मैले रोमानियामा बाइबल सच्चाइ पाएँ
गोल्डी रोमोसिनको वृत्तान्तमा आधारित
झन्डै ५० वर्षपछि पहिलो पटक म आफ्नो परिवारलाई भेट्न रोमानिया पुगें। यो हो सन् १९७० को कुरा। त्यतिबेला मानिसहरू शोषक साम्यवादी सरकारको अधीनमा थिए र मलाई होशियार भएर बोल्न सावधान गराउँथे। एक दिन मेरै गाउँको सरकारी कार्यालयमा जाँदा मलाई तुरुन्तै देश छाड्ने आग्रह गरियो। किन, कसरी त्यो बताउनुअघि मैले रोमानियामा सच्चाइ कसरी पाएँ, त्यो सुन्नुहोस्।
सन् १९०३, मार्च ३ तारिखका दिन अर्टेलेक भन्ने गाउँमा मेरो जन्म भएको थियो। हाम्रो गाउँ, रोमानियाको उत्तर पश्चिममा पर्ने जालाऊ भन्ने शहर नजीकै थियो। हाम्रो गाउँ सुन्दर थियो। स्वच्छ हावा, स्वच्छ पानी। हामी खेतबारी गर्थ्यौं त्यसकारण कहिल्यै अफापको सामना गर्नुपरेन। म केटाकेटी छँदा, पूरै देशमा शान्ति थियो।
मानिसहरू असाध्यै धर्म मान्थे। वास्तवमा, हाम्रो परिवारको तीनवटा धर्म थियो। मेरो बुबापट्टिको हजुरआमा अर्थोडक्स क्याथोलिक हुनुहुन्थ्यो भने आमापट्टिको आडभेन्टिस्ट अनि बुबा र आमा चाहिं ब्याप्टिस्टहरू हुनुहुन्थ्यो। उहाँहरूको धर्मसँग मेरो विचार पटक्कै नमिल्ने हुँदा, म चाहिं नास्तिक भएर निस्कनेछु भनेर उहाँहरू भन्नुहुन्थ्यो। ‘परमेश्वर एउटै हुनुहुन्छ भने हाम्रो परिवारमा तीन तीनवटा नभई एउटै धर्म पो हुनुपर्ने’ भन्ने मेरो विचार थियो।
धर्मका नाउँमा हुने कर्तुतहरू देखेर म निकै वाक्क भएको थिएँ। उदाहरणका लागि, पादरीहरू घर-घरमा आएर चर्चको पैसा उठाउँथे। अनि तिर्न सकेन भने राम्रो राम्रो सिरकहरू लैजान्थे। क्याथोलिक चर्चमा मैले हजुरआमालाई मरियमको फोटोमुनि झुकिरहेको भेट्टाउँदा, ‘फोटोलाई किन ढोग्ने?’ भन्ने मनमा छ्वास्स लाग्थ्यो।
दुःखद समय
सन् १९१२ मा मेरो बुबा ऋण चुक्ता गर्ने पैसा कमाउन संयुक्त राज्यतर्फ लाग्नुभयो। उहाँ जानुभएको केही समयमै युद्ध सुरु भयो र हाम्रा गाउँका सबै लोग्नेमान्छेहरू लडाइँमा गए। स्वास्नीमान्छे, बच्चाहरू र बूढाबूढीहरू मात्र गाउँमा थिए। केही समयसम्म हाम्रो गाउँ हंगेरियाली सिपाहीहरूको कब्जामा पनि पऱ्यो तर पछि रोमानियाली सिपाहीहरू आएर हाम्रो गाउँलाई छुटाए। तिनीहरूले हामीलाई तुरुन्तै गाउँ छोड्ने आदेश दिए। तथापि, हतारपतार गुन्टागुन्टी, केटाकेटीहरू बोक्ने धुनमा मलाई बयलगाडामा चढाउनै भुले। पाँच जना भान्टांग भुन्टुंग, त्यसमाथि म चाहिं जेठी परेकीले शायद उहाँहरूलाई म भए नभएको होसै भएनछ।
