मादक पेयपदार्थप्रति के तपाईं ईश्वरीय दृष्टिकोण राख्नुहुन्छ?
करीब २० वर्षअघि इरानको उर्मिया गाउँ नजीकै पुरातत्त्वविद्हरूले उत्खनन गर्दा इँटले बनेको एउटा पुरानो घर पत्ता लगाए। त्यसमा तिनीहरूले माटोको एउटा भाँडो फेला पारे। वैज्ञानिकहरूअनुसार त्यो भाँडो हजारौं वर्ष पुरानो अर्थात् प्रारम्भिक मानिसहरू बसोबास भएको समयदेखिको हो। त्यस भाँडोबारे अध्ययन गर्न हालै एक अत्याधुनिक प्रविधि प्रयोग गरियो। त्यसमा रक्सी बनाउने सबैभन्दा पुरानो रासायनिक प्रक्रिया प्रयोग भएको पाउँदा वैज्ञानिकहरू तीन छक परे।
प्राचीन समयमा पनि रक्सी, बियर र अन्य मादक पेयपदार्थ सेवन गरिन्थ्यो भनी बाइबलले स्पष्टतः पुष्टि गर्छ। (उत्पत्ति २७:२५; उपदेशक ९:७; नहूम १:१०) यहोवाले हामीलाई अरू खानेकुरामा जस्तै मादक पेयपदार्थ सेवन गर्ने सम्बन्धमा पनि व्यक्तिगत छनौट दिनुभएको छ। येशूले खानासँग प्रायजसो दाखमद्य पिउने गर्नुहुन्थ्यो। बप्तिस्मा दिने यूहन्नाले भने पिएनन्।—मत्ती ११:१८, १९.
बाइबलले मात्तिने गरी पिउन मनाही गर्छ। मतवालापन परमेश्वर विरुद्ध पाप हो। (१ कोरिन्थी ६:९-११) त्यसैले यहोवाका साक्षीहरू अपश्चात्तापी मतवालाहरूलाई मसीही मण्डलीमा रहन दिंदैनन्। मण्डलीमा हुनेहरूले मादक पेयपदार्थ सेवन गर्न रुचाउँछन् भने तिनीहरूले सीमित मात्रामा पिउनुपर्छ।—तीतस २:२, ३.
अईश्वरीय दृष्टिकोण
आज धेरै मानिसहरू मादक पेयपदार्थप्रति ईश्वरीय दृष्टिकोण राख्दैनन्। शैतानले मानिसहरूलाई यस प्राचीन उत्पादनको दुरुपयोग गर्न उक्साउँदैछ भनेर बुझ्न गाह्रो छैन। उदाहरणका लागि, दक्षिण प्रशान्त महासागरका केही टापुहरूमा निष्फिक्री जाँड पिउन पुरुषहरू जम्मा हुने प्रचलन छ। त्यस्ता जमघटहरू पटक पटक आयोजना गरिन्छन् र घण्टौंसम्म चल्नसक्छन् अनि धेरै मानिसहरू यसलाई दैनिक कार्यक्रम बनाउँछन्। कोही कोही त यसलाई आफ्नो संस्कृतिको भाग नै ठान्छन्। यस अलावा कहिलेकाहीं घरेलु जाँडको साथमा वा त्यसको साटो बियर र कडा मद्य पनि सेवन गरिन्छ। यसले गर्दा प्रायजसो मानिसहरू मात्तिन्छन्।
त्यस्तै प्रशान्त महासागरको अर्को इलाकाका मानिसहरूले सीमित मात्रामा मद्य सेवन गरेको विरलै मात्र सुनिन्छ। पिएपछि मात्तिनैपर्ने सर्वसाधारणको धारणा छ। उदाहरणका लागि, तलब पाएको दिन पुरुषहरू जम्मा हुन्छन् र २४/२४ सिसी भएको बाकसका बाकस बियर किन्छन्। अनि तिनीहरू बियर नसिद्धिउञ्जेल पिइरहन्छन्। परिणामस्वरूप अधिकांश मानिसहरू मतवाला हुनु कुनै नौलो कुरा होइन।
