जब दुःखकष्ट हुनेछैन
परमेश्वरले सुरुमा मानव परिवारको लागि उद्देश्य राख्नुहुँदा दुःखकष्ट होस् भनेर चाहनुभएको थिएन। उहाँले दुःखकष्ट सुरु गर्नुभएको होइन र दुःखकष्ट होस् भनेर चाहनु पनि हुन्न। ‘त्यसो हो भने, यसको सुरुआत कसरी भयो र परमेश्वरले यसलाई अहिलेसम्म किन रहिरहन दिनुभएको त?’ भनेर तपाईं सोध्नुहोला।—याकूब १:१३ तुलना गर्नुहोस्।
यसको जवाफ मानव इतिहासको सबैभन्दा पुरानो विवरण, बाइबल र विशेषगरि उत्पत्तिको पुस्तकमा पाइन्छ। त्यसमा बताएअनुसार हाम्रो प्रथम आमाबाबु आदम र हव्वाले शैतान अर्थात् दियाबललाई परमेश्वरको विरुद्ध विद्रोह गर्न साथ दिए। तिनीहरूको कामले अति ठूलो विवाद खडा गऱ्यो। र त्यस विवादले ब्रह्माण्डीय सुव्यवस्थाको जगमाथि बज्रपात गऱ्यो। तिनीहरूले असल र खराब आफै छुट्याउने अधिकार खोजेर परमेश्वरको सार्वभौमिकतालाई चुनौती दिए। शासन गर्ने अनि “असल र खराब” छुट्याउने एकमात्र न्यायकर्ता बन्ने परमेश्वरको अधिकारमाथि तिनीहरूले प्रश्न खडा गरे।—उत्पत्ति २:१५-१७; ३:१-५.
उहाँले किन तुरुन्तै आफ्नो इच्छाअनुसार गर्नुभएन?
तपाईं सोध्नुहोला, ‘त्यसोभए, उहाँले आफ्नो इच्छाअनुसार तुरुन्तै किन गर्नुभएन त?’ थुप्रैलाई यो कुरा सामान्य लाग्ला। तिनीहरू भन्छन्, ‘परमेश्वरसित शक्ति थियो। उहाँले विद्रोहीहरूलाई नष्ट गर्न यसलाई चलाउनुपर्थ्यो।’ (भजन १४७:५) तर आफैलाई यसरी सोध्नुहोस्, ‘आफ्नो इच्छाअनुसार गर्न उच्चस्तरीय शक्ति चलाउने सबैलाई के म निसंकोच प्रशंसा गर्छु र? कुनै तानाशाहले शत्रुहरूलाई हटाउन सैनिक बल प्रयोग गर्दा के मेरो मनमा घृणा उत्पन्न हुँदैन र?’ अधिकांश व्यवहारिक मानिसहरू यस्तो कुरामा झस्कन्छन्।
तपाईं भन्नुहोला, ‘तर परमेश्वरले त्यो शक्ति प्रयोग गर्नुभएको भए कसले पो उहाँको कार्यमाथि औंला ठड्याउने थियो र।’ के तपाईं यसमा निश्चित हुनुहुन्छ? परमेश्वरले आफ्नो शक्ति प्रयोग गर्नुहुँदा मानिसहरू अवश्य प्रश्न उठाउँदैनन् र? दुष्टलाई सहँदा उहाँले त्यो शक्ति किन प्रयोग गर्नुभएको छैन, अनि अरू समयमा चाहिं किन प्रयोग गर्नुभएको त भनेर तिनीहरू सोध्ने गर्छन्। परमेश्वरले आफ्ना शत्रुहरू विरुद्ध शक्ति चलाउन खोज्नुहुँदा विश्वासी अब्राहामको मनमा समेत प्रश्न उठेको थियो। परमेश्वरले सदोमलाई नष्ट गर्ने निर्णय गर्नुहुँदाको घटनालाई सम्झनुहोस्। दुष्ट मानिसहरूसँगसँगै असल मानिसहरू पनि मर्नेछन् भनेर अब्राहाम डराएका थिए तर त्यो तिनको भूल थियो। तिनले यसो भन्दै पुकारा गरे: “दुष्टको साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्यै नहोस्।” (उत्पत्ति १८:२५) असीम शक्तिको दुरुपयोग हुनेछैन भनेर अब्राहामजस्ता सही मानसिक झुकाउ भएका मानिसहरूलाई समेत आश्वासन चाहिन्छ।
हो, परमेश्वरले आदम, हव्वा र शैतानलाई त्यति नै खेर नष्ट गर्नसक्नुहुन्थ्यो। तर यसो सोच्नुहोस् त, पछि उहाँको कार्य थाह पाउने अरू स्वर्गदूतहरू वा भावी सृष्टिहरूमाथि त्यसको कस्तो असर पर्नसक्थ्यो। त्यसले गर्दा तिनीहरूको मनमा परमेश्वरको सही शासनबारे बारम्बार प्रश्न उठ्नसक्ने थिएन र? यसले वास्तवमा निशेले बताएझैं परमेश्वर एक प्रकारको तानाशाह अर्थात् आफूलाई विरोध गर्ने जोसुकैलाई पनि निर्दयसाथ हटाउने परमेश्वर हुनुहुन्छ भनी देखाउने थिएन र?