एक्लै छोडिएपछि म छिमेकी घरतर्फ दौडें र मजस्तै गाउँमै बस्ने बूढाले मलाई यसो भने: “घरको ढोका ढामढुम्म लाएर बस्नू, कसैलाई भित्र आउन नदिनू।” त्यसपछि तुरुन्तै आफ्नो घरभित्र पसेर त्यसै गरें। हतारमा लैजान बिर्सिएको कुखुराको सुरुवा अनि बन्दासित मासु र भात पोको पारी पकाएको खानेकुरा खाएपछि खाट छेउमा घुँडा टेकेर प्रार्थना गरें। त्यसपछि झप्पै निद्राले छोप्यो।
आँखा उघार्दा त घाम चढिसकेको रहेछ। उठेर मैले यसो भन्दै प्रार्थना गरें: “हे परमेश्वर, मलाई बचाउनुभएकोमा धेरै धन्यवाद!” रातभरि गोलाबारी चलेको हुनाले भित्ताभरि प्वालै प्वालहरू थिए। उता पल्लो गाउँमा पुगेपछि बल्ल मेरी आमाले म छुटेको थाह पाउनुभएछ। त्यसपछि, उहाँले जोर्ज रोमोसिन भन्ने ठिटोलाई मलाई लिन पठाउनुभयो र म फेरि आफ्नो परिवार भए ठाउँमा पुगें। यद्यपि, हामी धेरै समय बाहिर बस्नुपरेन। किनभने हामी चाँडै नै आफ्नो गाउँ फर्क्यौं।
बाइबल सच्चाइ सिक्ने इच्छा
आमा मैले बप्तिस्मा लिएर ब्याप्टिस्ट बनेको हेर्न चाहनुहुन्थ्यो। तर मलाई त्यसो गर्ने इच्छै थिएन। किनकि मायालु परमेश्वरले मानिसहरूलाई सधैंभरि नरकमा जलाउनुहुन्छ भनेर विश्वास गर्न मलाई असाध्यै गाह्रो लाग्थ्यो। मलाई सम्झाउन खोज्दै आमा भन्नुहुन्थ्यो: “हो, खराब छन् भने।” तर म कुरा फर्काउँदै भन्थें: “बरु, खराब मानिसहरूको ज्यानै लिए हुन्थ्यो नि। परमेश्वरले किन त्यसरी दुःख दिनु पऱ्यो होला नि। मलाई त कुकुर-बिरालोलाई समेत दुःख दिन मन लाग्दैन।”
मलाई अहिलेसम्म याद छ, त्यस्तै १४ वर्षको थिएँ होला। बसन्त ऋतुको रमाइलो दिन थियो र आमाले मलाई गाई चराउन पठाउनुभएको थियो। जंगल नजीकैको खोलानेर म घाँसमा पल्टें। अनि आकाशतिर हेर्दै भनें: “तपाईं हुनुहुन्छ भनेर मलाई थाह छ परमेश्वर; तर मलाई मेरो बुबा आमा कसैको धर्म मन पर्दैन। पक्कै पनि तपाईंको एउटा राम्रो धर्म हुनैपर्छ।”
परमेश्वरले यो प्रार्थना सुन्नुभयो भनेर मलाई असाध्यै विश्वास लाग्छ। किनभने सन् १९१७ को त्यस्तै गर्मी महिनातिर दुइ जना बाइबल स्टुडेन्टहरू (यहोवाका साक्षीहरूलाई त्यसताक त्यसै भनिन्थ्यो) हाम्रो गाउँ आउनुभयो। उहाँहरू कल्पोर्ट्योर अर्थात् पूर्ण-समय सेवकहरू हुनुहुन्थ्यो र ब्याप्टिस्ट चर्चमा मानिसहरू भेला भइरहेकै बेला उहाँहरू त्यहाँ आइपुग्नुभयो।
रोमानियामा बाइबल सच्चाइ फैलन्छ
यो घटना हुनुभन्दा केही वर्षअघि सन् १९११ तिर क्यारोल साबो र योसिफ किस सच्चाइ सुरुआत गर्न रोमानिया फर्कनुभएको थियो। उहाँहरू दुवै संयुक्त राज्यमा बाइबल स्टुडेन्ट हुनुभएको थियो। उहाँहरू हाम्रो गाउँबाट झन्डै डेढ सय किलोमिटर जति टाढा दक्षिण पूर्वमा टिर्गु मुरेस भन्ने गाउँमा बस्न थाल्नुभयो। नभन्दै, केही वर्षभित्र सयौं मानिसहरूले राज्यको सन्देशलाई स्वीकारेर मसीही सेवकाईमा लाग्न थाले।—मत्ती २४:१४.
