प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १२/१ पृ. १५-२०
  • आफ्नो सृष्टिकर्ताको सम्झना गर्ने जवानहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो सृष्टिकर्ताको सम्झना गर्ने जवानहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंलाई परमेश्‍वर कत्तिको वास्तविक लाग्छ?
  • सम्झनुको अर्थ के हो
  • उद्देश्‍यसहितको शिक्षा
  • आफ्नो पुँजी किन बुद्धिमानीपूर्वक चलाउने?
  • अनुकरणीय युवायुवतीहरू
  • उद्देश्‍य सहितको शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • के बाइबलले शिक्षालाई निरुत्साहित गर्छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • शिक्षा—त्यसलाई यहोवाको प्रशंसा गर्न चलाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • जवानहरू हो—आफ्नो महान्‌ सृष्टिकर्ताको सम्झना अहिल्यै गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १२/१ पृ. १५-२०

आफ्नो सृष्टिकर्ताको सम्झना गर्ने जवानहरू

“आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌।”—उपदेशक १२:१.

१. एघार वर्षीय केटोको कुन अभिव्यक्‍तिहरूले तिनको निम्ति हाम्रो सृष्टिकर्ता वास्तविक हुनुहुन्छ भनी प्रकाश पार्छ?

जवानहरूले यहोवा परमेश्‍वरलाई एक वास्तविक व्यक्‍ति ठान्‍नु र आफ्नो बोलीचालीद्वारा उहाँको तारिफ गर्नुका साथै उहाँलाई खुशी तुल्याउन खोज्नु कत्ति असल कुरा हो! एक ११ वर्षीय केटा यसो भन्छन्‌: “म एक्लै हुँदा झ्यालबाट हेर्छु अनि यहोवाको सृष्टि साँच्चै अद्‌भुत छ भन्‍ने कुरा देख्छु। त्यसपछि भविष्यमा प्रमोदवन कत्ति सुन्दर हुनेछ र त्यतिबेला जनावरहरूलाई छुनसक्ने प्रत्याशाबारे कल्पना गर्छु।” (यशैया ११:६-९) तिनी अझै भन्छन्‌: “म एक्लै हुँदा यहोवालाई प्रार्थना गर्छु। उहाँसित जतिसुकै कुरा गरे तापनि उहाँ रिसाउनुहुन्‍न भनेर मलाई थाह छ। उहाँ सधैं मलाई हेरिरहनुहुन्छ भनेर थाह छ।” त्यस केटालाई जस्तै के तपाईंलाई पनि हाम्रो सृष्टिकर्ता वास्तविक लाग्छ?

तपाईंलाई परमेश्‍वर कत्तिको वास्तविक लाग्छ?

२. (क) तपाईंको सृष्टिकर्ता तपाईंको निम्ति कसरी वास्तविक हुन सक्नुहुन्छ? (ख) आफ्ना छोराछोरीलाई परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ भनी बुझ्न मदत दिन आमाबाबुले कस्तो भूमिका निर्वाह गर्नसक्छन्‌?

२ यहोवा अनि उहाँका प्रतिज्ञाहरू तपाईंको निम्ति वास्तविक हुन सर्वप्रथम तपाईंले उहाँबारे र बाइबलले वर्णन गरेको धार्मिक नयाँ संसारमा उहाँले दिनुहुने सुन्दर भविष्यबारे सिक्नुपर्छ। (प्रकाश २१:३, ४) तपाईंका आमाबाबुले यी कुराहरू सिकाएका छन्‌ भने तपाईंसित कृतज्ञ हुने कारण छ किनभने त्यसले तपाईंलाई यो प्रेरित आदेश पालन गर्न सक्षम बनाउनेछ: “आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌।” (उपदेशक १२:१) केटाकेटी छँदा आमाबाबुबाट पाएको प्रशिक्षणबारे एक युवती भन्छिन्‌: “जीवनको हरेक कामकुरामा यहोवा विथोलित हुनुहुन्छ भनेर मेरा आमाबाबुले जोड दिनुहुन्थ्यो। मेरोलागि सृष्टिकर्ताको सम्झना गर्ने कुञ्जी नै यही थियो।” अर्को एक युवतीले यसो भनिन्‌: “यहोवा वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर मेरा आमाबाबुले सिकाउनुभएकोमा म उहाँहरूप्रति सदैव आभारी हुनेछु। उहाँहरूले परमेश्‍वरलाई कसरी प्रेम गर्ने, त्यो देखाउनुका साथै उहाँलाई पूर्ण-समय सेवा चढाउँदा पाउने आनन्दबारे बताउनुभयो।”

३, ४. यहोवालाई वास्तविक व्यक्‍तिको रूपमा विचार गर्न तपाईंलाई के कुराले मदत गर्नेछ?