मानिसहरूलाई जबरजस्ती असल कुरा गर्न लगाए हुने थिएन र?
कतिले सोध्लान्, ‘के परमेश्वरले मानिसहरूलाई असल कुरा मात्र गर्न लगाउन सक्नुहुन्न र?’ त्यसोभए, यसलाई पनि विचार गर्नुहोस्। सरकारहरूले आफ्नो इच्छाअनुसार मानिसहरूलाई चलाउन कोसिस गरेका कुरा इतिहासमा छ्यासछ्यास्ती पाइन्छ। कुनै कुनै सरकार वा शासकहरूले आफूले वशमा पारेकाहरूको अद्भुत उपहार अर्थात् स्वेच्छा लुट्न अरूको सोचाइ नियन्त्रण गर्ने विभिन्न तरिकाहरू अपनाएका छन्। त्यसो गर्न तिनीहरू सम्भवतः औषधी वा शल्यचिकित्सा प्रयोग गर्छन्। त्यस स्वेच्छालाई दुर्व्यवहार गर्नसमेत सकिए तापनि स्वतन्त्र भई असल र खराब छुट्याउनसक्ने हुन पाएकोमा के हामी कृतज्ञ छैनौं र? त्यस्तो स्वतन्त्रतालाई खोस्न प्रयास गर्ने सरकार वा शासकलाई के हामी क्षमा गर्छौं?
त्यसोभए, व्यवस्थालाई सशक्त पार्न परमेश्वरले शक्ति तुरुन्तै चलाइहाल्नु सिवाय के अरू कुनै विकल्प थियो? यहोवा परमेश्वरले विद्रोहीहरूसित सबैभन्दा राम्रो तरिकामा व्यवहार गर्ने निर्णय गर्नुभयो। त्यो तरिका थियो, उहाँका व्यवस्थाहरू अस्वीकार गर्नेहरूलाई उहाँको शासनबाट अस्थायी स्वतन्त्रता दिनु। यसले आदम र हव्वाबाट आएको मानव परिवारलाई परमेश्वरको व्यवस्थाको अधीनबाट अलग रहेर शासन गर्ने सीमित समय दिनेथियो। उहाँले किन त्यसो गर्नुभयो? किनभने परमेश्वरले आफ्नो इच्छाअनुसार गराउन उहाँको असीमित शक्ति चलाउनुहुन्छ अनि उहाँको कुनै पनि विद्रोहीमाथि ढिलो होस् या छिटो, विपत्ति त आइपर्ने नै छ। त्यसोभए तापनि उहाँको शासन सधैं सही र धार्मिक हुन्छ भनेर खण्डन गर्न नसकिने प्रमाण समयमा निक्लनेथियो भनी उहाँलाई थाह थियो।—व्यवस्था ३२:४; अय्यूब ३४:१०-१२; यर्मिया १०:२३.
दुःखकष्टको शिकार भएका निर्दोषहरूबारे के भन्न सकिन्छ?
‘त्यतिञ्जेल, दुःखकष्टको शिकार भएका निर्दोषहरूबारे के भन्न सकिन्छ?’ भनेर तपाईं सोध्नुहोला। ‘व्यवस्थाको केही विवरणलाई प्रमाणित गर्न तिनीहरूलाई दुःखकष्ट दिनु उचित हो र?’ परमेश्वरले व्यवस्थाको अस्पष्ट केही विवरणलाई प्रमाणित गर्न मात्र दुःखकष्टलाई रहन अनुमति दिनुभएको छैन। त्यसको साटो यसले त उहाँ मात्र सदाको निम्ति सार्वभौम हुनुहुन्छ र उहाँका सृष्टिहरूले शान्ति तथा आनन्द प्राप्त गरिरहनको लागि उहाँका व्यवस्थाहरू पालन गर्न अत्यावश्यक छ भन्ने तथ्यलाई पूर्णतया प्रमाणित गर्छ।
मनमा राख्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के हो भने, दुःखकष्टलाई रहिरहने अनुमति दिंदा मानव परिवारमाथि आइपर्नसक्ने कुनै पनि नोक्सानीलाई परमेश्वरले पूर्णतया हटाउनसक्नुहुन्छ। अहिले अस्थायी पीडा र दुःखकष्ट सहँदा त्यसको परिणाम फाइदाजनक हुनेछ भनेर उहाँलाई थाह छ। चिकित्सकले बच्चालाई घातक रोगबाट जोगाउन सुई लगाउँदा बच्चालाई बलियोसित समात्ने त्यस आमाबारे सोच्नुहोस् त। कुनै पनि आमा आफ्नो बच्चाले पीडा भोगेको चाहँदिनन्। नता चिकित्सक आफूले उपचार गरेको रोगी पीडित होस् भन्ने नै चाहन्छन्। त्यति बेला त्यस बच्चाले आफूलाई पीडा दिनुको कारण बुझ्दैन। तर उसले त्यो पछि बुझ्नेछ।
दुःखकष्टमा परेकाहरूलाई साँचो सान्त्वना?
दुःखकष्टमा परेकाहरूले यी कुराहरूबारे थाह पाउँदा अलिकति पनि सान्त्वना पाउलान् के त भनेर कसै कसैले सोच्लान्। “दुःखकष्टमा परेकाहरूलाई” त्यसबारे तर्कपूर्ण बयान दिनु “भोको मानिसलाई खाद्यान्नबारे भाषण दिनुजस्तै हो” भनेर हान्स कुङ बताउँछन्। तिनले सोधे: “दुःखकष्टले पीडित मानिसजातिलाई त्यससम्बन्धी गरिएका विवेकपूर्ण तर्कले साँच्चै प्रोत्साहन दिनसक्ला?” कुरा के हो भने, परमेश्वरको वचन, बाइबललाई बेवास्ता गर्ने मानिसहरूको “विवेकपूर्ण तर्कले” दुःखकष्टमा परेकाहरूलाई पटक्कै सान्त्वना दिंदैन। मानिसलाई सताउनु र पृथ्वीलाई आँशुहरूको कुण्ड बनाउनु वा अन्ततः स्वर्गीय जीवन पाउनेहरूका लागि पृथ्वी परीक्षण थलो बनाउनु नै परमेश्वरको उद्देश्य थियो भन्नेजस्ता मानव तर्कले झन् समस्या चर्काएको छ। परमेश्वरको कस्तो घोर निन्दा!
तैपनि, बाइबलले भने अवश्य साँचो सान्त्वना दिन्छ। यसले दुःखकष्टबारे एउटै प्रकारको बयान दिनुका साथै परमेश्वरले पक्का पूरा गर्नुहुने प्रतिज्ञाप्रति विश्वास पनि बढाउँछ। त्यो प्रतिज्ञा हो, उहाँले अस्थायी रूपमा रहन अनुमति दिनुभएको दुःखकष्टलाई हटाउनुहुनेछ।
“सबै थोकको पुनर्स्थापन”
प्रथम मानवहरूले विद्रोह गर्नअघि परमेश्वरले जुन उद्देश्य राख्नुभएको थियो, त्यही कुरालाई अब उहाँले चाँडै पुनर्स्थापित गर्नुहुनेछ। उहाँले मानिसजातिलाई स्वतन्त्र भई शासन गर्न दिनुभएको समय पूरा हुनै लागेको छ। उहाँले येशूलाई पठाउनुहुने समयमा हामी बाँचिरहेका छौं, “जसलाई सबै थोकको पुनर्स्थापित नहोउञ्जेल स्वर्गले अवश्य थामिराख्नै पर्छ। जुन समयको विषयमा परमेश्वरले आदिदेखिनै आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभयो।”—प्रेरित ३:२०, २१.
येशू ख्रीष्टले के गर्नुहुनेछ? उहाँले परमेश्वरका सबै शत्रुहरूलाई पृथ्वीबाट हटाउनुहुनेछ। (२ थिस्सलोनिकी १:६-१०) यो हटाउने काम मानव तानाशाहहरूले तुरुन्तै दिने सजायजस्तो हुँदैन। मानिसजातिले गलत ढंगमा शासन गरेको हुँदा विपत्तिजनक परिस्थितिहरू सृजिएका छन्। यसलाई पुष्टि दिने थुप्रै प्रमाणले के देखाउनेछ भने, परमेश्वरले उहाँको इच्छाअनुसार जबरजस्ती गर्न लगाउन आफ्नो असीमित शक्ति अब चाँडै प्रयोग गर्नुहुनेछ। (प्रकाश ११:१७, १८) प्रथमतः यसको अर्थ, पृथ्वीमा कहिल्यै नभएको “महा संकष्ट” हुनु हो। यो नूहको जलप्रलयजस्तै तर त्योभन्दा धेरै ठूलो हुनेछ। (मत्ती २४:२१, २९-३१, ३६-३९) यस “महा संकष्ट[बाट]” बच्नेहरूले “आरामको समय” पाउनेछन्। त्यतिबेला तिनीहरूले “पवित्र अगमवक्ताहरूका मुखबाट” दिइएका परमेश्वरका सबै प्रतिज्ञाहरूको पूर्ति भएको देख्छन्। (प्रेरित ३:१९; प्रकाश ७:१४-१७) परमेश्वरले के प्रतिज्ञा गर्नुभएको छ?
