परमेश्वरले कारवाही गर्नुहुँदा के तपाईं बच्नुहुनेछ?
“ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।”—मत्ती २४:२२.
१, २. (क) आफ्नो भविष्यमा चासो लिनु किन स्वाभाविक हो? (ख) कुन महत्त्वपूर्ण प्रश्नहरूमा स्वाभाविक चासो लुकेको हुनसक्छ?
तपाईं आफ्नो चासो कत्तिको लिनुहुन्छ? आजभोलि प्रायः सबै मानिसहरू आफ्नो चासो बढ्तै लिन्छन् र स्वार्थी भएका छन्। यद्यपि, हामीलाई असर गर्ने कुराहरूमा उचित चासो लिनु बाइबलअनुसार गलत होइन। (एफिसी ५:३३) अनि त्यसमा भविष्यप्रतिको चासो पनि समावेश छ। आफ्नो भविष्य जान्न चाहनु असामान्य कुरा होइन। तर के तपाईं चासो लिनुहुन्छ?
२ येशूका प्रेरितहरूले पनि आफ्नो भविष्यप्रति त्यस्तै चासो लिएका थिए भनेर हामी निश्चित हुनसक्छौं। (मत्ती १९:२७) येशूसित जैतून डाँडा जाने ती चार प्रेरितहरूले यसरी सोध्नुको एउटा कारण त्यो पनि हुनसक्छ: “यी कुरा कहिले हुनेछन्? र यी सबै कुरा हुनलाग्दा के चिह्न हुनेछ?” (मर्कूस १३:४) त्यतिबेला ती चार प्रेरितहरूले र आज हामीले भविष्यप्रति देखाएको स्वाभाविक चासोलाई येशूले बेवास्ता गर्नुभएन। आफ्ना अनुयायीहरू भावी घटनाहरूबाट कसरी प्रभावित हुनेछन् र अन्तिम नतिजा के हुनेछ, येशूले बारम्बार प्रकाश पार्नुभयो।
३. येशूको जवाफलाई किन हाम्रो समयसित जोड्नसक्छौं?
३ येशूले त्यतिबेला भविष्यवाणीद्वारा दिनुभएको जवाफको प्रमुख पूर्ति आज हाम्रो समयमा भइरहेको छ। हाम्रो शताब्दीमा भएका विश्वयुद्ध अनि विवादहरू, अनगिन्ती मानिसहरूको प्राण खोस्ने भैंचालोहरू, रोग र मृत्युलाई जन्म दिने अनिकालहरू अनि सन् १९१८ को स्पेनी ज्वरोको महामारीदेखि लिएर एड्सको वर्तमान विपत्तिसम्म विभिन्न रूप धारण गर्ने महामारीहरूबाट हामी त्यसको प्रमाण पाउनसक्छौं। तथापि, येशूले जवाफमा भन्नुभएका अधिकांश कुराहरू सा.यु. ७० मा रोमीहरूले यरूशलेमको नाश गर्दा र त्यस स्थितिसम्म पुग्नुअघिको समयमा पनि पूरा भए। येशूले आफ्ना चेलाहरूलाई यस्तो चेताउनी दिनुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, तिमीहरूलाई महासभाहरूमा सुम्पनेछन्। तिमीहरू पिटिनेछौ, र हाकिमहरू र राजाहरूका सामु मेरो खातिर गवाही दिनाको निम्ति तिमीहरू खड़ा हुनेछौ।”—मर्कूस १३:९.
येशूको अगमवाणी र त्यसको पूर्ति
४. येशूको जवाफमा समावेश केही चेताउनीहरू के के हुन्?
४ तर येशूले आफ्ना चेलाहरूलाई गरिने व्यवहारबारे मात्र अगमवाणी गर्नुभएन। तिनीहरूले कस्तो कदम चाल्नुपर्छ, त्यसबारे पनि चेताउनुभयो। जस्तै: “जब तिमीहरू उजाड़ अवस्थाको घृणित कुरालाई जहाँ उचित छैन त्यहाँ उभिएका देखौला (पढ़नेले बुझोस्), तब यहूदियामा हुनेहरू डाँड़ाहरूतिर भागून्।” (मर्कूस १३:१४) यससित मेल खाने लूका २१:२० को विवरणले यसो भन्छ: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान।” येशूको भविष्यवाणीको पहिलो पूर्ति हुँदा यो विवरण कसरी सत्य साबित भयो त?