३ तैपनि, परमेश्‍वर तिनीहरूमा चासो लिनुहुने वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर विचार गर्न गाह्रो लाग्छ। के तपाईंलाई पनि त्यस्तै लाग्छ? एक जवानलाई प्रहरीधरहरा-को निम्न कथनले परमेश्‍वरबारे व्यक्‍तिगत रूपमा सोच्न मदत पुऱ्‍यायो: “यहोवा परमेश्‍वरको आकार कत्रो छ, हामीलाई थाह छैन।” परमेश्‍वरको श्रेष्ठता पक्कै पनि उहाँको आकार वा बनौटमा निर्भर हुँदैन। जुन कुरा त्यस प्रहरीधरहरा-को अर्को वाक्यबाट प्रष्टिन्छ: “उहाँको महानता त उहाँ कस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ” त्यसमा भर पर्छ। निस्सन्देह, उहाँ विश्‍वासयोग्य, अनुकम्पापूर्ण, मायालु र क्षमाशील परमेश्‍वर हुनुहुन्छ।a (प्रस्थान ३४:६; व्यवस्था ३२:४; भजन ८६:५; याकूब ५:११) के तपाईंले यहोवालाई बहुमूल्य सम्बन्ध राख्न सकिने भरपर्दो साथीको रूपमा हेर्नुभएको छ?—यशैया ४१:८; याकूब २:२३.

४ येशूले आफ्ना प्रारम्भिक अनुयायीहरूलाई परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध गाँस्न मदत दिनुभयो। अतः, प्रेरित यूहन्‍नाले प्रत्याशित पुनरुत्थानबाट प्राप्त हुने स्वर्गीय जीवनबारे यसो भने: “हामी [परमेश्‍वरजस्तै] हुनेछौं, किनकि उहाँ जस्तो हुनुहुन्छ, हामी उहाँलाई त्यस्तै देख्नेछौं।” (१ यूहन्‍ना ३:२; १ कोरिन्थी १५:४४) आजका जवानहरूलाई पनि परमेश्‍वरलाई वास्तविक व्यक्‍तिको रूपमा हेर्न मदत दिन सकिन्छ। एउटा यस्तो व्यक्‍ति जसलाई तिनीहरूले व्यक्‍तिगत रूपमा देख्न नसके तापनि उहाँलाई राम्ररी चिन्‍नसक्छन्‌। एक युवकले यस्तो टिप्पणी गरे: “‘यहोवाले के भन्‍नुहुन्थ्यो होला? तिमी कसरी आफ्नै शब्दमा बुझाउनसक्छौ? त्यसको अर्थ के हो?’ जस्ता थुप्रै प्रश्‍नहरू सोधेर मेरा आमाबाबुले मलाई यहोवाको सम्झना गर्न मदत दिनुभयो।” के यस्ता प्रश्‍नहरूले हामीलाई परमेश्‍वरसितको व्यक्‍तिगत सम्बन्धबारे सोच्न बाध्य गराउँदैनन्‌ र?

सम्झनुको अर्थ के हो

५. कसैलाई सम्झनुको अर्थ तिनको नाउँ मात्र सम्झनु होइन भनेर बाइबलका कुन उदाहरणहरूले देखाउँछन्‌?