अनि अघि कुरा गरेको ती दुइ जना जवान बाइबल स्टुडेन्टहरू हाम्रो अर्टेलेक गाउँको ब्याप्टिस्ट चर्चमा आइपुग्दा १८ वर्षे ठिटो जोर्ज रामोसिन चर्चको जिम्मा लिएर रोमी १२:१ को अर्थ बुझाउन खोज्दैथिए। अन्तमा ती जवान कल्पोर्ट्योरमध्ये एक जना खडा हुनुभयो र भन्नुभयो: “भाइबहिनी तथा मित्रहरू, प्रेरित पावलले यहाँ के भन्न खोजेका हुन् के तपाईंहरूलाई थाह छ?”
उहाँले बोलेको सुनेर म असाध्यै रोमाञ्चित भएँ! ‘यी दाइहरूलाई पक्कै पनि बाइबलको अर्थ बताउन आउँछ’ भन्ने मलाई लाग्यो। तर चर्चमा आउने धेरैजसो मानिसहरू यसो भन्दै हो-हल्ला गर्न थाले: “झूटा अगमवक्ताहरू! तिमीहरूलाई हामीले राम्ररी चिनेका छौं!” त्यसपछि निकै हो-हल्ला मच्चियो। तर उत्तिनखेरै जोर्जको बुबा उठेर यसो भन्नुभयो: “तिमीहरू आफ्नो मुख बन्द गर त! के हो यस्तो चाला—रक्सी खाएका थियौ कि क्या हो? तिमीहरूलाई उहाँहरूको कुरा सुन्न मन पर्दैन भने भइहाल्यो उहाँहरूलाई म आफ्नै घर लगेर सुन्छु। अनि तिमीहरूमध्ये ज-जसलाई सुन्नु मन पर्छ मेरो घर आउनू।”
फुरुंग पर्दै म घरतिर कुदें र आमालाई सबै कुरा बेलिबिस्तार सुनाएँ। रोमोसिनको घरमा भेला हुनेहरूमध्ये म पनि थिएँ। नरकको आगो छैन रहेछ भनेर बाइबलबाटै सिक्न पाउँदा अनि मेरो आफ्नै रोमानियाली बाइबलमा परमेश्वरको नाउँ, यहोवा हो भनेर देख्न पाउँदा, म त्यस बेलुकी असाध्यै असाध्यै दंग परें! कुराकानी सकेपछि कल्पोर्ट्योर भाइहरूले हरेक आइतबार रोमोसिनको घरमा हामीलाई सिकाउन एक जना बाइबल स्टुडेन्टको प्रबन्ध गर्नुभयो। अनि अर्को वर्षको गर्मी महिनातिर १५ वर्षको उमेरमा, मैले यहोवाप्रतिको समर्पणलाई बप्तिस्माद्वारा जनाएँ।
समयमा मेरो प्रोदान परिवार र रोमोसिन परिवारका लगभग सबैले सच्चाइ स्वीकारेर आफ्नो जीवन यहोवालाई समर्पण गर्नुभयो। हाम्रा गाउँका अरू थुप्रैले पनि सच्चाइ स्वीकारे। त्यसमा पहिला ब्याप्टिस्ट चर्च हुने गरेको घरको मालिक, जवान लोग्ने स्वास्नी पनि पर्छ। उहाँहरूले पछि त्यही ठाउँलाई बाइबल स्टुडेन्टहरूका लागि अध्ययन गर्ने ठाउँ बनाइदिनुभयो। त्यसपछि वरपरका गाउँहरूमा पनि सच्चाइ फैलन थाल्यो र सन् १९२० सम्ममा त रोमानियाभरि १,८०० जति राज्य प्रकाशकहरू भइसकेका थिए!