५. सा.यु. ६६ मा यहूदियाका यहूदीहरूबीच के भयो?
५ द न्यु इन्टरनेशनल स्ट्याण्डर्ड बाइबल इनसाइक्लोपीडिया (१९८२) हामीलाई यस्तो जवाफ दिन्छ: “यहूदीहरूलाई रोमी आधिपत्य स्वीकार्न झन् झन् असह्य भइरहको थियो भने अर्कोतर्फ रोमी सामन्तहरूको हिंसा, क्रूरता र बेइमानी झन् झन् चर्किंदै गइरहेको थियो। फलतः सन् ६६ मा रोमी आधिपत्यको खुलेआम विद्रोह भयो। . . . यहूदी हठधर्मीहरूले मासाडालाई कब्जामा लिएपछि युद्ध सुरु भयो र त्यसपछि मेनकमको नेतृत्वमा तिनीहरू यरूशलेम पसे। त्यति नै खेर, राज्यपालको शहर सिजरियामा यहूदीहरूको नरसंहार गरियो र पूरै देशमा त्यस क्रूरताको समाचार फैलियो। नयाँ सिक्काहरू बनिए र विद्रोह सुरु भएको पहिलो साल र एवं रीतिले त्यसपछिका पाँच सालहरू त्यसमा कुँदिए।”
६. रोमीहरूले यहूदी विद्रोहको कस्तो जवाफ दिए?
६ सेस्टियस ग्यालसको नेतृत्वमा आएको रोमी सेनाको बाह्रौं डफ्फाले सिरियादेखि लिएर गालील र यहूदियालाई ध्वस्त पाऱ्यो। त्यसपछि राजधानीमा आक्रमण गरेर “पवित्र शहर यरूशलेम[को]” माथिल्लो भागलाई कब्जासमेत गऱ्यो। (नहेम्याह ११:१; मत्ती ४:५; ५:३५; २७:५३) त्यसपछि के कस्ता घटनाहरू भए, यरूशलेममाथि रोमीहरूको कब्जा (अंग्रेजी) नामक पुस्तक सारांशमा यसो भन्छ: “रोमीहरूले पाँच दिनसम्म पर्खाल चढ्ने कोसिस गरे तर तिनीहरूलाई बारम्बार तल खेदियो। अन्ततः रोमी क्षेप्यास्त्रहरूसामु यहूदी विपक्षीहरूले घुँडा टेक्नैपऱ्यो। टेस्टुडो अर्थात् ढाललाई शिरको टोपमा अड्काएर आफूलाई बचाउने तरिका अपनाएर रोमी सेनाहरूले पर्खालमुनि सुरुङ खने र मूल ढोकालाई जलाउने प्रयत्न गरे। यो देखेर यहूदीहरू असाध्यै भयभीत भए।” तर शहरभित्रका मसीहीहरूले भने येशूका शब्दहरूलाई सम्झनसक्थे, पवित्रस्थानमा घृणित वस्तु उभिएको हो भनेर बुझ्नसक्थे।a तर येशूको सुझाउअनुसार ती मसीहीहरू कसरी घेरामा परेको शहरबाट भाग्नसक्थे?
७. सा.यु. ६६ मा विजयी हुनैलाग्दा रोमीहरूले के गरे?
७ इतिहासकार फ्लेभियस जोसेफस त्यसपछिका घटनाहरू यसरी सुनाउँछन्: “घेरामा परेकाहरूको व्याकुलता र मानिसहरूको भावनाहरूदेखि अनभिज्ञ सेस्टियसले [ग्यालस] एक्कासि आफ्ना सेनाहरूलाई रोके र शहरमाथि विजय प्राप्त गर्न छाडेर कुनै कारणैबिना फर्के।” (यहूदी युद्ध, [अंग्रेजी] भाग २, ५४० [१४, ७]) ग्यालस किन फर्के? कारण जेसुकै होस्, त्यसले मसीहीहरूलाई येशूको आज्ञा पालन गरेर डाँडाहरूतिर भाग्ने र आफ्नो ज्यान जोगाउने मौका दियो।
८. यरूशलेम विरुद्ध रोमी अभियानको दोस्रो चरणमा के भयो र बाँच्नेहरूले के अनुभव गरे?
