“दाऊदको घराना” तथ्य या काल्पनिक?
दाऊद—संगीतकार, कवि, सिपाही, भविष्यवक्ता र राजा बनेका एक जवान गोठालो केटोले बाइबलमा विशिष्ट स्थान पाएका छन्। तिनको नाउँ १,१३८ पटक उल्लेख गरिएको छ र अक्सर दाऊदको राजखानदानीलाई बुझाउने “दाऊदको घराना” भनिने अभिव्यक्ति २५ पटक प्रयोग भएको छ। (१ शमूएल २०:१६) के राजा दाऊद र तिनको घराना मात्र काल्पनिक हो? पुरातत्त्वले के प्रकट गरेको छ? उत्तर गालिलको तेल दानमा गरिएको पुरातात्त्विक उत्खननमा हालै एउटा उल्लेखनीय कुरा पत्ता लाग्यो। यसले दाऊद र तिनको राजखानदानीको ऐतिहासिकतालाई समर्थन गर्छ भनेर रिपोर्ट गरिएको छ।
सन् १९९३ को ग्रीष्म ऋतुमा प्राध्यापक अभ्राम बिराङको नेतृत्वमा एउटा पुरातात्त्विक टोलीले पुरातन दानको बाहिरी ढोका वरपर सफा गऱ्यो। त्यहाँ तिनीहरूले ढुंगा छापेको चोक भेट्टाए। जमीनको सतहबाट माथि उठेको एउटा कालो चट्टान सजिलै हटाइयो। अनि त्यो चट्टानलाई दिउँसोको घामतिर फर्काउँदा त्यसमा कुँदिएका अक्षरहरू प्रष्टै देखिए। “हे प्रभु! हामीले शिलालेख भेट्टायौं!” प्राध्यापक बिराङ आश्चर्यचकित भएर कराए।
प्राध्यापक बिराङ र यरूशलेमस्थित हिब्रू विश्वविद्यालयका सहकर्मी प्राध्यापक योसफ नाभेले तत्कालै यस शिलालेखबारे वैज्ञानिक प्रतिवेदन लेखे। मार्च/अप्रिल १९९४ को बाइबलीय पुरातत्त्वको पुनरावृत्ति (अंग्रेजी) पत्रिकामा उक्त प्रतिवेदनको आधारमा लेखिएको एउटा लेख यस्तो छ: “पुरातात्त्विक उत्खननबाट पत्ता लागेको बहुमूल्य वस्तुबारे न्यु योर्क टाइम्स-मा अक्सर प्रमुख समाचार हुँदैन (टाइम पत्रिकाको त झन् कुरै नगरौं)। तर गत ग्रीष्म ऋतुमा उत्तर गालिलको सुन्दर ढिस्को अर्थात् हर्मोन डाँडाको फेदमा यर्दन नदीको मूल नजीकै पर्ने तेल दानमा खोजकार्यद्वारा पत्ता लागेको कुरा प्रमुख समाचार हुन गयो।
“त्यहाँ अभ्राम बिराङ र पुरातत्त्वविद्हरूको टोलीले सा.यु.पू. नवौं शताब्दीतिरको एउटा उल्लेखनीय शिलालेख पत्ता लगायो। यो शिलालेखले ‘दाऊदको घराना’ र ‘इस्राएलको राजा’ दुवैलाई संकेत गर्छ। दाऊदको नाउँ बाइबलबाहेक अन्य कुनै पनि पुरातन शिलालेखमा पाइएको यो प्रथम पटक हो। अनि यो शिलालेखले ‘दाऊद’ नाउँ गरेका कुनै व्यक्तिलाई मात्र नभई दाऊदको घराना, महान् इस्राएली राजाको राजखानदानीलाई संकेत गर्नु झन् उल्लेखनीय छ।
“‘इस्राएलको राजा’ भन्ने पदावली बाइबलमा र अझ विशेषगरि राजाहरूको पुस्तकमा बारम्बार पाइन्छ। तथापि, यो लेखोट बाइबलबाहेक इस्राएलबारे शेम लिपीमा लेखिएको सबैभन्दा पुरानो सन्दर्भिका साबित हुनसक्छ। यसको अतिरिक्त बाइबलीय तथ्यहरूको आलोचना गर्ने केही शास्त्रविद्हरूको दाबा विपरीत इस्राएल र यहूदा दुवै त्यो समयमा महत्त्वपूर्ण राज्यहरू थिए भन्ने कुरा यो शिलालेखले प्रमाणित गर्छ।”
लेखोटको आकृति, नजीकैको ढुंगेनी टुक्राटाक्रीहरूमा पाइएको माटोका भाँडाहरूको विश्लेषण र शिलालेखको विषयवस्तुमा उक्त समय आधारित छ। यी तीनवटै तार्किक प्रणालीहरूले एउटै समयावधि अर्थात् सा.यु.पू. नवौं शताब्दीलाई संकेत गर्छ। त्यो राजा दाऊदको राज्यकालको लगभग १०० वर्षभन्दा बढी समय बितिसकेपछिको हो। त्यो शिलालेख “इस्राएलको राजा” र “दाऊदको घरानाको [राजा]” दुवैका शत्रु अरामीहरूले दानमा स्थापना गरेको विजय स्मारिकाको टुक्रा थियो भनी शास्त्रविद्हरू विश्वास गर्छन्। पूर्वतिर बस्ने ती अरामीहरू लोकप्रिय आँधी-देव हादादको उपासना गर्थे।