संयुक्त राज्यतिर
आफूले सिकेका कुराहरू हाम्रो बुबा पिटर प्रोदानलाई कहिले सुनाउन पाउने होला भनेर हामीलाई असाध्यै सकसक लागिरहेको थियो। तर छक्कै पर्ने कुरा के भयो भने, हामीले केही बताउनअघि नै उहाँले चिट्ठी लेखेर, आफू बप्तिस्मा लिएर यहोवाको सेवक भईसक्नुभएको खबर पठाउनुभयो। उहाँले ओहायो, एक्रोनमा बस्ने बाइबल स्टुडेन्टहरूसित अध्ययन गर्नुभएको रहेछ र हामी पनि संयुक्त राज्यै आओस् भनेर चाहनुहुँदो रहेछ। तर आमा मान्दै मान्नुभएन। अतः बुबाले पठाउनुभएको पैसाको भरमा म चाहिं सन् १९२१ मा उहाँलाई भेट्न एक्रोन गएँ। त्यतिञ्जेल जोर्ज रोमोसिन र उहाँको दाइ वर्षदिनअघि नै संयुक्त राज्यमा बसाइँ सरिसक्नुभएको थियो।
जहाजबाट न्यु योर्कको एलिस आइलैण्ड आइपुग्दा अध्यागम अधिकृतलाई मेरो नाउँ, औरल्यालाई अंग्रेजीमा अर्थ लगाउनै आएन। अतः उहाँले मलाई भन्नुभयो: “अबदेखि तपाईंको नाउँ गोल्डी।” त्यहाँदेखि यता म गोल्डी नाउँले नै चिनिन्छु। त्यसपछि केही समयभित्रै मे १ तारिख १९२१ मा जोर्ज रोमोसिनसित मैले विवाह गरें। अनि त्यस्तै वर्षदिनपछि बुबा रोमानिया फर्कनुभयो र सन् १९२५ मा मेरी बहिनी मेरीलाई लिएर फर्कनुभयो। त्यसपछि आमा र परिवारका बाँकी सदस्यहरूसँग जीवन बिताउन बुबा सधैंभरिको लागि रोमानिया फर्कनुभयो।
संयुक्त राज्यमा भर्खर भर्खर प्रचार गर्दा
जोर्ज यहोवाको अति नै भक्त अनि वफादार सेवक हुनुहुन्थ्यो। सन् १९२२ देखि ३२ को बीचमा हाम्रा चार छोरीहरू भए। तिनीहरूको नाउँ हो, एस्तर, आन, गोल्डी एलिजाबेथ अनि आइरिन। एक्रोनमा रोमानियाली मण्डली स्थापित हुँदा सुरु सुरुमा हाम्रै घरमा सभाहरू हुन्थे। बिस्तारै, छ-छ महिनामा बाइबल स्टुडेन्टहरूको ब्रूकलिन न्यो योर्कको विश्व मुख्यालयबाट प्रतिनिधिहरू हाम्रो मण्डलीसित भेटघाट गर्न आउन थाल्नुभयो र त्यतिबेला उहाँहरू हाम्रै घरमा बस्नुहुन्थ्यो।
आइतबारको दिन हामी प्रायः सधैं दिनभरि प्रचार गर्थ्यौं। किताबहरूले टन्न भरेको झोला बोकेर खाजा पोको पारीवरी हामी छोरीहरूलाई मोडेल टि फोर्ड गाडी चढाउँथ्यौं अनि टाढ-टाढा गएर दिनभरि प्रचार गर्थ्यौं। साँझपखतिर चाहिं प्रहरीधरहरा अध्ययनमा जान्थ्यौं। हाम्रा छोरीहरूलाई प्रचार गर्न असाध्यै रमाइलो लाग्थ्यो। सन् १९३१ मा बाइबल स्टुडेन्टहरूले यहोवाका साक्षीहरू भन्ने आफूलाई प्रष्टै चिनाउने नाउँ राख्दा म कोलम्बस, ओहायोमै थिएँ।
मलाई चाहिएको सुधार
यो घटना भएको केही वर्षपछिको कुरा हो। मलाई त्यतिबेलाको वाच टावर बाइबल एन्ड ट्राक्ट सोसाइटीको अध्यक्ष जोसेफ एफ. रदरफोर्डसँग निकै रीस उठेको थियो। भर्खरै बप्तिस्मा लिएको साक्षीलाई भाइ रदरफोर्डले तिनको समस्या राम्ररी नसुनिदिनुभएकोले निकै चित्त दुखेको रहेछ। मलाई भाइ रदरफोर्डले बिल्कुलै गलत काम गर्नुभएको जस्तो लाग्यो। अनि एक दिन आइतबार बहिनी मेरी र तिनको पति डान पेस्ट्रूइ हामीलाई भेट्न आए। खाना खाएपछि डानले भने: “जाऔं अब सभाहरूमा।”
मैले भनें, “अब हामीलाई सभाहरूमा जाने मन छैन। भाइ रदरफोर्डको चालमाला देखेर हामी रीसले भुतुक्क भएका छौं।”
मेरो कुरा सुनेपछि डानले आफ्नो हात पछाडि बाँधेर कोठामा ओहरदोहर गर्दै भन्न थाले: “तपाईंले बप्तिस्मा लिनुहुँदा भाइ रदरफोर्डलाई चिन्नुहुन्थ्यो?”