८ त्यतिखेर आज्ञापालन गर्नु नै जीवनदायी थियो। किनभने विद्रोह दबाउन रोमीहरू तुरुन्तै फर्के। सेनापति टाइटसले थालेको त्यस अभियान सा.यु. ७० को अप्रिलदेखि अगस्त महिनासम्म चलेको यरूशलेमको नाकाबन्दीपश्चात् चरमोत्कर्षमा पुग्यो। त्यस दौडान यहूदीहरूले पाएको दुःखबारे जोसेफसको विवरण पढ्दा आङ सिरिंग हुन्छ। रोमीहरूसितको भिडन्तबाहेक विद्रोही यहूदी दलहरूको हातबाट पनि अन्य यहूदीहरू मारिए र भोकले गर्दा मानिसहरू नरभक्षी हुन बाध्य भए। रोमीहरूले विजय प्राप्त गर्दा ११,००,००० यहूदीहरू मरिसकेका थिए।b अनि बचेका ९७,००० मध्ये केहीलाई तुरुन्तै मृत्युदण्ड दिइयो भने बाँकीलाई दास बनाइयो। त्यसबारे जोसेफस यसो भन्छन्: “सत्र वर्षभन्दा माथिका सबैलाई साङ्लाले बाँधेर मिस्रमा बेगार गर्न लगियो। त्यसबाट बचेकाहरूमध्ये अधिकांशलाई टाइटसले रंगशालामा तरवार र जंगली जनावरहरूसित तमाशा खेलाउन प्रान्तहरूलाई उपहार दिए।” यसरी छाँटकाँट हुँदाहुँदै ११,००० कैदीहरू खान नपाएर मरिसकेका थिए।
९. यहूदीहरूले भोगेका नतिजाहरू मसीहीहरूले किन भोगेनन् तर कुन प्रश्नहरू अझै अनुत्तरित छन्?
९ आफूले प्रभुको चेताउनी पालन गरेकोमा र रोमी सेनाहरू फर्कनुअगावै शहरबाट भागेकोमा मसीहीहरू चाहिं कृतज्ञ हुनसक्थे। यसप्रकार, येशूले ‘जगत्को सुरुदेखि अहिलेसम्म नभएको र फेरि कहिल्यै नहुने महासंकष्ट’ भनी नामकरण गर्नुभएको यरूशलेमको त्यस विपत्तिबाट तिनीहरू बचे। (मत्ती २४:२१) येशूले अझ यसो भन्नुभयो: “औ ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।” (मत्ती २४:२२) त्यतिबेला यसको अर्थ के थियो र आज के हो?
१०. विगतमा हामीले मत्ती २४:२२ लाई कसरी व्याख्या गरेका थियौं?
१० ‘देहधारी’ भन्नाले सा.यु. ७० मा यरूशलेमको संकष्टबाट बच्ने यहूदीहरू हुन् भनी विगतमा वर्णन गरिएको थियो। मसीहीहरू पनि भागिसकेका थिए। फलतः परमेश्वरले रोमीहरूलाई तुरुन्तै विनाश गर्ने अनुमति दिनसक्नुहुन्थ्यो। अर्को शब्दमा भन्ने हो भने, “चुनिएकाहरू” खतरामुक्त भइसकेको हुनाले महासंकष्टका दिनहरू घटाइन सकिन्थ्यो र त्यसले केही यहूदी “देहधारी[हरूलाई]” बच्ने मौका दिनेथियो। अनि यसरी उम्कने यहूदीहरूले आज हाम्रो समयमा महासंकष्ट तर्नेहरूलाई पूर्वचित्रित गर्छ भनेर पनि विगतमा महसुस गरिएको थियो।—प्रकाश ७:१४.
११. मत्ती २४:२२ को स्पष्टीकरणलाई किन पुनर्विचार गर्नुपर्छ जस्तो देखिन्छ?