सन् १९९४ को ग्रीष्म ऋतुमा यो स्तम्भका अरू दुइटा टुक्राहरू पनि भेटिए। प्राध्यापक बिराङ यस्तो रिपोर्ट गर्छन्: “यी दुइ टुक्राहरूमा अर्मेनी देवता हादादको नाउँलगायत इस्राएली र अरामीहरूबीच चलेको युद्धबारे उल्लेख गरिएको छ।”
मुख्य टुक्रा चाहिं सन् १९९३ मा पाइएको थियो र त्यसमा पुरानो हिब्रू लेखोटमा लेखिएका १३ वटा अस्पष्ट पंक्तिहरू थिए। त्यतिबेला शब्दहरू छुट्याउने विभक्तको रूपमा थोप्लाहरू प्रयोग गरिन्थ्यो। तथापि, “दाऊदको घराना” लेख्दा “byt” (घर) (रोमी अक्षरमा लिप्यन्तरण गरिएको), एक थोप्ला, अनि त्यसपछि “dwd” (दाऊद) लेख्नुको साटो एउटै सिंगो शब्दको रूपमा “bytdwd” लेखिएको थियो। “bytdwd” को अर्थबारे प्रश्नहरू खडा हुनु स्वाभाविक हो।
भाषाविद् प्राध्यापक अन्सन रेनी यसरी व्याख्या गर्छन्: “योसफ नाभे र अभ्राम बिराङले शिलालेखबारे विस्तृत रूपमा व्याख्या गरेनन्। शायद तिनीहरूले विशेषगरि व्यक्तिवाचक नाउँको रूपमा परिचित भइसकेको शब्दावलीको बनौटमा भएको विभक्तलाई हटाए तापनि पाठकहरूले त्यो बुझिहाल्छन् भन्ठाने। ‘दाऊदको घराना’ भन्ने अभिव्यक्ति सा.यु.पू नवौं शताब्दीको बीचतिर पक्कै पनि राजनैतिक र भौगोलिक व्यक्तिवाचक नाउँ भइसकेको थियो।”
अर्को पुरातात्त्विक प्रमाण
त्यो पत्ता लागेपछि मेशा स्तम्भले (यसलाई मोआबी शिला पनि भनिन्छ) पनि “दाऊदको घराना[लाई]” संकेत गर्छ भनी मेशा स्तम्भका विशेषज्ञ प्राध्यापक आन्द्रे लमेरले रिपोर्ट गरे।a सन् १८६८ मा पत्ता लागेको मेशा स्तम्भ र तेल दान स्तम्भबीच निकै समानता छ। सा.यु.पू. नवौं शताब्दीमा लेखिएका ती दुवै स्तम्भहरूका पत्रहरू पनि उस्तै छन्, ती करिबन उस्तै आकारका छन् र लगभग उस्तै प्रकारको शेम लिपीमा लेखिएका छन्।
मेशा स्तम्भका टुटेफुटेका अक्षरहरूको नयाँ पुनर्निर्माणसम्बन्धी प्राध्यापक लमेरले यसरी लेखे: “तेल दानमा पत्ता लागेका टुक्राटाक्रीहरू भेट्टाउनुभन्दा लगभग दुइ वर्षअघिसम्म मेशा स्तम्भमा ‘दाऊदको घराना’ उल्लेख गरिएको छ भन्ने मेरो निष्कर्ष थियो। . . . शायद मेशा स्तम्भको आधिकारिक संस्करण अर्थात् एडिटिओ प्रिङ्केप्ज [प्रथम संस्करण] नभएकोले ‘दाऊदको घरानाबारे’ पहिले कहिल्यै उल्लेख हुन नसकेको हुनसक्छ। त्यसैकारण मेशा स्तम्भ पत्ता लागेको १२५ वर्षपछि म उक्त संस्करण तयार गर्दैछु।”
यस्तो पुरातात्त्विक जानकारी चाखलाग्दो छ किनकि एक स्वर्गदूत, येशू स्वयं, उहाँका चेलाहरू र जनसाधारणले दाऊद ऐतिहासिक व्यक्ति हुन् भन्ने पुष्टि दिएका छन्। (मत्ती १:१; १२:३; २१:९; लूका १:३२; प्रेरित २:२९) पुरातात्त्विक खोजहरूले तिनी र तिनको राजखानदानी अर्थात् “दाऊदको घराना,” तथ्य हुन्, काल्पनिक होइनन् भन्ने कुरामा सुस्पष्ट समर्थन गर्छन्।
[फुटनोट]
a मेशा स्तम्भबारे वाच टावर सोसाइटीका साहित्यहरूका पाठकहरूले थाह पाइसक्नुभएको छ। (प्रहरीधरहरा, जुलाई १, १९९१ पृष्ठ २६-७ हेर्नुहोस्।) यो पेरिसको लुव्र संग्रहालयमा प्रदर्शनको लागि राखिएको छ।
[पृष्ठ ३१-मा भएको चित्र]
उत्तर गालिलको शहर दानमा सन् १९९३ मा पत्ता लागेको तेल दानका टुक्राटाक्रीहरू*
* यो चित्र इजरायल एक्स्प्लोरेशन जर्नल-मा दिइएको तस्बिरमा आधारित छ।