“अहँ” मैले जवाफ दिएँ। “तपाईंलाई थाह छँदैछ नि, मेलै रोमानियामा बप्तिस्मा लिएको हो भनेर।”
“अनि तपाईंले किन बप्तिस्मा लिनुभो?” तिनले भने।
“किनभने यहोवा साँचो परमेश्वर हुनुहुन्छ भनेर मैले सिकें र म आफ्नो जीवन उहाँको सेवामा अर्पण गर्न चाहन्थें,” जवाफ दिंदै भने।
“कहिल्यै यो कुरा नभुल्नुहोस्!” “भाइ रदरफोर्डले सच्चाइ छाड्नुभयो भने के तपाईं पनि त्यसै गर्नुहुन्छ?”
“अहँ, कहिल्यै त्यस्तो गर्दिन!” मैले जवाफ दिएँ। डानको कुरा सुनेर मेरो होस फर्क्यो र मैले भनें: “ल, अब सबै जना सभाहरूमा जान तयार होऔं।” त्यहाँदेखि यता हामीहरू कहिल्यै सभाहरू जान छाडेनौं। मेरो बहिनी ज्वाइँले त्यतिबेला त्यसरी प्रेमपूर्वक नसम्झाउनुभएको भए के हुन्थ्यो होला भनेर म सधैं यहोवालाई धन्यवाद दिन्छु।
महा आर्थिक मन्दी हुँदा हामीले धान्यौं
सन् १९३० दशकको महा आर्थिक मन्दीले गर्दा सबैलाई निकै धौ धौ परेको थियो। एक दिन जोर्ज निकै अँध्यारो मुख लाएर घर फर्कनुभयो। सोध्दा, उहाँलाई रबर कारखानाको जागिरबाट निकालिदिनुभएको कुरा थाह पाएँ। मैले भनें, “जागिर नभएर के भो त। स्वर्गमा हुनुहुने हाम्रो धनी पिताले हेरिहाल्नुहुन्छ नि।”
त्यही दिन जोर्जले आफ्नो एक जना साथीलाई ठूलो झोलाभरि च्याउ बोकेर आइरहेको भेट्नुभएछ। आफ्नो साथीलाई च्याउ कहाँ भेट्टाएको भनेर सोधपुछ गरेपछि एक डंगुर च्याउ बोकेर उहाँ घर फर्कनुभयो। उहाँले बाँकी भएको अन्तिम तीन डलर पनि खर्च गरेर च्याउ पोका पार्ने साना बास्केटहरू ल्याउनुभएछ। “यो के गर्नुभएको तपाईंले? बच्चाहरूलाई दूध किन्ने पैसा पनि सकाउनुभो?” मैले भनें।
“पीर नगर, बरु मैले भने जसो गर,” उहाँले जवाफ दिनुभयो। त्यसपछि झन्डै दुइ तीन हप्तासम्म हाम्रो घर एक किसिमले सानो च्याउ कारखाना नै भयो। हामी दिनभर च्याउ सफा पारेर पोका पार्थ्यौं अनि ठूल-ठूला रेस्टुराँहरूमा लगेर बेच्थ्यौं। दिनमा यस्तै ३०-४० डलर आम्दानी हुन्थ्यो। र त्यति पैसा हाम्रो निम्ति प्रशस्तै थियो। आफ्नो चौरमा च्याउ टिप्न दिने किसानले पनि के भन्यो भने, त्यो ठाउँमा २५ वर्ष बिताएको भए तापनि तिनले कहिल्यै त्यति धेरै च्याउ फलेको देखेको थिएन। अनि त्यसको केही समयभित्रै रबर कारखानाले जोर्जलाई फेरि काममा बोलायो।
आफ्नो विश्वासलाई जोगाएर राख्यौं
सन् १९४३ मा हामी लस एन्जेल्स, क्यालिफोर्निया सऱ्यौं अनि चार वर्षपछि हामी एलसेनोरमा स्थायी रूपले बस्न थाल्यौं। हामीले सानो किराना पसल खोल्यौं र परिवारका सबै सदस्यहरू एक एक गरी पालो दिन्थ्यौं। त्यतिबेला एलसेनोर झन्डै २,००० मानिसहरू भएको सानो गाउँ थियो र हाम्रा मसीही सभाहरू धाउन अर्को शहर पुग्नुपर्थ्यो र त्यसका लागि ३० किलोमिटर हिंड्नुपर्थ्यो। त्यसैकारण सन् १९५० मा एलसेनोरमै सानो मण्डली स्थापित हुँदा मलाई असाध्यै खुशी लाग्यो! अहिले यही ठाउँमा १३ वटा मण्डलीहरू छन्।