११ तर के यो विवरण सा.यु. ७० मा जे भयो त्योसित मेल खान्छ? येशूले मानव “देहधारी” महासंकष्टबाट ‘बचाइनेछ’ भन्नुभएको थियो। के तपाईं “बाँच्नसक्ने” भन्ने शब्दको अर्थ बचेका ९७,००० यहूदीहरू हुन् भन्नुहुन्छ? जवाफ दिनुअघि भोक र तमाशाको शिकार भएर तिनीहरूमध्ये हजारौं मरेका थिए भन्ने तथ्यलाई विचार गर्नुहोस्। सिजरियाको त्यस्तै एउटा तमाशाबारे जोसेफस यसो भन्छन्: “आपसी वा जंगली जनावरहरूसितको भिडन्तमा मारिने वा जिउँदै जलाइनेहरूको संख्या २,५०० भन्दा धेरै थियो।” यरूशलेमको नाकाबन्दी हुँदा जीवितै भए तापनि तिनीहरूलाई निस्सन्देह “बाँच्नसक्ने[हरू]” भन्नु मिल्दैन। आउँदै गरेको “महा संकष्ट[बाट]” बच्ने हर्षित जनहरूलाई के येशूले त्यस्तै सम्झनुहुनेछ?
देहधारी बचाइयो—कसरी?
१२. प्रथम शताब्दीका ती “चुनिएकाहरू” को थिए, जसमाथि परमेश्वरले चासो लिनुभयो?
१२ सा.यु. ७० तिर परमेश्वरले जन्मजात यहूदीहरूलाई आफ्नो चुनिएको जन मान्न छाडिसक्नु भइसकेको थियो। परमेश्वरले त्यस राष्ट्रलाई त्याग्नु भइसक्यो। त्यसैले त्यसको राजधानी, मन्दिर अनि उपासना प्रणालीको नाश हुनेछ भनेर येशूले देखाउनुभयो। (मत्ती २३:३७–२४:२) परमेश्वरले नयाँ राष्ट्र, आत्मिक इस्राएललाई चुन्नुभयो। (प्रेरित १५:१४; रोमी २:२८, २९; गलाती ६:१६) सबै राष्ट्रबाट चुनिएका अनि पवित्र आत्माद्वारा अभिषिक्त भएका पुरुष तथा स्त्रीहरू मिलेर त्यो राष्ट्र बन्यो। (मत्ती २२:१४; यूहन्ना १५:१९; प्रेरित १०:१, २, ३४, ३५, ४४, ४५) सेस्टियस ग्यालसले आक्रमण गर्नुभन्दा केही वर्षअघि पत्रुसले “पिता परमेश्वरको पूर्वज्ञानअनुरूप चुनिएका अनि पवित्र आत्माद्वारा स्वच्छ पारिएका[हरूलाई]” लेखेका थिए। त्यस्ता आत्मा-अभिषिक्त जनहरू “चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति” थिए। (१ पत्रुस १:१, २; २:९) परमेश्वरले त्यस्ता चुनिएका जनहरूलाई येशू ख्रीष्टसित शासन गर्ने अभिभारा सुम्पन स्वर्ग लैजानुहुनेथियो।—कलस्सी १:१, २; ३:१२; तितस १:१; प्रकाश १७:१४.
१३. मत्ती २४:२२ मा उल्लिखित येशूका शब्दहरूको अर्थ के हुनसक्थ्यो?
१३ यसरी चुनिएका जनहरू को हुन्, भनेर जान्नु लाभदायी छ। किनभने येशूले “चुनिएकाहरूका निम्ति” संकष्टका दिनहरू घटाइनेछन् भनेर अगमवाणी गर्नुभएको थियो। “निम्ति” भनेर अनुवाद गरिएको युनानी शब्दलाई “को खातिर” वा “का लागि” भनेर पनि अनुवाद गर्न सकिन्छ। (मर्कूस २:२७, NW; यूहन्ना १२:३०, NW; १ कोरिन्थी ८:११; ९:१०, २३; ११:९; २ तिमोथी २:१०; प्रकाश २:३) अतः येशूले यसो भनिरहनुभएको हुनसक्छ, ‘ती दिन नघटाइएका भए, कुनै देहधारी बाँच्ने थिएन; तर चुनिएका जनहरूको खातिर ती दिनहरू घटाइनेछन्।’c (मत्ती २४:२२) तर ‘यरूशलेमभित्र फसेका चुनिएका मसीही जनहरूको खातिर’ वा तिनीहरूको फाइदा हुने त्यस्तो के घटना भयो?