कुहाएर बनाइएका पेयपदार्थहरू जस्तै, ताडी तथा स्थानीय जाँड रक्सीहरू अफ्रिकी मुलुकहरूमा परम्परागत रूपमा सेवन गरिन्छ। केही सम्प्रदायहरूका परम्पराले त पाहुनाहरूको सत्कार गर्न मद्य टक्य्राउनै पर्छ भनेर सिकाउँछ। आतिथेय घरधनीले चलनचल्तीअनुसार आगन्तुकले सेवन गर्नसक्नेभन्दा बढी नै उपलब्ध गराउँछन्। एउटा इलाकामा त प्रत्येक आगन्तुकको अगाडि चलनअनुसार १२ सिसी बियर राखिदिनै पर्छ।
धेरै जापानी कम्पनीहरूले आफ्ना कामदारहरूका लागि बस यात्राको आयोजना गर्छन्। साथमा ठूलो परिमाणमा मादक पेयपदार्थ पनि लैजान्छन् अनि मस्तसँग पिउँछन्। कुनै कुनै कम्पनीहरूले त यस्तो यात्रा दुइ तीन दिनसम्म पनि चालु राख्छन्। एसियावीक पत्रिकाअनुसार जापानमा “किसानदेखि लिएर धनाढ्य राजनीतिज्ञ नै किन नहोस्, पुरुषहरूको पुरुषत्व उसले कति मदिरा पिउनसक्छ त्यसैको आधारमा नापिने परम्परा छ।” अन्य एसियाली देशहरूमा पनि त्यस्तै धारणा भएको पाइन्छ। एसियावीक यसो भन्छ, “अचेल दक्षिण कोरियालीहरू संसारका अरू मानिसहरूभन्दा बढी मादक पेयपदार्थ पिउँछन्।”
अमेरिकाका कलेज हाताहरूमा मद्यभोज दिने चलन व्याप्त भइसक्यो। द जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएसन-अनुसार, “मद्यभोजमा पिउनेहरू थुप्रैले आफूलाई पिएर मात्तिने व्यक्तिहरू ठान्दैनन्।”a यसमा अचम्म मान्नु पर्ने कुरा छैन किनभने धेरै देशका सञ्चार माध्यमहरूले मद्यपानलाई साहसिक, फेशनदार तथा परिष्कृत क्रियाकलापको रूपमा बढावा दिन्छन्। यस्तो अफवाहले विशेषगरि जवानहरूलाई अक्सर तारो बनाउँछ।
बेलाइतमा २० वर्षको समयावधिमा बियर पिउनेहरू पहिलेभन्दा दुइ गुणा बढी पिउनसक्ने र कडा मदिरा सेवन गर्नेहरू तीन गुणा बढी पिउनसक्ने भएका छन्। त्यहाँका मानिसहरूले सानै उमेरदेखि पिउन थालेका छन् र पहिलेभन्दा धेरै स्त्रीहरू पनि पिउँछन्। पूर्वी युरोप र ल्याटिन अमेरिकी देशहरूमा पनि यस्तै प्रवृत्ति देखा परेको छ। मद्यपान र त्यससँग सम्बन्धित सडक दुर्घटनाहरूको वृद्धि दरले यस तथ्यलाई प्रकाश पार्छ। स्पष्टतः, विश्वव्यापी रूपमा मद्य दुरुपयोग बढेको कुरा प्रत्यक्ष छ।
कतिलाई बढ्ता भन्ने?
