परमेश्वरले मसीहीजगत्को उपासनाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
“ममलाई ‘प्रभु, प्रभु,’ भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ। त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं, र तपाईंको नाउँमा सामर्थ्यको काम गरेनौं र? अनि म तिनीहरूलाई खुल्लमखुल्ला भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ। ए अधम काम गर्ने हो, मबाट दूर होओ,” येशू ख्रीष्टले भन्नुभयो।—मत्ती ७:२१-२३.
परमेश्वरले आफ्नो निष्खोट वचन, पवित्र बाइबल मार्फत आफ्नो इच्छा स्पष्ट पार्नुभएको छ। के मसीहीजगत्का चर्चहरूले परमेश्वरको इच्छा गरिरहेका छन्? वा येशूले भन्नुभएझैं तिनीहरू “अधम काम गर्नेहरू” पो हुन् कि?
रक्तपात
आफ्नो मालिकको मृत्यु हुनुभन्दा अघिल्लो रात येशूलाई गिरफ्तार गर्न आउने सिपाहीहरूमाथि हतियार उठाएर पत्रुसले झन्डै झगडा गरेका थिए। (यूहन्ना १८:३, १०) तर येशूले पत्रुसलाई शान्त पार्नुहुँदै यसरी चेताउनी दिनुभयो: “तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्।” (मत्ती २६:५२) यस सुस्पष्ट चेताउनीलाई प्रकाश १३:१० मा दोहोऱ्याइएको छ। के त्यसलाई मसीहीजगत्का चर्चहरूले पालन गरेका छन्? वा तिनीहरू पृथ्वीको चारैतिर भइरहेका युद्धहरूको लागि जिम्मेवार छन्?
दोस्रो विश्वयुद्धको दौडान धर्मको नाउँमा लाखौं सर्वियाली र क्रोएसियालीहरूको हत्या भयो। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार “क्रोसियाको स्थानीय तानाशाही सरकारले ‘जातीय शुद्धताको’ नीति अपनाएर नाजीहरूले भन्दा घृणित काम गरे। . . . तिनीहरूले सर्वियाली जनसंख्यामध्ये एक तिहाइलाई देश निकाला गर्ने, अर्को एक तिहाइलाई रोमन क्याथोलिक बनाउने र बाँकि एक तिहाइको हत्या गर्ने घोषणा गरे। . . . यी कुकर्महरूमा हातमा हात मिलाउने क्याथोलिक पादरीवर्गले युद्धपश्चात् चर्च र सरकारबीचको सम्बन्धमा नराम्रो असर पाऱ्यो।” अनगिन्ती मानिसहरूलाई क्याथोलिक बन्ने कि मर्ने, बलजफ्ती रोज्न लगाइयो। अरू हजारौंले त्यस्तो मौकासमेत पाएनन्। सारा गाउँका पुरुष, स्त्री तथा केटाकेटीहरूलाई बलजफ्ती अर्थोडक्स चर्चहरूमा लगेर हत्या गरियो। विपक्षी साम्यवादी सेनाले के गरे त? के तिनीहरूले पनि धार्मिक समर्थन पाएका थिए?