१४. सा.यु. ६६ मा रोमी सेनाहरू एक्कासि यरूशलेमबाट फर्कंदा कसरी “देहधारी” बचाइए?
१४ सा.यु. ६६ मा रोमीहरूले इस्राएल राष्ट्रभित्र प्रवेश गरेर यरूशलेमको माथिल्लो भागलाई कब्जा गरेको अनि पर्खालमुनि सुरुङ बनाउन थालेको घटनालाई फेरि सम्झनुहोस् त। जोसेफस यस्तो टिप्पणी गर्छन्: “तिनले अलिक केही दिन नाकाबन्दी गरेका भए, एकै चोटिमा शहर कब्जा गरिसक्ने थिए।” अब आफैलाई प्रश्न गर्नुहोस्, ‘शक्तिशाली रोमी सेनाले किन आफ्नो अभियान छाडेर “कुनै कारणैबिना” फर्के?’ सैन्य इतिहासका विशेषज्ञ, रूपर्ट फर्नो यस्तो टिप्पणी गर्छन्: “कुनै इतिहासकारले ग्यालसको अनौठो अनि अनर्थकारी निर्णयको चित्तबुझ्दो कारण दिन सकेका छैनन्।” कारण जेसुकै होस्, त्यसले गर्दा संकष्टको दिन घटाइयो। रोमीहरू फर्के र यहूदीहरू लखेट्दै तिनीहरूको पछि लागे। शहरभित्र फसेका अभिषिक्त जनहरू अर्थात् “चुनिएका जनहरू[बारे]” चाहिं के भन्न सकिन्छ? त्यसरी नाकाबन्दी फुकिएकोले तिनीहरू संकष्टको दौडान हुने मारकाटबाट बचे। तसर्थ, सा.यु. ६६ को संकष्टको घटाउबाट फाइदा उठाउने ती मसीहीहरू मत्ती २४:२२ मा उल्लिखित बचाइएका “देहधारी” हुन्।
तपाईंको भविष्य कस्तो छ?
१५. मत्ती अध्याय २४ विशेषगरि आज हाम्रो समयका लागि अर्थपूर्ण छ भनेर तपाईं किन भन्नुहुन्छ?
१५ कसैले सोध्ला, ‘येशूका शब्दहरूको यो स्पष्ट जानकारीप्रति मैले चासो लिनु के खाँचो?’ वास्तवमा, सा.यु. ७० र त्यसअघि जे-जस्ता घटनाहरू भए, त्योभन्दा पनि विस्तृत तवरमा येशूको भविष्यवाणी पूरा हुनेछ भन्ने निष्कर्षमा पुग्ने यथेष्ट कारण छ।d (तुलना गर्नुहोस् मत्ती २४:७; लूका २१:१०, ११; प्रकाश ६:२-८) हाम्रो समयमा येशूको भविष्यवाणीको प्रमुख पूर्ति भइरहेको हुनाले हामी चाँडै व्यापक “महा संकष्ट[को]” आशा गर्नसक्छौं भनेर यहोवाका साक्षीहरूले प्रचार गरेको दशकौं भइसक्यो। तर त्यसबेला मत्ती २४:२२ का भविष्यसूचक शब्दहरू कसरी पूरा हुनेछन् त?
१६. नजिकिंदै गएको महासंकष्टबारे प्रकाशको पुस्तकले कुन प्रोत्साहनदायी तथ्य बताउँछ?