५ “आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌” भन्‍ने आज्ञा पालन गर्नुको अर्थ यहोवाबारे सोच्नु मात्रै होइन। यसमा उहाँलाई खुशी तुल्याउने कार्य गर्नु पनि समावेश छ। सँगै शूलीमा लट्‌काइएका अपराधीले येशूलाई “तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्‌” भनेर बिन्ती गर्दा तिनले अवश्‍य पनि येशूले तिनको नाउँ मात्र सम्झोस्‌ भन्‍ने चाहेका थिएनन्‌। तिनी येशूले कार्य गर्नुभएको अर्थात्‌ तिनको पुनरुत्थान गर्नुभएको चाहन्थे। (लूका २३:४२) त्यस्तैगरि कैदमा परेका यूसुफले फिरऊनको मुख्य पियाउनेलाई फिरऊनसमक्ष तिनको सम्झना गरिदिन आग्रह गर्दा आफ्नो खातिर केही कार्य गरेको चाहन्थे। अनि अय्यूबले परमेश्‍वरलाई “मलाई सम्झनुभएता हुनेथियो” भनेर बिन्ती गर्दा भविष्यमा तिनको पुनरुत्थान गर्न आग्रह गरिरहेका थिए।—अय्यूब १४:१३; उत्पत्ति ४०:१४, २३.

६. हिब्रू शब्द “सम्झना[ले]” सम्झिएका कुनै कुरा वा व्यक्‍तिप्रतिको स्नेहलाई संकेत गर्छ भनी कसरी देखाउँछ?

६ एक विशेषज्ञअनुसार “सम्झना” भनी अनुवाद गरिएको हिब्रू शब्दले अक्सर “सम्झनाको कारण उत्पन्‍न हुने स्नेह र कार्यलाई” संकेत गर्छ। “सम्झना” शब्दमा “स्नेह[को]” संकेत पाइन्छ भन्‍ने कुरा उजाडस्थानमा “मिश्रित दल[ले]” गरेको उद्‌गारबाट प्रष्टिन्छ: “हामीले मिश्रदेशमा . . . खानपाएको माछा, . . . हामी सम्झन्छौं।” अय्यूबले परमेश्‍वरलाई अनुग्रहपूर्वक आफ्नो सम्झना गर्न बिन्ती गरेझैं हिजकियाह, नहेम्याह, दाऊद र नाउँ थाह नभएको भजनरचयिताले यहोवालाई तिनीहरूको निष्ठालाई स्वीकार्दै स्नेहसाथ सम्झना गर्न बिन्ती चढाए।—गन्ती ११:४, ५; २ राजा २०:३; नहेम्याह ५:१९; १३:३१; भजन २५:७; १०६:४.

७. हामीले परमेश्‍वरलाई स्नेहसाथ सम्झ्यौं भने यसले हाम्रो आचरणलाई कसरी प्रभाव पार्छ?

७ अतः हामी सोध्नसक्छौं, ‘के हामी आफ्नो सृष्टिकर्तालाई स्नेहसाथ सम्झेर उहाँलाई चित्त दुख्ने वा पीडा महसुस हुने कुराहरूदेखि टाढा बस्छौं?’ एक युवतीले यस्तो टिप्पणी गरिन्‌: “आमाले मलाई यहोवाका पनि भावनाहरू हुन्छन्‌ भनी बुझ्न मदत दिनुभयो र मेरा कार्यहरूले उहाँलाई असर पार्छ भन्‍ने कुरा मलाई सानैदेखि राम्ररी थाह थियो।” (भजन ७८:४०-४२) अर्की युवतीले यस्तो भनिन्‌: “शैतानले यहोवालाई दिएको चुनौतीको जवाफ दिन मेरो कार्यले या त मदत पुऱ्‍याउनेछ नभए बाधा पुऱ्‍याउनेछ भनेर मलाई थाह थियो। यहोवा- को हृदयलाई प्रसन्‍न तुल्याउने मेरो चाहनाले मलाई मदत गऱ्‍यो र अहिले पनि गरिरहेको छ।”—हितोपदेश २७:११.

८. (क) कुन कुराको पछि लाग्दा हामीले यहोवालाई स्नेहसाथ सम्झिरहेका छौं भन्‍ने संकेत मिल्छ? (ख) जवानहरूले कुन प्रश्‍नहरू बुद्धिमानीपूर्वक विचार गर्नेछन्‌?