मादक पेयपदार्थप्रति बाइबलको दृष्टिकोण सन्तुलित छ। एकातर्फ, धर्मशास्त्रले रक्सी परमेश्वरको वरदान हो, ‘त्यसले मानिसको मन खुश गराउँछ’ भन्छ। (भजन १०४:१, १५) अर्कोतर्फ, मात्तिनेगरि पिउने कुराको निन्दा गर्दै बाइबल यस्ता अभिव्यक्तिहरू प्रयोग गर्छ: ‘नशाले लट्टिएका,’ ‘मतवालापन, मोज-मजा,’ ‘मद्य बढ्ता पिउने जमघट,’ “बढ़ता रक्सी खाने” र ‘रक्सी धेरै पिउने।’ (लूका २१:३४; १ पत्रुस ४:३, NW; १ तिमोथी ३:८; तीतस २:३) तर “बढ़ता रक्सी” भनेको कति हो? मादक पेयपदार्थबारे ईश्वरीय दृष्टिकोण कुन कुराले निर्धारण गर्छ भन्ने कुरा एक मसीहीले कसरी ठम्याउने?
मतवालापन चिन्न गाह्रो छैन। त्यसका परिणामहरूलाई बाइबलमा यी शब्दहरूमा बयान गरिएको छ: “कष्ट कसको हो? अनुताप कसको हो? झगडा कसको हो? औ फिक्री कसको हो? कारणै विना कसलाई चोट लाग्छ? कसको आँखा राता राता हुन्छन्? तिनहरूकै, जो अबेरसम्म दाखमद्य पिइरहन्छन्, तिनीहरूकै, जो मसला हालेको नयाँ दाखमद्य चाखिरहन्छन्। . . . तब तेरो आँखाले अचम्म अचम्मका कुराहरू देख्छ, तेरो विचार शक्ति तेरो बोली लरबरिन्छ।”—हितोपदेश २३:२९-३३.
बढी मद्य पिउनाले अन्योल, मतिविभ्रम, अचेतनशीलता तथा दिमाग र शरीरसम्बन्धी अन्य विकार ल्याउनसक्छ। कुनै व्यक्ति मद्यपानको लतमा परेपछि आफ्नो व्यवहारलाई वशमा राख्न नसक्ने तथा आफैलाई र अरूलाई नोक्सान पुऱ्याउने हुन्छ। पियक्कडहरू अनौठो स्वभावका, आक्रामक अथवा अनैतिक आचरणमा लाग्ने हुन्छन्।
मात्तिउञ्जेल र माथि उल्लिखित परिणाम होउञ्जेल पिउनु, पक्कै पनि बढ्ता पिउनु हो। यद्यपि, कुनै व्यक्तिले मतवालापनका लक्षणहरू नदेखाए तापनि आफू मात्तिनेगरि पिएको प्रकट गर्नसक्छ। त्यसकारण कुनै व्यक्तिले बढ्ता पिएको छ कि छैन भन्ने तथ्य नै विवादास्पद छ। त्यसोभए सीमित मात्रामा पिउनु र मात्तिनेगरि पिउनुबीच के भिन्नता छ त?
तपाईंको विवेक रक्षा गर्नुहोस्
बाइबलले हाम्रो रगतमा यति प्रतिशत मात्र मद्य हुनुपर्छ भनेर वा अरू कुनै तरिकाबाट मद्य परिमाणको सीमा तोकेको छैन। एक व्यक्तिले कतिसम्म मद्य पिउँदा आफूलाई नियन्त्रण गर्नसक्छ, त्यो अर्को व्यक्तिसँग फरक हुन सक्छ। तथापि, बाइबलको सिद्धान्त सबै मसीहीहरूलाई लागू हुन्छ र यसले हामीलाई मादक पेयपदार्थप्रति ईश्वरीय दृष्टिकोण विकास गर्न मदत गर्नसक्छ।
येशूले भन्नुभएको पहिलो आज्ञा हो, “‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।’” (मत्ती २२:३७, ३८) मद्यले दिमागमा सोझै असर पार्छ र मात्तिनेगरि पिउनाले सबैभन्दा प्रमुख आज्ञा पालन गर्नमा दखल पुऱ्याउँछ। यसले सही निर्णय गर्ने क्षमता, समस्याहरू समाधान गर्ने दक्षता, मानसिक तथा भावनात्मक दबाबहरू रोक्नसक्ने क्षमता र दिमागका अन्य महत्त्वपूर्ण कार्यहरूमा गम्भीर असर पुऱ्याउँछ। हामीलाई धर्मशास्त्रले यस्तो चेताउनी दिन्छ: “आफ्नो योग्यता र विवेकको रक्षा गरिराख्, . . . ती तेरो आत्माको प्राण र तेरो छातीमा हारझैं हुनेछन्।”—हितोपदेश ३:२१, २२.