१६ यरूशलेममाथि बज्रपात भएको संकष्टको झन्डै दुइ दशकपछि प्रेरित यूहन्नाले प्रकाशको पुस्तक लेखे। त्यसले महासंकष्ट आउन बाँकी नै छ भनेर पुष्टि दियो। हामी आफूलाई पर्ने व्यक्तिगत असरबारे चासो लिन्छौं। अतः प्रकाशको पुस्तकले आउँदै गरेको महासंकष्टमा देहधारी बाँच्नेछ भनेर भविष्यसूचक ढंगमा आश्वासन दिन्छ भन्ने जानेर हामी सुखको सास फेर्नसक्छौं। यूहन्नाले “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़[बारे]” भविष्यवाणी गरे। यिनीहरू को हुन्? स्वर्गीय वाणीले यसरी जवाफ दिन्छ: “यी तिनै हुन् जो महा संकष्टबाट आएका छन्।” (प्रकाश ७:९, १४) हो, महासंकष्टबाट बच्ने मानिसहरू हुनेछन्! महासंकष्टसम्म घटनाहरूले कसरी मोड लिनेछन् अनि कसरी मत्ती २४:२२ पूरा हुनेछ, प्रकाशको पुस्तकले त्यसबारे पनि अन्तरदृष्टि दिन्छ।
१७. महासंकष्टको प्रारम्भिक चरणमा कुन कुरा समावेश हुनेछ?
१७ त्यस संकष्टको आरम्भमा “महान् बेबिलोन” कहलिने प्रतीकात्मक वेश्यामाथि आक्रमण हुनेछ। (प्रकाश १४:८; १७:१, २) त्यस वेश्याले विश्वव्यापी झूटो धर्म साम्राज्यको प्रतिनिधित्व गर्छे र त्यसकै एउटा अंग मसीहीजगत् सबैभन्दा निन्दनीय छ। प्रकाश १७:१६-१८ का शब्दहरूअनुसार परमेश्वरले राजनैतिक तत्त्वको हृदयमा त्यो प्रतीकात्मक वेश्यालाई आक्रमण गर्ने विचार हालिदिनुहुनेछ।e परमेश्वरका अभिषिक्त “चुनिएकाहरू” र तिनीहरूको सहचर, “ठूलो भीड़[का लागि]” यो आक्रमण कत्तिको भयानक होला, कल्पना गर्नुहोस्। धर्महरूमाथिको त्यो घातक आक्रमण बढ्दै जाँदा यहोवाका जनहरूलगायत अन्य सबै धार्मिक संगठनहरू नामेट हुनेछ जस्तो हामीलाई लाग्नसक्छ।
१८. महासंकष्टको प्रारम्भिक चरणमा किन कुनै “देहधारी” बच्छ जस्तो नदेखिनसक्छ?
१८ मत्ती २४:२२ मा उल्लिखित शब्दहरू ठीक त्यति नै बेला विस्तृत तवरमा पूरा हुनेछ। यरूशलेमभित्र फसेका चुनिएकाहरू जोखिममा परेजस्तो देखिएझैं धर्ममाथि आक्रमण हुँदा यहोवाका जनहरू नामेट हुने खतरामा परेजस्तो देखिनसक्छ त्यस आक्रमणले गर्दा परमेश्वरका सबै जनहरू अर्थात् देहधारी नष्ट हुन्छ जस्तो देखिएला। तर एकछिन, सा.यु. ६६ मा भएको घटनालाई फेरि सम्झौं। रोमीहरूले गर्दा आएको संकष्ट घटाइयो र त्यसले गर्दा परमेश्वरका चुनिएका जनहरूले भागेर आफ्नो ज्यान जोगाउने प्रशस्त मौका पाए। तसर्थ, धर्ममाथि विनाशकारी आक्रमण हुँदा साँचो उपासकहरूको विश्वव्यापी मण्डलीलाई खतम पार्न दिइनेछैन। यस कुरामा हामी ढुक्क हुनसक्छौं। मानौं “एक दिनमा” भएझैं त्यो आक्रमण तुरुन्तै हुनेछ। यद्यपि, परमेश्वरका जनहरू ‘बचून्’ भन्ने खातिर त्यसलाई कुनै न कुनै उपायद्वारा घटाइनेछ। त्यसले आफ्नो उद्देश्य पूरा गर्न पाउनेछैन।—प्रकाश १८:८.
१९. (क) महासंकष्टको प्रथम चरणपश्चात् कुन कुरा छर्लंग देखिनेछ? (ख) त्यसले कुन घटनातर्फ लैजानेछ?