८ हो, यस दुष्ट रीतिरिवाजमा यहोवालाई प्रसन्‍न तुल्याउने गतिविधिहरूमा पूर्णतया भाग लिएर उहाँको सम्झना गर्नु सधैं सजिलो पक्कै छैन। तैपनि अग्रगामी सेवकको हैसियतमा पूर्ण-समय मसीही सेवामा लागेर प्रथम शताब्दीका जवान तिमोथीलगायत आजका हजारौं ईश्‍वरभीरु जवानहरूको अनुकरण गर्नसक्नु कत्ति असल हुनेछ! (प्रेरित १६:१-३; १ थिस्सलोनिकी ३:२) यद्यपि यस्तो प्रश्‍न गर्न सकिन्छ, अग्रगामी सेवकाईमा लागेर के म आफ्नो जीवन धान्‍नसक्छु? अनि विवाह भएमा परिवारको पालनपोषण गर्न के ममा सीप छ? (१ तिमोथी ५:८) यी प्रश्‍नहरू महत्त्वपूर्ण छन्‌ र तपाईंले यसबारे गम्भीरतापूर्वक सोच्नु अत्यावश्‍यक छ।

उद्देश्‍यसहितको शिक्षा

९. सांसारिक शिक्षाको सन्दर्भमा जवानहरूले कुन निर्णयको सामना गर्नुपर्छ?

९ मानव समाज झन्‌ झनै जटिल हुँदै गएकोले अग्रगामी कार्यमा लागिरहन टेवा पुऱ्‍याउने सुहाउँदो जागिर प्राप्त गर्न अझ धेरै शिक्षा हासिल गर्नुपर्ने हुनसक्छ। विश्‍वविद्यालयको शिक्षा हासिल गरेकाहरूले समेत जागिरदाताहरूले आज महत्त्व दिने नयाँ सीपहरू सिक्न फेरि शिक्षा लिनुपरेको कुरा तपाईंले याद गर्नुभएको होला। त्यसोभए तपाईं परमेश्‍वरलाई आनन्दित तुल्याउन चाहने जवानहरूले कति शिक्षा हासिल गर्नुपर्छ त? यस विषयमा “आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌” भन्‍ने प्रेरित आदेशलाई मनमा राख्दै उपयुक्‍त ढंगमा निर्णय गर्नुपर्छ।

१०. हामीले प्राप्त गर्नसक्ने सर्वोत्तम शिक्षा के हो?

१० निस्सन्देह, थुप्रै विशेषज्ञहरूले समेत सर्वोत्तम भनी स्वीकारेको शिक्षा तपाईं हासिल गर्न चाहनुहुन्छ र त्यो हो, परमेश्‍वरको वचनलाई होशियारीपूर्वक अध्ययन गर्नु। जर्मन लेखक योहान भोल्फगान भन गोथेले यस्तो टिप्पणी गरे: “[मानिसहरूले] जति बौद्धिक प्रगति गर्छन्‌, त्यति नै धेरै बाइबललाई शिक्षाको आधारशिला र साधनको रूपमा चलाउन सम्भव हुन्छ।” हो, अरू कुनै शिक्षाले भन्दा बाइबलको शिक्षाले हामीलाई जीवनसित सामना गर्न सुसज्जित बनाउँछ!—हितोपदेश २:६-१७; २ तिमोथी ३:१४-१७.

११. (क) हामीले गर्नसक्ने सर्वमहत्त्वपूर्ण कार्य के हो? (ख) एक जवानले त्यत्तिको शिक्षा हासिल गर्ने छनौट किन गरे?

