सपना हामीले देख्नैपर्छ
के तपाईं सपनाहरू देख्नुहुन्छ? तपाईंले देख्नुहुन्छ भन्नुमा कुनै आपत्ति छैन किनभने देख्दैनौं भनेर दाबी गरे तापनि निदाएको बेला हामीले सपना देखिहाल्छौं। हामीले देख्ने सपनाहरूमा ९५ प्रतिशतभन्दा बढी सपनाहरू स्मरण नहुने अनुमान गरिएको छ। तपाईंले कुन प्रकारका सपनाहरू सम्झनुहुन्छ? वास्तवमा, साधारणतया हामीले सम्झिने सपनाहरू ब्यूँझनुअघि देखेकाहरू मात्र हुन्।
निद्रा उत्तरोत्तर प्रकिया हो भनेर सपना अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। त्यसको अर्थ, सुरुको केही घण्टा एकदमै गहिरो निद्रामा परिन्छ र त्यसपछिको निद्रा सजिलैसित भंग हुने खालको हुन्छ। विशेषगरि आँखाको क्रियाशील गति द्रुत भएको समयावधिमा सपना देखिन्छ। त्यस अवस्थालाई आरइएम निद्रा भनिन्छ। यो निद्रा र गैर-आरइएम निद्रा पालैपालो आउँछ। गैर-आरइएम/आरइएम निद्राको प्रत्येक चक्र लगभग ९० मिनेटसम्म रहन्छ र हामी ब्यूँझनअघिको अन्तिम निद्रालगायत रातभरिमा यो चक्र पाँच वा छ पटक दोहोरिन्छ।
सुतेको बेला मस्तिष्कले कम काम गर्छ भनेर सोच्नु गलत हो। जागा अवस्थाका कतिपय स्थितिहरूमा भन्दा सपनाहरू देखेको बेला मस्तिष्क धेरै सक्रिय भएको पत्ता लागेको छ। त्यतिबेला ब्रेन स्टेममा भएका केही न्युरोनहरू चाहिं यसरी सक्रिय हुँदैनन्। अनि यी न्युरोनहरू सजगता र स्मरणसित सम्बन्धित हुन्छन्। यिनीहरू आरइएम निद्राको दौडान विश्राम लिएको देखिन्छ। तर साधारणतया मस्तिष्कका स्नायु कोषिकाहरूले अन्तरकोषिय सम्पर्क राखिरहन्छन्।
अरबौं तत्त्वहरू भएको मस्तिष्क हाम्रो शरीरको अचम्मलाग्दो जटिल भाग हो। ती तत्त्वहरूले एक सेकेण्डमा लगभग एक सयदेखि दुइ वा तीन सयवटा संकेतहरू उत्पन्न गरिरहेका हुन्छन्। पृथ्वीमा भएका सम्पूर्ण मानिसहरूभन्दा धेरै तत्त्वहरू एक मानव मस्तिष्कमा हुन्छन्। केही अनुसन्धानकर्ताहरूको अनुमानअनुसार मस्तिष्कमा २ अरबदेखि ५ अरबभन्दा धेरै तत्त्वहरू हुन्छन्। यसको जटिलताले मानव शरीरबारे बाइबल लेखक दाऊदको यस भनाइको पुष्टि दिन्छ: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्चर्यका छन्। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।”—भजन १३९:१४.
