद्ध उपासनाप्रति परमेश्वरले राख्नुहुने दृष्टिकोणलाई स्वीकारेनन्। बरु, तिनीहरूले आफ्नो भूमिमा बाल उपासना फैलन दिए। तत्पश्चात् इस्राएलीहरू बहकाउमा आएर यहोवाको शुद्ध उपासनालाई बाल उपासनासित मिसाउन खोजे। के परमेश्वरले यस्तो मिश्रित उपासना स्वीकार्नुभयो? राजा मनश्शेको शासनकालमा के भयो, विचार गर्नुहोस्। तिनले बाल देवताका निम्ति वेदीहरू बनाए, आफ्नै छोराको बलि चढाए अनि जादुगरी गरे। “त्यसबाहेक, तिनले अश्तोरात [हिब्रूमा आशेरा] देवीको कुँदिएको मूर्ति त्यस भवनमा अर्थात् त्यस ठाउँमा खडा गरे, जसको विषयमा परमप्रभुले . . . भन्नुभएको थियो, . . . ‘यो भवन[मा] . . . सदा सर्वदैको निम्ति मेरो नाउँ रहनेछ।’”—२ राजा २१:३-७.
मनश्शेका प्रजाहरूले आफ्नो राजाको अनुकरण गरे। वास्तवमा तिनले “तिनीहरूलाई इस्राएलको निम्ति निर्मूल गराएका जातिहरूले भन्दा पनि धेरै ज्यादा कुपथमा लगाए।” (२ राजा २१:९) परमेश्वरका अगमवक्ताहरूले बारम्बार दिएका चेताउनीहरू सुन्नुको साटो मनश्शेले निर्दोष मानिसहरूको हत्या गरेर यरूशलेमलाई रगताम्य पारे। अन्ततः मनश्शे सुध्रिए तापनि तिनको पुत्र तथा उत्तराधिकारी राजा अमोनले बाल उपासना पुनः आरम्भ गरे।—२ राजा २१:१६, १९, २०.
समय बित्दै जाँदा मन्दिरमा पुरुष वेश्याहरू पनि देखा पर्न थाले। बाल उपासनाको यस्तो रूपलाई परमेश्वरले कुन दृष्टिले हेर्नुभयो? मोशा मार्फत उहाँले पहिल्यै यस्तो चेताउनी दिइसक्नुभएको थियो: “वेश्यागमन अथवा पुरुषगमनबाट भाकल पूरा गर्न परमेश्वरको भवनमा नल्याउनू, किनभने परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा यी घृणित हुन्।”—व्यवस्था २३:१७, १८.
मनश्शेका नाति राजा योशियाहले परमेश्वरको मन्दिरबाट अनैतिक बाल उपासना हटाए। (२ राजा २३:६, ७) तर तिनले बाल उपासनलाई जरैसमेत उखेल्न सकेनन्। राजा योशियाहको मृत्यु भएको केही समय नबित्दै यहोवाको मन्दिरमा फेरि मूर्तिपूजा हुनथाल्यो। (इजकिएल ८:३, ५-१७) अतः यहोवाले बाबेलको हातबाट यरूशलेम तथा त्यसको मन्दिर नष्ट गर्नुभयो। परमेश्वरको दृष्टिमा केही प्रकारका उपासना स्वीकार्य छैन भनेर यो दुःखद इतिहासले देखाउँछ। हाम्रो समयबारे के भन्न सकिन्छ?