११ परमेश्‍वरको ज्ञान जीवनदायी भएकोले आज तपाईंले गर्नसक्ने सर्वमहत्त्वपूर्ण कार्य नै अरूसित यो ज्ञान बाँड्‌नु हो। (हितोपदेश ३:१३-१८; यूहन्‍ना ४:३४; १७:३) तथापि यो काम प्रभावकारी ढंगमा गर्न तपाईंले आधारभूत शिक्षा हासिल गर्नु आवश्‍यक छ। स्कूलमा सिकाइने सीपहरू, जस्तै स्पष्टसित सोच्ने, तर्कसंगत ढंगमा बोल्ने र राम्रोसित लेखपढ गर्ने कुरामा तपाईं निपुण हुनुपर्छ। त्यसकारण, उच्च माध्यमिक स्कूलबाट राम्रो उत्तीर्णांक प्राप्त गरेर स्नातक भएका फ्लोरिडा, स.रा.अ.-की जवान ट्रेसीले जस्तै आफ्नो स्कूलको पाठ्यक्रमलाई गम्भीरतापूर्वक लिनुहोस्‌। तिनले आफ्नो आशा यसरी व्यक्‍त गरिन्‌: “मैले पहिल्यैदेखि यहोवा परमेश्‍वरको पूर्ण-समय सेवक हुने लक्ष्य राखेकी थिएँ र मलाई आशा छ, यो लक्ष्य पूरा गर्न मेरो शिक्षाले मदत गर्नेछ।”

१२. थप सांसारिक शिक्षा हासिल गर्ने छनौट गरेमा कुन उद्देश्‍य पूरा गर्न मदतकारी हुनसक्छ?

१२ तपाईं किन स्कूल जानुहुन्छ, के कहिल्यै सोच्नुभएको छ? के यो मुख्यतः आफूलाई यहोवाको प्रभावकारी सेवक हुन सुसज्जित बनाउनलाई हो? हो भने तपाईंको शिक्षाले त्यो लक्ष्य हासिल गर्न कत्तिको मदत गर्छ, त्यसबारे गम्भीरतापूर्वक विचार गर्नु बेस हुनेछ। आफ्नो आमाबाबुसितको छलफलपश्‍चात्‌ तपाईंले कानुनले तोकेभन्दा बढी शिक्षा हासिल गर्ने निर्णय गर्न सक्नुहुन्छ। त्यस्तो थप शिक्षाले आफ्नो जीवन धान्‍ने जागिर प्राप्त गर्न मदत दिनसक्छ र त्यसका साथै परमेश्‍वरको राज्य गतिविधिमा भाग लिन समय तथा बल अझै बच्नसक्छ।—मत्ती ६:३३.

१३. अतिरिक्‍त शिक्षा हासिल गर्ने दुइ रूसी मसीहीहरूले आफ्नो जीवनको उद्देश्‍य कसरी प्रदर्शन गरेका छन्‌?

१३ अतिरिक्‍त शिक्षा हासिल गर्दा गर्दै पनि कसै कसैले पूर्ण-समय सेवकाईमा भाग लिन्छन्‌। उदाहरणका लागि, मस्को, रूसका नादिया र मरिना नाउँ गरेकी दुइ किशोरीहरूलाई लिनुहोस्‌। दुवैले अप्रिल १९९४ मा बप्तिस्मा लिएर सहायक अग्रगामी सेवकहरूको हैसियतमा सेवा गर्न थाले। त्यसको तुरुन्तैपछि उच्च माध्यमिक विद्यालयबाट स्नातक भए अनि लेखा विषयमा दुइ वर्षे तालिममा भर्ना भए। मे १९९५ मा तिनीहरूले नियमित अग्रगामी सुरु गरे, र पनि लेखा विषयमा उच्च लब्धांक नै कायम गर्न सके। अझ महत्त्वपूर्ण त, स्कूलमै छँदा दुवै जनाले आपसमा सरदर १४ वटा बाइबल अध्ययनहरू सञ्चालन गर्न सफल भए। ती केटीहरू लेखासम्बन्धी तिनीहरूले हासिल गरेको शिक्षाले पूर्ण-समय सेवकाईमा टेवा पुऱ्‍याउने सुहाउँदो जागिर पाउन मदत गर्ने आशा गर्छन्‌।

१४. हामीले जतिसुकै सांसारिक शिक्षा हासिल गर्न रोजेका भए तापनि हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हुनुपर्छ?