सन् १९५० मा हाम्री छोरी गोल्डी एलिजाबेथ (अहिले धेरैजसोले तिनलाई बेथ नाउँले चिन्छन्) साऊथ लान्सिंग, न्यु योर्कको वाच टावर गिलियड स्कूलमा गएर स्नातक भएर आइन् र मिसनरी भएर भेनेजुएलातिर लागिन्। अनि १९५५ मा कान्छी छोरी आइरिन र तिनको श्रीमान्लाई परिभ्रमण सेवक भएर क्षेत्रीय कार्य गर्ने निमन्त्रणा दिइँदा दुवैले खुशीसाथ स्वीकारे। सन् १९६१ मा साऊथ लान्सिंग, न्यु योर्कमा किंगडम मिनिस्ट्री स्कूल धाएपछि तिनीहरूलाई थाइल्याण्ड पठाइयो। कहिलेकाहीं छोरीहरूको सम्झनाले असाध्यै पिरोलिएर धुरुधुरु रुन्थें। तर एक मनले सम्झन्थें, ‘आखिर, मैले तिनीहरूले त्यसै गरून् भनेर त चाहेको थिएँ।’ अनि किताब हालेको झोला बोकेर प्रचार गर्न निस्कन्थें र सधैं उज्यालो अनुहार लिएर घर फर्कन्थें।
सन् १९६६ मा मेरो प्यारो लोग्ने जोर्जलाई मुर्छा पर्ने रोग लाग्यो। स्वास्थ्य समस्याको कारण भेनेजुएलाबाट फर्केकी मेरी छोरी बेथले उहाँको रेखदेख गर्न निकै मदत गरिन्। लगत्तै अर्को वर्ष जोर्जको मृत्यु भयो। दुःख त लाग्यो नै, तैपनि अन्तसम्मै यहोवाप्रति विश्वासी रहेर आफ्नो स्वर्गीय इनाम पाउनुभयो भन्ने कुराले गर्दा मन हलका भयो। त्यसपछि बेथ, स्पेनमा राज्य प्रचारकहरूको असाध्यै खाँचो भएकोले त्यसतर्फ लागिन्। मेरी जेठी छोरी एस्तर चाहिं क्यान्सर लागेर सन् १९७७ मा अनि अर्की छोरी आन चाहिं ल्युकेमियाको कारण सन् १९८४ मा मरिन्। तिनीहरू दुवै अन्तसम्मै यहोवासित वफादार रहे।
आनको मृत्यु हुनुअघि, बेथ र आइरिन विदेशमा प्रचार गर्ने काम छाडेर फर्किसकेका थिए। तिनीहरूले आफ्नी दिदीहरूको हेरविचार गर्न मदत गरे। त्यतिबेला हामी सबै जना शोकले गर्दा बेहाल थियौं। अलिक समयपछि मैले छोरीहरूलाई भनें: “अब, रुनधुन पुग्यो! अरूलाई बाइबलका प्रतिज्ञाहरू सुनाएर सान्त्वना दिनुजति दिइहाल्यौं। अब हामी आफैले सान्त्वना खोज्नुपर्छ। शैतान, हामी यहोवाको सेवा गरेर आनन्दित नहोस् भनेर चाहन्छ। तर त्यसलाई त्यस्तो मौका दिनै हुँदैन।”
रोमानियामा हाम्रो विश्वासी परिवार
बहिनी मेरी र म सन् १९७० मा रोमानिया गएर परिवारलाई भेटेको झलझली सम्झना आउँछ। हाम्रो एउटी बहिनी मरिसकेकी रहिछिन्। तर हामीले हाम्रो भाइ जोन र अर्की बहिनी लोडोभिकालाई भेट्न सक्यौं। तिनीहरू अझै अर्टेलेक गाउँमै रहेछन्। हामी रोमानिया पुग्दा बुबा र आमा अन्तसम्मै यहोवासित वफादार भएर मरिसक्नुभएको थियो। बुबा मण्डलीको खामो हुनुहुन्थ्यो भनेर थुप्रैले हामीलाई सुनाए। रोमानियामै बस्ने उहाँका कोही कोही पनातिहरूसमेत अहिले यहोवाका साक्षीहरू भइसकेका छन्। हामी मेरो लोग्नेको थुप्रै नातेदारहरूलाई पनि भेट्न गयौं। तिनीहरू पनि सच्चाइमा स्थिर थिए।