१९ तत्पश्चात्, शैतान अर्थात दियाबलको पार्थिव संग- ठनका अन्य तत्त्वहरू कुनै एक समयसम्म रहनेछन्। अनि युगानुयुगदेखिको आफ्नो धार्मिक रखौटीलाई गुमाउनु परेकोमा शोक मनाउनेछ। (प्रकाश १८:९-१९) तर एउटा अवस्थामा पुगेपछि तिनीहरूले परमेश्वरका साँचो सेवकहरू “पर्खालद्वारा सुरक्षित नभएका शान्ति र ढुक्कसित” बसिरहेका देख्नेछन्। तर ती आक्रमणकारीहरूले अप्रत्याशित कुरा भोग्नेछन्! आफ्ना सेवकहरूमाथि गरिएको वास्तविक वा धम्कीपूर्ण वैमनस्यको जवाफ दिनुहुँदै महासंकष्टको पुछारमा आफ्ना शत्रुहरूको न्याय गर्न परमेश्वर खडा हुनुहुनेछ।—इजकिएल ३८:१०-१२, १४, १८-२३.
२०. महासंकष्टको दोस्रो चरणले किन परमेश्वरका जनहरूलाई खतरामा पार्नेछैन?
२० महासंकष्टको यस दोस्रो चरणको नतिजा, सा.यु. ७० मा रोमीहरूले दोस्रो पटक आक्रमण गर्दा यरूशलेम र त्यसका निवासीहरूमाथि भएका घटनाहरूसित मिल्दोजुल्दो हुनेछ। यो “यस्तो महा संकष्ट हुनेछ, जो जगत्को शुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१) यद्यपि, परमेश्वरका चुनिएका जन तथा तिनीहरूका सहचरहरू भने खतरामुक्त हुनेछन् भनी हामी ढुक्क हुनसक्छौं। अहँ, आफ्नो प्राण जोगाउन तिनीहरू कुनै भौगोलिक स्थानमा भागेर जानुपर्नेछैन। प्रथम शताब्दीताक यरूशलेममा बसोबास गर्ने मसीहीहरू यर्दनपारि पेला वा त्यस्तै अन्य पहाडी इलाकाहरूमा भाग्नसक्थे। तथापि, भविष्यमा परमेश्वरका जनहरू विश्वको चारै कुनामा हुनेछन्। अतः कुनै भौगोलिक स्थानमा मात्र तिनीहरू सुरक्षित हुने कुरै उठ्दैन।
२१. अन्तिम युद्धमा कसले लडाइँ गर्नेछ र नतिजा के हुनेछ?
२१ यो भयानक विनाश रोमी सेना वा अरू कुनै मानव हातबाट हुने होइन। त्यसको ठीक विपरीत, प्रकाशले त्यस न्यायिक शक्तिलाई स्वर्गीय स्रोतसँग जोड्छन्। हो, महासंकष्टको अन्तिम चरण कुनै मानव सेनाद्वारा होइन तर “परमेश्वरको वचन” अर्थात् राजा येशू ख्रीष्टद्वारा पूरा हुनेछ र पुनरुत्थान भइसकेका अभिषिक्त मसीहीहरूलगायत “स्वर्गमा भएका फौजहरू[ले]” उहाँलाई सघाउनेछन्। “राजाहरूका महाराजा, र प्रभुहरूका महाप्रभु[ले]” सा.यु. ७० मा रोमीहरूले गरेभन्दा विस्तृत अनि पूर्ण तवरले दण्ड दिनुहुनेछ। त्यस दण्डले परमेश्वरका सम्पूर्ण मानव विरोधी अर्थात् राजाहरू, कप्तानहरू, स्वतन्त्र र बँधुवा, ठूला र साना कसैलाई बाँकी राख्नेछैन। शैतानको संसारका मानव संगठनहरूसमेत नाश हुनेछन्।—प्रकाश २:२६, २७; १७:१४; १९:११-२१; १ यूहन्ना ५:१९.
२२. अरू कुन अर्थमा पनि “देहधारी” बचाइनेछन्?