१४ कानुनले तोकेभन्दा बढी शिक्षा हासिल गर्ने निर्णय गर्दै हुनुहुन्छ भने, त्यसो गर्नुको कारण बुद्धिमत्तापूर्वक जाँच्नुहोस्‌। के यसो गर्नुको कारण नाउँ कमाउन वा भौतिक धन-सम्पत्ति प्राप्त गर्न हो कि? (यर्मिया ४५:५; १ तिमोथी ६:१७) वा अतिरिक्‍त शिक्षाको मदतद्वारा यहोवाको सेवामा अझ पूर्णतया भाग लिन हो? थप शिक्षा हासिल गर्ने छनौट गरेका जवान लिडियाले आफ्नो ध्यान आध्यात्मिक कुराहरूमै केन्द्रित भएको बताइन्‌: “संसारका अरू जवानहरू उच्च शिक्षा हासिल गरेर भौतिकवादलाई अवरोध हुन दिन्छन्‌ अनि परमेश्‍वरलाई बिर्सन्छन्‌। व्यक्‍तिगत रूपमा मेरोलागि सबैभन्दा महत्त्वपूर्ण कुरा परमेश्‍वरसितको सम्बन्ध हो।” हामी सबैको लागि कस्तो प्रशंसनीय मनोवृत्ति!

१५. प्रथम शताब्दीका मसीहीहरू कुन विविध शैक्षिक पृष्ठभूमिका थिए?

१५ उल्लेखनीय कुरा, प्रथम शताब्दीका मसीहीहरूका विविध शैक्षिक पृष्ठभूमि थियो। उदाहरणका लागि, प्रेरितहरू पत्रुस र यूहन्‍नाले रब्बीहरूको स्कूलबाट शिक्षा हासिल नगरेकोले तिनीहरू “अपठित र अजान” मानिन्थे। (प्रेरित ४:१३) अर्कोतर्फ फेरि प्रेरित पावलले भने आज विश्‍वविद्यालयको शिक्षासित तुलना गर्न सकिने शिक्षा हासिल गरेका थिए। तैपनि पावलले त्यो शिक्षा आफूतिर ध्यान खिच्न प्रयोग गरेनन्‌ बरु, यो विभिन्‍न पृष्ठभूमिका मानिसहरूलाई प्रचार गर्न वरदान साबित भयो। (प्रेरित २२:३; १ कोरिन्थी ९:१९-२३; फिलिप्पी १:७) त्यस्तैगरि एन्टिओक मण्डलीमा अगुवा लिने मनेनले पनि जिल्ला “शासक हेरोदसँग” शिक्षा लिएका थिए।—प्रेरित १३:१.

आफ्नो पुँजी किन बुद्धिमानीपूर्वक चलाउने?

१६. (क) हामी ऋणमा डुबेका छौं भने हाम्रो सृष्टिकर्तालाई सम्झनु किन गाह्रो पर्नेछ? (ख) खर्च गर्नुअघि विचार गर्नुपर्ने महत्त्वलाई येशूको उखानले कसरी प्रकाश पार्छ?

१६ आफ्नो पुँजी बुद्धिमानीपूर्वक चलाउन सकेन भने परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने कार्य गरेर सृष्टिकर्ताको सम्झना गर्न गाह्रो पर्नेछ। किनभने तपाईं ऋणमा डुब्नुभयो भने तपाईंको अर्को मालिक पनि छ भन्‍न मिल्छ। बाइबलले यस्तो बताउँछ: “पैसा सापट लेओ अनि साहूको चाकर बन।” (हितोपदेश २२:७, टुडेस्‌ इङलिस भर्सन) येशूको एउटा उखानले खर्च गर्नुअघि विचार गर्नुपर्ने महत्त्वमाथि प्रकाश पार्छ। येशूले भन्‍नुभयो: “तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा त्यो सिध्याउने सम्मको खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब गर्दैन? तर त्यसको जग बसालेपछि सिध्याउनसकेन भने देख्नेहरू सबैले . . . त्यसमाथि गिल्ला गर्नलाग्नेछन्‌।”—लूका १४:२८, २९.

१७. अक्सर खर्च नियन्त्रण गर्नु किन कठिन हुन्छ?