सन् १९७० मा रोमानिया निकोलाइ चाउचेस्कको साम्यवादी सरकारको अधीनमा थियो। त्यतिबेला यहोवाका साक्षीहरूलाई निकै क्रूरतापूर्वक सताइन्थ्यो। मेरो भाइ जोनको छोरा फ्लोर र अरू नातेदारहरूलाई तिनीहरूको मसीही विश्वासको कारण निकै वर्ष यातना शिविरमा हालिएको रहेछ। मेरो लोग्नेको जेठो भतिजा गाबोर रोमोसिन पनि त्यस्तै शिविरमा परेका रहेछन्। देशको त्यस्तो अवस्था देखेरै होला, यहोवाका साक्षीहरूको मुख्यालयसम्म केही चिट्ठीपत्रहरू पुऱ्याउन अह्राउने हाम्रा रोमानियाली भाइहरूले हामी संयुक्त राज्य सकुशल पुग्यौं भनेर नसुनेसम्म चिन्तित हुनेछौं भनेका थिए।
हाम्रो भिसा सकेको थाह पाएपछि हामी अर्टेलेकको सरकारी कार्यालय गयौं। शुक्रबारको दिन थियो र दिउँसो हामी जाँदा, एक जना अफिसर मात्र काममा थियो। हामी आएको ठाउँ र हाम्रो भदाहा यातना शिविरमै छ भन्ने थाह पाएपछि तिनले भने: “ल, दिदीहरू तपाईंहरू यहाँबाट तुरुन्तै गइहाल्नुहोस्!”
“तर आज कुनै रेल चलेकै छैन,” बहिनीले जवाफ दिइन्।
“केही फरक पर्दैन। रेल नभए बसमा जानुहोस्, बस नभए ट्याक्सी लिनुहोस्, ट्याक्सी पनि छैन भने हिंडेर जानुहोस्। तर जसरी हुन्छ, यहाँबाट तुरुन्तै गइहाल्नुहोस्!” तिनले निकै अत्याउँदै भने।
अनि त्यहाँबाट हामी निस्केको मात्र के थियौं, हामीलाई फेरि बोलाएर साँझ ६ बजे सिपाहीहरूको रेल त्यतिकै जाँदैछ भनेर बताइयो। हामीलाई त यो परमेश्वरले नै जुराइदिनुभएको जस्तो लाग्यो! किनभने, प्रायः सार्वजनिक रेलमा छिन छिनमा कागजपत्रहरूको जाँच हुँदो रहेछ। तर यो चाहिं सिपाहीका कर्मचारीहरू बोक्ने रेल अनि त्योमाथि हामी दुइ जना मात्रै गैरसिपाही भएकोले कसैले हाम्रो पासपोर्ट मागेन। शायद, तिनीहरूले हामीलाई त्यही रेलमा भएका सिपाहीहरूका बज्यै भन्ठाने होलान्।
भोलिपल्ट बिहान हामी टिमिसोअरा पुग्यौं। अनि हाम्रो नातेदारकै एक जना साथीको मदत लिएर भिसा लियौं। भोलिपल्टसम्ममा त हामी देश छाडेर गइसकेका थियौं। यसरी रोमानियामा बस्ने हाम्रा वफादार भाइबहिनीहरूको कहिल्यै बिर्सन नसक्ने रमाइला सम्झनाहरू बोकेर हामी घर पुग्यौं।