प्रेरित पावल मसीहीहरूलाई यसरी निवेदन गर्छन्: “तिमीहरूको यथोचित सेवाको रूपमा [“तर्कशक्ति,” NW] आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।” (रोमी १२:१) कुनै एक मसीहीले आफ्नो “तर्कशक्ति” नै धरमराउने गरेर मद्य पिउँछ भने के ऊ “परमेश्वरलाई मनपर्ने” हुन्छ? प्रायजसो असंयमी पियक्कड बिस्तारै बिस्तारै झन् झन् बढी मद्य पिउनसक्ने हुन्छ। उसले बढ्तै पिउँदा पनि आफूलाई मतवाला नसम्झनसक्छ। यद्यपि, ऊ मद्यप्रति लग्गू भइरहेको हुनसक्छ। के त्यस्तो व्यक्तिले आफ्नो शरीरलाई “पवित्र र जिउँदो बलिदान[को]” रूपमा प्रस्तुत गर्नसक्छ?
मद्यको परिमाण जतिसुकै किन नहोस्, एक मसीहीको हैसियतमा त्यसले तपाईंको “योग्यता र विवेक[लाई]” हानि गर्छ भने त्यो तपाईंको लागि बढ्ता साबित हुन्छ।
मद्यप्रति तपाईंको दृष्टिकोण कुन कुराले निर्धारण गर्छ?
एक मसीहीले मद्य पिउनेबारे आफ्नो मनोवृत्ति अहिलेको लहड अथवा परम्पराबाट प्रभावित छ कि भनेर निर्क्योल गर्नुपर्छ। मादक पेयपदार्थको सम्बन्धमा तपाईंले पक्कै पनि सांस्कृतिक प्रचलनहरू अथवा सञ्चार माध्यमको अफवाहमा आधारित छनौट गर्नु हुनेछैन। आफ्नो मनोवृत्ति जाँच्नुहुँदा आफैलाई सोध्नुहोस्, ‘मेरो मनोवृत्ति समाजमा स्वीकार्य ठानिने कुराबाट पो प्रभावित छ कि? वा के म बाइबल सिद्धान्तअनुरूप मद्यपान गर्छु?’
यहोवाका साक्षीहरू संस्कृति विरोधी त होइनन्, तथापि आज खुला रूपले स्वीकारिने कैयौं प्रचलनहरू यहोवाले घृणा गर्नुहुन्छ भनेर तिनीहरूले बुझेका छन्। कुनै कुनै सम्प्रदायहरूमा गर्भपतन, रक्तक्षेपण, समलैंगिक कार्य अथवा बहुविवाहजस्ता कार्यहरूप्रति आँखा चिम्लन्छन्। तथापि, यस्ता कुराहरूमा मसीहीहरू परमेश्वरको दृष्टिकोणअनुसार चल्छन्। हो, सांस्कृतिक रूपमा त्यस्ता प्रचलनहरू स्वीकार्य होस् या नहोस्, त्यसलाई घृणा गर्न परमेश्वरको दृष्टिकोणले मसीहीलाई प्रेरणा दिनेछ।—भजन ९७:१०.