१७ अतः, “आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ” भन्‍ने धर्मशास्त्रीय सिद्धान्तअनुरूप बुद्धिमानीपूर्वक जीवन बिताउन तपाईंले प्रयास गर्नुहुनेछ। (रोमी १३:८) तर निरन्तर उत्पादन भइरहने नयाँ उपकरणहरू तपाईंलाई वास्तवमा नभई हुँदैन भनी विज्ञापन गर्ने मानिसहरूको सामना गर्नुपर्दा सजिलो हुँदैन। आफ्ना छोराछोरीलाई विवेकको अभ्यास गर्न मदत दिन खोजेका आमाबाबु यस्तो टिप्पणी गर्छन्‌: “आवश्‍यकता र चाहना के हो भन्‍नेबारे छलफल गर्न हामीले निकै समय बिताइसक्यौं।” साधारणतया स्कूलहरू यो कुरा सिकाउन असफल भएका छन्‌। कसै कसैले पुँजीलाई बुद्धिमानीपूर्वक कसरी चलाउने भन्‍नेबारे निर्देशन दिएका छन्‌ तर ज्यादै कम। एक समाजसेविका यस्तो टिप्पणी गर्छिन्‌, “कसरी बचत गर्ने भनेर सिक्नुभन्दा समद्विभुज त्रिभुजबारे बढी सिकेर हामी उच्च माध्यमिक विद्यालयबाट स्नातक भएका छौं।” त्यसोभए कुन कुराले बुद्धिमानीपूर्वक खर्च गर्न तपाईंलाई मदत गर्नेछ?

१८. आफ्नो पुँजीलाई बुद्धिमानीपूर्वक चलाउने कुञ्जी के हो र किन?

१८ “आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌” भन्‍ने सल्लाहलाई सुन्‍नु नै आफ्नो पुँजीलाई बुद्धिमानीपूर्वक चलाउने कुञ्जी हो। त्यो कसरी हो भने जब तपाईंले त्यो आदेश पालन गर्नुहुन्छ, तपाईंको प्राथमिकता यहोवालाई आनन्दित तुल्याउने हुन्छ र उहाँप्रतिको स्नेहले तपाईं आफ्नो पैसा कसरी खर्च गर्नुहुन्छ त्यसमा असर पार्छ। फलतः, परमेश्‍वरलाई तनमनले भक्‍ति चढाउँदा आफ्ना व्यक्‍तिगत चाहनाहरूलाई बाधा हुन नदिन तपाईंले कोसिस गर्नुहुनेछ। (मत्ती १६:२४-२६) आफ्नो आँखा “निर्मल” राख्ने प्रयास गर्नुहुनेछ अर्थात्‌ परमेश्‍वरको राज्य र उहाँको इच्छाअनुसार गर्न तपाईं ध्यानकेन्द्रित गर्नुहुनेछ। (मत्ती ६:२२-२४) यसप्रकार तपाईंले “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर्‌” भन्‍ने ईश्‍वरीय सल्लाहलाई आनन्दित सुअवसरको रूपमा हेर्नुहुनेछ।—हितोपदेश ३:९.

अनुकरणीय युवायुवतीहरू

१९. विगतमा जवानहरूले आफ्नो सृष्टिकर्तालाई कसरी सम्झेका छन्‌?

१९ खुशीको कुरा, विगत र वर्तमान दुवै समयमा थुप्रै युवायुवतीहरूले आफ्नो सृष्टिकर्ताको सम्झना गरेका छन्‌। बालक शमूएल आफूसँग सेवा गर्नेहरूको अनैतिक प्रभावहरूको बावजूद बासस्थानको सेवामा अटल रहिरहे। (१ शमूएल २:१२-२६) पोतीफरकी आकर्षक प्रलोभक पत्नीले जवान यूसुफलाई करनी गर्न फसाउन सकिनन्‌। (उत्पत्ति ३९:१-१२) यर्मिया “बच्चै” भए तापनि कठोर विरोधको बावजूद साहसपूर्वक प्रचार गरे। (यर्मिया १:६-८) एक सानी इस्राएली केटीले निडरतापूर्वक शक्‍तिशाली अरामी सेनापतिलाई इस्राएलमा मदत खोज्न डोऱ्‍याइन्‌ जहाँ तिनले यहोवाबारे सिक्नसक्थे। (२ राजा ५:१-४) परमेश्‍वरको भोजनसम्बन्धी व्यवस्था पालन गर्ने कुरामा परीक्षा आइपर्दा युवा दानियल र तिनका साथीहरूले आफ्नो विश्‍वास कायम राखे। अनि जवान शद्रक, मेशक र अबेद्‌नगोले मूर्तिलाई उपासना गरेर परमेश्‍वरप्रतिको वफादारीको सम्झौता गर्नुको साटो दन्केको आगोको भट्टीमा फालिन राजी भए।—दानियल १:८, १७; ३:१६-१८; प्रस्थान २०:५.

