राज्य उद्घोषकहरूका रिपोर्ट
रूसमा “तिर्खाउने” व्यक्तिहरूलाई मदत
येशूले भन्नुभयो, “धन्य धार्मिकता निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्।” (मत्ती ५:६) रूसमा आध्यात्मिकताको लागि तिर्खाएका थुप्रै मानिसहरूको तिर्खा तृप्त पार्न यहोवाका साक्षीहरूले कसरी मदत दिंदैछन्, निम्न अनुभवहरूले छर्लंगै देखाउँछन्। त्यहाँ ७० वर्षभन्दा बढी समयसम्म धार्मिक स्वतन्त्रतामाथि प्रतिबन्ध लागेको थियो।
▪ भ्यालिन्टीना नाउँकी स्त्रीले धेरै वर्षअघिदेखि बाइबलसम्बन्धी गम्भीर प्रश्नहरूका जवाफ पाएकी थिइनन्। उदाहरणका लागि, तिनी सोच्ने गर्थिन्: ‘येशूले कसलाई प्रार्थना गर्नुभएको थियो?’ येशूले स्वयंलाई नभई आफूभन्दा कुनै उच्च व्यक्तिलाई प्रार्थना गर्नुभएको हुनुपर्छ भनेर तिनी मनमनै तर्क गर्थिन् र त्यस उच्च व्यक्तिको नाउँ के होला भनेर सोच्थिन्।
तिनले रूसी अर्थोडक्स चर्च धाइन्। तथापि, तिनले त्यस धर्ममा आफ्ना प्रश्नहरूका जवाफ पाउन सकिनन्। असन्तुष्ट भएर तिनी प्रोटेस्टेन्ट चर्च गइन्। तर अहँ, त्यहाँ पनि आफ्ना प्रश्नहरूको जवाफ पाउने तिनको सपना अधुरै रह्यो। अब जवाफ पाउन कहाँ जानुपर्ने हो थाह नभएकोले आफै जवाफ खोज्ने कोसिसमा भ्यालिन्टीनाले बाइबल पठन गर्ने सुर कसिन्। तैपनि, तिनले जवाफ पाउन सकिनन्। अन्ततः मदतको लागि प्रार्थना गरिन्।
केही समयपछि यहोवाका साक्षीहरूले तिनको ढोका ढकढकाए। उनीहरूले तिनलाई परमेश्वरको नाउँ यहोवा भनी बाइबलबाटै देखाए। येशूले प्रार्थना गर्नुभएको व्यक्ति को हुनुहुँदो रहेछ, अन्ततः तिनले थाह पाइन्! तिनले साक्षीहरूसित नियमित तवरमा बाइबल अध्ययन गर्न थालिन्। प्रायः तिनी रातभरि जागा बसेर वाच टावर सोसाइटीद्वारा प्रकाशित साहित्य पढ्थिन् र बाइबल पदहरू हेर्थिन्। आफूले सत्य नै भेट्टाएको हो भन्ने निष्कर्षमा भ्यालिन्टीना चाँडै पुगिन्। त्यसको तीन महिनाभित्र तिनले प्रचारकार्यमा भाग लिन थालिन् र त्यसको दुइ महिनापछि बप्तिस्मा लिइन्। तिनले सत्यको लागि प्रार्थनापूर्वक गरेको खोजीमा इनाम पाइन्।
▪ एक साक्षी दुर्गम इलाकामा प्रचार गर्न बस यात्रा गरिरहेका थिए। यात्राको दौडान तिनले एक जवान स्त्रीलाई बाइबलका प्रतिज्ञाहरूबारे बताए। तर त्यस स्त्रीले कुनै चासो देखाइनन्। त्यसको दुइ महिनापछि त्यस साक्षी फेरि त्यसै ठाउँमा जनभाषण दिन गए। भाषणपछि तिनले एक आगन्तुकलाई भेटेर सोधे: “के कसैले तपाईंलाई बाइबलको सुसमाचारबारे पहिले बताएको थियो?” त्यस मानिसले जवाफ दिए: “हो, तपाईंले नै।” त्यस साक्षीले तिनी ठट्टा गर्दैछन् भन्ठाने। तर दुइ महिनाअघि यात्राको दौडान त्यस साक्षी र जवान स्त्रीबीच बसमा भएको वार्तालाप सुनेको थिएँ भनेर त्यस जवान मानिसले बताए। “म अझ धेरै जान्न चाहन्थें, तर तपाईं बसबाट ओर्लिहाल्नुभयो। अनि अबउसो फेरि कहिल्यै यहोवाका साक्षीहरूसित भेट हुँदैन होला भनेर सोचेको थिएँ। त्यसपछि, कार्यस्थलमा एक जना मानिसलाई भेटें, जसले साक्षीहरूसित बाइबल अध्ययन गर्दैथिए। र त्यसैले अहिले म यहाँ छु!”
त्यस मानिस र तिनकी पत्नीले बाइबल अध्ययन गर्न थाले। तुरुन्तै तिनले आफ्नो जागिर बाइबलका सिद्धान्तहरूअनुरूप नभएको थाह पाउनसके। तिनले परमेश्वरसामु असल अन्तस्करण राख्ने इच्छा गर्दै अर्कै पेशा अपनाए। अहिले तिनी हर अवसरमा परमेश्वरको राज्यबारे अरूलाई बताउँछन्। तिनकी पत्नीले पनि बाइबल अध्ययनमा उन्नति गर्दैछिन्।
यहोवाका साक्षीहरू रूसको विस्तृत क्षेत्रमा निष्कपट मानिसहरूलाई यसो भन्ने आह्वान बाँड्न पाउँदा खुशी छन्: “‘आउनुहोस्’ . . . जो तिर्खाउँछ, त्यो आओस्, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।”—प्रकाश २२:१७.