२२ पुनः स्मरण रहोस्, संकष्टको प्रथम चरणमा महान् बेबिलोन एकै झोक्कामा पूर्णतया नाश हुँदा शेष अभिषिक्त जनहरू अनि “ठूलो भीड़[लाई]” चाहिं बचाइसकेको हुनेछ। त्यस्तैगरि संकष्टको अन्तिम चरणमा पनि भागेर यहोवाको पक्ष लिने जति “देहधारी” बचाइनेछन्। सा.यु. ७० मा ती विद्रोही यहूदीहरूले पाएको फलभन्दा कति भिन्न!
२३. बच्ने “देहधारी[ले]” के आशा गर्नसक्छन्?
२३ अब आफ्नो अनि आफ्ना प्रिय जनहरूको भविष्यको सम्भाव्यताहरू विचार गर्दै प्रकाश ७:१६, १७ मा उल्लिखित यस प्रतिज्ञालाई ध्यान दिनुहोस्: “तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउने छैनन्, नता सूर्यको राप अथवा कुनै ताप तिनीहरूमाथि पर्नेछ, किनकि सिंहासनका बीचमा हुने थुमा तिनीहरूका रखवाला हुनुहुनेछ, र तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” निस्सन्देह, यसलाई भने निश्चय पनि अद्भुत अनि चिरस्थायी ढंगमा ‘बचाइएको’ भन्नु मिल्छ।
[फुटनोटहरू]
a जून १, १९९६ को प्रहरीधरहरा पृष्ठ १४-१९ हेर्नुहोस्।
b जोसेफस भन्छन्: “शहरभित्र प्रवेश गरेपछि त्यसको मजबूती देखेर टाइटस चकित भए। . . . तिनी यसो भन्दै कराए: ‘परमेश्वरले हामीलाई साथ दिनुभएको छ; यहूदीहरूलाई यस्तो बलियो गढबाट निकाल्ने व्यक्ति परमेश्वरबाहेक अरू हुनैसक्तैन; अन्यथा यत्रा ठूल-ठूला धरहराहरूलाई कुन मानव हात वा यन्त्रले ढाल्नसक्थ्यो र?’”
c चाखलाग्दो कुरा, शेम-टोबको मत्ती २४:२२ मा हिब्रू शब्द अभर चलाइएको छ, जसको अर्थ “खातिर, निम्ति, ताकि” हुन्छ।—अघिल्लो लेखको पृष्ठ १३ हेर्नुहोस्।
d फेब्रुअरी १, १९९४ अंकको प्रहरीधरहरा पृष्ठ २१, २२ र पृष्ठ २४, २५ को चार्ट हेर्नुहोस्। त्यहाँ मत्ती अध्याय २४, मर्कूस अध्याय १३ र लूका अध्याय २१ मा दिइएका येशूको भविष्यसूचक जवाफका समानान्तर विवरणहरू पाइन्छन्।
e सन् १९८८ मा वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट!, पुस्तकको पृष्ठ २३५-५८ हेर्नुहोस्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ रोमीहरूले कुन दुइ चरणमा यरूशलेममाथि आक्रमण गरे?
◻ सा.यु. ७० मा बच्ने ९७,००० यहूदीहरूलाई किन मत्ती २४:२२ मा उल्लिखित “देहधारी” भन्नु मिल्दैन?
◻ यरूशलेमको संकष्टको समय कसरी घटाइयो र त्यसले गर्दा कसरी “देहधारी” बाँचे?
◻ नजिकिंदै गरेको महासंकष्टमा कसरी दिनहरू घटाएर “देहधारी” बचाइनेछन्?
[पृष्ठ १६-मा भएको चित्र]
विद्रोहपश्चात् मुद्रित यहूदी सिक्का। सिक्कामा कुँदिएको हिब्रू अक्षरको अर्थ “वर्ष दुइ” अर्थात् स्वायत्त शासनको दोस्रो वर्ष, सा.यु. ६७ हो
[स्रोत]
Pictorial Archive (Near Eastern History) Est.
[पृष्ठ १७-मा भएको चित्र]
सा.यु. ७१ मा मुद्रित रोमी सिक्का। बायाँ- पट्टि सशस्त्र रोमी सिपाही र दायाँपट्टि शोकाकुल यहूदी स्त्रीको चित्र छ। “युडि काप्ट” भन्ने शब्दको अर्थ “बन्दी यहूदिया” हो
[स्रोत]
Pictorial Archive (Near Eastern History) Est.