रोमानियाबाट फर्केपछि हामीले साम्यवादी सरकारको बावजूद प्रचार कार्य भइरहेको फाटफुट खबर मात्र पायौं। तर जे होस्, हाम्रा मसीही भाइबहिनीहरू जे परि आए पनि परमेश्वरसित वफादारै रहनेछन् भन्ने कुरामा पक्का विश्वास थियो। अनि भयो पनि त्यस्तै! अप्रिल १९९० मा यहोवाका साक्षीहरूले रोमानियामा धार्मिक संगठनको रूपमा कानुनी मान्यता पाए भनेर थाह पाउँदा हाम्रो खुशीको सीमा रहेन! त्यही वर्षको बसन्त ऋतुमा रोमानियामा अधिवेशनहरू भएको रिपोर्ट पाउँदा हामी असाध्यै खुशी भयौं। आठ शहरहरूमा भएका अधिवेशनहरूमा ३४,००० भन्दा धेरै मानिसहरू भेला भएछन् र २,२६० जनाले बप्तिस्मा लिएछन्। अहिले रोमानियामा ३५,००० भन्दा धेरै साक्षीहरूले प्रचार गर्दैछन् र गत वर्ष ८६,०३४ जना ख्रीष्टको मृत्युको स्मरणार्थमा भेला भएका थिए।
मलाई बाइबल सच्चाइ अझै अमूल्य लाग्छ
केही वर्षसम्म मैले स्मरणार्थमा रोटी र दाखमद्य खानै छाडेकी थिएँ। असाध्यै योग्य भाइहरूले समेत नखाएको देखेर मैले आफैसित तर्क गरेकी थिएँ: ‘यति राम्रा भाषण दिन सक्ने भाइहरूलाई नछान्नुभएर यहोवाले मलाई पो किन स्वर्गमा आफ्नो पुत्रसँगै राज्य गर्न छान्नुहुन्थ्यो र?’ तर मैले त्यसरी रोटी र दाखमद्य नखाँदा असाध्यै उकुसमुकुस हुन्थ्यो। मलाई आफूले जबरजस्ती केही कुरा नगरेको जस्तो लाग्थ्यो। धेरै अध्ययन अनि प्रार्थनापूर्वक बिन्ती गरेपछि मैले फेरि भाग लिन थालें। त्यसपछि बल्ल मैले शान्ति र आनन्द महसुस गर्न थालें र अहिलेसम्म महसुस गर्दै नै छु।
अहिले बुढेसकालले गर्दा राम्ररी देख्न नसके तापनि दिनका दिन बाइबल, प्रहरीधरहरा अनि ब्यूँझनुहोस्!-का सबै क्यासेटहरू सुन्छु। अझै प्रचारमा जान्छु। प्रायः हरेक महिना ६० देखि १०० वटा पत्रिकाहरू वितरण गर्छु तर गत वर्ष अप्रिल महिनामा विशेष अभियान हुँदा ३२३ वटा पत्रिकाहरू वितरण गरें। छोरीहरूको मदत लिएर ईश्वरतान्त्रिक सेवकाई पाठशालामा पनि भाग लिन्छु। अरूलाई अझै प्रोत्साहन दिइरहन सकेकोमा मलाई खुशी लाग्छ। हाम्रो राज्यभवनको प्रायः सबैले मलाई माया गरेर बज्यै भनेर बोलाउँछन्।
यहोवाको सेवामा समर्पित भएर बिताएको ७९ वर्षलाई सम्झँदा यहोवाले त्यसरी उहाँको अमूल्य सच्चाइ चिन्ने र उहाँकै सेवामा जीवन बिताउने मौका दिनुभएकोमा उहाँलाई हरेक दिन धन्यवाद चढाउँछु। यी आखिरी दिनमा परमेश्वरका भेडाखाले मानिसहरूलाई जम्मा गरिनेछ भन्ने बाइबलको अद्भुत भविष्यवाणी पूरा भएको देख्न पाएकोमा म उहाँप्रति असाध्यै ऋणी छु।—यशैया ६०:२२; जकरिया ८:२३.
[पृष्ठ २३-मा भएको चित्र]
बहिनी मेरी र उभिरहनुभएको बुबा अनि जोर्ज र म हाम्रा दुइ छोरी एस्तर अनि आनसित
[पृष्ठ २४-मा भएको चित्र]
छोरी बेथ र आइरिन, आइरिनको श्रीमान् र तिनीहरूका दुइ छोराहरूको साथमा। अहिलेसम्म यिनीहरू सबै जना विश्वासी भएर यहोवाको सेवा गरिरहेका छन्