युगोस्लाभियाको इतिहास (अंग्रेजी) पुस्तकको प्रतिवेदन यस्तो छ, “केही पादरीहरूले आन्दोलनकारी सेनाको पक्ष लिएर युद्धमा भाग लिए।” अनि “पृथक्तावादी सेनामा सर्वियाली अर्थोडक्स र रोमन क्याथोलिक चर्चहरूका पादरीहरूसमेत सम्मिलित थिए” भनेर युगोस्लाभिया अनि नयाँ साम्यवाद (अंग्रेजी) पुस्तक बताउँछ। धार्मिक मतभेदले गर्दा अहिले पनि बाल्कान क्षेत्रमा युद्धको ज्वाला दन्किरहेको छ।
रूवाण्डाबारे के भन्न सकिन्छ? अन्तरराष्ट्रिय सम्बन्धको लागि क्याथोलिक संस्थाको महासचिव इयन लिन्डेनले द मन्थ पत्रिकामा यसरी स्वीकारे: “लण्डनमा अफ्रिकी अधिकार-द्वारा गरिएको जाँचपड्तालले स्थानीय क्याथोलिक, एंगलिकन तथा ब्याप्टिस्ट चर्चका नेताहरूले आफ्नो कर्तव्य बिर्सेर वा निर्देशन पाएर सैनिक हत्याकाण्डमा भाग लिएका थिए भन्ने एक दुइटा उदाहरणहरू प्रस्तुत गर्छ। . . . पादरी शासित प्रदेशका असंख्य थुप्रै गण्यमान्य मसीहीहरू मारकाटमा सम्मिलित थिए भन्ने कुरामा कुनै सन्देह छैन।” दुःखको कुरा, मसीही भनौंदाहरूबीचको युद्धले मध्य अफ्रिकालाई पिरोलिरहेको छ।
करनी र जारी
परमेश्वरको वचनअनुसार यौनसम्बन्ध राख्ने आदरयोग्य प्रबन्ध एउटै मात्र छ। त्यो हो—वैवाहिक बन्धन। बाइबल बताउँछ, “सबै विवाह चाहिं आदरणीय होस्, ओछ्यान नबिटुलिओस्, किनकि व्यभिचारीहरू [करनी गर्नेहरू, NW] र जारी गर्नेहरूलाई परमेश्वरले इन्साफ गर्नुहुनेछ।” (हिब्रू १३:४) के चर्चका नेताहरूले परमेश्वरको यस शिक्षालाई अपनाउँदैछन्?
सन् १९८९ मा अस्ट्रेलियाको एंग्लिकन चर्चले यौनसम्बन्धी आधिकारिक दस्तावेज प्रकाशित गऱ्यो। जोडाजोडी एकअर्काप्रति पूर्ण समर्पित छन् भने, विवाहपूर्व यौन सम्पर्क राख्नु गलत होइन भनेर त्यस दस्तावेजले सुझाउ दियो। हालैको कुरा गर्ने हो भने, स्कटल्याण्डस्थित एंगलिकन चर्चका नेताले यसो भने: “चर्चले जारी गर्ने विषयलाई पाप तथा गलत ठान्नु हुँदैन। करनी हाम्रो वंशानुगत पापी स्वभावले गर्दा हुन्छ भनेर चर्चले स्वीकर्नैपर्छ।”
दक्षिण अफ्रिकाका थुप्रै पादरीले समलैंगिकताको पक्षमा बोलेका छन्। उदाहरणका लागि, सन् १९९० मा दक्षिण अफ्रिकाको पत्रिका यु-ले (अंग्रेजी) गण्यमान्य एंगलिकन सेवकको कथनलाई यसरी उद्धृत गरेको थियो: “धर्मशास्त्रले सधैं निषेध गर्दैन। . . . पुरुषगामीहरूप्रति चर्चको दृष्टिकोण र नीतिमा परिवर्तन हुनेछ भन्ने मलाई विश्वास छ।”—रोमी १:२६, २७ तुलना गर्नुहोस्।
नाइन्टिन नाइन्टी फोर ब्रिटानिका बूक अफ द यर-अनुसार अमेरिकाका चर्चहरूमा यौनसम्बन्धी विषय ठूलो विवाद भएको छ। विशेषगरि, “पुरुषगामी तथा स्त्रीगामी कहलाइएकाहरूलाई पादरी नियुक्त गर्ने, समलिंगी अधिकारप्रति धार्मिक समझ, ‘पुरुष पुरुषबीचको विवाहलाई’ आशिष् दिने र समलैंगिकतासित सम्बन्धित जीवनशैलीलाई वैध वा अवैध ठहराउने” सम्बन्धमा ती विवादहरू केन्द्रित छन्। ठूल-ठूला चर्चहरूले अझ धेरै यौन स्वतन्त्रताको माग गर्ने पादरीहरूलाई कुनै कारवाही गर्दैनन्। नाइन्टिन नाइन्टी फाइभ ब्रिटानिका बूक अफ द यर-अनुसार “समलिंगीहरूलाई पादरी नियुक्त गर्नु वा समलैंगिकता स्वीकार्य” छ भनेर ५५ जना इपिस्कोपालियन विशपहरूले घोषणा पत्रमा दस्तखत गरे।”