२०. आज थुप्रै जवानहरूले आफ्नो सृष्टिकर्तालाई कसरी सम्झेका छन्‌?

२० आज यहोवाका साक्षीहरूको न्यु योर्क राज्य, सं.रा.अ. स्थित मुख्यालयमा १९ देखि २५ वर्षका २,००० भन्दा बढी युवायुवतीहरू सेवा गरिरहेका छन्‌। तिनीहरू विश्‍वभरि आफ्नो सृष्टिकर्तालाई सम्झना गर्ने हजारौं हजार जवानहरूको एउटा सानो अंश मात्र हुन्‌। पुरातन समयका यूसुफले जस्तै तिनीहरूले आफ्नो नैतिक स्वच्छताको सम्झौता गर्न इन्कार गरेका छन्‌। कसको सेवा गर्ने भन्‍ने सन्दर्भमा जबरजस्ती छनौट गर्न लगाउँदा थुप्रैले मानिसको साटो परमेश्‍वरको आज्ञा पालन गरेका छन्‌। (प्रेरित ५:२९) सन्‌ १९४६ मा पोल्याण्डमा १५ वर्षीया हेन्रीका जुरले धार्मिक मूर्तिपूजा गर्न इन्कार गरेकीले सास्ती दिइयो। सास्ती दिनेहरूमध्ये एकले यसो भने: “तिमीलाई जे मन पर्छ त्यही विश्‍वास गर तर खालि क्रूसको क्याथोलिक चिह्न बनाऊ।” तिनले इन्कार गरेकीले जंगलमा घिसार्दै लगेर तिनलाई गोली हानियो। तैपनि तिनको अनन्त जीवनको निश्‍चित आशा सग्लो छ!b

२१. कुन निमन्त्रणालाई स्वीकार्नु बुद्धिमानी हुनेछ र नतिजा कस्तो हुनेछ?

२१ शताब्दीयौंदेखि आफ्नो सृष्टिकर्ताको सम्झना गर्ने जवानहरू देखेर यहोवाको हृदय कत्ति न्यानो भएको हुनुपर्छ! “आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌” भन्‍ने उहाँको निमन्त्रणा के तपाईं स्वीकार्नुहुन्छ? उहाँ साँच्चै सम्झना गर्न योग्यको हुनुहुन्छ! दिनहुँ उहाँले तपाईंको निम्ति गर्नुभएको र अझै गर्नुहुने कुराहरूबारे सोच्नुहोस्‌ अनि उहाँको निमन्त्रणालाई स्वीकार्नुहोस्‌: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।”—हितोपदेश २७:११.

[फुटनोट]

a प्रहरीधरहरा (अंग्रेजी), डिसेम्बर १५, १९५३, पृष्ठ ७५०.

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९४ (अंग्रेजी) पृष्ठ २१७-१८ हेर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ?

◻ परमेश्‍वरलाई वास्तविक व्यक्‍तिको रूपमा हेर्न जवानहरूलाई कसरी मदत दिन सकिन्छ?

◻ तपाईंको सृष्टिकर्तालाई सम्झनुको अर्थ के हो?

◻ हाम्रो शिक्षाले कुन उद्देश्‍य पूरा गर्नुपर्छ?

◻ हाम्रो पुँजीलाई बुद्धिमानीपूर्वक चलाउनु किन अत्यावश्‍यक छ?

◻ कुन जवानहरू तपाईंका निम्ति अनुकरणीय छन्‌?

[पृष्ठ १७-मा भएको चित्र]

तपाईं स्कूल किन जानुहुन्छ, के कहिल्यै सोच्नुभएको छ?

[पृष्ठ १७-मा भएको चित्र]

के तपाईंले आफ्नो पुँजीलाई बुद्धिमानीपूर्वक चलाउन सिकिरहनुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने