परमेश्वरमा विश्वास गर्न—के चमत्कारै देख्नुपर्छ?
परमेश्वरको खोजी गर्न सुरु गर्न थाल्दा अल्बर्ट भर्खर २०/२२ वर्षका मात्र थिए। उनले कैयौं धर्महरू केलाए तर सन्तुष्ट भएनन्। बाइबलका केही भागहरू पढेर परमेश्वरले नूह, अब्राहाम, सारा र मोशाजस्ता व्यक्तिहरूसँग गर्नुभएको व्यवहार बुझे। अल्बर्टले बाइबलको परमेश्वरतर्फ आफू आकर्षित भएको महसुस गरे। तर के उनी परमेश्वर हुनैपर्छ भन्ने कुरामा विश्वस्त हुनसक्थे र?
एक दिन साँझपख उनी गाडी लिएर एकान्त ठाउँमा गए र यसरी प्रार्थना गरे, “हे परमेश्वर, कृपया तपाईं हुनुहुन्छ भन्ने मलाई कुनै चिह्न देखाउनुहोस्।” अल्बर्टले लामो समयसम्म प्रतीक्षा गरे। उनी सम्झन्छन्, कुनै प्रतिक्रिया नपाएपछि उनको आशा “निराशामा, शून्यमा र क्रोधमा परिणत भयो।”
अल्बर्टजस्तै धेरैले व्यर्थमा ईश्वरको खोजी गरेका महसुस गर्छन्। शायद तिनीहरू पादरीहरूका उपदेश अथवा टेलिभिजन प्रचारकहरूका व्यापारिक चर्तिकला देखेर अन्योलमा परेका हुनसक्छन्। कतिपय चाहिं आफ्ना छरछिमेकीहरूको ढोंगी व्यवहार देखेर कसलाई पो विश्वास गर्ने हो भनेर अलमल्लमा परेका छन्। यद्यपि, पुरातन इस्राएलका दाऊद राजाले आफ्नो छोरा सुलेमानलाई यसरी विश्वास दिलाए: “[परमेश्वरलाई] खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ।”—१ इतिहास २८:९.
त्यसो हो भने परमेश्वर कसरी देखा पर्नुहुन्छ त? के तपाईंले कुनै चिह्न वा परमेश्वरको अस्तित्व छ भन्ने प्रमाण दिने अलौकिक कार्यको आशा गर्नुपर्ने हो? टाइम पत्रिकाले हालै दिएको तथ्यांकअनुसार दुइतिहाइभन्दा बढी अमेरिकीहरू चमत्कारमा विश्वास गर्छन्। त्यही लेखले यसो पनि भन्यो, “अमेरिकाका सबैभन्दा छिट् छिटो वृद्धि भइरहेका चर्च करिस्म्याटिक र पेन्टिकोस्टल हुन्। जसको उपासना ‘चिह्न र आश्चर्यहरूमा’ केन्द्रित हुन्छन्।”
के परमेश्वरमा विश्वास गर्न “चिह्न र आश्चर्यहरू” देख्नैपर्छ? हो, उहाँले बिगतका दिनहरूमा चमत्कारहरू देखाउनुभएको थियो। जस्तै: परमेश्वरका पुत्र, येशू ख्रीष्टका चेलाहरूलाई सताउने टार्ससका शावलले यरूशलेमबाट दमीशकतिर जाँदा एउटा अनौठो अनुभव गरे। पुनरुत्थान हुनुभएका येशूसँग चमत्कारपूर्ण जम्काभेटको फलस्वरूप शावलले आफ्नो धर्मपरिवर्तन गरे। (प्रेरित ९:१-२२) यसरी पहिले मसीहीहरूलाई सताउने व्यक्ति स्वयं मसीही धर्मको धुरन्धर प्रचारकहरूमध्येका प्रेरित पावल भए!
तर के चमत्कारको नतिजा सधैं यस्तो राम्रै मात्र हुन्छ त? के परमेश्वरमा साँचो विश्वास राख्न कुनै चमत्कारपूर्ण अनुभव चाहिन्छ र?
[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]
टार्ससका शावलसँग परमेश्वरको पुत्र चमत्कारपूर्ण ढंगमा बोल्नुभयो। के तपाईंले पनि चमत्कारको आशा गर्नैपर्छ त?