येशूले समलैंगिकताको विरुद्धमा कहिल्यै बोल्नुभएन भनेर दाबी गर्दै केही पादरीहरूले यसको पक्षमा तर्क गर्छन्। तर के यो पक्कै साँचो हो त? येशू ख्रीष्टले परमेश्वरको वचन सत्य छ भनेर भन्नुभयो। (यूहन्ना १७:१७) त्यसको अर्थ, लेवी १८:२२ मा समलैंगिकताबारे उल्लिखित परमेश्वरको दृष्टिकोणलाई उहाँले समर्थन गर्नुभयो, जहाँ यस्तो लेखिएको छ: “स्त्रीहरूसँगझैं पुरुषसँग संभोग नगर्। त्यो घृणित कार्य हो।” त्यसको अतिरिक्त, येशूले करनी र जारी गर्नुलाई ‘भित्रबाट निस्केर मानिसलाई अशुद्ध पार्ने’ कुराहरूअन्तर्गत सूचिबद्ध गर्नुभयो। (मर्कूस ७:२१-२३) करनी अर्थ लाग्ने युनानी शब्द जारी गर्नुको अर्थभन्दा विस्तृत छ। यसले समलैंगिकतालगायत वैध विवाहबाहिर गरिने सबै प्रकारका यौनसम्बन्धलाई बुझाउँछ। (यहूदा ७) करनीको गम्भीरतालाई हल्का ठान्ने प्रख्यात मसीही शिक्षक भनौंदा कुनै पनि मानिसलाई छूट नदिनू भनेर येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई चेताउनी दिनुभयो।—प्रकाश १:१; २:१४, २०.
धार्मिक नेताहरूले पुरुषगामी तथा स्त्रीगामीहरूलाई पादरी नियुक्त गर्ने अभियान चलाउँदा चर्चका सदस्यहरू र विशेषगरि जवान सदस्यहरूमाथि कस्तो असर पर्ला? के त्यसले वैवाहिक सम्बन्धबाहिर यौन सम्बन्ध राख्न उस्काउँदैन र? तर त्यसको ठीक विपरीत, परमेश्वरको वचनले “व्यभिचारदेखि [करनी, NW] अलग रहो” भनेर मसीहीहरूलाई आग्रह गर्छ। (१ कोरिन्थी ६:१८) सँगी विश्वासीले त्यस्तो पाप गरेमा, तिनलाई परमेश्वरको अनुमोदन पुनः प्राप्त गर्न मायालु मदत दिइन्छ। (याकूब ५:१६, १९, २०) तर यस्तो मदत अस्वीकार गरे भने नि? त्यस्ता व्यक्तिहरूले पश्चात्ताप नगरेसम्म, ‘परमेश्वरको राज्यको हकदार हुनेछैनन्’ भनेर बाइबलले बताउँछ।—१ कोरिन्थी ६:९, १०.
“बिहेवारी नगर्नू”
बाइबल भन्छ, “ज्यादै व्यभिचार भएकोले” कामाग्नीले जल्नुभन्दा विवाह गर्नु असल हो।” (१ कोरिन्थी ७:२, ९) यस बुद्धिमान सल्लाहको बावजूद थुप्रै पादरीलाई ब्रह्मचारी अर्थात् अविवाहित रहन लगाइएको छ। नीनो लो बेल्लो आफ्नो पुस्तक भ्याटिकन पत्रहरू-मा (अंग्रेजी) यसरी लेख्छन्, “पादरी, भीक्षु वा भिक्षुणीले यौन सम्पर्क राख्दैमा ब्रह्मचारीको भाकल फुस्किंदैन। . . . इमानदारीपूर्वक पाप स्वीकारेर यौन सम्पर्कको क्षमा माग्न सकिन्छ भने पादरीलाई विवाह गर्न चाहिं चर्चले अनुमति दिंदैन।” यस शिक्षाले असल फल फलाएको छ कि खराब?—मत्ती ७:१५-१९.
निस्सन्देह, थुप्रै पादरीहरू नैतिक तवरमा स्वच्छ जीवन व्यतीत गर्छन् तर अधिकांशले त्यसो गर्दैनन्। नाइन्टिन नाइन्टीटू ब्रिटानिका बूक अफ द यर-अनुसार “पादरीहरूले गरेको यौन दुर्व्यवहारसम्बन्धी मुद्दाहरू छिनफान गर्न रोमन क्याथोलिक चर्चले ३० करोड अमेरिकी डलर खर्च गर्नुपरेको थियो।” पछि, सोही पुस्तकको १९९४ संस्करणले यसरी बतायो: “एड्स लागेर थुप्रै पादरीहरूको मृत्यु भएको घटनाले एकतर्फ पुरुषगामी पादरीहरू छन् भन्ने संकेत गर्छ भने, अर्कोतर्फ साधारण मानिसदेखि . . . पादरीसम्म पुरुषगामीहरूको संख्या अनगिन्ती छ भन्ने देखाउँछ।” “बिहेवारी नगर्नू” भन्ने ‘प्रेतको शिक्षा’ हो भनेर बाइबलले बताउनु कुनै आश्चर्यलाग्दो कुरा होइन। (१ तिमोथी ४:१-३) आफ्नो पुस्तक ख्रीष्टका पादरीहरू-मा पिटर दे रोजा यसरी लेख्छन्, “केही इतिहासकारहरूको दृष्टिकोणअनुसार [पादरी ब्रह्मचारीले] जत्तिको नैतिक हानि त वेश्यवृत्तिलगायत अन्य कुनै पश्चिमी प्रचलनले पुऱ्याएको छैन। . . . वास्तवमा [त्यो] मसीही धर्मको नाउँमा कलंक मात्र भएको छ। . . . ब्रह्मचारी रहनु अनिवार्य गराइएकोले पादरीहरू सधैं कपटी भएका छन्। . . . चर्चको नियमअनुसार पादरीले हजारौं पटक अनैतिक काम गरे हुन्छ तर विवाह भने पटक्कै गर्न पाउँदैन।”
बालको उपासनाप्रति परमेश्वरको दृष्टिकोण बुझेपछि मसीहीजगत्का विभाजित चर्चहरूप्रति उहाँले कस्तो दृष्टिकोण राख्नुहुन्छ, सो बुझ्न गाह्रो पर्दैन। बाइबलको अन्तिम पुस्तकले सबै प्रकारको झूटो उपासनालाई “पृथ्वीका वेश्याहरू र घृणित कुराहरूको आमा, महान् बेबिलोन[को]” भन्ने संयुक्त नाउँ दिएको छ। बाइबल अझ यसो भन्छ, “त्यसैमा अगमवक्ताहरू, पवित्र जनहरू र पृथ्वीमा मारिएका सबैका रगत पाइएको थियो।”—प्रकाश १७:५; १८:२४.
यसर्थ, परमेश्वर साँचो उपासकहरू हुन चाहने सबैलाई यसरी आग्रह गर्नुहुन्छ: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्। . . . एकै दिनमा त्यसका विपत्तिहरू आउनेछन्—मृत्यु, अफसोस र अनिकाल, र त्यो आगोमा भस्म पारेर जाइजानेछ। किनभने त्यसको इन्साफ गर्ने परमेश्वर बलवान हुनुहुन्छ।”—प्रकाश १८:४, ८.
अब प्रश्न उठ्छ: झूटो धर्मबाट निस्केर आएपछि कहाँ जाने? परमेश्वरले कुन प्रकारको उपासना स्वीकार्नुहुन्छ?