बाइबलले “अन्यजातिहरूको इच्छा[बारे]” बताउँछ जसमा “मतवालापन” र “मद्य बढ्ता पिउने जमघट” पनि पर्छ। “मद्य बढ्ता पिउने जमघट” भन्ने पदावलीले त्यस्तो भेलालाई संकेत गर्छ, जुन ठूलो परिमाणमा मद्य सेवन गर्ने उद्देश्य राखेर नै आयोजना गरिएका हुन्छन्। बाइबलीय समयमा पनि आफ्नो कथित मदिरा पिउनसक्ने क्षमतामा घमण्ड गर्नेहरू पिउने सम्बन्धमा होडबाजी गर्थे र कसले सबभन्दा बढ्ता पिउनसक्छ भनेर हेर्ने कोसिस गर्थे जस्तो देखिन्छ। यस्तो किसिमको आचरणलाई प्रेरित पत्रुसले “ज्यादै उपद्रवहरू” भनेर उद्धृत गर्छन् जसमा पश्चात्तापी मसीहीहरू भाग लिंदैनन्।—१ पत्रुस ४:३, ४.
के मसीहीले पिउँदा ऊ मात्तिएन भन्दैमा उसले कहाँ, कहिले अथवा कति पियो, त्यसले केही पनि फरक पार्दैन भन्ने दृष्टिकोण राख्नु तर्कसंगत हुनेछ? हामी सोध्नसक्छौं, के त्यो ईश्वरीय दृष्टिकोण हो? बाइबल भन्छ: “चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्वरकै महिमाको निम्ति गर।” (१ कोरिन्थी १०:३१) खुल्लमखुल्ला ठूलो परिमाणमा मद्य पिउन भेला भएका सबै मानिसहरू नमात्तिएलान्, यसो भन्दैमा के तिनीहरूको त्यस्तो आचरणले यहोवाको महिमा गर्नेछ? बाइबल चेताउनी दिन्छ: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मन पर्ने र सिद्ध इच्छा के रहेछ भनी जाँचेर पत्ता लगाओ।”—रोमी १२:२.
अरूको निम्ति ठोकरको कारण नहुनुहोस्
चाखलाग्दो कुरा, प्रायजसो संस्कृतिहरूमा बढ्ता मद्य पिउनु सामान्य भए तापनि परमेश्वरको जन हुँ भनेर दाबी गर्ने मानिसले बढ्ता मद्य पिउँछ भने उसलाई स्वीकार्य ठानिंदैन। दक्षिण प्रशान्त महासागरीय सम्प्रदायका एक पर्यवेक्षकले भने: “तपाईंहरूलाई म सम्मान गर्छु। तपाईंहरू सत्यको प्रचार गर्नुहुन्छ। तर हामीले देखेको समस्या के हो भने तपाईंका मानिसहरू बढ्ता मद्य पिउँछन्।” प्रतिवेदनअनुसार, त्यहाँ कोही पनि मात्तिएका थिएनन् अनि त्यस समुदायका मानिसहरूले यो तथ्य चालै पाएका थिएनन्। पिउने जमघटमा भाग लिने अरू मानिसहरूजस्तै साक्षीहरू पनि मात्तिन्छन् भन्ने निष्कर्षमा पर्यवेक्षकहरू सजिलै पुग्नसक्छन्। के कुनै मसीही सेवक लामो समयसम्म पिउने जमघटमा भाग लिएर पनि आफ्नो असल नाउँ कायम राख्दै बिनारोकटोक निर्धक्कसँग जन सेवकाईमा बोल्नसक्छ?—प्रेरित २८:३१.
