के तपाईंको जीवन भाग्यको नियन्त्रणमा छ?
“आला नो डोन।” पश्चिम अफ्रिकास्थित मालीको बम्बारा भाषामा यस अभिव्यक्तिको अर्थ हुन्छ, “यो परमेश्वरको कार्य हो।” संसारको त्यस भागमा यसप्रकारका नाराहरू अति सामान्य छन्। वोलोफ भाषामा यस्तो भनाइ छ, “याला मो को डेफ” (यो परमेश्वरले गर्नुभयो)। अनि गाउँले भाषा डोगोनमा तिनीहरू भन्छन्, “आमा बिरे” (यो परमेश्वरले गराउनुभएको हो)।
यस्तै अभिव्यक्तिहरू अरू मुलुकहरूमा पनि पाइन्छन्। मृत्यु हुँदा वा दुःख आइपर्दा “उसको समय पुगिसकेको थियो” र “परमेश्वरको इच्छा त्यस्तै रहेछ” जस्ता भनाइहरू प्रायजसो सुनिन्छ। “मानिस आशिष्को झोली थाप्छन्, परमेश्वर झोली भर्छन्” जस्ता नाराहरू पश्चिम अफ्रिकामा सार्वजनिक सवारीसाधनहरूमा लेखेका र पसलहरूमा चिह्नको रूपमा जताततै टालेका हुन्छन्। धेरैका लागि ती केवल बोलचाल हुन्। यद्यपि, ती अभिव्यक्तिहरूले प्रायः गहिरो जरा गाढेर बसेको भाग्यवादप्रतिको विश्वासलाई झल्काउँछन्।
त्यसोभए, भाग्यवाद के हो? द वर्ल्ड बूक इन्साइक्लोपीडिया-ले यसलाई “मानवजातिले नियन्त्रण गर्न नसक्ने शक्तिहरूद्वारा हुने घटनाहरूप्रतिको विश्वास” भनेर परिभाषित गर्छ। यी “शक्तिहरू” के हुन्? हजारौं वर्षअघि बेबिलोनीहरूले मानिस जन्मंदा ताराहरूको संयोजनले तिनको भाग्यमाथि गहिरो प्रभाव पारेको हुन्छ भनेर विश्वास गर्थे। (यशैया ४७:१३ तुलना गर्नुहोस्।) युनानीहरूले चाहिं जीवनको धागो कात्ने, नाप्ने र काट्ने तीन शक्तिशाली देवीहरूको हातमा भाग्य हुन्छ भनेर विश्वास गर्थे। तथापि, परमेश्वर स्वयंले व्यक्तिविशेषको भाग्य निर्धारण गर्नुहुन्छ भन्ने अवधारणा लिएर देखा पर्ने चाहिं मसीहीजगत्का धर्मविज्ञानीहरू हुन्!
उदाहरणका लागि, “सन्त” अगस्टिनले ज्योतिषीहरूका “झूटा र हानिकारक धारणाहरूलाई” अस्वीकार गरे। त्यसको विपरीत, “एकातिर परमेश्वरको अस्तित्वमा विश्वास गरेको दाबी गर्नु र अर्कोतिर उहाँलाई भावी कुराहरूको पूर्वज्ञान हुँदैन भनेर पनि भन्नुजस्तो महामूर्खता अरू केही हुन सक्तैन” भनेर तिनले तर्क गरे। साँच्चै सर्वशक्तिमान हुनको लागि परमेश्वरसित “सबै कुराको अग्रिमज्ञान हुनैपर्छ र तिनीहरूबारे पूर्वनिर्धारण गर्नैपर्छ” भनेर तिनले दाबा गरे। यद्यपि, परमेश्वरलाई सबै कुराको पूर्वज्ञान भए तापनि मानवहरू अझै स्वतन्त्र इच्छा राख्छन् भनेर अगस्टिनले उत्सुकतासाथ तर्क गरे।—परमेश्वरको शहर (अंग्रेजी) पुस्तक ५, अध्याय ७-९.
शताब्दीयौंपछि, प्रोटेस्टेन्ट धर्मविज्ञानी जोन काल्भिनले केही मानिसहरूलाई “[परमेश्वरद्वारा] स्वर्गीय राज्यका छोराछोरी तथा उत्तराधिकारीहरू हुन” र अरूलाई चाहिं “उहाँको क्रोध भोग्न” पूर्वनिर्धारण गरिएको हुन्छ भन्ने तर्क गर्दै थप अवधारणाको विकास गरे”!
आज, संसारका थुप्रै भागहरूमा भाग्यप्रतिको विश्वासलाई गम्भीरतापूर्वक लिइन्छ। पश्चिम अफ्रिकाका वुस्मान नाउँ गरेका जवान मानिसको अनुभवलाई विचार गर्नुहोस्। तिनी स्कूलका होनहार छात्र थिए तर अन्तिम परीक्षामा तिनी अनुत्तीर्ण भए! तिनको लागि त्यस अनुत्तीर्णको अर्थ त्यही कक्षामा पुनः अध्ययन गर्नुपर्ने बाध्यता मात्र नभई आफ्नो परिवार र मित्रहरूसामु लज्जास्पद कुरा थियो। एक मित्रले तिनलाई यो त परमेश्वरको इच्छा हो भनेर सान्त्वना दिन खोजे। वुस्मानकी आमाले पनि तिनी अनुत्तीर्ण भएकोमा भाग्यलाई दोष दिइन्।
सुरुमा वुस्मान तिनीहरूका सहानुभूतिहरू पाएर खुशी भए। आखिर तिनको असफलता साँच्चै परमेश्वरको इच्छा थियो भने, त्यसलाई रोक्न तिनले केही गर्न सक्दैनन् थिए। तर तिनको पिताको दृष्टिकोण बेग्लै थियो। परीक्षामा अनुत्तीर्ण हुनु वुस्मानको आफ्नै गल्ती हो, परमेश्वरको होइन भनेर तिनले वुस्मानलाई भने। वुस्मानले अध्ययनलाई हेलचक्य्राइँ गरेको कारण नै तिनी अनुत्तीर्ण भएका थिए।
भाग्यप्रतिको विश्वासमा पैरो गएकोले त्यस कुराको जाँचपड्ताल आफै गर्ने निर्णय वुस्मानले गरे। अब, तपाईंलाई पनि हामी यसपछिको लेखलाई विचार गर्दै त्यसै गर्न निमन्त्रणा दिन्छौं।