[पृष्ठ ५-मा भएको पेटी/चित्र]
मूर्तिपूजा
बाल उपासनामा मूर्तिहरूको प्रयोग गरिन्थ्यो। इस्राएलीहरूले यहोवाको उपासनालाई बालको उपासनासित मिसाउन खोजे। तिनीहरूले यहोवाको मन्दिरमा मूर्तिहरूसमेत ल्याए। परमेश्वरले यरूशलेम अनि त्यसको मन्दिरमाथि विनाश ल्याउनुहुँदा मूर्तिपूजाप्रति उहाँको दृष्टिकोण प्रष्ट भयो।
क्रस, कुनै प्रतिमा वा मरियमको शालिकको रूपमै किन नहोस् मसीहीजगत्का थुप्रै चर्चहरू मूर्तिहरूले टन्नै भरिएका छन्। त्यसको अतिरिक्त, चर्च धाउनेहरूलाई यी मूर्तिहरूको अघि निहुरन, घुँडा टेक्न वा छातीमा हातले क्रसको चिह्न बनाउन सिकाइन्छ। यसको ठीक विपरीत साँचो मसीहीहरूलाई “मूर्तिपूजाबाट अलग रहो” भनेर आज्ञा दिइएको छ। (१ कोरिन्थी १०:१४) तिनीहरूले कुनै भौतिक वस्तुको सहायता लिएर परमेश्वरको उपासना गर्ने कोसिस गर्दैनन्।—यूहन्ना ४:२४.
[स्रोत]
Musée du Louvre, Paris
[पृष्ठ ७-मा भएको पेटी]
“चर्चको नेता दोषरहित हुनुपर्छ”
यो अभिव्यक्ति टुडेज इंग्लिश भर्सन-को तितस १:७ बाट निकालिइएको हो। किङ जेम्स भर्सन-मा यस्तो छ: “विशप दोषरहित हुनैपर्छ।” यहाँ चलाइएको “विशप” शब्द “निरीक्षक” अर्थ लाग्ने युनानी शब्दबाट लिइएको हो। तसर्थ, मसीही मण्डलीमा नेतृत्व लिने नियुक्त मानिसहरूले बाइबलका आधारभूत स्तरहरूअनुरूप जीवन बिताउनैपर्छ। तिनीहरूले त्यसो नगरेमा नेतृत्व लिने जिम्मेवारीबाट तिनीहरूलाई बर्खास्त गर्नुपर्छ किनभने त्यस उप्रान्त तिनीहरू “बगालको उदाहरण” हुँदैनन्। (१ पत्रुस ५:२, ३) मसीहीजगत्का चर्चहरूले यस आवश्यकतालाई कत्तिको गम्भीरतापूर्वक लिएका छन्?
डा. एभ्रेट वर्थिङ्गटनले आफ्नो पुस्तक म तपाईंको विवाहबारे चिन्तित छु-मा (अंग्रेजी) सं.रा.अ., भर्जिना प्रान्तका १०० पादरीबारे गरिएको सर्वेक्षणको उल्लेख गर्छन्। तिनीहरूमध्ये ४० प्रतिशतले परस्त्रीसित कामुक व्यवहार गरेको स्वीकारे। तिनीहरूमध्ये अधिकांशले जारी गरेका थिए।
क्रिश्चियानिटी टुडे यस्तो अवलोकन गर्छ, “चर्चका अति आदरणीय नेताहरूको अनैतिक आचरण उदांग हुँदा गत दशकभरि चर्चको स्थिति बारम्बार लर्खराएको छ।” “जारी गर्ने पादरीहरूलाई किन पुनः नियुक्ति गर्नु हुँदैन” लेखले “यौन पापको दोषी” ठहरिएका चर्चका नेताहरूलाई तुरुन्तै तिनीहरूको पदमा पुनः नियुक्ति गर्ने मसीहीजगत्को सामान्य प्रचलनलाई चुनौती दियो।