युद्ध र रक्तपातले गर्दा हुने दुःखकष्टको अन्त हुनेछ भनेर परमेश्वरका पुरातन भविष्यवक्ताहरू बताउँछन्। उदाहरणका लागि, भजन ४६:९ ले हामीलाई भन्छ: “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ।” निर्दोषहरू दुःखकष्टमा पर्नेछैनन्, दयनीय शरणार्थीहरू हुनेछैनन् नता कोही बलात्कृत तथा लंगडो हुनेछन्, न मानिसहरू हिंस्रक युद्धहरूमा मारिनेछन्! भविष्यवक्ता यशैया बताउँछन्: “एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।”—यशैया २:४.
अपराध र अन्यायले गर्दा भएको दुःखकष्टको अन्त बारे पनि भविष्यवक्ताहरू अघिबाटै बताउँछन्। “सोझाहरू पृथ्वीमा बास गर्नेछन्” अनि पीडा र दुःखकष्ट दिनेहरू “जरैसमेत उखेलिनेछन्” भनेर हितोपदेश २:२१, २२ ले भन्छ। ‘एउटा मानिसले अर्को मानिसलाई दुःख दिनेछैन।’ (उपदेशक ८:९) सबै दुष्टहरू सदाको लागि हटाइनेछन्। (भजन ३७:१०, ३८) सबै जना दुःखकष्ट नभोगी शान्ति र सुरक्षासाथ बस्न सक्नेछन्।—मीका ४:४.
त्यसबाहेक, भविष्यवक्ताहरू के पनि प्रतिज्ञा गर्छन् भने, शारीरिक र भावनात्मक रोगहरूले गर्दा हुने दुःखकष्टको अन्त हुनेछ। (यशैया ३३:२४) अन्धा, बहिरो, असक्त र रोगीहरू निको हुनेछन् भनेर यशैया प्रतिज्ञा गर्छन्। (यशैया ३५:५, ६) परमेश्वरले मृत्युका प्रभावहरूलाई समेत हटाउनुहुनेछ। येशूले अगमवाणी गर्नुभयो, “चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन् . . . र निस्किआउनेछन्।” (यूहन्ना ५:२८, २९) प्रेरित यूहन्नाले देखेको “नयाँ स्वर्ग र नयाँ पृथ्वीको” दर्शनमा “परमेश्वर आफै[ले] . . . तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनैछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन” भनेर तिनलाई बताइएको थियो। (प्रकाश २१:१-४) कल्पना गर्नुहोस् त! कुनै पीडा, शोक, रुवाइ, मृत्यु अर्थात् दुःखकष्ट हुनेछैन!
अस्थायी रूपमा दुष्टता रहन दिंदा जति पनि दुःखकष्टहरू आए, ती सबै हटाइनेछन्। पीडा र दुःखकष्टको सम्झनासमेत रहनेछैन किनभने परमेश्वरले त्यस्तो होस् भनेर कहिल्यै चाहनुभएको थिएन। “अघिअघिका दुःखहरू बिर्सिसकेका छन्, . . . अघिअघिका कुराहरूको सम्झना हुनेछैन” भनेर यशैयाले भविष्यवाणी गरे। (यशैया ६५:१६, १७) पूर्ण शान्ति र सुरक्षा भएको पृथ्वीमा सिद्ध मानव परिवार बसोस् भनेर परमेश्वरले सुरुमा जुन उद्देश्य राख्नुभएको थियो, त्यो पूरा हुनेछ। (यशैया ४५:१८) उहाँको सार्वभौमिकतामाथि कुनै शंका उठ्नेछैन। परमेश्वरले सबै मानव दुःखकष्टलाई हटाउनुभएको देख्न पाउनु कत्ति ठूलो सुअवसर हुनेछ! त्यतिबेला, निशेले दोष लगाएजस्तो उहाँ “तानाशाह, धोकेबाज, ठग र हत्यारा” हुनुहुन्न तर सधैं मायालु, बुद्धिमान् र आफ्नो पूर्ण शक्ति चलाउनमा न्यायी हुनुहुन्छ भनेर उहाँले देखाउनुहुन्छ!
[पृष्ठ ५-मा भएका चित्र]
केही शासकहरूले आफूले वशमा पारेकाहरूको स्वेच्छा लुट्न अरूको सोचाइ नियन्त्रण गर्ने तरिकाहरू अपनाएका छन्
[स्रोत]
UPI/Bettmann
[पृष्ठ ७-मा भएका चित्र]
दुःखकष्ट नहुँदा सबैले जीवनको भरपूर आनन्द उठाउनेछन्