एउटा युरोपीय राष्ट्रबाट आएको एक प्रतिवेदनले बताएअनुसार, कहिलेकाहीं केही भाइबहिनीहरू मद्य पिएर श्वास नै ह्वास्स गन्हाउनेगरि राज्यभवनमा आए। यसले अरूको अन्तस्करणलाई बाधा पुऱ्यायो। यस सम्बन्धमा बाइबलले यस्तो चेताउनी दिन्छ: “असल ता हुन्छ, मासु नखानु, मद्य नपिउनु, केही नगर्नु, जसबाट तिम्रो भाइलाई बाधा पर्छ।” (रोमी १४:२१) मादक पेयपदार्थप्रतिको ईश्वरीय दृष्टिकोणले एक परिपक्व मसीहीलाई अरूको अन्तस्करणप्रति संवेदनशील हुन प्रेरित गर्नेछ। यसको मतलब कुनै परिस्थितिहरूमा मद्यपान गर्दै नगर्नु समेत यसमा समावेश छ।
मसीहीहरू साँच्चै भिन्न छन्
अफसोसको कुरा, यहोवालाई रीस उठाउन यो संसारले मादक पेयपदार्थलगायत उहाँले मानिसजातिलाई दिनुभएका कुराहरूको दुरुपयोग गरेको छ। प्रत्येक समर्पित मसीहीले प्रचलित अईश्वरीय दृष्टिकोणहरूबाट जोगिने प्रयत्न गर्नुपर्छ। यसरी मानिसहरूले “धर्मी र दुष्ट, अनि परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद” छुट्याउन सक्नेछन्।—मलाकी ३:१८.
मादक पेयपदार्थको सम्बन्धमा यहोवाका साक्षीहरू र संसारबीचमा “भेद” हुनुपर्छ। साँचो मसीहीहरूको जीवनको केन्द्रबिन्दु मादक पेयपदार्थ पिउने हुनु हुँदैन। बढी मद्य पिउन सक्दैमा तिनीहरू अचाक्ली पिउँदैनन् किनभने त्यसो गरेमा मात्तिन कत्तिबेर पनि लाग्दैन; न ता तिनीहरू मादक पेयपदार्थले आफ्नो परमेश्वरलाई पूर्ण हृदयले अनि सारा समझले सेवा गर्नमा दखल दिन वा ह्रास ल्याउन नै दिनेछन्।
सामूहिक रूपमा यहोवाका साक्षीहरू मादक पेयपदार्थप्रति ईश्वरीय दृष्टिकोण राख्छन्। तपाईं नि? बाइबलको निर्देशनलाई पछ्याउँदै “नास्तिकपना र संसारको तृष्णालाई इन्कार गरेर हामीले यस वर्त्तमान युगमा आत्मसंयम, धार्मिक र भक्तिको जीवन” बितायौं भने हामी सबैले यहोवाको आशिष्को बाटो हेर्नसक्छौं।—तीतस २:१२.
[फुटनोट]
a “मद्यभोजलाई पुरुषहरू भए लगालग पाँच पेग वा त्योभन्दा बढी र स्त्रीहरू भए चार पेग वा त्योभन्दा बढी मद्य सेवन गर्ने जमघट भनी परिभाषित गरिएको थियो।”—द जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएसन।
[पृष्ठ २८-मा भएको पेटी]
तपाईंका प्रियजनहरूका कुरा सुन्नुहोस्
असंयमी पियक्कडले सबै जनाले थाह पाइसक्दा पनि आफ्नो पिउने समस्या छ भनेर महसुस गर्दैन। आफन्तहरू, मित्रहरू र मसीही प्राचीनहरू असीमित मात्रामा पिउने प्रियजनलाई सहयोग गर्न हिचकिचाउनु हुँदैन। अर्कोतर्फ, यदि तपाईंको मादक पेयपदार्थ पिउने बानीप्रति प्रियजनहरूले अप्ठ्यारो मान्छन् भने, यसको उपयुक्त कारण छ। तिनीहरूका कुरामा ध्यान दिनुहोस्।—हितोपदेश १९:२०; २७:६.