सपनाहरूको संसार
हामी जागा भएको समयमा हाम्रा पाँच इन्द्रियहरूले मस्तिष्कमा निरन्तर सूचना तथा चित्रहरू पठाइरहन्छन्। तर निदाएको समयमा यस्तो हुँदैन। बाह्य इन्द्रियहरूको सहायताबिनै मस्तिष्क आफैले चित्रहरू बनाउँछ। तसर्थ, हामीले सपनामा देख्ने कुरा र कार्यहरू हामीलाई कहिलेकाहीं मतिभ्रमजस्तो लाग्छ। यसले हामीलाई प्राकृतिक नियमहरूबाहिरका कुराहरू गर्न सम्भव बनाउँछ। उदाहरणका लागि, पिटर पेनजस्तै उड्ने वा चोटपटक नलागी भीडबाट खस्ने इत्यादि। सपनामा समय पनि तलमाथि गर्न सकिन्छ होला, त्यसैले त विगतको कुरा पनि वर्तमानमा झैं देखा पर्छ। वा हामी भाग्ने चेष्टा गरिरहेका छौं भने आफ्नो गति नियन्त्रणमा नभएको झैं लाग्छ। हाम्रो गोडा चल्दै चल्दैन। निस्सन्देह, जागा अवस्थाका तीव्र प्रभावहरू र अनुभवहरूले हाम्रा सपनाहरूलाई असर गर्नसक्छन्। युद्धका बीभत्स दृश्यहरू देख्ने थुप्रैले ती सजिलैसित बिर्सनसक्दैनन् नता केहीले अपराधीद्वारा भएको आक्रमणको अनुभूतिलाई भुल्नसक्छन्। यस्ता मनोशान्ति भंग गर्ने जागा अवस्थाका अनुभवहरू हाम्रा सपनाहरूमा प्रकट हुनसक्छन् र डरलाग्दा सपनाहरू देखिन्छन्। सुत्ने बेलामा हामीले सोचेका सामान्य कुराहरू सपनाहरूमा देखिन सक्छन्।
कहिलेकाहीं समस्या सुल्झाउने प्रचेष्टा गरिरहेका छौं भने त्यसको समाधान सपनामा पाउँछौं। यसले कुन कुरालाई झल्काउँछ भने, निदाएको बेला सपना मात्रै देखिरहँदैन। निद्राको एक भाग सोचाइ पनि हो।
सपनाहरू र हाम्रो मस्तिष्कबारे लेखिएको एउटा पुस्तकले बताउँछ: “निद्रामा हुने अति सामान्य प्रकारको मानसिक क्रियाकलाप सपना नभई सोचाइ हो। निदाएको बेलाको सोचाइमा संवेदनीय भ्रान्तिहरू हुँदैनन् नता यो अनौठो नै हुन्छ। यसमा अक्सर घटनाहरू हिजो वा भोलिका वास्तविक जीवनजस्तैगरि प्रस्तुत हुन्छन् र सामान्यतः ती अति नीरस, असृजनशील र दोहोरिने हुन्छन्।”
केही मानिसहरूले सपनाहरू आफ्नोलागि विशेष सन्देश हुन् भनेर सोच्छन्। तिनीहरूले सपनाहरूको अर्थ खोल्न पलङको छेउमा कापी कलम राख्छन् ताकि ब्यूँझेपछि ती लेख्न सकियोस्। सपना संकेतहरूको अर्थ खोल्ने चेष्टा गरेका पुस्तकहरूको उपयोगिताबारे सपना क्रियाकलाप-मा (अंग्रेजी) आन फाराडे भन्छिन्: “सपनाका विषयहरू र संकेतहरूको अर्थ खोज्न तपाईंहरूले हेर्नुहुने सपनासम्बन्धी पुस्तकहरू चाहे ती परम्परावादी हुन् या आधुनिक मनोवैज्ञानिक सिद्धान्तमा आधारित होऊन्, सबै बेकारका हुन्।”
सपनाहरू मुख्यतः मस्तिष्कभित्रको उपजजस्ता देखिने भएकोले ती हाम्रोनिम्ति विशेष सन्देशहरू हुन् भनेर सोच्नु युक्तिसंगत छैन। हामीले सपनाहरूलाई मस्तिष्कको सामान्य कार्यको रूपमा हेर्नुपर्छ, जसले मस्तिष्कलाई तन्दुरुस्त राख्न मदत दिन्छन्।
तर ती व्यक्तिहरूबारे के भन्न सकिन्छ, जसले आफन्त वा मित्रको मृत्यु भएको सपना देखेका र त्यसको भोलिपल्ट साँच्चै त्यस व्यक्तिको मृत्यु भएको थाह लागेको कुरा गर्छन्? सपनाहरूले भविष्यबारे बताउनसक्छन् भनेर के त्यसले देखाउँदैन र? भविष्यसूचक सपनाहरूपछाडि के छ, हामी यसपछिको लेखमा छलफल गर्नेछौं।